शैक्षिक परामर्श नियमावली संशोधन नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था तथा समूहहरूले सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ तत्काल पुनरावलोकन गरी संशोधन गर्न माग गरेका छन् । संयुक्त बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा हालको स्वरूपमा लागू गरिएको नियमावलीले विद्यार्थीको सुरक्षा, निजी क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय शिक्षामा नेपाली विद्यार्थीको पहुँच सुदृढ गर्ने उद्देश्य पूरा गर्न नसक्ने निष्कर्ष निकालिएको छ । नियमावलीका केही व्यवस्थाले विद्यार्थी, अभिभावक, वैधानिक व्यवसाय, निजी लगानी, रोजगारी, स्वस्थ प्रतिस्पर्धा तथा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको विश्वसनीयतामा नकारात्मक असर पार्न सक्ने उनीहरूको भनाइ छ । संघ–संस्थाहरूले आफूहरू नियमनको विरोधमा नभई शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र विद्यार्थीमैत्री बनाउन स्पष्ट तथा प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् । तर नियमनका नाममा अत्यधिक प्रशासनिक नियन्त्रण, असमान आर्थिक दायित्व, दोहोरो क्षेत्राधिकार र जटिल प्रक्रिया लागू गरिनु उपयुक्त नहुने उनीहरूको भनाइ छ । विज्ञप्तिमा नियमावलीको धरौटीसम्बन्धी व्यवस्थाप्रति विशेष असहमति जनाइएको छ । ठूलो रकम धरौटी राख्दैमा विद्यार्थीको सुरक्षा वा गुणस्तरीय सेवा सुनिश्चित नहुने उल्लेख गर्दै धरौटीको सट्टा प्रभावकारी बीमा, क्षतिपूर्ति तथा संरक्षण प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ । यस्तो व्यवस्थाले विशेषगरी साना तथा स्वरोजगारमूलक शैक्षिक परामर्श संस्थालाई विस्थापित गर्ने र नयाँ उद्यमलाई निरुत्साहित गर्ने दाबी गरिएको छ । त्यसैगरी, नियमावलीमा प्रशासनिक प्रक्रिया जटिल बनाइएको, कानुनी प्रावधानहरू अस्पष्ट रहेको, संघीय शासन प्रणालीसँग मेल नखाने व्यवस्था समावेश गरिएको तथा नियमावली निर्माणका क्रममा सरोकारवालासँग पर्याप्त परामर्श नगरिएको आरोप पनि लगाइएको छ । व्यवसायीहरूले वैधानिक रूपमा सञ्चालन भइरहेका संस्थालाई सहजीकरण र संरक्षण गर्न तथा अनुमति बिना सञ्चालन हुने संस्था, फ्रिलान्सर, अनधिकृत एजेन्ट र डिजिटल माध्यमबाट गैरकानुनी रूपमा सेवा दिने गतिविधिमाथि प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। संस्थाको नवीकरण अवधि पाँच वर्ष कायम गर्न र भवन मापदण्ड व्यवहारिक बनाउनुपर्ने उनीहरूको भनाइ छ । संयुक्त रूपमा सरकारसमक्ष पेश गरिएका मागहरूमा विवादास्पद धरौटी व्यवस्था हटाउने, बीमा तथा संरक्षण प्रणाली लागू गर्ने, विद्यार्थी, अभिभावक, निजी लगानी र रोजगारीमा प्रतिकूल असर पार्ने प्रावधान संशोधन गर्ने, विवादास्पद व्यवस्थाको कार्यान्वयन तत्काल स्थगन गरी पुनरावलोकन गर्ने, सरोकारवालासँग उच्चस्तरीय नीति संवाद सुरु गर्ने तथा अनुमति, नवीकरण, शाखा स्वीकृति, अनुगमन र अभिलेखीकरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने विषय समावेश छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि संघ–संस्थाहरूले दिएका छन् । आफ्ना मागहरू निरन्तर बेवास्ता गरिए देशभरका शैक्षिक परामर्श संस्था बन्द गरी सरकारलाई कार्यालयको साँचो हस्तान्तरण गर्दै सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
पोखरामा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको क्लब अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालद्वारा आयोजित तथा पोखरास्थित सम्पूर्ण लियो क्लबहरूको संयुक्त आतिथ्यमा ‘क्लब अफिसर्स स्कुलिङ’ कार्यक्रम पोखरा-८, फिरकेस्थित पोखरा इन्जिनियरिङ कलेजमा शनिबार सम्पन्न भएको छ । कार्यक्रम लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट (भिडिपी) लियो माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन प्रजापति बास्तोलाले सेवामूलक नेतृत्व, अनुशासन, सहकार्य र उत्तरदायी कार्यशैलीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन लियो सदस्यहरूलाई प्रेरित गरे । कार्यक्रममा क्याबिनेट सेक्रेटरी लायन जीवन गोरखाली, क्याबिनेट ट्रेजरर लायन पुरुषोत्तम पराजुली, डिस्ट्रिक्ट सिनियर अफिसर लायन तुलसा रेग्मी, स्पोन्सर क्लबका प्रतिनिधि तथा डिस्ट्रिक्ट एड्भाइजरहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन लियो अनुज अधिकारीले गरेका थिए भने सञ्चालन ट्रेनिङ पुल सेक्रेटरी लियो गणेश पाण्डेले गरेका थिए । गेम्स कोअर्डिनेटरको जिम्मेवारी जिल्ला सचिव लियो सहनशील बरालले सम्हालेका थिए । कार्यक्रममा विभिन्न लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, बोर्ड तथा समिति सदस्य र साधारण सदस्य गरी ८१ भन्दा बढी लियो नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत पदअनुसार छुट्टाछुट्टै प्रशिक्षण सञ्चालन गरिएको थियो । आईपीडीपी लियो बालकृष्ण परियारले अध्यक्ष तथा उपाध्यक्षहरूलाई, डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाले सचिव तथा सह-सचिवहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो आभाष दाहालले कोषाध्यक्षहरूलाई, भिडिपी लियो माधव तिमिल्सिनाले बोर्ड तथा समिति सदस्यहरूलाई प्रशिक्षण दिएका थिए । नयाँ तथा साधारण सदस्यहरूका लागि जिल्ला सचिव लियो सहनशील बरालले लायनवाद, नेतृत्व विकास तथा संगठनात्मक जिम्मेवारीसम्बन्धी अभिमुखीकरण सञ्चालन गरेको थियो । डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको लायोनिस्टिक वर्ष २०२६/२७ को वार्षिक ‘कर्मसहित को नेतृत्व’ मूल मन्त्रलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नवनिर्वाचित तथा वर्तमान क्लब पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, संगठन सञ्चालन तथा जिम्मेवारी निर्वाहका लागि आवश्यक ज्ञान, सीप र प्रेरणा प्रदान गरेको जिल्ला सचिव लियो सहनशील बरालले जानकारी दिए । कार्यक्रमका अवसरमा उत्कृष्ट सहभागिता तथा अनुशासन प्रदर्शन गर्ने क्लब र व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । फस्र्ट फाइभ रजिस्ट्रेसन अवार्ड लियो क्लब अफ पोखरा अन्नपूर्णले प्राप्त गरेको थियो भने नाइन प्लस पार्टिसिपेसन अवार्ड लियो क्लब अफ गोरखा र लियो क्लब अफ बागलुङ कालिकालाई प्रदान गरिएको थियो । त्यसैगरी, मोस्ट पार्टिसिपेसन फ्रम रिजन अवार्ड रिजन माछापुच्छ्रे, मोस्ट फिमेल पार्टिसिपेसन फ्रम क्लब अवार्ड लियो क्लब अफ चौतारी पोखरा, बेस्ट ड्रेस कोड अवार्ड लियो क्लब अफ बागलुङ पीस टाउन, बेस्ट पर्फर्मिङ क्लब अफ द इभेन्ट अवार्ड लियो क्लब अफ पोखरा, मोस्ट फेलोसिप लियो लिडर अवार्ड लियो प्रसन्न बराल तथा मोस्ट डिसिप्लिन्ड लियो अफ द इभेन्ट अवार्ड लियो कविता त्रिपाठीलाई प्रदान गरिएको थिया । कार्यक्रम सफल बनाउन योगदान पु¥याउने आयोजक समिति, प्रशिक्षक, अतिथि, सहयोगी संस्था, प्रायोजक, स्वयंसेवक तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालले आभार व्यक्त गरेको छ ।
त्रिपुरेश्वर विद्यालयमा कामना सेवाको सहयोग, पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा डिप बोरिङ प्रणालीमार्फत खानेपानीको आपूर्ति भए पनि पानी शुद्धीकरणको व्यवस्था नहुँदा विद्यार्थी र शिक्षकले स्वच्छ खानेपानी उपभोग गर्न कठिनाइ हुँदै आएको थियो । सोही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकको सहयोगबाट विद्यार्थी र शिक्षकले स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्दै यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने बताए । बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगमूलक कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।