सानिमा लाइफमा एनआरएनहरुले २५ लाख रुपैयाँको बीमा गर्न सक्छन्- केशवराज केसी
केशब राज केसी, नायब महाप्रबन्धक-सानिमा लाइफ इन्स्योरेन्स सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको असार मसान्तसम्मको प्रगति कस्तो रह्यो ? हामीले २०७४ साल मंसिर २२ गते कम्पनीको उद्घाटन गरेका थियौं । असार मसान्तसम्ममा ९ करोड ४४ लाख प्रिमियम संकलन गरियो । यति प्रिमियम संकलन गर्दा नयाँ कम्पनीमध्ये हामी पुछारबाट दोश्रो भएका छौं । हामीले १० करोडको प्रिमियम संकलन गर्ने योजना बनाएका थियौं । सानिमा लाइफले करिब आफ्नो उदेश्य अनुसार उपलब्धि हासिल गर्न सफल भएको छ । हामीले २२ वटा शाखा स्थापना गरिसकेका छौं । सातवटै प्रदेशमा शाखा खोली सकेका छौं । कतिवटा प्रडक्ट बजारमा पुगेका छन् र अन्य कम्पनीका प्रडक्ट भन्दा कति फरक छन् ? हामी अहिले पाँचवटा प्रडक्ट बेचिरहेका छौं । तीमध्ये बालबालिका केन्द्रित सानिमा बाल सौगात भन्ने पोलिसी अरुभन्दा भिन्न छ । अहिलेसम्म कसैले पनि सुरुमै बोनस दिएका छैनन् । हामीले यो पोलिसीमा ६५ बोनस घोषणा गरेका छौं । यो पोलिसीले बालबालिकाको उच्च शिक्षाका लागि पनि सहयोग गरोस् भन्ने सोच बनाएका छौं । १६ बर्षमा एसईई पास गर्नेहरुले १७ औं देखि २० औं जन्मोत्सबसम्म जति रकमको बीमा गरेको हो त्यसको २० प्रतिशतका दरले पैसा दिन्छौं । २१औं जन्मोत्सवमा चाँही बाँकी बोनससहितको रकम दिन्छौं । चार बर्षमा ८० प्रतिशत रकम फिर्ता गर्छाैँ । बाँकी २० प्रतिशत र पुरै बोनस २१औँ जन्मोत्सवमा फिर्ता गर्ने व्यवस्था छ । ३ महिनाको शिशुको पनि बीमा गर्न सकिन्छ । न्युनतम १० बर्षको समय सिमा चाँही आवश्यक पर्छ । २१ बर्षसम्ममा बीमाको लाभ लिईसकेको भएपनि अर्काे थप पाँच बर्ष चाँही अतिरिक्त जोखिम व्यहोरिदिन्छौं । त्यसका लागि थप प्रिमियम लिँदैनौं । साधारणतयः २१ बर्षको उमेर भनेको विदेश अध्ययन गर्न जाने लहरको हो । त्यसैले केहि सहयोग पुगोस भनेर ५ बर्ष अतिरिक्त जोखिम बहन गरिदिएका हौं । नयाँ प्रडक्ट के के ल्याउँदै हुनुहुन्छ ? केहि प्रडक्ट डिजाइन भैरहेको छ । एक्चुरीसँग छलफल भैरहेको छ । करिब ४ वटा प्रडक्टबारे तयारी गरिरहेका छौं । केहि समयभित्रै बजारमा ल्याउँछौं । के के फिचर छन् भन्नेबारे चाँही अहिले नै नबोलौं । तर बजारका अन्य प्रडक्ट भन्दा भिन्न र आकर्षक चाँही पक्कै पनि हुनेछन् । नेटवर्क विस्तारको योजना के छ ? अहिले २२ वटा शाखा सञ्चालनमा छन् । आर्थिक बर्ष २०७५।७६ मा थप ४५ वटा शाखा खोल्ने योजना छ । बीमा समितिबाट स्वीकृति पनि पाईसकेका छौं । जनशक्ति व्यवस्थापन कसरी गरिरहनु भएको छ ? इन्स्योरेन्स सम्बन्धी दक्ष जनशक्तिको अभाव छ भन्ने कुरा सबैले स्वीकार गरेका छन् । अलि पहिले सेवा आरम्भ गरेका नयाँ कम्पनीले पुराना कम्पनीका राम्रा मान्छे लगिसकेका थिए । हामी अलिपछि सेवा आरम्भ गर्ने कम्पनीमा पर्यौं । त्यसकारण हामीले खासै मानिस पुराना कम्पनीबाट ल्याउन पाएनौं । फरक फरक कम्पनीबाट मानिस ल्याउँदा फरक फरक कार्य शैलीका कारण समस्या आउने सम्भावना पनि देखियो । त्यसकारण हामीले नयाँ मानिस लिएर काम गराईरहेका छौं । यसरी आफ्नै योजना र कार्यशैली अनुसार जनशक्ति उत्पादन गरेर अघि बढ्ने योजना छ । नेपालमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ, लाइफ इन्स्योरेन्स कम्पनी कसरी अघि बढ्छ ? पक्कै पनि नेपालका सन्दर्भमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ । सानिमाको इमेजलाई हामीले अझै बढाउँछौं । उर्जा कम्पनीदेखि बैंक हुँदै नन लाइफ र लाइफ इन्स्योरेन्ससम्म आईपुगेको छ यो नाम । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पनि अरुले जसरी नै ब्राण्ड इमेज बनाउँदै जानेछ । लाभदायी पोलिसी र राम्रो सर्भिस मार्फत ब्राण्ड इमेजलाई बढाउँदै लैजान्छौं । सानिमा बैंक, सानिमा जनरल इन्स्योरेन्स र सानिमा लाईफबीचको संस्थागत सम्बन्ध के हो ? यी सबै स्वायत्त संस्था हुन् । सानिमा लाइफ र जनरलमा सानिमा बैंकको संस्थागत लगानी छ । तर कार्य सम्पादनमा एकले अर्काेलाई हस्तक्षेप गर्दैनन् । लाइफमा ३८ जना जति प्रमोटर छन्, जनरलमा १९ जना प्रमोटर छन् । कम्पनीमा प्रबिधीको प्रयोग कसरी गरिरहनु भएको छ ? सानिमा लाइफले प्रबिधीको धेरै उपयोग गर्ने प्रयास गरिरहेको छ । हामीले देशभरका शाखाहरुको सूचना एकै पटक प्राप्त गर्न सकिने व्यवस्था गरिरहेका छौं । कुनै शाखाले एउटा प्रपोजल इन्ट्री गराउने वित्तिकै केन्द्रमा जानकारी प्राप्त हुन्छ । हामी तीन देखि चार महिनाभित्र सानिमा लाइफलाई पेपरलेश बनाउने प्रयासमा छौं । सानिमा लाइफको आईपीओ कहिले आउँछ ? पहिला असार मसान्तसम्मको वित्तिय विवरण तयार गर्नुपर्नेछ । वित्तिय विवरणलाई बीमा समितिबाट पास गराएर बार्षिक साधारण सभामा लैजान्छौं । साधारणबाट आईपीओको प्रस्ताव पारित गराउँछौं । फटाफट काम भयो भने यहि आर्थिक बर्षमा पनि आइपीओ आउन सक्छ । कम्पनी सञ्चालनमा आएको लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको नियुक्तीमा किन ढिलाई भयो ? हामीले अनुभवी सिर्इअाे खोजीरहेका छौं । त्यसका लागि प्रयास पनि भैरहेको छ । विज्ञापन पनि गरेका थियौं तर हामीले सोचेको जस्तो व्यक्तिबाट आवेदन नै आएन् । इन्स्योरेन्स क्षेत्रमा अनुभव नभएका व्यक्तिहरु त आएका थिए तर हामीले चाहेका जस्तो व्यक्तिहरु आएनन् । हामीले अहिलेसम्म सोचे जस्तो व्यक्ति फेला पारेका छैनौं । पाउने वित्तिकै नयाँ सिर्इअाे नियुक्त हुन्छ । अहिले पनि हामी खोजी गरिरहेका छौं । मेरो कुरा गर्नुहुन्छ भने म सिर्इअाे बन्न यहाँ आएको होइन । मैले सिर्इअाे मलाई चाँहिदैन, दोश्रो पदभन्दा तल पनि बस्दिन भनेरै कम्पनीमा आएका हुँ । अभिकर्ताहरुको संख्या र सामर्थ्य कस्तो छ ? सानिमा लाइफले ११ सय जना अभिकर्ता तयार पारिसकेको छ । यी सबै हामीले आफ्नै प्रयासबाट उत्पादन गरेका हौं । हामीले एक जना अभिकर्ता पनि अरु कम्पनीबाट लिएका छैनौं । उनीहरुको सामर्थ्य कस्तो छ भन्ने बुझ्न चाँही केहि समय अझै कुर्नुपर्छ । थप पाँच सात महिनाको काम हेरेपछि उनीहरुको सामर्थ्य थाहा हुन्छ । जनशक्ति तानातानको प्रतिष्पर्धा कस्तो छ ? अहिले बीमा बजारमा जनशक्ति तानातानदेखि हरेक क्षेत्रमा प्रतिष्पर्धा छ । हामीले पनि अरु कम्पनीका कर्मचारी तानेका छौं । हाम्रो कम्पनीका मानिस पनि अरु कम्पनीले लगेका छन् । हामीले ५० हजारमा ल्याएका कर्मचारीलाई अरुले ६० हजार दिएर लगेका छन् । कर्मचारी तानातानमा केहि कडाई गर्नुपर्ने कुरा पनि उठेको छ । तर हामीलाई मान्छे चाहिएको छ, काम चाहिएको छ । बजारमा जनशक्तिको अभाव छ । त्यसकारण १० हजार बढी तिरेर भएपनि कर्मचारी तानौं न भन्ने हुने रहेछ । हामीले अभिकर्ता चाँही शतप्रतिशत नै नयाँ तयार गरेका हौं । कर्मचारी चाँही केहि अरु कम्पनीबाट पनि ल्याएका छौं । म आफैं पनि अर्कै कम्पनीबाट आएको हुँ नी । बीमा बजारको प्रतिष्पर्धा चाँही कस्तो रहेछ ? गत बर्षको बजारलाई हेर्ने हो भने २४।