विज्ञापन व्यवसायलाई तहसनहस पार्दै एआई
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) ले विज्ञापन व्यवसायलाई ध्वस्त पार्दै गइरहेको यस उद्योग सम्बन्ध नेताहरूले बताएका छन् । यसले लगानीकर्ताहरूलाई चिन्तित तुल्याएको छ । विज्ञापन बजार नयाँ जेनेरेटिभ एआई उपकरणहरूको उदयबाट चुनौतीमा परेको छ । यसको सहयोगमा छिटो गतिमा सामग्री उत्पादन गर्न सकिन्छ । पछिल्ला केही वर्षमा ओपनएआई र गुगलका एआई इमेज जेनेरेटरहरू चर्चित भएका छन् । ‘मलाई लाग्छ यो एआई अवरोधले हरेक उद्योगका लगानीकर्तालाई अशान्त बनाइरहेको छ र हाम्रो व्यवसायलाई पूर्ण रूपमा तहस–नहस गरिरहेको छ,’ बेलायती विज्ञापन समूह डब्ल्यूपीपीका बिदा हुँदै गरेका सीईओ मार्क रिडले सीएनबीसीसँग भने । डब्ल्यूपीपी प्रमुखको रूपमा आफूले राजीनामा दिने घोषणा गरेपछि पहिलो अन्तर्वार्तामा रिडले भने, ‘एआईले हाम्रो व्यवसायलाई पूर्ण रूपमा क्रान्तिकारी बनाउने छ ।’ ‘एआईले विश्वभरको विशेषज्ञता सबैलाई निकै सस्तोमा उपलब्ध गराउने छ,’ उनले लण्डन टेक सप्ताहमा भने, ‘उत्तम वकिल, उत्तम मनोवैज्ञानिक, उत्तम रेडियोलोजिस्ट, उत्तम अकाउन्टेन्ट र यत्तिकै राम्रो विज्ञापन क्रिएटिभ र मार्केटिङ विज्ञ पनि एआईद्वारा नै सञ्चालन हुनेछ ।’ रिडले बताएअनुसार अहिले डब्ल्यूपीपीका ५० हजार कर्मचारीहरूले कम्पनीकै एआई(सञ्चालित मार्केटिङ प्लेटफर्म डब्ल्यूपीपी ओपन) प्रयोग गरिरहेका छन् । रिडका अनुसार विज्ञापन व्यवसायको क्रिएटिभ क्षेत्रमा संरचनात्मक दबाबले उद्योगमा एकीकरण (कन्सोलिडेसन) बढाइरहेको छ र कम्पनीहरूले ब्रिफ तयार पार्नेदेखि मिडिया योजना बनाउन र अभियान सुधार गर्नेसम्म सबै कुरामा एआईले प्रभाव पार्ने कुरा स्वीकार्नै पर्ने हुन्छ । पछिल्लो वर्ष जुनमा प्रकाशित फरेस्टरको एक रिपोर्टले देखायो कि ६० प्रतिशतभन्दा बढी अमेरिकी विज्ञापन एजेन्सीहरूले जेनेरेटिभ एआई प्रयोग गरिसकेका छन् र थप ३१ प्रतिशतले यसको उपयोगबारे अनुसन्धान गरिरहेका छन् । ‘विशाल रूपान्तरण’ रिडको यो धारणा एक्लो होइन । एआईको प्रभावले विज्ञापन क्षेत्रमा ‘विशाल रूपान्तरण’ तुल्याइरहेको फ्रेन्च विज्ञापन कम्पनी पब्लिसिस ग्रुपका सीईओ मोरिस लेभीले पेरिसमा आयोजित भिभा टेक सम्मेलनमा बताए । उनले बताएअनुसार एआई इमेज र भिडियो जेनेरेशन उपकरणहरूले सामग्री उत्पादनलाई निकै छिटो बनाइरहेका छन् भने स्वचालित मेसेजिङ प्रणालीहरूले पहिले कहिल्यै नभएको स्तरमा व्यक्तिगत सन्देश पुर्याउन सकेका छन् । तर पब्लिसिस प्रमुखले जोड दिए कि एआईलाई केवल एउटा उपकरणका रूपमा हेर्नुपर्छ, जसले मानिसको जीवनलाई सहज बनाउन सहयोग गर्छ । ‘हामीले एआईलाई एउटा उपकरणभन्दा बढी ठान्न हुँदैन,’ उनले भने । र, एआईले केही जागिरहरूमा असर पुर्याउन सक्ने भए तापनि लेवीको ठम्याइमा यसले नोक्सानभन्दा बढी नयाँ अवसरहरू सिर्जना गर्नेछ । ‘के एआईले मलाई प्रतिस्थापन गर्नेछ र केही जागिर नष्ट गर्नेछ ? हो, एआईले केही जागिरहरू नष्ट गर्नेछ,’ लेभीले स्वीकार गरे । ‘अझ महत्वपूर्ण कुरा के हो भने एआईले जागिरहरू रूपान्तरण गर्नेछ र नयाँ जागिरहरू सिर्जना गर्नेछ। त्यसैले कुल परिणाम सम्भवतः सकारात्मक नै हुनेछ,’उनले थपे । उनको भनाइमा यो कुरा इन्टरनेट र स्मार्टफोनजस्ता विगतका प्रविधिहरूले श्रम क्षेत्रमा पुर्याएको प्रभाव जस्तै हुनेछ। ‘अझ धेरै स्वतन्त्र काम हुने छ,’ लेभीले भने । तर गार्टनरकी विश्लेषक निकोल डेन्मन ग्रीनले भने ब्रान्डहरूले उपभोक्ताहरूमा नकारात्मक प्रतिक्रिया उत्पन्न हुन नदिन सावधानी अपनाउनुपर्ने बताइन्, किनकि धेरै उपभोक्ताहरूले मानव सिर्जनात्मकतामा एआईले असर पार्ने डर व्यक्त गरेकी छन् । गार्टनरको गत सेप्टेम्बरको एक सर्वेक्षणअनुसार ८२ प्रतिशत उपभोक्ताले जेनेरेटिभ एआई प्रयोग गर्ने कम्पनीहरूले नाफा घटे पनि मानव जागिर जोगाउन