वियर पिउनेहरु वाइनमा डाइभर्ट भए, धेरैले भन्छन् ‘भविष्यको राजा तैँ हो’- गणेश चापागाई

लोडसेडिङको अन्त्य, स्थीर सरकारको संकेत, लगानीमैत्री वातावरण निर्माणसँगै उत्पादन मुलक उद्योगलाई प्रोत्साहित गर्नुपर्ने माग सबैतिरबाट आएको छ । अर्थतन्त्रको सबैभन्दा ठूलो समस्याको रुपमा विकसित भएको बैदेशिक व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नुपर्नेमा सबैको मत मिलेको छ । आलोचना हुँदै गर्दा पनि नेपाली समाजमा मदिरा सेवनको अभ्यास मौलाएकै छ । मदिराको उत्पादन र व्यापार पनि फस्टाएकै छ । सरकारी राजश्वको लागि मदिरा उद्योग बलियो आधार पनि बनेको छ । तर, यस उद्योगप्रति सरकारको दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । यसै सन्दर्भमा उद्योगीहरु के सोचिरहेको छन्, के चाहिरहेको छन् ? वाइन उत्पादन गर्दै आएको रोयल काठमाडौं हिमालयन बेभरेज प्रा.लि.का प्रबन्ध निर्देशक गणेश चापागाईसँग गरिएको विकास वहस यस पटक । गणेश चापागाई, प्रबन्ध निर्देशक-रोयल काठमाडौं हिमालयन बेभरेज प्रा.लि. नेपाली वाइनको बजार कस्तो छ ? पछिल्लो समय नेपालमा स्वदेशी वाइनको बजार ह्वात्तै बढेको छ । विगतमा वाइन निश्चित होटल, रेस्टोराहरुमा मात्रै पाइन्थ्यो । अहिले कुनै पनि मदिरा पसलबाट स्वदेशी वाइन सहजै खरिद गर्न सकिन्छ । सर्वसाधारण तहमा वाइनप्रति आकर्षण बढेको छ । आकर्षण बढेसँगै बजार र वाइन उद्योगहरु समेत बढेको छ । मदिरालाई समाजको नकारात्मक पेय पदार्थको रुपमा लिइन्छ । तपाईले वाइन उद्योग चलाउनुको उदेश्य के हो ? वाइन मदिराजन्य पेय पदार्थ हो । वाइनप्रति सामाजिक दृष्टिकोण, सरकारी नीति सकारात्मक छैन । तर यस उद्योगले समाजलाई, राज्यलाई ठूलो योगदान गरेको छ । अल्कोहोलीक प्रोडक्ट भएपनि यो फलफूलमा आधारित उद्योग हो । किसान, कर्मचारी, उपभोक्ता, सरकार सबैलाई यस उद्योगले सहयोग नै गरेको छ । उद्योगमा करिव ४५ जना नियमित कर्मचारी छन्, त्यत्तिकै संख्यामा अन्य कामदारले काम पाएका छन् । यसको व्यापारबाट देशभरमा मदिरा बिक्रेतालाई लाभ पुगको छ । वाइनका उपभोक्ताले नेपालमै बनेको गुणस्तरीय वाइन उपभोग गर्न पाएका छन् । सरकारले राजश्व आम्दानी गरेको छ । किसानहरुलाई प्रोत्साहन गर्दै फलफूलबाट वाइन उत्पादन गर्न थालेको छौं । स्वदेशी फलफूललाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो । तपाईले कुन कुन फलफूल प्रयोग गरि वाईन उत्पादन गर्नुहुन्छ ? सबै फलबाट वाइन बन्छ । तर बढी मात्रामा अंगुरको वाइन खापत हुने गरेको छ । विश्वमा जति वाइन बिक्री हुन्छ, त्यसको ८५ प्रतिशत हिस्सा अंगुरकै छ । त्यसैले हामीले पनि अंगुरको वाइन उत्पादनलाई प्राथमिकतामा राखेका छौं । वाइनको परिभाषा मै वाइन अंगुरबाट बनेको मदिराजन्य पेय पदार्थ भनिएको हुन्छ । नेपालमा अंगुर व्यवसायिक रुपमा फलाइएको छैन । यसप्रति मैले अध्ययन गरिरहेको छु । अंगुर उत्पादन गर्ने मेरो लक्ष्य छ । वाइन स्याउ, भुइँ स्याउबाट पनि बन्ने गरेको छ । हामीले भुइँ स्याउबाट पनि ३ वर्षदेखि वाइन बनाइ रहेका छौं । यद्यपि बिक्री भने गरेका छैनाैँ । म्याचोर गरेर राखेका छौं । यसलाई निर्यात गर्ने लक्ष्य छ । वाइन उत्पादन गर्न आवश्यक अंगुर कहाँबाट ल्याउनु हुन्छ ? स्वदेशमा पर्याप्त अंगुर उत्पादन नहुने भएकाले भारतको नासिक एरियाको अंगुरहरु आयात गर्ने गरेका छौं । त्यहाँबाट एक सिजनमा २०औं टनका २५ औं गाडी अंगुर ल्याउनु परेको छ । जनवरीतिर दुई/अढाइ महिनामा त्यतिका परिमाणमा अंगुर नेपालमा भित्रिन्छ । यस वर्षपनि हामीले ल्याएर पनि क्रसिङ गरिसक्यौं । यसलाई प्रशोधन र भण्डारणमा करिव २ वर्ष राखिन्छ । त्यसपछि मात्रै वाइन बिक्रीको लागि बजार लैजान्छौं । नेपालमा अंगुर उत्पादन हुन सक्दैन ? भारतदेखि आयात गर्ने अंगुर नेपालमै फलाउन पाए बाहिरने रकम नेपालमै रहन्थ्यो । त्यसैले नेपालमा अंगुर उत्पादन गर्ने सम्बन्धमा मैले अध्ययन गरिरहेको छु । सम्बन्धित विज्ञहरुसँग छलफल भइरहेको छ । उनीहरुले अंगुर उत्पादनको लागि भारतको नासीक र अष्ट्रेलियाभन्दा नेपालमा राम्रो माटो र हावापानी राम्रो भएको बताएका छन् । माटो परिक्षण गरेर हामीले जग्गाको लागि काभ्रेलाई छनौट गरेका छौं । जहाँ गर्मी हुन्छ । पारिलो घाम लाग्छ त्यस्तो जग्गा छ । ५०/१०० रोपनीमा खेती गर्नु हाम्रो लागि चुनौतीपूर्ण छ । ५० रोपनीमा लटरम्म फले काट्ने, चोर्ने सम्भावना हुन्छ । अधिकतम् किसानलाई उत्पादनको लागि प्रोत्साहन गर्नुछ । सबैले अंगुर खेती गर्न किसानहरु उत्साहित गर्न सके र सबैले लगाए सहज रुपमा अंगुर पाउन सकिन्छ । भारतको नासीकमा झै नेपालमा पनि अंगुरै अंगुुरको खेती गर्नु आवश्यक छ । नासिकमा ४/५ सय किलोमिटरमा अंगुर खेती गरेका छन् । अंगुर विभिन्न भेराइटीको हुन्छ । त्यसअनुसार अंगुरको स्वाद पनि फरक-फरक हुन्छ । भारतमा भारु २० देखि १५० प्रतिकिलोसम्म अंगुर पाइन्छ । नेपाली वाइन उद्योगहरुको अवस्था कस्तो छ ? अहिले २/३ करोड रुपैयाँ लगानी वाइन उद्योगहरु सञ्चालनमा छन् । तर सानो लगानीले यो हुँदैन रहेछ । हरेक कुराहरुको विकास गर्दै जाँदा मेसिनरी सामान, भवन लगायत जुटाउन १०० करोडको प्रोजेक्ट आवश्यक छ । नेपालको बजार सानो छ र व्यवस्थित