इलावेन इकोनोमी
काठमाडौं । काठमाडौंका अविरल कार्की ३.५७ जिपीए ल्याएर एसईईमा पास भए । काठमाडौंको बागबजारमा रहेको सिद्धार्थ पब्लिक एकेडेमीबाट एसईई पास उनी अहिले नयाँ बानेश्वरमा रहेको नोवेल एकेडेमीमा व्यवस्थापन अन्तर्गत गत कम्प्युटर साइन्स पढ्न भर्ना समेत भइसकेका छन् । भर्ना शुल्क ५ हजार तिरेका अविरलले ड्रेसका लागि १० हजार तिर्नुपर्यो । कलेजको ड्रेस कलेजले भनेकै ठाउँमा गएर मात्र सिलाउनुपर्छ । यसका लागि १० हजार खर्च भएको उनले बताए । उनको जीपीए पनि राम्रो र साथीहरूको समूह जाँदा उनलाई कलेजले केही छुट दिएको उनले बताए । उनका अनुसार अब उनलाई वर्षभरीको मासिक शुल्क ३५ हजार मात्र तिर्नुपर्ने छ । त्यस बाहेक कलेजलाई वार्षिक ५५/६० हजार रूपैयाँ बुझाउनु पर्ने उनी बताउँछन् । सिन्धुलीकी निकिता चावहिलको टेक्सास कलेजमा कक्षा ११ मा भर्ना भइन् । अघिल्लो साता आमाबुवासँग कलेजमा पुगेकी उनले कलेज हेरेपछि भर्ना भइन् । विज्ञान विषय लिएर अध्ययन गर्ने योजना बनाएकी उनीसँग शुल्कको विषयमा बुझ्दा छुट विभिन्न छुटपछि वार्षिक ६० हजार तिर्नुपर्ने उनका बुवाले बताए । उनले भने, ‘हाम्रो चिनजानका मान्छे पनि हुनुहुन्थ्यो छोरीले पनि राम्रै नम्बर ल्याएकी थिइन्, छुट पाएर ६० हजार शुल्कमा कुरा मिलेको छ, नभए कति धेरै पैसा लाग्छ ।’ कलेजलाई बुझाउने बाहेक भर्ना, स्कुल ड्रेस लगायत विभिन्न शिर्षकमा उत्तिकै खर्च हुन्छ । उनी कक्षा ११ मा छुट पाए पनि कम्तिमा एक लाख खर्च हुने बताउँछन् । काभ्रेका अंकित खनाल ज्ञानोदय माविमा कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गर्ने योजनामा छन् । उनी कलंकीमा रहेको ज्ञानोदयले लिएको प्रवेश परीक्षामा नाम निकालेर भर्ना समेत भइसकेका छन् । भर्नाको लागि ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्यो भने स्कुल ड्रेसको लागि ५ हजार ५ सय रुपैयाँ स्कुलमा बुझाइसके । ज्ञानोदयमा विज्ञान विषय लिएर अध्ययन गर्दा मासिक शुल्क १ हजार पाँच सय तिर्नुपर्छ । शुल्क मात्रै हेर्ने हो भने उनले एक वर्षमा अर्थात कक्षा ११ मा १८ हजार तिर्नुपर्छ । अंकितकी आमा जानुका कमै खर्च भने पनि छोरा पढाउँदा ३० देखि ४० हजार हाराहारीमा खर्च हुने बताउँछिन् । ‘सरकारी स्कुल राम्रो पनि छ, सस्तो पनि छ भनेर यही भर्ना गरियो,’ जानुका भन्छिन्, ‘मासिक शुल्क १५ सय भनेको छ, स्कुल त हो कहिले केही कहिले केही भनेर पैसा मागिरहन्छ, जति खर्च लागे पढाउनै पर्यो ।’ सामुदायिक विद्यालयमा कक्षा ११ मा पढ्न ४० देखि ५० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । पुतलीसडकमा रहेको पद्मोदय माविका प्रधानाध्यापक डा. शर्मीला पोख्रेल पद्मोदय माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले ३५ देखि ४० हजारको हाराहारीमा खर्च लाग्ने गरेको सुनाउँछिन् । मासिक शुल्क महँगो छैन । तर, भर्ना, ड्रेस, किताब कापी लगातय सामग्री जोड्दा हाम्रो स्कुलमा विज्ञान विषय पढ्ने विद्यार्थीले ३५ देखि ४० सम्म खर्च गर्नैपर्छ,’ उन्ले भनिन् । उनी व्यवस्थापन विषय लिएर पढ्दा पनि सोही हाराहारीमा खर्च आउने बताउँछिन् । पद्मोदयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले सुरुमै भर्ना हुँदा ५ हजार तिर्नुपर्छ भने स्कुल ड्रेसका लागि ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । विद्यालयले नेपाली अंग्रेजी र सामाजिक विषय उपलब्ध गराएपनि बाँकी विषय भने विद्यार्थीले किन्नुपर्ने हुन्छ । ‘सामुदायिक विद्यालय हो यति शुल्क पनि हामीले लिनु नपर्ने हो । तर, विद्यार्थीका लागि आवश्यक शिक्षक राख्नुपर्यो, कहिलेकाहीँ अन्य विभिन्न किसिमका खेलहरू पनि खेलाउनुपर्यो,’ उनी भन्छिन्, ‘विद्यार्थीबाट उठाएको शुल्क हामी व्यक्तिगत रुपमा खर्च गर्ने होइन, दरबन्दी अनुसार शिक्षक छैनन्, शिक्षक राख्नुपर्यो, विद्यार्थीबाट लिइएको शुल्क उनीहरूकै क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।’ निजीमा लाखाैं शुल्क सामुदायिक विद्यालयमा ३० देखि ४५ हजार रुपैयाँसम्म खर्च गरे पनि निजी विद्यालयमा भने लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ । उपत्यका सबैभन्दा महँगा भनिका युलेन्स र रातो बंगलामा अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ र १२ पुरा गर्न ६ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । ललितपुरमा रहेको प्रसादी एकेडेमी, बागबजारमा रहेको काठमाडौं मोडेल कलेज, डिल्ली बजारमा रहेको ट्रिनिटी इन्टरनेश्नल निष्ट र युनाइटेड कलेजमा अध्ययन गर्ने विद्यार्थीले ५ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ । नेपाल मेगा कलेज, गोल्डेन गेट र अरनिको स्कुलमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तीन लाख ७५ हजारसम्म शुल्क तिर्नुपर्ने सम्बन्धित कलेजका अधिकारीहरुले बताएका छन् । चावहिलमा रहेको टेक्सास कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ टेक्सासमा पढ्ने विद्यार्थीले १ लाखदेखि डेढलाखसम्म खर्च गर्दा कक्षा ११ र १२ को पढाइ पुरा गर्न सकिने बताउँछन् । व्यवस्थापन र विज्ञान विषयका लागि एक देखि डेढ लाख र मानवशास्त्र र कानुन विषयका लागि औसत एक लाख खर्च गर्दा पढाइ पुरा हुने उनी बताउँछन् । उनी भन्छन् ‘मैले भनेको कलेजको शुल्कको मात्र कुरा हो । तर, किताब कापी, ट्युसन लगायत अन्य विद्यार्थीको व्यक्तिगत शुल्क त्यो भन्दा बढी लाग्न सक्छ । अनामनगरमा रहेको मेगा कलेजमा व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ । त्यहाँ कक्षा ११ मा मात्रै भर्ना हुँदा विद्यार्थीले एक लाख १२ हजार मासिक शुल्क तिर्नुपर्छ । कक्षा ११ र १२ दुवै पूरा गर्न विद्यार्थीले करिब तीन लाख हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । बजारमा अर्बौं रकम माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात पास भए । अर्थात् २ लाख ७१ हजार २ सय ९२ विद्यार्थी कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)पास भएका छन् । एक वा दुई विषयमा फेल भएका विद्यार्थीले फेरि परीक्षा दिँदा यो संख्या अझै बढ्छ । कुनै पनि विषय नलागेर पास भएका २ लाख ७१ हजार बढी विद्यार्थीको मात्र कुरा गर्ने हो भने अहिले उनीहरू कक्षा ११ मा भर्ना भइसकेका छन् । कतिपय विद्यार्थीले प्राविधिक विषय रोजेर ११ मा भर्ना गरेका छन् भने कतिपयले नन्प्राविधिक विषय रोजेका छन् । कक्षा ११ मा सामुदायिक विद्यालय र निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको भर्ना शुल्कदेखि मासिक शुल्क फरक छ । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ । सामुदायितक र निजी विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीले भर्ना शुल्क, किताब–कापी, स्कुल ड्रेस लगायत सामग्रीमा सुरुमै औसत ४० हजार बढी खर्च हुने गरेको शिक्षकहरु बताउँछन् । अहिले एसईईमा पास भएका कुल २ लाख ७१ हजार २ सय ९२ विद्यार्थीले ११ मा भर्ना गर्नका लागि सुरुमै औसत ४० हजार रुपैयाँ खर्च गर्दा करिब ११ अर्ब रुपैयाँ बजारमा जान्छ । यो न्यूनतम रकम हो । निजी विद्यालयमा पढ्ने विद्यार्थीले सुरुमै २ लाख बढी रुपैयाँ विद्यालयलाई तिर्नुपर्ने अवस्था पनि छ भने केही विद्यार्थी प्राविधिक क्षेत्र रोज्ने भएकोले पनि त्यहाँ पनि लाखौं रकम खर्च गर्नुपर्ने बाध्यता छ । तर, औसतमै हिसाब गर्ने हो भने एसईईमा पास भएका विद्यार्थीले सुरुमै बजारमा ठूलो रकम पठाउँछन् । एउटा सामान्य सामुदायिक विद्यालयमा भर्ना शुल्क न्यूनतम १० हजार, ड्रेस १० हजार, किताब–कापी लगायत स्टेसनरी खर्च १० हजार र मासिक शुल्क १० हजारमात्र छुट्याउने हो भने पनि एक जना विद्यार्थीले औसतमा ४० हजार रुपैयाँ खर्च हुन्छ ।
परीक्षा भएको २४ घण्टा नबित्दै काठमाडौं महानगरले निकाल्यो कक्षा ११ र १२ को छात्रवृत्तिको नतिजा
