१० वर्षपछि विदेशबाट विद्यार्थी नेपाल पढ्न आउने सम्भावना छ-विष्णु पोखरेल

बोस्टन एजुकेशनल सर्भिस प्रा.लिका प्रबन्ध निर्देशक विष्णु पोखरेल विगत १३ वर्षदेखि शैक्षिक परामर्श सेवामा सक्रिय छन् । लामो शसस्त्र द्वन्द्व, राजनीतिक संक्रमण, अस्थायीत्वले भविष्यप्रति निरास भनेर नेपाली युवा विदेशीने दिन विस्तार परिवर्तन हुने उनको विश्लेषण छ । विगतमा विदेशमा अध्ययन गर्ने जाने विद्यार्थी मध्ये फाट्टफुट्ट मात्र नेपाल फर्कने गरेकोमा अब विदेशमा शिक्षा लिएपछि नेपाल फर्कने क्रम बढ्ने र अागामी १० वर्षपछि शैक्षिक परामर्शदाताहरु विदेशी विद्यार्थी नेपाल ल्याउने दिशामा जान सक्ने उनको विश्लेषण छ । प्रस्तुत छ विष्णु पोखरेलसँगको कुराकानी । विष्णु पोखरेल, प्रबन्ध निर्देशक-बोस्टन एजुकेशनल सर्भिस प्रा.लि. शैक्षिक परामर्श सेवा सञ्चालन गर्नुभएको कति भयो ? अफिसियली २००६ बाट शुरु गरेको हो । त्योभन्दा अघि डेनमार्कको एउटा कलेजसँग एशोसिएट थिएँ । एकजना डेनिस केयर नेपालको प्रतिनिधि हुनुहुन्थ्यो । उनी आफ्नो देशको एक स्कूलमा एशोसियट रहेछन् । उनले डेनिस ल्याङ्ग्वेज पढ्न नेपालदेखि विद्यार्थी जान चाहन्छ भने मेरो कलेज छ भनेर मलाई भने । त्यसपछि मैले २/४ जना विद्यार्थीहरु पठाए । ४ देखि ६ महिनाको ल्याङ्ग्वेज कोर्ष गरेर उनीहरु त्यहाँको युनिभर्सीटीमा अध्ययन गर्न सक्ने स्थिति हुन्थ्यो । डेनिस ल्याङ्ग्वेज फाउन्डेसनको रुपमा पढ्ने हो । त्यसपछि युनिभर्सीटी, कलेज पढे विद्यार्थीहरुलाई जागिर खान धेरै सजिलो हुन्थ्यो । स्थानीयहरुसँग भिज्नका लागि पनि धेरै सहज हुन्थ्यो । पछिल्लो समयमा त्यसरी ल्याङ्ग्वेजको लागि गएपछि युनिभर्सीटीहरुले १ वर्षको शुल्क शुरुमै लिने चलन आयो । रकम पनि उच्च भएकोले विद्यार्थीहरुलाई जानको लागि हामीले नै डिस्करेज गरेका छौं । डेनमार्कमा १/२ वटा कलेजले मात्रै सिधै विद्यार्थी लिन्छन् । उक्त देश विद्यार्थीको लागि सुरक्षित छ । डेनिसहरु धेरै फ्रेण्डली हुन्छन् । अपराध भन्ने हुँदैन । भष्टाचार जिरो, देश राम्रो छ । डेनमार्कमा कति छन् नेपालीहरु ? पहिले करिब ३/४ हजार भएकोमा अहिले विद्यार्थीहरु गएर त्यहीँ सेटल भएका छन् । सन् २००७ देखि सेटल भएर पीआर लिएर बसेकाहरु गरी करिब १० हजार पुग्लान् । शुरुका दिनहरुमा त्यहाँ नेपालीहरुले धेरै संघर्ष गर्नु परेको थियो । अहिले उच्च ओहोदा बैंक, आईटी लगायतको छुट्टाछुट्टै कम्पनीमा नेपालीहरु कार्यरत छन् । त्यतिमात्रै होइन राजनीतिमा पनि नेपालीहरु स्थापित भएका छन् । त्यहाँको स्थानीय राजनीतिमा नेपालीहरु सहभागी भएको अवस्था छ । पढ्न जाने मध्ये कति नेपाल फर्कन्छन् ? मैले २००५ मा पठाएको विद्यार्थीहरुमध्ये मलाई थाहा भएसम्म २/४ जना मात्रै फर्केका छन् । किनभने कोही त्यहाँबाट पढ्न नसक्ने विद्यार्थीहरु पोर्चुगल स्पेनतिर गएका देखिन्छन् । कति फ्रान्सतिर गएर त्यहाँका आर्मी भएको देखिन्छ । पढ्ने विद्यार्थीहरु राम्रो अध्ययन गरेर ग्रीनकार्ड लिएर डेनमार्कमै बसेका छन् । जो पढ्न नसक्ने विद्यार्थीहरु अन्य देशतिर डाइभर्ट भएको अवस्था हो । पढन् विदेश जाने नेपालीहरु पछि नेपाल नफर्कनुको कारण राजनैतिक अवस्था पनि हो । विगतमा १० वर्ष सशस्त्र द्वन्द्वमा देश रोमलियो । सो समय नेपालमा शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी नभएको कारणले गएको नेपालीहरु फर्कन चाहेनन्, त्यतै बसे । पछिल्लो समय राजनीतिक अवस्था सुध्रिदै गएको छ , शान्ति छाएको छ, अध्यारोदेखि उज्यालोतिर देश अघि बढेको छ । विगतमा भविश्य नदेखेर विदेश गएकाहरु अब नेपाल फर्कने कुरा गर्दैनन् ? म बीच–बीचमा विदेशमा यात्रा गरिरहन्छु । दुई महिनाअघि मात्रै यूएसबाट आएको हुँ । यूरोप गइरहन्छु । विदेशमा बस्ने नेपालीहरु वामगठवन्दनदेखि आशावादी छन् । नेपालमा केही राम्रो भयो भने कति आउलान् । सबै होइन, ५/१० प्रतिशत नेपाली फर्कन राजी छन् । त्यहाँ स्थापित भइसकेकाहरु कि एनआरएनएको रुपमा व्यापार गर्न आउन तत्पर छन् अथवा राजनैतिक पहुँच देखाउन आउन तत्पर छन् । सर्वसाधारण जो स्थापित नभएका आउछन् । सबै फर्कदैनन् । नेपालीहरु धेरै जसो विदेशमा