काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डसँग सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
काठमाडौंमा आयोजित समारोहमा बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी आईटी (सीएसई) र एमबीए कार्यक्रमका ४१५ जना विद्यार्थी दीक्षित भएका कलेजले जनाएको छ ।
असार २६ गते याक एन्ड यति होटलमा आयोजित समारोहमा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा युनिभर्सिटी अफ सन्डरल्यान्ड (यूके)का उच्चस्तरीय प्रतिनिधि, अभिभावक तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।
कलेजका अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटी अफ सन्डरल्यान्डले विशेष अवार्ड प्रदान गरेको छ । साथै, आईएसएमटी समूहअन्तर्गत सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनका लागि उत्कृष्ट विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति समेत प्रदान गरिएको छ ।
आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा युनिभर्सिटी अफ सन्डरल्यान्डसँगको सम्बन्धनमा बीबीए, बीएचएम, बीएस्सी आईटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स, एमबीए तथा एमएस्सी कम्प्युटिङ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।