समय तोकेपनि एफएनसीसीआईको निर्वाचन अनिश्चित

काठमाडौं । साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अझै अनिश्चित नै छ । कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढेसँगै महासंघको निर्वाचन पनि अनिश्चित बन्दै गएको हो । सुरुमा गत चैत २७ र २८ गते हुने भनिएको महासंघको निर्वाचन कोराेनाकै कारणले रोकिएको थियो । गत हप्ता मात्रै महासंघको कार्यसमितिले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो । तर, निर्वाचन अझै पनि अनिश्चित नै रहेको बताइएको छ । कोरोना भाइरसको कारण भन्दै आज हुने भनिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) को निर्वाचन पनि स्थगित नै भएको छ । कोरोनाको कारण देखाउँदै ललितपुर जिल्ला प्रशासन कार्यालयले निर्वाचन रोक्न परिपत्र जारी गरेसँगै ईपानको निर्वाचन अनिश्चितकालका लागि रोकिएको हो । कोभिड- १९ महामारीको असरका बीच २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेपछि निर्वाचन स्थगित भएको इपानले आइतबार नै सूचनामार्फत जानकारी गराएकाे थियो । यो सँगै अब महासंघको निर्वाचन पनि के हुन्छ भन्ने बारे प्रश्न उठेको छ । महासंघका एक पूर्व अध्यक्षले महासंघले निर्वाचनको मिति तय गरेपनि निर्वाचन हुन सक्ने सम्भावना भने कमरहेकाे बताए । ‘दिनप्रतिदिन कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ, काठमाडौंमा नै दैनिक कोरोनाका बिरामी बढ्दै गएका छन्, यसले महासंको निर्वाचन हुन सक्ने सम्भावना कम देखाउँछ, उनले भने । सरकारले नै २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भनिरहेको समयमा महासंको निर्वाचन भएमा हजारौं मानिसको सहभागिता हुन्छ । यसले पनि प्रशासनले रोक्न सक्ने सम्भावना बढी छ । महासंघका प्रमुख कार्यकारी अधिकृत धरणीधर कोइरालाले निर्वाचनको समय तोकेपनि अहिले नै निर्वाचन हुन्छ वा हुँदैन भन्न सकिने अवस्था नरहेको बताए । ‘सरकारले २५ जनाभन्दा बढी भेला नगर भन्छ, महासंघका सयौं जना मानिस निर्वाचनमा भेला हुन्छन्, कोरोनाको संक्रमणदर तीव्र रुपमा फैलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन,’ उनले भने । उनले यसको बारेमा साउन पहिलो हप्ता थाहा हुने बताए । अझै पनि डेढ महिना बाँकी रहेकाेले अहिले नै निर्वाचन रोकिन्छ वा निर्वाचन हुन्छ भन्न सकिने अवस्था नभएको उनको भनाई छ । यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले आफु कहाँ महासंघको निर्वाचन हुने कुनै जानकारी नआएकोले निर्वाचन हुने समयलाई अध्ययन गरेर यसको बारेमा निर्णय गर्न सकिने बताए । ‘हामी कहाँ कुनै जानकारी आएको छैन, उहाँहरुले जानकारी गराइसकेपछि हामीले त्यसको बारेमा निर्णय गर्छौं, कोराेनाको यही स्थिती त्यो समयमसम्म हुन्छ भने निर्वाचन हुन सक्ने सम्भावना कम हुन्छ,’ उनले भने ।

महासंघको माइन्युटमा लेखियो चण्डी ढकाल विरुद्दको खेद प्रस्ताव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध पारित भएको खेद प्रस्ताव माइन्यूटमा लेखिएको छ । यसअघि महासंघका पदाधिकारीहरुबीच जुम मिटिङमा मात्रै सिमित निर्णय अब माइन्युटमा लेखिएकाे हो । ढकालले महासंघकी अध्यक्ष भवानी राणालाई सार्वजनिक रुपमै अपशब्द बोलेको भन्दै उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव गरेका थिए । उनले गरेको खेद प्रस्ताव माथि निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अध्यक्ष भवानी राणाले समर्थन जनाएका थिए । योसँगै अब ढकालमाथि नैतिक रुपमा प्रश्न उठेकाे छ ।

महासंघ पूर्वअध्यक्ष श्रेष्ठको प्रस्तावः चुनाव रोकौं, कालोबजारी नियन्त्रणमा जुटौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलले महासंघको आसन्न साधारणसभा रोक्न प्रस्ताव गरेका छन् । महासंघले चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको कारण विश्वव्यापी सन्त्रास फैलिएको र नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेकोले महासंघको साधारणसभा रोकेर सम्भावित संकट सामनाको तयारीमा लाग्नुपर्ने श्रेष्ठको भनाइ छ । ‘कोरोना भाइरसबाट आउन सक्ने महामारीबाट बच्च हामीले पनि गम्भीर तयारी गर्नुपर्छ, यस्तो बेलामा निजी क्षेत्रले आफ्नो सम्पूर्ण ध्यान औद्योगिक व्यावसायिक जगतले खेल्न सक्ने भूमिका के कस्तो हुन सक्छ, त्यतातिर केन्द्रीत गर्नुपर्छ, निजी क्षेत्रको दायित्व के हुने भन्ने तय गरेर रचनात्मक काममा लाग्नु उचित हुन्छ,’ उनले भने । संकटको बेलामा कालोबजारी गर्नेहरुलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले बताए । निजी क्षेत्रका संघ, संस्था र व्यक्तिगत रुपमा पनि कालोबजारी नियन्त्रण गर्नतिर लाग्नुपर्ने श्रेष्ठले बताए । कालोबजारी नियन्त्रणको लागि निजी क्षेत्रले सरकारलाई सहयोग गर्नु पर्ने र कोलोबजारी गर्नेहरुको सूचना पनि सरकारलाई निजी क्षेत्रले दिन सक्नु पर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघको गत शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको चुनाव सार्ने वा नसार्ने बारे १० दिनपछि मात्र तय हुने निर्णय गरेको थियो । महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ सरकारले चुनाव अहिले गर वा नगर केही पनि भनेको कारण महासंघको चुनाव सार्ने सम्बन्धि भन्न नसकिने अवस्था नभएको बताउँछन् । उनले महासंघले सरकारले भने बमोजिम गर्नु पर्ने बताउँदै सरकारको निर्देशन बमोजिम महासंघले चल्नु पर्ने धारणा राखे । उनले आफु चुनाव सार्नु पर्ने पक्षमा भएको पनि बताए । विश्वमा यति ठूलो आतंक तथा संकट सिर्जना भइरहेको बेला देशकै ठूलो निजी क्षेत्र भने खासै सक्रिय देखिएको छैन । कोरोना भाइरसका कारण संसारभरि डरलाग्दो अवस्था सिर्जना भएको छ । आम जनमानसमा यसको त्रास कायम रहेको यो अवस्थामा निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर रोग आउन नदिने र आइहाले पनि नियन्त्रण गर्ने, जनजीवन सहज बनाउन भूमिका खेल्नुपर्ने आवाज महासंघकै प्रतिनिधिले उठाउन थालेका छन् । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । १ सय ५५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नियन्त्रण तथा यसबाट बच्नका लागि विभिन्न देश र त्यसका निजी क्षेत्रहरु सर्तकता अपनाइरहेका छन् । चीनबाट सुरु भएको भनिएको यो भाइरससँग लड्न सरकार आफै र विभिन्न देशका निजी क्षेत्रहरु विविध रणनीति तथा कार्यक्रमहरु बनाइरहेका छन् । नेपालले पनि यो भाइरस नभित्रियोस भनेर सतर्कताका विभिन्न उपायहरु अवलम्बन गरिरहेको छ । तर, कोरोना भाइरसको संक्रमण नेपालमा भने अहिलेसम्म देखिएको छैन । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको संज्ञा दिइसकेको छ । अमेरिकाले पनि संकटकाल घोषणा गरी आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा तल्लीन छ । नेपाल सरकार पनि कोरोना संक्रमण देखिएमा नियन्त्रणको तयारीमा जुटेको छ । नेपालले स्वास्थ्य सेवा विस्तारदेखि यात्रामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ । यसमा सरकार मात्र होइन, निजी संस्थाहरुको सहकार्य र समन्वय पनि उतिकै अपरिहार्य हुन्छ । विश्वभरका निजी क्षेत्रले कोरोनाको महामारी नियन्त्रण गर्न योगदान दिइरहेका छन् । बिलगेट्स फाउण्डेसन्, ज्याकमा फाउण्डेसन लगायतले यसको न्यूनिकरणमा ठूलो योगदान र समन्वय गरिरहेका छन् । तर, नेपालको सबैभन्दा ठूलो भनिएको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ भने यसप्रति त्यति गम्भीर देखिँदैन । हाल नेपालमा कोरोनाको त्रासकै कारण सर्जरी माक्स, स्यानिटाइजर लगायतका सामानहरुमा कालोबजारी मौलाएको छ । सरकारले भेला, सभा–सम्मेलन नगर्न भनेर औपचारिक रुपमै आग्रह गरिसकेको छ ।