अब नेपालको अर्थतन्त्र सुधार हुँदै जाने एडीबीको अनुमान, महँगी घट्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र सुधार हुने अनुमान गरेको छ । एडीबीले एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र सुधारको गतिमा रहने प्रक्ष्येपण गरेको हो ।  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने अनुमान गरेको एडीबीले आगामी आर्थिक वर्षमा सो वृद्धिदर ५.१ प्रतिशत पुग्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो भने अघिल्लो आवमा २ प्रतिशतमा सीमित बनेको थियो ।  यस्तै, एडीबीले आगामी आर्थिक वर्षमा नेपालको मुद्रास्फिति ५ प्रतिशतमा झर्ने अनुमान गरेको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्म ५.२ प्रतिशत कामय हुन सक्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षको नेपालको मद्रास्फिति अर्थात् महँगी ५.४ प्रतिशत र अघिल्लो आर्थिक वर्षमा ७.७ प्रतिशत पुगेको थियो ।  एडीबीले नेपालको सेवा क्षेत्र, जलविद्युत उत्पादन र धान उत्पादनमा वृद्धि भएपछि आर्थिक वृद्धिदरमा सुधार हुँदै गएको बताएको छ । खाद्यबाहेकका वस्तुहरूमा मूल्यवृद्धि कम भएपछि मुद्रास्फीति घट्न पुगेको, व्यापार घाटा कम भएको तथा रेमिट्यान्स आम्दानी बढ्नाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक माग थप सशक्त हुँदै जाँदा, जलविद्युत निर्यात बढ्दै जाँदा र पर्यटन क्षेत्र मजबुत हुँदा आर्थिक वृद्धिदर अझै बढ्ने जनाएको छ । विश्व बजारमा तेलको मूल्य केही घट्ने अनुमानसँगै नेपालको मुद्रास्फीति पनि घट्न सक्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । रेमिट्यान्स स्थिर रहँदा आयात बढ्ने भएकाले चालु खाता घाटामा जान सक्ने प्रक्ष्येपण पनि गरिएको छ ।  पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।   

सूर्यांश वैद्यः बिँडो थाम्दै, जम्प हान्दै

काठमाडौं । बुवा सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष एवं उच्च कद भएका उद्यमी । आमा रितुसिंह वैद्य, पूर्व मिस इण्डिया, नेपालमा सफलता चुमिरहेकी महिला उद्यमी । सुरज र रितुको छोरा भन्नेबित्तिकै सूर्यांश वैद्यलाई व्यावसायीक जगतमा धेरैले चिन्दछन् । तर सूर्यांशलाई आफ्नै नामले चिनिनु छ ।  वहालवाला वा पूर्वमन्त्री, सांसद्, सचिव, न्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक वा उच्च सरकारी पदमा पुगेको वर्तमान वा पूर्व हाइप्रोफाइल व्यक्तिका छोरो छोरी नेपालमा बस्दैनन्, विदेशमा पुगेका हुन्छन् । तर धेरै कठिनाइ र झमेलाका बीच व्यवसायीका छोराछोरी नेपालमा नै केही गर्न प्रयत्नशील छन् । तिनैमध्ये एक हुन् सूर्यांश । उनका सबै साथीहरू अहिले विदेशमै रमाइरहेका छन् । तर उनी आफ्नै देशमा केही गर्नुपर्छ भनी व्यवसायमा लागिरहेका छन् ।  विदेशको सिकाइ अनुभव सँगाली नेपाल फर्केका उनी पैतृक व्यवसाय समाल्दै छन् ।  