सीभन्दा कम ग्रेड ल्याउने विद्यार्थीले विज्ञानबाहेक सबै विषय पढ्न पाउछँन्- खवराज बराल
खवराज बराल, सचिव–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एसईईपछि विद्यार्थीहरु के पढ्ने भनेर सोचिरहेको छन्, उनीहरुलाई तपाई के सुझाव दिन चाहानुहुन्छ ? विद्यार्थीले आफ्नो क्षमता बुझ्नु पर्छ । पढ्ने विद्यार्थीले हो । अभिभावकले पढ्ने होइन । आफूलाई रुची छ कि छैन ध्यान दिनु पर्छ । जस्तो गणित, विज्ञान लगायतको विषय आफूलाई कतिको सजिलो लाग्छ । त्यो हिसाबमा विद्यार्थीले आफैले आफैलाई चिन्नु पर्छ । आफूलाई सजिलो नलाग्ने विषय विद्यार्थीले छानेर अघि बढ्नु सही हुन्न । सजिलो रुचिकर बिषय छनौट गर्नु राम्रो हो । विद्यार्थीहरुले शैक्षिक संस्था कसरी छान्ने ? मुलुकभर विभिन्न किसिमका विद्यालय र कलेज छन् । विदेशी विश्वविद्यालयाबाट सम्बोधन प्राप्त विद्यालयहरु पनि छन् । उनीहरुसँग स्वदेशी, विदेशी दुवै कोर्ष हुन्छ । विद्यालय छान्ने सन्दर्भमा खर्चको कुरा पनि छ । निजी कलेजहरु केही महँगो छन् । उनीहरुले दिने सुविधाहरुमा केही फरकपन छ । अहिलेको विद्यार्थीको क्षमतामा पनि भर पर्छ । कतिपय कलेजहरुमा छात्रवृद्धिको सुविधा हुन्छ । त्यसबेला विद्यार्थीहरुले छात्रावृद्धिको लागि प्रतिस्पर्धा गर्न सक्ने छन् भने त्यस्ता कलेज विद्यार्थीको लागि अवसरको रुपमा रहन्छ । अहिलेकालाई कलेज भने पनि वास्तवमा सबै विद्यालय नै हुन् । अहिले पढाउने १२ कक्षासम्म हो । मेरो बिचारमा विद्यार्थीहरुले प्रचार, प्रशार तथा विज्ञापनको पछि लाग्नु हुदैन । उनीहरुको प्रचार सामाग्रीका आधारमा यो राम्रो विद्यालय अर्को नराम्रो भनेर छुट्याउन सकिन्दैन । तपाईले अघि भन्नुभयो कि सरकारी र निजी क्षेत्रको उच्च विद्यालयमा शिक्षामा केही फरक छ । फरक कति हुन्छ र कुन बढी राम्रो हो ? ११ र १२ को पाठ्यक्रम एउटै हो । पाठ्यपुस्तक उस्तै हो । पढाउने मोडालिटी, मेथोलोजी लगायतमा फरक होला । तर कन्टेन्ट त एउटै हो । परीक्षा राष्ट्र परीक्षा बोर्डले नै दिएको हो । कस्तो स्कूलहरुमा स्कलरशीप पाइन्छ ? स्कलरसिप पाउनको लागि के कस्तो विधि प्रक्रिया पुरा गर्नुपर्छ ? स्कलरशीप विद्यार्थीहरुले नै खोज्नुपर्छ । विगतमा सरकारले १० प्रतिशत स्कलरशीप राखेको थियो । त्यसको लागि उच्च माध्यमिक शिक्षा परिषद, शिक्षा विभागले परिक्षा सञ्चानल गर्थ्यो । त्यो अनुुसार अगाडी बढ्थ्यो । अहिले चाहीँ स्कलरशीप स्थानीय तहबाट गर्ने अथवा पुरानो पद्दतिले गर्ने निर्णय हुन बाँकी छ । हामी छिट्टै निर्णय गर्दैछौं । उक्त स्कलरशीप भनेको सामूदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै हो । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भने त्यस खालको सुविधा छैन । कतिपय ११/१२ पढाउने संस्थाहरुले उनीहरु आफैले स्कलरशीपको व्यवस्था गर्छन् । उनीहरुले थोरैदेखि बढी अंक आएकालाई विभिन्न खालको स्कलरशीप खुलाउने गर्छन् । दुर्गम ठाँउबाट आएका लगायतको लागि समेत छुट्टै स्कलरशीप दिने प्रचलन छ । त्यस्तो कुरा बुझेर स्कलरशीप खोज्नु पर्छ । अहिले कक्षा ११ र १२ पढाउने सकारी विद्यालयहरु कति छन् ? हाल ३ हजारभन्दा बढी विद्यालयहरुलाई ११/१२ कक्षा पढाउनलाई अनुमति दिएका छौं । त्यसमा संस्थागत तथा सामूदायिक दुवै किसिमका विद्यालयहरु छन् । प्लस टुबाट शुरु गरेर व्याजलर, मास्टर लेबलमा बढाउने कलेजहरु पनि ५०/६० वटा कलेज पनि छन् । तपाई विद्यार्थीहरुलाई सरकारी विद्यालयलमा पढ्न सुझाव दिनुहुन्छ कि निजी विद्यालयमा ? तपाईको यो प्रश्न नै गलत भयो । यस्तो विषयमा हामीले बोल्न मिल्दैन । एसईई पढिसकेपछि कलेज पढ्ने कि स्कुल पढ्न जाने भन्ने दुविधा देखिन्छ । पत्रपत्रिकामा विज्ञापन हेर्ने हो भने ११ को भर्नाको लागि स्कूलहरुले पनि विज्ञापन गरेका छन्, कलेजहरुले पनि विज्ञापन गरेको छ । पत्रपत्रिका हेर्दा ११ कक्षाको पढाई स्कूलमा हुने हो कि कलेजमा हुने हो भन्ने दुविधा देखियो नि, किन यस्तो भयो ? केही कलेजहरुले कक्षा ११/१२ मात्र चलाउन अनुमति पाएका छन् । उनीहरुलाई कि कक्षा १ देखि नै पढाउन थाल्नुहोस्, कि स्कूल तहको कक्षा बन्द गर्नुहोस भनेर सरकारले भनेको छ । तर त्यो टुंगीएको छैन । अझै बाँकी नै छ । कक्षा ११/१२ शिक्षा भनेको स्कूलतहको शिक्षा नै हो, कलेज तहको शिक्षा होइन । तर कलेजहरुले ११ कक्षामा भर्ना खुला भयो भनेर राष्ट्रिय स्तरको पत्रपत्रिकाको सूचनाहरु प्रकाशित गरिरहेका छन् । ती शैक्षिक संस्थामा पढ्ने विद्यार्थीले कलेज पढेको अनुभूति गर्ने कि स्कूल पढेको अनुभूति गर्ने ? सञ्चार माध्यमले सत्य तथ्य कुरा बाहिर ल्याइदिनु पर्यो । त्यो ११/१२ कक्षा पढाईलाई प्लस टु एजुकेशन पनि भनिदैन । कलेज पनि होइन । त्यो उच्च माध्यमिक विद्यालय हो । कक्षा ११ र १२ पढ्नको लागि राजधानी बाहिर शैक्षिक संस्थाको उपलब्धता कति छ ? कति विद्यार्थी स्कूल तहको पढाईका लागि पनि राजधानी नै आउनु पर्ने वाध्यता छ ? के ११/१२ पढ्न काठमाडौं नै आउनु पर्छ भन्ने छ र ? अघि नै पनि भनिसके देशभर सो तह पढाउने विद्यालयहरु पर्याप्त छन् । काठमाडौं खासै आउदैनन् । अहिले करिब ११ कक्षामा पढ्ने विद्यार्थी काठमाडौंमा ३ लाख ५० हजार जना छन् । त्यस्तै १२ पढ्ने विद्यार्थीहरु पनि साढे २/३ लाखकै हाराहारीमा छन् । स्वभाविक रुपमै काठमाडौंमा ११/१२ कक्षा पढाउने विद्यालयहरु बढी छन् । जनसंख्या ५० लाख रहेकोले पनि त्यतिका संख्यामा विद्यार्थी हुनु स्वभाविकै हो । बाहिर विज्ञान पढाउने विद्यालयहरु धेरै नभएको भएर पनि काठमाडौंमा पढ्न आएका हुन् । दुर्गम ठाँउमा विज्ञान पढाउने शिक्षकको अभावको कारण विज्ञान पढ्ने चाहनाको कारणले काठमाडौं अथवा पोखरा जस्ता सहरहरुमा गएको देखिन्छन् । त्योसँगै