हबिबलाई बाहिरिन गभर्नरको ‘ग्रिन सिग्नल’, मूल्य १७.२ रुपैयाँ घटाइयो

काठमाडौं । लामो समयदेखि सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन खोजिरहेको पाकिस्तानको हबिब बैंकले पुनः सुरुदेखि नै प्रक्रिया थालेको छ । यसअघि पटक-पटक सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरेर सेयर खरिद बिक्रीको कुरा गर्दै आएको हबिबले यस पटक बैंकलाई सूचना नै निकाल्न लगाएर पुनः सुरुदेखि नै औपचारिक प्रक्रिया अगाडि बढाएको हो ।  शुक्रबार बैंकले सेयर खरिदको सूचना निकालेको छ । हबिबले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरूलाई दिनुपर्नेछ । सोही व्यवस्था अनुसार उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । तर, ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।  उसो त हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्नुअगावै पनि सेयर खरिदको लागि सूचना निकालेको थियो । तर, पछि नेपाल राष्ट्र बैंकले सेयर खरिद बिक्रीको अनुमति नदिएपछि प्रक्रिया नै रोकिएको थियो ।  हिमालयन बैंकमा रहेको हबिबको सेयर खदिरका लागि हिमालयन रिइन्स्योरेन्स खरिद गर्न तयार रहेको चर्चा पनि भएको थियो । हबिबले सेयर खरिदका लागि विदेशी खरिदकर्ता नपाएपछि स्वदेशी खरिदकर्ता अर्थात् हिमालयन रिइन्स्योरेन्सलाई तयार पारेको थियो ।  ‘राष्ट्र बैंकले सेयर खरिद गर्ने भए विदेशी खरिदकर्ता चाहिन्छ भनेको थियो, हामीले पाएनौं, त्यसपछि स्वदेशी खरिदकर्ता हिमालयन रिइन्स्योरेन्सलाई तयार पारेका थियौं। तर, राष्ट्र बैंकले त्यसलाई पनि अनुमति नदिएपछि प्रक्रिया रोकिएको थियो,’ हिमालयन बैंक स्रोतले भन्यो ।  स्वदेशी खरिदकर्ता पाएपनि त्यसको फिट एण्ड प्रोपर टेष्ट तथा क्षमतामाथि नियामक नेपाल राष्ट्र बैंकले प्रश्न उठाएको थियो । हबिबले हिमालयन रि-इन्स्योरेन्सलाई सेयर बिक्री गरेर बाहिरिन चाहेको भन्दै स्वीकृतिका लागि २०८० मंसिर १४ गते राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दर्ता भएको थियो । हबिब बैंक र हिमालयन रिइन्स्योरेन्सबीच बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिदबिक्री गर्ने गरी सम्झौता भएको थियो । तर, अहिले मूल्य घटाएर राखिएको छ । २०८० मंसिरमा १३० रुपैयाँमा सेयर खरिद बिक्रीका लागि हबिब र हिमालयन रिइन्स्योरेन्स तयार भएका थिए । तर, अहिले प्रतिसेयर मूल्य ११२.८० रुपैयाँ राखिएको छ ।  यसअघि राष्ट्र बैंकले सेयर खरिद बिक्रीको आवश्यक प्रक्रिया पूरा नभएको भन्दै रोकेको थियो । अहिले पुनः प्रक्रिया सुरु भएको हो ।  हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकले सुरुवाती चरणबाटै प्रक्रियामा आउन निर्देशन दिएपछि सूचना जारी गरेको बताए । ‘हामीलाई फेरि सुरुवाती चरणबाटै प्रक्रियामा आउन भनियो, हामीले सोहीअनुसार सूचना निकालेका हौं, अब अन्तिमममा खरिद बिक्रीको लागि स्वीकृति दिने/नदिने काम राष्ट्र बैंकको हो,’ उनले भने ।  