भक्तपुरको बालविनायक विद्यालयलाई एनआईसी एशिया बैंकले दियो कम्प्युटर

काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित श्री बालविनायक आधारभूत विद्यालयलाई सूचना–प्रविधि सामग्री सहयोग गरेको छ । बैंकले विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले एक थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का र काठमाडौं पूर्व सर्कल प्रमुख गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष जनार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीको पनि उपस्थिति रहेको थियो। बैंकले उपलब्ध गराएको सूचना–प्रविधि सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई थप सहज बनाउनुका साथै विद्यालयमा आधुनिक शैक्षिक वातावरण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, सूचना–प्रविधिमैत्री शिक्षाको विस्तारमा यस्ता सहकार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ ।  

विश्वनिकेतन विद्यालयमा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाको संयुक्त अवलोकन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मीत पोखरेल तथा नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त अवलोकन गरेका छन् । एडीबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण गरिएका विद्यालय भवन, विज्ञान प्रयोगशाला (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उनीहरूले निरीक्षण गरेका हुन् । अवलोकनका क्रममा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाले शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोड्युलको पाइलट कार्यक्रम पनि संयुक्त रूपमा शुभारम्भ गरे । शिक्षा तथा खेलकुद मन्त्रालय र एडीबीको प्राविधिक सहकार्यमा विकास गरिने उक्त अनलाइन तथा स्व-अध्ययन (सेल्फ–लर्निङ) आधारित तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान, डिजिटल सीप तथा आधुनिक शिक्षण प्रविधिबारे दक्ष बनाइने जनाइएको छ । कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालय शिक्षाको डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा र गुणस्तरीय शिक्षाको विस्तारमा आगामी दिनमा पनि सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे । मन्त्रालयका अनुसार एडीबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, शिक्षा सुधार तथा क्षमता विकासका विभिन्न कार्यक्रममार्फत एडीबीले लामो समयदेखि सहयोग गर्दै आएको छ ।

भोला थापाले सम्हाले त्रिभुवन विश्वविद्यालयको कार्यभार

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा  प्रा.डा. भोला थापाले सोमबार (आज) देखि कार्यभार सुरु गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति  बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ (२)  बमोजिम गठित समितिको सिफारिसअनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम यही असार  १९ गतेको निर्णायानुसार थापालाई नियुक्त गरेका हुन् ।  काठमाडौं विश्वविद्यालयको उपकुलपति समेत रहिसक्नुभएका प्रा.डा. थापाले  नेपालमा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पु¥याएका छन् ।  ्काठमाडौं विश्वविद्यालयमा रजिष्ट्रार र इन्जिनियरिङ सङ्कायका डीनसहित थुप्रै महत्त्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर उत्कृष्ट योगदान गरिसक्नुभएका नवनियुक्त उपकुलपति प्रा.डा. थापाले हाइड्रोलिक मेसिनरी र ऊर्जा प्रणाली क्षेत्रमा दक्ष विद्वानको समेत ख्याति प्राप्त गरेका छन् ।   उपकुलपति थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीवाट विद्यावारिधि गरेका हुन् ।कीर्तिपुरमा पदभार ग्रहण कार्यक्रममा उनले भौतिक तथा मानविय स्रोत/साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोगमार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. सुशीलबहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा.डा. शङ्करप्रसाद खनाल एवं निमित्त रजिष्ट्रार प्रा.डा. महानन्द चालिसेलगायत विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखाका  प्रमुखहरुलगायत प्राध्यापक, कर्मचारीका साथै विद्यार्थीहरु समेत सहभागी थिए ।