विराटनगर, वुटवल, चितवन लगायतमा पनि विद्यार्थीको चाप त्यतिकै बढी छ । सीभन्दा तलको ग्रेड पाएका विद्यार्थीहरु अब कसरी अघि बढ्ने ? तिनीहरुको लागि ग्रेडबृद्धि परिक्षाको लागि योजना छ । उहाँहरुले ग्रेडबृद्धिको परिक्षा दिनुपर्छ । सी प्लस गणित र विज्ञानमा ल्याउनुभयो भने विज्ञान पढ्न पाउनुहुन्छ । अरु केही रोकावट छैन । सी ग्रेडभन्दा कम भएका विद्यार्थी ११ कक्षामा भर्ना नै हुन नपाएको गुनासो पनि नि ? भर्ना नलिने भन्ने होइन । मापदण्डभन्दा कम छ भने चाहीँ नलिन सक्छ । अर्को प्रवेश परिक्षा लिने हुदा सो परिक्षा उत्तिर्ण नगर्दा विद्यार्थीको छनौट प्रक्रियाको आधारमा नलिने हो । ग्रेट सीभन्दा तलकाले अघि बढ्न नपाउने भन्ने होइन विज्ञान मात्र पढ्न नपाउने हो । पढ्ने अरु धेरै विषय छन् । विज्ञान तथा गणितमा साइन्स पढ्न चाहनेले सी प्लस ल्याउनुपर्छ । त्यसको लागि अघिनै पनि भने पूरक ग्रेडवृद्धि परिक्षाको व्यवस्था गरिएको छ । त्यहाँ उहाँहरुले भाग लिइ आवश्यक स्कोर लिएर अघि बढ्न सक्नुहुन्छ ।
शिक्षामा दोष छैन, व्यवसायिक वातावरण ठिक हुनुपर्यो- दीपिका थापा
करिव २० वर्षअघि भक्तपुरको गट्ठाघरमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्दाको समयबाट आजको दिनसम्म अनेकौं आरोह अवरोह पार गर्दै अघि बढेकी जुझारु महिला दीपिका थापासँग स्कूल सञ्चालनको सुरुवाती समयमा उनले भोगेका तितामिठा अनुभवका साथै नेपालको स्कूल तहमा आवश्यकिय शिक्षा र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन उनको स्कूलले गरिरहेको क्रियाकलाप लगायतका विषयमा देशविकासका राजाराम न्यौपानेले गरेको कुराकानी । दीपिका थापा, प्रिन्सिपल, सिद्धार्थ विद्यापिठ सेकेण्डरी बोर्डिङ्ग स्कूल कस्तो परिवेशमा तपाईले सिद्धार्थ विद्यापिठ स्कूल स्थापना गर्नु भएको हो ? मैले १५ वर्षको उमेरदेखि नै शिक्षण पेसा शुरु गरेकी हुँ । साना नानीहरुलाई पढाउँदै जाँदा समयक्रम सँगै मैले आफ्नै स्कूल खोल्ने सोच बनाउन थालेको थिएँ । ५ अलग अलग विद्यालयबाट शिक्षिकाको रुपमा प्रशस्त अनुभव बटुलेपछि २०५६ सालमा यस स्कूलको स्थापना गरेकी हुँ । स्कूल सञ्चालन गर्ने योजना सुनाउँदा साथीभाइ, आफन्त लगायतले महिलाले धेरै ठूलो सोच बनाउँदा असफल भइन्छ भनिरहन्थे । तर म पहिलेदेखिनै अलि जिद्धि स्वभावको भएकोले होला सहि काम गर्नमा महिला अथवा पुरुष भन्ने कुराले केहि फरक पार्दैन भन्ने धारणा बनाएँ अनि आफ्नो सपनालाई मलजल गर्दै गएँ । फलस्वरुप २०५६ सालमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्न सफल भएँ । सिद्धार्थ विद्यापिठ अन्य स्कूलहरुभन्दा के कारणले फरक भएको छ ? हरेक विद्यालयले पढाइलाई नै फोकस गर्ने गर्दछन् र हामीले पनि त्यही नै गरेका छौँ । त्यसैगरी विद्यार्थीहरुलाई पढाइका साथसाथै नृत्य, गायन, वादन लगायतको ज्ञान दिनु त सामान्य नै भइसक्यो । तर आज यस मानेमा हामी अन्य स्कूलहरु भन्दा फरक भएका छौं कि हामी आउँदो युग टेक्नोलोजीको युग हुनेछ भन्ने कुरालाई विशेष ध्यान राख्दै हाम्रा विद्यार्थीहरुलाई टेक्नोलोजीको पनि आवश्यकय ज्ञान दिने गर्दछौं । यस अन्तर्गत भिब्ग्योर नेक्स्ट जेन प्रोग्राम्स्का ६ अलग अलग विषयहरुको ज्ञान हाम्रा विद्यार्थीहरुले स्कूल लेभलमै हासिल गरिरहेका छन् । ती ६ विषयहरुमा लाइफ स्किल्स क्लासेज, आर्ट एण्ड डिजाइन क्लासेज, फोटोग्राफी एण्ड सिनेमेटोग्राफी, रोबोटिक्स एण्ड टेक्नोलोजी क्लासेज, इमर्सिभ मिडिया क्लासेज र एनिमेसन एण्ड भिजुअल इफेक्ट्स क्लासेज रहेका छन् । यस्तो फरक किसिमको कक्षा सञ्चालनले तपाईंका विद्यार्थीहरुमा कस्तो किसिमको परिवर्तन ल्याएको छ ? हाम्रो विद्यालयमा दिइने फरक तथा जीवनोपयोगी शिक्षाको एकदम राम्रो प्रभाव विद्यार्थीहरुमा परेको हामीले पाएका छौं । उनीहरुमा सकारात्मक सोच राख्ने र सिर्जनात्मक हुने कला विकास हुँदै गइरहेको छ । पहिलेका विद्यार्थीहरुले पनि कार्टुन हेर्ने गर्थे र अहिलेकाहरुले पनि हेरिरहेका छन् । तर पहिलेका विद्यार्थीहरुले मनोरञ्जनका लागि मात्र हेर्थे भने अहिले हाम्रा विद्यार्थीहरुले कार्टुन हेर्ने मात्र नभई बनाउन पनि सिकिरहेका छन् । त्यसैगरी उनीहरुले कम्प्यूटरमा गेम खेल्ने मात्रै नभई गेम कसरी बनाएको छ भनेर पनि ज्ञान हासिल गरिरहेका छन् । स्कूल नजाने भन्दै बहाना बनाउने बच्चाहरु पनि खुशी हुँदै स्कूल जान हतारिन्छन् भन्ने कुरा अभिभावकहरुको भनाई छ । यसका साथै बोल्ने किताबका माध्यमबाट पनि पढाइने हुँदा विद्यार्थीहरु उत्सुकताका साथ कक्षामा सहभागि हुने गर्दछन् । वेलावेलामा हामीले सिकाएका विषयहरुको बारेमा विद्यार्थीका अभिभावकलाई पनि जानकारी दिने गरेका छाैँ। जसका कारण अभिभावकहरु पनि आफ्नो बच्चाको भविष्यको कुरालाई लिएर धेरै नै ढुक्क हुनुभएको हामीले पाएका छौं । बोल्ने किताब भनेको के हो ? बोल्ने किताब पनि अन्य किताबजस्तै हुन्छ । हाम्रो आँखाले त्यसलाई छुट्याउन सक्दैन । त्यो किताव नदेखिने चिप्सको सहायताले बोल्ने गर्दछ । यसका लागि विशेष प्रकारको कलमले त्यो किताबमा छुनुपर्ने हुन्छ । किताबमा भएको अक्षरमा कलमले छुँदा त्यहाँ लेखिएको कुरा शब्दमा उच्चारण हुन्छ । त्यतिमात्र नभई त्यहाँ दिइएका जनावरहरुको चित्रमा छुने हो भने त सो जनावर कराएको आवाज पनि आउने गर्दछ । बोल्ने किताबबाट पढ्दा विद्यार्थीहरुलाई के फाइदा भएको छ ? हामीले विदेशबाट यस्ता किताब ल्याएर विद्यार्थीहरुलाई सिकाइरहेका छौँ । किन्न सक्ने क्षमता भएका विद्यार्थीहरुले बोल्ने किताव वास्तविक मूल्यमै किनेर लगेका छन् । तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई भने हामीले सो किताब थोरै मुल्यमै उपलब्ध गराएका छौं । बोल्ने किताबबाट पढ्नाले गर्दा विद्यार्थीहरुले