चुनाव सार्न महासंघले बोलायो पदाधिकारी बैठक, कोषाध्यक्ष भन्छन्ः यो त किर्ते काम भयो
काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पदाधिकारी बैठक बोलाएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । साउन ८ गते साढे २ बजे पदाधिकारी बैठक बोलाइएको जानकारी प्राप्त भएको कोषाध्यक्ष निरक केसीले जानकारी दिए । तोकिएको समयमा महाधिवेशन गर्न सक्ने अवस्था नभएकोले पदाधिकारी बैठकबाट निर्णय गर्नुपर्यो भन्दै अध्यक्ष भवानी राणाले टेलिफोनमार्फत जानकारी दिएको कोषाध्यक्ष केसीले बताए । ‘महाधिवेशनको विषयमा छलफल गर्नुपर्ने भयो, तोकिएको समयमा गर्न सक्ने अवस्था देखिएन, पूर्वअध्यक्षहरु पनि सहभागी गराएर छलफल गरेर निर्णय गर्नुपर्ने भयो भन्दै अध्यक्षले फोन गर्नुभएको थियो, म अहिले काठमाडौं बाहिर छु, अध्यक्षलाई यही कुरा जानकारी गराएँ, उहाँले जुममा सहभागी गराउँछु भन्नुभएको छ,’ कोषाध्यक्ष केसीले विकासन्युजसँग भने । महासंघ पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत र एसोसिएट गरी ३ जना उपाध्यक्ष र एक जना कोषाध्यक्ष हुन्छन् । पदाधिकारी बैठकमा विशिष्ट सदस्य उपस्थित हुने भएपनि उनीसँग मताधिकार हुदैन । विशिष्ट सदस्यको रुपमा पूर्वअध्यक्ष चण्डीराज ढकाल छन् । संस्थापन पक्ष चुनाव सार्ने तयारीमा छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासको कारण सरकारले गत चैत ११ गतेदेखि जारी गरेको देशव्यापी लकडाउन साउन ६ गतेदेखि हटाएको छ । लकडाउन हटेपनि लामो दुरीका सार्वजनिक सवारी साधन खुलेका छैनन् । निजी सवारी साधनको हकमा पनि एक जिल्लाबाट अर्काे जिल्लामा र खासगरी काठमाडौं उपत्यका आउनको लागि प्रशासनको अनुमतिमा मात्रै प्रवेश पाइन्छ । सरकारले लकडाउन हटाए पनि सभा सम्मेलन गर्न अनुमति खुल्ला गरेको छैन । एक स्थानमा २५ जनाभन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाइने नियम सरकारले लागू गरेको छ । यही सन्दर्भमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने अवस्था आएको महासंघ संस्थापन पक्षको निक्र्योल छ । ‘देशभरका कम्तिमा पनि १ हजारभन्दा बढी व्यवसायी महाधिवेशनमा सहभागी हुनुपर्छ, सरकारले काठमाडौं उपत्यका छिर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ, आन्तरिक हवाइ उडान पनि भदौ १ गतेदेखि मात्रै खुल्ने भनिएको छ, कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको र सहज रुपमा आवत जावत पनि गर्न नसकिने अवस्था भएकोले व्यवसायीको स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता देखाउँदै महाधिवेशन केही पर सारौं भन्ने हाम्रो कुरा हो, यो बेला महाधिवेशन भएन भने आकाशै खस्ने भन्ने पनि होइन, यही विषयमा छलफल गरेर महाधिवेशन सार्ने निर्णय गर्न पदाधिकारी बैठक बोलाइएको हो,’ संस्थापन निकट एक व्यवसायीले भने । तर, कोषाध्यक्ष केसी भने पदाधिकारी बैठकले महाधिवेशन सार्ने निर्णय गर्न नसक्ने बताउँछन् । ‘विधि विधान लत्याएर आफ्नो अनुकुलतामा मात्रै महाधिवेशन गर्ने गर्ने भन्ने सोच कसैले पालेको छ भने बेग्लै कुरा हो, महाधिवेशन