नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई बुधबारबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्टआईपीएस ई-पेमेन्ट को सेवा पनि थप गरिएको हो ।
ब्याज बढाएर ऋणीसँग खेलवाड नगर्न अर्थमन्त्रीको सुझाव, डिजिटल प्रविधिद्वारा १४ शाखा उद्घाटन
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ब्याजदर बढाएर ऋणीसँग खेलवाड नगर्न निर्देशन दिएका छन् । आज बुधबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखा उद्घाटन गर्दै उनले ९ प्रतिशत ब्याजमा कर्जा दिएर १३ प्रतिशत नपुर्याउन सुझाव दिएका हुन् । ‘ऋण दिइसकेपछि ब्याज बढाउनु राम्रो होइन,’ उनले भने ‘मलाई संसद्मा गएर बोल्न सक्ने अवसर सिर्जना गरिदिनु होस् ।’ सरकारी लगानीमा संचालित वाणिज्य बैंकको बेसरेट नै साढे ५ प्रतिशत भएपछि मैले खुसी हुने कि दुःखी हुने तपाई आफै नै भन्नुहाेस्,’ उनले भने ‘बचतकर्ताको ब्याजदर मूल्यवृद्धि दरभन्दा कम हुनु हुँदैन ।’ बचतकर्तालाई अन्याय नगर्न उनले सुझाव दिए । सरकारले साढे चार अर्ब थप लगानी गरेर वित्तीय अवस्थामा सुधार ल्याएको सरकारी बैंकबाट सरकारले प्रतिफल खोज्ने बताएका छन् । ‘सरकारी लगानी भएका कारण सरकारले यसको प्रतिफल खोजेको हो , आज उद्घाटन गरिएको शाखाहरूबाट १ महिनामा ५ जनालाई मात्र सहुलियत कर्जा दिन सके म राम्रो मान्छु,’ उनले भने । अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंककाे आज ५ वटा प्रदेशमा १४ वटा शाखा डिजिटल प्रविधिबाट उद्घाटन गर्दै कर्मचारीको कार्य क्षमता बढाउन सुझाव दिए । बुधबार प्रदेश १ मा दुई वटा, प्रदेश २ मा ४ वटा, प्रदेश ३ मा तीन वटा, गण्डकी प्रदेशमा दुई वटा र प्रदेश ५ मा तीन शाखा डिजिटल प्रविधिबाट उद्घाटन गरेका हुन् । याे सहित बैंकले ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैंयाँ पुगेको छ । सामाजिक बैंकिङ सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने पर्ने अर्थमन्त्रीको सुझाव छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन आरबीबी खरो रुपमा उत्रेको बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ प्रविधिलाई आत्मासाथ गरी समग्र बैंकको सुदृढिकरणको लागि क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेशन अभियान संचालन गरिरहेको बताए ।
माछापुच्छ्रे बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आव २०७५/७६ को खुद नाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको १६ प्रतिशत लाभांश(कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश(कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाइएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको जनाएको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका जनाइएको छ ।