लक्ष्य २० लाख डलरको, प्राप्ति ५४ करोड बढी

काठमाडौं । ‘बाहिर (विदेश) मान्छेहरुले कमाएको रकम आफ्नो घरमा पठाउनु पर्दा कहिले हुण्डि, कहिले चोरीको बाटो अपनाउनुपर्थ्याे, पैसाको सुरक्षाको उपाय थिएन, सरकारले पाउने अंश हराउँथ्यो, विदेशी मुद्रा कता कता पुग्थ्यो, केही पनि प्रणाली थिएन,’ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले विगत सम्झिँदै भने, ‘मलाई सम्झना छ, उहाँ (चन्द्र ढकाल)ले त्यतिबेला नयाँ अवधारणा ल्याउनु भयो, उहाँको त्यो अवधारणा नराम्रो लागेन । बैंकलाई निजीकरण भइसकेको अवस्थामा निजी क्षेत्रले नै अग्रस्थानमा रहेर कानुनी वा न्यायिक बाटोबाट पैसा ल्याउन दिँदा पैसाको सुरक्षा, सरकारलाई पनि फाइदा हुने भयो । त्यसकारण त्यतिबेला यो अवधारणा ल्याउने मान्छेलाई धन्यवाद दिनैपर्छ ।’ 

विगतमा आफूले गरेको निर्णय राम्रो नै लागिरहेको पूर्वगभर्नर ढकाल बताउँछन् । इनोभेसन, नयाँ सोच निकाल्ने वा भइराखेको प्रक्रियालाई सरल प्रक्रियामा ढालेर ल्याउने अरूले सोचेनन् । तर, चन्द्र ढकाल र उनको समूहले ल्याएको इनोभेसन सबैले पच्छ्याउने गरेको उनको भनाई छ ।

‘ग्रासरुटबाट आउनु भएको, घरपरिवार चलाउन पनि अप्ठेरो अवस्थाबाट ढकालजी आउनु भएको हो । इमानदारितामा प्रश्न गर्ने ठाउँ नै थिएन । इमानदारितामा प्रश्न भएन, त्यो आइडीया ल्याएको तारिफ गर्न लायक बन्यो, जुन आज पनि देखिएको छ । होइन भने आइएमई नै बन्द हुन्थ्यो नी त । सयौंले गरेर बिचमा छाडेका पनि छन् । तर, आइएमई चलिरहेको छ नी । आइएमई ब्राण्ड नै बन्यो,’ पूर्वगभर्नर ढकालले भने ।

२५ वर्षअघि रेमिट्यान्स व्यवसाय शुरु गर्दा आइएमई लिमिटेडका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नरसँग भनेको थिए–हामी केही वर्षपछि मासिक २० लाख डलर रेमिट्यान्स भित्र्याउन सक्छौं । त्यतिबेला उनको लक्ष्य थियो मासिक २० लाख डलरको । तर, अहिले आइएमईले मासिक ५४ करोड डलर भन्दा बढी रेमिट्यान्स भित्र्याउँछ । चालु आर्थिक वर्षमा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने आँकलन छ । 

त्यसको ५० प्रतिशत अर्थात् ८ खर्ब रुपैयाँ भन्दा बढी आइएमई लिमिटेड र ग्लोबल आईएमई बैंकबाट भित्रिने गरेको कम्पनीका संस्थापक अध्यक्ष ढकाल बताउँछन् । जुन अमेरिकी डलरमा मासिक ५४ करोड भन्दा माथि हुन्छ । 

‘आइएमईको शुभारम्भ हुँदा तत्कालीन गभर्नरले असम्भव काममा हात हाल्नु भयो, बिचरा गाउँबाट आएको, अलिअलि पैसा जम्मा गरेको पनि सफल नहुने काममा सुरु गर्नु भयो, मेहनत र दुःख गरेको पैसा डुबाउने भन्नु भएको अहिले पनि सम्झना छ,’ उनले भने, ‘मैले त्यतिबेला धेरै नै एम्बिसन भएर महिनाको २० लाख डलर भित्र्याउँछु भनेको थिए । त्यसरी सुरु भएको आइएमईको यात्रा अहिले आइएमई र ग्लोबल आइएमई बैंकको गरेर कुल ५० प्रतिशतभन्दा बढी विदेशी मुद्रा भित्रिएको छ ।’ 

पछिल्लो समय ८० प्रतिशत रेमिट्यान्स औपचारिक च्यानलबाट आउने गरेको छ । उनका अनुसार विस्तारै रेमिट्यान्स भनेको आइएमई हो र आइएमई भनेको रेमिट्यान्स हो भन्ने प्रायवाची शब्दको रुपमा विकास भएको छ । २५औँ वर्ष पूरा गर्दा हर्षित महसुस भइरहेको उनले बताए । 

राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावल विगतमा आफूले गरेको निर्णयलाई अहिले आएर सम्झिँदा खुशी लागिरहेकाे बताउँछन् । ‘विदेशबाट पठाएको पैसा संगठित क्षेत्रबाट आउँछ भने त्यसरी किन नकिन्ने ? केही गाह्रो, अप्ठेरो पर्छ की, हाम्रा नीति नियम, कानुन, संविधानले रोक्छ की भनेर पश्न गर्दा उहाँ (चन्द्र ढकाल)ले केही पनि हुँदैन भनेर जवाफ दिनु भयो । गर्न सक्नु हुन्छ भन्दा सक्छु भन्नु भयो,’ विगतको निर्णय सम्झिँदै पूर्वगभर्नर रावलले भने, ‘म पनि हौसिएर यसलाई लागू गरायौँ । त्यसपछि देशमा विदेशी विनिमयको राम्रो प्रवाह देखिन थाल्यो । रेमिट्यान्सबाट प्रशस्त पैसा आउन थाल्यो ।’ 

उनका अनुसार विदेशी मुद्रा भित्र्याउँदा देशले फाइदा उठायो, यो कार्यमा संलग्न निकाय, निजी क्षेत्रका व्यक्तिलाई पनि ठूलो फाइदा पुर्याएको छ । साथै विदेशबाट पैसा पठाउनेको परिवार पनि लाभान्वित भइरहेको उनको भनाइ छ । 

‘समग्रमा राष्ट्र र व्यक्ति विशेषलाई राम्रो गरिरहेको छ । यो निर्णय मैले लिए, मेरा राष्ट्र बैंकका तत्कालीन सहकर्मी साथीहरूले साथ दिए । निजी क्षेत्रले पनि राम्रोसँग काम गर्याे । जे भयो राष्ट्रको लागि भयो । त्यो निर्णय लिँदाको घडी सम्झिँदा म आज पनि खुशी नै हुन्छु,’ उनले भने । 

राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हिसाबले विगतमा आफूले निर्णय गरेको बताउँछन् । आफूले गरेको निर्णयले विदेशमा श्रम गरेर कमाएको पैसा कम्पनीमार्फत नेपालमा पठाउँदा विदेशी मुद्रा अपचलन रोकिएको र आर्थिक गतिविधि बढाएको उनको भनाइ छ । 

‘निजी क्षेत्रलाई किन प्रोत्साहित नगर्ने ? निजी क्षेत्रलाई पनि प्रयोगात्मक रुपमा दिएर हेरौं न भनेर सर्वप्रथम आइएमईलाई मलेसियामा विदेशी मुद्रा कारोबार गर्न स्वीकृति दियौं । त्यो स्वीकृतिबाट नेपालीहरूले विदेशमा श्रम गरेर कमाएको पैसा कम्पनीमार्फत नेपालमा पठाउँदा विदेशी मुद्रा अपचलन रोकिएको छ भने आर्थिक गतिविधि बढाएको छ, उपभोग गर्नेहरूदेखि लगानी गर्नेसम्मलाई धेरै सहयोग गरेको छ । निजी क्षेत्रलाई रेमिट्यान्स ल्याउन बढावा दिने बाटो गर्याैं सकारात्मक कार्य गरेको जस्तो लाग्छ,’ उनले भने । 