२५ प्रतिशत बजार बढिरहेको देखिन्छ । म बीमा क्षेत्रमा आउँदा राजा महेन्द्रको भाई बुहारी हेलेन शाहको ३ लाख रुपैंयाँको बीमा गराउँदा सबै अचम्मित भएका थिए । म बीमा संस्थानमा थिएँ, सबैले वाफ रे वाफ ३ लाख रुपैंयाँको बीमा गरेको भन्थे । त्यो जमानाको अनुभव पनि बटुलेको छु । त्यतिबेला बीमा संस्थानले स्वास्थ्य परिक्षण नगरि कुनै पनि प्रपोजल स्वीकार गर्दैनथ्यो । हामीले एक जना साथीलाई भनेर २ हजारको म्यादी बीमाको फारम भर्न लगायौं । स्वास्थ्य परिक्षण शुल्क नै ३० रुपैंयाँ लाग्यो । उसले प्रिमियम २२ रुपैंया तिर्यो । कम्पनीलाई उल्टै ८ रुपैंयाँ घाटा लाग्यो । त्यसपछि स्वास्थ्य परिक्षण नगरी प्रपोजल लिने चलन बसेको हो । अहिले बजार यति माथी पुगी सक्यो की मेरो कम्पनीमै एक करोड ४० लाखका २ वटा बीमा पोलिसी बिकेको छ । उनीहरुले बार्षिक १० देखि १२ लाखसम्म प्रिमियम तिर्छन् । एक डेढ लाखका प्रपोजल त आउनै छाडिसक्यो । पाँच सात लाख भन्दा साना प्रपोजलको माग नै कम आउँछ । प्रतिष्पर्धा त बजारमा स्वभाविक नै हो । पुराना कम्पनी थिए, हामी नयाँ कम्पनी आयौं । अहिले बीमा सहभागीता ११ प्रतिशत पुगेको छ अर्थात ८९ प्रतिशत नागरिक अझै बीमाको पहुँच भन्दा बाहिर छन् । अहिले बीमा बजारमा प्रतिष्पर्धासँगै अवसर पनि ठूलै छ । सानिमा लाइफको लक्षित वर्ग चाँही कुन हो ? हामीले बिशेष लक्षित वर्ग बनाएका छैनौं । बढी भन्दा बढी नेपालीलाई बीमाको दायरामा ल्याउनुपर्छ भनेर प्रडक्ट बनाईरहेका छौं । औषतमा सबै नेपालीले सानिमा लाइफबाट बीमा गराउन सक्छन् । हरेक खालको आय भएका नेपालीलाई बीमा पोलिसी उपलब्ध गराउँछौं । एउटा नागरिकले बीमा कम्पनीमा आएर मेरो बीमा गराउनु पर्यो, के के छन् पोलिसी भन्ने दिन कहिले आउँला ? हाम्रो जस्तो बचतमा आधारित प्रडक्ट बढी बिक्ने देशमा नागरिकले बीमा कम्पनी खोज्दै हिड्ने दिन आउन समय लाग्छ नै । विदेशमा भने टर्म लाइफको योजना खोज्दै नागरिक बीमा कम्पनीसम्म पुगिरहेका हुन्छन् । हामीले बचतमुखी योजना बेच्नुपर्ने अवस्था छ । नेपालमा भने कमाई भएका बेलामा बीमा मार्फत बचत गरेका हुन्छन् । जागिरको अवधी सकिएपछि सरकारले नहेर्ने परिपाटी भएकाले कमाई भएका बेलामा बचत गर्ने नाममा बीमा गर्ने चलन हामी कहाँ छ । वास्तवमा बीमा भनेको जोखिम हस्तान्तरण हो । तर हामीले बचत वा लगानी दुबै समेत भन्ने गरेका छौं । यतिबेला चाँही बीमा भनेको जोखिम हस्तान्तरण र लगानी दुबै हो । एनआरएनहरुको बीमा गर्ने प्रक्रिया कहाँ पुग्यो ? कसरी हुन्छ ? सानिमा लाईफमा एनआरएनहरुको लगानी छ । उनीहरुको जीवन बीमा गर्नका लागि हामीले केहि पहल गरेका थियौं । एनआरएनहरुले पनि जीवन बीमा गर्न पाउनु पर्छ भनेका थिए । हामीले बीमा समितिसँग पनि छलफल गर्यौं । नन मेडिकल तर्फको २५ लाखसम्मको एनआरएनको बीमा गर्न सकिने निष्कर्ष आयो । अब एनआरएनहरुले नेपाली बैंकमा रहेको खाता मार्फत नेपाली रुपैंयाँमै प्रिमियम तिरेर बीमा गर्न सक्छन् । हामीले भुक्तानी गर्दा पनि नेपालमै रहेको बैंक खाता मार्फत नेपाली रुपैंयाँमा नै भुक्तानी गर्नेछौं । एनआरएनहरुको बीमा गर्छाै तर प्रिमियम पनि यहिँ लिन्छौं र भुक्तानी पनि यहिँ दिन्छौं । नेपाली कम्पनी, नेपालीमै कारोबार अनि नेपालीमै भुक्तानी दिन्छौं ।
उपचार गर्न विदेश जानु पर्दैन, नेपालमै सुविधा सम्पन्न अस्पताल छन : डा. राकेश वर्मा
पछिल्लो समयमा निजी लगानीमा अस्पताल खुल्ने क्रम बढेको छ । जनतालाई स्वास्थ्य सेवा दिन सञ्चालनमा ल्याइएका निजी अस्पतालले ठुलो भुमिका निर्वाह गरेका छन् । यस्तै निजी लगानीमा भक्तपुरमा स्थापना भएको नागरिक कम्युनिटी अस्पतालले पनि ८ वर्ष पुरा भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा स्वास्थ्य सेवा नागरिकले दिदै आएको छ । समाज प्रतिको आफ्नो दायित्व पुरा गर्न खोलिएको यस अस्पतालको मुख्य उदेश्य नाफा भन्दा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको निर्देशक डा.राकेश वर्मा बताउँछन्। अस्पतालले दिइरहेको सेवा र भावि योजनाको विषयमा निर्देशक डा बर्मासंग विकास न्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । डा. राकेश वर्मा, निर्देशक, नागरिक कम्युनिटी अस्पताल कम्युनिटी अस्पताल भनेर कस्तो स्वास्थ्य संस्थालाई भनिन्छ ? नागरिक कम्युनिटी अस्पताल भन्नाले एउटा क्षेत्रका बिभिन्न बर्गका ब्यक्तीहरुले थोरै थोरै लगानी गरेर खोलिएको संस्था हो। यसको मुख्य उदेश्य नाफा भन्दा एउटा गुणस्तरिय सेवा उपलब्ध गराउने र सकेसम्म नाफा न घाटाको हिसाबले समुदायलाई एउटा स्तरिय सेवा दिनु हो। कुन उदेश्यको साथ यो अस्पतालको स्थापना गर्नुभएको हो ? हाम्रो अस्पताल यस भेगमा एउटा उल्लेखनीय सेवा दिने स्वास्थ्य केन्द्र बन्नका लागि स्थापना भएको हो । किनभने सरकारले मात्र सबैलाई स्वास्थ्य सेवा उपलब्द गराउन सक्दैन। अहिले स्वास्थ्य क्षेत्रमा लगभग ५० प्रतिशत भागीदारी निजी अस्पतालको रहेको छ। सरकारले पनि ५० प्रतिशत जनतालाई स्वास्थ्य सेवा उपलब्द गराउँदै आईरहेको छ । त्यस्तै निजी क्षेत्रले पनि त्यतिकै योगदान दिईरहेको छ। एउटा सरल सस्तो र सुलभ हिसाबले एउटा स्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउ भन्ने मुख्य उदेश्यको साथ हाम्रो अस्पतालको स्थापना भएको हो। कति चिकित्सक र कर्मचारीबाट यो अस्पताल सुरुवात गर्नुभएको थियो ? कति डाक्टर र कर्मचारीसँग अस्पताल सुरु गरियो ठ्याक्कै यकिनको साथ भन्न सकिदैन। यो अस्पातल १०० बेडको अस्पताल हो। सरकारले मापदण्ड राखेको अनुसार त्यही हिसाबले स्टाफ नर्सदेखी लिएर ४२ जना चिकित्सक कार्यरत हुनुहुन्छ । बिस्तारै हामीले विशेषज्ञहरुको संख्या पनि थप्दै गईरहेका छौ।। हामीसँग ९ जना मेडिकल अफिसर हुनुहुन्छ । उहाँहरु पुरा समय अस्पतालमै कार्यरत हुनुहुन्छ। एउटा मेडिकल अफिसर इमर्जेन्सीको ब्लकलाई र अर्को आईसियुको ब्लकलाई दिईएको छ। । अरु विशेषज्ञहरु हाम्रो पार्ट टाईम कार्यरत हुनुहुन्छ। हाल कति जना लगानीकर्ता हुनुहुन्छ ? हाम्रो लगानीकर्ताहरु करिब करिब ६०० जना हुनुहुन्छ। कसैको बढी लगानी छ भने कसैको थोरै लगानी स्वामित्व छ । तर उदेश्य सबैको एउटै छ। आफ्नै छरछिमेकमा एउटा राम्रो स्तरिय सेवा दिने हाम्रो मुख्य उदेश्य हो। यसमा अब आउने दिनमा अझै लगानीकर्ताहरु आकर्षित हुने देखिन्छ। अस्पतालले भक्तपुरबासिलाई विशेष छुट दिएको छ ? भक्तपुरबासिलाई भनेर छुट्टै बिशेष छुट हामीले दिएका छैनौ । तर प्राय जसो असाहय तथा आर्थिक स्थिती कमजोर भएको व्यक्तिहरुलाई हामीले १५ देखि २० प्रतिशतसम्म बिभिन्न सेवामा छुट दिने गरेका छौ । जस्तै, ल्याबको सेवामा, अप्रेसन, बेड चार्ज र कुनै सुबिधामा पुरै शुल्कमा छुट पनि दिने गरेका छौ। यहाँ भक्तपुरको मात्रै नभई बिभिन्न जिल्लाको मानिसहरु पनि उपचारको लागि आउँछन्। उदारणका लागि करिब एक बर्ष पहिला पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अप्रेसन मैले यहाँ गरे । त्यसको भोली पल्टै दाङबाट उहाँको नाम सुनेर अर्को मान्छे त्यही अप्रेसनको लागि यहाँ आउनुभएको थियो। बाहिरबाट आउने बिरामीहरुले खासखास केही सेवाको लागि यो ठाउँलाई विश्वास गर्नुभएको छ । र, आईरहनु भएको छ। त्यसबाहेक हाम्रो अरु सेवा पनि विश्वाससिलो र स्तरिय छ । हामीले नियमित रुपमा यि सेवाहरु उपलब्ध गराउदै आएका छौँ। यहाँहरुले