काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अनुमति नलिई विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन नगर्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै विदेशी शिक्षा संस्थासँग सम्बन्धित विद्यालय तहका शैक्षिक कार्यक्रम ए–लेभल, सीबीएसई र आईबीडीपी लगायतका कोर्स सञ्चालन नगर्न भनेको हो ।
सञ्चालन गर्नुपरमा मन्त्रालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने प्रचलित कानुनी व्यवस्था रहेको स्मरण गराएको हो ।
मन्त्रालयका अनुसार केही शैक्षिक संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा केहीले अनुमति प्राप्त गरेको भनी विद्यार्थी र अभिभावकलाई भ्रमपूर्ण सूचना प्रवाह गरेको विषय विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टिकरणसहित सूचना जारी गरेको हो।
सूचनामा अनुमति प्राप्त भएको दाबी गर्दै सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमबारे सम्बन्धित संस्थाले मन्त्रालयको विद्यालय शिक्षा शाखामा लिखित रूपमा जानकारी गराउन अनुरोध गरिएको छ ।
यसका लागि [email protected] इमेलमार्फत तीन दिनभित्र विवरण उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका उपसचिव कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरेको सूचनामा कानुनी प्रक्रिया पूरा नगरी विदेशी विद्यालय तहका कार्यक्रम सञ्चालन नगर्न तथा अनुमति सम्बन्धी विवरण तोकिएको अवधिभित्र पेश गर्न सम्बन्धित सबै शैक्षिक संस्थालाई निर्देशन दिइएको छ ।