अटोमोबाइल, कृषि, कन्ट्रक्सन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएका वैद्य अर्गनाजेशन अफ इण्ड्रष्ट्रिज एण्ड ट्रेडिङ हाउजेजमा उनी निर्देशकको भूमिकामा छन् । साथै वैद्य इनर्जीका सीईओ र पिटस्टप इन्कर्पोरेटेडका संस्थापकको रूपमा काम गरिरहेका छन् । भन्छन्, ‘मै धेरै विभाग हेरिरहेको छु, तर यसमध्ये विशेषगरी अहिले वैद्य इनर्जीलाई बढी समय दिइरहेको छु ।’ जान्दैनन् नेपाली सूर्यांश काठमाडौंमै जन्मे, काठमाडौंमै हुर्के तर उनलाई नेपाली भाषामा बोल्न कठिन हुन्छ । अरू नेपालीले झैं उनले कखगघ पढेनन्, एबीसीडी मात्र पढे । उनको परिवार बहुसांस्कृतिक र बहुभाषी छ । आमा रितु धेरैजसो अंग्रेजी र कहिलेकाहीं हिन्दी बोल्थिन् । बुवा र अन्य सदस्यले घरमा बोल्ने भाषा अंग्रेजी नै थियो । सूर्यांश सुरुमा काठमाडौंको बाफलस्थित रुपीज इन्टरनेशनल स्कूलमा पढे, जहाँ हिन्दीमा पढाइ हुन्थ्यो । पछि सानेपास्थित ब्रिटिश स्कुल हुँदै रविभवनको लिंकन स्कुलमा कक्षा १२ सम्म पढे, जहाँ पुरै अंग्रेजीमा पढाई हुन्थ्यो । कलेज पढ्न अमेरिका गए । बेन्टले यूनिभर्सिटीबाट व्यवस्थापन र उद्यमशीलता विषयमा ब्याचलर्स डिग्री लिए । अमेरिकामा पढ्दा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र धेरै विषयमा सिक्ने अवसर पाएको, व्यवसाय कसरी गर्ने, त्यसमा के के चाहिन्छ, सरकारसँग कसरी समन्वय गर्ने भन्ने यावत कुराहरू पढ्दै गर्दा थाहा पाएको उनी सुनाउँछन् ।    सूर्यांश पढाइ सकेर नेपाल फर्किँदा कोभिड महामारी थियो । जनमानसमा ठूलो त्रास थियो । त्यहीबेला उनले कुन क्षेत्रमा व्यवसाय कसरी गर्दा ठीक हुन्छ अनुसन्धान गरे । ‘मैले त्यो बेला नेपालका उद्योगहरूबारे जान्ने अवसर पाएँ । कृषि, इनर्जी, मोबिलिटी इनर्जी धेरै क्षेत्रको रिसर्च गरें, सबैभन्दा बेस्ट मलाई यो व्यवसाय लाग्यो र यही क्षेत्र रोजें,’ उनले भने । सूर्यांशका दुईजना दिदी छन् । जेठी दिदी अमेरिकामा छिन् भने माइली हस्पिटालिटी क्षेत्रमा काम गर्छिन् । उनको नेतृत्वमा चितवनमा होटल निर्माणाधीन छ । उनको काका सुरेश वैद्यले कृषि क्षेत्र हेरिरहेका छन् । ‘हजुरबाले जिरोबाट सुरु गरेको व्यवसायलाई मेरो बुवाले यहाँसम्म ल्याउनुभयो, अब मेरो जिम्मेवारी यो व्यवसायलाई कसरी अगाडि लैजाने भन्ने हो,’ उनले सुनाए । सूर्यांश व्यवसायमा लागेको पाँच वर्षमात्र भयो । यस अवधिमा धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको उनी बताउँछन् । उनी उत्साहित छन् । भन्छन्, ‘भर्खरै एथरको ४५० एक्स लन्च गरेका छौं । यसमा धेरै काम भइरहेको छ । केही नयाँ गर्ने प्रयास गरिरहेको छु । अहिले म निकै उत्साहित छु ।  वैद्य इनर्जी वैद्य इनर्जी भारतमा निर्मित दुईपाँग्रे ईभी एथरको आधिकारिक बिक्रेता हो । वैद्य इनजीले एथरको आयात, बिक्री र बिक्रीपछिको सेवामा काम गरिरहेको छ । एथरका उत्पादन केही महँगो भएपनि गुणस्तरीय भएको नेपाली बजारमा उपभोक्ताले रुचाईरहेको उनी बताउँछन् ।  विश्व प्रशिद्ध ब्राण्ड टोयोटाको आयात, बिक्री वितरण र मर्मतसम्भारमा वैद्य अर्गानाईजेशनको संस्थागत अनुभव निकै लामो छ । त्यो अनुभव एथरमा पनि लागू गर्ने वैद्य इनर्जीको प्रयास छ । ‘नेपालको इभीको पुरै इको सिस्टम बनाउनेतर्फ काम गरिरहेका छौं । एथर ईभीमा सर्वसाधारणको आकर्षण पनि बढिरहेको छ,’ उनले भने ।  