डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै बैंकको अधिकृतस्तरको कर्मचारीसमेत आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले दुई वर्षसम्म कुनै पनि वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ । यस्तै बैंकले ‘घ’ वर्गका वित्तीय संस्थालाई समेत केन्द्रीय बैंकले सोहीअनुसार गर्नु गराउनसमेत आग्रह गरेको छ । तर तोकिएको समयावधि पूरा भएपछि कुनै पनि वाणिज्य बैंक तथा वित्तीय संस्थामा कुनैपनि हैसियतमा काम गर्न पनि केन्द्रीय बैंकको स्वीकृति लिनु पर्नेछ । तोकिएको समयावधि पूरा भएपछि राष्ट्र बैंकबाट अवकाश पाएका र पदबाट हटेका डेपुटी गभर्नर, पूर्वकार्यकारी निर्देशक वा पूर्वअधिकृतस्तरका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थामा नियुक्ति गर्दा यस बैंकको पूर्वस्वीकृति लिए वा नलिएको यकिन गरेर मात्र नियुक्ति गर्ने व्यवस्था गर्न परिपत्र गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिए ।

साधना लघुवित्तले सदस्य कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कर्जा कारोबार तथा बीमादाबी रकम भुक्तानी गर्दै आएको छ । शाखा कार्यालय घ्याम्पेशालबाट कर्जा कारोबार गरेका जुनामाया सर्कीनीको निधन पछि ३३,८०७ कर्जा मिनाहा वापत रकम भुक्तानी गरेको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मृतकका श्रीमान सुसुरके दमाईलाई बीमादाबी रकम वापत १ लाख ५ हजार रकम भुक्तानी गरिएको वित्तिय संस्थाका घ्याम्पेशाल शाखा प्रमुख पदम दहालले जानकारी दिएका थिए । सोही अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी गराउँदै सामाजिक उत्तरदायित्वको क्षेत्रमा वित्तीय संस्थाले भविष्यमा थप योगदान गर्ने बताएको छ ।

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले वित्तिय संस्थाहरु आफनो अस्तित्वका लागि न्यायोचित मुनाफाका साथै समाज र देशको आर्थिक सामाजिक विकासका लागि इन्स्योरेन्ससंग बैकको सहकार्यबाट दुबै संस्था र समग्र देश लाभान्वित हुने अपेक्षा गरेका छन् । सो अवसरमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले दुर्गम स्थानमा समेत कृषि वीमामार्फत सर्वसाधारण किसानको आर्थिक हीत रक्षामा उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको अग्रणी बैकसंग सहकार्य गर्न पाउंदा शिखर इन्स्योरेन्स गौरवान्वित भएको बताए । धर्मपथस्थित बैकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी, संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रवन्धक लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल, शिखर इन्स्योरेन्स कम्पनी उप प्रवन्धक अन्जन ढकाल लगायतको उपस्थिति थियो ।