नेपाल बङ्गलादेश बैंकको ६ नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले थप ६ शाखा विस्तार गरेकाे छ ।  शाखा विस्तारको क्रममा बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाण्डौँ जिल्लाको टोखा र तिलगङ्गा , भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुरूवात गरेको हाे । यसरी, बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । हाल यी ६ शाखाहरु सहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

कृषि तथा पशुपन्छी बीमामा बढ्यो आकर्षण, एकवर्षमै ६ अर्ब ८७ करोड बीमाङ्क रकम बृद्धि

काठमाडौं । कृषि तथा पशुपन्छी बीमातर्फ पछिल्लो समय आकर्षण बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ८७ करोड ५७ लाख ६५ हजार ५०४ रुपैयाँ बीमाङ्क रकम बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ११ अर्ब ८५ करोड २ लाख ७ हजार २८५ रुपैयाँ रहेको बीमाङ्क रकम आर्थिक वर्ष २०७५/७६ मा बढेर १७ अर्ब ८९ करोड १३ लाख ९४ हजार ८३३ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ । सरकारले बाली तथा पशुपन्छी क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि विसं २०७० सालदेखि कृषि तथा पशुपन्छी बीमा कार्यक्रम सञ्चालन गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा बालीतर्फ ५३ करोड २१ लाख ४६ हजार ६६५ बीमाङ्क थियो भने हाल ३० करोड २० लाख ३१ हजार २९० रुपैयाँ बढेर २०७५/७६ मा ८३ करोड ४५ लाख ७७ हजार ९५६ रुपैयाँ पुगेको छ । त्यस्तै पशुपन्छी बीमातर्फ भने ६ अर्ब ५७ करोड ३३ लाख ३४ हजार २१२ रुपैयाँ बढेको छ । एक वर्षकै अबधिमा ११ अर्ब ३१ करोड ८० लाख ६० हजार ६२० रुपैयाँ रहेको पशुपन्छी बीमाङ्क बढेर २०७५/७६ मा १७ अर्ब ७२ करोड ५९ लाख ७२ हजार ७८९ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ । सरकारले कृषकलाई सहजता प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष अनुदान रकम विनियोजन गर्दै आएको छ । कृषकलाई बीमा सम्बन्धी जानकारी प्रदान गर्नका लागि कृषि बीमा सम्बन्धि विभिन्न जनचेतना मूलक कार्यक्रम ल्याईरहेको बीमा समितिले जनाएको छ ।

नक्कली सुन धितो प्रकरणमा विवादित बैंकर्स विवेक स्वाँरकाे हृदयघातबाट मृत्यु

बाँके । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण आइतबार राति मृत्यु भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो । सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए । उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए । गत साउन ८ गते रु २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महिनापछि भदौ ८ गतेका दिन हृदयघातबाट मृत्यु भएको छ । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।