आफ्नै विजनेश गरेर स्टाब्लिस्ट भएका छन् । २०४६ पछि नेपालबाट सर्वसाधारणहरु विदेश जान थालेका हुन् । विगतमा राणाहरु जान्थे । सर्वसाधारणहरु पछि मात्र जान थालेका हुन् । सर्वसाधारणहरु गएका देशमा शुरुमा उनीहरुको अवस्था दयनिय थियो । अहिले आएर नेपालीहरु उच्च पहुँचमा पुगेका छन् । अाफूले काम गर्ने, सिक्ने अनि विजनेश स्टाब्लिस्ट गर्ने गरेका छन् । त्यहाँ विजनेशको सिस्टम छ । उनीहरु एउटा सिस्टममा बसिसकेकोले नेपाल आएपछि घुलमिल हुन समय लाग्छ । हाम्रोमा सिस्टमको विकास हुनु पर्यो । अहिले काठमाडौं उपत्यकामा धुलोले हिड्न नसक्ने अवस्था छ । धुलाम्य हुन्छ । नेपालमा सिस्टम बसेको छैन । सिस्टममा देश आयो, वातावरण राम्रो भयो भने उनीहरु फर्कन चाहन्छन् । विकसित देशको जस्तो सुविधा नेपालमा पनि हुनुपर्यो ताकि नेपालीहरु विदेश नजाउन् । डेनमार्कमा सहजै सिस्टमको माध्यमले ट्याक्स उठ्छ । नेपालमा त्यस्तो छैन । यहाँ विभिन्न ढनाढ्य, विजनेशम्यानहरुले कर छलेको कुरा बाहिर आएको छ । पटक पटक करफछ्र्याैट आयोग बन्छ । मलाई लाग्छ, दुनियाँमा कँही पनि यस्तो आयोग हुँदैन । सरकारले यी सबै पाटोहरु सुधार गरेर विदेशमा बसेका नेपालीहरुलाई लगानी गर्न आग्रह गर्दै, सुरक्षाको पनि ग्यारेन्टी दियो भने आउन सक्छन् । सबैले पहिले आफुलाई हेर्ने हो, अनि परिवार । त्यसपछि देशलाई । देशले त्यो वातावरण तयार गरिदिनु पर्छ । आफूले विदेशमा पठाएको विद्यार्थीको प्रगतिबाट लोभिएर तपाईलाई पनि विदेश जान मन लाग्दैन ? त्यस्तो सोच नआउने होइन तथापी विभिन्न जिम्मेवारी छन् । मैले देशमा बस्नु पर्छ । जानेको कुरा बताउनुपर्छ भनेर म यही बसेको हुँ । म राजनैतिक पार्टीसँग पनि जोडिएको छु । मेरो पनि बाध्यताहरु छन् । त्यसको सट्टा विदेशमा देखेको, सुनेको कुरा ल्याएर नेपालमै सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । शुरुका दिनहरुमा म कन्सल्टेन्सी व्यवसाय गर्छु भनेर सोचेको थिइन । मैले विदेश जानकै लागि गरे । मेन्टालिटी त्यतै गएकोले सिकेँ । त्यसै सन्दर्भमा २००६ मा म यूरोप घुमे । यूरोप घुम्ने मौका पाएँ । त्यहाँ मैले विभिन्न अध्ययन गरे । समग्र अध्ययन गर्दा म मेरै देशमा बसेर केही गर्छु भनेर नेपालमा बस्ने निर्णय गरेको हुँ । मलाई घुम्न जान मन लाग्छ । तर उही नै बस्नुपर्छ भन्ने सोच अहिलेसम्म पलाएको छैन । अहिले ४० वर्षको भए । अब यो उमेरमा त्यहाँ विदेश गएर सेटल हुन्छु जस्तो पनि लाग्दैन । म समृद्धिमा जोडिन चाहे । व्यवसाय छ । वेस्टेन एजुकेशन सर्भिसेस चलाउछु । राजनीतिलाई सेवाको रुपमा हेरेको छु । मलाई पद लोलुप्ता छैन । विगतको स्थानीय निकायमा म मेरो स्थानीय ठाँउमा अहिले नेतृत्वमा पुगकाे दलको पक्षबाट मेयरमा पनि मोरङको रतुवामाई नगरपालिकामा सिफारिस आएको हो । तर मैले लिदिन भने । जहाँ आफू बसिन्छ त्यहाँ राम्रो गरौं । बसिदैन राम्रो नराम्रो नगरौं भन्ने मेरो सोच हो । राजनैतिक कार्यकताहरु आर्थिक समृद्धिमा जोडिनुपर्छ, पार्टीले त्यहि नीति लिएको छ । मन्त्रालय फाइल बोकेर कुद्नुभन्दा, कुनै ठाँउ चन्दा उठाएर समय वर्वाद गर्नुभन्दा केही न केही व्यवसाय गरेर रहेको समय राजनीतिमा लगाउनु पर्छ भन्ने मेरो सोच हो । त्यसबाट सेवा मिल्छ । सरकारले नेपालमै रोजगार दिन्छु, विदेश गएकालाई फर्काउछु भन्छ । विदेशमा पढ्न गएका नेपालीहरु अब नेपाल फर्कन्छन् होला ? अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले जुन रुपमा आफूलाई अगाडी बढाइरहेका छन् । निश्चित रुपमा मुलुकमै राम्रो भयो भने कोही पनि विदेश जादैनन् । अबको १० वर्षमा यो इण्डस्ट्रिज अहिलेको जस्तो हुदैन । विगत १० वर्षमा भएको द्वन्द्वको कारणले अहिले यस्तो भएको हो । धरैले विदेशको बाटो रोजे । २०४६ सालपछि बहुदल आयो । देश गिरिजाप्रसाद कोइरालाको हातमा पुग्यो । त्यसपछि सशस्त्र द्वन्द्व शुरु भयो । कोइरालाले जुन ट्रयाकमा देशलाई अगाडी बढाउन पथ्र्यो त्यसो गर्न सकेनन् पछि प्रचण्डको उदय भएपछि पनि देश ट्रयाकमा आएन, उनले पनि ल्याउन सकेनन् । अहिले केपी ओली र प्रचण्डले नै महशुस गरेर वामगठवन्दनको सरकार बनाएका छन् । अहिले उनीहरुले