किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छः निवर्तमान अध्यक्ष मुरारका

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ । त्यो भुमिका किशोर प्रधानले मात्र निर्वाह गर्न सक्ने भन्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताए । ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए । ‘म निवर्तमान अध्यक्षका नाताले महासंघ भित्र दोस्रो वरियतामा थिएँ’ मुरारकाले भने, ‘डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किए, किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन । तर, अपराध नै गरे जसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ’ मुरारकाले आफ्नो अनुभव सुनाए । ‘शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्याक्याइन्छ ?’ मुरारकाले प्रश्न गरे, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेगरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने ?’ शेखर गोल्छाले धम्कीको प्रवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामी अध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताए । साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्न सक्ने र सरकार समक्ष पुर्याउने क्षमता किशोर प्रधानसँग रहेको बताए । महासंघको इतिहासमा हालसम्म जिल्ला नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशी मात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे । ‘किशोर प्रधान अनुभवी र क्षमता भएको व्यक्ति हुनुहुन्छ, अहिलेको अवस्थामा महासंघमा अनुभवी व्यक्ति चाहिएको छ’ मुरारकाले भने, ‘अगाडी पर्दा तपाई नै हाम्रो मान्छे भन्ने तर पछाडीबाट असहयोगी भुमिका खेल्ने प्रवृत्ति त्यागेर मतदान गर्नुपर्छ । किशोरसँग केही गुनासा छन् भने उनकै अगाडी भन्न सक्नुपर्छ ।’ अहिले उल्लेख्य सहभागीता देखेर निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिने बताएका उनले अन्तरघात नगर्न सबैलाई आग्रह गरेका छन् । ‘म अनुरोध गर्न चाहान्छु, अहिले तपाईहरुले गर्ने कमजोरी र गल्तीका कारण आगामी ३ वर्ष पछुताउनु नपरोस्’ मुरारकाले भने ।

एफएनसीसीआई निर्वाचनः मतदान गर्ने सदस्यहरुको नामावली प्रकाशित, ११ गते बिहानसम्म प्रतिनिधि मनोनयन गर्न पाइने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको नामावली प्रकाशन गरेको छ । समतिले महासंघको जिल्ला नगर संघ, वस्तुगत र एसोसियटतर्फका सदस्यहरुको नामावली प्रकाशित गरेको हो । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारणसभाका लागि निर्वाचन समितिले मताधिकार प्रयोग गर्न पाउने सम्बन्धी मतदाता नामावली बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरेको बताएको छ । साथै नामावलीमा रहेका तर नविकरण हुन बांकी सदस्य संघ/संस्थाहरुले मंसीर ११ गते विहान ९ बजेसम्म आर्थिक २०७६/७७ सम्मको वार्षिक शुल्क बुझाई तोकिए बमोजिम प्रतिनिधि मनोनयन गर्नु पर्ने पनि जनाएको छ । प्रतिनिधि मनोनय नगर्नेले मतदान गर्न नपाउने पनि सूचनामा उल्लेख गरिएको छ । सूचनामा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् । यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्धिराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघ/संस्थाहरु १२ रहेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि यतिखेर दुई जना चुनावी प्रचारप्रसारमा छन् । चन्द्र ढकाल र किशोर प्रधान आफ्नो प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । ढकालको प्यानलबाट जिल्लानगरतर्फ गुणनिधि तिवारी, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटसतर्फ रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् । यस्तै, प्रधानको प्यानलबाट जिल्लानगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगत तर्फ अञ्जन श्रेष्ठ र एसोसिएट्सतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् । दुवै पक्षले आफुसँग बहुमत रहेको दावी पनि गर्दै आएका छन् । [pdf id=246393]