प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘विज्ञापनमा एआई के गर्न सक्छ भन्नेभन्दा के गर्नुपर्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ,’ ग्रीनले सीएनबीसीलाई भनिन् । ‘यसले के गर्नुपर्छ भने नयाँ र मौलिक ज्ञान सिर्जना गर्न, विविध र साना समूहसम्म पुग्नका लागि अनौठो कार्यान्वयन गर्न, ‘मार्केटिङ’ को सीमाना फराकिलो बनाउन र ब्रान्डलाई अझ भिन्न, उपयोगी र सान्दर्भिक व्यक्तिगत अनुभव दिन सहयोग गर्नुपर्छ - जसमा हाइपर-पर्सलाइजेसनको वाचा पनि पूरा होस्,’ उनले भनिन् ।
आजदेखि बङ्गलादेशमा विद्युत् निर्यात, पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताए । ‘बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,’ उनले भने । नेपालले हरेक वर्ष पाँच महिना वर्षाको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्ने छ । मन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र विद्युत् क्षेत्र भएको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गत वर्ष सम्झौता भएको थियो । आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुने छ । पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए । उक्त विद्युत् बिक्री बापत सरकारले पाँच महिनामा १ अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्रपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ । ऊर्जा क्षेत्रमा दीर्घकालीन महत्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ । सरकारको ऊर्जा विकास मार्गचित्र-२०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ । भारतमा पनि विद्युत् निर्यात निरन्तरता नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ । जेठ १८ (जुन १) देखि १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि २ सय मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ । त्यस्तै प्राधिकरणले गए राति १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर-मुजफ्रपुर चार सय केभी र एक सय ३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिदबिक्री भइरहेको छ । वर्षा याम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।
एनएमबि, एभरेष्ट, एनआईसी, कृषि र कुमारी बैंकले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर घटाएका छन् । आज असार १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जेठको तुलनामा असार महिनामा बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.०५ प्रतिशत घटेको छ भने संस्थागततर्फ ०.०१ प्रतिशत घटेको छ । यससँगै असारमा बैंकहरुको औसत ब्याजदर व्यक्तिगततर्फ ५.९ प्रतिशत र संस्थागततर्फ ४.३७ प्रतिशतमा झरेको छ । जेठमा औसत व्यक्तिगततर्फ ५.९५२ प्रतिशत र संस्थागततर्फ ४.३९ प्रतिशत ब्याजदर रहेको थियो । असारमा १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् भने ५ बैंकले मात्रै ब्याजदर घटाएका छन् । एनएमबि बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, कुमारी बैंकले असारमा ब्याजदर घटाएका हुन् । एनएमबि बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, एभरेष्ट बैंकले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत, एनआईसी एशिया बैंकले ०.०५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत ब्याजदर तोकेका छन् । कृषि विकास बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०६ प्रतिशत घटाएर ५.४५ प्रतिशत र संस्थागततर्फ १.१२ प्रतिशत बढाएर ४.४५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, कुमारी बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२ प्रतिशत घटाएर ५.७१ प्रतिशत र संस्थागततर्फ ०.४ प्रतिशत घटाएर ४.५१ प्रतिशत ब्याजदर तोकेको छ ।