भने जसरी नै देश अघि बढ्ने हो भने अबको १० वर्षसम्म कन्सल्टेन्सी त रहला तर अहिले जस्तो काम नगर्ला । त्यसको ठिक उल्टो नेपालबाट विदेश जानेभन्दा पनि विदेशबाट नेपाल आउनेहरुकोे लागि कन्सल्टेन्सीको जिम्मेवार समाल्लान् । हाम्रो देश सुन्दर छ । यहाँ शिक्षाको हब बनाउन सक्छौं । त्यसरी अघि बढाए भारतको बिहार, युपी, दिल्ली बंलादेशको ढाका मात्रै नभएर यूरोपीयन मुलुकहरुबाट पनि नेपालमा विद्यार्थीहरु पढ्न आउन सक्छन् । विदेश जाने संख्या घट्ला आउने बढ्न सक्छ । हाम्रो देशमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्कुल, कलेज युनिभर्सीटीको विकास गर्ने हो भने विश्वका विद्यार्थीहरुलाई आकर्षण गर्न सकिन्छ । तर अहिलेकै करिकुलम, इन्फास्ट्रक्चरले हामी केही गर्न सक्दैनौं ।  

गुराँस लाईफ इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढेको छ- नारायणकुमार भट्टराई

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको १० वर्ष पुरा भएको छ । २०६४ चैत १८ गते बीमा समितिबाट सञ्चालन अनुमति पाएको यस कम्पनीले २०६५ जेठ १७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । नयाँ जीवन बीमा कम्पनी बजारमा स्थापित हुने सजिलो छैन । सो चुनौती यस कम्पनीले पनि भोग्यो । पछिल्यो समय पनि यस कम्पनीको ग्रोथ राम्रो देखिएको छ । प्रस्तुत छ कम्पनीले दिँदै आएको सेवा, भावी योजना, पुँजी वृद्धि योजना, लगानीकर्तालाई दिने सम्भावित लाभांशका विषयमा केन्द्रित भई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईसँग गरिएको विकास वहस यस अंकमा । नारायणकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वर्तमान अवस्था कस्तो छ ? एउटा कम्पनीलाई हेर्ने भनेको वित्तीय विवरण नै हो । पहिलो नम्बरमा बिजनेश हो, यस वर्ष हामीले ३० प्रतिशत बिजनेश बढाईरहेका छौं । गत वर्षको कुल बजार २१ प्रतिशतले बढेको थियो, हामीले ३५ प्रतिशत बढाएका थियौं । चैत मसान्तमा हामीले ४० प्रतिशत नाफा बढाएका छौं । जुन तेश्रो नम्बरको वृद्धि हो बीमा बजारमा । जीवन बीमा भनेको आजको भोली नै ठूलो प्रगति हुने क्षेत्र होइन । यसमा धेरै पक्षले काम गर्छन् । नयाँ कम्पनी आएका छन् । कम्पनी नयाँ भए पनि काम चाँही पुरानै हो । नयाँ कम्पनीलाई कति गाह्रो हुन्छ भन्ने कुरा मैले दुई वटा कम्पनीमा काम गरेर भोगिसकेको छु । नयाँ भनेर बजारमा आएपछि नयाँ केहि दिनैपर्छ । लोगो मात्रै नयाँ भएर हुन्न । सीईओ पुरानै, कर्मचारी पुरानै, पोलिसी पुरानै हुन्छन् अनि बजार पनि पुरानै हो । सफ्टवेयर पनि पुरानै हुन्छ । अहिले बीमा कम्पनीहरुमा प्रयोग भईरहेको सफ्टवेयर ५० प्रतिशत भन्दा बढि नम्बर ल्याउनै नसक्ने खालको पुरानो छ । गुराँसमा तपाई प्रमुख कार्यकारी अधिकृत भएपछि के के काम भए ? म जीवन बीमा कम्पनीहरुतर्फ योङ सीईओमा पर्छु । तर जीवन बीमातर्फ मात्रै काम गरेर लामो समय सीईओ भएको म नै हुँ । म विगत १५ वर्षदेखि लाइफ इन्स्योरेन्स कम्पनीमै छु । गत मंसिरमा मैले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सीईओको जिम्मेवारी पाएँ । त्यसयता कम्पनीमा धेरै परिवर्तन गरिसकेको छु । हार्डवेयर, नेटवर्क, सेक्युरीटी सिस्टम नयाँ ल्याइसकेको छु । साउनदेखि सफ्टवेयर पनि नयाँ राख्ने तयारी भैसकेको छ । चलाउन सहज र काम गर्न सहज हुने सफ्टवेयर हामी उपयोग गर्दैछौं । तपाईँले ल्याउने नयाँ सफ्टवेयर अरु कम्पनीले पनि उपयोग गर्छन् कि गर्दैनन् ? त्यो सफ्टवेयर अरु कम्पनीले प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् ? नयाँ केही कम्पनीले त्यो सफ्टवेयर प्रयोग शुरु गरिसकेका छन् । हामीले पुरानो तथ्यांकलाई समेत अद्यावधिक गर्नुपर्ने भएकाले अलि समय लाग्छ । लाइफ इन्स्योरेन्स भन्ने बित्तिकै बीमितलाई आकर्षित गर्न कस्तो पोलिसी ल्यायो भन्ने प्रश्न आउँछ । गुराँसले के त्यस्तो पोलिसी ल्याएको छ, जसले बजारलाई प्रभावित पारिरहेको छ ? हामीसँग एक्सक्लुसिभ प्रडक्टहरु छन् जुन बजारमा पनि साह्रै राम्रोसँग रुचाईएको छ । बीमा गर्यो भने जीवनभरमा आफैंले पैसा पाइन्छ र मरियो भने परिवारले पैसा पाउँछ भन्ने सोँच छ । लाइफ इन्स्योरेन्स भनेको आज विज्ञापन गरेर भोलि बेचिने प्रडक्ट होइन । आवश्यकता, म्याच हुने प्रडक्ट र पैसा भएपछि मात्रै बीमा गराउँछन् । यो सिलसिलालाई छाडेर हामीले नयाँ योजना ल्याएका छौं । जसको नाम सुरक्षित भविष्य जीवन बीमा योजना भनेका छौं । यहि आर्थिक वर्षमा ल्याएका हौं । एकजनाले बीमा गराउँदा तीन पुस्तासम्मलाई लाभ हुन्छ । जीवनभर बीमितले पाउँछ, समय सकियो भने राम्रो रिटर्न आउँछ । अवधि सकिएपछि जीवनभर पेन्सन पनि पाउँछ । उसको मृत्युपछि परिवारले जति रकमको बीमा गरेको हो, त्यो बराबर परिवारले पैसा पाउँछन् । बाजेबजैले बीमा गर्दा त्यसको लाभ नातिनातिनासम्मले पाउँछन् । एउटै योजनामा सावधिक, पेन्सन प्लान र आजीवन रिटर्न हुन्छ । बीमा गरेपछि १५ बर्ष पर्खिनुपर्छ, मेरो पैसा थुप्रियो भन्ने कुरा पनि आउँछ । त्यसका लागि हामीले बार्षिक नगद फिर्ता जीवन बीमा योजना ल्याएका छौं । यो योजना विगत २ वर्षदेखि कार्यान्वयनमा छ र यस्तो बीमा योजना हामीसँग मात्रै छ । जसले एक वर्षपछिदेखि नै लाभ दिन थाल्छ । एक करोडको बीमा गरियो भने वर्षको चार लाख रुपैंयाँ फिर्र्ता हुन्छ र एक करोडको जोखिम वहन गरिरहन्छ । यस पोलिसीले गत वर्ष मात्रै ३८ प्रतिशत हिस्सा ओगटेको छ । हामीसँग १२ वटा बीमा पोलिसी छन् । अब तीन पुस्तालाई हुने योजनाले यसको भन्दा राम्रो बजार लिने आशा छ । नयाँ तीन वटा प्रडक्ट ल्याउने तयारी भैरहेको छ । भविष्यका योजना के के छन् ? ठूलो व्यापार बढाउने र एक नम्बर हुने योजना छैन । मेरो पहिलो प्राथमिकता भनेको दीर्घकालसम्म कम्पनीलाई अघि बढाउने भन्ने हो । बिजनेश बढाउने, अण्डरराइटिङ, राम्रो सेवा, सुरक्षित लगानी र दीर्घकालिन प्रतिफलका लागि मेरो ध्यान छ । हामी जसको पनि बीमा गराउने, जेको पनि बीमा गराउने काम गर्दैनौ । बीमा गराएपछि राम्रो सेवा दिनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छु । राम्रो सर्भिस र इन्नोभेटिभ प्रडक्ट तयार पारियो भने राम्रो हुन्छ भन्ने मान्यता हो । अहिले सबैले कम्पनीको प्रगति हेर्दा बिजनेश हेर्छन् । आगामी वर्षदेखि हाम्रो बिजनेश पनि राम्रोसँग ग्रोथ हुन्छ । हामीले गर्ने काम भनेको बिजनेश मात्रै पनि होइन, यो देश निर्माणसँग पनि जोडिएको छ । जनताको पसिनाबाट आर्जन गरिएको पैसाबाट उपयुक्त लाभ दिने पनि हाम्रो कर्तव्य हो । कम्पनीको पुँजी वृद्धि योजना के छ ? दुई बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गत साधारणसभाबाट भईसकेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी करिब १०० करोड हुन्छ । त्यसपछि एक बराबर एक अनुपातमा फेरि हकप्रद सेयर जारी गरेर २०० करोड भन्दा बढी पुँजी बनाउने योजना छ । लगानीकर्ताले यस कम्पनीबाट कति प्रतिफल पाउने छन् ? कम्पनीको बिजनेश ग्रोथ राम्रो छ । जीवन बीमा कम्पनीमा लगानी गर्नु भनेको राम्रो छ । हामीले लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश दिने लक्ष्य राखेका छौं । कम्पनीले बीमितलाई दिने बोनस दर कति छ र बोनस दर बढाउनेतर्फ कम्पनीले कति ध्यान दिएको छ ? यसमा एउटा मात्रै पक्षले भूमिका खेल्दैन । यसमा न्यूनतम र अधिकतमलाई मिलाउनु पर्छ । बोनसलाई मात्रै हेरिनु पनि हुन्न । बैंकमा पैसा राखेपछि ब्याज आँउछ । बीमामा पैसा राख्दा पहिलो कुरा सुरक्षा, निक्षेप र रिटर्न आउँछ । तर त्यो राखेको पैसाको आउने होइन । त्यो त हामीले हस्तान्तरण गरेको जोखिमको रिटर्न हो । हामीले प्रति हजारमा यति रुपैयाँ भनेर बोनस दिन्छौं । बैंकले एक बर्षमा पाउने ब्याज यति हो भनेर दिन्छ तर बीमामा पहिले नै कसैले पनि यति दिन्छौं भन्न सक्दैनन् । बीमा कम्पनीले कमाईको ९० प्रतिशत ग्राहकलाई बाढ्ने हो र १० प्रतिशत लगानीकर्तालाई दिने हो । कति बोनस दिने भन्ने कुरा अघिल्लो वर्षको यसपाली मात्रै हुन्छ । एक्चुरी गराउनुपर्छ र नेपालमा त्यस्तो एक्चुरी गराउने मान्छे नै छैनन् । हामीले ४१ रुपैंयाँ देखि ७६ रुपैंयाँसम्म बोनस दिने गरेका छौं । बोनस दर भनेको अर्थतन्त्रमा पनि निर्भर गर्छ । बैंकहरुले दिने ब्याजदरमा पनि भर पर्छ । हामीले जुन प्रिमियम लिएका छौं, त्यसका हिसाबले हामी राम्रो रिटर्न दिन्छौं । चुनौती के के छन् कम्पनीका ? प्राविधिक पाटोमा ठूलो चुनौती थियो, साउन १ गतेदेखि यो सकिँदैछ । दोश्रो चुनौती भनेको दक्ष जनशक्तिको अभाव हो । हामीले नयाँ जनशक्ति उत्पादन गरिरहेका हुन्छौं, तर जोगाएर राख्न मुस्किल छ । अर्काे चुनौती भनेको ९ वटाबाट १८ वटा कम्पनी पुगेका छन् । उही कर्मचारी, उही अभिकर्ता छन् तर कम्पनीको संख्या दोब्बर भएको छ । बीमा सम्बन्धी खासै जनचेतना बढेको छैन । आज १० प्रतिशत नेपालीको बीमा भएको छ तर यो न्युन उपलब्धि हो । बुझ्ने मान्छे कम छन्, बुझेकाहरुले पनि बीमा गराउँदैनन् । बीमा बुझाउने र आवश्यकता महशुस गराउने काम गर्नुपर्नेछ हामीले ।   अझै ठूलो चुनौती भनेको ठूलो व्यवसाय रहेको तराई क्षेत्रमा बीमा बजार बढाउन सकिएको छैन । त्यहाँ पारिपट्टीका कम्पनीहरुले खुल्लम खुल्ला लुटिरहेका छन् । हामीले विभिन्न ठाउँमा अभिकर्ता मार्फत जनजागरण ल्याउने प्रयास गरिरहेका छौं । विदेशी कम्पनीमा बीमा गराउँदा देशलाई पनि घाटा छ र तपाईले पनि लाभ नपाउने सम्भावना हुन्छ है भनिरहेका छौं । नयाँ कम्पनीले कति कर्मचारी खोसे ? नयाँ कम्पनीले २० जना कर्मचारी खोसेका छन् । यो भनेको थोरै हो, एउटा कम्पनीबाट १२० जना खोसिएका रहेछन् । बीमा क्षेत्र नागरिकको प्राथमिकता सूचिमा किन पछाडि पर्यो ? आम्दानीको न्यून सीमा भएर । पैसा हुनेले पनि बीमा प्रति शंका गरिरह्यो रिटर्न आउँछ भन्नेमा । हामीले जसरी बजारीकरण गरिरहेका छौं, त्यो शैली पनि राम्रो भएन । हामीले बीमा गराउनैपर्छ भनिरहेका छौं, त्यो भन्दा बुझाउन तिर लाग्नु चाँही ठिक हुने थियो । कम्पनी ११ औं वर्षमा प्रवेश गर्दैछ, के छन् योजना ? हामी सामाजिक काममै केन्द्रित भएका छौं । जेठको १७ गते मात्रै होइन, त्यसपछिका दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने योजना बनाएका छौं । बीमा कम्पनी भनेको जनताकै कम्पनी हो । कम्पनीलाई अघि बढाउन के के गर्नुपर्छ ती सबै काम गर्छाै । ७० वटा शाखा छन् । तीमध्ये अधिकांश शाखामा केहि न केहि काम गर्छाै । १७ गते धेरै शाखाबाट रक्तदान कार्यक्रम गर्नेछौं ।  

छोराले बाऊ जन्माएपछि धेरै वर्ष बोलचाल भएन, पशुपतिका कारण भवानीले गोल्डेन चान्स पाइन्: गणेशभक्त शाखः

गणेशभक्त शाखः, अध्यक्ष–शाखः समूह सोल्टी होटलमा आयोजित एक रात्रीभोजमा उद्यमी किरणकुमार शाखःले आफ्नो ८९ वर्षिय बुबाको सक्रियता, निर्णय क्षमता, स्मरणशक्तिको चर्चा गर्दै अझै बुबाको सहमति नलिई अफिसका कुनै पनि निर्णय नहुने कुरा सुनाउँदै थिए । त्यसपछि हामीले गणेशभक्त शाखसँग अन्तरवार्ता लिने सोच गर्यौं र समय लियौ । तिनकुने स्थित शाखः समूहको कार्यलय पुग्दा गणेशभक्त शाखः मिटिङमा थिए । केही बेर कुरापछि उनको कक्षमा छिर्यौं । हामी छिर्दा उनी दराजमा फाइल मिलाउँदै थिए । व्यवसायिक घरानाको अफिस, दिनभर घाम छिर्ने ठूलो कोठा, त्यसभित्र अनगिन्ती फाइलहरुले भरिएका दराजहरु । उनी यस्तो व्यवसायी कि आफूलाई चाहेको फाइल आफै दराजभित्रबाट झिक्ने, काम सकिएपछि आफै राख्ने । सहयोगी नचाहिने । विज्ञानले पुष्टि गरेको छ धेरै हात चलाउने, नाङगो खुट्टाले हिड्ने मानिसको स्मरण शक्ति तेजिलो हुन्छ । गणेशभक्त शाखःमा त्यो देखियो । हामीले कुराकानी शुरु गर्यौ उमेर र सक्रियताबाटै । कति वर्ष हुनुभयो ? ८९ वर्षको भएँ । ८९ वर्षीय मान्छे, यति ठूलो उद्योगको मालिक, अब पनि आफै फाइल बोकेर हिड्नुहुन्छ ? फाइल बोकेर कुदिरहने इच्छा छैन । तर एक दुईटा पुराना फाइल आफैले चलाईरहेको छु, त्यसको लागि आफै जानुपर्छ । आफै गयो, तपाई आफै किन आउनु पर्यो ? भन्छन् । आफू नगई काम हुँदैन । नगई उपाय पनि छैन । मैले अफिसको काम धेरै छोडिसेके । अफिसमा अचेल म ढिला आउँछु । नआउँ भने कहाँ जाने ? खान खाएपछि कहाँ जाने ? अफिस आयो । पत्रपत्रिका पढ्यो । भेट्न आउनेहरुसँग भेट्यो, कुरा गर्यो । एक/दुईवटा काम गर्यो । अब छोराहरुलाई जिम्मेवारी सुम्पने बेला भएन ? उनीहरुले नै हेर्छन् अहिले । कसले के हेर्छन् ? जेठा छोरा किरण, गार्मेन्टमा काम गर्यो । गार्मेन्ट उत्पादक संघ, उद्योग वाणिज्य महासंघका काम ग¥यौं । उसलाई धेरैले चिन्छन् । माइलो छोरा तेज, उसले सिमराको फ्याक्ट्री हेर्छ । साइला प्रभातले औषधि उद्योग हेथ्र्यो, ऊ बित्यो । चौथो छोरा विश्व, ऊ केमिकल इन्जिनियर हो । उसले भक्तपुरको पेन्ट, मेटल फ्याक्ट्री हेर्छ । कान्छो छोरा ज्योतिप्रकाशले सबै फ्याक्टीको नगद प्रवाह, फाइनान्स, बैकिङ हेर्छ । छोरीहरु नि ? तीन छोरी छन् । एउटा छोरी पञ्चकन्याको प्रदीपकुमार श्रेष्ठलाई दिएँ । अर्की छोरी भक्तदाश श्रेष्ठलाई दिएँ । उनी गुञ्जमान सरदारको परिवार हुन् । कान्छी छोरी डेन्टिष्ट । उनको विवाह काठमाडौंको बज्राचार्य  परिवारमा  भयो  । तर उनीहरु अमेरिकामा बस्छन् । सबैको बस्दोबस्त राम्रो रहेछ, तैपनि तपाईँ अझै काममा भिडिरहनुहुन्छ ? परिवारमा सबै राम्रो छ । सबै छोराहरुको विवाह पनि क्वालिफाइड बुहारीसँग भएको छ । पाँच भाइ छोरालाई पाँच घर बनाइदिएको छु । व्यापारसँगै भएपनि घर, बस्ने, खाने अलग अलग छ । सबैसँग गाडी छ । छोरासँगको २/२ वटा छन् । बुहारीहरुसँग पनि १/१ वटा गाडी छन् । नाती प्रवल झनै गाडीकाे साैखिन छ । सबै आरामसँग जीवन चलाएका छन् । उनीहरुको भविष्यको चिन्ता छैन । परम्परागत चाडवाड पालैपाले एउटै घरमा मनाउने चलन छ । वर्थडे, म्यारिज एनिभर्सरी भईराख्छ । परिवारमा सधै भोज हुन्छ, कहिले कसकोमा, कहिले कसको घरमा । तपाई पनि जम्मदिन मनाउनुहुन्छ ? मनाउँछु । एमोरि पूर्णिमा पछिको द्वादशीको दिन मेरो जन्मदिन । जन्मदिनको दिन रुद्री लगाउँछु, राती भोज हुन्छ । परिवारका सबैलाई बोलाउँछु । छोराछोरी, बुहारीहरु, ज्वाईहरु, नातिनातिना । सबै जम्मा हुँदा बथान नै जम्मा हुन्छ, ४०/५० जना । तपाई रिटायर्ड कहिले हुने ? अब रिजायर्ड जस्तै हो । काम धेरै गर्दिन । घरमा बस्न मन लाग्दै । कहिले फ्याक्टीमा जान्छु । दुई दिनअघि मात्र सिराहको फ्याक्ट्रीमा गएको थिए । उद्योगमा बत्ति विग्रियो भने । के भएछ हेर्न गएको । म गएपछि बन्यो । सरकारले ८२ फिटको बाटो बनायो । हाम्रो जग्गा धेरै पर्यो । शाखः समूहमा कुन कुन उद्योगहरु छन् ? सबैभन्दा ठूलो उद्योग त शाखः स्टील नै भयो । अर्को रोलिङ मिल छ । नेपाल पेन्ट उद्योग छ । औषधि उद्योग छ । केमिकल्स उद्योग छ । सनमाइका फ्याक्टी छ तर यो उद्योग चलाउन गाह्रो भईरहेको छ । बुबाको पालादेखिको कपडा व्यापार अझै पनि गर्छौ । वार्षिक कति कारोबार हुन्छ ? सबै उद्योगको थाहा छैन । स्टील उद्योगको कारोबार वर्षिक ३०० करोड हुन्छ । सिमरामा ३०० वर्कर छन् । शाखः स्टीलको अवस्था कस्तो छ ? उत्पादन भए बिक्रीमा समस्या छैन । स्टीलको माग बढी छ । प्रयाप्त उत्पादन गर्न सकिएको छैन । हामीले बैंकबाट कर्जा लिन सक्दैनौ । कार किन्न प¥यो भने १० प्रतिशतमा कर्जा पाउँछ, उद्योग खोल्नुप¥यो भने १३ प्रतिशत व्याज भन्छन् । एक किलो फलामको माल तयार गर्दा कुल लागतको २८ प्रतिशत सरकारले पाउँछ, हामीले प्रतिकिलो १÷२ रुपैयाँ पाउने हो । तर सरकारले हामीलाई विजुली पनि प्रयाप्त दिँदैन । राजश्व जति सरकारमा मन्त्री, सांसदहरुको तलव सुविधा, सेक्युरिटी, सचिवालय खर्चमा गएको छ । उद्योगलाई सरकारले मद्दत नै गर्दैन । कति पुस्ता भयो व्यवसायमा आएको ? मैले आफ्नो पुस्ताको बारेमा धेरै अध्ययन गरे । पाँच पुस्तासम्मको जानकारी पाएँ । पाँच पुस्तासम्मको इतिहास भक्तपुरमा छ । त्यसअघिको भेटिएन । मेरो बाजेले पनि व्यापार नै गर्नुभएको हो । मेरो बुबाले जापान, सिंगापुर, भारतबाट कपडा, धागो, तेल, कपास झिकाएर उद्योग, व्यापार गर्नु भएको थियो । त्यतिबेला कर कम थियो । वर्षमा एक पटक कर तिर पुग्थ्यो । अहिले कर धेरै भयो । महिनैपिच्छे कर दिर्नु पर्ने । सालभरको १०/१२ हजार कर तिर्दा पुग्थो । अहिले एक कन्साईनमेन्ट स्टील तिर्दा ४÷५ करोड भन्सार तिर्नुपर्छ । कहाँबाट कहाँ पुग्यो । तपाईले उद्योगमा हात हाल्नु भएको कति भयो ? ४५ वर्ष भयो । २०३१ सालमा पहिलो उद्योग खोलेको । ४५ वर्ष उद्योगमा काम गर्नुभयो, थकाई महसुश हुँदैन ? थकाई महसुश हुँदैन । जे गरे पनि इष्र्या हुनुपर्छ । मैले छोराहरुसँग भन्छु–तिमीहरुसँग इष्र्या नै भएन । यो काम गर्छु, गर्छु भनेर लागेनन् । मैले गरेको काममा धेरै विस्तार गर्न सकेननन छोराहरुले । ४५ वर्षमा बजारमा कस्तो परिवर्तन आएको छ ? धेरै परिवर्तन छ । कारोबार निकै पढ्यो । तर उधारो चल्यो । यो राम्रो भएन । अहिले ९० दिनको उधारो भन्न थाले । व्यापारीहरु पनि चलाख भए । बैंक ग्यारेन्टी माग्यो भने जग्गा तेरै नाममा लेखिदिन्छु तर बैंक ग्यारेन्टी दिन सक्दिन भन्छन् । एकै जनाले २/३ करोड उधारो लिन्छ । उधारो उठाउन केही समयअघि धनगढी गएको थिएँ । पैसा माग्दा विस्तारै दिन्छु भन्छ । घर जग्गा लेखेर दिएकै छु, महँगो भएको छ । तपाईको पैसा डुब्दैन भन्छ । उसको घरमा न बस्न जानु, न बिक्री गर्नु । त्यो मलाई कामै छैन । उद्योग व्यवस्थापन गर्न सबैभन्दा गाह्रो के हुन्छ ? जनशक्ति व्यवस्थापन गाह्रो भयो । बैंकहरुले धेरै तलब दिन्छ, बोनस पनि राम्रो दिन्छ, काम पनि सेकेण्ड सेकेण्डको हिसाबमा हुन्छ । तर उद्योगमा त्यसरी काम लगाउन सकिँदैन । १० बजे आउनुपर्ने कर्मचारी साढे १० सम्म आइपुगेको हुँदैन । २ बजेपछि आधा घण्टाको खाजाको समय छ भने १ घण्टा खाजा खाजा विताउँछन् । मन लागेन भने अफिस नै आउँदैन । हिजो किन नआएको भनेर सोध्यो भने घरमा काम प¥यो भन्छ । काम लगाउँनै गाह्रो छ । आफ्नो भविष्यकोबारे के सोच्नुहुन्छ ? अब नसोचे पनि हुन्छ । म अन्तिम चरणमा पुगको छु । सामाजिक काम पनि धेरै गरे । स्कूल, कलेजको अध्यक्ष भएर धेरै वर्ष काम गरे । भक्तपुर क्यान्सर अस्पतालमा लामो समय दिए । अब सामाजिक काम पनि छोडे, राजनीति पनि छोडे । अचेल बढी समय धार्मिक काम गर्छु । राजनीति त छोड्नु भयो, भोट हाल्न पनि छोड्नु भयो कि ? भोट त हाल्छु । मंसिरमा पनि काँग्रेसलाई भोट दिए । २००३ सालदेखि प्रजातान्त्रिक आल्दोलनमा लागेको म । त्यसैले मैले संधै कांग्रेसलाई भोट दिन्छु । चन्दा माग्न कति आउँछन् ? धार्मिक कार्यलाई चन्दा दिन्छु । राजनीति गर्नेलाई चन्दा दिन्न । हामीलाई खुप पेल्छ । चन्दा माग्नेमा कम्यूनिष्ट पार्टीहरु खराव छन् ।  धम्की पनि कस्तो कस्तो कस्तो दिने । चन्दा नदिएकोले कसलाई बोरामा राखेर फालिदिए भन्यो, माअाेवादीकाे एक नेताले। सक्छस् भने मलाई पनि बोरामा राखेर फाल्, चन्दा त मरे पनि दिन्न भनेँ । बाेरामा फाल्ने धम्की दिनेले पैसा लिएरै गए कि नलिइ ? दिइन । किन दिने ? हरेक चुनावमा चन्दा माग्ने, हड्ताल गर्नु पर्ने भएपनि माग्ने । सके पो दिने । माग्ने पनि थोरै हो र ? १० लाख, ५ लाख भन्छ । मैले बढी दियो भने २५ हजार, नत्र पाँच हजार, १० हजार मात्र । चन्दाको कुरा भयो, घुस पनि खुब खुवाउनुपर्छ है ? पैसा नदिई कामै हुन्न । पैसा खाएर पनि काम गर्दैन । म एउटा उदाहरण भन्छु । लोडसेडिङ बढेपछि पुराना सबै उद्योगले विद्युतको सबस्टेशन राखेर उद्योग चलाउन थाले । हामीले पनि सब स्टेशन राखेर उद्योग चलाउन प्रयास गर्यौ । तीन वर्षअघि फाइल जोतेर (जोडबल गरेर) लगेको थिएँ । त्यतिबेला उर्जामन्त्री पोष्टबहादुर बोगटी थिए । एउटै भेटमा उनले तोक लगाइदिएका थिए । विद्युत प्राधिकरणका जनरल म्यानेजरमा फाइल पुगेपछि रोकियो । उनी बढो चल्तिको मान्छे । उसले अर्काे स्टीललाई सबस्टेशन राखिदियो, मलाई दिएन । सबस्टेशन राख्न मैले चार वर्षभन्दा बढी मिहेनत गरे । पैसा पनि धेरै खर्च भयो । तर सबस्टेशन राखिदिएन । माथि देखि तलसम्म खुवाउनु पर्ने । मैले पनि पैसा खर्च गरेँ तर अलि कन्जुस गरेँ । अरुले धेरै खर्च गरे । अरुको काम भयो, मेरो भएन । त्यसरी पैसा खुवाएर सबस्टेशन राख्दाको फाइदा के हुन् ? लोडसेडिङको बेलामा पनि विजुली आइरहने भयो । उद्योग नियमित चलाउन सकिन्छ । दोस्रो प्रति युनिट एक रुपैयाँ रिबेट (फिर्ता) हुन्छ । सबस्टेशन राख्दा जति खर्च भएपनि दुई वर्षमा नै कभर हुन्छ । तेस्रो, भोल्टेर स्थिर हुन्छ । भोल्टेज अस्थिर हुँदा धेरै सामान लस हुन्छ । स्थिर भयो भने लस हुन्न । प्रोडक्सन राम्रो हुन्छ । प्रोडक्सन राम्रो हुनु भनेको हाम्रो लागि फाइदै फाइदा । अहिले त्यो फाइल कहाँ छ ? (तत्कालिन उर्जा मन्त्री पोष्टबहादुर बोहरालाई सबस्टेशन राखिदिनु भनेर तोक लगाएको फाइल देखाउँदै) त्यतिबेला मैले धेरै मिहिनेत गरेँ । हेटौंडा, जनकपुर शाखा कार्यालयदेखि विद्युत् प्राधिकरण, उर्जा मन्त्रालय, मन्त्री सब ठाउँबाट लिनुपर्ने सहमति लिए, गर्नुपर्ने निर्णय गराएँ । तर प्राधिकरणको सुल्पियाले फाइल रोकिदियो । केही समयपछि सरकार परिवर्तन भयो । पछि त्यो फाइल खोजेको, प्राधिकरणले हरायो भने । अहिले प्राधिकरणले पुरानो फाइल हारायो, नयाँ निवदेन लेख्न भन्यो । अब छोडिदिन्छु । दुई वर्षपछि विद्युत् पर्याप्त उत्पादन हुन्छ । त्यसपछि प्राधिकरण हामीलाई नै बिजुली बढी किन्न भन्न आइहाल्छ । तपाई नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य । महासंघ अहिले कमजोर भयो भन्छन्, तपाईलाई कस्तो लाग्छ ? २०१९ सालतिरको कुरा हो, जुद्धबहादुर श्रेष्ठ, म र अरु केही साथीहरु उद्योग मन्त्रालय गयौं । मन्त्रालयमा सचिव थिए कृष्ण मल्ल । उनलाई हामीले उद्योग वाणिज्य संघ खोल्नु पर्यो भन्यौं । उनले भने–‘अहिले समय भएको छैन, समय आएपछि म तपाईहरुलाई बोलाउँछु । केही महिनापछि मन्त्रालयबाट हामीलाई बलावट भयो । म, जुद्धबहादुर, इन्द्रबहादुरलगायत ५/७ जना गएका थियो । ‘अब समय भयो, उद्योग वाणिज्य संघ खोल्दा हुन्छ’ सचिव मल्लले भने । नेपाल चेम्बर अफ कमर्शले मंसिर १४ गते लैनचौरको खानी विभागमा पहिलो सम्मेलन बोलायो, प्रतिष्ठित उद्योग, व्यापारीहरुको । राजा महेन्द्रले त्यसको उद्घाटन गरेका थिए । त्यसपछि लोकनाथ जोशीको अध्यक्षतामा उद्योग वाणिज्य संघको तदर्थ समिति गठन भयो । संघ नभएको जिल्लाहरुमा पनि संघ खोल्दै जाने निर्णय भयो । मैले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेँ । संस्थापक अध्यक्ष भएर १४ वर्ष काम गरेँ । २०२२ सालमा विधिवत रुपमा नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भयो । यसको कार्यालय नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथमा राखियो । देशभरमा ४४ उद्योग वाणिज्य संघ स्थापना भएका थिए । जिल्ला उद्योग वाणिज्य संघ मात्र सदस्य हुन पाउने । पहिलो चुनाव भयो । जुद्धबहादुरले अध्यक्ष पदमा जित्यो । कार्यसमिति सदस्यमा सबैभन्दा बढी ४३ भोट ल्याएर म विजय भएँ । महासंघमा दुई पटक चुनाव जितेर बसे । तीन पटक सल्लाहकार भएँ । चुनावअघि धेरै छलफल भएको थियो । एउटा सम्मेलनमा झोँछेका बालकृष्ण श्रेष्ठले भनेको थिए–‘नेपाल चेम्बर अफ कमर्शले छोरा जन्माउनु पर्ने ठाउँमा बाउ जन्मायो ।’ यस विषयमा पछिसम्म ठूलो छलफल भयो । मलाई सबै थाहा छ । म चेम्बरको सचिव पनि थिए । नेपाल चेम्बर अफ कमर्शमा पनि वीरगञ्ज चेम्बर अफ कमर्श, विराटनगर चेम्बर अफ कमर्श, जनकपुर चेम्बर अफ कमर्श जस्ता धेरै सदस्य थिए । पशुपति गिरीले एउटा लेखमा भनेका थिए–‘नेपाल चेम्बर अफ कमर्शले फेडेरेशनको स्वरुपमा काम गसिसकेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ किन खोल्नु पर्यो ?’ चेम्बर अफ कमर्शको नाम मात्र परिवर्तन गरे हुन्छ, नयाँ संस्था चाहिँदैन भन्ने उनको तर्क थियो । कोट्यायो भने म आफै पनि दोषी हुन्छु । वास्तवमा नेपाल चेम्बर अफ कमर्शले बाउ जन्माएको हो । पछि आएर नेपाल उद्योग वाणिज्य महासंघ चेम्बर अफ कमर्शको दुस्मनी भयो । आजसम्म नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता पनि लिएको छैन । शुरुको समयमा दुई संस्थाको नेतृत्वबीच बोलचाल नै भएन । चेम्बर अफ कमर्शको अध्यक्ष भइसकेका इन्द्रभक्त श्रेष्ठ २०३८ सालमा महासंघको अध्यक्ष भएपछि सम्बन्धमा सुधार भयो । महासंघ र चेम्बरबीच अहिले पनि द्धन्द्ध छ । यसबारे तपाईको बुझाई के छ ? चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ मलाई सोध्न आएका थिए । अब चेम्बरलाई पनि महासंघ जस्तै फेडरल ढाँचामा लैजाने । उद्योग वाणिज्य महासंघका गतिविधि समाल्नै नसकिने गरि अगाडि बढ्यो । राजधानीबाहिरको व्यवसायहरुको बाहुल्यता बढ्यो । पशुपति मुरारकालाई यसरी मोडिदियो कि महासंघले विधान संशोधन गरेर गर्नै नहुने काम गर्यो । संयोगले भवानी राणा उपाध्यक्ष भएको थियो, अहिले स्वतः अध्यक्ष भयो । राणाको लागि गोल्डेन चान्स आयो । प्रथम उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाले महासंघलाई खत्तम बनायो । यसको शक्ति सकियो । यस्तो व्यवस्था धेरै समय टिक्छ भन्ने मलाई लाग्दैन ।