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार, मिति २०८२/०४/०३ गते शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनु भएको थियो । जसमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ । उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो र ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घन्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताए । ‘शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। एक महिना भन्दा अघिदेखि निरन्तर खटिएर चौबीस घन्टामै नतिजा प्रकाशित गर्न सकियो। यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो। समावेशीकरणलाई सुनिश्चित गर्ने स्कलरसिप प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौं’, उनले भने । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० ओटा बहुवैकल्पिक प्रश्नहरू समावेश थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कनको व्यवस्था थिएन । देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट हुनुभएको थियो । तीमध्ये १४,१७३ जनाले परीक्षामा भाग लिनु भएको थियो । नतिजा ओएमआर (अप्टिकल मार्क रिकग्नेशन) प्रणालीमार्फत जाँच गरिएको छ । यो प्रणालीले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताए । नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा मेसेज मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् । काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।
शैक्षिक हड्तालका कारण आज सामुदायिक र निजी विद्यालय ठप्प
काठमाडौं । उपत्यकाका अधिकांश विद्यालय शुक्रबार (आज) बन्द गरिएका छन् । बिहीबार धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट शिक्षक र विद्यार्थी संगठनले शैक्षिक हड्तालको घोषणा गर्दै शुक्रबार विद्यालय बन्द गर्न भनेपछि अधिकांश विद्यालय बन्द गरिएका हुन् । सरकारले असार १५ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने भनेपनि साउन महिनासम्म पारित नहुँदा सरकारलाई दबाब सिर्जना गर्न शैक्षिक हड्ताल गर्नुपरेको बहुमत निकट अखिल क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले बताएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा ४८ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनले देशको शिक्षा प्रणाली चलिरहेको भन्दै यसले शिक्षाको व्यापारीकरणलाई बढावा दिएको र आम नागरिकलाई निःशुल्क, समान र वैज्ञानिक शिक्षाको पहुँचबाट वञ्चित गरेको उल्लेख गरेको छ । जसमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको मौलिक हक कार्यान्वयन गरी जनपक्षीय शिक्षा ऐन जारी गर्न माग गर्दै साउन २ गते देशभरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, विश्वविद्यालय, प्रतिष्ठान, सिटिइभिटी, ट्युसन सेन्टर तथा कन्सल्टेन्सीहरू बन्द गर्न आह्वान गरेको हो ।’ अखिल नेपाल शिक्षक संगठनले पनि सरकारले नयाँ शिक्षा ऐन जारी गर्ने क्रममा आफूहरूसँग भएको सहमतिलाई लत्याएको र शिक्षा क्षेत्रलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा समर्थन जनाएको छ । शिक्षक र विद्यार्थी संगठनले सामाजिक सञ्जालबाट छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै हड्तालको घोषणा गरेपछि विद्यालयहरू बन्द गरिएको शिक्षकहरूले बताएका छन् । निजी विद्यालयले समेत अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द गरेको जनाएको छ । अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुल लगायतका अधिकांश निजी विद्यालय र सबै सामुदायिक विद्यालयले आज विदा दिएका छन् । कतिपय विद्यालयले शैक्षिक हड्तालको जानकारी पाएर बन्द गरेका छन् भने कतिपय विद्यालयले जानकारी बिना नै विद्यालय बन्द गरेका छन् । ‘आज बन्द छ भन्ने कुरा सुनियो कसले गरेको हो किन गरेको हो भन्ने थाह भएन अन्य स्कुल पनि बन्द हुँदा हामीले पनि गर्यौं, ‘काठमाडौंको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले भने । सामान्य हड्ताल प्रदर्शन भनिएका कार्यक्रममा नै कहिलेकाहीँ अकाल्पनिक घटना हुने गरेको भन्दै सुनेकै भरमा विद्यालय बन्द गर्नुपरेको उनेले बताए । शिक्षकहरूसँग लिखितरूपमै असार १५ गतेको सिमा निर्धारण गरेको सरकारले आफ्नो बाता पुरा गर्न सकेन । आफूहरूलाई धोका दिएको भन्दै नेपाल शिक्षक महासंघले भने फेरि सक्रियता बढाएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्न आज पत्रकार सम्मेलनको आयोजना गर्दैछ । विभिन्न मागका नाममा गरिने यस्ता हड्तालले विद्यालयको पढाइ प्रभावित हुने भन्दै अभिभावकहरूले भने आपत्ती जनाएका छन् ।