विभिन्न शब्दहरुलाई सहि उच्चारण गर्न सिकेका छन्, अनेकौं जनावरहरुको आवाज प्रत्यक्ष सुन्न पाएका छन् । यसका साथै किताब कसरी बोल्न सक्छ भनेर हामीले विस्तारमा बताइदिने भएकोले गर्दा उनीहरुलाई टेक्नोलोजीबाट असीमित कुराहरु निर्माण गर्न सकिने रहेछ भन्ने पनि ज्ञान प्राप्त भएको छ । अंग्रेजी, नेपाली लगायत अन्य विभिन्न भाषाहरुमा समेत सो किताब बोल्ने भएकाले विद्यार्थीहरुलाई अन्य भाषाहरुको सामान्य ज्ञान हासिल गर्न पनि सजिलो भएको छ । यस्तो विधिबाट हुने पढाईको लागि विद्यार्थी शुल्क निकै महँगो छ कि ? होइन, त्यस्तो विल्कुल छैन । हाम्रो पढाउने तरिकाको तुलनामा मासिक शुल्क निकै नै सस्तो छ । यहाँ एक पटक भर्ना भएको विद्यार्थीले अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन । त्यसैगरी विद्यार्थी भर्ना गर्ने बेलामानै हामीले टेस्ट लिएर विद्यार्थीको लेबल छुट्याउने गर्दछौं । ए ग्रेड ल्याउने विद्यार्थीलाई निशुल्क भर्ना, बी ग्रेड ल्याउनेलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट र त्यसैगरी सी ग्रेड ल्याउनेलाई मात्र पुरै भर्ना शुल्क लाग्ने गर्दछ । सी ग्रेड ल्याएका विद्यार्थीहरुलाई हामीले धेरै मेहनत गर्नुपर्ने भएकोले पनि यस्तो भएको हो । झट्ट हेर्दा केहि मंहगो देखिए पनि प्रविधिको प्रयोग गरेको हिसावमा यो धेरै नै सस्तो हो । नेपाली विद्यार्थीहरु राम्रो शिक्षा प्राप्त गर्नका लागि विदेश जान हतारिएका देखिन्छन् । के नेपालमा शिक्षा वास्तवमै कमजोर हो ? मलाई लाग्छ, हाम्रो देशमा शिक्षाको स्तर नराम्रो भएर विद्यार्थीहरु विदेश गएका होइनन् । बरु यहाँ शिक्षा अनुकुल रोजगारी नभएकोले, लागानीमैत्री वातावरण बन्न नसक्नाले, रोजगारमूलक पाठ्यक्रमको अभाव भएकोले र त्यसैगरी विद्यालय तथा घरपरिवारबाट पनि राष्ट्रप्रेमको पाठ नपढाइएकोले गर्दा पनि उनीहरुले विदेश तिरै गएर थप शिक्षा आर्जन गर्न खोजेका हुन् । शिक्षा क्षेत्रमा तपाईंको सफलताको अनुभव कसरी बाँड्न चाहनुहुन्छ ? म सफल हुनुमा मेरो जिद्धिपना नै प्रमुख कुरा हो । मलाई लाग्छ कोहि मान्छे सफल हुनका लागि उसले आफ्नो कामलाई निरन्तरता दिनु पर्छ । हाम्रो समाजले अहिले पनि धेरथोर मात्रामा छोरा र छोरीमा भेदभाव गरिरहेकै छ । मैले स्कूल स्थापना गर्दाको समयमा त झन् छोराले धेरै पढ्ने र ठूलो काम गर्नुपर्छ तर छोरीले भने घरपरिवार राम्रोसँग चलाउन जान्नुपर्छ भन्ने चलन व्यापक थियो । त्यस्तो परिस्थतिलाई चिर्दै मैले यो स्कूल स्थापना गर्न सकें । आजका महिलाहरु पनि पढाइमा अव्वल बन्दै गएको र हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढेको देख्दा साहै्र खुशी लाग्छ । हाम्रो देशमा एकदम धेरै सम्भावनाहरु छन् । त्यसैले आफूलाई मनपर्ने क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्दै अनि अध्ययनलाई पनि सँगसँगै अघि बढाउँदै जाने हो भने एकदिन अवश्य पनि सफल भइन्छ र देशको नाम उँचो बनाउन सकिन्छ भनी म सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु र त्यसैगरी अभिभावकहरुलाई पनि म के भन्न चाहन्छु भने आफ्ना घरमा बच्चाहरुलाई हप्काएर, डर देखाएर पढ्नमा मात्र दवाव दिइरहनु हुँदैन । यसले उसमा भएको सिर्जनात्मक क्षमतामा ठूलो ह्रास ल्याउन सक्छ ।
७५ प्रतिशत शिक्षण संस्था चल्ते चलाते अवस्थामा छन्- रमेश शिलवाल
रमेश शिलवाल, अध्यक्ष, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल तपाई एसईई दिएका विद्यार्थीहरुलाई कस्ता विषय र कस्ता कलेज छान्न सुझाव दिनुहुन्छ ? पहिलो कुरा विद्यार्थीको चाहना, रुची के हो भनेर बुझ्नु पर्छ । उसले कुन बिषयमा आफ्नो शिप र क्षमता प्रदर्शन गर्न सक्छ भनेर निर्क्योल गर्नु पर्छ । यहाँ पाँच वटा स्ट्रिममा अध्ययन हुन्छन् । आईबि पढ्ने कि, प्लस टु पढ्ने कि, सीटिईभीटी पढ्ने कि, ए लेभल पढ्ने कि सिबिएससी पढ्ने कि कुन पढ्ने भनेर छान्नुपर्छ । त्यसपछि कुन संस्थामा पढ्ने हो भनेर छान्ने हो । आइबी पढ्ने हो भने एउटा मात्रै संस्था छ, त्यहिँ जानु पर्छ । ए लेभल पढ्ने हो भने ४० वटा संस्थामध्ये एउटा संस्था रोज्न सकिन्छ । प्लस टु र सिटिईभीटीमा अलि बढि रोजाईका सुबिधा छन् । त्यसपछि शिक्षण संस्थाका प्रवद्र्धकहरुको पृष्ठभूमिमा हेर्नुपर्छ । त्यसपछि फ्याकल्टी र शैक्षिक वातावरण हेर्नुपर्छ । त्यसपछि संस्थाको पूर्वाधार हेर्नुपर्छ । अनि विद्यार्थीहरुको अतिरिक्त क्षमताहरुको फ्रस्फुटनमा त्यो शैक्षिक संस्थाले कति ध्यान दिन्छ भनेर हेरिनुपर्छ । एउटा विद्यार्थीमा थुप्रै खाले प्रतिभाहरु हुन्छन्, त्यसलाई उजागर गरिदिन सक्ने शैक्षिक संस्था रोज्नुपर्छ । यातायात, होस्टेलको सुबिधा लगायतका सवाल पनि महत्वपूर्ण हुन्छन् । विद्यार्थीहरुलाई अनुशासनको दायरामा रहेर उत्कृष्ठ नतिजा ल्याउन सफल र अध्ययन सम्पन्न गरिसकेपछि उनीहरुको सेटलमेन्ट कस्तो भएको छ भनेर पनि हेर्नुपर्छ । मुल कुरा भनेको विद्यार्थी र अविभावक बसेर के पढ्ने र कहाँ पढ्ने भन्ने निर्णय लिनु राम्रो हुन्छ । अभिवभावक र विद्यार्थीका बीचमा कतिको द्वन्द्व देखिन्छ ? पुरानो पुस्ता र नयाँ पुस्ताका बीचमा जेनेरेशन ग्यापले कहाँ पढ्ने र के पढ्ने भन्नेबारे केहि द्वन्द्व रहन सक्छ । अविभावकहरुले विज्ञान वा अन्य आईटी तथा प्राविधिक विषय पढाउन चाहेका हुन्छन् । तर विद्यार्थीहरुले भने कमर्स, व्यवस्थापन वा अन्य कुनै बिषय पढ्न चाहेका हुन्छन् । त्यस्तो अवस्थामा अविभावक र विद्यार्थीबीबच द्वन्द्व भएको छ । अर्काे भनेको कलेज छनौटका सवालमा पनि अविभावकहरुले आफूलाई मन परेका संस्थामा पठाउन चाहान्छन् । तर विद्यार्थीले भने साथीहरुको रोजाईका आधारमा कलेज मन पराउँछन् । कसैलाई खेलमा ध्यान दिने कलेज मनपर्छ, कसैलाई रिजल्ट राम्रो