सिभिल बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तारका लागि एशियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । अब एशियन लाइफका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकले यस अघि पनि जीवनवीमा कम्पनीहरु त्था निर्जी वनवीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँने भएको छ ।

जनता बैंकको सहायक कम्पनीलाई मर्चेन्ट बैंकरको लाइसेन्स

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले जनता क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा उपलब्ध गराउन पाउने गरी त्यस्तो अनुमति प्रदान गरेको जनाइएको छ । अनुमति प्राप्त गरेपछि क्यापिटलले आफ्नो पूर्वाधार पूरा गरी शीघ्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

डोटीका कुनैपनि गाउँपालिकामा बैंक पुगेनन्, कामकाज प्रभावित

डोटी । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन् । जिल्लाका बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुन सकेका छैनन् । स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडीकेदार गाउँपालिका विपिनगरका स्थानीय रोजबहादुर कलेलले बताए । उनले भने, “गाउँपालिकामा बैंक छैनन्, सामान्य राजश्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपरेको छ ।” राज्यको पुनःसंरचनापश्चात् सरकारले मुलुक भरका सबै स्थानीय तहमा बैंकिङ तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गर्ने निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन् । स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको जोरायल गाउँपालिका ५ गड्सेराका वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए । यहाँका स्थानीय तहका गाउँमा आर्थिक कारोवार नहुने भएपछि स्थानीय अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायललगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआइसिंह गाउँपालिका–५ का स्थानीय चेतराज भट्टले बताए । उता जिल्ला सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकले स्थानीय तहमा बैंक स्थापना गर्ने भने पनि सुरक्षाका कारण विस्तार गर्न नसकिएको जनाएको छ । रासस