सार्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, पदाधिकारी बैठक बोलाएर अधिवेशन सार्न सकिदैन,’ कोषाध्यक्ष केसीले भने । तर, संस्थापन पक्ष निकट व्यवसायी भने केन्द्रीय समिति बैठकले नै यससम्बन्धि निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिइसकेको बताउँछन् । ‘यसअघिको केन्द्रीय समिति बैठकको निर्णय सबैले हेर्नुभएकै होला, त्यो बैठकले महाधिवेशन सम्बन्धी आवश्यक निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिएको छ, त्यो निर्णप्रति कसैको शंका छ भने फेरि केन्द्रीय समिति बैठक बोलाऊँ न त,’ ती व्यवसायीले भने । कोषाध्यक्ष केसी भने महाधिवेशन सम्बन्धी सबै निर्णय गर्ने अधिकार पदाधिकारीलाईलाई दिइको भन्ने कुरा आफूलाई जानकारी नभएको बताउँछन् । ‘महासंघ सार्वजनिक संस्था हो, यस्तो संस्था विधि विधान अनुसार चल्नुपर्छ, पहिलो कुरा त केन्द्रीय समितिको अधिकार पदाधिकारीलाई दिनै मिल्दैन, दोस्रो कुरा यस्तो निर्णय भएको जस्तो मलाई लाग्दैन, यदि केन्द्रीय समितिको अधिकार पदाधिकारीले गर्ने भन्ने निर्णय माइन्यूट भएको रहेछ भने त्यो त किर्ते कुरा भयो,’ कोषाध्यक्ष केसीले भने । साउन २६ र २७ गते महासंघ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोस प्रधान प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खुलेर समर्थन गरेका छन् भने पूर्वअध्यक्ष तथा महासंघ विशिष्ट सदस्य चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाललाई खुलेर समर्थन गरेका छन् । ढकाल पक्ष महाधिवेशन सार्न नहुने पक्षमा छ भने अध्यक्ष राणा तथा वरिष्ठ उपाध्यक्ष गोल्छा चुनाव सार्ने मनस्थितिमा पुगेका छन् । भोलिको पदाधिकारी बैठकमा महाधिवेशन सार्ने विषयमा मतविभाजन हुने सम्भावना बढी छ । मतविभाजन भएको अवस्थामा महाधिवेशन सार्ने पक्षमा वहुमत हुने देखिन्छ । अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष (उद्योग वाणिज्य) किशोर प्रधान चुनाव सार्ने पक्षमा छन् । चुनाव सार्न हुदैन भन्ने पक्षमा उपाध्यक्ष (वस्तुगत) उमेशलाल श्रेष्ठ, उपाध्यक्ष (एसोसिएट) चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी छन् । भोलिका पदाधिकारी बैठकमा महासंघका पूर्वअध्यक्षहरुलाई पनि बोलाइएको छ । सम्बन्धित सामग्री नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?
एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो
काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन थप अन्योलमा परेको छ । कोरोना भाइरस संक्रमण कै बीचमा साउन २६ र २७ गते हुने महासंघको निर्वाचन पछिल्लो समय थप अन्योलमा पर्दै गएको हो । महासंघको अध्यक्षको जिम्मेवारी लिन तयार भएर बसेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तोकिएकै समयमा निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् । कोरोना भाइरस संक्रमणकै बीचमा देखिएको बाढी तथा पहिरोले महासंघ निर्वाचन सम्पन्न गर्न थप चुनौति थपिएको गोल्छाको भनाइ छ । ‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौति थपेको छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् । महासंघले विधान अनुसार गत चैत २८ र २९ गते महासंघको निर्वाचन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो । कोरोना भाइरस संक्रमण बृद्धि भइरहेको समयमा सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै लगेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै महासंघले साउन २६ र २७ गते ललितपूरमा महासंघको निर्वाचन गर्ने निर्णय गरेको थियो । सरकारले लकडाउन केही खुकुलो बनाएर तोकिएबाहेकका क्षेत्र खुल्ला गर्ने निर्णय गरेपछि धेरै मानिस भिडभाड हुने सभा सम्मेलन तथा सेमिनार गर्न खुल्ला गरेको छैन । यद्यपि सरकारको भनाइ अनुसार सभा सम्मेलन भने रोकिएको छैन । महासंघकै चुनावी कार्यक्रमहरुमा सामाजिक दुरी कायम गरेर संक्रमण विस्तार रोक्न सजगता अनाइएको जस्तो देखिएको छैन । महासंघले तोके अनुसारको निर्वाचन गर्न सरकारले अनुमति दिने नदिने यकिन छैन । केही दिन अघिमात्रै महासंघ प्रतिनिधि, काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसँग छलफल गरेको थियो । सो छलफलमा पनि निर्वाचन हुन दिने नदिने भन्नेमा सरकारले स्पष्ट जवाफ नदिएको महासंघ प्रतिनिधिहरुले बताएका छन् । यो निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष र ६३ सदस्य निर्वाचित गर्नेछ । यो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
मैले पाउने मत माेटामाेटी आकलन गरिसकेँ, चुनाव जित्छु-रामचन्द्र संघई
रामचन्द्र संघई, एशोसियट उपाध्यक्ष उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र संघई नेपालको कर्पोरेट क्षेत्रको परिचित नाम हो । नेपालबाट सबैभन्दा बढी निर्यात गरेकोमा गत वर्षमात्र नेपाल सरकारले उहाँलाई कमर्सियल इम्पोटेन्ट पर्सन (सीआईपी) अवार्ड समेत प्रदान गरेको थियो । यहि साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा संघईले एसोशिएट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एशोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था रहेको छ । उद्योग, व्यापार र सेवाका क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनीहरु चलाईरहेको र १६ हजार भन्दा बढी मानिसलाई रोजगारी दिएको त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक संघई निर्वाचनमा विजयी भएका श्रमिक र रोजगारदाताबीचको सम्बन्ध राम्रो बनाउने बताउनु हुन्छ । प्रस्तुत छ कोभिड–१९ले व्यवसायमा पारेको असर र आगामी निर्वाचनको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको विकास वहस । त्रिवेणी ग्रुप उद्योग, व्यापार र सेवा क्षेत्रमा ठूलो लगानी रहेको व्यावसायिक घराना हो । कोभिड–१९ र लकडाउनले व्यवसायमा कस्तो असर पारेको छ ? सर्वप्रथम त त्रिवेणी ग्रुपको बारेमा जानकारी राख्नुभएकोमा यहाँलाई धन्यवाद । कोभिड–१९ को संकट हाम्रा लागि मात्र नभएर सम्पूर्ण विश्वकै लागि अप्रत्याशित थियो । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकलाई समेत यस्तो समस्या समाधान गर्न गाह्रो परेको अवस्थामा हामीलाई पनि पक्कै सजिलो त थिएन । नेपालको निर्यात क्षेत्र पुरै ठप्प भयो र अझै समस्यमा छ । नेपालले समयमै वाह्य सीमाहरु बन्द गरेका कारण कोभिड संक्रमण पनि भयावह हुने गरी फैलिन नपाएका कारण हामीले अपेक्षा गरेभन्दा कम नै प्रभाव परेको छ । तर पनि साना ठूला सबै उद्योग व्यवसायीलाई समस्या परेको छ । तीन महिनासम्म पूर्ण लकडाउनमा रहनुपर्दा हाम्रा पनि उद्योग व्यवसाय पूरै ठप्प रहे । त्यसको क्षति न्यूनीकरणका लागि हामीले धेरै मेहनत गर्नुपर्नेछ । हाम्रो आन्तरिक बजार त चाँडै नै रिभाइभ होला तर हामी त निकासीमूलक व्यवसायमा पनि भएकाले वाह्य बजार हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले कोभिड–१९ र लकडाउनले हामीलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक सबै प्रकारका असर पारे पनि हामी विस्तारै माथि उठ्ने प्रयासमा छौं । अब व्यावसायिक गतिविधि नियमित हुन कति समय लाग्ला ? सरकारले लकडाउनको मोडालिटी केही परिवर्तन गरेसँगै निश्चय पनि आर्थिक गतिविधि बढ्न थालेको छ । सडकमा सार्वजनिक यातायातसमेत आंशिक सूचारु भइसकेको अवस्स्थामा मानिसहरु काममा फर्किन थालेको अवस्था छ । हामीले पनि प्रशासनिक काम त सुरु गरिसकेका छौं । सेवा क्षेत्रमा पनि केही काम भइरहेका छन् तर, उत्पादन क्षेत्रमा अझै पनि समस्या छन् । आन्तरिक खपतका वस्तु उत्पादन चाँडै रिभाइभ भए पनि निकासीमूलक व्यवसायलाई केही समय लाग्छ । तीन महिना लकडाउनले घरमै बस्नुपरेका नेपालीको उत्साह हेर्दा लाग्छ कि अब चाँडै नै व्यावसायिक गतिविधि पनि नियमित हुनेछ । कोरोना भाइरस र कोभिड–१९ को अन्त्य चाँडै नहुने विश्वव्यापी अध्ययन अनुसन्धानले देखाइसकेकाले अब हामी यसको खोप वा औषधि पर्खेर बस्ने अवस्थामा छैनौं । हामीले सुरक्षात्मक उपायहरु अवलम्बन गरेर काममा फर्कने र दैनिक गतिविधि सूचारु गर्नुको कुनै विकल्प देखिँदैन । कोभिड–१९ पछि व्यावसायिक संस्कारमा कस्तो परिवर्तन आउला ? कोभिड–१९ ले अर्थतन्त्र र मानव स्वास्थ्यमा ठूलो क्षति पु¥याए पनि हामीलाई धेरै कुरा सिकाएको पनि छ । हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने देखाएको छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो व्यवसाय र व्यावसायिक संस्कारमा पनि देखिनेछ । अबको व्यवसाय भौतिकभन्दा पनि बढी डिजिटल हुने देखिन्छ र सूचना प्रविधिको अधिकतम उपयोगका माध्यमले हामी अगाडि बढ्नुपर्ने देखिन्छ । उपभोक्ताको फेरिँदो रुचि र आवश्यकताका आधारमा हामी उत्पादक र सेवा प्रवाह गर्ने व्यवसायीहरु पनि चल्नुपर्छ । हाम्रो व्यावसायिक संस्कार भन्नु नै उपभोक्तामुखी हो र अहिलेको अवस्थामा उपभोक्तालाई डिजिटलका माध्यमले नै सेवा प्रवाह गर्न सकियो भने हाम्रो व्यावसायिक लागत पनि घट्न सक्छ । यसैले मलाई लाग्छ कि अब हामी परम्परागत ढंगभन्दा माथि उठ्नु जरुरी भइसकेको छ । अर्को महत्वपूर्ण विषय के हो भने कोभिड–१९ले हामीलाई आत्मनिर्भर बन्नको लागि उत्प्रेरित गरेको छ । आज विश्व पुरै बन्द भएको अवस्थामा हामी आफूलाई चाहिने खाद्यन्य, औषधि, कपडा लगायत अत्यावश्यक बस्तुहरु आफैले उत्पादनु गर्नुपर्छ, कृषिलाई निकै प्राथमिकता दिनुपर्छ भन्ने सन्देश कोभिडले दिएको छ । कोभिड–१९ पछि आएको नेपाल सरकारको बजेट र राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पनि त्यसतर्फ जोड दिएको हामीले पाएका छौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । तपाइँको चुनावी एजेण्डका के छन् ? हो, साउन २६ र २७ गते हुने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचनमा मैले एशोसिएटतर्फ उपाध्यक्षको उम्मेदवारी दिने निर्णय सार्वजनिक गरिसकेको छु । मैले चन्द्र ढकालजी को जुन टिमबाट उम्मेदवारी घोषणा गर्ने बेलामा पनि भनिसकेको छु कि निजी क्षेत्रको सम्वद्र्धन र संरक्षणका लागि सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने नै मेरो योजना हुनेछ । महासंघको सिंगो शरीरमा रक्तसञ्चार गर्ने धमनी भनेकै एशोसिएट समूह भएकाले यसलाई निर्वाध सञ्चालनमा गराउन, त्यसको गति अवरुद्ध हुन नदिन मैले आफ्नो अनुभव, ज्ञान तथा विवेकको पूर्ण उपयोग गर्नेछु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । यतिमात्र नभइ उत्पादनमूलक, सेवामूलक, व्यापार सबै क्षेत्रम म प्रत्यक्ष संलग्न रहेकाले यी क्षेत्रमा रहेका समस्या र सम्भावनाको गहिराइको ज्ञान मलाई राम्रोसँग रहेको छ । सरकारले यसै वर्ष मलाई उत्कृष्ठ निकासीकर्ताका रुपमा कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) अवार्ड प्रदान गरेको यहाँलाई स्मरण गराउँदै सम्पूर्ण निजी क्षेत्रलाई यस्तो सम्मानको लायक बनाउने मेरो ध्येय रहनेछ । मतदाताहरुले तपाइँलाई नै किन मतदान गर्ने ? महासंघमा तपाइँको योगदान के छ ? महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था हो र म त्यसमा प्रत्यक्ष रुपमा विगत डेढ दशकदेखि जोडिएको पनि छु । महासंघमा मैले धेरै नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभव पनि छ र अब त्यो अनुभवका आधारमा मैले नेतृत्व तहमा जान खोजेको हो । विगतमा महासंघमा कार्यकारिणी समिति सदस्य मात्र रहे पनि अब उपाध्यक्षमा रहेर मेरो व्यावसायिक र संस्थागत अनुभव, ज्ञान, सीप र विवेक निजी क्षेत्रको उन्नति र समृद्धिमा लगाउने दृढ इच्छाशक्तिका कारण मैले यो निर्णय लिएको हो । विगतमा मैले व्यवसाय पनि हेर्नुपर्ने कारणले महासंघमा समय दिन सक्दिनँ कि भनेर नेतृत्व तहमा जाने इच्छा देखाइनँ तर अहिले मेरो व्यवासायमा अर्को पुस्ता नेतृत्व सम्हाल्न सक्षम भइसकेकाले म महासंघलाई पर्याप्त समय दिन सक्छु भन्ने लागेर पनि म उपाध्यक्षका लागि तयार भएको हो । मैले विगतमा रोजगारदाता परिषदको सहसभापति रहेर योगदान पु¥याएको छु । म कहिल्यै पनि कुनै समिति माग्न नेतृत्वसँग गइनँ तर दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको छु । यसैले एशोसिएटका विवेकशील अग्रज तथा मित्रहरुले मलाई एकपटक सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने ठानेको छु । महासंघमा एशोसिएट सदस्य नै सबैभन्दा धेरै छन् र सबैभन्दा बढी मतदाता पनि एशोसियट हुन् । तर, एशोसिएट उपाध्यक्षको हैसियत महासंघमा कमजोर छ । एशोसिएट उपाध्यक्षको अधिकार र भूमिका वृद्धि गर्न तपाइँको भूमिका कस्तो