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर मेल र हुलाकबाट आउने रेमिट्यान्सलाई आइएमईले निरुत्साहित गरेको बताउँछन् । रेमिट्यान्स अर्थव्यवस्थाको खम्बा होला भनेर तत्कालीन समयमा आफूहरुले नसोचेको उनको भनाइ छ । 

‘त्यतिबेला जति पनि रेमिट्यान्स मेल, हुलाकबाट आउँथ्यो । २÷३ हप्ता मामुली लाग्थ्यो । बीचमा बढी भन्दा बढी पैसा हुण्डिमा डाइभर्ट भएको देखिन्थ्यो । सोही सन्दर्भमा राष्ट्र बैंकले निजी रेमिट्यान्स कम्पनीलाई स्वीकृति दियो । यो तहमा रेमिट्यान्सले अर्थव्यवस्थाको खम्बा होला भनेर हामीले विचार गरेकै थिएनौं,’ उनले भने, ‘अन्य रेमिट्यान्स एजेन्सी र आइएमईले सुरु गरेको फण्डामेन्टल फरक थियो । आइएमईको मोडलमा मलेशियामा आज संकलन भयो, लाभग्राहीले आजै पैसा पाउँथ्यो ।’ 

उनका अनुसार बैंकबाट ऋण लिएर भुक्तानी गर्दा शुल्कभन्दा ब्याज बढी भयो भने डुब्छ भन्थ्यौं । तर, आइएमईले बनाएको प्रणाली सबैले पच्छ्याउने गरेको उनको भनाइ छ । 

‘त्यतिबेला जोखिम नलिएको भए रेमिट्यान्स आजको आजै आउने थिएन । त्यसकारण हिजोआज हुण्डि त्यति सुनिदैँन । सबैले रेमिट्यान्स कम्पनीलाई विश्वास गरेका कारण हुण्डि हराएको हो,’ उनले भने । 

आइएमई ग्रुपका सह संस्थापक तथा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाल डिजिटल बैंकिङको अग्रणी संस्था आइएमईले बनिरहेको बताउँछन् । नेपालमा उद्यमशीलताको सम्भावना छ भनेर सन्देश दिनका लागि विभिन्न क्षेत्रमा लगानी गरिरहेको उनको भनाइ छ । डिजिटल अर्थतन्त्रको इकोसिस्टम विकास गर्नका लागि विभिन्न किसिमका नयाँ आयाम ल्याएको उनले बताए ।  

सन् २००१ मा एउटा सानो कोठाबाट सुरु भएको अर्थात् जन्मिएको आइएमई लाखौं नेपालीको दैनिक जीवनसँगै गाँसिनको पुगेको छ । २५ वर्ष अगाडि मुलुकमा विदेशतिर काम गर्न जाने लहर सुरु हुँदै थियो । विदेश जाने युवाहरुको संख्या तिव्र रुपमा बढिरहेको अवस्थामा विदेशमा कमाउन मुस्किल थियो नै तर, आफूले कमाएको रकम आफ्नो घर परिवारसम्म पुर्याउन झनै कठिन थियो । नेपालीहरूलाई विदेशमा भाषाको समस्या, बैंकसम्म पुग्नै झण्झट थियो भने अर्काेतर्फ ठगिने अवस्था थियो । त्यही समस्याको समाधान गर्न १ करोड रुपैयाँ पुँजीमा स्थापित इन्टरनेशन मोनी एक्सप्रेस (आइएमई)ल आज २५औैँ वार्षिकोत्सव मनाएको छ ।

Share News