उनले यसअघि हिमालयन रि र हबिबबीच प्रतिकित्ता १३० रुपैयाँमा सम्झौता भए पनि अहिले मूल्य घटेको बताए । उनले यसको कारण र तर्क भने दिएनन् । ‘मूल्य घट्ने/घटाउने भन्ने विषय बिक्रेता र खरिदकर्तामा निभर्नर हुने विषय हो, यो हामीलाई थाहा हुँदैन,’ उनले भने ।  हिमालयन बैंकको सञ्चालक समितिले हबिबको सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि बढाउने सम्पूर्ण जिम्मेवारी उच्च व्यवस्थापनलाई दिएको बैंकका एक सञ्चालकले बताए । ‘हामीले सेयर खरिदबिक्रीको सम्पूर्ण टाक्सफोर्स व्यवस्थापनलाई दिएका छौं, अहिले राष्ट्र बैंकले केही ग्रिन सिग्नल दिएकै कारण प्रक्रिया अगाडि बढेको होला,’ हिमालयन बैंकका एक सञ्चालकले भने । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसअघि नै बैंक नेपालबाट बाहिरिने योजना हबिबले बनाइरहेको थियो । तर, त्यसबेला राष्ट्र बैंकले स्वीकृति नदिने संकेत पाएपछि हबिब हच्कियो । बैंकले बाहिरिन खोजेपछि यसअघिका गभर्नर महाप्रसाद अधिकारीले हबिब बैंकका अधिकारीहरूलाई पाकिस्तानमा पनि भेटेका थिए । एउटा कार्यक्रममा सहभागी हुन पाकिस्तान पुगेका अधिकारीले त्यतिबेला हबिबका अधिकारीहरूसँग भेटेर हिमालयनबाट नबाहिरिन आग्रह गरेका थिए । अधिकारीले विदेशी बैंकको अभ्यास नेपाली बैंकमा अहिले पनि आवश्यक रहेकोले सेयर बिक्री नगर्न हबिबलाई अनुरोध गरेको बुझिएको थियो । सेयर बिक्री नै गर्ने भएपनि अन्तर्राष्ट्रिय खरिदकर्ता ल्याउनु पर्ने सर्त उनले राखेका थिए ।  गभर्नर अधिकारीको उक्त आग्रहपछि हबिबले विदेशी खरिदकर्ता पनि खोजेको थियो । हबिबले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) ले सेयर खरिद गर्ने सम्झौता गरेको थियो । तर, पछि विषय बिचमै रोकियो । त्यसपछि हबिबले संस्थापक सेयरधनीलाई आग्रह गरेपनि कुनै पनि संस्थापक सेयरधनी सेयर खरिद गर्न तयार भएनन् । अहिले हबिबलाई सेयर खरिद गराउनका लागि राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ग्रिन सिग्नल दिएपछि बैंकले प्रक्रिया सुरु गरेको हो । 

नबिल, ग्लोबल र एनआईएमबिबीच कडा प्रतिस्पर्धा, १० बैंकको नाफा घट्दा नेपाल बैंकको ४५७ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १.६७ प्रतिशत अर्थात् ८१ करोड २० लाख रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको वैशाखसम्ममा २० वटा बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छ । गत वर्षको वैशखमा ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  १० महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको वैशाखमा यस बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा २.५८ प्रतिशत अर्थात् १४ करोड १३ लाख रुपैयाँ बढेको हो । ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २९.८९ प्रतिशत अर्थात् १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।  यस्तै, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकले ३३.१४ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ बढी नाफा गरेको हो ।  यस अवधिमा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । नेपाल बैंकको १० महिनामा खुद नाफा ४५७ प्रतिशत अर्थात् २ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढेर ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकको नाफा ५९ करोड ३ लाख रुपैयाँ मात्रै थियो ।  १० महिनाको अवधिमा एभरेष्ट बैंकको ३०.९६ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १०.१९ प्रतिशत बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  राष्ट्र बैंकका अनुसार १० महिनामा सानिमा बैंक ७.१० प्रतिशत बढेर १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको ५.५५ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  तर, यस अवधिमा विभिन्न १० बैंकको नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । एनआईसीको ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, हिमालयन बैंकको ६९.३३ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ६६.२७ प्रतिशत घटेर ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ३५.७३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३०.९२ प्रतिशत घटेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, प्रभु बैंकको २०.०९ प्रतिशत घटेर २ अर्ब १४ लाख रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, प्राइम बैंकको १९.८४ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड    बैंकको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।  

सुन ५/७ तोलासम्म गहना, सीमाभन्दा बढी विलासिताका साधन

काठमाडौं । सुन कर्जा ‘उपभोक्ता कर्जा’ हो । यो फर्मभन्दा पनि व्यक्तिलाई दिइन्छ, त्यो पनि एक वर्षका लागि । सुन आवश्यक वस्तु हो । त्यसैले पनि नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रूपमा राख्न सकिने व्यवस्था गरेको छ । तर, बैंकहरूले सुनलाई निक्षेपको रूपमा राख्न भने सकिरहेका छैनन् । अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य धातु वा क्वाइन भएकाले सुन महत्त्वपूर्ण छ । नेपालीहरूले पनि व्यक्तिगत रूपमा सुन पर्याप्त किनेर राखेका छन् । व्यक्तिसँग सापटी माग्न गाह्रो हुने भएकाले बैंकमा सुन राखेर कर्जा लिन सजिलो छ । व्यक्तिहरूले आफ्नो आवश्यकता पूर्ति गर्न सुन कर्जा लिइरहेका हुन्छन् ।  जस्तो छोराछोरीको विवाह गर्नु पर्‍याे भने बुहारीको सुन बैंकमा राखेर कर्जा लिने गरेका छन् । छोराछोरी विदेश पठाउनु पर्‍याे भने सुन राख्छन् । पछिल्लो समय विदेश पठाउनका लागि सुन राख्नेहरू धेरै आउनु हुन्छ । यस्तै, बिरामी भएर, छोराछोरी पढाउन सुन राखेर कर्जा लिने अभ्यास बढ्दै गएको छ ।   