तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकको थाप्लोमा नपार्न आग्रह

काठमाडौं । सरकारले यस आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा शुल्कको मारमा अभिभावक परेका सरोकार भएका निकायका प्रतिनिधिले बताएका छन् ।      ‘खबर एजुकेशन’ द्वारा आज आयोजित ‘शिक्षा संवादः तीन प्रतिशत समता शुल्क, निजी क्षेत्रका नीतिगत चुनौती र दायित्व’ सम्बन्धी अन्तरक्रियामा वक्ताहरूले उठाइएको शुल्क कुन शीर्षकमा खर्च गर्ने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।      पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालयमा पढाउने सबै अभिभावकले वर्षमा रु १५ लाख कमाउन सक्छन् भन्ने बुझाइबाट समता शुल्क लगाइए पनि यथार्थ त्यस्तो नभएको टिप्पणी गरे । उनले सामुदायिक विद्यालयका कुनकुन क्षेत्रमा कति लगानी गर्ने यकिन गरेर मात्रै यस्तो शुल्क उठाउन सम्बन्धित निकायलाई आग्रह गरे ।      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वशिक्षा विभाग प्रमुख मिलन पाण्डेले सरकारको प्राथमिकतामा सामुदायिक विद्यालय सुधार गर्नु रहेकाले लगानी बढाउने विकल्पका रूपमा समता शुल्कको अवधारणा ल्याइएको बताए ।  नेपाल अभिभावक महासङ्घका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले शिक्षामा लगाइएको समता शुल्कले अभिभावकलाई थप समस्या हुने विचार व्यक्त गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष डिके ढुङ्गानाले शिक्षामा कर थप्ने नीतिको विकल्पमा अभिभावनलाई राहत हुनेकिसिमका नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए ।       राष्ट्रिय निजी तथा आवासय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) का अध्यक्ष सुवास न्यौपानेले विश्वमा कतै पनि शिक्षामा कर लिने व्यवस्था नभएको बताए । उनले सरकारद्वारा लागू गरिएको समता शिक्षा शुल्कको विकल्पमा राहत केन्द्रित कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।    

मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच सुरु, १५ युवाले थाले १८ महिने नाट्य यात्रा

काठमाडौं । मण्डला थिएटर–नेपालले मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच (२०२६–२०२७) का १५ जना विद्यार्थीलाई स्वागत गर्दै १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘रंग परियोजना’ अन्तर्गत सञ्चालन हुने कार्यक्रममा देशभरबाट आवेदन दिएका युवामध्ये प्रतिस्पर्धात्मक छनोटमार्फत १५ जना विद्यार्थी चयन गरिएको मण्डला थिएटरले जनाएको छ । स्वागत कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले रंगमञ्च संवाद, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी कलाकारका रूपमा अघि बढ्न प्रेरित गरिन् । मण्डला ड्रामा स्कूलको १८ महिने पाठ्यक्रममा अभिनय, सिर्जनात्मक लेखन, सामुदायिक रंगमञ्च, प्राविधिक पक्ष तथा स्वतन्त्र नाटक निर्माणलगायतका विषय समेटिएका छन् । प्रशिक्षणमार्फत विद्यार्थीलाई अभ्यास, अनुसन्धान र समुदायसँगको सहकार्यका आधारमा सक्षम, सिर्जनशील र सामाजिक रूपमा सचेत रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखिएको मण्डला थिएटरले जनाएको छ । कार्यक्रमले नेपाली रंगमञ्चका लागि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै कला र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । 

शैक्षिक परामर्श व्यवसायीहरू सडकमा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरू सडकमा आएका छन् ।  सरकारले स्वीकृत गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा उनीहरू सडकमा आएका हुन् ।  आन्दोलनअन्तर्गत व्यवसायीहरूले शुक्रबार  काठमाडौंको पुतलीसडक चोकमा प्रदर्शन गरेका छन् । नयाँ नियमावली व्यवसायमैत्री नभएको, अव्यावहारिक रहेको तथा व्यवसाय सञ्चालनमा अनावश्यक जटिलता थप्ने खालको भएको भन्दै तत्काल संशोधन वा खारेज गर्न सरकारसँग माग गरेका छन् । संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ । आन्दोलनबाट पनि समाधान ननिस्किए देशभरका शैक्षिक परामर्श संस्थाका सञ्चालकहरूले आफ्ना कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ।