पढाइसँगै कमाइ : इम्बार्क कलेजको सुरु गर्यो दुई नयाँ कार्यक्रम

काठमाडौं । ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले विद्यार्थीलाई पढाइसँगै रोजगारी र उद्यमशीलतामा अगाडि बढाउने उद्देश्यले दुई नयाँ कार्यक्रम सुरु गरेको छ । कलेजले बिहीबार ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ सार्वजनिक गर्दै उच्च शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने घोषणा गरेको हो । कलेजका सीइओ आशिष ठाकुरले भने, ‘यो कार्यक्रमले स्नातकपछि हुने अनिश्चिततालाई अन्त्य गर्दै करियर–रेडी शिक्षाको नयाँ मापदण्ड नेपालमै ल्याएको छ ।’ उद्योगसँग साझेदारीमार्फत विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्ने, संरचित तालिम, सीप मूल्याङ्कन र व्यावसायिक परामर्श दिइने, उद्योगलाई दक्ष जनशक्ति प्रदान गर्ने र विद्यार्थीलाई स्थायी करियर मार्गदर्शन दिने कलेजले जनाएको छ । स्टार्टअप क्षमता विकास कार्यक्रम कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका स्टार्टअप व्यवसायहरूलाई लक्षित गरिएको हो । कार्यक्रम नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी तयार गरिएको हो । इम्बार्क कलेज हाल बीएस्सी बिजनेस म्यानेजमेन्ट, एमबीए र एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले यी नयाँ पहलमार्फत विद्यार्थीलाई पढाइसँगै कमाउने अवसर र उद्यमशीलताको नयाँ बाटो खोल्ने दाबी गरेको छ ।

निजी विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् । निजी सञ्चालकहरूले भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।  विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, एन प्याब्सन, हिसान र अपेनले बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।  निजी विद्यालय सञ्चालकहरूले निजी विद्यालयल गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।  विधेयकमा निजी विद्यालयहरूले दिने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको कार्यान्वयन स्थानीय तहहरूले गर्ने र उनीहरूले आफ्नो क्षेत्र भित्रको निजी विद्यालयमा छात्रवृत्तिको कोटामा विद्यार्थीहरूको परीक्षा लिएर छनोट गरी विद्यार्थीलाई पठाउनुपर्ने प्रावधान राखिएको छ । 

१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाले भदौ महिनामा महत्वपूर्ण विधेयकहरू पारित गर्ने तयारी गरेको छ । शुक्रबार (भदौ १३ गते) बस्ने बैठकमा भूमि सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरूसँग बैठक कार्यसूचीबारे छलफल गरेका थिए । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार भूमि सम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ । भदौ १८ र १९ गते बस्ने बैठकमा नागरिकता सम्बन्धी विधेयक तथा राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी विधेयक पारित गर्ने तयारी भएको छ । यस्तै, १७ गते राष्ट्रिय सभाबाट संघीय निजामति सेवा विधेयक सन्देशसहित फिर्ता आएमा १८ गते टेबुल र १९ गते पारित गरिने योजना छ । यसबाहेक, प्रतिनिधि सभाको अर्को बैठक भदौ २५, २६ र २७ गते बस्नेछ । यस अवधिमा विशेष गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको छ । शिक्षा विधेयकलाई भदौ २६ गते पारित गर्नेगरी कार्यतालिका तय भएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ महिनाभर प्रतिनिधि सभाले संघीयता र सुशासनसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्नेछ ।