पैसा हुँदैमा व्यवसाय गर्न सकिँदैन । राज्यका नीति नियमको पालना गर्दै, बजारमा प्रतिस्पर्धा गर्दै उपभोक्ताको मन जित्नु सजिलो काम छैन । पछिल्लो समय नेपालमा व्यावसायीक जटिलता बढेको व्यवसायीको अनुभव छ । सूर्यांशलाई पनि त्यस्तै लाग्छ । नेपालभन्दा बाहिर गएर काम गर्न भने सजिलो हुने उनी बताउँछन् । तर उनलाई आफ्नै देशमा व्यवसाय गर्न मन छ । ‘व्यवसाय’ सूर्यांशको प्यासन हो । त्यसमा पनि अटोमोबाइल उनलाई अझ बढी मन पर्छ ।  आमाबुवासँग सहज सिकाइ आमाबुवा दुवैजना व्यवसायमा हुँदा सूर्यांशलाई धेरै कुरा सिक्न सहज भयो । जब उनको स्कुल बिदा हुन्थ्यो उनी बुवाआमासँगै अफिस जान्थे ।  बुबाआमाले व्यवसायसम्बन्धी कुनै कार्यक्रम, मिटिङ जानुपर्दा उनलाई पनि सँगै लिएर जान्थे ।  कार्यक्रममा, बैठक धेरैमा उनी सानो हुँदै सहभागी हुने अवसर पाउँथे । ती दिन सम्झिँदै उनी भन्छन्, ‘मलाई व्यवसायका बारेमा थाहा थिएन तर, बिजनेसमा कसरी कुरा गर्ने, के गर्ने, के हुन्छ, समस्याहरू कस्ता आउन सक्छन् भन्नेबारेमा आमाबुवाकै कुरा सुनेर थाहा पाएको थिएँ ।’  व्यवसाय गर्नु सूर्यांशका लागि रहर कि बाध्यता ? हामीले प्रश्न गर्‍यौं । धेरैले यही प्रश्न गर्ने गरेको उनले बताए । र भने- 'दुइटै । यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने पहिलेदेखि नै लागेको थियो । अनि अर्को- आउनैपर्ने बाध्यता पनि ।’ बुबा, आमाले जहिल्यै पनि इच्छाअनुसार काम गर्न प्रेरित गरेको पनि उनले बताए ।  नेपालमै उत्पादन गर्ने लक्ष्य उनी व्यवसायमा बाउबाजेको बिँडो थाम्नेमात्र नभई त्योभन्दा केही फरक गर्ने अठोटका साथ लागेका छन् । सूर्यांशलाई विदेशबाट दुई पाँग्रे सवारी आयात मात्र गर्नु छैन । उनको लक्ष्य नेपालमै सवारी उत्पादन गर्ने छ । नेपाली बजारमा इलेक्ट्रिक दुई पांग्रेको हिस्सा तीन प्रतिशतमात्र छ । बाँकी ९७ प्रतिशत अझै आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) सवारीहरू छन् ।  उनी भन्छन्,‘नेपालमा ईभी धेरै प्रयोगमा नआएकाले पनि हुनसक्छ, ग्राहकरूले यसको ब्याट्री कति टिक्छ भनी प्रश्न गर्छन् । यो नेपालीको हकमा महँगो पनि छ तर मर्मत खर्च भने निकै कम छ ।’ पछिल्लो समय देशमा ईभीका लागि पूर्वाधार बन्दै जाँदा बिस्तारै सहज परिस्थिति आउनेमा उनी ढुक्क छन् ।  नेपालमै दुई पाङ्ग्रे इभी उत्पादन कठिन भएको उनी बताउँछन् । ‘सरकारको नीति सहज छैन । यसका लागि चाहिने सामाग्रीहरू धेरै बाहिरबाट ल्याउनुपर्ने हुन्छ । यसरी ल्याउँदा भन्सार शुल्क पनि उत्तिकै महँगो छ ।  सूर्यांश अबको पाँच वर्षपछि ३० प्रतिशत पार्टपूर्जा आफै उत्पादन गर्ने दाबी गर्छन् । भन्छन्, ‘मेरो काम विदेशबाट सामग्री आयात गरेर नेपाली बजारमा सप्लायर्स गर्नुमात्र होइन, मैले यही उत्पादन गर्ने योजना बनाएको छु ।’  ‘अहिले विभिन्न देशहरू उत्पादनमा क्षेत्रमा धेरै प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘नेपालले हरेक सामग्रीको लागि परनिर्भर रहनुपर्ने बाध्यता छ । सरकार र निजी क्षेत्र सबैले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोंच्नुपर्छ ।’ कम्बोडिया पनि पहिले नेपाल जस्तै अवस्थामा रहेको तर पछिल्लो समय कम्बोडियाले धेरै उन्नति गरेको सूर्यांश बताउँछन् । ‘त्यहाँको अवस्था पनि नेपालकै जस्तो छ । त्यहाँका युवाहरू पनि बाहिर गएर भविष्य खोजिरहेका हुन्थ्ये । तर त्यो देशमा टोयोटाको एसम्बल प्लान्ट बन्यो, उक्त प्लान्टमा हजारौं मानिसले रोजगारी पाएका छन् । उनी नेपालमा पनि यस्तो अवसर दिनसक्यो भने नेपाली युवा विदेशीनु नपर्ने बताउँछन् । यसका लागि निजी क्षेत्रले काम गर्न निकै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।    भिजनरी बुबाको साथ   सूर्यांशको बुबा सुरज पाँच बजे नै उठ्छन् । ७ बजे अफिस पुगिसक्छन् । बुवाबाट सिक्नुपर्ने कुराहरू धेरै रहेको सूर्यांश बताउँछन् । कम्युनिकेशन, प्यासन्स, भिजन उनी सबैभन्दा यी तीनकुरा बुवाबाट सिक्न निकै आवश्यक रहेको सुनाउँछन् ।  अमेरिकाबाट फर्केपछि उनले सुरुमा मार्केटिङबाट काम थाले । त्यसमा आमाले साथ दिइन् ।  तर अमेरिकामा सिकेको कुरा नेपालमा लागू कठिन भयो सूर्यांशलाई । यतिबेला फेरि बुबा सुरज वैद्यले साथ दिए । उनी भन्छन्, ‘बुवाको त्यस्तो भिजन कहाँबाट आउँछ, मैले अहिलेसम्म बुझ्न सकेको छैन, बुवाले मलाई काम गर्ने राम्रो ठाउँ र अवसर दिनुभएको छ । म त्यो मानेमा निकै भाग्यमानी हुँ।’ 

५ वर्षमा ५ अर्थमन्त्रीसँग महाप्रसादको सहकार्य, फेसबुकमा १.५४ लाख, ट्वीटरमा २५ हजार फलोअर्स

काठमाडौं । ‘राष्ट्र बैंकले लिएको प्रोत्साहनमूलक व्यवस्थाका कारण डिजिटल भुक्तानी विस्तारमा मुलुकले उल्लेख्य प्रगति हासिल गरेको छ । फिनटेक कम्पनीहरूको लगानी, भुक्तानी सेवासँग सम्बन्धित संस्था, बैंक तथा वित्तीय संस्थाको सक्रियता र सर्वसाधारणको अभिरुचिले विद्युतीय भुक्तानीमा क्रान्ति नै ल्याइदियो,’ बिदाइ कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने ।  २०७६ चैत २४ गते ५ वर्षका लागि १७औं गभर्नरका रूपमा नियुक्त भएका अधिकारी आजबाट राष्ट्र बैंकबाट बिदा भए । पाँच वर्षको कार्यकालमा उनले धेरै उतारचढाव खेप्नु पर्‍यो । धेरै चुनौती सामना गर्नुपर्‍यो । उनी गभर्नरमा नियुक्त हुँदै गर्दा डिजिटल कारोबार खासै हुने गरेको थिएन । तर, उनको यो पाँच वर्षे कार्यकालमा डिजिटल भुक्तानीमा नेपालको बैंकिङ क्षेत्रले ठूलो फड्को मार्‍यो । अर्थात् अधिकारीकै भाषामा भन्ने हो भने ठूलो क्रान्ति नै ल्यायो ।  राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०८०/८१ मा विद्युतीय भुक्तानी कारोबार सङ्ख्या तेब्बर तथा भुक्तानी रकम करिब दोब्बर भएको छ । साथै अन्तरदेशीय भुक्तानीमा पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने अवस्था रहेको छ । आव २०७७/७८ मा मोबाइल बैंकिङ कारोबार संख्या ११.२ करोड थियो भने आव २०८०/८१ मा आइपुग्दा ४२.