छैन । प्रतिस्पर्धी प्रशस्तै छन् । वाइन उद्योगहरुको संख्या १ बाट २, २ बाट ४, ४ बाट ८ हुँदै गुणात्मक रुपमा वृद्धि भईरहेको छ । अहिले वाइनको उद्योग ५० ओटा भइसकेको छ तर बजारमा प्रतिस्पर्धा गर्ने उद्योगहरु थोरै मात्र छन् । तर बजारमा वाइन उद्योग खुलेअनुसार वाइन खपत बढेको छैन । त्यसैले, प्रतिस्पर्धा बढ्दा उत्पादनको मूल्य घटिरहेको छ । कम्पनीहरुले विभिन्न अफरहरु ल्याइएका छन् । केहि वर्षअघि चाउचाउको अवस्था जस्तो थियो अहिल वाइन उद्योगको अवस्था त्यस्तै छ, सबै संघर्ष गरिरहेका छन् । जो संघर्षमा टिक्न सक्छ, ८/१० वर्षपछि भविष्य उसैको राम्रो हुन्छ । वाइन उपभोक्ताको ट्रेन कस्तो छ ? ४ वर्षअघिसम्म नेपालमा वाइन धेरै चिनिएको पनि थिएन । लेडिजहरुले पिउने मदिराको रुपमा चिनिन्थ्यो । विगतमा मदिरा पसलहरुमा वाइन देखिँदैन थियो भने अहिले हरेक पसलमा वाइन अनिवार्य हुन्छ । ब्राण्डको बारेमा पनि थाहा भइसकेको छ । बजार बढ्दो क्रममा छ । हरेक पसलले वाइनलाई कभरेज गरेको छ । सबैले वाइन चिन्न थालिसकेका छन् । मदिराको बजारमा वाइनको हिस्सा कति छ ? १५ प्रतिशतभन्दा कमै होला । सबैभन्दा बढी खपत हुने भनेको वियर हो । वियर पिउनेहरु अहिले वाइनमा डाइभर्ट भइरहेका छन् । ह्वीस्की, रम, जीनको आफ्नै बजार छ । मदिरा पिउने वर्ल्डवाइज कल्चर बनेको छ । सफ्ट ड्रिङ्कस्लाई हार्ड ड्रिङ्कस्भन्दा राम्रो मानिन्छ । फलफूलको रस हो । त्यसमा निश्चित मात्रामा अल्कोहल मिसाएको मात्रै हो । यो पिउनुलाई नराम्रो मानिन्दैन । रेड वाइन गर्भवती भएको महिलाले पिउदा राम्रो हुन्छ भन्ने छ । विशेषगरी नेपाली संस्कृति विभिन्न जाती-जनजाती भएकोले पिउने पिलाउने ट्रेन कै रुपमा विकास भइरहेको छ । नेपालमा व्यापारको तुलनामा उद्योगमा आकर्षक देखिन्छ । आयातीत वस्तुहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । तपाईहरुले यसलाई कसरी लिनु भएको छ ? नेपाली वाइनले बजार राम्रो लिएको छ । हाम्रो विग मास्टरले राम्रो बजार लिएको छ । अरु ब्राण्डहरु पनि बजारमा छ्यापछ्याप्ति अएको छ । यसले एक किसिमको फिल्ड तयार हुँदै गइरहेको छ । सकारात्मक ट्रेन छ । अहिलेको अवस्था संघर्षपूर्ण र जटिल अवस्था हो । गर्दै गए नहुने छैन भन्ने किसिमले हामी आशावादी छौं । म सुरक्षित छु भनेर भन्दिन । कतिले विग मास्टर स्टब्लिस्ट भयो, सुरक्षित छ भनेर भन्छन् । ‘फ्यूचरको किङ तैँ हो’ भन्छन् धेरैले । हामीले विश्वमा वाइनको बजार बुझ्न धेरैभन्दा धेरै मिहेनत गरेका छौं । राम्रो गुणस्तरीय अंगुर ल्याउने, फलफूल ल्याउने, राम्रो म्याचुरेसन दिनेमा होसियार छौं । कतिपयले फलफूल ल्याएर एकै महिनामा फम्र्युटेशन गरेर डेढ/दुई महिनामै वाइन बनाइन्छ । त्यसलाई क्रसिङ गर्ने, बोटलिङ गरेर योङ वाइनको रुपमा बजारमा ल्याइन्छ । त्यसको न फ्लेबर हुन्छ । न विभिन्न प्रकारको विशेषता नै हुन्छ । त्यस्तो वाइन सजिलै वाइन पारखीहरुले बुझ्छन् । व्यवसायीहरु त्यसरी बिक्री गर्न बाध्य पनि छन् । किनभने उनीहरुसँग स्टोर गर्ने तथा म्याच्योर गर्ने स्रोत साधन हुँदैन । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नको लागि हामीले क्वालीटी दिनुपर्छ । त्यसको लागि हरसम्भव प्रयत्न गरिरहेका छौं । अहिले हाम्रो उद्योगका सबै उत्पादन राम्रो बन्दै गइरहेको छ । अर्को राम्रो पक्ष के हो भने पहिले ७० प्रतिशत वाइन आयात गरिन्थ्यो । ३० प्रतिशतमात्र स्वदेशी प्रोडक्ट हुन्थ्यो । अहिले त्यसमा फेरवदल आएको छ । अहिले करिब ६० प्रतिशत वाइनको बजार स्वदेशी उत्पादनको छ भने बाँकी ४० प्रतिशत मात्रै विदेशी छन् । नेपाली प्रोडक्टले बजार वृद्धि गरिरहेको छ । बजारमा आफ्नो शेयर बढाइरहेका छन् । यसरी नै अघि बढे चाडै वाइन इन्डस्ट्रीज मुलुकमा स्थापित हुन्छ । गुणस्तरीय वाइन उत्पादन गर्न मुख्य गरी के कुरामा ध्यान दिनु पर्छ ? वाइन अंगुरबाट बन्नु पर्ने भन्ने मान्यता विश्वभरी छ । विश्व बजारले त्यस्ता वाइनलाई रुचाउँछन् । अंगुरमा पनि कस्तो भेराइटिज प्रयोग गरेको छ भन्ने हुन्छ । जति राम्रो क्वालीटीको अंगुर प्रयोग गर्यो वाइन त्यतिनै राम्रो हुन्छ । अर्को कति अबधिको म्याचुरेसन भन्ने हुन्छ । क्रसिङ गरेर मेच्युर गर्नुपर्ने हुन्छ । महिनादिन गर्ने हो कि वर्षदिन गर्ने हो । त्यस्तै स्टोरेजको भूमिका पनि महत्वपूर्ण रहन्छ । प्लास्टीकको ट्याङ्क, स्टीलनेश लगायतका ट्यांकहरूमा गरिन्छ । ट्यांकको क्वालीटी कस्तो छ ? सामान्य हो कि एड्भान्स प्रविधिको हो ? कुन ठाँउमा स्टोरेज गर्ने ? पहाड, तराई कहाँ स्टोर गरिएको छ भन्ने हुन्छ । सामान्यतय १८ डीग्री भन्दा कम तापक्रममा गरिएको स्टोरेजलाई उत्तम मानिन्छ । यसरी सबै कुरामा ध्यान पुर्याउन सके वाइन गुणस्तरीय हुन्छ । बोटललाई स्याहार गर्यो, ध्यान पुर्यायो भने वाइनको क्वालीटी पनि राम्रो हुन्छ । पहिले वाइनको बोटल कर्ब सिस्टमको हुन्थ्यो । अहिले सहजताको लागि बिर्कोमा आइसकेको छ । बिर्को भए जहाँ जता पनि सजिलै खोल्न सकिन्छ । विश्वभर नै यो ट्रेन शुरु भइसकेको छ । तपाईको साथीहरुले भने झै विग मास्टर ब्रान्डलाई भविश्यमा वाइन क्षेत्रको किङ बनाउन सक्नुहुन्छ ? त्यसो त अरुले भने भन्दैमा उताउलो हुने अवस्था छैन । अहिले