सुन कर्जाका लागि आवश्यक प्रमाण   सुन कर्जा लिनका लागि बैंकमा खाता खोलेको हुनुपर्छ । बैंक खाता र नागरिकता (राष्ट्रिय परिचयपत्र) भएपछि सुन कर्जा लिन सकिन्छ । कर्जा लिँदा सुन २४ क्यारेटको हुनुपर्छ । यदि २२ क्यारेटको सुन छ भने विश्वासिलो कम्पनीबाट खरिद गरेको बिल हुनुपर्छ ।  २४ क्यारेटका लागि बिल छैन अथवा पुर्ख्यौली सुन हो भने बैंकले सहजीकरण गर्न सक्छ । तर, २२ क्यारेटको सुनका लागि बैंकले सहजीकरण गर्न सक्दैन, बिल अनिवार्य हुनुपर्छ ।  एक तोला सुनमा कति कर्जा पाउँछ ? अहिले बजारमा सुनको मूल्य १ लाख ९२ हजार रुपैयाँको हाराहारीमा रहेको छ । बैंकले औसतमा प्रतितोला १ लाख रुपैयाँसम्म सुन कर्जा दिइरहेको छ । गहना हो कि ढिक्का हो सो आधारमा बैंकले कर्जा दिन्छ । गहनामा जर्ती लगाइएको हुन्छ, कुनैमा पोते पनि हुन्छ । यदि सुन कर्जा तिरेन भने गहनालाई गाल्नुपर्ने हुन्छ । किनभने अर्काको गहना कसैले लगाउँदैनन् । गहना गाल्दा ५ प्रतिशत नोक्सान हुन्छ । किनभने त्यसमा मयल फोहर हुन्छ । यस्तै, ढिक्कावाला सुनमा भित्र केही मिश्रण गरेको छ की भन्ने डर हुन्छ । त्यसकारण बैंकलाई जोखिम हुने भएकाले २५ प्रतिशत मार्जिन राखेर ७५ प्रतिशतसम्म कर्जा दिइन्छ ।  शुद्ध सुन छ भने प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पनि कर्जा दिने गरिएको छ । यदि २२ क्यारेटको छ भने प्रतितोला ९० हजार रुपैयाँ हाराहारीमा कर्जा दिने गरिएको छ । औसतमा एक तोला सुनमा १ लाख रुपैयाँ कर्जा प्रवाह भइरहेको छ । बजार मूल्यको ६० प्रतिशतसम्म कर्जा पाउँछन् । बैंकको मूल्याङ्कनको ७५ प्रतिशत पाउने हो ।  सुन कर्जा के का लागि लिने ? सुन कर्जा व्यक्तिगत आवश्यकता पूर्तिका लागि लिने हो । कतिपयले व्यावसायिक प्रयोजनका लागि सुन कर्जा लिने गरेका छन् । २५ लाखभन्दा माथिको कर्जा छ भने प्यान नम्बर अनिवार्य हुनुपर्छ । २५ लाखभन्दा माथिको कर्जा व्यावसायिक प्रयोजनका लागि लिएको मानिन्छ । २५ लाखभन्दा कम छ भने व्यक्तिगत प्रयोजनका लागि लिएको मानिन्छ ।  २०८१ मंसिर भन्दा अगाडि सुन कर्जा एक जनालाई १० करोड रुपैयाँसम्म पनि दिइन्थ्यो । ३ करोड रुपैयाँसम्म काठमाडौं बैंकिङ अफिस शाखालाई अधिकार थियो । त्यसपछि राष्ट्र बैंकले व्यक्तिका लागि ५० लाख रुपैयाँ लागू गर्न सर्कुलर जारी गर्‍याे । एक/दुई जनाको ४/५ लाख रुपैयाँ डाउन साइज गर्नुपर्नेछ । त्यसलाई पनि पनि एक/दुई दिनमा पूरा हुन्छ ।  जतिबेला नेपालमा सुनको मूल्य १ लाख ७३ हजार पुगेको थियो, त्यतिबेला भारतमा भन्सार दर १२ प्रतिशत थियो । नेपालमा सुन आयात गर्दा भन्सार दर १० प्रतिशत थियो । पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटमा भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याए । तर, भारतमा १२ प्रतिशतको भन्सार दर कटौती गरेर ६ प्रतिशतमा झारियो । जसले गर्दा भारतमा सुन धेरै सस्तो भयो । नेपाली बजारमा दुई नम्बरी सुन छ्यापछ्यापी आउन थाल्यो । नेपाल बैंकले ६/६ महिनामा सुन किन्दा आवश्यकताका आधारमा १/२ क्विन्टल किन्ने गरेको छ ।  