४ करोड पुगेको छ । यस्तै, आव २०७७/७८ मा मोबाइल बैंकिङमार्फत ४ अर्ब ६० करोड रुपैयाँको थियो भने आव २०८०/८१ मा आइपुग्दा ३४ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, आव २०७७/७८ मा १२.५ करोड वालेट संख्या थियो भने १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो । तर, आव २०८०/८१ सम्म आइपुग्दा २९.५ करोड वटा कारोबार हुँदा ३ खर्ब २ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको देखिन्छ ।  यस्तै, आव २०७७/७८ मा ६ करोड मात्रै क्यूआर कारोबार भएकोमा अहिले बढेर १६.९ करोड पुगेको छ । कारोबारका आधारमा भने २०.२८ अर्ब रुपैयाँबाट बढेर ४ खर्ब ९९ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको देखिन्छ ।  २०८१ माघमा मोबाइल बैंकिङ खाताको सङ्ख्या २ करोड ६५ लाख, डेबिट कार्डको सङ्ख्या १ करोड ३४ लाख र वालेट खाताको सङ्ख्या २ करोड ५८ लाख पुगेको छ मोबाइल बैंकिङ ग्राहकको जनसङ्ख्यासँगको अनुपात २०७७ साउनमा ४० प्रतिशत रहेकोमा २०८१ माघमा ८९ प्रतिशत पुगेको छ । उक्त अवधिमा वालेट खाताको जनसङ्ख्यासँगको अनुपात २२ प्रतिशतबाट वृद्धि भएर ८६ प्रतिशत पुगेको छ ।  २०७७ साउनको तुलनामा २०८१ माघमा वालेट खाताको सङ्ख्या ४.१२ गुणा, प्रिपेड कार्डको सङ्ख्या ३.८८ गुणा र मोबाइल बैंकिङ ग्राहकको सङ्ख्या २.३२ गुणा पुगेको छ । क्यूआर कोडबाट भुक्तानी स्वीकार गर्ने व्यवसायीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको दाबी छ ।  २०७८ असारमा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकबाट जारी भएका क्यूआर मर्चेन्ट कोडको सङ्ख्या २ लाख ८२ हजार रहेकोमा २०८१ पुस मसान्तमा २३ लाख ४२ हजार पुगेको छ । कारोबारको हिसाबमा हेर्दा आव २०७७/७८ मा ५५ लाख क्यूआर कारोबार सङ्ख्याबाट २० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो भने २०८०/८१ मा १६ करोड ९३ लाख कारोबार सङ्ख्यामार्फत करिब ५ सय अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । अधिकारी गभर्नर नियुक्त हुनुभन्दा अगाडि आव २०७६/७७ मा आर्थिक वृद्धिदर २.३७ प्रतिशत ऋणात्मक थियो । उनको कार्यकालमा आर्थिक वृद्धिदर आव २०७७/७८ मा ४.८४ प्रतिशत, आव २०७८/७९ मा ५.६३ प्रतिशत, आव २०७९/८० मा १.९५ प्रतिशत र आव २०८०/८१ मा ३.८७ प्रतिशत पुगेको छ ।  साथै, मुद्रास्फीतिदर पनि घटेको छ । आव २०७७/७८ मा ६.१५ प्रतिशत रहेको मुद्रास्फीतिदर घटेर आर्थिक वर्ष २०८०/८१ मा ५.४४ प्रतिशतमा झरेको देखिन्छ । चालु आवको पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीतिदर ४.८६ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।   यस्तै, चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा पनि ठूलो फड्को मारेको राष्ट्र बैंकको तथ्याङ्क छ । आव २०७६/७७ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले ऋणात्मक थियो । यस्तै, शाेधनान्तर १.२३ अर्ब रुपैयाँ थियो भने १०.१७ महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति थियो । आव २०७७/७८ मा चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोड रुपैयाँ र शोधनान्तर २ खर्ब ५२ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक पुगेको थियो भने विदेशी मुद्रा सञ्चिति ६.