टेलिकमले विद्यार्थीका लागि एनटी फाइबर अफर सुरू गर्यो, माघ २२ सम्म आवेदन खुला
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ उपलब्ध गराइरहेको छ । यो अफर आगामी माघ २२ गतेसम्म आवेदन गर्न सकिनेछ र विशेष गरी विद्यार्थीहरूका लागि मात्र मान्य छ । एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन् । यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र रहेको छ । प्रतिदिन २५ जीबी डाटा उपलब्ध हुनेछ र यसको सीमाभन्दा बढी डाटा प्रयोग भएमा स्पिड ५ एमबीपीएस हुने व्यवस्था गरिएको छ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिनुपर्नेछ । यसका लागि जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक छ । यो अफरको समयावधि सकिएपछि पुनः नवीकरण गर्न मिल्ने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नु पर्नेछ वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफर विद्यार्थीहरूका लागि उपयोगी रहेको छ र समयमै आवेदन दिन सबै विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।
कामना सेवा विकास बैंकद्वारा रामकोश फूलबारी माविका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटा मार्फत श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले पुतलीबजार नगरपालिका–४, रामकोश स्याङ्जामा रहेका विपन्न विद्यार्थीहरूलाई गरिएको सहयोगले उनीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोशाक तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँग हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, रामकोश फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।
जागिरसँगै विश्वविद्यालयको पढाइ, एमएमा बने गोल्ड मेडलिस्ट
काठमाडौं । पढ्ने भनेकै पैसा कमाउन हो अर्थात् जागिर खानकै लागि पढ्नुपर्छ, अधिकांशको विचार यस्तै हुन्छ । तर सबैको हकमा जागिरमात्रै पढाइको उद्देश्य हुँदैन । तीमध्येका एक हुन्– कमल पौडेल । जसले सरकारी जागिरबाट समय निकाली पढे अनि गोल्ड मेडलिस्ट भए । पाल्पाको तानसेनका कमलले एमए अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट नम्बर ल्याउँदै गोल्ड मेडलिस्ट बनेका हुन् । बुटवल बहुमुखी क्याम्पसबाट ३.७७ जीपीए ल्याएका उनले त्रिविको ५१ औं दीक्षान्त समारोहमा तीनवटा पदक तथा पुरस्कार पाए । जसमा तारापद चौधरी स्वर्णपदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार रहेका छन् । धेरै विद्यार्थीमा राम्रो नम्बर नआउँदा एउटा न एउटा बहाना बनाउँछन् । कसैले पढ्ने समय नै हुँदैन भन्छन् त कसैले के । तर पढाइको भोक भएकाहरूलाई कुनै बहानाले रोक्न सक्दैन । बिहान १० बजेदेखि पाँच बजेसम्म सरकारी जागिर गरेर पढेका कमल कसैको दबाब र करले भन्दा आफ्नै इच्छा र स्वरुचिले पढ्दा त्यसको परिणाम अझ राम्रो आउने बताउँछन् । पौडेल पेसाले एक मेकानिकल इन्जिनियर हुन् । उनी यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी परीक्षण कार्यालय, बुटवलमा कार्यरत छन् । २०७३ सालमा निजामती सेवामा प्रवेश गरेका उनले कामसँगै पढाइलाई कसरी निरन्तर दिने र कसरी अध्ययन गर्दा गोल्ड मेडलिस्ट हुन सकिन्छ भन्ने विकासन्युजको प्रश्नमा भन्छन्, ‘पढाइ होस् या काम कुनै पनि सुरु गरिसकेपछि निरन्तरता हुनुपर्छ, अर्को कुरा रुचि पनि हुनुपर्छ जसको परिणाम राम्रै निस्कन्छ।’ कमल पाैडेल कमललाई म टपर हुनुपर्छ, भन्ने कहिल्यै लागेन । तर पढिसकेपछि राम्रै नम्बर ल्याउनुपर्छ भन्ने लागिरहन्थ्यो । ‘प्लस टु, ब्याचलर्स पढ्दा राम्रो गर्नुपर्छ, सकेसम्म धेरै नम्बर ल्याउनुपर्छ भन्ने सोच हुन्थ्यो तर स्नातकोत्तर गर्दा त्यो सोच पनि थिएन,’ कमलले भने । ‘पहिले पढाइ भनेपछि सफल हुनुपर्छ, पास हुनुपर्छ भन्ने दबाब हुन्थ्यो, त्यो दबाब महसुस स्नातकोत्तर गर्दा कहिल्यै भएन । पास हुनुपर्छ , डिग्री हातमा लिनुपर्छ भन्ने ध्येय मात्र अध्ययन गरेको हुँ, यसले गर्दा पनि सफलता हात परेको हुनसक्छ,’ उनले थपे । २०७१ सालमा स्नातक तह सकेका पौडेल ०७८ सालमा स्नातकोत्तरमा भर्ना भएका थिए । जागिरसँगै पढाइ कमललाई जागिर गरेको कही समयपछि मास्टर डिग्रीको आवश्यकता महसुस भयो । त्यसपछि उनले पढ्ने योजना बनाए । उनको कामसँगै मेल खाने विषय अर्थशास्त्र थियो । त्यसपछि उनले अर्थशास्त्र विषय लिएर पढ्ने योजना बनाए । ‘सरकारी क्षेत्रमा लामो समय काम गर्नु छ भनेपछि काम गर्ने क्षेत्रसँग पनि सम्बन्धित हुने, केही न केही नयाँ ज्ञान प्राप्त पनि हुने र आफ्नो कार्यसम्पादन क्षेत्रमा पनि सहयोग गर्छ भन्ने सोंचेर अर्थशास्त्र विषय पढ्न सुरु गरेको हुँ,’ उनले भने । कमलले तानसेनकै पदम पब्लिक नमुना सामुदायिक विद्यालयबाट एसएलसी पास गरे । कक्षा १२ सम्म विज्ञान विषय लिएर तानसेनमै पढेका उनी स्नातक तहमा इन्जिनियरिङ पढ्न काठमाडौं आए । काठमाडौंको पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरे । उनी पढाइमा सानैदेखि राम्रो थिए । स्नातक तहको पढाइ सक्ने बित्तिकै लोकसेवामा नाम निकालेर सरकारी जागिर सुरु गरे । प्राविधिक विषयबाट स्नातक गरेको व्यक्तिले किन स्नातकोत्तरमा अप्राविधिक विषय रोजाइमा पर्यो भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘मैले जुन विषय पढें, जे विषय पढेर अहिले काम गरिरहेको छु, यही विषय अध्ययनका लागि म काठमाडौंमै हुनुपथ्र्यो, जुन सम्भव थिएन । अर्थशास्त्र पढ्न मलाई राजधानी जानु पर्दैनथ्यो । दिनभरि कार्यालयको काम गरेर साँझ कलेज गएर पढ्न सकिन्थ्यो । अर्को कुरा अप्राविधिक ज्ञान हासिल गर्ने पनि रहर थियो ।’ सरकारी सेवा प्रवेश गरिसकेपछि कहीँ न कहीँ प्राविधिक तथा अप्राविधिक ज्ञानको पनि खाँचो पर्दो रहेछ । उनलाई पनि यो अनुभव भयो । आफ्नो सेवालाई नै काम लाग्ने विषय के हुनसक्छ भनेर हेर्दा अर्थशास्त्र सान्दर्भिक देखिएकाले पनि यो विषय रोजेको उनी बताउँछन्। बुवासँग कमल पाैडेल प्राविधिक अप्राविधिक विषयमा फरक कार्यालयको कार्य सञ्चालनमा प्राविधिक ज्ञानसँग अप्राविधिक ज्ञानको पनि आवश्यकता पर्छ । फरक विषय रोज्नुलाई अवसरको रूपमा लिन्छन् कलम । उनका लागि अर्थशास्त्र नौलो विषय थियो । कसरी पढ्ने होला भन्ने एक किसिमको चुनौती पनि थियो । त्यही चुनौतीले पढ्न थप प्रेरित गरेको उनको अनुभव छ । ‘अर्थशास्त्रका धेरै विषय म्याथम्याटिक्स बेस हुन्छन्, यसो हुँदा आफूलाई सहज बनाउनसक्ने ठाउँ पाएँ,’ उनी भन्छन्, ‘पहिलेको गणितको ज्ञान जुन थियो त्यसले पनि यतापट्टिको पढाइमा धेरै सहयोग गर्यो ।’ ‘एक्कासि नयाँ विषय पढ्दा गाह्रो पक्कै हुन्छ तर त्यो चुनौती मैले पहिलो सेमेष्टर पढिसक्दासम्म सामना गरिसकेको थिएँ, त्यसपछि सहज भयो,’ उनले थपे । कसरी पढ्ने ? पढ्ने हरेक व्यक्तिको आ–आफ्नै तरिका हुन्छ । कमल पढाइ सुरु गर्नुभन्दा अगाडि पाठ्यक्रममा के छ, त्यसमा पढ्ने पर्ने विषय के हो र शिक्षकले कसरी पढाइरहेका छन् भन्ने कुरालाई हेरेर आफ्नो अध्ययन गरेको बताउँछन् । ‘छुटेका केही कुरा युट्युबबाट पनि हेर्थें । धेरै कुरा अहिले युट्यबमै पाइन्छ तर त्यसलाई कसरी पढ्ने र त्यस्ता कुरालाई कसरी ग्रहण गर्ने भन्ने व्यक्तिमा भर पर्छ ,’ उनी भन्छन्, ‘नोट बनाएर हुन्छ कि पटकपटक पढेर हुन्छ कि पढेका कुरालाई दैनिक जीवनसँग लागू गरेर हुन्छ, यो विद्यार्थी आफूले बुझ्नुपर्ने हुन्छ ।’ अर्थशास्त्रको कुरा गर्दा कर प्रणालीको बारेमा पढ्नुपर्छ । यो के रहेछ भनेर हेर्दा अहिलेको कर प्रणाली के छ, कसरी प्रयोग भइरहेको छ भन्ने हेरेर बुझ्न पनि सकिन्छ । कमल आफू पढ्दा किताब, इन्टरनेटलगायतका विभिन्न माध्यमबाट विभिन्न सामग्री तयार पार्थे । सजिलै बुझ्नेगरी टिपोट गरेर अध्ययन गर्थे । उनी विद्यार्थीले सबैभन्दा पहिले आफ्नो बुझ्ने तरिका के हो पत्ता लगाउनुपर्ने बताउँछन् । पढाइको लागि सबैभन्दा राम्रो तरिका व्यवहारिक ज्ञानसँग प्रयोग गरेर हेर्नुपर्ने उनको बुझाइ छ । धेरै कुरा स्वअध्ययन गर्ने र शिक्षकले गरेको गाइडलाइनबाटै पनि धेरै कुराहरू सिक्न सकिने उनको अनुभव छ । भन्छन्, ‘पढाइका सिद्धान्त धेरै छन् । कुन सिद्धान्त अपनाउँदा विद्यार्थीले आफूलाई बुझेको अनुभव गर्छन् भन्ने कुरा आफै थाहा पाउनुपर्ने हुन्छ ।’ कमल आफ्नो हकमा किताबमा भएको सिद्धान्तको प्रयोग कहाँ र कसरी भइरहेको छ भनी खोजी गर्ने गर्दछन् जसले पढेको कुरा याद गर्न पनि सहज हुन्छ । ‘मैले ल्याएको डिग्रीबाट म सन्तुष्ट हुनैपर्छ, यति नम्बर मैले ल्याउनैपर्छ भन्ने चाहिँ विद्यार्थीमा हुनैपर्छ,’ उनी भन्छन्, ‘डिग्री लिनको लागि मात्र पढेको जस्तो नहोस् भोलि कपाल फुलेर आफ्नो डिग्री हेर्दै गर्दा उबेला यतिको चाहिँ गरिएको थियो भन्ने सन्तुष्टि पनि मिलोस् भन्ने लाग्थ्यो ।’ तीन घण्टा परीक्षा प्रणालीको विरोध वर्षभरि पढेर विद्यार्थीको मूल्यांकन तीन घण्टाको परीक्षाले गरिने प्रणालीको कमल विरोध गर्छन् । उनलाई तीन घण्टाको लागि मात्र अध्ययन गरेर सफलता देखाइरहेकाले यो वास्तविकता होइन भन्ने लाग्छ । ‘जस्तै म्याथको कुरा गरौं– परीक्षा लिँदैगर्दा विद्यार्थीलाई जुन प्रश्न सोधिन्छ, त्यसमा प्रयोग हुने फर्मुला उसको अगाडि उपलब्ध गराइदिनुपर्छ भन्ने हो । उसँग ज्ञान छ, फर्मुला घोकेर जाँदा मिलाउन सकेन भने उसको मूल्याकंन गर्दा यसले जानेन भन्न मिल्दैन,’ उनी भन्छन् । कुनै प्रश्नमा कुनकुन चिजलाई आधार मानेर यसको हल गर्न सकिन्छ भन्ने प्रश्नपत्रमै उपलब्ध गराउन सक्यो भने साँच्चै ज्ञान प्रयोग गर्न जानेको छ छैन भनेर हेर्न सकिने उनी बताउँछन् । रटान परीक्षा प्रणालीको पौडेल खुलेर विरोध गर्छन् । यसले शिक्षा प्रणाली उँगो लाग्न नसक्ने उनको जिकिर छ । उनी तल्लो तहमा नभए पनि माथिल्लो तहको परीक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको बताउँछन् । नेपालका लगानी गर्ने वातावरण भएन नेपालमा अर्थतन्त्रका सुचकहरू हेर्ने हो भने सबै सकारात्मक छन् । बैंकहरूसँग तरलता पनि थुपै्र छ, मौद्रिक नीतिले ल्याएको व्यवस्था पनि लगानीलाई फाइदा गर्ने खालकै छन् । यति हुँदाहुँदै पनि आर्थतन्त्र चलायमान हुन नसकेको अवस्था छ । यसबाट कसरी बाहिर निस्कने भन्ने विषय अहिले चुनौतीकै रूपमा रहेको छ । कतिपय अर्थशास्त्रीले यस्तो बेलामा सरकारले खर्च गरेर डिमाण्ड बढाउनुपर्छ भनेका छन् । पौडेल यस्तै सिद्धान्त प्रयोग गर्न सकिने अवस्था आएको हो कि भन्ने राय व्यक्त गर्छन् । उनका अनुसार लगानीकर्ताले लगानी गरेर यति प्रतिफल पाउँछु भन्ने अवस्था छैन । लगानीकर्तामा यो विश्वास भएन भने अर्थतन्त्र चल्नै सक्दैन । अर्थतन्त्र चल्ने भनेको सेभिङ र इन्भेष्टमेन्टले हो । ‘हामीसँग सेभिङ भयो तर यसलाई लगानी गरेर भोलि प्रतिफल पाउने आशा कसैमा देखिएन । त्यसैले पनि यस्तो अवस्था आएको हुनसक्छ,’ उनी भन्छन् । ‘जब लगानी हुँदैन तब रोजगारी सिर्जना हुँदैन । रोजगारी सिर्जना नभए आय हुँदैन, आए नभए डिमाण्ड आउँदैन, यो अर्थशास्त्रको चेन हो,’ उनी भन्छन्, ‘नयाँ क्षेत्रमा वा भइरहेको क्षत्रमा लगानी गरेर प्रतिफल पाउनसक्छु भन्ने आशा नै लगानीकर्ताको मरिसकेको हो कि भन्ने पनि लाग्छ ।’ देखासिखीले पनि विदेश जानेक्रम बढ्यो विद्यार्थी विदेश जाने निकै बढेको छ । पहिले विदेश पढ्न जानेहरू नेपालमा अवसर नदेखेर भन्दा पनि विदेशमा नयाँ कुरा सिक्न जानेहरू बढी थिए । अहिले नेपालमा केही पनि छैन, अवसर नै छैन भन्ने हेतुले विद्यार्थी बाहिर गएको देखिन्छ । पौडेल देखासिखीले पनि विदेश जानेक्रम बढेको बताउँछन् । ‘कतिपय संस्कृत हाम्रोभन्दा विदेशीको राम्रो हुन पनि सक्छ । पढेर राम्रो गरे भने धेरै मौका आउँछन् भन्ने हुन्थ्यो । अहिले बिना सीप बिना मिहिनेत कुनै आम्दानीको स्रोत आवोस् भन्ने आशा गर्ने बानी पस्दा पनि यस्तो अवस्था आएको हो कि जस्तो लाग्छ,’ उनले भने । उनी नेपालमा समस्या थुप्रै भए पनि केही आशाहरू भने रहेको बताउँछन् । कमलले अहिले तत्काल योभन्दा माथिको शिक्षाका लागि सोचेका छैनन् । भन्छन्, ‘अहिले म पूर्ण रूपमा पारिवारिक जिम्मेवारीमा छु, केही समय यसैमा रमाउँछु । चार–पाँच वर्षपछि फेरि केही सोच्नुपर्ला ।’