‘रास्वपाले बोलेर होइन, काम गरेर देखाउँछ’ {अन्तर्वार्ता}

अबको एक सातापछि मुलुकले नयाँ सरकारले पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाई नजिकको मत पाएको छ भने नयाँ सरकारको नेतृत्वका रूपमा बालेन्द्र शाह (बालेन) लाई अगाडि बढाउने तयारी भइरहेको छ । यसबीचमा नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर रास्वपामा प्रवेश गरेका  यातायात तथा पूर्वाधारविज्ञ आशिष गजुरेल पनि यस पटक संसदमा प्रवेश गर्दैछन् । उनी सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएपछि चर्चामा छन् । यातायात तथा पूर्वाधारविज्ञबाट नीति निर्माणको थलो संसदमा पुगेका गजुरेलसँग विकास बहस गरेका छौं ।  तपाईंलाई म सिन्धुली-२ बाट प्रतिनिधि सभा सदस्य बन्छु, सांसद बन्छु भन्नेमा विश्वस्तता कतिको थियो ? मैले जागिरबाट राजीनामा आवेगमा आएर दिएको होइन । एउटा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको मान्छेले परिस्थिति नबुझी निर्णय गर्दैन । मैले त्यहाँको वस्तुस्थिति गहिरो रूपमा अध्ययन गरेपछि मात्र यो कदम चालेको हुँ । जित्ने सतप्रतिशत ग्यारेन्टी भएर भने गएको होइन, तर देशभर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको माहोल र आफ्नै मिहिनेतले जनताको विश्वास जित्न सक्छु भन्ने भरोसाका साथ राजीनामा दिएर टिकट लिएँ र निर्वाचन मैदानमा उत्रिएँ ।  तपाईं रास्वपाबाट निर्वाचित हुनु भएको छ, यो जित रास्वपाको उभारले सम्भव भएको हो कि तपाईंको क्षमताले ? यो जित कुनै एक व्यक्तिको होइन, पूर्ण रूपमा पार्टीको जित हो । यो राष्ट्रिय स्वतन्त्र पार्टीको जित हो, यो घण्टीको जित हो । यसबारे हामीले कुनै दुविधा राख्नु हुँदैन । व्यक्तिगत रूपमा मैले गरेका काम, अनुभव र व्यक्तित्वले सानो प्लस पोइन्ट दिएको हुन सक्छ, तर यो विजयको मूल शक्ति भनेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनताको विश्वास नै हो । लोकतन्त्रमा व्यक्तिभन्दा दल ठूलो हुन्छ, र जनताले कुन दललाई कति विश्वास गर्छन् भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यदि म स्वतन्त्र उम्मेदवारका रूपमा सिन्धुली क्षेत्र नं. २ बाट उठेको भए सायद ५०० भोट पनि आउँदैनथ्यो । त्यसैले यो स्पष्ट रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टीप्रतिको जनविश्वासको मत हो । यही विश्वासको मतका आधारमा हामी निर्वाचित भएका हौं, हामी त केवल त्यस विश्वासका प्रतिनिधि पात्र मात्र हौं ।  रास्वपाबाट टिकट पाएर सिन्धुली-२ मा प्रवेश गर्दै गर्दा मतदाताको मनोविज्ञान के-कस्तो पाउनुभयो ?  सुरुमा जब म टिकट लिएर सिन्धुली जाँदै थिएँ, धेरैले प्रश्न उठाए, आशिष गजुरेल त सिन्धुलीकै हो कि होइन ? उसले सिन्धुलीका लागि के गरेको छ ? ऊ त यहाँको मान्छे नै होइन, पर्यटक जस्तै हो । यस्ता प्रतिक्रिया सुरुवाती दिनमा धेरै सुन्न पाइन्थ्यो । तर मनोनयन दर्तापछि म गाउँ–गाउँ पुगेँ, जनतासँग भेटेँ, संवाद गरे । त्यसपछि बिस्तारै उहाँहरूले बुझ्न थाल्नुभयो । यो त सिन्धुलीमै जन्मेर हुर्किएको मान्छे रहेछ, सिन्धुलीलाई माया गर्ने मान्छे रहेछ, विकासका काम गरेर डेलिभरी गरेर आएको व्यक्ति रहेछ । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वास गरेर अघि सारेको उम्मेदवार पनि रहेछ । यी कुरा विशेष गरेर सहरी क्षेत्र । कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकाका मतदाताले छिट्टै बुझ्नुभयो, र केही दिनमै त्यहाँबाट ठूलो समर्थन प्राप्त हुन थाल्यो । तर बाँकी रहेका तीन गाउँपालिका घ्याङलेख, हरिहरपुरगढी र मरिण अलि ग्रामीण क्षेत्र भएकाले त्यहाँसम्म यी कुरा पु¥याउन समय कम भयो । बुझाउन पनि अलि गाह्रो भयो, र त्यसैले त्यहाँबाट मत अपेक्षाकृत कम आयो ।  निर्वाचनको प्रचारप्रसारमा तपाईंले सामाजिक सञ्जालमा भिडियोहरू राखेर प्रचार गर्नुहुन्थ्यो, तपाईंको पछाडि केही सीमित मानिसहरू हुन्थे । तर, अन्य पार्टीका उम्मेदवारसँग धेरै ठूलो भीड हुन्थ्यो । मसँग प्रचारप्रसार गर्ने मान्छे छैनन्, मतदाताहरू छैनन् भनेर नैराश्यता उत्पन्न भएन ?  हामीसँग भीड लिएर हिँड्ने अनुभव नै थिएन । हामी पुराना दलहरूमा कहिल्यै रहेनौं, त्यसैले चुनावी अभियानलाई भीड प्रदर्शनको रूपमा चलाउने संस्कारमा पनि अभ्यस्त थिएनौं । तर हामीलाई एउटा कुरा प्रष्ट थाहा थियो, विगतमा धेरै पार्टीहरूले ठूलो भीड देखाए, तर काम गर्न सकेनन्, र त्यही कारणले देश आजको जटिल अवस्थासम्म आइपुगेको हो । त्यसैले हामीले त्यही पुरानो शैली दोहोर्याउने निर्णय गरेनौं । चुनावी अभियानमा पनि चुनाव जितेपछि पनि सरकारमा पुगेपछि पनि यदि पुरानै तरिका दोहोर्यायौं भने नयाँ केही गर्न सकिँदैन, देश पनि बदलिँदैन भन्ने कुरामा हामी स्पष्ट थियौं ।  हाम्रो मुख्य उद्देश्य भनेको जनतासामु एजेन्डा राख्नु थियो । एक्लै भए पनि दुई÷चार जना भए पनि मतदातासँग पुगेर हामी को हौं, हामी के गर्न सक्छौं, र किन राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनुपर्छ भन्ने कुरा  बुझाउने प्रयास ग¥यौं । हामीले कुनै पार्टीलाई गाली गरेनौं, कसैबारे नराम्रो बोलेनौं । हामीले केवल आफ्नो योजना आफ्नो क्षमता र आफ्नो प्रतिबद्धता मात्र प्रस्तुत ग¥यौं ।  योभन्दा अगाडि नेपाल इन्टरमोडल यातायात विकास समितिमा कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो, पदबाट राजीनामा दिनुभयो, रास्वपाबाट टिकट पाउनुभयो । टिकट पाउने कुरा कसरी सम्भव भयो ?  राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूसँग मेरो पहिलेदेखि नै छलफल र सम्पर्क भइरहन्थ्यो । यातायात पूर्वाधारका विषयमा कहिले मौखिक, कहिले लिखित रूपमा सुझाव मागिन्थ्यो र म पनि आफ्नो अनुभवका आधारमा सुझाव दिने गर्थें । त्यसैक्रममा भेटघाट हुँदा उहाँहरूले बारम्बार भन्नुहुन्थ्यो, आशिषजी, तपाईं जस्तो विज्ञता भएको व्यक्ति राजनीतिमा आउनुपर्छ ।  