टेक एक्सस् एलिभेट सुरू हुँदै, २० भन्दा बढी रोबोटिक्स र एआई परियोजना प्रस्तुत गरिने

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्सस् एलिभेट २०२५’ को तेस्रो संस्करणको घोषणा गरेको छ । असार ३२ देखि साउन ३ गतेसम्म चार दिन सञ्चालन हुने यो कार्यक्रम कलेजकै परिसरमा आयोजना हुनेछ । टेक एक्सस् एलिभेट २०२५ प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको उत्कृष्ट प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ । आयोजकहरूका अनुसार यसपटकको संस्करण अझ व्यापक, इनोभेटिभ र प्रेरणादायी बन्नेछ । प्रविधिको वास्तविक अभ्यासमा आधारित प्रोजेक्ट प्रदर्शनीमा करिब २० भन्दा बढी रोबोटिक्स र एआई परियोजनाहरू प्रस्तुत गरिने छन् । प्रमुख प्रोजेक्टहरूमा ‘करुणा’ (ज्ञानमा आधारित सहयोगी रोबोट), ‘मिरा’ (शिक्षा क्षेत्रमा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट), ‘वारदोग’ (सुरक्षा निगरानी प्रणाली), ‘स्टडीसेन्स’  र ‘तोमात्रों’ (कृषिमा एआई प्रयोग) समावेश छन् । साथै, केम्लाब वीआर, फिसअवेर, सुरक्षित एभी स्ट्रिम, फ्लिप आरएफआईडी च्यालेन्ज जस्ता परियोजनाहरूले पनि कार्यक्रम समृद्ध बनाउनेछन् । स्टार्टअप उत्सवमा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २० वटा स्टार्टअपहरूले आफ्ना व्यवसायिक मोडेल, नवप्रवर्तन र सोच प्रस्तुत गर्ने छन् । यसले नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने सन्देश दिनेछ । जब फेयर अन्तर्गत २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहनेछ । दुई दिने यो रोजगार मेलामा सहभागीहरूले सयौं रोजगारी तथा इन्टर्नसिप अवसरमा पहुँच पाउनेछन् । स्नातकदेखि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हुनेछ । उद्यमशीलता मास्टर कक्षा अन्तर्गत विद्यार्थीहरू व्यवसाय सुरु गर्ने अभ्यास, योजना बनाउने तरिका, लगानीकर्ता र मेन्टरहरूसँगको सिधा सम्पर्क र पिचिङ सेसनमा सहभागी हुने अवसर पाउनेछन् । इन्सपायर टक्स मा नेपालका सफल प्रविधिकर्मी तथा उद्यमीहरूद्वारा सञ्चालित प्रेरणादायी सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रहरूले सहभागीलाई फरक सोच्न र नयाँ दिशा पहिल्याउन उत्प्रेरणा दिने विश्वास लिइएको छ । २ वर्षभन्दा लामो अभ्यास गरेका विद्यार्थी समूहहरूबीचको ‘आइरन क्ल्यास - फलामको महासंग्राम’ नामक प्रतिस्पर्धामा प्रविधिको प्रयोग र कार्यान्वयन देख्न पाइनेछ । कार्यक्रममा भविष्यका टेक लिडर, रोजगारी खोजिरहेका आईटी विद्यार्थीहरू, नवप्रवर्तनशील स्टार्टअप फाउन्डर, लगानीकर्ता, मेन्टर, मिडिया र इन्फ्लुएन्सरहरू समेत सहभागी हुने अपेक्षा गरिएको छ । सफ्टवारिका कलेजले टेक एक्सस् एलिभेट २०२५ लाई शिक्षा, इनोभेसन र प्रभावशाली सोचको साझेदारीका रूपमा प्रस्तुत गर्दै प्रविधिमा आधारित, प्रयोगात्मक र विश्वस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा  प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।  बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे । शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।  

स्वायत्तता सुनिश्चितताको मागसहित इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू आन्दोलनमा

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितताको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन संस्थान (इअस) इकाइहरू, प्राध्यापकका वैचारिक सङ्घ/सङ्गठनहरू र इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका सम्पूर्ण एकाइहरू त्रिभुवन विश्वविद्यालयको हस्तक्षेपका कारण प्रशासनिक, वित्तीय र अनुसन्धानात्मक स्वायत्तता गुमेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । प्रा डा सङ्गीता सिंहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हस्तक्षेपको विरोध गर्दै स्वायत्तता सुनिश्चित गरौँ भन्ने मागसहित यही असार १९ गतेदेखि आफूहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिए ।  ‘विगत केही दिनदेखि आन्दोलनमा छौँ, स्वायत्तता सुनिश्चित गरौँ भन्ने महत्वपूर्ण माग हो । केन्द्रीय हस्तक्षेप हस्तक्षेप खारेज हुनुपर्छ, विश्वव्यापीकरणको समयमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई ध्यान दिनुपर्छ भन्नेमा हाम्रो जोड छ,’ उनले भने ।  सिभिल इन्जिनियर विभागका प्राध्यापक रोशन कार्कीले नेपाल सरकारले प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापना गरेको अध्ययन संस्थानमाथि विश्वविद्यालयबाट हस्तक्षेप हुँदा ‘रिसर्च एन्ड डेभलपमेन्ट’ गतिविधि प्रभावित भएको बताए ।  ‘यो आन्दोलन इन्जिनियरिङ संस्थानको हकहित र  सुधारका लागि गरिएको एकीकृत प्रयास हो । विगतमा संस्थानलाई दक्ष प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले स्वायत्ततासहित आम्दानी गरेर सञ्चालन गर्न दिइएको थियो, तर २०८० सालको सिनेटले निर्णय गरेर स्वायत्तता खोसेको छ, यो आपत्तिजनक छ,’ उनले भने ।  प्रा डा सुदीप भट्टराईले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच वटै आङ्गिक क्याम्पसलाई स्वायत्तता दिइनुपर्ने मागसहित ५४ जना प्राध्यापकले विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारीबाट राजीनामा दिएको बताए । प्राध्यापक सङ्घले आयोजना गरेको कार्यक्रममा वैचारिक सङ्गठनहरुको ऐक्यबद्धता रहेको उनकाे भनाइ छ ।  प्राध्यापक सङ्घ थापाथली क्याम्पस एकाइ समितिका सभापति डा श्री हरि थापाले व्यक्तिगत अपेक्षाभन्दा पनि संस्थाको स्वायत्तता र हितका लागि आन्दोलन गरिएको बताए ।  प्राध्यापकहरूले उपकुलपति समक्ष कर्मचारी प्रमुख मार्फत ध्यानाकर्षणसहितको माग पत्र बुझाएर आन्दोलन सुरु गरेको बताएका छन् । मागहरू पूरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरू (पठनपाठन, परीक्षा आदि) बन्द गर्ने निर्णयसहित आन्दोलन भइरहेको प्राध्यापक कार्कीले बताए ।