सिटिजन्स बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
काठमाडौँ । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरी आव २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु. १,००,४५,२७,७७३/- नगद लाभांश र ३ प्रतिशतले हुने रु. २५,११,३१,९४३/- बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद नाफा आर्जन गरेको छ ।
बालुवाटारमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा बिस्तार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले काठमाडौं–४, बालुवाटारमा ८२ औं शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शाखा उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीच शाखाको उद्घाटन गरिएको हो । काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित रहेको छ ।
धनुषा र बाँकेमा खुल्यो सिद्धार्थ बैंकको नयाँ शाखा
काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।