लोडसेडिङ घटाउन उर्जालाई पाँच अर्ब ३७ करोड, विद्युत् उपकरण किन्न खर्च गर्नुपर्ने

काठमाडौँ – अर्थ मन्त्रालयले विद्युतीय उपकरण खरिदका लागि ऊर्जा मन्त्रालयलाई पाँच अर्ब ३७ करोड ८० लाख रुपैयाँ खर्च गर्न सहमति दिएको छ । लोडसेडिङ न्यूनीकरणका लागि अर्थ मन्त्रालयले विशेष व्यवस्था गरेर यो रकमको सहमति जनाएको सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘लोडसेडिङ न्यूनीकरण गरी जनतालाई राहत हुन्छ भने काम गर्नुस् भनेर बजेटको सहमति दिइएको छ,’ उनले भने, ‘यो रकम नेपाल विद्युत् प्राधिकरणले आफूले ल्याएको कार्यक्रमअनुसार खर्च गर्नेछ ।’ सचिव सुवेदीका अनुसार प्राधिकरणले यो रकमबाट उच्च क्षमताका नयाँ ट्रान्सफर्मर खरिद गर्नेछ । यस्तो ट्रान्सफर्मरबाट प्राविधिक चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणको विश्वास छ । यो रकमबाट पोल, तार र मिटर पनि खरिद गरिनेछ । नयाँ पत्रिका दैनिकबाट ।

प्रभु क्यापिटलको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं, २७ मंसिर । प्रभु क्यापिटलको गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न भएको कम्पनीको आठौं वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको बाक्लो उपस्थिती थियो । विगत ८ वर्ष देखि संचालनमा रहेको यस कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ । साधारण सभाले संचालक समितिमा भएको परिवर्तनलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

एसबिआइ बैंकलाई एफपीओ जारी गर्न बोर्डको स्वीकृति, प्रतिकित्ता एफपीओको मूल्य ९७१ रुपैयाँ

काठमाडौं, २७ मंसिर । नेपाल धितोपत्र बोर्डले नेपाल एसबिआइ बैंकलाई थप साधारण सेयर (एफपीओ) जारी गर्न स्वीकृति दिएको छ । बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन गरेपछि बोर्डले एफपीओ जारी गर्न स्वीकृति दिएको हो । बैंकले एफ्पीओ जारी गर्नका लागि प्रतिकित्ता ९ सय ८४ रुपैंयामा प्रस्ताव गरेको थियो तर बोर्डले सो प्रस्ताव अस्वीकृत गरेपछि बैंकले बोर्डको निर्देशन अनुसार बजार मुल्यमा आधारित रही प्रतिकित्ता ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले कार्तिक ९ गते संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न एफ्पीओ जारी गर्ने भन्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्दैछ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडा कोषमा रहनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।