नेपाली र भारतीय मुद्राको सटही दर परिवर्तन गर्ने बेला भएको छैनः नरबहादुर थापा

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यरत नरबहादुर थापाले मुलुकको विभिन्न आर्थिक पक्षको अध्ययन गरिरहेका छन् । उनको विभागको काम नै अध्ययन अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउनु हो । नेपाल र भारतबीच स्थिर विनिमय दर कायम भएको २५ वर्ष पुगेको छ । यस विषयमा विभिन्न कोणबाट छलफल भइरहेका छन् । केही अर्थशास्त्रीले यसको पुनरावलोकन गर्नुपर्छ भनिरहेका बेला थापा भने यसमा सहमत छैनन् । पुनरावलोकन गर्नुअघि मुुलुकको व्यापारलगायत समग्र आर्थिक पक्षको विश्लेषण आवश्यक भएको उनको तर्क छ । नेपाल र भारतबीच स्थिर विनियम दर पुनरावलोकन आवश्यक छ वा छैन भनेर विकासन्युजका लागि नारायण पौडेलले थापासंग गरेको विकास बहस: नरबहादुर थापा, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक फागुन १ गते नेपाल र भारतबीच मुद्रा सटही दर एक बराबर १.६० रुपैंयाँ कायम भएको २५ बर्ष पुरा भयो, यति लामो समयसम्म पुनरावलोकन किन भएन् ? २५ बर्ष पहिले नेपालले आर्थिक तथा वित्तीय क्षेत्रमा संरचनागत सुधारको कार्यक्रम ल्याईएको थियो । त्यही सुधारको प्याकेजमा नेपाल र भारतको मुद्रा सटही दर पनि परेको थियो । त्यसकै आधारमा सटही दर १ बराबर १.६५ रुपैंयाँबाट घटाएर १.६० रुपैंयाँ बनाइएको थियो । त्यसपछि नेपाली अर्थतन्त्रमा स्थायित्व प्रदान गर्न र भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट), मूल्य, ब्याजदर र विनियम दरमा स्थायित्व भयो । आर्थिक क्षेत्रमा स्थायित्व भएपछि दिगो र उच्च आर्थिक वृद्धिदर सम्भव हुन्छ भन्ने मान्यता स्थापित भयो । त्यसैले नेपाल राष्ट्र बैंक र अन्य ऐनहरुमा दिगो आर्थिक विकासको आधार भनेको आर्थिक स्थायित्व पनि हो भनेर लेखियो । त्यो भनेको मूल्यमा स्थिरता, ब्याजदरमा स्थिरता, विदेशी विनिमय दरमा स्थिरता र तरलतामा स्थिरता नै हो । यी कुराहरुमा स्थिरता हुँदा मात्रै निजी क्षेत्रको विकास सम्भव हुन्छ । त्यसरी अघि बढ्दा मात्रै निजी क्षेत्रले नेतृत्व गरेको अर्थतन्त्र निर्माण सम्भव हुन्छ । र, मुलुकले विकास बाटो भेट्टाउँछ भन्ने थियो । अर्थतन्त्रमा अनिश्चितताको वातावरण बन्यो भने निजी क्षेत्रको लगानी बढ्न सक्दैन, उत्पादन बढ्न सक्दैन र वैदेशिक व्यापार प्रवद्र्धन हुन सक्दैन् । त्यसकारण आर्थिक स्थायित्वमा मौद्रिक नीति र सरकारी वित्त नीतिले काम गर्नुपर्छ भन्ने मान्यताका आधारमा विगत २५ बर्षदेखि विनियम दर स्थिर राखिएको हो । अर्थतन्त्रमा खासै ठुलो संरचनागत सुधार नगरिएको र अर्थतन्त्रको विकास पनि द्रुतगतिमा गर्न नसकिएले २५ बर्षदेखि भारुसँगको सटही दर स्थिर रहेको हो । सटही दर पुनरावलोकनको समय भएको छैन ? पुनरावलोकन के का लागि किन गर्ने भन्ने प्रश्न प्रमुख हुन आउँछ । पुनरावलोकनको पहिलो आधार भनेको मुलुकमा संकट पर्यो, ब्यालेन्स अफ पेमेन्ट लगातार घाटामा जान थाल्यो । विदेशी विनिमय सञ्चिती घटबढ भयो भने बल्ल विनियम दर चलाउने हो । नेपालमा त्यस प्रकारको संकट आएको छैन् । त्यसैले विनिमय दरको हतियार चलाउनुपर्ने अवस्था