९४ महिनाको आयात धान्ने थियो ।  गभर्नर अधिकारी बाहिरिँदै गर्दा चालु खाता १ खर्ब ६६ अर्ब ८३ करोड रुपैयाँ र शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति १४.४३ महिनाको आयात धान्ने पुगेको छ । गभर्नर अधिकारीको कार्यकालमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वृद्धिदर घटेको छ भने कर्जाको ब्याजदर सामान्य बढेको देखिन्छ । आव २०७७/७८ मा २६.३२ प्रतिशत कर्जा वृद्धि थियो भने कर्जाको ब्याजदर औसत ८.४३ प्रतिशत थियो । तर, उनी राष्ट्र बैंकबाट बाहिरिँदै गर्दा चालु आवको ७ महिनामा कर्जाको वृद्धिदर ७ प्रतिशतमा झरको छ भने ब्याजदर ८.५५ प्रतिशत कायम छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार आव २०७८/७९ कर्जा वृद्धिदर १३.७९ प्रतिशत र ब्याजदर ११.६२ प्रतिशत, आर्थिक वर्ष २०७९/८० मा कर्जा वृद्धिदर ४.५७ प्रतिशत र ब्याजदर १२.३० प्रतिशत र आव २०८०/८१ मा कर्जा वृद्धिदर ६.१० प्रतिशत र ब्याजदर ९.९३ प्रतिशत थियो ।  विगत पाँच वर्षको अवधिमा ४१ कार्यविधि, १८ मार्गदर्शन, १६ नियमावली/विनियमावली, ११ निर्देशिका, ११ नीति, ९ फ्रेमवर्क, ७ म्यानुअल र ३ अन्य नीतिगत तर्जुमा तथा प्रतिस्थापन गरिएका कानुनी, नीतिगत तथा प्रक्रियागत व्यवस्था गरिएका छन् ।  आव २०७६/७७ मा ६ अर्ब रुपैयाँ सरकारको खातामा ट्रान्सफर गरेको राष्ट्र बैंकले गत आ‍व २०८०/८१ मा ३७ अर्ब २२ करोड रुपैयाँ गरेको छ । यस्तै, आव २०७७/७८ मा ६.६६ अर्ब रुपैयाँ, आव २०७८/७९ मा ११.०७ अर्ब रुपैयाँ र आव २०७९/८० मा २५ अर्ब रुपैयाँ राष्ट्र बैंकले सरकारको खातामा ट्रान्सफर गरेको थियो ।  गभर्नर अधिकारीको कार्यकालमा राष्ट्र बैंकको सामाजिक सञ्जाल फेसबुकमा १ लाख ५४ हजार फलोअर्स, ट्वीटरमा २५ हजार फलोअर्स र यूट्यूबमा १६ हजार सब्स्क्राइबर्स पुगेको जनाएको छ । २०७६ चैतदेखि २०८१ माघको अवधिमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या ५६ ले घटेको छ । जसमा लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी सङ्ख्यामा घटेका छन् । उनको कार्यकालमा २७ वटा वाणिज्य बैंकबाट २० वटा, २३ वटा विकास बैंकबाट १७ वटा, २२ वटा फाइनान्सबाट १७ वटा र ९० वटा लघुवित्त संस्थाबाट ५२ वटामा सीमित भएका छन् ।  राष्ट्र बैंकको स्वायत्तता जोगाए  पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार भएको आरोप लगाए । केन्द्रीय बैंक सञ्चालनको विश्वव्यापी मान्यताविपरीत राष्ट्र बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएपनि सर्वोच्च अदालत, अर्थशास्त्री, सञ्चारकर्मी तथा प्रतिष्ठित व्यक्तिहरूको भूमिका रक्षा गर्न सफल भएको उनले बताए ।  