सुरुमा म पनि त्यसलाई गम्भीर रूपमा सोच्ने मात्र गर्थें । तर समयसँगै मैले नेपाल इन्टरमोडल यातायात विकास समितिमा गएर जुन उद्देश्य लिएर काम थालेको थिए । ती उद्देश्यहरू पूरा हुँदै गए । उदाहरणका लागि लामो समयदेखि अलपत्र परेको चोभारको सुक्खा बन्दरगाह सफलतापूर्वक निर्माण गरेर सञ्चालनमा ल्यायौं । सुदूरपश्चिमको दोधाराचाँदनीमा दुई दशकदेखि बन्ने बन्ने भनेर जनतालाई प्रतीक्षा गराइरहेको सुक्खा बन्दरगाहको निर्माण प्रक्रिया पनि हामीले सुरु गरायौं । साथै, देशभरका सुक्खा बन्दरगाहहरूलाई आधुनिकीकरण गरेर पूर्ण रूपमा डिजिटल व्यवस्थापनमा ल्यायौं, जसले राज्यका लागि आम्दानी गर्ने प्रणालीको रूप लियो ।  जब यी लक्ष्यहरू पूरा भए, तब मलाई लाग्यो, अब एउटा संस्था मात्रै होइन, देशकै संरचना सुधार्नुपर्ने बेला आएको छ । देश बनाउनका लागि नीति र कानुन निर्माण हुने ठाउँमा पुग्नुपर्छ, अर्थात् संसदमा जानुपर्छ । त्यसपछि मैले आफैं नेताहरूसँग भेटेर भनेँ । मैले विकास निर्माण र यातायात पूर्वाधारको क्षेत्रमा काम गरेको छु, मेरो अध्ययन पनि यही विषयमा केन्द्रित छ । तर अहिले विकास निर्माणका धेरै कानुनहरू अस्पष्ट र त्रुटिपूर्ण छन् । सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा र पूर्वाधार विकासका लागि नयाँ नीति, स्पष्ट कानुन र प्रभावकारी व्यवस्था आवश्यक छ । त्यसैले यी सुधार गर्न संसदमा पुग्न चाहन्छु, मलाई टिकट दिनुहोस् । त्यसपछि पार्टीले ममाथि विश्वास गरेर टिकट दियो र म निर्वाचन मैदानमा होमिएँ ।  आम जनमानसमा टिकट लेनदेनमा आर्थिक चलखेल हुन्छ भन्ने बुझाइ छ । तपाईंले त्यो अनुभव कत्तिको गर्नुप¥यो ? त्यसमा पूर्ण रूपमा असत्यता छ । त्यो आरोपमा शून्य प्रतिशत पनि सत्यता छैन । हामी विधि र नैतिकताको आधारमा राजनीति गर्ने मान्छे हौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक राजनीति गर्दैन, र हाम्रो कुनै पनि नेताले त्यस्तो काम गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं । आर्थिक लेनदेनसँग जोडिएका यस्ता आरोपहरू पूर्ण रूपमा आधारहीन छन् । यस विषयमा सबैलाई स्पष्ट हुन जरुरी छ । यसमा कुनै सत्यता छैन । वास्तवमा यो बाहिर ह्वीम चलाउने, अफवाह फैलाउने प्रयास मात्र हो । केही अन्य दलका नेता र कार्यकर्ताहरूले अनावश्यक रूपमा हल्ला फैलाएका छन् ।  अहिले रास्वपामा जुन जनलहर आएको छ, यसलाई कसरी बुझ्नु भएको छ ?  अहिले हामी कसैलाई शब्दमा जवाफ दिने पक्षमा छैनौं । यदि हामी पनि आरोप–प्रत्यारोपमै लाग्यौं भने हामी र पुराना राजनीतिक शैलीबीच फरक रहनेछैन । त्यसैले अहिले हाम्रो बाटो स्पष्ट छ । सुन्ने, धैर्य गर्ने र काम गरेर देखाउने । आज हामीले बोलेर होइन, काम गरेर जवाफ दिनेछौं । महिना वा एक वर्षभित्रै तपाईंहरूले परिणाम आफैं देख्न पाउनुहुनेछ ।  तपाईंहरुले चुनावअघि वाचापत्र पनि सार्वजनिक गरिसक्नुभएको छ, अब ५ वर्षको कार्यकालमा सिन्धुली-२ को लागि के-के काम गर्नुहुन्छ ? सिन्धुली–२ भन्दा पनि राष्ट्रिय राजनीति हाम्रो मुख्य एजेन्डा बन्न पुगेको छ । तपाईंहरूले हाम्रो पार्टीको वाचापत्र हेर्नु भएको होला । त्यो हाम्रो  दृष्टिकोणको प्रतिबिम्ब हो । हाम्रो मुख्य फोकस छ सुशासन, भ्रष्टाचारको अन्त्य, दिगो विकास, र डिजिटलाइजेसन । हामी ५ वर्षभित्र १२ लाख रोजगारी सिर्जना गर्ने साहसिक लक्ष्य लिएर अगाडि बढिरहेका छौं । त्यसका लागि, हाम्रो योजना छ १५ हजार मेगावाट विद्युत ग्रिडमा जडान गर्ने, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग विस्तार गर्ने, र १० वटा ठूला सिग्नेचर परियोजना सञ्चालन गर्ने । आज हाम्रो प्रति व्यक्ति आय १४५० डलर छ, र हामीले यसलाई ३००० डलर पु¥याउने लक्ष्य राखेका छौं । हाम्रो वर्तमान जीडीपी ४५ अर्ब डलर छ, तर हामी यसलाई १०० अर्ब डलरसम्म पु¥याउने योजना बनाएका छौं । यी सबै उद्देश्यहरू प्राप्त गर्न हाम्रो योजनाबद्ध र ठोस रणनीति छ । हामी केवल कुरा गरिरहेका छैनौं, हामी सपना देख्छौं, लक्ष्य निर्धारण गर्छौं, र त्यसलाई वास्तविकतामा परिणत गर्छौं ।  आकर्षक घोषणा पूराना पार्टीहरु पनि गर्दै आइरहेका थिए । तर, ती घोषणा कागजमै सीमित बने । तपाईंहरुको ती वाचामा जनताहरु कसरी विश्वस्त हुने ? मैले पहिले पनि भने हामीलाई विश्वास दिलाउने हाम्रो काम हो, केवल कुरा होइन । अहिले हाम्रो फोकस छ काम गरेर देखाउने । हामीले एक स्पष्ट एक्सन प्लान बनाएका छौं, र त्यसै अनुसार अघि बढ्दै छौं । उदाहरणका लागि यदि हामीले १५ हजार मेगावाट विद्युत ग्रिडमा जोड्यौं भने हामी त्यसलाई प्रयोग गर्नेछौं र बाँकी उत्पादन बेचेर आम्दानी पनि हुनेछ । सडक मात्र यातायातको माध्यम होइन, पूर्वाधारको पूर्वाधार हो । राम्रो सडकले सामाजिक र आर्थिक गतिविधिहरूलाई सहज बनाउँछ ।  हाम्रो लक्ष्य १२ लाख रोजगारी सिर्जना गर्नु हो । त्यसका लागि उद्योग खोल्न आवश्यक छ, उत्पादन बढाउन आवश्यक छ, कृषि आधुनिकीकरण गर्न आवश्यक छ, र पर्यटन सुधार्न आवश्यक छ । अहिले वार्षिक १६ लाख पर्यटक पनि हामी ल्याउन सकिरहेका छैनौं । तर हामीले यो संख्या बढाउने छौं । यसले रोजगारी सिर्जना गर्ने, देशमा विदेशी मुद्रा भित्र्याउने अवसर दिन्छ । हामी स्पष्ट छौं । हामी केवल बोलेर होइन, काम गरेर देखाउँछौं । जलविद्युत आयोजना बनाउँछु, सडक बनाउँछु भन्ने कुरा मात्र होइन, हामीले वाचापत्रमा उल्लेखित उद्देश्यहरू प्राप्त गर्न के–के परियोजना आवश्यक छन्, निजी क्षेत्रको लगानी कसरी आकर्षित गर्ने, र सार्वजनिक–निजी साझेदारीमार्फत कसरी अघि बढ्ने भन्ने कुरामा गहन छलफल गरेर काम अघि बढाउँछौं ।  तपाईं यातायात विज्ञ पनि हुनुहुन्छ । हिजोका दिनमा तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत यातायात तथा पूर्वाधार क्षेत्र कसरी सुधार गर्न सकिन्छ भन्ने सल्लाह सुझाव पनि दिँदै आउनु भएको थियो । अब कानुन बनाउने ठाउँमा प्रवेश गर्नुभयो ।  नेपालको यातायात क्षेत्र कस्तो हुनुपर्छ ?  कुनै पनि विकसित देशमा व्यवस्थित सार्वजनिक यातायात नभएको उदाहरण छैन । सार्वजनिक यातायात बिना दिगो विकास असम्भव छ ।  यो हाम्रो सामाजिक र आर्थिक विकासको आधारभूत आवश्यकता हो ।मैले पहिले पनि भने । हालै २०७९ मा आएको सहरी विकास तथा सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण अस्पष्ट थियो, त्रुटिपूर्ण थियो, र त्यसले काम गर्न सकेन । त्यसलाई सुधार्नैपर्छ । यो नियमन निकायको रूपमा मजबुत बनाइन्छ । अब, हाम्रो योजना ७५३ पालिकालाई क्लस्टरमा विभाजन गरेर, प्रत्येक क्लस्टरमा एक सार्वजनिक यातायात कम्पनी स्थापना गर्नेछौं, जहाँ राज्यको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानी हुनेछ । यसले के गर्छ भने, माग अनुसार बसको व्यवस्था, एकीकृत समय तालिका, एकीकृत योजना, एकीकृत रुट प्रणाली, र एकीकृत टिकटिङ प्रणाली तयार गरिन्छ । नतिजा ? २४ घण्टा सेवा दिने, आधुनिक, व्यवस्थित, र विश्वसनीय सार्वजनिक यातायात । यो मोडेल विश्वमा सफल भइसकेको छ, र म दृढताका साथ भन्छु, नेपालमा पनि यो सफल हुनेछ ।  रास्वपा सरकार बनाउने तयारीमा छ, तपाईंहरूले बालेनलाई प्रस्तावित प्रधानमन्त्रीको रूपमा अगाडि बढाउनु भएको थियो, अब उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ होला । मन्त्रिपरिषद् पनि विज्ञ टोलीको बनाउने भन्ने कुरा सुनिएको छ । कतिको यथार्थता हो ?  हाम्रो शीर्षस्थ नेताहरूले सक्रिय रूपमा काम गरिरहनुभएको छ । हाम्रो पार्टीमा अहिले धेरै विज्ञ सांसदहरू चयन भइसकेका छन्, र अब उनीहरूले कहाँ योगदान गर्न सक्छन्, कहाँ आवश्यक छ, त्यसको आधारमा काम अगाडि बढ्छ । प्रधानमन्त्री मोडेलमा, प्रधानमन्त्रीलाई कुन कुन मन्त्रालयले सहयोग गर्नेछ, डेलिभरी कसरी सुनिश्चित हुन्छ, यी सबै कुरा विश्लेषणको आधारमा तय हुन्छ । अर्को कुरा अर्काे पार्टीमा, मन्त्री बन्न दौडधुप, दाबी, आकांक्षा देखिन्छ । तर हाम्रो पार्टीमा त्यस्तो कुरा छैन । यहाँ सबैजना आफ्ना–आफ्ना काममा पूर्ण रूपमा समर्पित छन् । पार्टीले पहिले नै तय गरिसकेको छ । संबन्धित क्षेत्रको विशेषज्ञता भएका व्यक्तिहरूले आफ्नो सेक्टरको योजना बनाउन सुरु गर्नुपर्छ । सबैले यो गृहकार्य सुरु गरिसकेका छन्, र त्यसैले सबैजना आफ्ना जिम्मेवारीमा व्यस्त छन् ।  त्यो भनेको शीर्ष नेतृत्वले छान्ने हो, तपाईंले आफैंले दाबी गर्ने, म यो क्षेत्रको विज्ञ छु, मलाई पनि मन्त्री चाहिन्छ भन्ने आग्रह हुँदैन ? हिजोका दिनमा प्रेसर, आग्रह, प्रभावमा परेर मन्त्री छान्ने, निकायका प्रमुख तोक्ने, राष्ट्रिय योजना आयोगमा त्यही हिसाबले निर्णय गर्ने अभ्यासले देशलाई कहाँ पु¥यायो ? देश बनेन । यदि हामी त्यही पुरानो शैली फेरि दोहोर्यायौं भने यो देश फेरि अघि बढ्ने छैन । त्यसैले यो पटक फरक हो । पहिलेका समस्याहरू सुधार गर्ने लक्ष्य लिएर आज घण्टी छापमा उहाँहरूले स्वस्तिक लगाउनुभयो । भोलि त त्यो घण्टीले हामीलाई बजाउनेछ । र हामी त्यसमा सचेत र जिम्मेवार छौं । त्यसैले यहाँ कसैको व्यक्तिगत दाबी, म बन्नुपर्छ भन्ने कुरा छैन ।  अहिले कतिपयले सामाजिक सञ्जालमा गुट उपगुटका विभिन्न कुराहरू राख्छन् बालेन गुट र रवि गुट भनेर । यसमा कत्तिको सत्यता छ ?  अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको पछाडि लाग्ने प्रवृत्ति स्पष्ट भइसकेको छ । हिजो त केही व्यक्तिहरू हाम्रो पार्टी सभापतिविरुद्ध लागे आज पूरै पार्टी विरुद्ध लाग्ने प्रयास गर्दैछन् । जब उनीहरू ठूलो हुँदैछन्, झन् धेरै विवाद सिर्जना गर्ने र फुटाउने प्रयास हुन्छ । तर हामी सचेत छौ । यी सबै कुरा शीर्षस्थ नेताहरूले छलफल गरेर निर्णय गर्नुहुन्छ, र त्यसलाई कार्यान्वयन गरिन्छ । यसरी मात्र हामीले देश विकासको एउटा ठोस मोडेल निर्माण गर्न सक्छौं ।  विगतमा पुराना दलहरूले रवि लामिछाने विरुद्ध प्रतिशोध गरेकै हो भन्ने तपाईंको पनि बुझाइ हो ?  यो त छर्लङ्ग नै छ नि । प्रतिशोधको कुरा होइन, निर्णय गर्ने अदालत हो, जनता हो । तपाईंले जसलाई जे भन्नुहुन्छ, त्यो त सम्भव छ । जसलाई चाहिँ गाली गर्न पनि पाउँछ, तर फटाहा, चोर, डाँका भनेर कसैले स्वतः निर्णय गर्न सक्दैन । जनताले पनि मतबाट स्पष्ट प्रमाणित गरिदिनुभएको छ । त्यसैले अब हाम्रो काम कुरा गरेर बस्ने होइन डेलिभरी गरेर देखाउने हो ।  तपाईं यातायात तथा पूर्वाधार विज्ञ हुनुहुन्छ । रास्वपाले पनि विज्ञलाई नै सम्बन्धित मन्त्रालय दिने चर्चा छ । धेरैले तपाईंलाई यातायात मन्त्रालयमा देख्न चाहेको छ । तपाईंको विज्ञता त्यहाँ प्रयोग होस् भन्ने चाहना छ । यदि रास्वपाले तपाईंलाई त्यो मन्त्रालयमा पठाउन चाहेन भने हामीले कसरी बुझ्ने ?  म सांसद निर्वाचित भएर आएको छु । मेरो मुख्य फोकस कानुन निर्माणमा छ, त्यसैको लागि आएको हुँ । म मन्त्री बन्ने एजेन्डा लिएर गएको होइन, म सांसद बन्छु भनेर भोट मागेको हुँ । त्यसैले मेरो फोकस कानुन र जनताको हितमा हुनेछ । भोलिको दिनमा पार्टीले जुन जिम्मेवारी दिन्छ, त्यसमा मेरो आत्मविश्वास छ कि म इमानदारीपूर्वक त्यस जिम्मेवारी निर्वाह गर्छु । अरूले यसलाई किन बनाएन, त्यसलाई किन बनाएन भन्नुपर्ने छैन ।  म मात्र विज्ञ होइन, यहाँ धेरै विशेषज्ञ साथीहरू हुनुहुन्छ । डेलिभरी कसरी हुन्छ, कुन मोडेल उपयुक्त हुन्छ, त्यो निर्णय शीर्ष नेतृत्वको जिम्मेवारी हो । आज पनि म विज्ञ, तँ विज्ञ, म हुनुपर्छ, त्यही हुनुपर्छ भन्ने कुरा हुँदैन । कुन परिस्थितिमा को उपयोगी हुन्छ, त्यो महत्त्वपूर्ण कुरा हो । त्यसैले मैले मन्त्रीको आकांक्षा राखेको छैन । मैले सांसद बन्छु भनेर भोट मागेको थिएँ, र आज सांसद भएर बसेकोमा म सबैभन्दा धेरै खुसी छु ।  पुराना नेताहरूले रेल, मोनो रेल अथवा मेट्रो रेलका धेरै सपनाहरू बाँडे, यो देशमा रेल पूर्वाधार कत्तिको आवश्यक छ ?  यो आवश्यक छ । तर, महत्वपूर्ण कुरा के हो भने कुन, कहिले, र कहाँ बनाउने भन्ने निर्णय । त्यसका लागि कति लगानी छ, कुन मोडेल उपयुक्त छ, ती सबै कुरा विश्लेषण गरेर अघि बढ्नुपर्छ । उदाहरणका लागि, मोनोरेल त बनाउने कामै छै । संसारभरि यो प्रोजेक्ट असफल भइसकेको छ । तर मेट्रोरेल, अन्य रेलहरू कहिले र कुन क्रममा आवश्यक छ, त्यसको विश्लेषण गरेर मात्र योजना बनाइन्छ र काम अघि बढाइन्छ । काम गर्नुअघि योजना, विश्लेषण, र समयतालिका स्पष्ट हुनु जरूरी छ, त्यसपछि मात्र सफल र दिगो विकास सम्भव हुन्छ । यहाँ गफ गर्ने चलन छ । तर काम गर्ने चलन देखिदैन् ।  