के कस्तो सेवा दिदै आईरहनु भएको छ ? सेवाको बारेमा कुरा गर्नुपर्दा मेडिसिन,सर्जरी, गाईनो, बालरोग, स्किन, डेन्टल, युरोलोजी सेवा दिदै आईरहेका छौ । नयाँ सेवाहरु थप्ने प्रकृयामा पनि छौ। हाम्रो मुख्य आकर्षण अहिले आईसीयुको सेटअप रहेको छ। हाम्रो अपरेसन सेवा २४ सै घण्टा उपल्ब्ध छ। युरोलोजिस्ट सेवामा बिशेष मान्छेले यसलाई पहिचान गरिसकेको छ । विश्वास छ, २४ सै घण्टा एम्बुलेन्स सेवा, फार्मेसी र चमेना गृह पनि रहेको छ। सरकारको मापदण्ड अनुसार १०० वटा बेडको अस्पतालले पुराउनुपर्ने सेवा सबै हाम्रो अस्पतालमा उपलब्ध छ। यहाँले दिने सेवामा बिरामीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? हामीलाई बिरामीहरुको प्रतिक्रिया राम्रो छ । यसबाट हामी एकदमै उत्साहित पनि छौ किनभने हाम्रो राम्रोपन र कमी कमजोरीहरुमा बिरामीले नै प्रतिक्रिया दिने हो। हामीले आफुले आफुलाई मुल्याङ्कन गर्ने भन्दा बिरामीले नै मुल्याङ्कन गरेर उहाँहरुको आगन्तुकहरुले हाम्रो बारेमा बुझेर जानुहुन्छ त्यो नै हाम्रो अगाडीको मार्गदर्शन पनि हो। त्यसैबाट हामी प्रभाबित भएर केही कमी कमजोरी छ भने त्यसलाई हामी सुधारदै जाने गर्छौ। तपाईहरुको सबैभन्दा बढी मन पराईएको सेवामा के पर्छ ? हाम्रो प्राय सबै सेवा मानिसहरुले मनपराईएको छ । तर बढी मनपराईएको सेवामा हाम्रो युरोलोजी पर्दछ किनभने एउटा भीआईपीको सेवापछि मानिसहरुको यसप्रति विश्वास बढी पाईएको छ। अहिले धेरै बिरामीहरु मेडिसिनमा, अर्थोपेडिकमा र गाईनोअप्सट्रिजमा धेरै छन। सबै विशेषज्ञहरु आ(आफ्नो क्षेत्रमा सक्षम भएकोले उहाँहरुको सेवामा कुनै कमी छैन। हामी नयाँ सेवा नेफ्रोलोजी थप्ने प्रकृयामा छौ। युरोलोजी सेवा भनेको के हो ? युरोलोजी भन्नाले म्रिगौला देखी पिसाबको थैला र मुत्रनली सम्मको जुन सर्जिकल रोगहरु हुन्छन त्यसको उपचार सम्बन्धी विधालाई भनिन्छ। जस्तो किड्नीको नलिको पथरी सम्बन्धी उपचार, किड्नीमा कुनै टिउमर छ, पिसाबको थैलामा टिउमर छ, प्रोस्ट्रेटको ग्ल्यान्डको उपचार, सर्जरीबाट हुने जती म्रिगौलदेखी मुत्रनलि सम्मको कुनै पनि रोग जसको उपचार हामी अपरेसनबाट गर्छौ। खर्चको आधारमा नागरिक अस्पताल कस्तो रहेक छ ? हाम्रो अस्पताल खर्चको आधारमा एउटा समाजमा मानिसको जुन न्युन सोचाइ हुन्छ त्यस्तो पनि छैन । यसमा केही पैसा हामी चार्ज गर्छौ। अरुभन्दा हामीहरुको सेवा शुल्क सस्तो होला तर सरकारी अस्पतालको जस्तो शुल्क हाम्रोमा छैन। यसमा सकेसम्म न फाईदा न घाटा जस्तो रहेको छ। किनभने कुनै पनि मेडिकल सेवा र उपकरणहरु उपलब्ध गराउनका लागि धेरै प्रशिक्षण र उपकरणहरु चाहिन्छ। नेपालमा हाम्रो उपकरणहरु बन्दैनन् र त्यो सबै बाहिरबाट आउँछन्। यही उपकरणहरुलाई हामीले बिचार गरेर मुल्यदर निर्धारण गर्छौ। डाक्टरी फिल्डमा लाग्नु भएको कती बर्ष भयो ? चिकित्सक बन्ने सपना कसरी आयो ? म यस क्षेत्रमा लागेको ३८ बर्ष भयो। डाक्टर बन्ने सपना मेरो सानैबाट सुरु भएको हो। म जब ४ कक्षामा पढ्थे त्यो समयमा डाक्टरहरु थिएनन् । त्यो समयमा डाक्टर जस्तो उपचार गर्ने मानिसलाई कम्पाउन्डर भन्थियो। हाम्रो गाउँमा एकदमै चर्चित कम्पाउन्डर थिए। उहाँ जो बिरामी भए पनि आफ्नो झोला लिएर त्यहाँ पुगिहाल्नु हुन्थियो। एकपटक मलाई ज्वोरो आएको थियो। त्यस समयमा ज्वरोको उपचार भनेको धेरै लुगा ओडाई दिन्थिए। पसिना धेरै आएर ज्वरो जान्छ भन्ने मानिसहरुमा भ्रम थियो। तर मलाई २÷४ दिनसम्म रोग निको भएन त्यसैले कम्पाउन्डरलाई बोलाईयो। मेरो बुवाले उहाँलाई लिन जानुभयो र उहाँको ब्याग बोकेर आदरपुर्वक