हुन्छ ? एशोसिएट उपाध्यक्षको भूमिका कम भएजस्तो त मलाई लाग्दैन । महासंघको विधान र कार्यविधिमा नै एशोसिएटको भूमिका स्पष्ट छ । तीन उपाध्यक्षमध्ये मर्यादाक्रममा तल राखिएको विषयलाई तपाइँले इंगित गर्न खोज्नुभएको हुनसक्छ । तर, आफ्नो भूमिका पदले भन्दा पनि कामले देखाउने हो भन्ने मलाई लाग्दछ । असल श्रम सम्बन्ध निर्माणदेखि लगानीको वातावरण निर्माणसम्म एशोसिएटकै क्षेत्रमा पर्दछ । वस्तुगत र जिल्ला नगरका व्यवसायी साथीहरुको पनि व्यवसायको आकार बढ्ने वित्तिकै उहाँहरु आउने एशोसिएटमै हो । अर्कोतर्फ यसमा प्रत्यक्ष सदस्यता प्रणाली भएकाले भोटिङका लागि कुनै अर्को संगठनबाट निर्वाचित भएर आउनुपर्ने अवस्था पनि छैन । तपाइँले इंगित गर्नुभएको जस्तै प्रतिशतका आधारमा यस क्षेत्रको प्रतिनिधित्व कम भएको भने म स्वीकार गर्छु र यसलाई बढाउने मेरो प्रयत्न रहनेछ । यद्यपि, हामीले सामूहिक निर्णयमा विश्वास राख्नु आवश्यक छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुबीच दुई समूह बनाएर प्रतिस्पर्धा हुने गरेको छ । आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाल भर्सेर किशोर प्रधान टीमबीच प्रतिस्पर्धा हुँदैछ । तपाइँले चन्द्र ढकालको टिम किन रोज्नुभयो ? महासंघमा मैले धेरै पूर्वअध्यक्षसँग नजिक रहेर काम गर्ने अवसर पाएको छु । सबैका आफ्नै विशेषता छन् भने कमजोरीरहित व्यक्ति कोही पनि हुँदैन । विगतदेखि नै महासंघमा मन मिल्ने साथीहरुको टिम बनाएर निर्वाचनमा जाने प्रचलन रहिआएको हो र यस वर्ष पनि त्यसले निरन्तरता पाएको मात्र हो । निर्वाचन नभइ सर्वसम्मति भएको भए अझै राम्रो हुन्थ्यो तर स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्वाचन हुन्छ भने त्यसलाई पनि खराब भन्न मिल्दैन, यो प्रजातान्त्रिक संस्कार पनि हो । निर्वाचनको दिनसम्म हामी दुई समूह भए पनि निर्वाचनको परिणामसँगै हामी सबै एउटै समूह हौं । यसैले हामी अरुको कमजोरी देखाएर नभइ आफ्नो क्षमताका आधारमा निर्वाचनमा जानुपर्छ र गएका छौं । जहाँसम्म चन्द्र ढकालजीको टिममा नै किन तपाइँ जानुभयो भन्ने प्रश्न गर्नुभयो, यो त्यति ठूलो कुरा हो जस्तो पनि मलाई लाग्दैन । ढकालजीलाई हामीले शेखर गोल्छापछिको अध्यक्षका रुपमा सबल र सक्षम नेतृत्व दिनसक्ने व्यक्तिका रुपमा पाएर नै साथ दिएका हौं । उहाँले आफ्नो व्यवसायसँगै सबैखाले व्यवसायीसँग गर्ने समान व्यवहार, नीति निर्माण तहसम्मको पहुँचजस्ता विषयले सम्पूर्ण निजी क्षेत्रलाई नै फाइदा हुन्छ र महासंघको गरिमा माथि जान्छ भन्ने लागेर नै हामी सामूहिक रुपमा अगाडि बढ्न खोजेका हौं । मैले अघि पनि भनेँ कि मन मिल्ने साथीहरु एउटै टिममा हुनु स्वाभाविक हो र ढकालजी एशोसिएट समूहबाटै सदस्य र उपाध्यक्ष भइसक्नु भएकाले उहाँको अनुभवले मलाई पनि राम्रो हुन्छ र सहयोग पुग्ने भएकाले र म पनि सोही समूहको भएकाले एउटै समूहमा भएका हौं । एशोसिएटबाट तपाइँले कति मत पाउने अनुमान छ र यस क्षेत्रबाट चन्द्र ढकालले कति मत पाउने सम्भावना देख्नुहुन्छ ? कति मत पाउँछु भनेर मोटामोटी आकलन गरिसके पनि म अहिल्यै यसलाई सार्वजनिक