महासंघकाे भूमिका राेजगारी सिर्जनामा केन्द्रीत हुनुपर्छः शौरभ ज्योती

नेपाल उद्योग वाणिज महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै हाल बैंकिङ, बित्त तथा बीमा समिति सभापति रहेका सौरभ ज्योती एसोसिएटतर्फको उपाध्यक्ष पदका प्रत्यासी हुन् । व्यवसायिक घराना ज्योति समूहका निर्देशक ज्योतिले महासंघको भूमिका पुरा गर्न आफ्नो व्यवसायलाई भन्दा धेरै जोड दिनु पर्ने धारणा राख्दै आएका छन् । उनले पहिलो कार्यकालमै एसोसिएट उपाध्यक्षमा इच्छा देखाएका थिए । तर, विभिन्न परिस्थिति र “टिम स्प्रिड” का लागि उनले उक्त पद छाडेका थिए । एक प्रकारले उनलाई युवा नेता पनि भनिन्छ, तर पनि उनको कपाल फुलिसकेको छ । टिमको भावना र एकरुपता हुनुपर्छ भन्ने निजी क्षेत्रमा उनकोे “स्ट्रङ प्रिन्सिपल” छ । पहिलेको कार्यकालमा उनले अर्को पटक आउँछु भनेर अरु साथीहरुलाई बाटो खुल्ला गरिदिएको ज्योती बताउँछन् । त्यहाँ उनको ६ वर्ष बितिसकेको छ । त्यसैले अहिले आफूले एशोसिएट्सको उपाध्यक्षमा दाबी गरेको ज्योतीको भनाई छ । यसमा “रिजल्ट” ल्याउने गरि काम गर्ने उनले बनाएका छन् । समग्र रुपमा अर्थतन्त्रको विकासमा लाग्ने प्रतिबद्धता ज्योतीले जनाएका छन् । व्यापार व्यवसायको समृद्धिमा आफ्नो जोड रहने उनको भनाई छ । “व्यवसायीहरु समृद्ध हुँदा ठूला व्यवसायको मात्र होइन समग्र रुपमा साना, मझौला उद्योगदेखि लिएर सबै वर्गको हुनुपर्छ । समग्र आर्थिक विकासको शुत्र पनि यही नै हो,” ज्योती भन्छन्, “नत्र सीमित व्यक्तिले मात्र प्रगति गर्न सक्यो भने हाम्रो आर्थिक विकास हुने सम्भावना हुँदैन । समृद्ध नेपाल र सुखी नेपालीको जुन सपना हामीले लिएका छौं, त्यो साकार पार्न ग्राह्रो हुन्छ । त्यसैले महासंघको, साझा समृद्धि र समावेशीविकासमा लाग्नुपर्छ भन्ने हाम्रो मुख्य एजेण्डा हो ।” “महासंघ भनेको ५४ वर्ष पुरानो एउटा प्रोफेसनल संस्था हो । सबै उद्योग व्यवसायीको छाता संगठन हो, जसको सञ्जाल कुनै क्षेत्रमा नेपाल सरकारको भन्दा पनि बढी छ । यो अवस्थामा महासंघले अहिलेकोभन्दा धेरै काम गर्न सक्छ” ज्योती भन्छन् । कर समितिमा सभापति भएर पहिलो कार्यकालमा काम गर्दा महासंघको सञ्जाल नेपाल सरकारको कर कार्यालयको सञ्जाल भन्दा बढी भएको उनको अनुभव छ । त्यसैले पनि एजेण्डा वस्तुनिष्ठ हुनुपर्छ भन्ने धाराणा राख्छन् ज्योती । विज्ञसहितको प्रोफेसनल सचिवालय आजको आवश्यक्ता रहेको बताउने ज्योती अबको उद्देश्य रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताउँछन् । आर्थिक समृद्धि र सबै सदस्यको हक हीतका लागि लड्ने प्रतिबधता उनको छ । “तर यो विषयबाट महासंघ अलि बाहिर गइरहेको एक दशकभन्दा बढी भइसकेको छ । अहिलेको मुद्दा नै राजनीति हुन्छ,” ज्योती भन्छन्, “को कुर्चीमा आउने ? कार्य समितिमा पनि छलफल हुँदा आधा कुरा त आन्तरिक राजनीतिकै हुन्छ । यो एकदम गलत छ ।” महासंघ सचिवालय पनि तथ्य र तथ्यांकका आधारमा काम गर्न सक्ने किसिमले स्थापित गरिनु पर्ने ज्योतीको भनाई छ । यसका लागि पनि आफूहरुले टीमबाट महासंघको सुदृढीकरणको विषयमा सचिवालयलाई प्राथमिकतामा राखेको उनी बताउँछन् । “महासंघको मुख्य मुद्दा भनेको अर्थतन्त्र जोगाउने हुनुपर्छ । खासगरी अहिलेको परिस्थितिमा कोभिडले पुर्याएको असरको आर्थिक रिकभरिमा लाग्नुपर्ने टडकारो आवश्यक्ता छ । अर्थतन्त्र धरासायी अवस्थामा छ । विदेशबाट लाखौं युवा स्वदेश फर्किने अवस्थामा छन्,” ज्योतीले भने, “उनीहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण कसरी बनाउने ? दीर्घकालीन स्थायी नीतिहरु कसरी स्थापित गर्ने, थिंक ट्यांकमा कसरी अघि बढ्ने ? यस्ता विषय मेरो प्राथमिकतामा पर्ने छन् ।” नतिजाउन्मुख काम गर्नका लागि महासंघलाई राजनीतिमुक्त बनाउँदै वस्तुनिष्ठ व्यावसायिक संस्था बनाउन