घरमा ल्याउनुभयो। मलाई अझै पनि याद छ उहाँले स्प्रिटले हात धोएर, सरसफाइ गरेर मलाई सुइ लगाइदिनु भयो र बिस्तारै मलाई सन्चो पनि भयो। त्यसपछी मलाई डाक्टर भएपछी धेरै मान, सम्मान पाईन्छ र म अब सबैलाई चाहिने कुरा पनि हो भन्ने अनुभूति भयो । त्यसपछी मलाई पनि भबिष्यमा पनि डाक्टर हुन पाए रमाइलो हुन्थियो जस्तो लाग्यो र सफल पनि भइयो । मेरो स्कुलदेखी कलेजसम्म अब्बल दर्जाको पढाई रह्यो। त्यसपछि मैले डाक्टरी क्षेत्र नै रोजेर पढें । डाक्टर भएर बिरामीको सेवामा लाग्दा कस्तो महसुस हुन्छ तपाईंलाई ? बिरामीको सेवा गर्न पाउँदा एकदम खुशी लाग्छ तर कहिलेकाँही धेरै बिरामी हेर्दा पनि पिर हुन्छ किनभने बिरामी हुनु राम्रो कुरा होईन। उनीहरुलाई उपचार गरेर पठाउँदा भने मन एकदमै खुशी हुन्छ। नेपालीहरु अझै पनि स्वास्थ्य सेवाको लागि बाहिर जान्छन, यस बिषयमा तपाई के भन्न चाहानुहुन्छ ? हामी मान्छौ कि सुरुमा हामीसँग दक्ष जनशक्ति थिएनन् । मानिसहरु उपचारको लागि बाहिर जानु स्वभाविक पनि थियो। छिमेकी मुलुक भारतमा खुला सिमानाले पनि थप समस्या निम्ताएको हो। नेपालको उपचार पद्ती भारतबाट आएको डाक्टरहरुले वीर अस्पातलदेखी लिएर अन्य ठाउँमा सुरु गरेका हुन्।तर अहिलेको अवस्थामा नेपालमा आधुनिक उपचार पद्ती उपलब्ध छन्। जस्तो म मानव अङप्रत्यापरोण अस्पतालमा पनि कार्यरत छु। हाम्रो देशमा प्रत्येक बर्ष ३००० म्रिगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । मानव अङप्रत्यारोपण केन्द्र, टिचिङ अस्पताल र वीर मिलाएर जम्मा ३०० प्रत्यापरोपण मात्र गर्छौ। हामीले गरिरहेको प्रत्यापरोण संसारको कुनै पनि राम्रो केन्द्र दाँज्दा केही फरक पर्दैन तर मानिसहरु सुरुबाटै छिमेकी मुलुक जाने,बाहिर जाने त्यो एउटा प्रवृत्ति जस्तै भईसक्यो। बिस्तारै बिस्तारै मानिसहरु नेपालको स्वास्थ्य सेवाको स्तर अरु भन्दा कम छैन। केवल हामीले रोबट चलाऊन पाएको छैन । उक्त रोबट किन्ने पैसाले हामी त यहाँ गाउँमा सानो तिनो अस्पताल बनाउन सक्छौ र रोजगार को अवसरको साथसाथै स्वास्थ्य सेवा नुपुगेको ठाउँलाई अस्पताल बनाईदिन सके त्यो भन्दा राम्रो केही पनि हुँदैन । नेपालमा उपचारको विश्वास दिलाउन के गर्नु पर्ला ? नेपाली जनतालाई विश्वाश दिलाउन संचारमाध्यमको पनि ठुलो हात रहेको छ । किनभने संचारमाध्यमबाट गएको समाचार धेरै मानिसहरुले थाहा पाउँछन्। पत्रपत्रीका र अन्य सञ्चार क्षेत्रको यसमा ठुलो भूमिका हुन्छ। बाँकी समाजमा बस्ने बिभिन्न बर्गका व्यक्तिले एकअर्कालाई यो ठाउँमा यो सेवा उपलब्द छ भनेर जानकारी गराए मानिसहरुको नेपाली स्वास्थ्य क्षेत्र प्रति विश्वाश बढ्ने थियो। बाहिर र छिमेकी मुलुकमा जाने प्रवृति पहिले भन्दा कम भएको देखिएको छ। नागरिक अस्पतालको भावी योजना के छन ? हामीसँग जमिन छ र त्यो जमिनको व्यवस्थापन गरेर सकेसम्म एक दुई बर्ष भित्रै आफ्नै भवनबाट अस्पताल संचालन गर्ने हाम्रो लक्ष्य छ । सरकारबाट यहाँले कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ? सरकारको सहयोगको हामीलाई एकदम आवश्यक छ । किनभने सरकारको एउटा अभिभारामा सहभागी भएर काम गर्दैछौ। शिक्षा र स्वास्थ्य सरकारको जिम्मेवारी भनिन्छ । तर जहाँ ५० प्रतिशत स्वास्थ्य सेवा निजी अस्पतालहरुले दिदै आईरहेका छन् । सरकारले उपकरण ल्याउने समयमा लगाउन कर छुट दिनपर्छ। सरकारले कडा नियम बनाएको छ । २०७६ सम्म आफ्नो भवनमा अस्पताल जानै पर्छ नत्र अस्पताल खारेज हुन्छ। काठमाडौं जस्तो शहरमा जग्गा पाउन गाह्रो हुन्छ। सरकारले जमिनहरु लिजमा दिए धेरै राम्रो हुन्थियो। सरकारले सहयोग गरे हामीलाई पनि सेवाको लागि हौसला प्राप्त हुन्थियो।