पनि केही वाइन बजारमा हाम्रोभन्दा बढी बिक्री भइरहेको छ । कसैले हाम्रो कम्पनीले कुनै एङ्गलले हेरे होला र हाम्रो ब्राण्ड भविश्यमा राम्रो प्रगति गर्ला भनेका होलान् । यसलाई हामीले स्वागत गरेका छौं । यसलाई उत्प्रेरणाको रुपमा लिनुपर्छ । तर हामी नै किङ भनेर मात्तिएका छैनौं । कमिकमजोरीहरुलाई सुधार्दै गए पक्कै पनि भोलिको दिनमा राम्रो प्रतिफल मिल्न सक्छ । एउटा वाइन पारखीले कुन वाइन योङ, कुन म्याचोर, कुनमा अक्सिजन पसेको छ वा बिग्रेको छ कसरी थाहा पाउने ? जसरी नेपालीहरुले दहिको भेराइटीज चाखेर थाहा पाउछन् त्यसरी नै वाइनलाई पनि टेस्ट गरिसके पछि राम्रो/नराम्रो थाहा पाउन सकिन्छ । वाइन पारखीहरुले वाइनलाई मुखमा लगाउन साथै थाहा पाउछन् राम्रो हो कि नराम्रो ! कस्तो छ । अक्सीटेशन भएको छ वा योङ हो, कस्तो फ्लेबर छ ? चिन्छन् । हामीले हरेक बोतलमा वाइन बनेको समय, कुन लटको र प्रयोग गरिने समयावधि राखेका हुन्छौं । तर योङ वा म्याच्योर हो भनेर लेख्ने गरिन्दैन । चाखेर मात्र थाहा पाउन सकिन्छ । नयाँ उपभोक्ता वाइन पिउन चाहन्छ भने उसले होटल, रेस्टोरा अथवा पसलमा गएर कसरी वाइनको छनौट गर्न सक्छ ? सामान्यतया बजारमा रेड र ह्वाईट दुई प्रकारका वाइनहरु उपलब्ध छन् । ती दुवै भेराइटीजमा स्वीट, सेमी स्वीट र ड्राई वाइन हुन्छन् । स्वीट वाइनमा सुगर राखिएको हुन्छ, ड्राईमा हुँदैन । बजारमा बढी मात्रामा स्वीट वाइनको माग छ । १० हजार काटुन स्वीट वाइन बिक्री हुँदा १/२ सय काटुन मात्रै ड्राई वाइन बिक्री भइरहेको हुन्छ । रेड वाइन कालो अंगुरबाट मात्रै बन्छ भने ह्वाइट वाइन अन्य अंगुर, स्याउ, फलफुलहरुबाट बन्छ । योङ वाइन र म्याचोर वाइन भनेको के हो ? समान्यतया एक सिजनमा वाइन बनायो अर्को वर्षभित्रमा बोटलीङ तथा बिक्री गर्ने गरिन्छ । त्यसलाई योङ वाइन भनिन्छ । जो संसारमा सबैभन्दा सस्तो वाइनमा पर्छ । तर करिब ४ वर्ष स्टोर गरेर बजारमा पठाएको वाइनलाई राम्रो मानिन्छ । स्टोरेज राम्रोसँग गरिएको छ भने मदिराजन्य वस्तुहरु जति पुरानो भयो, त्यति नै राम्रो हुन्छ । विग मास्टरको बजार कस्तो छ ? विग मास्टर उत्पादन थालेको ६ वर्ष भयो । यो वाइन मुलुकभर उपलब्ध छ । यसको बजार तीब्र रुपमा अघि बढेको छ । गएको वर्ष ६० हजार काटुन बिक्री गरेका थियौं । यो वर्ष २०/२५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेका छौं । अार्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३/७४मा ३९.८ प्रतिशत व्यापार वृद्धि भएको थियो । त्योभन्दा अघिल्लो वर्षमा पनि २५ प्रतिशतभन्दा बढी बजार बृद्धि भएको थियो । त्यस्तै, आगामी अार्थिक वर्ष २०७५/७६ मा व्यापार ५० प्रतिशतभन्दा बढी व्यापार विस्तार गर्ने लक्ष्य राखेका छौं । अहिलेसम्ममा यस उद्योगमा ३० करोडभन्दा बढी लगानी भएको छ । वाइन उद्योगप्रति सरकारी नीति कस्तो छ ? सरकारले आफ्नो बजेट निकासीको सहजताको लागि ४५ दिन अघि बजेट घोषणा गर्छ । यो अपरिपक्व निर्णय जस्तो लाग्छ । त्यसो गर्ने हो भने आर्थिक वर्षको अन्त्य नै जेठ पन्ध्रमा गर्दा के हुन्छ ? बजेट चाँही जेठ १५ मा घोषणा हुने, आर्थिक वर्ष चाहीँ असार मसान्तसम्म रहने । अनि ४५ दिन अघि नै अन्तशुल्क, भन्सार लगायतका करका दर वृद्धि गर्ने कार्यले उद्योगी व्यापारीलाई ठूलो असर परेको छ । तीन वर्षअघिदेखि आएको यो समस्याले मदिरा व्यवसायमा अरबौंको क्षति भएको छ । बजेट आएको ४५ दिनसम्म पुरानो रेटमा मदिरा बिक्री गर्नुपर्ने बाध्यता छ । जेठ १२ देखिपछि बजारमा आएको प्रोडक्टको अन्तशुल्क बेग्लै हुन्छ । बजारमा भने असार मसान्तलाई नै आर्थिक वर्षको अन्त्यको रुपमा लिइन्छ । जसबाट मदिरा उद्योगले ठूलो नोक्सान बेहोर्दै आएका छन् । गएको दुई वर्षदेखि त्यो समस्या उद्योगहरुले भोग्नु परेको छ । बेला-बेला सरकारका उच्च पदाधिकारीहरुले मदिरा उद्योग बन्द गर्नु पर्ने कुरा बाहिर ल्याउँछन् । मदिरा व्यवसायी अपमानित ढंगले हेरिन्छ । त्यसैले पनि यस्तो समस्या ठूला उद्योगीहरुले बाहिर नल्याएको हुनसक्छ । ठिकै छ, सरकारले बन्द नै गर्ने घोषणा गरे अरु जुस लगायतका उद्योग खोलौँला, विकल्प धेरै छन् । कृषि उत्पादन गरौंला । निर्यात बढाउँला अथवा व्यापार गरौंला । मलाई फार्मिङमा रुची बढेको छ । अहिले ५०/५२ रोपनी जमिनमा भुइ स्याउ रोपेको छु । यसलाई बढाएर सय, दुई सय रोपनी जमिनमा लगाउने इच्छा छ । किसानहरुसँग समूह बनाएर काम गर्ने इच्छा छ । सम्बन्धित नगरपालिकासँग छलफल भइरहेको छ । अब किसानसँग मिलेर हजारौं टनमा उत्पादन गरेर त्यसबाट वाइन बनाउन परे वाइन बनाउने नभए स्लाईस लगायत तयारी खानेकुरा उत्पादन गर्ने योजना छ ।

ठूलो अवरोध र आलोचनाबीच बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउन सफल भयौं- गभर्नर डा चिरञ्जीवि नेपाल 

बैंकिङ क्षेत्र अरु क्षेत्रको तुलनामा बढी व्यवसायिक, पारदर्शी र विकसित छ । यस क्षेत्रमा ठूलो पुँजी लगानी भएको छ । प्रविधिको प्रयोगमा पनि बैंक/फाइनान्स अगाडि छन् । ट्यालेन्ट र ट्रेन जनशक्ति पनि यो क्षेत्रमा बढी छन् । नियामक निकाय पनि अधिकार सम्पन्न र सशक्त छ ।  यद्यपि समस्या र चुनौतिहरु धेरै छन् । केन्द्रीय बैंक समेत अपर्याप्त जनशक्ति, कमजोर पूर्वाधार र पुरानो प्रविधिमा चलिरहेको छ । नीतिगत अस्थीरता, लगानीको प्राथमिकता, भौगोलिक समावेशीता, वित्तीय पहुँचको विस्तार लगायतका विषयमा धेरै प्रश्नहरु छन् । बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवाको गुणस्तर, व्याजदरमा भएको अस्थीरता, संस्थागत सुशासन, प्रविधिको दुरुपयोग, सञ्चालन जोखिम लगायत धेरै विषयमा प्रश्नहरु उठिरहेका छन् ।यस पृष्ठभूमि तथा नेपाल राष्ट्र बैंकको ६३ औं वार्षिकउत्सवको सन्दर्भमा विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पौडेलले उठाएका सात प्रश्न र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालको जवाफ यस पटकको विकास वहसमा । नेपाल राष्ट्र बैंकले आफ्नाे नियामक क्षमता वृद्धि गर्न, राष्ट्र बैंक आफैमा भौतिक पूर्वाधारले सम्पन्न बन्न र आधुनिक प्रविधियुक्त बन्न के के प्रयास भइरहेका छन् ? मुलुकको अर्थतन्त्र एवम वित्तीय क्षेत्रको विस्तार लगायत अन्तर्राष्ट्रिय आर्थिक गतिविधिमा आएको परिर्वतनसँगै केन्द्रीय बैंकले पनि आफ्नो नियामकीय क्षमता अभिवृद्धि गर्दै जानुपर्छ । जहाँसम्म नेपाल राष्ट्र बैंकको सबाल छ, त्यसमा हामीले समयसापेक्ष रुपमा सुधार गर्दै लगेका छौ । नियामक क्षमता अभिवृद्धि गर्न कानूनी, संस्थागत एवम् व्यवस्थापकीय सुधार आवश्यक हुन्छ । तपाईंले हेरिसक्नु भएको होला, पछिल्लो समयमा वित्तीय क्षेत्रसँग सम्बन्धित धेरै महत्वपूर्ण कानूनहरुमा संशोधन भएका छन् । उदाहरणको लागि नेपाल राष्ट्र बैंक ऐनमा संशोधन भएको छ भने बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन पारित भई कार्यान्वयनमा आइसकेको छ । यी ऐनहरु लागू भएसँगै नेपाल राष्ट्र बैंकको नियामकीय क्षमता थप सबल बनेको छ । यसका साथै नियमन व्यवस्थालाई अझ प्रभावकारी, पारदर्शी एवम् अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तुल्याउन हामीले विद्यमान निर्देशिका एवम् समष्टिगत विवेकशील नियमनका व्यवस्थाहरु आवश्यकता अनुसार परिमार्जन गरी लागू गर्दै आएका छौ । उदाहरणका लागि हामीले बासेल ३ मा आधारित पूँजीकोष व्यवस्था, क्यापिटल कन्जरभेसन वफर, प्रतिचक्रीय वफर, तरलताका आधारमा शीघ्र सुधारात्मक कारबाही लगायतका व्यवस्थाहरु लागू गरेका छौ । त्यसैगरी, विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र नियमित गर्न आवश्यक निर्देशनहरु जारी गरेका छौ । अर्कोतर्फ, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धिका लागि हामीले संस्थागत एवम् व्यवस्थापकीय पक्षलाई समेत उत्तिकै महत्व दिंदै आएका छौं । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थापनका लागि हामीले छुुट्टै डेस्क खडा गरी अधिकांश संस्थाहरु कुशल रुपमा संचालन गर्ने अवस्थामा पुर्याएका छौ । त्यसैगरी, अध्ययन, तालिम, अन्तरक्रिया, सेमिनार आदिका माध्यमबाट नियमन तथा सुपरिवेक्षण कार्यमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कार्यलाइ हामीले उच्च प्राथमिकता दिंदै आएका छौ । जहाँसम्म नेपाल राष्ट्र बैंकको भौतिक पूर्वाधारको सवाल छ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा वालुवाटार तथा थापाथलीस्थित भवनका अवशेषहरु हटाउने कार्य सम्पन्न भई अब नयाँ भवन निर्माणको कार्य प्रारम्भ हुन लागेको छ । आधुनिक प्रविधितर्पm, अन्तर्राष्ट्रिय स्तरमा नभएपनि हाम्रै परिवेशमा भने हामी विस्तारै फड्को मार्दैछौ । हामीले सिङ्गल विण्डोमार्फत अनलाइन डाटा प्राप्त गरी मौद्रिक तथा वित्तीय उपकरणको प्रयोग एवम् तथ्याङ्क संकलन कार्यलाई छिटो, छरितो एवम् गुणस्तरीय बनाउन आवश्यक सफ्टवेयर निर्माण गर्दैछौ । त्यसैगरी, हाम्रा तथ्याङ्क/अभिलेखलाई सुरक्षित राख्न अत्याधुनिक डाटा रिकोभरी साइट निर्माणको कार्य सम्पन्न भएको छ भने रियल टायम ग्रस सेटलमेण्ट सिस्टमको कार्य हुँदैछ । समग्रमा, हामीले आधुनिक प्रविधिको प्रयोगमार्फत संस्थागत लगायत समग्र वित्तीय प्रणालीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौं । नेपाल राष्ट्र बैंकका कर्मचारीले ३० वर्षमा अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था किन हटाउन खोजिएको हो ? कर्मचारीका सेवा सुविधाका सम्बन्धमा समयसापेक्ष रुपमा नियमहरु बन्दै जान्छन् र त्यसमा आवश्यकतानुसार परिमार्जन पनि हुँदै जान्छन् । त्यसलाई हामीले स्वभाविक रुपमा लिनु पर्दछ । जहाँसम्म नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिको सवाल छ, एकै पटक ठूलो संख्यामा कर्मचारी अवकाश हुँदा दैनिक कार्यमा पर्न सक्ने प्रभाव, एकल अवकाश नीतिको अवधारणा एवम् कर्मचारीहरुको माग समेतलाई दृष्टिगत गरी बैंकको संचालक समितिले ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश हुने व्यवस्था हटाई ५८ वर्षे उमेर हदबाट मात्र अवकाश हुने नीतिगत व्यवस्था लागू गर्ने निर्णय गरेको थियो । तर यस सम्बन्धमा लोकसेवा आयोगको समेत परामर्श लिनुपर्ने संवैधानिक व्यवस्था रहेको र  लोक सेवा आयोगले हाललाई उक्त व्यवस्था यथावत कायम राख्ने सुझाव दिएको सन्दर्भमा हामीले यसलाई निरन्तरता दिएका छौ । मुलुक संघीय संरचनामा जाँदा राष्ट्र बैंकको संरचना र अधिकारमा के कस्तो परिमार्जन हुँदैछ ? प्रदेशको भौगोलिक अवस्थिति अनुरुप हाम्रो उपस्थिति,  कार्यक्षेत्रको दायरा एवम् भूमिकामा भने परिमार्जन हुन सक्छ । केन्द्रीय बैंक सरकारको बैंक एवम् आर्थिक सल्लाहकार समेत भएकोले हामीले विगतमा प्रदान गर्दै आएको आर्थिक सल्लाहकारको भूमिकालाई अब केन्द्रबाट प्रदेश लगायत स्थानीय तहमा समेत बढाउँदै जानुपर्ने देखिन्छ । नेपालको संविधान, २०७२ ले केन्द्रीय बैंकको अधिकारका सम्बन्धमा स्पष्ट उल्लेख गरेको छ । संविधानको अनुसूची ५ मा केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ्ग तथा मौद्रिक नीतिलाई संघको अधिकार अन्तर्गत राखिएको छ । संघीय व्यवस्था लागू भएका विश्वका अन्य मुलुकहरुमा पनि केन्द्रीय बैंकिङ्ग सम्बन्धी अधिकार केन्द्रीय सरकारकै मातहतमा रहेको पाइन्छ । तसर्थ, संघीय संरचनामा जाँदा नेपाल राष्ट्र बैंकको अधिकारमा परिवर्तन हुँदैन ।  त्यसैगरी, केन्द्रीय बैंकको संरचना पनि यस्तै रहने हो । तर प्रदेशको भौगोलिक अवस्थिति अनुरुप हाम्रो उपस्थिति,  कार्यक्षेत्रको दायरा एवम् भूमिकामा भने परिमार्जन हुन सक्छ । केन्द्रीय बैंक सरकारको बैंक एवम् आर्थिक सल्लाहकार समेत भएकोले हामीले विगतमा प्रदान गर्दै आएको आर्थिक सल्लाहकारको भूमिकालाई अब केन्द्रबाट प्रदेश लगायत स्थानीय तहमा समेत बढाउँदै जानुपर्ने देखिन्छ । यसका लागि हाम्रा उपत्यका बाहिरका कार्यालयहरुको थप क्षमता अभिवृद्धि गर्दै लैजाने सोच रहेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत फागुन महिनामा मुद्रास्फीति उच्च दरले वृद्धि भएको देखियो । यसका कारणहरु के हुन् ? विगतमा उच्च मुद्रास्फीतिको मारमा परेका नेपाली उपभोक्ताहरुले डेढ वर्षदेखि केही राहत महसुश गरेका छन् । पछिल्लो समयमा आपूर्तिजन्य पक्षमा आएको सुधारसँगै मौद्रिक नीतिका नवीनतम उपकरणहरुको प्रयोगमार्फत तरलता व्यवस्थापन गर्ने गरिएकोले मुद्रास्फीति नियन्त्रित अवस्थामै रहेको छ । गत फागुन महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ६ प्रतिशत पुग्नुमा खासगरी तरकारी जन्य वस्तुहरुको उच्च मूल्यवृद्धि एवम् अघिल्लो वर्षको न्यून मूल्य आधार प्रभाव प्रमुख कारण रहेका छन् । चालु आर्थिक वर्षमा ६ प्रतिशतको मुद्रास्फीति उच्च नै देखिएता पनि विगत वर्षहरुको तुलानामा भने यो दर सामान्य नै हो । तथापि, आर्थिक वर्ष २०७४/७५ को आठ महिनामा औसत मुद्रास्फीति दर ४ प्रतिशत रहेकोले चालु आर्थिक वर्षमा औसत मुद्रास्फीति दर ७ प्रतिशतको प्रक्षेपित सीमाभन्दा कमै रहने देखिन्छ । कर्जा र निक्षेपको ब्याजदरमा निकै उतार-चढाव देखियो । यसलाई कसरी सन्तुलित बनाउने राष्ट्र बैंकको सोच तथा योजना छ ? वास्तवमा वित्तीय स्रोतको उपलब्धताकै आधारमा ब्याजदर तल माथि हुने गर्दछ । अर्थतन्त्रमा पर्याप्त मात्रामा वित्तीय स्रोत उपलब्ध भएको र त्यसको माग पनि कमजोर रहेको अवस्थामा ब्याजदर कम हुनु र वित्तीय स्रोतको उपलब्धता एवम् त्यसको मागमा समेत चाप परेको अवस्थामा ब्याजदर बढ्नु स्वभाविक हो । तर यसमा महत्वपूर्ण कुरा वित्तीय साधनको उपलब्धतामा आएको घटबढ ब्याजदरमा सही रुपमा प्रतिविम्बित भएको छ कि छैन भन्ने हो । ब्याजदर उच्च हुँदा निक्षेपकर्तालाई फाइदा हुने भए पनि उत्पादन लागत बढ्न गई समग्र आर्थिक वृद्धिमा प्रतिकूल प्रभाव पर्ने भएकोले यसतर्फ बढी सजग रहनुपर्ने हुन्छ । तसर्थ, कर्जाको ब्याजदर लगानीको आन्तरिक प्रतिफल दरभन्दा कमै हुने गरी वित्तीय स्रोत व्यवस्थापन गर्नेतर्फत हामी प्रयासरत छौ । पछिल्लो समयमा मुलुकमा राजनैतिक स्थायित्व कायम हुन गई एकातिर कर्जा लगानीको माग बढ्दै गएको र अर्कोतर्फ विप्रेषण आप्रवाहमा संकुचन आउनुका साथै आयात समेत उच्च दरले बढेकोले बैंकहरुको लगानी योग्य साधनमा चाप पर्न गई ब्याजदर बढेको अवस्था छ । अपारदर्शी तवरले निर्धारण हुने उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अबरुद्ध नहोस् भन्ने उद्देश्यले हामीले ब्याजदर स्प्रेड, आधार ब्याजदर लगायत ब्याजदरसँग सम्बन्धित थुप्रै नीतिगत व्यवस्थाहरु लागू गरेका छौ । उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह नरोकियोस् भन्नाका लागि हामीले पुनरकर्जा कोषलाई बढाउँदै लगेका छौ । नेपाल सरकारको समेत सहभागितामा करिब २० अर्बको पुनरकर्जा कोष स्थापना गरेका छौ । आगामी दिनमा उक्त रकम बढाउँदै लैजाने हाम्रो सोच रहेको छ । त्यसैगरी, पछिल्लो समयमा बैकिङ्ग क्षेत्रमा लगानीयोग्य साधनको अभावका कारण ब्याजदर थप बढ्न नदिन तथा कर्जाको उपलब्धता सुनिश्चित गर्न वाणिज्य बैंकहरुले विदेशबाट ऋण लिएर तोकिएको क्षेत्रमा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेका छौ । यसबाट आगामी दिनमा कर्जाको आपूर्ति सहज हुनगई ब्याजदर घट्ने अनुमान छ । यसका अतिरिक्त चालु आर्थिक वर्षदेखि हामीले ब्याजदर करिडोर पद्दतिलाई पूर्णता दिएका छौ । परिणामस्वरुप, अहिले अल्पकालीन ब्याजदरहरु करिडोरको सीमाभित्रै रहेका छन् । अल्पकालीन ब्याजदरहरु स्थायित्वतर्पm उन्मुख हुँदै गएको र यो प्रक्रिया क्रमिक रुपमा कर्जा तथा निक्षेपको ब्याजदरमा समेत प्रसारण हुँदै जाने विश्वास लिएका छौ । तर यसको अन्तराल प्रभाव (ल्याग इफेक्ट) पर्ने भएकोले केही समय हामीले कुर्नै पर्छ । ब्याजदर निर्धारण पद्दतिलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने, सरकारले ब्याज अनुदानमा अघि सारेका कार्यक्रमहरुमा कर्जा प्रवाह विस्तार गर्न प्रोत्साहित गर्ने लगायतका कार्यहरुलाई हामी उच्च प्राथमिकता दिनेछौ । समग्रमा, उपयुक्त मौद्रिक व्यवस्थापनका माध्यमबाट कर्जा तथा निक्षेपको ब्याजदरमा आउने उतार चढाबलाई नियन्त्रण गर्न, उच्च ब्याजदरका कारण कर्जा प्रवाह अबरुद्ध नहुने वातावरण सृजना गर्न तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि आवश्यक मौद्रिक तरलता उपलब्ध गराउन नेपाल राष्ट्र बैंक सदैब प्रयासरत रहेको छ । यसका लागि आगामी दिनमा नेपाल सरकारसँग समेत सहकार्य गरी पुनरकर्जा कोषमा थप रकम सुनिश्चित गर्ने, पूँजीगत खर्च बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने, ब्याजदर करिडोरमार्फत तरलता व्यवस्थापनको कार्यलाई अझ प्रभावकारी बनाउने, निर्देशित कर्जा कार्यक्रमलाई थप सक्रिय तुल्याउने, ब्याजदर निर्धारण पद्दतिलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने, सरकारले ब्याज अनुदानमा अघि सारेका कार्यक्रमहरुमा कर्जा प्रवाह विस्तार गर्न प्रोत्साहित गर्ने लगायतका कार्यहरुलाई हामी उच्च प्राथमिकता दिनेछौ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी बढाउनेतर्फ फेरी गृहकार्य भएको हो ? बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउने निर्णयलाई मैले नेपालको वित्तीय क्षेत्र सुधारको इतिहासमा निकै ठूलो उपलब्धि मानेको छु । तपाईंले थाहा पाउनु भएकै होला यो व्यवस्था लागू गर्दादेखि हालसम्म पनि हामीले निकै अवरोध र आलोचनाहरु खेप्नु प¥यो । तथापि, हामी यसमा सफल भएका छौ । अर्थतन्त्रको आकार एवम् संरचनामा आएको परिवर्तन, लगानीको आवश्यकता, प्रतिस्पर्धात्मक एवम् प्रतिरोधात्मक क्षमता, वित्तीय स्थायित्व, अन्तर्राष्ट्रिय वित्तीय आवद्धता लगायतका विषयहरुलाई विश्लेषण गरी हामीले दुई वर्षअघि बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि गर्ने नीति लागू गरेका थियौं । उक्त व्यवस्था अनुरुप विभिन्न उपायहरु अवलम्बन गरी अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले तोकिए बमोजिमको चुक्ता पूँजी कायम गर्न सफल भएका छन् भने केही पुर्याउने क्रममा रहेका छन् । पूँजी बढाउने सम्बन्धमा फेरि गृहकार्य शुरु भएको हो भन्ने तपाईंको जुन सबाल छ, हामीले अहिले नै त्यसतर्फ सोचेका छैनौ । बैंक तथा वित्तीय संस्थाहरुको मर्जर बारे राष्ट्र बैंकको नीति के हुन्छ ? बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत, वित्तीय एवम् व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्दै समग्र वित्तीय क्षेत्र स्थायित्व कायम गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्वीजिशन कार्यलाई प्रोत्साह गर्दै आएको छ । यस कार्यलाई थप व्यवस्थित बनाउन मर्जर सम्बन्धी विनियमावली, २०६८, प्राप्ति सम्बन्धी विनियमावली, २०७० तर्जुमा गरी लागू गरिएको थियो । पछि दुबै विनियमावलीलाई एकीकृत गरी मर्जर तथा एक्वीजिशन विनियमावली, २०७३ लागू गरिएको छ । यस बैंकले मर्जर तथा एक्वीजिशन प्रक्रिया शुरु गराएपश्चात् २०७४ चैतसम्ममा कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । मर्जर तथा एक्वीजिशन प्रक्रिया शुरु गराएपश्चात् २०७४ चैतसम्ममा कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत आधार बलियो बनाउन, व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न तथा संस्थागत सुशासनमा सुधार ल्याई समग्र वित्तीय स्थायित्व हासिल गर्न सहयोग पुग्ने गरी मर्जर/एक्वीजिशनलाई प्रबद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको विगतको नीतिगत अडानलाई आगामी दिनमा पनि कायमै राखिने छ । तर मर्जर/एक्वीजिशनका कारण वित्तीय क्षेत्रमा एकाधिकारी प्रवृति सृजना हुन नदिने, वित्तीय सेवाको पहुँच तथा गुणस्तरमा कमी हुन नदिने, कर्मचारी व्यवस्थापनमा आउने समस्या लगायतका विषयमा भने हामी सचेत रहनुपर्ने देखिन्छ ।

पाँच लाखको संगम पाँच करोडमा पुग्यो, पछाडी फर्केर हेर्नु परेको छैन : संगम शर्मा

संगम स्वीटसका सञ्चालक संगम शर्माले शाकाहारी होटल खोल्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए । सोही हाँसोलाई इखको रुपमा बदलेर उनले झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याए । संगम स्वीट चल्छ भनेर सुरुमा कसैले पनि पत्याएका थिएनन् । तर, विस्तारै लोकप्रियता बढ्दै गएर चेन रेष्टुराँको रुपमा संगम विस्तार भएको छ । दुई दशकअघि पहिलो दमकमा ५ लाख लगानीमा स्थापना भएको संगमको अहिले राजधानीको नयाँवानेश्वर, कमलादी मुख्य-मुख्य स्थानमा मात्रै अहिले तीन वटा आउटलेट सञ्चालनमा छन् । राजधानीबाहिर दमक, विर्तामोड, उर्लाबारीमा तीन आउटलेट विगतदेखिनै सञ्चालनमा आइसकेका थिए । केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसमा अर्को आउटलेट सञ्चालनमा ल्याउने भएको छ । प्रस्तुत छ अवसर र भावी योजनाको सम्बन्धमा सञ्चालक शर्मासंग विकासन्युजले गरेको विकास बहस: संगम शर्मा, संस्थापक, निर्देशक-संगम स्वीट्स   संगम स्वीट सञ्चालनमा ल्याउनु अघि तपाइ के गर्नुहुन्थ्योे ? मैले सानोतिनो व्यवसाय गर्दै आएको थिए । व्यवसायमा संघर्ष गरिरहेको थिए । एउटा नहुँदा अर्को साना–साना व्यापार गरिरहन्थेँ । बीचमा केही समय निर्माण कम्पनीमा काम गरे । जागिर गर्दागर्दै पार्टटाइम व्यापार शुरु गरेको थिए । पछि पेटी कन्ट्याक्ट भएर काम गरे । संगम स्वीटको सुरुवात कसरी भयोे ? यसमा एकदम रोचक कहानी छ । म पहिले कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यहाँ काम गर्दा भारतबाट कोइला ल्याएर बेच्ने समुहहरुसँग मेरो चिनजान भयो । त्यसपछि भारतबाट कोइला ल्याएर बेच्न शुरु गरेँ । मैले नेपालमा जहाँ–जहाँ कोइला बेच्थेँ त्यहाँ म नै साहु नै देखिन्थेँ । बास्तवमा म साहु थिइन । भारतबाट कोहीसँग उद्यारोमा कोइला ल्याएर यता बेच्थें । नेपालमा साहु म बने तर मेरो आफ्नै धेरै लगानी, पूँजी भएर गरेको भने थिइन । विश्वासको संस्कार सायद आमाले सानैदेखि दिनुभएर होला अहिले मेरो लागि त्यो अर्बौ रुपैयाँको भन्दा बढी मूल्यको भएको छ । भारतमा ठुला–ठुला पार्टीहरुले नेपालमा वस्तुहरुको बिक्री गर्ने गर्थे । त्यो सिलसिलामा भारतको ब्रिजकिशोर गुप्ताले मारुती कार किनेका रहेछन् । व्यवसायको सिलसिलामा धरान आउदै गर्दा बाटोमा कसैलाई गाडीले हानी दियो । विरामीलाई धरानको घोपा अस्पतालमा राखिएको थियो । त्यहाँ घोपामा उनीहरुलाई भारतीय भाषाको ज्ञान भएको मान्छेको खोजी थियो । त्यसो त बोर्डरमा पनि केशब पाण्डे, विमल आचार्यहरु थिए, क्लियरीङ एजेन्टको रुपमा काम गर्ने । उनीहरुले मलाई पनि लिएर धरान गए । मसँग पनि खास त्यस्तो केही थिएन । तर भाषा जान्ने भएको कारण सहज हुन्छ भन्ने लाग्यो होला उनीहरुले मलाई लिएर गए । घोपाबाट बिरामी हेरेर फर्कदा ठ्याक्कै दमकमा पुगेपछि बाटो बन्द भएको भन्ने खबर आयो । त्यसपछि हामी दमक गेस्ट हाउसमा बस्यौं । म शाकाहारी मान्छे त्यहाँ भेजिटेरियन होटल खोज्यौं भेटिएन । मैले त्यसअघि ननभेज होटलमा भेज खाना खाएको थिइन । विश्वासको आधारमा दमकको स्टाप होटलमा फ्रेस भेज खाना खाएँ । फेरी अर्को चरण बिरामी हेर्न धरानको घोपामा जानुप¥र्यो । उनको गाडी बेलबारी ठानामा थियो । उनलाई गाडी निकाल्ने चक्कर भयो । म फेरी उनैसँग गएँ । जाँदाखेरी दिउसो दमक पुगेका थियौं । बन्द भयो र जानै नसकिने भइयो । नखुल्ने संकेत आएपछि दमकमै बस्यौं फेरी ननभेज होटल खोज्यौं । दमकमा भेजिटेरीयन होटल भेटिएन । मेरो बानी मनको कुरा खोलिहाल्ने । मैले हिन्दीमै भने, ‘यस ठाँउमा सहकारी होटल खोल्छु । त्यो कुरा सुनेर उनीहरु हाँसे । शाकाहारी होटल भेटिएन भन्दैमा खोल्ने भन्ने कुराले हाँसे होला भन्ने लाग्यो । त्यो हाँसो मेरो लागि इगो बन्यो । सायद उनीहरु नहाँसेको भए भन्थे फेरी भोलिपल्ट बिर्सिन्थेँ होला, होटल खोलिन्दैन थिए होला । कोइलाको काम सिजन, अफसिजनमा हुन्थ्यो । वर्षा याममा चल्दैन । हिउँदमा सिजन हुन्छ । त्यसैले पनि अर्को बिजनेशको खाँचो थियो मलाइ । त्यतिखेर म सानै थिए । अनुभवी भने थिइन । बाबु बाजेले पनि यस्तो काम गरेको थिएन । भारतको सिलगुडीको चोकैमा भेजिटेरियन महाविर भोजनालय थियो । जहाँ–जहाँ भेजिटेरियन छ । म त्यहीँको ग्राहक थिएँ । उक्त भोजनालयको ग्राहक बन्ने क्रममै त्यहीको स्टापहरुसँग लिङ्क गरेर त्यहीँको कुकहरुलाई सेट गरेर एकै पटक मैले भव्य रुपमा दमकमा संगम स्वीट्स खोले र नाम पनि संगम स्वीट नै नाम राखेँ । मैले पहिलेदेखि काम गरेकोले बोडरसम्मकै लिङ्क थियो । पैसा कमाइ जे–जस्तो भएपनि पहिलाको ब्यापारी भनेर ठुलो पहिचान थियोे । कतिपय मैले कोइला सप्लाइ गरेकाहरु अहिले ठुलो बिजनेशमेन भएका छन् । उनीहरुले मलाई बोसकै रुपमा मान्थे । मैले बोलाएपछि आउने भए । त्यसरी त्यो डेजिनेसनले काम गर्यो । मलाई याद छ, दमकको राजकुमार अधिकारी, शुरुमा होटलको लागि उनको घर अगाडी ठाँउ खोजियो । मेनलाइन मेरो प्राथमिकतामा परेन । किनभने मान्छेले शान्त वातावरणमा शाकाहारी भोजन गर्न भन्ने मेरो सोच थियो । त्यसैले अलि भित्र खोलेको थिए । मेरो चिनजानका छक्क परे । कसरी स्वीट्स चल्छ ? केन्द्रदेखि पनि भित्र भएपछि । चिया–समोसा खान कसरी ग्राहक जालान ? मेरो मामा पर्नु हुने भट्टराई हुनुहुन्थ्यो । उहाँले अब भान्जा डुब्छ भन्ने सोचेका थिए । उद्घाटनकै बेलुकी साझमा एउटा नागसर्प पसलको अगाडी हुदै गयो । म उभिरहेको थिए । त्यतिखेर एकजना मेरो साथीले भन्यो ‘यो सर्प पश्चिदेखि पूर्वतिर गयो । यो तेरो लागि शुभ संकेत हो भन्यो ।’ त्यसले मलाई हौसला बढायो । त्यो संकेत शुभ होस् या अशुभ । त्यसले मेरो व्यापारमा ठुलो महत्व राख्यो । त्यो दिनदेखि मेरो आफ्नो औकात, हैसियत, क्षमतालाई अगाडी बढाउने क्रममा पछाडी फर्केर हेर्नुपरेको छैन । शुरुमा संगम स्वीटमा कति लगानी गर्नुभयो ? त्यतिखेर दमकमा काठको तक्ता ओछ्याएर शोकेस नभएपनि मिठाइ बिक्री गर्ने चलन थियो । मैले त्यो चलन तोडेको थिएँ । मेरोमा शोकेसभित्र मिठाइ हुन्थ्यो र त्यो नौलो थियो । फ्रीज, शोकेस, डिफ्रीजमा ५ लाख रुपैयाँ लगानी भएको थियो । होटलको सम्पुर्ण आवश्यकता पुरा गरेको थिए । त्यसपछि अर्को आउटलेट कहाँ खोल्नुभयो ? त्यसयता संगमा शाकाहारी भोजनालयको व्यवसाय वृद्धि हुदै गयो । कहीँ शाखा खोलिन । कोइलालाई ५/७ वर्षसम्म निरन्तरता दिएँ । मैले दोस्रो शाखा करिब ८ वर्षपछि काठमाडौंको कमलादीमा खोलेँ । त्यो बीचमा मैले टीभीएस मोटरसाइकलको डिलरशिपहरु पाएको थिए । बजाजले पनि अफर गर्यो । बजाजको डिलर २०६२ सालमा पाए । बीचमा केही नकेही गरिरहेको थिएँ । बजाजको डिलरशिप अहिले पनि छ । संगम स्वीटको दोस्रो शाखा कमलादीमा खोलेँ । तर म त्यसै बसिन । केही नकेही नयाँ ब्यापारहरु गर्दै गएँ । कमलादीपछि बानेश्वरमा अर्को शाखा खोलेँ । कमलादीमा शाखा बिस्तार गर्ने क्रममा पनि सो स्थानमा मान्छेको समुह हिड्दैन थिए । गाडीबाट मात्रै हिड्थे । जहाँ बसपार्क पनि छैन, मान्छेको भीडभाड पनि थिएन । कुनै मल तथा जमघट स्थान थिएन । कसरी चल्छ ? भन्ने प्रश्न आएको थियो । अहिले छेउमा अर्को दुई ओटा त्यस्ता होटल खुलिसकेका छन् । त्यसबेला मैले छनौट सहि स्थानमै गरेको रहेछु भन्ने लाग्छ । काठमाडौंमा जम्मा तीन ओटा शाखा छ । अर्को कालिमाटीमा छ । राजधानीबाहिर दमकमा, बिर्तामोडमा र उर्लाबारीमा छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ भवन बन्दैछ । त्यहाँ पनि खोल्ने तयारी भइरहेको छ । सायद अबको तीन महिनामा उक्त बिल्डीङ सकिएला । हामी संगमको आउटलेट खोल्न तयारी अवस्थामै छौं । त्यसपछि विस्तारै अघि बढ्छौं । यद्यपी मैले चाहेँ भन्दैमा हुदैन, २÷४ वर्ष खोल्दिन भनेको कुरा २/४ महिनामै पनि खोल्ने अवस्था आउन सक्दछ । समयले आफै जुराउने हो । म पहाडको मान्छे । मेरो यो नौलो कामले गर्दा मलाई सबैतिरबाट सहयोग । हौसला दुबै छ । तपाईले ५ लाखदेखि शुरु गर्नुभएको संगम स्वीटको भ्यालु अहिले कति पुग्यो ? मेरो सबै आउटलेटलाई पनि जोड्ने हो भने ५ करोड रुपैयाँ नाघ्छ । संगमबाट ३ सय जनाले रोजगारी पाएका छन् । हामीले सरकारलाई नियमित रुपमा कर तिरी राखेका छौं । हाम्रोतर्फबाट सरकारलाई राम्रै सहयोग पुगेको छ । मैले शाकाहारी खानामा लतै बसाइ दिएको छु । त्यस्तो कुरा मैले भन्दा पनि समाजले महशुस गर्ने हो । हाम्रोमा निम्नदेखि उच्च स्तरको ग्राहकले ननभेजिटेरीयन विभिन्न आइटम खानाको परिकार खान सक्छन् । हाम्रो उद्देश्य नै २०/२५ रुपैयाँको ग्राहकदेखि ५ हजार रुपैयाँ पनि खर्च गर्नेलाई समेत समेट्न सकौं भन्ने हो । अहिले पनि नीति त्यही नै हो । हामीले अहिले उपलब्ध गराउदै गरेको आइटम सिल्गौडी लगायत अन्यमा खाएभन्दा सस्तो छ । संगममा के–कस्ता शाकाहारी खाना उपलब्ध छन् ? साउथ इण्डियन, नर्थ इण्डियन, चाइनीज कन्टिनेन्टल, स्वीट्स, कोलड्रीङ्स कुनै पनि ग्राहक स्वीट्समा आएर आफुले चाहे अनुसारको ननभेजिटेरीयन परिकार खान सक्छन् । गुणस्तरमा हामी सम्झौता गर्दैनौ । हामी खानामा कुनै पनि वस्तु मिसावट गर्दैनौं । जसको ३ कारण छ । सकभर मिसावटयुक्त खरिद गर्दैनौं । किनभने एक मसँग मिसावट सम्बन्धि ज्ञान छैन । जब त्यसको ज्ञान छैन किन मिसावट गर्ने अर्को आवश्यक पनि छैन । दोस्रो संगम स्वीटले मेरो परिवारलाई न्युनतम आवश्यकताहरु पुर्याइदिएको छ । आज ६ ओटासम्म आउटलेट भइसकेको छ । अब किन मिसावट गर्नुपर्यो ? तेस्रो आमाको इमान्दारीताको संस्कार हो । अहिले आमाले दिएको संस्कारनै मेरो सबैभन्दा ठूलो सम्पत्ति भएको छ । सामान्य व्यक्तिले यतिको ठुला चेन रेष्टुराँ खोल्नु भयो अहिले जागिर खोज्दै हिडेकाहरुलाई तपाईको सुझाव केछ ? म यसमा चिन्तित छु । अब समाजलाई राम्रो प्रभाव पर्ने काम गर्ने मेरो सोच छ । हामीले प्रभाव पर्ने गरी ठोस काम गर्नुपर्छ । मुलुकमा करिब ३ करोड जनसंख्या छ । मलाई लाग्छ यहाँबाट रोजगारीमा १ जना पनि मुलुकबाहिर जान पर्दैन । यहाँ जागिर र व्यवसाय दुबै छ । भने पनि यहाँ दिनरात किसानी गरेर आफैसँग बसी आयआर्जन गर्नेभन्दा विदेश जानुलाई प्राथमिकता दिन्छन् । हामीले साइकलमा कार्टुन जम्मा गर्नेदेखि लिएर सबै कामको कदर गर्नुपर्छ । तर, त्यो गरेनौं । मिडियाले पनि तरकारी फलाएर, बेचेर उदाहरणिय बनेकाहरुलाई सम्मान गर्नुपर्छ । म सिन्धुली वीपी राजमार्ग हुदै पुर्वजाने र आउने गर्छु । त्यो बाटोमा अहिले पनि राम्रो चिया बनाउने १०० ओटा पसल चल्छ । मुलुकमा व्यवसायको अपार सम्भावना छ । मुलुक आफै धनी छ । विदेश् हेरी नेपालमा धेरै राम्रोे सम्भावना छ । पछिल्लो राजनैतिक परिवर्तनले आश जगाएको छ । मान्छेमा धैर्यता हुनुपर्छ । अहिले यहाँ इमान्दारीपुर्वक जागिर खाने मान्छेले २०/२५ हजार कमाउन समस्या पर्दैन । पर्याप्त जागिरको सम्भावना छ । मुलुकको माया गर्नेहरुलाई स्वदेशमै राख्नुपर्छ । निजी क्षेत्रले पनि त्यसको लागि भूमिका खेल्नुपर्छ । यहाँ सफल व्यवसायी बन्नु भएको छ, यहाँले व्यवसायलाई विविधिकरण र अघि बढाउन के कस्ता योजना बनाउनु भएको छ ? जुन क्षेत्रमा सम्भावना छ । त्यो क्षेत्रमा विजनेश बढाउदै लान्छु । जसरी मैले भेजिटेरीयन स्वीट खोले त्यसरी नै सके भने संगम नामबाटै होटल एण्ड लज खोल्ने इच्छा छ । सुद्ध साहाकारी मात्रै होटल एण्ड लज हुनेछ । यो काम मेरा लागि चुनौतिपुर्ण छ । यद्यपि चुनौतिसँग सामना गर्ने इच्छा छ । त्यसको लागि कडा गृहकार्य गरिरहेको छु । जहाँ–जहाँ संगम स्वीट छ । त्यहीँ स्थानहरुमा पहिले त्यस्ता होटलहरु खुल्नेछन् ।