गर्नु त्यति उपयुक्त ठान्दिनँ । एशोसिएटका सबै मतदाता विवेकशील हुनुहुन्छ र आफ्नो व्यवसायमा पनि उत्तिकै सवल र सक्षम भएकाले नेतृत्व चयनमा पनि यसैगरी विवेक पु¥याउनु हुन्छ भन्नेमात्र मलाई विश्वास छ । निश्चय पनि निर्वाचनमा जित्नकै लागि भाग लिइने हो र म त्यसमा भने विश्वास राख्दछु । अहिलेसम्म कति प्रोक्सी संकलन भए ? मलाई लाग्छ, यो प्रोक्सी भन्ने शब्द चयन धेरै भइरे पनि यो नितान्त गलत छ । व्यवसायी अग्रज तथा मित्रहरुको व्यस्तताका कारण उहाँहरु आफैं आउन सक्नुहुन्न भने उहाँहरुले प्रतिनिधि पठाउनु हुन्छ । यसैले उहाँहरुलाई प्रोक्सी नभइ प्रतिनिधि भनौं र यो हामीले संकलन गर्नेभन्दा पनि उहाँहरुले नै विधान र कार्यविधिअनुसार पठाउने हो । पठाइरहनु भएको पनि छ । यसका लागि समय सीमा पनि छ र केही दिनमै यसको आधिकारिक तथ्यांक थाहा हुनेछ । कोभिड–१९ का कारण व्यवसायीहरु आर्थिक संकटमा छन् । तपाइँहरुलाई चुनाव लागेको छ । यस्तो बेलामा भोट माग्दा व्यवसायीहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् ? महासंघले निर्वाचनको मिति सार्वजनिक गरेको बेलासम्म त निर्वाचन होला र ? भन्ने जुन आशंका गरिँदै थियो अहिले पूरै माहौल बनिसकेको छ । कोरोना संक्रमितको तथ्यांक पनि क्रमशः घट्दो स्थितिमा भएकाले अहिले निर्वाचन हुने अवस्था नै देखिन्छ । हामीले सामूहिक र व्यक्तिगत भेटघाटलाई विस्तारै अगाडि बढाइरहेका छौं । सबैले सकारात्मक प्रतिक्रियाहरु दिइरहनु भएकाले उत्साहित छौं । खासगरी कोरोना प्रभावित अर्थतन्त्रलाई गति दिन सरकारको बजेटले त्यति उत्साहित नरहेको निजी क्षेत्रका साथीहरु मौद्रिक नीतिबाट उत्साहित रहनुभएको पनि मैले पाएको छु । अर्थतन्त्रलाई अब लयमा फर्काउनुपर्छ र यसका लागि तपाइँ पनि निजी क्षेत्रको नेतृत्वमा आउनुपर्छ भनेर पनि मलाई उहाँहरुले भनिरहनुभएको छ । यसैले म निकै उत्साहित पनि छु । तपाइँले महासंघमा धेरै वर्ष बिताउनु भयो । कतिपय मानिसहरुले भन्छन् कि महासंघ विगतको तुलनामा कमजोर हुँदै गयो । यसको कारण के हो ? महासंघप्रति धेरैको अपेक्षा छ र विश्वास पनि । देशव्यापी उपस्थिति रहेको र सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको निजी क्षेत्रको छाता संगठन भएकाले महासंघले निजी क्षेत्रको अभिभावकत्व लिनुपर्छ भन्नेमा कसैको दुईमत छैन । महासंघमा विगतमा केही आन्तरिक समस्याका कारण कुनै विषय ठिक ढंगले सम्बोधन हुन सकेनन् होला तर यतिले मात्र महासंघ कमजोर नै भइहालेको भन्न मिल्दैन । आजको दिनमा महासंघको कुनै विकल्प छैन । उद्योग परिसंघ, चेम्बर, घरेलु लगायत सबै वस्तुगत संस्थासँग सहकार्य गरेर महासंघले नेतृत्व गरेर निजी क्षेत्रको एउटै आवाज महासंघले नै सरकारसमक्ष पु¥याउनु पर्नेछ । विगतका कमजोरीले हामीलाई शिक्षा दिएको छ र त्यो सच्याउँदै अगाडि बढ्न सकिन्छ । निर्वाचनले दुई पक्ष जन्माउँछ र झन कमजोर हुन्छ भन्ने चिन्ता पनि देखिन्छ । यो चिन्ता स्वाभाविक भए पनि हामी कुनै कार्यकारिणी संस्थामा नभइ स्वयमसेवी संस्थामा जान लागेको रुपमा सबैले बुझ्न सक्यौं भने विवादको जड बाँकी रहँदैन ।