काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल सम्पन्न भएको छ ।
छलफलमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले चालु आर्थिक वर्षभरि प्राधिकरणले विभिन्न सरोकारवालासँग सञ्चालन गरेका अन्तरक्रिया कार्यक्रमहरूमा उठेका प्रश्न, जिज्ञासा र जनगुनासोको समीक्षा गरिएको जानकारी दिइन् । उनले बीमा सेवाप्रति सर्वसाधारणमा देखिएका अन्योल तथा बजारका व्यावहारिक समस्याको समाधानमा बीमा कम्पनीहरूले थप सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रममा सहभागी बीमा कम्पनीहरूले चालु आर्थिक वर्षमा गरेका गतिविधि, हासिल भएका उपलब्धि तथा सामना गर्नुपरेका चुनौतीबारे समीक्षा गरेका थिए ।
उनीहरूले आगामी आर्थिक वर्षमा बीमाको पहुँच विस्तार, सेवा गुणस्तर अभिवृद्धि, बजारलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा दाबी भुक्तानी प्रक्रियालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
छलफलमा बीमा क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न नियामक निकाय र बीमा कम्पनीहरूबीच प्रभावकारी समन्वय, जनचेतनामूलक कार्यक्रमको विस्तार तथा सेवामुखी कार्यशैलीलाई थप सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालिएको थियो ।
नेपाल बीमा प्राधिकरणले यस्ता छलफलले बीमा बजारलाई थप व्यवस्थित, उत्तरदायी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।