तर, बैंकले त्यतिबेला २ किलो मात्रै सुन किन्यो । बजारमा छ्यापछ्याप्ती दुई नम्बरी सुन आउन थालेपछि माग पनि घट्यो । त्यसपछि सरकारले भन्सार दर घटाएर १० प्रतिशतमा झारेको हो । अहिले भारतमा भन्सार दर नेपालको भन्दा ४ प्रतिशत कम भएपनि दुई नम्बरी गर्नेहरूलाई फलिफाप छैन । त्यसकारण अहिले बजारमा दुई नम्बरी सुन छैन । सुन कर्जामा डिफल्टर कर्जा लिइसकेपछि त्रैमासिक रुपमा ब्याज तिर्नुपर्ने हुन्छ । अहिले आधारदरसहित ९.३८ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ । आधार दरमा ३.५ प्रतिशत प्रिमियम निर्धारण गरिएको छ । त्रैमासिक रुपमा ब्याज तिर्नुपर्ने हुन्छ भने वर्षको एक पटक नवीकरण गर्नुपर्ने हुन्छ । प्रिपेमेन्ट गर्न पाइन्छ, ७५ प्रतिशतसम्म । तर, प्रिपेमेन्ट गर्नका लागि नवीकरण गरेको हुनुपर्छ ।  सुन कर्जामा कोही विदेशमा हुन्छन्, इच्छाएको व्यक्ति राखेको पनि हुँदैन, इच्छाएको व्यक्ति पनि विदेश गइरहेको हुन्छ । जस्तो श्रीमान/श्रीमती विदेश गएपछि इच्छाएका व्यक्ति नै हुँदैनन् । ७५ प्रतिशत साँवा चुक्ता गरेको अवस्थामा लिलाम गर्न पनि भएन । यस्तो समस्या रहेको छ ।  कतिपय ग्राहक सम्पर्कमै आउँदैनन् । एक/डेढ वर्ष पुगिसकेको हुन्छ, ब्याजले डाँडो नाघिसकेको हुन्छ । अहिले सुनको मूल्य बढेका कारण बैंकले सहजीकरण भएको हो । यदि सुनको मूल्य स्थिर थियो, ५/१०/२० प्रतिशत सुनको मूल्य घटेको थियो भने तत्काल लिलाम गर्नुपर्थ्यो।  पछिल्लो एक वर्षमा सुनको मूल्य ६०/७० प्रतिशत बढेको छ । त्यसकारण बैंक सुरक्षित छन् । यदि सुनको मूल्य घट्यो भने मार्जिन कल गर्नुपर्छ । त्यसकारण सुन कर्जा खासै डिफल्ट छैन । कुल कर्जाको १/२ प्रतिशत मात्रै होला ।  राष्ट्र बैंकको व्यवस्था अनुसार १० लाखमुनिको खराब कर्जामा १ प्रतिशत प्रोभिजन गरे पुग्छ भने १० लाखभन्दा बढीको कर्जामा सतप्रतिशत प्रोभिजन गर्नुपर्छ । त्यसकारण १० लाखभन्दा माथिको कर्जा असुल गर्न, लिलामका बैंक सक्रिय हुन्छ । कति कर्जा गएको छ ? पछिल्लो तथ्याङ्क अनुसार नेपाल बैंकले मात्रै ३२ अर्ब रुपैयाँ हारहारीमा सुन कर्जा प्रवाह गरेको छ । बैंकमा सुन कर्जाका २७ सय पोका (ग्राहक) छन् । काठमाडौं बैंकिङ अफिस शाखाबाट मात्रै १ अर्ब ३३ करोड रुपैयाँ हाराहारीमा सुन कर्जा गएको छ । बैंकको कुल कर्जामा करिब १५ प्रतिशत सुन कर्जाको हिस्सा हुन सक्छ । अहिले नेपाल बैंकसँग ४३ अर्ब रुपैयाँ बराबरको सुन बैंकमा रहेको छ । यो बैंकको मूल्याङ्कन गरेको आधारमा रहेको सुन हो ।  तर, यसमा ५ प्रतिशत फरक पर्न सक्ने भएकाले बैंकमा ४५ अर्बको सुन हुन सक्छ । बैंकको आम्दानीमा सुन कर्जाको अनुमानित १५ प्रतिशत हिस्सा हुन सक्छ । गत वर्ष १४ प्रतिशत भन्दा बढी ब्याजदर हुँदा र अहिले ९.