अध्यक्षको प्रतिस्पर्धाबाट फत्तबहादुर केसी बाहिरिए, पुनः नियुक्ती नहुने भएपछि कर्मचारीसँग लिए बिदा

काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै दाैढबाट बाहिरीएका हुन् । आफू पुनः नियुक्ति नहुने पक्का भएपछि अध्यक्ष केसीले आईतबार सबै बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई समितिमा बोलाएर आफ्नो कार्यकालमा गरेका राम्रो कामको चर्चा गरेका थिए । त्यस्तै कर्मचारीहरुसँग पनि आफू बीमा समितिबाट विदा लिन लागेको जानकारी गराएका छन् । ८ वर्षसम्म समितिमा अध्यक्ष भएका केसी पुस ७ गतेबाट विदा हुँदैछन् । समितिको अध्यक्ष बन्ने लविङका लागि करिव डेढ दर्जन व्यक्ति अर्थमन्त्रालय पुगेका छन् । समितिको अध्यक्ष बन्न रविन्द्र घिमिरे, केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई,  ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर,  केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा  लविङ गर्दै गरिरहेका छन् ।

नेपालमा रहेको भारु नसाटिने निश्चित, पटकपटकको आग्रहलाई भारतद्धारा वेवास्ता

काठमाडौं ४, पुस । नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने देखिएको हो । भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले बेवास्ता गरेका कारण नेपालबाट भारतीय पक्षसँगको कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ कुरेर बसिरहेको वताए । यसअघि ठूला दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारत जाने डेपुटी गभर्नरले वताएका थिए । कालो धनका रुपमा ठूलो रकम रहेको आशंका गर्दै भारतले गत कात्तिक २४ मा यी नोटहरुमा प्रतिबन्ध लगाएपछि नेपाल पनि प्रतिबन्ध लागेको छ । कारोबार दैनिकबाट ।

प्रवाहित कर्जा ७.४ प्रतिशतले वृद्धि, घरजग्गामा १५ प्रतिशत मात्र बैंकको लगानी

काठमाडौं, ३ पुस । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.७ प्रतिशतले मात्र बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको ७.८ प्रतिशत र विकास बैंकहरुको ९ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ७.२ प्रतिशतले घटेको छ । बाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा वित्त कम्पनीहरुले कर्जा प्रबाहमा धेरै व्याज लिने भएकोले कर्जा प्रबाहमा कमी भएको हो । यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत, निर्माण क्षेत्र तर्फको कर्जा ७.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ७ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ८.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले बढेको छ । गत कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.७ प्रतिशत र १२.६ प्रतिशत मात्र रहेको थियो । कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा १५ प्रतिशत अर्थात २ खर्व ७० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रबाह भएको छ । कात्तिक मसान्त सम्कममा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत आर्थात ३९ अर्ब ३० करोड रुपैयाँ रहेको छ । त्यस्तै, वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत आर्थात ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७.४ प्रतिशत ( ५ अर्ब ३५ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ प्रतिशतले घटेको थियो ।