ग्राहकलाई उत्कृष्ट सेवा दिन्छौं र लगानीकर्तालाई १०/१५ प्रतिशत लाभांश दिन्छौं–तोयाराज अधिकारी
तोयाराज अधिकारी प्रमुख कार्यकारी अधिकृत- वेष्ट फाइनान्स लिमिटेड तोयाराज अधिकारीले साउन १८ गतेदेखि वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा जिम्मेवारी समाल्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १८ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ । धेरै किसिमका संस्थाहरु मर्ज हुँदै र विभिन्न तहमा समस्या भोग्दै आएको यस संस्थामा नयाँ लगानीकर्ता आएका छन्, नयाँ नाम राखिएको छ र प्रमुख कार्यकारी अधिकृत पनि नयाँ नै राखिएको छ । फाइनान्स कम्पनीहरु मध्ये उत्कृष्ट सेवा दिने र यसै आर्थिक वर्षदेखि नाफामा गई लगानीकर्तालाई लाभांश दिने प्रतिवद्धता नयाँ टिमको छ । प्रस्तुत छ यसै पेरिफेरिमा अधिकारसँगको विकासन्युजले गरेको कुराकानी । १८ वर्षको अवधिमा यहाँले कुन कुन बैंकमा काम गर्नु भयो ? सबैभन्दा पहिलो पहिले माछापुच्छ्रे बैंकबाट बैकिङ करिअर शुरु गरेको हुँ । सन् २००१ देखि २०११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेँ । त्यसपछि कास्की फाइनान्सको सीईओ भएँ । त्यहाँ सीईओको रुपमा ७ वर्ष काम गर्ने मौका मिल्यो । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि कामना विकास बैंकको सीईओ भएर काम गरेँ । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ थोरै समय काम गरेँ । बेष्ट र सिनर्जी मर्जपछि बनेको बेष्ट फाइनान्समा के के चुनौति छन् र कसरी व्यवस्थापन गर्नुहुन्छ ? चुनौति सबै क्षेत्रमा हुन्छन् । बैकिङ क्षेत्रमा पनि चुनौति छन् । म आफैले पनि चुनौतिहरु पार गर्दै एउटा सफल बैंकर्सको रुपमा आफूलाई अगाडि बढाई रहेको छु । वेष्ट फाइनान्सको ब्राण्ड इमेज सुधार गर्नुछ । हामीले दिने सेवामा सुधार गर्दै जाँदा संस्थाको इमेज पनि राम्रो बन्दै जानेछ । जे चुनौति आउँछन्, त्यसलाई व्यवस्थापन गर्दै जाने हो । मसँगै धेरै प्रकारका संस्थाहरुमा काम गरेको अनुभव छ । वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा काम गरेको अनुभव पनि छ । मर्जपछि बनेका संस्थामा सीईओ भएर काम गरेको अनुभव पनि छ । बेष्ट फाइनान्स विभिन्न समस्याबाट माथि उठ्दै आएको छ । मर्जपछि ठूलो फाइनान्स कम्पनीको रुपमा स्थापित भएको छ । यस फाइनान्सका आफ्नै चुनौतिहरु छन् । मेरो अनुभव, फाइनान्समा कार्यरत पुराना साथीहरुको अनुभव, सञ्चालक समितिको मार्गदर्शन, लगानीकर्ताको नेटवर्क र सहयोगलाई समेटर अगाडि बढ्ने हो । नियामक निकाय नेपाल राष्ट्र बैंकले तय गरको संस्थागत सुशासनको मापदण्डभित्र बसेर धेरै काम गर्न सकिन्छ भन्ने विश्वास छ । बेष्ठ फाइनान्सको बलियो पक्ष के के हुन् ? यो फाइनान्सका प्रवद्र्धकहरु मुलतः काठमाडौं र बुटवलका हुनुहुन्छ । दुबै ठूलो र पुरानो बजार हो । यो संस्थाको लागि एउटा बलियो पक्ष हो । त्यस्तै पछिल्लो समय यो संस्थामा गैर आवासीय नेपालीहरुको लगानी बढेको छ । लगानीकर्तामा भएको यो डार्भसिर्भिकेशनले संस्थालाई अगाडि बढाउन सजिलो हुन्छ । १४ वटा ब्रान्च, ३ वटा एटीएम मार्फत सेवा दिएका छौं । १३० जना कर्मचारी छन् । संस्थाको निक्षेप २ अर्ब २५ करोड रुपैयाँ छ । कर्जा लगानी २ अर्बको हाराहारीमा छ । एउटा फाइनान्स अगाडि बढ्नको लागि यी बलिया आधार हुन् । फाइनान्सप्रति तपाईको प्रतिवद्धता के हो ? सबैभन्दा पहिला सेवालाई राम्रो बनाउनुपर्छ । हामीले हाम्रा