३२ प्रतिशत ब्याजदरको तुलना गर्ने हो भने आम्दानी घटेको देखिन्छ । तर, कर्जा, ब्याज असुली राम्रो नै भइरहेको छ । पोखरा, नारायणगढ, खस्यौली, कान्तिपथ, सुनधारा शाखाले पनि ५०/६० करोड रुपैयाँ हाराहारीमा सुन कर्जा दिएका छन् । विगतमा ३०/३५ करोड रुपैयाँ सुन कर्जा थियो । पछिल्लो समय मान्छेहरू अन्य कर्जा लिन डराइरहेका छन् । एक/दुई लाखको आवश्यक पर्‍याे  भने सुन कर्जा लिन सहज रुपमा लिन सकिन्छ ।  गत वर्ष नेपाल बैंकमा सुन कर्जाको ब्याजदर १४ प्रतिशत र सेवा शुल्क ०.७५ प्रतिशत थियो । राष्ट्रिय वाणिज्य बैंकको सुन कर्जाको ब्याजदर ११ प्रतिशत थियो तर, सेवा शुल्क थिएन । त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकको २० अर्बको पोर्टफोलियो थियो भने नेपाल बैंकको १८ अर्बको थियो । राष्ट्रिय वाणिज्य बैंकले सुन कर्जा बढाउन खोजिरहेको थियो ।  गत वर्ष काठमाडौं बैंकिङ अफिस शाखामा ९८ करोड रहेको सुन कर्जा ९४ करोडमा झरेको थियो । कुल १९ अर्बको सुन कर्जा १७ अर्बमा झरेको थियो । सुन कर्जा जान पनि छाडेको थियो । त्यसपछि बैंकले सुन कर्जाको प्रिमियम घटाएर साढे २ प्रतिशतमा झार्‍यो । अहिले प्रिमियम बढाएर साढे ३ प्रतिशत पुर्‍याएको हो । सेवा शुल्क पनि हटाएको छ । अहिले राष्ट्रिय वाणिज्य बैंकको भन्दा नेपाल बैंकको सुन कर्जा धेरै छ ।  हिमाली र सहर बजार क्षेत्रका मान्छेसँग बढी सुन छ । किनभने पहाडी क्षेत्रका मान्छेले अलिकति पैसा हुने बित्तीकै जग्गामा लगानी गर्छन् । तर, सहर बजार क्षेत्रका मान्छेहरु सुनमा लगानी गरेर लकरमा राख्ने गरेका छन् । गुरुङ, शेर्पाहरुसँग सुन धेरै हुन्छ र सुनको गुणस्तरीय पनि राम्रो छ । उहाँहरुले बढी तौल भएको सुन लगाउनु हुन्छ ।  सुन कर्जाका लागि बैंकमा किन आउने ?  बैंक वैधानिक संस्था हो, सुन पसलले कारोबार मात्रै गर्ने हो । उनीहरुलाई ऋण प्रवाह गर्ने अधिकार छैन । तैपनि उनीहरुले आफ्नो तरिकाले सुन राखेर सापटी दिइरहेका हुन्छन् । त्यो व्यक्तिगत रुपमा गाउँले सापटी जस्तै हो । तर, उनीहरूसँग कानुनी कागज केही पनि हुँदैन । यदि समयमा सापटी तिरेन भने व्यवसायीले तत्काल सुन गाल्छन् । तर, बैंक सुरक्षित प्रक्रियाबाट अघि बढ्छ । किनभने एक वर्षसम्म लिलामीको सूचना निकाल्दैन । एक वर्षसम्म ब्याज नियमित गरेन भने मात्रै १५ दिने, ७ दिने चिठ्ठी लेखेर कर्जा नियमित गर्न जानकारी गराउँछ । सम्पर्क, म्यासेज पठाएर पनि भएन भने राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर लिलाम गरिन्छ । विगतमा १ लाख ७४ हजार रुपैयाँ पुगेको सुन १४८ हजार रुपैयाँमा झर्‍याे । त्यतिबेला हामीले १ लाख ६० हजार पैयाँका दरले दिएको भए तत्काल मार्जिन कल गर्नुपर्थ्यो । सुन कर्जाका लागि घर गणना गर्न सकिने व्यवस्था छ । तर, ५० हजारको सुनका लागि सूचना निकालेर घरबाट असुल गर्दा बढी आउँछ । बैंकबाट सुन कर्जा लिँदा त्यो सुनको बीमा गरिएको हुन्छ । तर, अन्य व्यक्ति तथा फर्मले बीमा पनि गरेको हुँदैनन् ।  