आएको छैन् । दोश्रो कारण, मुलुकमा आर्थिक सुधार गरियो भने पनि त्यसमा तादम्यता मिलाउन विनिमय दर चलाउनु पर्छ । अर्थतन्त्रको चिरफार गर्दा विनिमय दरलाई एउटा अस्त्रका रुपमा उपयोग गर्ने हो । अर्थतन्त्रमा संरचनागत सुधार गर्नु नै छैन भने विनिमय दर किन चलाउनु पर्यो ? अहिले न अर्थतन्त्रमा संकट आएको छ न त विदेशी विनिमय सञ्चितीमै समस्या देखिएको छ । त्यसकारण अहिले विनिमय दर चलाउने बेला भएको छैन् । बिना तयारी र बिना आवश्यकता विनियम दर मात्रै चलायौं भने त्यसले राम्रोको साटो नराम्रो गर्छ । अर्थतन्त्रमा संस्थागत र संरचनागत सुधार गरेपछि मात्रै विनियम दरको अस्त्रलाई चलाउनुपर्छ । नत्र राष्ट्रलाई नोक्सानी हुन्छ, व्यक्तिलाई मात्रै लाभ हुन्छ । राष्ट्रलाई नोक्सानी हुन्छ, व्यक्तिलाई मात्रै लाभ हुन्छ भनेको के हो ? विनियम दर चलाउँदा मुलकुलाई फाइदा हुनुपर्छ । मुलुकलाई लाभ हुने भनेको उत्पादन बढेर, रोजगारीका अवसर सृजना भएर र विदेशी विनिमय सञ्चिती डलरमा बढेर हो । जस्तै अहिले भारुसँगको विनियम दरलाई १.६० बाट बढाएर १८० बनायौं भने जसले निर्यात गर्छ, उसलाई फाइदा हुन्छ । र, उसले १६० को साटो १८० रुपैंयाँ पाउँछ । यसबाट निर्यातकर्ताले फाइदा नै लिन्छन । हामीले देशलाई लाभ हुनुपर्छ भनेका छौं । एउटा समान निर्यात गर्नेले २ वटा निर्यात गर्नुपर्छ । २ वटा समान उत्पादन गर्दा रोजगारी पनि बढ्छ । तर उद्योगीले स्वदेशमै उत्पादन बढाउन सकेन् भने त्यहाँ मुलुकलाई नोक्सानी हुन्छ । उत्पादन र रोजगारी बढाउन नसक्दा मुलुकले लाभ लिन सक्दैन् । विदेशी मुद्रा आर्जन पनि बढ्दैन् । तर विदेशी विनियम दर बढाउँदा आयातित समानको मुल्य भने बढ्छ नै । भारतबाट ल्याउने इन्धनको मुल्य बढ्छ । ग्यास, डिजेलको मूल्य बढी तिर्नुपर्छ । त्यसले नेपालको उत्पादन लागत पनि बढाउँछ । त्यो मूल्य वृद्धिको मार भने आम नेपालीले भोग्नु पर्छ । तर लाभ भने निश्चित व्यापारीले मात्रै लिईरहेको हुन्छन । हामी कच्चा पदार्थमा पनि आत्मनिर्भर छैनौं । ६० प्रतिशत आयात भारतबाट हुने भएकाले हाम्रा उत्पादन मुलक क्षेत्रहरुको लागत पनि बढ्ने नै भयो । हाम्रो अर्थतन्त्र उच्च लागतको हुन आउँछ । हाम्रो प्रतिस्पर्धी क्षमता झन कमजोर हुन्छ । अथाह आयात हुने मुलुकले विनिमय दरबाट फाइदा लिन अर्थतन्त्रको संरचनागत सुधार गरिनुपर्छ । नत्र फाइदा भन्दा नोक्सानी धेरै हुन्छ । त्यसको सास्ती सिंगो अर्थतन्त्रले भोग्नु पर्छ । त्यसकारण विनियम दर परिवर्तन फलदायी हुँदैन् । तर अर्थतन्त्रमा ठुला संस्थागत पुनसंरचनाको काम भयो, ठुला पुर्वाधारका काम भए, ठुला एयरपोर्ट बने, बाटा घाटा बने, श्रम लचकता आयो भने विनिमय दर चलाउँदा लाभ नै लिन सकिन्छ । तर विडम्बना, हामी एयरपोर्ट बनाईरहेका छैनौं, सडक बनाईरहेका छैनौं, सिंचाईको सुबिधा नदिने, उन्नत बिउबिजन नबनाउने अनि विनिमिय दर मात्रै चलाएर उत्पादन बढाउन सकिन्छ ? सिंचाई पुर्वाधार, कृषि अनुदान, सडक पुर्वाधार, बजारीकरण नगरी विनिमय दर मात्रै चलाउँदा सर्वसाधारण जनतामा नकारात्मक प्रभाव पर्छ । त्यसकारण एकांकी ढंगले विनियम दर चलाउनु हुन्न । देशलाई लाभ होइन, अनिश्चितताको वातावरण बन्छ, नागरिकलाई आहत हुने अवस्था सृजना हुन्छ । एकथरी विज्ञहरुले सटही दर १६० लाई १५५ रुपैंयाँ बनाउनु पर्छ भनिरहेका छन्, त्यसो गर्दा चाँही के हुन्छ ? १६० लाई १५५ रुपैंयाँ बनाउँदा पनि अर्थतन्त्रमा अस्थिरता नै निम्तन्छ । लाभका हिसाबले भन्ने हो भने इन्धनको मूल्यमा एक पटकलाई राहत मिल्छ । तर त्यसले इन्धनको आयात भने फेरी पनि बढाउँछ । इन्धनको मात्रै होइन, अन्य भारतीय समानहरुको आयात पनि बढ्छ । निर्यातकर्ताहरुलाई घाटा लाग्ने भएकाले उत्पादन मुलक उद्योगहरु बन्द हुन सक्छन् । जसले गर्दा व्यापार घाटा झन बढ्न सक्छ । नेपाली रुपैंयाँलाई कृतिम रुपमा बलियो बनाएर पनि अर्थतन्त्रलाई कुनै लाभ हुन्न । अर्थतन्त्र बलियो बनाएर नेपाली रुपैंयाँलाई बलियो बनाउन सकियो भने मात्रै लाभ लिन सकिने हो । अहिले त हाम्रो अर्थतन्त्र १५५ रुपैंयाँ सटही दर बनाउने गरी बलियो भएकै छैन् । भैरहवाको बिशेष आर्थिक क्षेत्र(सेज) तयार भएको ३ बर्षसम्म पनि सञ्चालनमा आएको छैन् । उद्योगलाई नै बिजुली दिन नसकिरहेका बेलामा उत्पादन बढ्ने सम्भावना छैन् । उत्पादन नबढाउँदासम्म अर्थतन्त्र बलियो हुन्न । अनि अर्थतन्त्र बलियो नभएसम्म भारुसँगको सटही दर मात्रै चलाएर उपलब्धि हासिल हुन्न । हामीले पुर्वाधारमा व्यापक लगानी नगरी अर्थतन्त्र सुधार गर्न सकिन्न । उत्पादन वृद्धिको आधार तयार हुन्न । त्यसकारण राज्य र नीजी क्षेत्रको ध्यान अब अर्थतन्त्रलाई कसरी बलियो बनाउने, उद्योग व्यवसायलाई आवश्यक बिजुली लगायतका कुरा सहज रुपमा उपलब्ध गराउने भन्नेमै केन्द्रित हुनुपर्छ । भुटानले १ बराबर १ रुपैंयाँ कायम गराउन सक्छ तर नेपालले किन सक्दैन् ? भुटानले पर्याप्त मात्रामा भारतीय मुद्रा सञ्चित गरेको छ । भुटानले बिजुली निर्यात गरेर भारतीय मुद्रा आर्जन गर्ने दिगो र भरपर्दाे श्रोत जुटाएको छ । नेपालको वैदेशिक मुद्रा आर्जनको श्रोत त रेमिटेन्स हो । त्यसको पनि दिगोपना छैन् र नेपालको निर्यात पनि राम्रो छैन् । तर भुटानले विद्युत निर्यात गरेर यथेष्ठ मात्रामा भारतीय मुद्रा सञ्चित गरेको छ । भुटानले भारतसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । त्यसकारण भुटानले भारतीय मुद्रासँगको सटही दर बराबर गरेको हो । तर नेपालसँग भारु सञ्चिती गर्ने कुनै भरपर्दाे उपाय केही छैन् । त्यसकारण नेपाली रुपैंयाँ नत बलियो हुन सक्छ । त्यसैले थप कमजोर पारेर पनि मुद्रास्फिति र अस्थिरता मात्रै बढ्छ । अर्थतन्त्रको लागत मात्रै बढ्छ । अहिले ब्याजदर अस्थिर भएकाले त यत्रो समस्या आईरहेको छ । विनिमय दर चलायो भने के हुन्छ ? ब्याजदरको अस्थिरता त थेग्न नसक्ने अर्थतन्त्रले विनिमय दर चलाउँदा झन ठुलो नोक्सानी व्योहर्नुपर्ने हुन्छ । स्थिर सरकार मार्फत पाँच बर्षमा प्राप्त हुने सम्भावित उपलब्धिपछि भारुसँगको विनिमय दर चलाउन सकिन्छ ? अहिले तय गरिएका गौरवका आयोजना सम्पन्न भए भने अर्थतन्त्रको क्षमता बढ्ने देखिन्छ । त्यसैले आशाका किरणहरु पलाएका छन् । तर जुन ढंगले ती आयोजनाका काम अघि बढिरहेका छन्, त्यसका आधारमा चाँडै कुनै ठुलो कायापलट भैहाल्ने सम्भावना देखिन्न । तर विगतलाई हेरेर मात्रै पनि हुन्न । नयाँ पुस्ताले अठोट सहित काम गर्ला भन्ने आशा पनि छ । विगत भन्दा नयाँ पुस्ताले राम्रोसँग काम गर्ला भन्ने आश छ । सबै देशले द्रुतगतिमा विकास अघि बढाईसकेका छन् । तर हामी भने राणा शासन भन्दा, पञ्चायत भन्दा राम्रो गरिरहेका छौं भनेर चित्त बुझाईरहेका छौं । अब नयाँ पुस्ताले काम गर्ला भन्ने आश गरौं । तर अहिलेको यही अवस्थामा भने भारुसँगको सटही दर चलाउनु पर्ने कारण छैन र चलाउनु पनि हुन्न ।  

यो वर्ष ११ वटा बीमा कम्पनीको भन्दा मेरो विजनेश बढी हुनेछ– अभिकर्ता अन्जन भण्डारी

अन्जन भण्डारी, बीमा अभिकर्ता, लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सिन्धुपाल्चाेक जन्मेर ग्रामिण क्षेत्रमा नै हुर्किनु भएका अन्जन भण्डारी वाणिज्य शास्त्रमा स्नातक गरेपछि अभिकर्ताको रुपमा सन २००८ देखि काम  थाल्नु भएको हाे । २८ वर्षिय भण्डारी सबैभन्दा बढी बीमा कारोबार गर्ने अभिकर्ताको रुपमा परिचित हुनुहुन्छ । उहाँले गत आर्थिक वर्षमा ५० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउनु भएको भण्डारीले चालु आर्थिक वर्षमा १०० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउने लक्ष्य राख्नु भएको छ । १० वर्षभित्र वार्षिक १० अर्ब रुपैयाँ प्रिमियम संकलन हुने गरी ठूलो स्केलमा बीमा गराउने लक्ष्यसहित उहाँ अगाडि बढिरहनुभएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उहाँलाई विश्वकै सबैभन्दा बढी बीमा गराउने अभिकर्ताको रुपमा सम्मान पनि गरिसकेको छ । स्वेच्छिक रुपमा बीमा गर्ने अभ्यास नभएको समाजमा यति ठूलो भोलुमको विजनेश गर्ने उहाँको सीप, कला, क्षमता के हो ? देशविकासका लागि भण्डारीसँग गरिएको अन्तरवार्ता यस पटक । तपाई बीमा क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ? अहिलेसम्मको उपलब्धि कस्तो रह्यो ? म एलआईसी नेपालमा सन् २००८ देखि अभिकर्ताको रुपमा कार्यरत छु । मैले बीमा अभिकर्ताको रुपमा काम गर्दा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, नेपाल लाईफ इन्स्योस्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी थिए । त्यसपछि १३ वटा नयाँ जीवन बीमा कम्पनी थपिएका छन् । गत वर्ष कन्भेन्सनल प्लानमा मात्र मैले २१ करोड रुपैयाँ भन्दा बढीका प्रिमियमको बीमा भएको छ । गत वर्ष नयाँ बीमाको पोलिसीबाट मात्र २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थिएँ । सबै गरी ५० करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन भएको छ । चालु आर्थिक वर्ष १०० करोडभन्दा बढीको प्रिमियम संकलन गर्ने लक्ष्यको साथ काम गरिरहेको छु । गत वर्ष नै मैले २/३ वटा कम्पनीलाई जितिसकेको छ । यस वर्ष खुलेका ९ वटा कम्पनी म भन्दा पछाडि हुनेछन् । पुराना कम्पनीमा पनि २÷३ वटा मभन्दा पछाडि हुनेछन् । वार्षिक १०० करोडको प्रिमियम संकलन हुने गरी बीमा गराउँदा तपाईलाई नाफा कति हुन्छ ? अफिसको सबै खर्च कटाएर र सबै कर तिरेर करिव ४ प्रतिशत मात्र बचत हुन्छ । १०० करोड प्रिमियम संकलन हुँदा ४ करोड रुपैयाँ मलाई फाइदा हुन्छ । भन्न त जे भने पनि भनिन्छ । तर अभिकर्ताले कुल प्रिमियममा पाउने भनेको ४/५ प्रतिशत मात्र हो । एक्लैले यति ठूलो विजनेश कसरी गर्नुभएको छ ? म एक्लै छैन । मेरो कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित ८ जना कर्मचारी छन् । मैले हेर्ने भनेको नयाँ ग्राहकलाई मात्र हो । पुराना ग्राहकलाई दिने सेवाहरु कर्मचारीले हेर्छन । हाम्रा ग्राहकलाई कर्जा चाहिएको हुन सक्छ, बीमा दावी गर्नु परेको हुनसक्छ, डकुमेन्टेशनको सेवा आवश्यक होला, मेडिकल इन्स्योरेन्सको सेवा दिनु होला, ती सबै काम कर्मचारीबाट हुन्छ । हाम्रा ग्राहक करिव २००० हजार ग्राहक भएका छन् । वर्षमा ५० करोडभन्दा बढी प्रिमियम संकलन हुन्छ । एकै दिन करोडभन्दा बढी प्रिमियम संकलन भएको हुन्छ । यी सबैं काम मैले गर्न सक्दिन । यी सेवाहरु कर्मचारीहरुबाट हुन्छ, सिस्टमबाट हुुन्छ । मैले १० वर्षअघि नै एउटा सिस्टम बनाउन लाखौं लगानी गरेको थिए । अहिले करोडौं रुपैयाँ लगानी गरेर नयाँ पोलिसी बनाउँदैछु । नयाँ रणनीतिको लागि मैले किन करोडौं लगानी गर्दैछु भने अब मेरो लक्ष्य अर्बौको कारोबार गर्ने हो । निकट भविष्यमा कति कारोबार गर्ने लक्ष्य लिनु भएको छ ? १० वर्षभित्र वार्षिक १० अर्ब भन्दा बढी प्रिमियम संकलन गर्ने लक्ष्यसहित काम गरिरहेको छु । नेपालमा बीमा स्वेच्छिक रुपमा गर्ने अभ्यास छैन । धेरै आग्रह, अनुनय, विनय गरेपछि मात्र बीमा गर्छन भन्ने भनिन्छ । तपाईले मान्छेको विश्वास कसरी जिन्तुहुन्छ ? नेपालका बीमा अभिकर्ता मध्ये प्रयाः सबैले यो पेशालाई आंशिक (पार्ट टाईम जब) रुपमा लिएका छन् । मैले बीमालाई नै पूर्णकालिन पेशाको रुपमा लिएको छु । मैले यस पेशामा ठूला लगानी गरेको छु । अध्ययन गरेको हुन्छु, ग्राहकलाई राम्रो प्रस्तुती दिन सक्छु । ‘बीमा गर्नुहोस्’ मात्र भन्दिन, यसको लाभको बारेमा राम्ररी बुझाउने क्षमताको विकास गरेको छु । अन्जन भण्डारी भनेको बीमाको प्रयाबाजी शब्द जस्तो भईसक्यो । मलाई चिन्ने सबैलाई थाहा छ कि म बीमा अभिकर्ता हुँ । म कसैसँग समय लिएर भेट्न जाँदैछु भने पहिलो नै भन्नेछु कि ‘म तपाईको बीमा गराउन आउँदैछु ।’ कफी खान आउँछु भनेर भेट्ने अनि बीमाको कुरा म गर्दिन । अरु व्यापार व्यवसाय वा सम्बन्ध जोडेर जाने अनि बीमाको कुरा गर्ने काम म गर्दिन । म सोझै बीमाको कुरा गर्छु । मान्छे भेटेपछि मेरो इतिहार र वर्तमान बुझाउँछु । बीमाको महत्व बुझाउँछु । मप्रति विश्वास गरेर बीमा गर्नेहरु धेरै छन् । कुनै पनि व्यक्तिले बीम कम्पनीलाई विश्वास गरेर बीमा गर्ने कि अभिकर्तालाई विश्वास गरेर ? दुबै हो । कम्पनीप्रति पनि विश्वास हुनुपर्छ, अभिकर्ताप्रति पनि विश्वास हुनुपर्छ । नेपाली समाझमा ७० प्रतिशत मान्छे व्यक्तिगत सम्बन्ध, व्यक्तिको प्रस्तुति र प्रभावका आधारमा बीमा गर्छन । ३० प्रतिशत मानिस मात्र बीमा कम्पनीको बारेमा बुझेर बीमा गर्छन । तपाईले बीमा गराउने लक्षित वर्ग कुन हो ? व्यवसायिक समूदाय । नेपालको ठूलो व्यवसायिक व्यक्तित्वमध्ये अधिकांशको बीमा मैले नै गराएको छु । जो मान्छे भेट्न सामान्य अभिकर्ताले सक्दैन, ३÷४ वटा गेट वा सुरक्षा जाँच पार गरेर मात्र पुग्न सकिन्छ । त्यसको लागि तपाईसँग रणनीति चाहियो । व्यवसायीहरु अधिक नाफामा केन्द्रीत हुन्छन । उनीहरु किन बीमा गर्छन ? पारिवारिक सुरक्षा, जोखिम न्यूनिकरण र व्यवसायकि लाभ । बैंकले कर्जा दिदाँ बीमा गरे जस्तै व्यवसायीले आफ्नो व्यवसायिक जोखिमको आधारमा बीमा गर्नु राम्रो हुन्छ । कुनै व्यवसायीले ५ करोडको व्यवसाय गरेको छ । ३ करोड बैंकको कर्जा होला, २ करोड उसको आफ्नै लगानी होला । कुनै कारणबस उसको निधन भयो वा अशक्त भयो भने ५ करोडको जोखिम उसको परिवारलाई थेग्न गाह्रो हुन्छ । त्यसैले उसले अरुको भन्दा बढी बीमा गर्नु पर्छ । आज १००० करोड ऋण लिएर व्यवसाय गर्नेले १०० करोडको पनि बीमा गरेको छैन । भोलि ऊ तलमाथि पर्यो भने उसको परिवार त जोखिममा पर्यो नि । उसले ऋण लिँदा बैंकमा धितो मात्र राखेको हुँदैन, व्यक्तिगत जमानी पनि बसेको हुन्छ । त्यसैले व्यवसायीहरुले जति ऋण लिएका छन्, त्यति नै रकमको लागि जीवन बीमा गर्नुपर्छ । तपाईले लिएको अभिकर्ताको लाईसेन्स व्यक्तिगत हो कि संस्थागत ? व्यक्तिगत हो । म आफ्नो नामबाट नै व्यवसाय विस्तार गर्न चाहान्छु । संस्थागत रुपमा अभिकर्ता आउने अभ्यास कत्तिको छ ? शुरु भएको छ । जस्तै बैंकहरु नै बीमा कम्पनीको एजेन्टको रुपमा काम गर्न थालेका छन् । तर बैंकको मुख्य काम अभिकर्ताको सेवा दिनु होइन, उसको सहायक काम मात्र हो । अभिकर्ताको रुपमा राम्रो आम्दानी गर्नु भएको छ, लगानी कहाँ गर्नुहुन्छ ? म विशुद्ध अभिधकर्ता हुँ । मेरो सम्पूर्ण मिहेनत बीमा अभिकर्ताको रुपमा मात्र हुन्छ । लगानीकर्ताको रुपमा म ग्रुप विजनेशमा छु । हाम्रो ग्रुपले सेयर बजार लगानी गरेको छ । इन्भेष्टमेन्ट कम्पनी पनि चलाएको छ । होटल, ट्राभल्स एण्ड टुर कम्पनीमा लगानी गरेका छौं । अरु बीमा अभिकर्तालाई तपाईको सुझाव के छ ? पहिला बीमाको बारेमा अभिकर्ता आफैलाई ज्ञान हुनुपर्यो । ९० प्रतिशत अभिकर्तालाई बीमाको बारेमा राम्रो ज्ञान नै छैन । जोसँग बीमाको ज्ञान नै छैन, उसले कसरी अरुलाई बीमाको महत्वबारे बुझाउन सक्छ ? सक्दैन । नेपालमा चार लाख अभिकर्ता छन् । तर मासिक १ लाख आम्दानी गर्ने अभिकर्ता ज्यादै कम छन् । मासिक १ लाख रुपैयाँ पनि कमाउन नसक्ने अभिकर्तासँग कि ज्ञान छैन, कि उसले बीमा पेशालाई पार्ट टाईभ जब बनाएको छ भनेर बुझ्दा हुन्छ । विर्सन नहुने कुरा के पनि हो भने संसारभर नै सबैभन्दा गाह्रो काम भनेको बीमा अभिकर्ताको हो । नेपालमा बीमाको कल्चर पनि कम छ । किनकी मेरो बुबाले पनि गर्नु भएको थिएन । जसको परिवारमा अघिल्लो पुस्ताले पनि बीमा गरेको थियो, उसको परिवारले बीमाको महत्व बुझेको हुन्छ । बीमा गर्न राजी हुन्छ । घरमा पनि बीमाको महत्व नबुझेको, स्कूल, कलेजमा पनि बीमाबारे केही नसिकेको समाजमा बीमा गराउनु सजिलो काम होइन । गाह्रो कामको लागि बढी मिहेनत गर्नै पर्छ । ग्राहकको विश्वास जित्न सक्नुपर्छ ।  

असारमा मूल्य घट्नु र पुसमा मूल्य बढ्नु सिमेन्ट बजारको नियम नै हो : ध्रुब थापा