ग्राहकलाई बेष्ट सर्भिस दिने सोच बनाएका छौं । प्रडक्टमा विविधता ल्याउने छौं । कर्मचारीको क्षमता विकास गरी उच्चस्तरको सेवा दिने वातावरण बनाउने छौं । त्यस्तै, यसै आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश दिन सक्ने गरी नाफा आर्जन गर्नुपर्छ । चालु आर्थिक वर्षको नाफाबाट लाभांश दिने हाम्रो प्रतिवद्धता हो । २०७६ असार असान्तसम्ममा निक्षेप साढे ३ अर्ब र कर्जा लगानी ३ अर्ब रुपैयाँ भन्दा बढी बनाउने योजनासहित हामी अगाडि बढेका छौं । हामी छिट्टै उत्कृष्ट फाइनान्स मध्ये बेष्ट फाइनान्स बन्ने सोचका साथ काम गरेका छौं । एक वर्षमा ५० प्रतिशत निक्षेप वृद्धि गर्ने लक्ष्य सुनाउनु भयो, त्यसमा योजना के छन् ? प्रतिशतका आधारमा निक्षेप वृद्धि ५० प्रतिशत हुन्छ । तर भोलुममा हेर्ने हो भने त्यो ठूलो रकम होइन । एक वर्षमा ढेड अर्बको निक्षेप वृद्धि ठूलो होइन । पुँजीको साइज ठूलो छ । विजनेश पनि बढाउनु छ । २४ फाइनान्सको करिव २०० शाखा छन् । बेष्ट फाइनान्सको मात्र १४ वटा शाखा छन् । एउटा शाखामा करिव १० करोडको निक्षेप बढायौ भने पनि ढेड अर्ब निक्षेप वृद्धि भईहाल्छ । नेपालमा बढी वित्तीय कारोबार हुने भनेको काठमाडौं, पोखरा र बुटवल हो । तीनै शहरमा हाम्रो उपस्थिति र कारोबार पनि राम्रो छ । त्यसैले ५० प्रतिशतको ग्रोथ सजिलै मिट हुन्छ । यस संस्थाका पुराना लगानीकर्ताहरु प्रतिफल नपाएर निराश छन् । यस संस्थाका प्रवद्र्धक र सञ्चालकबीच द्वन्द्व भएको देखियो । यी समस्याको हल कसरी हुन्छ ? पहिला यस्तो समस्या थियो भनेर त्यसलाई कोट्याएर बसेर केही हुन्न । भोलिको दिनमा राम्रो गर्नुपर्छ भन्ने उत्साह लिएर हामी अगाडि बढेका छौं । संस्थागत सुशासन भित्र बसेर काम गर्ने भन्नेमा सबै प्रवद्र्धक तथा आधारभूत लगानीकर्ताहरुको प्रतिवद्धता छ । त्यो प्रतिवद्धताका आधारमा म पनि उत्साहित भएर यहाँ आएको छु । यो टिममा बसेर काम गर्दा उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने मेरो विश्वास हो । बैंक तथा वित्तीय संस्था चलाउने भनेको कर्मचारीले हो, सीईओ तथा व्यवस्थापनको उच्च तहमा बस्नेले हो । राष्ट्र बैंकले पनि बोर्ड र प्रमोटरको हस्तक्षेप हुनुहुन्न भनेको छ । प्रोटरहरुले यसमा सहमति हुनुहुन्छ । लगानीकर्तामा अब निराशा नरहला । फाइनान्सको वित्तीय अवस्था कस्तो छ ? अहिले खराव कर्जा अलि बढी नै छ, करिब १२/१३ प्रतिशत । तर केही ठूला कर्जा सेटल गर्ने प्रतिवद्धता आएको छ । प्रतिवद्धता आएका कर्जा सेटल भएपछि खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनेछ । पुस मसान्तसम्ममा ५ प्रतिशतमा झार्छौ नै । चुक्ता पुँजी, सीडी रेसियो, क्यापिटल एडेक्वसी राष्ट्र बैंकले तोकेको सीमा भित्र छ । सिजर्भ करिब १३ करोड जति ऋणात्मक छ । त्यसलाई यसै वर्ष धनात्मक बनाएर सेयरधनीलाई ६/७ प्रतिशत लाभांश दिने हाम्रो प्रतिवद्धता छ । त्यसपछिको वर्षमा १० प्रतिशत, त्यसपछि १५ प्रतिशत लाभांश दिन सकिन्छ भन्ने हामीलाई विश्वास छ । बेष्ट फाइनान्स अब फेरी अर्को बैंकमा मर्ज भएर जान्छ वा फाइनान्स कम्पनीकै रुपमा रहन्छ ? वित्तीय सेवा प्रदान गर्ने सवालमा वित्त कम्पनी, विकास बैंक र वाणिज्य बैंकहरुको आ–आफ्नै क्षेत्र हुन्छ, त्यही अनुसारको भूमिका हुन्छ । फाइनान्स कम्पनीका फरक प्रकृतिका ग्राहक हुन्छन् । वित्तीय पहुँच बढाउन पनि फाइनान्स कम्पनीहरुको प्रभावकारी भूमिका छ । यो कुरा राष्ट्र बैंकले पनि बुझेको छ । त्यसैले हामी फेरी मर्जमा जाने सोचमा छैनौं । हामी आफ्नै हिसावले अगाडि बढ्ने छौं ।