बालेन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँ मिडियामैत्री हुनुहुन्न, बाहिर बोल्न रुचि राख्नुहुन्न भन्ने अधिकांशको गुनासो छ । मिडियाप्रति रास्वपाको नीति कस्तो रहन्छ ? बोल्नुपर्ने बेला सबैले बोल्नुपर्छ । तर, बोल्नु नपर्ने विषयमा समय खर्च गर्नु काम होइन । बालेनजीले पनि यही सिद्धान्त अपनाएका छन् कम बोल्ने, धेरै काम गर्ने । नीति नै यही हो, त्यसैले अहिले अनावश्यक कुरा बोलेर समय गुमाउनुको अर्थ छैन । म आफैं पनि कहिलेकाहीँ सोचिराख्छु । किन धेरै बोलेँ ? तर आजको स्थिति फरक छ । मिडियाले मलाई चिनाएको छ, अन्तर्वार्ता र रिपोर्टिङका लागि धेरै अवसर आउँछ । म सांसद भइसकेको छु, तर अहिलेको अवस्था यस्तो छ कि अलिकति समय भएर म फ्लेक्सिबल भएर अन्तर्वार्ता दिइरहेको छु ।  सिन्धुलीमा तपाईंले के-के वाचा गर्नु भएको छ, ती वाचाहरू कसरी पूरा गर्नुहुन्छ ? सिन्धुलीमा हामीले अनावश्यक वाचा गरेका छैनौं । मेरो मुख्य ध्यान तीन वटा क्षेत्रमा केन्द्रित छ । निर्माण क्षेत्रलाई गति दिने, सार्वजनिक यातायात व्यवस्थापन सुधार गर्ने र सडक सुरक्षालाई मजबुत बनाउने । यी लक्ष्य पूरा गर्न अहिलेका नियम–कानुनमध्ये के खारेज गर्नुपर्छ, के सच्याउनुपर्छ र कहाँ नयाँ कानुन आवश्यक छ भन्नेमा मेरो विशेष फोकस रहनेछ । तर जनतासँग भेट्दा उहाँहरूले आफ्ना वास्तविक समस्या पनि स्पष्ट रूपमा राख्नुभएको छ । सिन्धुलीमा धेरै खोलानाला भएकाले वर्षेनी जमिन कटान हुने समस्या छ, त्यसैले बाढी व्यवस्थापनको माग छ । कृषि प्रधान जिल्ला भएकाले किसानले समयमा मल पाउनुपर्छ, सिँचाइको व्यवस्था हुनुपर्छ, उत्पादनको बजार सुनिश्चित हुनुपर्छ र बिचौलियाभन्दा किसानले नै उचित आम्दानी पाउने वातावरण बनाउनुपर्छ भन्ने आग्रह छ । गाउँ–गाउँ पुग्दा अर्को ठूलो पीडा पनि सुनियो । धेरै युवाहरू खाडी मुलुकमा छन्, आमाबुबाले ‘नेपालमै रोजगारी सिर्जना गरिदेऊ’ भन्ने अपेक्षा राख्नुभएको छ । साथै स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने माग पनि बारम्बार उठेको छ ।  हामीले जनतालाई भनेका छौं । सांसदको मुख्य काम नियम र नीति निर्माण गर्नु हो । तर जनताको समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्नबाट हामी पछि हट्दैनौं । उदाहरणका लागि, केही दिनअघि सिन्धुली अस्पतालमा एनेस्थेसिया विशेषज्ञ चिकित्सकको अभाव रहेको कुरा आयो । त्यसपछि हामी बागमती प्रदेशमा गएर सम्बन्धित निकायसँग छलफल ग¥यौं र सहजीकरण ग¥यौं । अहिले एक जना चिकित्सक सिन्धुली अस्पतालका लागि खटाइसकिएको जानकारी आएको  । 

राजनीति छोडेको छैन, विकृत माहोलबाट टाढिन चाहेको हुँ : डा. सिके राउत

नेपालको संसदीय राजनीतिमा पछिल्लो समय देखिएको अस्थिरता, दलहरूबीचको प्रतिस्पर्धा र जनअपेक्षाबीचको दूरीका कारण धेरै नेताहरूले आफ्ना राजनीतिक रणनीतिहरू पुनर्विचार गर्न थालेका छन् । यही सन्दर्भमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट बाहिरिने घोषणा गरेका छन् । उनले आफू सुरुदेखि नै संसदीय राजनीतिमा जान इच्छुक नभएको तर परिस्थितिवश त्यसमा सहभागी भएको बताए । संसद्‌मा पुगेपछि पनि आफू मन्त्री बन्ने लोभबाट टाढा बसेको दाबी गर्दै उनले अब देश विकासको आन्दोलनमा केन्द्रित हुने योजना सुनाएका छन् । संसदीय राजनीतिबाट टाढिए पनि देश र समाजका लागि आफ्नो भूमिका अझ सक्रिय रहने उनको भनाइ छ । प्रस्तुत छ उनै डा. सिके राउतसँग गरिएको  कुराकानीको संम्पादित अंश : तपाईंले संसदीय राजनीतिबाट बाहिरिने घोषणा गर्नुभएको छ, यो निर्णय किन लिनुभयो ? मैले यो निर्णय भावनात्मक रूपमा होइन, गहिरो अनुभव र अवलोकनपछि लिएको हुँ । वास्तवमा म सुरुदेखि नै संसदीय राजनीतिमा जाने पक्षमा थिइन । मेरो सोच देश विकासका लागि आन्दोलन, अभियान र जनसक्रियता बढी प्रभावकारी हुन्छ भन्ने थियो । तर त्यो बेला मधेसका जनता ठूलो राजनीतिक अन्यायको अनुभूति गरिरहेका थिए । उनीहरूको आवाज राष्ट्रिय स्तरमा उठाउने एउटा माध्यम संसद् पनि हुन सक्छ भन्ने सोचेर हामी चुनावमा गयौं । जनताले हामीलाई ठूलो विश्वासका साथ संसद्मा पठाए । संसद् पुगेपछि मैले नजिकबाट राजनीतिलाई हेर्ने मौका पाएँ । तर त्यहाँ देखिएको वातावरण दलहरूबीचको खिचातानी, पदका लागि हुने प्रतिस्पर्धा, सिद्धान्तभन्दा स्वार्थ प्रधान हुने प्रवृत्ति, यी सबैले मलाई निकै निराश बनायो। मलाई लाग्यो यस्तो माहोलमा बसेर देश र जनताको हितमा प्रभावकारी काम गर्न कठिन छ । त्यसैले मैले आफूलाई यो विकृत माहोलबाट टाढा राखेर विकासको आन्दोलनमा लाग्ने निर्णय गरेको हुँ । तपाईं भन्नुहुन्छ, सुरुदेखि नै संसदीय राजनीतिमा जाने इच्छा थिएन । त्यसो भए चुनावमा किन सहभागी हुनुभयो ? यो प्रश्न धेरैले सोध्नुहुन्छ । सत्य के हो भने मेरो मूल उद्देश्य राजनीतिक पद प्राप्त गर्नु थिएन । त्यो समय मधेस आन्दोलनपछि जनतामा ठूलो असन्तोष थियो । धेरै मुद्दाहरू उठेका थिए तर राज्यले त्यसलाई गम्भीर रूपमा लिएको देखिँदैनथ्यो । त्यस्तो अवस्थामा जनताको आवाजलाई राष्ट्रिय राजनीतिक संरचनामा पु‍र्‍याउने एउटा माध्यम संसद् पनि हुन सक्छ भन्ने सोच बन्यो । हामीले चुनावमा भाग लियौं र जनताले अत्यन्त ठूलो समर्थन दिनुभयो । त्यो समर्थनले हामीलाई जिम्मेवारी पनि दियो । त्यसैले संसद्‌मा गएर जनताका मुद्दा उठाउने प्रयास गरें। तर समय बित्दै जाँदा संसदीय राजनीति धेरै हदसम्म पद, शक्ति र समीकरणको खेलमा सीमित भइरहेको मैले पाएँ । जनताका वास्तविक समस्या समाधान गर्नेभन्दा पनि सत्ता समीकरण मिलाउने काम बढी देखियो । तपाईं संसद्‌मा रहँदा मन्त्री बन्ने अवसर पनि आएको थियो भनिन्छ । तर तपाईंले अस्वीकार गर्नुभयो किन ? सांसद भएपछि स्वाभाविक रूपमा धेरै राजनीतिक समीकरणहरू आउँछन् । मन्त्री बन्ने प्रस्ताव पनि आएका थिए । तर मैले त्यसमा कुनै चासो देखाइनँ । मेरो लागि मन्त्री पद कुनै लक्ष्य थिएन । यदि लक्ष्य नै पद प्राप्त गर्नु हो भने राजनीति सजिलो हुन्छ । तर लक्ष्य जनताको जीवन परिवर्तन गर्नु हो भने त्यो निकै कठिन हुन्छ ।मन्त्री बनेर केही काम गर्न सकिन्छ भन्ने तर्क पनि हुन सक्छ । तर त्यो पदमा पुग्दा धेरै सम्झौता गर्नुपर्ने अवस्था आउँछ । धेरैपटक आफ्नै सिद्धान्तबाट पछि हट्नुपर्ने हुन्छ ।  