ध्रुब थापा, अध्यक्ष-नेपाल सिमेन्ट उत्पादक संघ सिमेन्टको मूल्य निकै बढेको छ, किन ? हरेक वर्ष हिउँदामा सिमेन्टको मूल्य केही बढ्छ । वर्षात्को समयमा फेरि मूल्य घट्छ । विगत १०/१५ वर्षदेखि कै ट्रेन हो यो । यस वर्ष अलि बढि मूल्य बढेको छ । क्लिङ्कर आयातमा देखिएको समस्या, कोइला, डिजेलमा भएको मूल्यवृद्धि, लोडसेडिङ, ढुवानीमा भएको भाडा वृद्धि लगायत धेरै कारणहरु एकै पटक जोडिन आउँदा यस पटक मूल्यवृद्धि अलि बढी भएको देखिन्छ । २/३ वर्षअघि दैनिक १५/१८ घण्टा लोडसेडिङ भयो, उद्योगीहरुले मूल्य पनि ह्वात्तै बढाए । त्यतिबेला लोडसेडिङले गर्दा जेनेरेटर राख्नु पर्यो, डिजेलमा खर्च गर्नु पर्यो, लागत दोब्बर भयो भन्ने तर्क गर्नुहुन्थ्यो । अहिले त लोडसेडिङ हटेको छ, लागत पनि पक्कै आधा घटेको होला । अब त भाउ घट्नु पर्ने होइन ? अहिले पनि उद्योगमा दैनिक ६ घण्टा लोडसेडिङ हुन्छ । विद्युतको गुणस्तर छैन । बिजुली आएको बेलामा पनि पावर घटबढ भईरन्छ । दिनमा ४/५ पटक बत्ती जान्छ । यसले गर्दा उद्योगले धेरै नोक्सान बेहोर्नु परेको छ । जब नियमित बिजुली आउँछ, सिमेन्ट उद्योगले गुणस्तरीय बिजुली पाउन थाल्छन्, तब मूल्य पनि घट्छ । तीन वर्षअघिको डिजेल मूल्य भन्दा अहिले डिजेको मूल्य कम छ । तर तपाईहरु डिजेलको मूल्य बढ्यो भनेर विज्ञप्ती निकालेर भ्रम फैलाईरहनु भएको छ । नाफा कमाउनैको लागि तपाईहरु किन सार्वजनिक रुपमा यस्तो गलत तर्क गर्नुहुन्छ ? डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढ्दा ढुवानी व्यवसायीले प्रतिबोरा सिमेन्टको भाउ ४० रुपैयाँ बढाएका छन् । तपाईहरुले यातायात व्यवसायीलाई यो प्रश्न किन गर्नुहुन्न ? सरकारले ढुवानी भाडामा भएको अस्वभाविक वृद्धिलाई किन नियन्त्रण गर्दैन ? पत्रकारहरुले पनि बुझ्नु पर्यो कि उद्योगमा लगानी गर्नेले नाफा खोज्छ । नाफा भएन भने उद्योग चल्दैन । सरकारले पनि सिमेन्ट उद्योग चलाएको छ । पछिल्लो समय निजी क्षेत्रका उद्योगले भन्दा सरकारी उद्योगले मूल्य बढी बढाएका छन् । लागत मूल्य बढेकाले नै सरकारी उद्योगले पनि मूल्य बढाएको हुनुपर्छ । सरकारी उद्योगले अधिक नाफा खान मूल्य बढाएको होइन होला । अर्को महत्वपूर्ण कुरा, तपाई ३/४ वर्षअघि बजारमा रहेको अन्य बस्तुको मूल्य र अहिले ती बस्नुको मूल्य पनि तुलना गर्नुहोस् । अरु बस्तुको तुलनामा सिमेन्टको मूल्य वृद्धि कम भएको छ, बढी छैन । २०७२ साल असारमा पीपीसी सिमेन्ट बोराको ५९० रुपैयाँ पथ्र्यो, ओपीसी ६४५ रुपैयाँमा किन्न पाइन्थ्यो । अहिले पीपीसी सिमेन्टको मूल्य ९०० भन्दा माथि छ, ओपीसीको मूल्य १०२५ रुपैयाँ भन्दा बढी छ । दुई वर्षमा मूल्य वृद्धि २० प्रतिशत कम छ, सिमेन्टको मूल्य वृद्धि ६०/७० प्रतिशतले बढ्यो । भूकम्प पीडितले धमाधम घर बनाउन लागेको बेलामा यसरी मूल्य बढाउनु तपाईहरुको गल्ती होइन ? गत साउनसम्ममा हेनुभयो भने उद्योगहरुले दुई वर्षको बीचमा १०/२० रुपैयाँ मात्र मूल्य बढाएका थिए । अहिले पनि उद्योगहरुको कारखाना मूल्य ७५० देखि ८५० सम्म छ भन्ने मैले सुनेको छ । बजारमा पुग्दा ढुवानी भाडा र बिक्रेताको खर्च जोडिन्छ । उसलाई पनि ५/१० रुपैयाँ नाफा चाहिन्छ । पछिल्लो समय कोइला, डिजेल, ढुवानीको भाडा वृद्धि, दैनिक ६ घण्टाको लोडसेडिङ, क्लिङकर आयातमा भएको अवरोध लगायत धेरै समस्या एकै पटक आउँदा उत्पादन लागत बढेकोले पहिला भन्दा यसपाली मूल्य अलि बढी नै भएको हो । केही मूल्य