ज्योतीले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण समेत गराएका छन् । नेपाल सरकारलाई उचित सल्लाह दिएर क्षेत्रगत रुपमा सामाजिक र राष्ट्रकै विकासमा ठूलो योगदान गर्ने निजी क्षेत्र भएकाले त्यो दिशामा जाने बाटो पनि नीजि क्षेत्रले नै बनाउनु पर्ने उनको तर्क छ । “प्रोफेसनल संस्था बनाएर राजनीतिमुक्त संस्था बनाउने मेरो व्यक्तिगत सिद्धान्त र उद्देश्य हो,” ज्योती भन्छन्, “व्यक्तिगत भने पनि टिमको कुरा त आइहाल्छ । टिम पनि यही सोच भएका साथीहरु रहेको नै भएकाले हामीले महासंघमा परिवर्तन चाहेका छौं ।” “नेता भएँ भनेर सबैले नमस्कार गरे भन्दैमा धाक देखाउने त होइन नि ? अध्यक्ष , उपाध्यक्ष, सबैसँग झुकेर सबै साथीहरुको सेवामा लाग्ने हो भने धेरै काम त आफैं सम्पन्न हुन्छन् । त्यो नै वास्तविक नेतृत्व हो । र अहिले यसको खाँचो परेको छ,” ज्योती भन्छन् । साथीहरुलाई परेको समस्या र अफ्ठ्यारोको एजेण्डा बोकेर आगाडि बढ्ने र सम्बन्धित सरकारी निकाय, सम्बन्धित संघ–संस्थामा गएर समस्या समाधान गर्ने र महासंघको गरिमा अझै उच्च बनाउने उद्देश्यले आफू र आफ्नो टिम अघि बढिरहेको उनको भनाई छ । मतदाताले पनि यो विषय राम्रोसँग बुझ्नु भएकाले आफूहरु शसक्त रुपमा अघि बढिरहेको उनले बताए । हाल एशोसिएट्सतर्फ ९२७ जना मतदाता रहेका छन् । ती सबै मतदाताहरु उद्योग, व्यवसायका प्रमुखहरु, प्रोपाइटरहरु, मालिकहरु सबै प्रोफेसनल व्यक्ति भएकाले पनि आफ्नो चुनाव जित्ने रणनीति धेरै सरल रहेको उनको बुझाई छ । “नेपालमा कुरै गर्न त सबैले ठूला–ठूला गर्छन्, कुरा होइन काम हुनुपर्यो भन्ने मेरो धारणा हो । त्यसै पनि म कम बोल्ने मान्छे हो, काम कति गरेको छु भन्ने त साथीहरुले बिचार गर्नु भएको छ । अरु काम नेतृत्वमा पुगेर गर्न सहज होला भनेर यस पटक अघि सरेको छु” ज्योती भन्छन् । जसले काम गर्नका लागि त्यो पदमा पुग्ने योग्यता राख्छ त्यो व्यक्ति नै नेतृत्वमा पुग्नु पर्छ भन्ने धारणा ज्यातीको छ । सबै जना व्यवसायको नेतृत्व सम्हालेर हिड्ने भएकाले आफ्नो हकमा कामको योग्यताले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्छन ज्योती । आफूले दाबी गरेको पदमा सेवा गर्नलाई मौका दिन आग्रह गरेको बताउने ज्योती कामबाटै अगाडि बढेर आफूले सहयोग माग्ने अवस्थामा पुगेको रसहयोग पाएर त्यो पद पाइसकेपछि एक्लै नभई टिम भएर काम गर्न प्रतिबद्ध रहेको बताउँछन् । १९ जनाको टिममा आफूहरु र ९२७ जना नै मासिक रुपमा छलफल गरेर निकास खोज्ने योजना आफुले बनाएको ज्योतीको भनाई छ । “सबैको सुझावहरु संकलन गरेर हामी अघि बढ्ने हो । समस्या छ भने समाधान गर्ने, आर्थिक समृद्धिका लागि आवश्यक योजना र रणनीति बनाउने, निजी क्षेत्रको शसक्तीकरणमा लाग्ने एजेण्डालाई हामीले आत्मसाथ गरेर अघि बढेका छौं” ज्योती भन्छन् । निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको बताउने ज्योती मतदाताले राम्रो मान्छे चिन्न सक्नु पर्नेमा जोड दिन्छन् । व्यक्तिले जे भने पनि टीममा मिलेर काम गर्नु पर्ने र त्यो गर्ने क्षमता आफशुहरुको टीममा रहेको उनको बुझाई छ । आगामी अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, उपाध्यक्षहरुमा आफू र अन्जन श्रेष्ठको एउटा धार भएकाले पनि महासंघलाई अबका दिनमा बलियो बनाउन यो टीमलाई अघि बढाउनुको विकल्प नरहेको उनको दाबी छ । एफएनसीसीआईसँग प्रोजेक्ट नै नभएको अवस्थामा प्रोजेक्ट ल्याएर महासंघको गरिमा उच्च बनाउन आफुहरु सबल रहेको बताउने ज्योती हरेक कामको प्रभावकारी कार्यान्वायनमा पनि टीमको भूमिका महत्वपूर्ण हुने बताउँछन् । यसमा आफनो प्रयास जारी रहेको र आगामी दिनमा त्यसलाई अझ बुलन्दीका साथ अघि बढाउने योजना ज्याेतीको छ । आत्मविश्वासी नेतृत्वको आवश्यक्ता औंल्याएका ज्योती व्यक्तिगत स्वार्थमा महासंघ आउनेहरुबाट नतिजा खेज्न नसकिनेमा आफू विश्यस्त रहेको बताउँछछन । यसका लागि अनुभव, लगनशीलता र टीमको विश्वास महत्वपूर्ण हुने उनको बुझाई छ ।