सुनमा लगानी गर्ने कि जग्गामा ? अन्तर्राष्ट्रिय युद्धका कारण सुनको मूल्य बढेको हुँदा पछिल्लो समय सुनमा लगानी गर्दा फाइदा देखिएको छ । डलरको मूल्य सस्तो हुँदा अमेरिका, चाइना लगायत देशले सुन स्टक राखेका छन् । उनीहरुले सुन निकालेर बेचिरहेका छन् भने सुनको मूल्यमा लगानी जोखिम हुन्छ । सुन नै जोखिममा पर्न सक्छ ।  पछिल्लो समय धेरै नेपाली विदेश गए । विगतमा बजार क्षेत्र नजिक एउटा घडेरी किन्ने र सोही जग्गामा घर बनाएर बस्ने अवधारणा थियो । तर, अहिले जहाँ भएपनि भाडाको घरमा बस्ने परिपाटी बसिसकेको छ । नयाँ घर बनाउने भनेर जग्गा किन्ने परिपाटी पनि विस्तारै कम हुँदै गएको देखिन्छ ।  त्यसकारण सुन रहर मात्रै हो । सुन अनुत्पादक क्षेत्र पनि हो । नोट निष्काशन गर्दा सुन डिपोजिट गर्नुपर्ने र अन्तर्राष्ट्रियस्तरमा सबैले विश्वास गरेको धातु भएकाले सुनमा लगानी बढेको हो । तर, पछिल्लो समय ५ तोलाको सुनका गहना लगाएर एक्लै हिँड्न पनि सक्ने अवस्था छैन । तर, जग्गामा लगानी गर्‍याे भने खेती पनि गर्न सकिन्छ । नेपालीसँग कति सुन छ ?  हिमाली र सहर बजार क्षेत्रका मान्छेसँग बढी सुन छ । किनभने पहाडी क्षेत्रका मान्छेले अलिकति पैसा हुने बित्तीकै जग्गामा लगानी गर्छन् । तर, सहर बजार क्षेत्रका मान्छेहरू सुनमा लगानी गरेर लकरमा राख्ने गरेका छन् । गुरुङ, शेर्पासँग सुन धेरै हुन्छ र सुनको गुणस्तरीय पनि राम्रो छ । उहाँहरूले बढी तौल भएको सुन लगाउनु हुन्छ ।  शेर्पाको सिक्का नै सिक्का भएको सुन लगाउने चलन छ । २१ सिक्कासम्मको माला लगाउँछन् । एउटा सिक्का नै एक तोलाको हुन्छ । त्यो सिक्का ८ ग्राम भन्दा घटीको हुँदैन । पहाडमा बस्नेहरूले तिलहरी लगाउँछन् ।  नेवार, गुरुङ, शेर्पा समुदायका मान्छेहरुसँग पनि बढी सुन रहेको छ । यस्तै, व्यापारिक प्रयोजनका मान्छेहरूले पनि सुनमा सुनमा लगानी गरेको देखिन्छ । बाहुन क्षेत्री, तराईवासी, थारु (चौधरी) समुदायका मान्छेले सुनमा भन्दा जग्गामा लगानी गर्छन् । सुन बेचेर जग्गा किनेका धेरै छन् । तर, जग्गा बेचेर सुन किनेको बिरलै हुन्छन् ।  सुन विलासिताको वस्तुमा हो ? विगतमा २/३ तोला सुनमा विवाह हुन्थ्यो, एउटा औँठी, घाँटीमा सिक्री भए पुग्थ्यो । तर, अहिले रानी हार चाहियो, अन्य सिक्री चाहियो । पछिल्लो समय विवाहको स्ट्याण्डर्ड नै बढिरहेको छ । छोरी चेलीको विवाहको लागि सुन अनिवार्य जस्तै बनेको छ ।  त्यसकारण ५/७ तोला सुन खरिद गर्दा विलासिता वस्तु भन्नु हुँदैन । तर, त्यो भन्दा धेरै सुन खरिद गरिएको छ भने विलासिता वस्तुमा गणना गर्दा हुन्छ । एक व्यक्तिले त्यो भन्दा बढी सुन राख्नु पनि हुँदैन ।  (नेपाल बैंकका सिनियर मेनेजर हरिप्रसाद ज्ञवालीसँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित । )