सुकेको व्यवसाय र मौलाएको निर्वाचन
काठमाडाैं । भनिरहनु पर्दैन, उद्योग व्यापार सुकेर निम्सरो भएको छ । नाफाको कुरै छोडौं, लगानी डुब्ने त्रासमा व्यवसायीहरु छन् । व्यवसायीको नजरमा कर कार्यालयमा बाहेक सरकारको उपस्थिति कही कतै छैन । बालुवाटार, खुमलटारको झगडामा सिंहदरवार चिलको छायाँमा परेको सर्प जस्तै पल्याकपुलक भएको छ । तर टेकुमा चहलपहल बढेको छ । शुक्रराज ट्रपिकल हस्पिटलमा कोडिभको उपचार गर्न जाने विरामीलाई ओभरट्याक गर्दै नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा भीड्नेहरुको खेतीपाती भने मौलाएको छ । उनीहरुको गला फक्रेको मालाले सजिएको छ । मास्क र फेससिल्डले छोपेका अनुहार र गलाभरी उनिएका मालासहितको सामूहिक फोटोले सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ । कुन उम्मेदवारलाई कसकाे समर्थन, कुन सम्मेदवारले के सपना बाँढे, कसले कहाँ के भाषाण गरे ? समाचार र भिडियाेले नयाँ मिडियामा राम्राे स्थान पाएकाे छ । व्यापार नचलेकाे, श्रमिकले तलव नपाएकाे, घरवेटीले भाडा उठाउन नसकेकाे, लगानीकर्ता व्यवसाय बन्द गर्न वाध्य भएका विषयले प्रर्याप्त महत्व पाएका छैनन् । कोडिभ महामारीले उद्योगी व्यवसायीलाई नछोएको होइन । वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकाललाई कोभिड संक्रमण भएपछि अस्पताल भर्ना गरी उपचार आवश्यक भयो । एशोसिएट समूहका उपाध्यक्ष सौरभ ज्योति कोभिड संक्रमणका कारण मनोनयन दर्ता हुने कार्यक्रममा पनि उपस्थित हुने सकेनन् । कार्यसमिति सदस्य उम्मेदवार अरुणराज सुमार्गी कोरोना संक्रमणपछि घरमा आईसोलेशनमा बसेको छन् । यी त केही प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । व्यवसायीहरु पनि कोभिड जोखिमबाट सुरक्षीत नभएको प्रष्ट छ । तैपनि चुनावी मैदानमा रहेको उम्मेदवार र उनीहरुका सहयोगि समर्थकहरु जोखिम लिएर मैदानमा उत्रेका छन् । यतिबेला महासंघले सहमतिमा नेतृत्व चयन गरेको भए धेरै राम्रो हुने थियो । तर महासंघमा सहमति नेतृत्वको सम्भावना टर्दै गएको छ । मुखमा रामनाम, खल्तीमा छुरा भने छै सहमतिको नाम जपेपछि विपक्षीलाई सिध्याउने अभियानमा महासंघको नेतृत्व लागेको छ । सदस्यको संख्या र राजनीतिक उदेश्य बोकेमा व्यवसायीको खेतीपाती फस्टाए पनि महासंघको भूमिका र प्रभाव खस्कदै गएको छ । मुलधारको राजनीतिमा जान नसक्ने वा हारेका, सिर्जनात्मक क्षमता नभएका, प्रतिस्पर्धी बस्तु तथा सेवा उत्पादन गर्न नसकेका, सारभूत असफल व्यवसायीहरुको राजनीति गर्ने थलोको रुपमा महासंघ परिणत हुँदै गएको छ । वर्तमान अध्यक्ष भवानी राणा नै सबैले देख्ने गतिलो उदाहरण हो । कोरोना महामारीको बेलामा सहमतिमा नेतृत्व चयन गरेर निजी क्षेत्रको समस्यालाई समाधान गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने महासंघको नेतृत्व इख साध्न विष छर्दै हिडिरहेको छ । सहमतिको लागि पहल गर्नुपर्ने जिम्मेवार व्यक्तिहरु नै अलग अलत टिम बनाएर चुनावी प्रतिस्प्रर्धामा होमिएका छन् । वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष, पूर्वअध्यक्षहरु निर्वाचनको बेलामा तटस्थ बस्ने, सहमतिको प्रयासमा अभिभावकीय भूमिका निर्वाह गर्ने काम गर्नुपर्ने हो । तर उनीहरु आफ्नै उम्मेदवार जसरी चुनावमा भोट माग्दै हिडेका छन् । चुनावी मञ्च सेयर गर्दै हिडेका छन् । उम्मेदवारसँगै माला र खादा लगाउन लालायित देखिएका छन् । आफू उम्मेदवार नभएपनि उम्मेदवारको भन्दा चर्को स्वरमा प्रतिस्पर्धीको आलोचना गर्न थालेका छन् । जसले सहमतिको वातावरण बनाउने भन्दा विथोल्ने भूमिका खेलेको छ । नेत्वत्वले सहमतिकाे प्रस्ताव ट्वीटेर सहमति हुन सक्दैन । त्यसकाे लागि वातावरण बनाउनुपर्छ । धरातलीय यथार्थलाई मनन् गर्नुपर्छ । पटक पटक चुनाव हारेका उम्मेद्वारलाई लाेभ लालच त्याग्न मनाउनुपर्छ । एउटै पदमा दाेहाेरिनेकाे अाैचित्व पुस्टि हुनुपर्छ । नयाँ कार्यसमितिले चयन गर्ने पदहरू बरिष्ठ सदस्य, काेषाध्यक्ष पदहरूकाे समझदारी गरेर जिम्मेवारी बाँडफाँड गर्न सकिन्छ । कयाै पात्रहरू करकापमा उम्मेदवार बनेका छन् । उनीहरू मिलेर जान तयार देखिन्छन् । समझदारीमा नेतृत्व चयन गर्न सकिन्छ । सबै जना प्रतिकूल परिस्थिति बुझेर जिम्मेवार ढंगले प्रस्तुन हुने हाे भने समझदारी सम्भव छ । त्यसका लागि जिम्मेवार व्यक्तिहरू साझा हितका मुद्दा समातेर अगाडि बढ्नुपर्छ ।
गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा सर्वसम्मत निर्णय
