ग्लोबल आईएमईका सीईओको राजीनामा, कार्यसम्पादन कमजाेर भएकाे बाेर्डकाे आरोप

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले राजीनामा दिएका छन् । शर्माले करिब ३ बर्षको कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन् । ग्लोबल आइएमई बैंकमै सहायक महाप्रवन्धकको पदबाट प्रवेश गरेका उनी करिब १ बर्ष अघि मात्र बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । बोर्डसँगको विवाद नै उनको राजीनामाको कारण रहेको बताइएको छ । बैंकका वित्तीय सूचकहरुमा आशातीत प्रगति हासिल गर्न नसकेको आरोप बोर्डले उनीमाथि लगाएको थियो । त्यसै कारण उनले राजीनामा दिएको हुनसक्ने आशंका गरिएको छ । उनले बोर्डसमक्ष राजीनामा दिएको ग्लोबल आइएमई बैंकका एक सञ्चालकले पुष्टि गरे ।

गुहेश्वरीले भैरहवामा खोल्यो ११ औं शाखा

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले भैरहवा, रुपन्देहीमा ११ औं शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेशलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको कार्यक्रममा उपस्थिति रहेको थियो । चाँडै नै बुटवल रुपन्देहीमा नै १२ औं शाखा विस्तार हुने संस्थाद्वारा प्रेस विज्ञप्ती मार्फत जनाइएको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल, चुच्चेपाटी, अजरअमर रोड, हेटौँडा, आदर्श नगर, वीरगञ्ज, चारआली, विर्तामोड, थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड, जीतपुर, जनकपुर, धनुषा र नारायणगढ चितवनमा रहेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले ०७५ पौष मसान्तसम्म निक्षेप संकलन ३ अर्ब ३० करोड तथा कर्जा २ अर्ब ९० करोड प्रवाह गरी ५ करोड २६ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड ९७ लाख रहेको छ । बैकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, Internet Banking सेवा, ECC सेवा, IPS सेवा, Safe Deposit Locker सुविधा विभिन्न विप्रेशन (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा सेवा दिइदै आएको छ ।

स्ट्याण्डर्ड चार्टर्डको सिइओमा दस्तिदार नियुक्त

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड(एससीबी नेपाल) मा नयाँ प्रमुख कार्यकारी अधिकृत(सिइओ)का रुपमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकिङ क्षेत्रका २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई बैंकको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ब्रुनाईका प्रमुख कार्यकारी रहेका दस्तिदारलाई चार्टर्ड नेपालको सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो । जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । नयाँ सिइओको कार्यकाल फेब्रुअरी १५ देखि शुरु हुने कम्पनी सचिव बिमल सिंहले जनाएका छन् ।