त्यसैले मैले सुरुदेखि नै आफूलाई त्यस्तो प्रतिस्पर्धाबाट टाढा राखें । संसदीय राजनीतिलाई तपाईं विकृत माहोल भन्नुहुन्छ ? यसलाई अलि स्पष्ट पार्नुहुन्छ ? म सम्पूर्ण संसदीय प्रणालीलाई गलत भन्न चाहन्नँ । लोकतन्त्रको एउटा महत्त्वपूर्ण अंग हो संसद् । तर हाम्रो अभ्यासमा केही समस्या देखिएका छन् । उदाहरणका लागि विचार र सिद्धान्तभन्दा सत्ता समीकरण प्राथमिक हुने, नीति निर्माणभन्दा पद बाँडफाँटमा बढी ध्यान जाने, जनताको मुद्दा उठाउनेभन्दा दलगत स्वार्थ हावी हुने यी प्रवृत्तिहरूले संसदीय प्रणालीलाई कमजोर बनाइरहेका छन् । मैले व्यक्तिगत रूपमा यस्तो वातावरणमा सहज महसुस गर्न सकिनँ । त्यसैले आफूलाई त्यहाँबाट अलग राख्ने निर्णय गरेको हुँ । संसदीय राजनीतिबाट टाढिएपछि तपाईंको भूमिका के हुनेछ ? संसद् छोड्नु भनेको देश र समाजबाट अलग हुनु होइन । बरु म अब अझ सक्रिय रूपमा विकास र सामाजिक परिवर्तनको आन्दोलनमा लाग्न चाहन्छु । हामीले देखेका धेरै समस्या राजनीतिक भाषणले मात्र समाधान हुँदैनन् । त्यसका लागि प्रत्यक्ष काम गर्नुपर्छ । अव म शिक्षा सुधार, रोजगारी सिर्जना र स्थानीय विकास परियोजनाहरूमा जनसहभागितामार्फत काम गर्ने योजनासहित अगाडि बढ्छु । तपाईं विकासको आन्दोलन भन्नुहुन्छ, त्यसको स्वरूप कस्तो हुनेछ ? विकासको आन्दोलन भनेको केवल सडक आन्दोलन होइन, यो समाज परिवर्तनको दीर्घकालीन अभियान हो । हामीले केही क्षेत्रमा विशेष ध्यान दिने सोच बनाएका छौं । शिक्षा, रोजगारी र स्थानीय विकास यी तीन क्षेत्रमा काम गर्न सकिन्छ । यो निर्णयलाई कतिपयले राजनीतिक रणनीति पनि भन्न सक्छन् , तपाईं के भन्नुहुन्छ ? राजनीतिमा सबै निर्णयलाई रणनीतिक रूपमा पनि हेरिन्छ । त्यो स्वाभाविक हो । तर मेरो निर्णय व्यक्तिगत अनुभव र विश्वासबाट आएको हो । म आफूलाई सहज नलागेको ठाउँमा बसिरहन चाहन्नँ । म विकास र सामाजिक आन्दोलनमार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छु भने त्यो नै मेरो लागि ठूलो उपलब्धि हुनेछ । अन्त्यमा तपाईंले जनतालाई के सन्देश दिन चाहनुहुन्छ ? नेपाल परिवर्तनको ठूलो सम्भावना भएको देश हो । तर परिवर्तन केवल नेताले मात्र ल्याउने होइन । जब नागरिकहरू सक्रिय हुन्छन्, समाज सचेत हुन्छ र युवाहरू नेतृत्व लिन तयार हुन्छन् तब वास्तविक परिवर्तन सम्भव हुन्छ । म संसदीय राजनीतिबाट टाढिए पनि देशको विकास र जनताको समृद्धिका लागि मेरो प्रतिबद्धता पहिले जस्तै दृढ छ । म खालि विकृत माहोलबाट मात्रै टाढिन चाहेको हुँ, सामाजिक आन्दोलनबाट होइन ।

'देश विकासका बाधक सचिवहरू रहेछन्, स्वार्थ मिलेन भने फनफनी घुमाउँदा रहेछन्’

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन् । निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एक प्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नुपरेका समस्या, चुनौती र पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीले रासससँग गरेको कुराकानीको सम्पादित अंशः     शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भयो । प्रधानमन्त्रीका हैसियतले यहाँले सफल नेतृत्व गर्नुभयो । कस्तो महसुस भइरहेको छ ? मलाई त्यस्तो बेग्लै महसुस त भएको छैन । तर, देशको चिन्ता सबैलाई थियो । एउटा अनिश्चयकाबीच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो । देशको बारेमा चिन्ता गर्ने, मुलुकको भलाइ चाहने सबै खुसी छन् । म पनि खुसी छु । सरकारलाई जुन जिम्मेवारी तोकेर दिइएको थियो । त्यो हामीले समयमै पूरा गर्न सक्यौँ । आनन्दजस्तो महसुस भएको छ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । जेनजी आन्दोलनपछिको अवस्था भएकाले सुरुसुरुका दिनमा पक्कै पनि चुनौतीहरु थिए । ती चुनौतीहरुलाई कसरी सम्झनुहुन्छ ? मैले नेतृत्व लिएका अवस्थामा धेरै चुनौतीहरु थिए । आफैँलाई पनि काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लागेको थियो । समय जम्मा छ महिनाको थियो । त्यसमाथि प्रहार धेरैले गरे । अविश्वास पनि गरे । हाम्रोविरुद्ध सिङ्गै पुराना दल उभिए । जेनजी हुँ भन्नेहरुले तुरुन्तै छोड पनि भने । जेनजीको आन्दोलनलाई अपहरण गरेर आयौँ भने । त्यसबेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए । मन्त्रिपरिषद्का सदस्यले एकअर्कालाई सान्त्वना दिँदै काम गर्‍यो । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा पनि ‘सम्भव छ र ?’ भन्ने जस्ता प्रश्न आउँथे । शान्ति र सहानुभूतिको कुरा धेरैतिरबाट आएन । हाम्रा पछाडि समर्थकको ठूलो पङ्क्ति र सङ्गठन थिएन । हामी सीमित मान्छे सरकारमा थियौँ । त्यो बीचमा धेरै हमला भयो । हामीप्रति मानिसको विश्वास पनि थिएन । त्यसमाथि एउटा महिला भन्ने खालका टिप्पणी सुनिँदै थिए । तर मैले एक कानबाट सुनेँ, अर्को कानबाट उडाइदिएँ । आफ्नो काम छोडिनँ । त्यस्तो कठिन अवस्थामा ‘म सक्छु नेतृत्व गर्न’ भन्ने आँट, साहस र भरोसा चाहिँ कहाँबाट आयो ? म सक्छु भन्ने मनभित्रैदेखि नै आयो । प्रधानमन्त्री हुनुभन्दा पहिला मैले अन्दाज गरेको रैनछु । मेरो शरीर, तागत, बल १६ देखि १८ वर्षको जस्तो रहेछ । सक्दिँन भन्ने भयो भने त उच्च रक्तचापका कारण मानिसलाई त ‘सक’ हुन्छ । पत्रपत्रिकामा जताततै आलोचना मात्रै आउँथ्यो । मेरो त रक्तचाप बढ्नुको सट्टा घट्दै आयो । डाक्टर नै छक्क पर्नुभयो । तर मेरो आत्तिने बाँनी छैन । त्यो भोगेर पनि आएको हो । राजनीतिक एउटा मूल्यमान्यता हुन्छ । न्यायालयका मानिसले पनि भोगेर त आएका हुन्छन् । एउटा सकसको अवस्था मैले सामना गरेरै आएको हो । अदालतमा एकै महसुस गरिन्थ्यो । तर त्यहाँ अभिव्यक्त गर्न पाइँदैन । यहाँ अभिव्यक्त गर्न पनि पाइन्छ । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई सानैदेखि आँट गरेर केही काम गर्‍यो भने जे पनि गर्न सकिन्छ भन्ने लाग्थ्यो । आत्मविश्वास पनि थियो । मैले धेरैपटक भगवान्लाई गुहारेँ । मलाई लाग्यो कि कहिले माओवादीको सशस्त्र द्वन्द्व भनेको छ, मान्छे मारेको छ । कहिले के भनेको छ । कहिलेसम्म नेपालीले ज्यान फाल्ने ? ‘भगवान्, यतिचाहिँ गर्नुस्’ भनेर मैले हात जोडेँ ।      मलाई नपुग्दो केही छैन । प्रधानन्यायाधीश भएँ । प्रधानमन्त्री भएँ । मेरा छोराबुहारी छन् । नाति छ । बस्ने बास छ । मलाई सबै कुरा तृप्त छ । ‘मलाई अब निजी कुरा केही चाहिएन, म जन्मेको, हुर्केको देशलाई त्राण देऊ भगवान्’ भनेँ । मैले जेजे मागेँ, त्यही पुग्यो । त्यो मलाई आशीर्वाद दिएको होला पिताजी, माताजीहरुले माथिबाट। । निर्वाचनको दिन पानी पर्दैन भनेँ, पानी परेन । हिउँ झर्दैन भनेर मैले भनेँ, झरेन । मैले मेरो आत्मविश्वासले यस्तो भनेकी थिएँ । संयोगबस मौसम राम्रो भयो । अनि प्रकृतिलाई पनि धन्यवाद भनेकी छु । देशको नेतृत्व गरिरहँदा सबैभन्दा कठिन मोड, अब मैले सक्दिनँ कि भन्ने कुनैबेला लाग्यो कि ? त्यस्तो त पटकपटक लाग्यो नि । जेनजी आन्दोलनका सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन हृदयाघात नै होलाजस्तो भयो । पत्रपत्रिकामा ‘सक्दैन सरकारले’ भनिरहेकै देखिन्थ्यो । एउटा जेनजीले भन्यो, ‘हामीले सरकार चलाउनुपर्ने तिमीले किन चलायौँ ।’ तिनीहरुले पहिला राष्ट्रपतिसँग ‘म सक्छु भन्न सकेनन् । सरकारको अवधि सकिने बेलामा ‘मलाई मन्त्री बनाइदेऊ’ भन्न आइरहेका थिए । तर म रिसाइनँ, ती बच्चा, केटाकेटी न हुन् ।      एक/दुई जनाले त ‘यसलाई असफल बनाएर आफै प्रधानमन्त्री बन्छु’ पनि भने । राजनीतिक दलको भनाइ चाहिँ तपाईं प्रधानमन्त्री भए पनि राजनीतिक दलको मन्त्री राखेर सरकार चलाउनु भन्ने पनि आएको थियो । यो देशमा प्रधानमन्त्री सबैभन्दा ठूलो कुरा हुने रैछ । मेरा लागि त त्यस्तो अमूल्य छैन । म अहिले पनि प्रधानन्यायाधीश भन्न नै मनपर्छ । न्याय क्षेत्रकै सङ्गत मनपर्छ । तर मानिसलाई प्रधानमन्त्रीमा आकर्षण हुने रैछ । ‘त्यो सुशीलाले सक्ने, हामीले नसक्ने ?’ पनि भने । अपशब्द पनि बोले । यस्तो कपडा लगाएको, चुरा यस्तो लगाएको, बाङ्गो भएर हिँडेको भन्ने जति त सबै भने । जति आलोचना गरून्, मलाई केही फरक पर्दैन । आफ्नो नजर हो । निर्वाचन अब हुन्छ भनेर ढुक्क चाहिँ तपाईंलाई कुन बिन्दुबाट लाग्यो ? गत भदौ २७ गते प्रधानमन्त्रीमा मेरो नियुक्ति भयो । त्यसको भोलिपल्ट २८ गते शनिबार थियो, २९ गतेदेखि निर्वाचन आयोगले काम सुरु गर्‍यो । हामीले सबैभन्दा पहिला जेनजी आन्दोलनमा सहादत पाएका सहिदका परिवारको समस्यामा ध्यान दियौँ । उहाँहरुका परिवारले जेजे भन्नुभयो, त्यो सुन्यौँ र त्यसैअनुसार काम गर्‍यौँ । त्यसपछि निर्वाचनमा ध्यान दियौँ । निर्वाचनमा सहयोगका लागि छिमेकी मुलुकलाई पनि अनुरोध गर्‍यौँ । प्रहरीसँग गाडी अपुग थिए । मित्रराष्ट्र भारत र चीनबाट सहयोग पनि प्राप्त भयो । मुख्य ध्यान निर्वाचनमै केन्द्रित गरेर काम गर्‍यौँ । निर्वाचन आयोगले मागेको कुरामा सहजीकरण सबै गर्‍यौँ । मानसिक वातावरण बनाउनका लागि राष्ट्रपतिसँग छलफल गर्‍यौँ । जेनजीका २१/२२ वटा समूह निस्किए । एउटाले एउटा भन्छ, अर्काले अर्को भन्छ । पार्टीको भातृ सङ्गठनजस्तो भयो जेनजी त । कोहीले कार्यकारी प्रधानमन्त्री, कोहीले निर्वाचित प्रधानमन्त्री र केहीले संविधान संशोधन गर्न भने । संविधानले गर्न नमिल्ने कुरा पनि भनिरहेका हुन्थे । जेनजीहरुले भनेको कुरालाई नसुने झैँ गर्न पनि भएन । राजनीतिक दल भन्छन्– यो सरकारले निर्वाचन मात्रै गराउने हो । जेनजी भन्छन्– सबै काम गर, यो त विद्रोहबाट आएको सरकार हो । हामी त ताइमा फुलौरा उफ्रिएजस्तो भयौँ । त्यो अवस्था पनि भोग्नुपर्‍यो । विभिन्न आरोहअवरोहका बीचमा ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । मनभित्र जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेजस्तो लागेको छैन ?  त्यस्तो मलाई लागेको छैन । जीवनमा एक कक्षाको परीक्षा दिइयो, पास भइयो । दुई कक्षाको परीक्षा दिइयो, पास भइयो । पढ्दापढ्दै स्नातकोत्तर पास भइयो । जीवनमा समयअनुसार परीक्षा भइरहन्छ । साँच्चै भन्नुहुन्छ भने यो जीवनको एउटा सङ्ग्राम थियो । मुलुकले राहत पायो । सुरुमा मेरो मुखबाट शब्द निस्किएको थियो, ‘निर्वाचनमा मान्छे मर्नुहुँदैन । एकथोपा रगत पनि झर्नुहुँदैन ।’ अन्ततः त्यस्तै शान्तिपूर्ण भयो । म आमजनतालाई धन्यवाद दिन चाहन्छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीलगायत सबै सुरक्षाकर्मीको निर्वाचन यसरी सफल पार्न ठूलो योगदान छ । म प्रधानमन्त्रीको हैसियतले धेरै धन्यवाद दिन चाहन्छु। निर्वाचन र सरकारलाई सफल पार्न कसको कस्तो सहयोग मिल्यो ? सरकारको मूल कार्यभार निर्वाचन गराउने थियो । यसको ५० प्रतिशत श्रेय म निर्वाचन आयोगलाई दिन चाहन्छु । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीन आयुक्तको नेतृत्वमा भएको योगदान इतिहासले बिर्सन सक्ने छैन । आयोगमा पाँच जना पदाधिकारी हुनुपर्नेमा तीन जनाले पनि यति ठूलो काम गर्नुभयो । म प्रधानमन्त्रीका हैसियतले तीनै जना पदाधिकारीलाई र सिङ्गो आयोगलाई धन्यवाद दिन चाहन्छु । मन्त्रिमण्डलमा सबैभन्दा धेरै धन्यवाद म गृहमन्त्री ओमप्रकाश अर्याललाई दिन चाहन्छु । दिनरात मेहनत गर्नुभएको छ । अरु मन्त्रीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । सरकारले यो सफलता पाउनुमा प्रत्येक नागरिकको उत्तिकै योगदान छ । चारवटै सुरक्षा निकायका प्रमुखहरूले पनि एकीकृत सुरक्षा योजना बनाउन र प्रभावकारी रुपमा लागू गरी मुलुकलाई यो ठाउँमा सुरक्षित अवतरण गर्न ठूलो भूमिका खेल्नुभएको छ । मलाई सफल पार्नका लागि मेरो निकट रहेर दुई सहयोगी व्यक्तित्व प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सन नहुने गुन लगाउनुभएको छ । रावल जी पत्रकार मात्रै होइन, उहाँमा इमानदारी र मानिसलाई सहयोग गरूँ भन्ने भावना मात्रै छ । प्रमुख स्वकीय सचिव श्रेष्ठ अदालतको कर्मचारी हो । अदालतमा काम गर्ने प्रविधि र कानुनमा राम्रो ज्ञान भएको कानुनकै विद्यार्थी पनि हो । धेरै प्रधानन्यायाधीशको निजी सहायकका रुपमा काम गरेको व्यक्ति हो । म प्रधानन्यायाधीश हुँदा पनि निजी सहायक नै थियो । सचिवालयमा २०/२५ जनाले गर्ने काम यिनीहरुले गरे ।      लामो समय अदालतमा काम गरेको, आइटी र कानुनमा राम्रो दख्खल भएको व्यक्ति हो । धेरै प्रधानन्यायाधीशको सचिवालयमा निजी सहायक भएर सबैको विश्वास जितेर काम गरेको हो । यो उमेरमा मलाई सफल पार्न ७५ प्रतिशत आदर्शको हात छ । उसैको देनका कारण सम्भव भयो । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा पहिला ४०–५० जना कर्मचारी हुन्थे । म सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । अर्को नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द विष्ट र सेनानी सुरज ओझा अत्यन्तै विद्वान् हुनुहुन्छ । उहाँहरूले संसारभरिका विषयमा मलाई अपडेट गराउनुहुन्थ्यो । उपसेनानी गोमा बूढाथोकीले मलाई छोरीले जस्तै हेरचाह गर्नुभयो । सचिवालयका विषयलाई लिएर बीचमा विवाद पनि आयो नि । त्यो खास के भएको थियो ?  मेरो घर भएको क्षेत्र नेवारी क्षेत्र हो । मेरो घरायसी व्यवस्थापनमा उहाँहरुबाटै सहयोग पाइरहेको थिएँ । बालुवाटारको निवास र अन्य व्यक्तिगत सरसहयोगका निम्ति तिनै चिनेजानेका केही नेवार समुदायका मान्छे लिएर आएँ । उहाँहरूको काम कुनै राजकाजको सरकारी काम थिएन, विशुद्ध मलाई निजी कुरामा सहयोग गर्ने मात्र थियो । प्रमुख स्वकीय सचिव आदर्श पनि नेवार । पछि त सबै आदर्शका आफ्ना नातागोता भनेर ‘नेपोटिजम’ को कुरा ल्याइयो । ती आदर्शका मान्छे नभएर मेरा मान्छे थिए । त्यो आलोचना ठीक लागेन । अनि मैले खाना पकाउनेदेखि धेरैलाई हटाएँ । केही दिन आफैँले खाना पकाएँ । त्यसपछि सुरक्षाकर्मीले पनि सघाए । आलोचना त हुन्छ तर अचम्मचाहिँ यसअघिका प्रधानमन्त्रीहरूले सचिवालयमा ९० जनासम्म राख्दा नेपोटिजम केही भएन । म ७३ वर्षको उमेरमा आएर सबै काम आफैँ गर्नुपर्छ भनेर बाध्य बनाइयो । हटाउने अवस्थामा पुर्‍याइयो । मलाई सिधै आक्रमण गर्न नसकेपछि मेरो सचिवालयका कर्मचारीलाई आक्रमण गरेका थिए । तर, आजको दिनमा ती सबैलाई धन्यवाद नै दिन चाहन्छु । निर्वाचन गराउन सुरुमा राजनीतिक दलहरुसँग संवाद गर्नुपर्ने मुख्य चुनौती थियो । त्यो चुनौतीको सामना कसरी गर्नुभयो ?  मुलुकमा १२५/१३० पार्टी थिए । विविध विचारका छन् । धेरैको मुखमा रामराम, बगलीमा छुरा । केही एक्लै पार्टी चलाएका छन् । पैसा उठाएर हिँड्ने । हर प्रकृतिका मानिस छन् । कोही साम्यवादी, कोही प्रजातन्त्रवादी छन् । कोही पूर्वराजाकामा जानेछन् । प्रधानमन्त्री जोसुकै होस्, देश बनाऊँ न भन्ने कोही छैन । खाली कुर्सीको मोह मात्रै छ । कुर्सीमा बसेर सबैथोक हुँदैन । मुलुक बनाउने हो भने आआफ्नो क्षेत्रमा काम गरे पुग्छ । अरू केही नगरे पनि आफ्ना छोराछोरीलाई राम्रोसँग पढाए परिवार त बन्छ । तर कुर्सी मोह मात्रै देखिन्छ । कानुनी क्षेत्रबाट आएको मान्छे मलाई छ महिना कटाउनै पर्छ भन्ने पनि लागेको थिएन । गाली पनि खायौँ । कति नराम्रोसँग गाली गर्ने नेतासँग भेट्यौँ । राष्ट्रपति कार्यालयमा जेनजीका प्रतिनिधिसँग बस्दा अहिले नै ‘गेटआउट’ भनेको पनि सुन्यौँ । ‘तँलाई प्रधानमन्त्रीमा राख्दैनौँ’ भने । त्यो तँ तँ र म म पनि सह्यौँ । ‘तैँले भनिस्, म निस्केर गएँ’ भनेर छाडेको भए देशको जिम्मा कसले लिन्थ्यो ? म पनि यही देशको जनता हो । यो देशप्रति माया मलाई छ । मैले छोड्न मिल्दैनथ्यो ।      राजनीतक दलका मानिसलाई धेरै भेट्यौँ । प्रमुख राजनीतिक दलका नेताहरु नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासहित १२५ वटै पार्टीसँग पनि छलफल गर्‍यौँ । त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा मुलुकलाई त ल्यायौँ नि । एउटा आइजिपीले मलाई हप्काएको थियो, बोल्दाबोल्दै । यो सबै सङ्घर्ष त थियो नि । पुराना कर्मचारी र पुराना सचिवले त पुरानै दल खोजिरहेका थिए । नयाँले नयाँ कुरा गर्छन् । त्यो सबै सहेर अहिले शान्तिपूर्ण अवस्थामा पुर्‍यायौँ । त्यसका लागि अथक प्रयास गरियो । एकैदिनमा १४ वटा बैठकसम्म गरेँ । धेरैपटक राति २–३ बजेसम्म पनि बसेका छौँ । प्रत्येक दिन पाँच वटा, १० वटा बैठक गरेको छ, मान्छे भेटेको छ । वातावरण बनाउने प्रयासकै लागि थियो त्यो । फेरि संस्कार कस्तो भएको रैछ भने हरेकलाई प्रधानमन्त्री भेट्नैपर्ने, फोटो खिच्नैपर्ने, त्यो पनि गरियो । किनभने, जसरी पनि चुनावी वातावरण बनाउनु थियो । निर्वाचनको दिन बेलुका ५ः०० बजेसम्म पनि के हो, के हो भन्ने भइरहेको थियो । मतदान हुँदाहुँदै हमला हुने हो कि भन्ने अवस्थालाई रोकियो । धार्मिक साम्प्रदायिक कुरालाई लिएर ठाउँठाउँमा तनाव सिर्जना गरिए । ती पनि रोक्यौँ । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखेर निकम्मा बनाइएको रहेछ । अहिले त्यो गृह मन्त्रालय मातहत राखेर क्रियाशील गराइएको छ । यो निर्वाचन सम्पन्न गर्न र धेरै ठूला दुर्घटना टार्न अनुसन्धान विभागको सूचनाले महत्वपूर्ण काम गरेको छ । विघटित प्रतिनिधिसभा पुनःस्थानाका लागि तत्कालीन प्रमुख दलहरु सर्वोच्च अदालतमा समेत गएका थिए नि ? सरकारलाई जसरी पनि निर्वाचन गराउनु थियो । सबै दलहरुसँग पटकपटक संवाद, छलफल गरिरह्यौँ । मुलुकलाई पूरै निर्वाचनतर्फ डोहोर्‍याउने काम गरियो । अन्ततः सफल भयो ।  निर्वाचनमा नयाँ दलले झण्डै दुई तिहाइ हैसियतमा विजय हासिल गरेको छ, पुराना स्थापित दलहरू कमजोर देखिए । यो परिणामलाई कसरी लिनुभएको छ ?  अहिलेको मतपरिणाम युवाको हो । जेनजी आन्दोलनको असर पनि हो । परिर्वतनको चाहना पनि हो । तर पुराना दलले पनि आत्तिनुपर्दैन । नयाँले मात्तिनु पर्दैन । हामीले पनि नसोचेको भयो । मैले त ओली जी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ । उहाँको ३०र४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो । अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ । राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन् । वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन् । तपाईंलाई भोट दिन्छन् भनेको थिएँ । त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिए । जनताले दिएको मतलाई सम्मान गर्नुपर्छ । रास्वपाले पाएको मतको सम्मान गर्नुपर्छ । विपक्षीले थोरै मत पाएको भए पनि रास्वपाले त्यसलाई सम्मान गर्नुपर्छ । राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ । निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्नुहुँदैन । पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नुपर्छ । सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ । राजनीति भनेको सामाजिक सेवा हो । भारतमा इन्दिरा गान्धीले त्यसैगरी हार्नुभएको थियो, पछि जित्नुभयो । नेपालका परिपक्व भएका नेतालाई जनताले बिर्सिँदैनन् । आज एउटा लहर आएको हो, भोलि अर्को आउन पनि सक्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावनाबमोजिम अहिलेको सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि केके काम गर्न सक्यो ? सुशासन र भ्रष्टाचार नियन्त्रणमा हामीले सक्दो प्रयास ग¥यौँ । विगतका सरकारले गर्नेजस्तो ह्वारह्वार खर्च गरेनौँ । मैले तबल लिइनँ । म बालुवाटारमा बस्छु । त्यति मात्रै हो । केही लिन्नँ । बुलेट प्रुफ गाडी, बाहिर यात्रा गर्दा नेपाली सेनाको हेलिकप्टरको प्रयोग गर्नुपर्ने रहेछ । केही मन्त्रीले पनि तलब लिनुभएको छैन । केही मन्त्रीको त अर्को आयस्रोत नै छैन, लिनैपर्‍यो । हामीले अनावश्यक खर्च कटौती गर्‍यौँ । निर्वाचनमा पनि जम्मा ३२ अर्ब खर्चको हिसाब छ । तर त्यो खर्च प्रहरी, सेना र सुरक्षा सामग्रीमा गएकोसमेत हो । भोलि पनि काम लाग्ने सामग्री छन् । अत्यावश्यक मात्रै खर्च भयो । निर्वाचन आयोगले पनि न्यूनतम खर्च गरेको छ, एकदम मितव्ययी भएर । राष्ट्रियसभाको निर्वाचनमा चार करोड अनुमान गरेकामा दुई करोड मात्रै खर्च भएको छ ।      मलगायत केही मन्त्रीले त रातो पासपोर्ट नै बनाएनौँ । विदेश भ्रमणमा गएर राज्यकोषमा भार थपेनौँ । निर्वाचनको अवस्था बुझ्न र त्यहाँ परिचालित जनशक्तिलाई ढाडस दिन केही जिल्लामा गयौँ । मलाई लाग्छ, यति मितव्ययिता अपनाउने सरकार विगतमा थिएन ।  कर्मचारीतन्त्र र सुरक्षा सङ्गठनमा नियुक्ति र बढुवा गर्दा कतै चलखेलको ठाउँ नराखी ज्येष्ठता र कार्यक्षमतालाई आधार मान्यौँ । ती सङ्गठनको दीर्घकालीन मनोबल बढाउने काम गर्‍यौँ । विश्वविद्यालयजस्ता प्राज्ञिक थलोहरूलाई हामी उचित सम्मान दियौँ । त्यहाँका नियुक्तिमा हस्तक्षेप गरेनौँ । हामीले १९ वटा विश्वविद्यालयका सभामा हुने नियुक्ति र मनोनयनमा हाम्रा मान्छे भनेर सूची दिएनौँ । जबकि त्यहाँ ४५ जनासम्म नियुक्ति हुने रहेछ र ती सबै सदस्य रुलिङ पार्टीको मात्रै हुने रैछ । नातागोता कसैलाई नियुक्ति गरेनौँ । सुरक्षा सङ्गठनका प्रमुखहरू कार्की थरका भनेर पनि टिप्पणी गरिए । तर उहाँहरु मेरो नाताका कार्की होइन, गोत्र पनि मिल्दैन क्यारे । मुख्यसचिव बनाउँदा पनि ज्येष्ठतालाई ध्यान दियौँ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, सिआइबीलगायत संस्थाले अभूतपूर्व व्यावसायिक स्वतन्त्रताका साथ काम गरेका छन् । म ती संस्थाका प्रमुख तथा पदाधिकारीहरूको उच्च प्रशंसा गर्दछु । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले पनि यो सरकारका पालामा कुनै भनसुन सुन्न नपरेको भन्दै हुनुहुन्थ्यो । सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभागजस्ता संस्थालाई प्रधानमन्त्रीको मातहतबाट सम्बन्धित मन्त्रालयमा पठाइदिएँ । मुलुकका १९ वटा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने रैछ । यसमा संशोधन गर्न खोजेका थियौँ तर अध्यादेश ल्याउन सम्भव भएन । जो पायो । त्यही राख्ने होइन । विज्ञताका आधारमा राख्नुपर्छ ।      भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन सार्वजनिक र कार्यान्वयनको माग उठिरहेको छ । यसमा सरकारले के गरिरहेको छ ? आयोगले प्रतिवेदन बुझाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेर आउने निर्णय लिन्छौं । अब हामीसँग धेरै समय पनि छैन । नयाँ जनादेश आइसकेको छ । नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ । केही दिनमा नयाँ सरकार बन्दैछ । नयाँ सरकारलाई यहाँको सन्देश के हुन्छ ? नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्छ– सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था । सबैभन्दा  ठूलो समस्या रोजगारीको अभाव छ । भएका अवसरमा पनि नातावाद छ । यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ । खुलेआम भ्रष्टाचार रोख्नुपर्छ । सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने मैले देखेको छु । त्यहाँ काम गर्ने कर्मचारीहरु राजनीतिकरण हुने गरेको देखियो । हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन् । आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने । अख्तियार देखाउने । केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने । त्यो मैले रद्दी देखेको छु । सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ । समयमा कुनै परियोजना पूरा हुँदैनन् । नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौँ । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ । ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ । अन्यथा कतैबाट सहयोग भएन । कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनुपर्छ । ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु । अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन । पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिसक्नुभएको छ । अब जिम्मेवारीबाट बाहिरिएपछि के गर्नुहुन्छ ? मैले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेँ । अब म पुरानै निजी दैनिकीमा फर्किंन्छु । राष्ट्रपति हुने भन्ने पनि चर्चा छ नि ?  अब अरु कुनै मोह छैन । मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ । अन्त्यमा, आफ्नो प्रधानमन्त्री कार्यकालको भन्नैपर्ने केही कुरा छन् ?  सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो । विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन् । नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ । देशमा बस्ने वातावरण बनाउनुपर्छ । विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस् । शिक्षामा सुधार जरुरी छ । देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ । प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ । अब द्वन्द्व र तनावको अवस्था नहोस् । सबै मिलेर बस्ने वातावरण बनोस् । बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु । मलाई बालेनप्रति विश्वास पनि छ । केही होला भन्ने आशा छ ।