सांग्रिलामा नयाँ सञ्चालक समिति, अध्यक्षमा प्रसाईँ चयन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूह तथा सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना निर्विरोध चयन गरेको थियो । नवनिर्वाचित सञ्चालकहरुको बैठकले अध्यक्षमा अच्युतप्रसाद प्रसाईँलाई चयन गरेको छ । साथै सदस्यहरुमा संस्थापक समूहबाट शान्तराज बतास, शुसीलकाजी बाँनिया, सर्वसाधारण समूहबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रविना शेरचन चयन भएको कम्पनी सचिव तेजबहादुर ठकुल्लाले जनाएका छन् ।

लक्ष्मी बैंकको वार्षिक साधारण सभा माघ २८ गते, ८.५० % बोनस शेयरको प्रस्ताव पारित गरिने

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको १८ औ वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । माघ ३ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाामा सञ्चालक समितिको प्रतिवेदन छलफल सहित पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा आव २०७४/०७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गर्ने कार्यसूचि रहेको छ । विशेष प्रस्तावका रुपमा बैंकको हालको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले ६९ करोड ८८ लाख ४१ हजार ६ सय ९१ बराबरको बोनश शेयर वितरणको प्रस्ताव छलफल सहित पारित गनिरे छ । साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.४५ प्रतिशतका दरले ३ करोड ६७ लाख ८१ हजार १ सय ४२ बराबरको नगद लाभांश(बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने जनाइएको छ । बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पनि प्रस्तुत गरिंदैछ । १८ औं वार्षिक साधारण सभा, बोनस शेयर तथा नगद लाभांश प्रयोजनका लागि बैंकको शेयर दाखिला खारेजको काम माघ १४ गते बन्द रहने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

सगरमाथा इन्स्योरेन्स र चिरायु अस्पतालबीच सहकार्य, भीआइपी कार्ड होल्डरको उपचारमा विषेश छुट

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायु अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुबिधामा छुट पाउने छन् । उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायु’ अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।