पाेखरा। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन् । चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिए । महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भन्दै उनले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत बताए ‘हामी उद्योगी व्यवसायीका लागि जतिबेला समस्या पर्दा पनि उपलब्ध भएर समस्या समाधानमा खटिने ढकालजस्तो व्यक्तिलाई धेरै समयपछि नेतृत्वमा पाएको छौं,’ उनले भने । कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका १३ जिल्ला तथा नगरका अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीलाई जिताउनु आफुहरुको दायित्व रहेको समेत बताए । ‘वाग्लुङ जिल्लामा जन्मिएर सानो व्यवसायबाट सुरु गरी ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गरिसक्नु भएका ढकाल र डेढ दशकदेखि जिल्ला नगरकै समस्यासँग जुध्दै आएका गुणनिधी तिवारीलाई नेतृत्वमा पाएको छौं,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले एउटै स्वरमा भने, ‘हामी उद्योगी व्यवसायीका समस्यालाई सरकारसँग राख्दै समस्या समाधानका लागि पनि ढकाल प्यानललाई जिताउनु जरुरी छ ।’ सो कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लाका अध्यक्ष राजेश थापा, बाग्लुङका अध्यक्ष युवराज राजभण्डारी, पर्वतका अध्यक्ष केदारनाथ शर्मा, स्याङजाका अध्यक्ष विक्रान्त श्रेष्ठ, पोखराका कार्यबाहक अध्यक्ष नारायण पराजुली, लेखनाथका अध्यक्ष बलराम ढकाल, देवचुलीका अध्यक्ष रेशमराज सापकोटा, नवलपुरका अध्यक्ष डासुराम पोखरेल, शुक्लागण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ, गल्याङका अध्यक्ष यज्ञप्रसाद अर्याल, गैडाकोटका अध्यक्ष अमृत भट्टचन, वालिङका अध्यक्ष शोभाकान्त पौडेल र म्याग्दीको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा अन्य प्रदेशका पनि २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा सबै उपस्थित जिल्ला नगरको अध्यक्षहरुको प्रतिनिधित्व गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले यस अघि महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघ केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटना हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल उद्दार कार्यमा खटिएर कुशल अविभाकत्व प्रदान गरिसकेको जानकारी दिँदै महासंघमा ढकाल प्यानलको विकल्प नभएको बताए । उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफू नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीहरुको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरे । ‘सुदूरपश्चिमको धनगढीदेखि गण्डकी प्रदेशसम्म आइपुग्दा सबैजसो जिल्ला नगरका साथीहरुले नेतृत्वमा रहेका व्यक्तिहरुले फोन नउठाएको, महासंघको साख खस्कियो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुवै समस्या तत्काल सम्बोधन हुनेछन् ।’ यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए । ‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’ कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डीबी बस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएकाले आफुले पनि समर्थन गर्दै अघि बढेको बताए ।
किशोर प्रधानको टोली जनकपुरमा, प्रदेश १ र २ बाट जिताउने प्रतिवद्धता
जनकपुर धाम । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समुह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ । प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेको हो । जनपुर धाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना हुने अन्तरकृयात्मक कार्यक्रमलाई प्रधान सहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले कार्यक्रमस्थलमा अनौपचारिक छलफल तथा महासंघको आगामी नेतृत्व चयनका सम्बन्धमा अनौपचारिक छलफल चलिरहेको छ । केही बेरमा औपचारिक कार्यक्रम आयोजना हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले कार्यक्रमलाई विशेष समर्थन जनाएको छ । चुनावी अभियानका दौरानमा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुहलाई नै आफ्नो लोकप्रिय मत दिएर नेतृत्वमा लैजाने प्रतिबद्धता कार्यक्रमका सहभागीहरुले जनाएका छन् । कार्यक्रममा सहभागि जिल्ला नगरका साथै समग्र व्यवसायीहरुले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समुहमा रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन् । औपचारिक कार्यक्रमका दौरान वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सबैलाई सम्बोधन गर्ने कार्यक्रम छ । एसोसियटतर्फका उपाध्यक्षका उम्मेदवार शौरभ ज्योति भने कोरोना संक्रमणका कारण उपचाररत भएकाले जनकपुर धाम पुग्न सकेनन् । जनकपुरधामको औपचारिक कार्यक्रमको समापन पश्चात प्रधान सहितको समुह बुटवल हुदै काठमाडौं फर्कने कार्यक्रम छ ।