अर्थमन्त्री जनार्दन शर्मा हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ चैत २५ गते अधिकारीलाई पदमुक्त गरिएको थियो । तत्कालीन सरकारले उनीमाथि विलासी वस्तु आयात रोक्ने लगायत नीतिगत निर्णय गर्नुअघि सूचना चुहाएको गम्भीर आरोप लगाउँदै निलम्बन गरेको थियो । तर, सर्वोच्च अदालतले उनलाई पुनः गभर्नर पदमा फर्काएको थियो । तर, हालसम्म पनि उक्त मुद्दाको टुंगो लागिसकेको छैन । यस्ता छन् विवाद  कोरोना महामारी सुरु हुँदा राष्ट्र बैंकको नेतृत्व सम्हालेका अधिकारीको कार्यकाल विवादमुक्त रहन सकेन । उनको कार्यकालमा नेपालको पुँजी बजार रेकर्ड बनाउँदै ऐतिहासिक बिन्दुमा पुग्यो । बजार रेकर्ड बिन्दुमा पुगेको समयमा अधिकारीले सेयर धितो कर्जा प्रवाहमा ४/१२ को नीति ल्याए । जसकारण ३२ सय अंकमा पुगेको सेयर बजार १८ सय अंकको बिन्दुमा झर्‍यो । उनले लिएको नीतिकै कारण पुँजी बजारमा गिरावट आएको भन्दै सेयर लगानीकर्ताहरूले राष्ट्र बैंक घेराऊ गरे भने उनको विरुद्धमा नारावाजी लगाउँदै राजीनामा मागे । यस्तै, घरजग्गा कारोबारमा समेत मन्दी छाएको आरोप उनीमाथि लाग्दै आएको छ । अधिकारीको बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर उच्च हुन पुग्यो । अधिकारीले लिएका नीतिले बैंकको ब्याजदर बढेको भन्दै उद्योगी व्यवसायीहरूले सडक आन्दोलन गरे भने सदनमा समेत चर्चा पायो । उद्योगी व्यवसायीहरूले टाउकोमा कालो पट्टी बाँधेर माइतीघरलगायत देशभर आन्दोलन गरे ।  साथै चौतर्फी विरोधका बाबजुत अधिकारीले २०७९ कात्तिक १ गतेदेखि ‘चालू पुँजी कर्जा मार्गदर्शन २०७९’ जारी गर्दै लागू गरे । उक्त मार्गदर्शन फिर्ता लिन आवाज उठेपनि उनले जबरजस्त कार्यान्वयनमा ल्याए । जसकारण उनीमाथि उद्योगी व्यवसायीहरू थप रुष्ट बन्न पुगे । कोरोनाकालमा पुनर्कर्जा तथा कर्जा पुर्नसंरचनाको सुविधा दिएको थियो । तर, उद्योगी व्यवसायीहरूले जुन प्रयोजनका लागि कर्जा लिएको हो सो प्रयोजनमा लगानी नगरी जथाभाबी लगानी गर्न थालेपछि उक्त नीति ल्याएको थियो ।  पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा गभर्नर बनेका अधिकारीले पाँच वर्षे कार्यकालमा पाँच जना अर्थमन्त्रीसँग काम गर्ने अवसर पाए । खतिवडासहित जनार्दन शर्मा, वर्षमान पुन, डा. प्रकाशशरण महत र हालका अर्थमन्त्री विष्णु पौडेलसँग गभर्नरका रूपमा काम गरेका अधिकारीको खतिवडा र पौडेलबाहेकका अर्थमन्त्रीसँग पानी बाराबारको स्थिति बन्यो ।  यसअवधिमा उनीमाथि ‘एम अधिकारी’को ट्यागसमेत लाग्यो । नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम अधिकारी, खोटाङ’ को नाम देखेपछि खैलाबैला मच्चियो । मिल्दोजुल्दो नामका व्यक्ति एमालेको अर्थ विभागमा भेटिएपछि उनलाई एम अधिकारीको ट्याग लाग्दै आएको छ । यो नाम महाप्रसाद अधिकारीको छोटकरी नाम भएको र थर र जिल्ला समेत मिलेपछि उनी एमालेको सदस्य रहेको धेरैको अनुमान छ । साथै अधिकारीको शैक्षिक योग्यतामा समेत प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । उक्त मुद्दा अदालतमा विचाराधीन छ । अधिकारीको कार्यकालको अन्तिमतिर फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिष्ट’मा राख्यो । राष्ट्र बैंकको कमजोर नियमनका कारण नेपाललाई ग्रे लिष्टमा राखिएको आरोप अधिकारीमाथि समेत लाग्दै आएको छ ।