काठमाडौं । एनआईसी एशिया बैंकले सुर्खेतको एक विद्यालयमा खानेपानी सुविधा विस्तार गरेको छ ।
बैंकले वीरेन्द्रनगर–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको हो । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै शैक्षिक तथा स्वास्थ्यअनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।
१६७ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले जेठ ८ गते आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई पानी ट्यांकी तथा मोटर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगबाट विद्यालयमा स्वच्छ खानेपानीको पहुँच सहज हुने र विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य र पठनपाठन वातावरणमा सुधार आउने विश्वास लिएको छ ।