बढेको कुरा हामीले पनि स्वीकार गरेको छौं । मूल्य वृद्धिले जनता मारमा परेका छन् । सँगसँगै व्यवसायी पनि मारमा परेका छन् । उद्योग चलाउन नसकेर व्यवसायीहरु रोइकराई गरिरहेका छन् । व्यवसायीका कुरा पनि सरकारले सुन्नुपर्यो । व्यवसायीहरु दोहोरो तेहरो करको मारमा परेका छन् । सिमेन्ट उद्योगको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ । सिमेन्ट उत्पादक संघको तर्फबाट हामीले पटक पटक लिखित रुपमा सुझाव पनि दिएका छौं । सरकारले समयमा नै समस्याको समाधान गर्न पहल गरेन जनताले पनि दुःख पाउँछन्, धेरै उद्योगहरु पनि बन्द हुन्छन् । अहिलेसम्म घाटामा गएर कुनै पनि सिमेन्ट उद्योग बन्द भएका त छैनन नि ? अब बन्द हुँदैछन् । अबको २/४ वर्षको बीचमा धेरै सिमेन्ट उद्योग बन्द हुदैछन् । अहिले त्यसतर्फ कसैको पनि ध्यान गएको छैन । विगतका हिउँदमा कति मूल्य बढ्थ्यो, यस पटक कति बढ्यो ? विगतमा हिउँदमा प्रतिबोरा करिव ४०/४५ रुपैयाँले वृद्धि हुन्थ्यो, वर्षामा प्रतिबोरा ३०/३५ रुपैयाँले घट्थ्यो । यस पटक कम्पनीहरुले प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बढाएका छन् । यसैबेलामा ढुवानी भाडा पनि बढेको छ । त्यसले उपभोक्ताको नजरमा एकै पटक ठूलो मूल्यवृद्धि देखिएको हो । उद्योगले व्यापारीलाई बेच्ने मूल्य र व्यापारीले उपभोक्तालाई बेच्ने मूल्यमा कति फरक पर्छ ? उद्योग नजिकको बजारमा बिक्रेतालाई बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यमा प्रतिबोरा १०/१५ रुपैयाँ मात्र फरक पर्छ । जस्तै सिमरा बजारमा उद्योगले बिक्रेतालाई बिक्री गर्ने मूल्य र त्यस क्षेत्रको बजार मूल्यमा मा १० रुपैयाँ मात्र फरक पर्छ । त्यहि सिमेन्ट काठमाडौंमा प्रतिबोरा ५० रुपैयाँ महँगो पर्छ । त्यहि सिमेन्ट मुगुमा गएर किन्नुभयो भने २०० रुपैयाँ मूल्य बढी पर्छ । किनकी सिमेन्टको ढुवानी मूल्य बढी नै हुन्छ । सिमेन्ट सस्तो कहिले हुन्छ ? सामान्यतय असारदेखि मंसिरसम्ममा मूल्य घटेको हुन्छ । गत भदौं देखि कात्तिकसम्म २० बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा देखि सिमेन्ट किन्दा बाइक, कार उपहार पाउने स्कीम आयो । त्यतिबेला कम्पनीहरुले मूल्य घटाएको पनि थिए । वर्षाको कारण घर बनाउनै नसक्ने बेलामा, दशै/ तिहार जस्ता महत्वपूर्ण चाडबाढ बनाउने बेलामा, मानिसहरुले घर बनाउनै नसक्ने बेलामा सस्तो बनाउनुहुदो रहेछ, किन यस्तो ? यसमा माग र आपूर्तिको कुरा आउँछ । असारदेखि सिमेन्टको माग घट्छ, मूल्य पनि घट्छ । त्यतिबेला सर्वसाधारणको घर निर्माण पनि कम हुन्छ । विकास निर्माणको काम पनि कम हुन्छ । पुस/माघदेखि निर्माण क्षेत्रमा धेरै काम हुन्छ । सिमेन्टको माग बढ्छ, मूल्य पनि बढ्छ । जतिबेला उद्योगले उत्पादन गरेर भ्याएको हुन्दैन, बजारमा मागको चाप हुन्छ, त्यतिबेला मूल्य बढ्ने हो । जतिबेला बजारमा माग नै हुँदैन, उद्योगको उत्पादन क्षमताको २५ प्रतिशत पनि उपयोग भएको हुँदैन, त्यतिबेला उद्योगहरुले घाटा खाएर पनि सिमेन्ट बेच्नु परेको हुन्छ । फेरी वर्षाको समयमा लोडसेडिङ हुन्दैन । डिजेल खर्चेर जेनेरेटर चलाउनु पनि पर्दैन । त्यसबेलामा लागत पनि कम हुन्छ ।