आउने कलेज मनपर्छ । यस्ता कुराले १० प्रतिशतसम्म विवाद आउँछ । करिअरमा केन्द्रित भएर विद्यार्थीलाई परामर्श दिने चलन चाँही कति छ ? मैले यसपाली नै ३० जना जतिलाई परामर्श दिईसेको छु । एक जना बहिनीलाई के पढ्ने भनेर सोँधे । उनले साईन्समा बायोलोजी पढ्ने भनिन् । बायोलोजी बढेर नर्स बन्ने रे । नर्स बनेपछि रमाईलो हुन्छ रे । यस्तो अवस्थाका विद्यार्थीहरु पनि हुन्छन्, हामीले राम्रो परामर्श दिएर उदेश्य अनुसारको बिषय छान्न प्रेरित गरिरहेका छौं । तर धेरै विद्यार्थीहरु अन्तरक्रियात्मक हुँदैनन्र । उनीहरुको चाहाना के हो भनेर खुलेर कुरा गर्दैनन् । विदेश जाने विद्यार्थीहरुलाई काउन्सलिङ लिने अभ्यास छ तर नेपालमा नै पढ्ने विद्यार्थी किन काउन्सिलिङ लिन तयार हुँदैनन ? वास्तवमा विदेश जाने नेपाली विद्यार्थीहरुलाई परामर्श दिने चलन नै छैन । खाली फलानो कलेजमा पढ्न यो यो सुबिधा छ, यो यो बिषय छ, यति समय पढ्न पाइन्छ, यति समय काम गर्न पाइन्छ भनेर मात्रै परामर्श दिएको हुन्छ । त्यो त जानकारी मात्रै हो, जुन नेपालमा सरकारी निकायहरुमा सूचना अधिकारीले दिन्छन् । कहाँ गएर के पढ्ने र पढेपछिको अवसर के हुन्छ भनेर कसैले पनि भन्ने गरेका छैनन् । उनीहरु कलेजको काउन्सिलिङ गर्छन, करिअर काउन्सिलिङ गर्दैनन् । उनीहरुले काउन्सिलिङ विषय पढेका पनि हुँदैनन् । म्यानेजमेन्ट पढेकाले करिअर काउन्सिलिङ गर्न सक्दैन, जान्दैन, उसले दिने काउन्सिलिङको खास भ्यालु पनि हुँदैन । अहिले छोटो समयमा पढेर धेरै पैसा कमाउन सकिने बिषयहरु के के छन् ? छोटो समयमै पढेर धेरै कमाउने हो भने त उद्यमी नै बन्नुपर्छ । त्यसमा पनि जोखिम धेरै हुन्छ । केमा लगानी गर्ने, कति लगानी गर्ने ? कहाँबाट ल्याएर लगानी गर्ने, कसरी नाफा कमाउने भन्नेबारे राम्रो अध्ययन गर्नुपर्छ । जागिरेहरु भोको पनि बस्नु पर्दैन र धेरै आम्दानी पनि हुन्न । उद्यमी व्यवसायी सोचेले पैसा कमाउन सकिन्छ तर जागिरेर मानसिकताले धेरै कमाउन सकिन्न । खेलाडी र हिरो हिरोइनीले पनि छोटो अवधिमा कमाउछन् । ३०/३५ कटेपछि यो क्षेत्रमा लागेका थोरै मान्छेले मात्र निरन्तर कमाउँछन् । डाक्टर, वकिल, सीएहरु ४० वर्ष कटेपछि मात्र राम्रो कमाउन सक्छन् । त्यसअघि यस पेशामा राम्रो कमाई हुँदैन । नेपालको शिक्षा चाँही जागिर केन्द्रित भन्ने आरोप लागिरहेको छ, यसलाई कसरी हेर्ने ? नयाँ पुस्तामा उद्यमशिलता बढिरहेको छ । जोसँग पैसा छ, उसँग ज्ञान छैन, ज्ञान हुनेसँग पैसा छैन । समूहमा काम गर्ने संस्कृति पनि हामी कहाँ देखिएको छैन् । समूहमा काम गर्ने संस्कृति हुन्थ्यो भने पूँजी जुटाउने उपाय पनि आउँछ । हामीले ज्ञान भएका र पैसा भएकाहरुलाई जोड्न सक्नुपर्छ । मैले नै आफ्ना विद्यार्थीहरुलाई राम्रो परियोजना ल्यायौं भने ५० प्रतिशत लगानीको स्रोत जुटाई दिन्छ भन्ने गरेको छु । सुपारीको बोटबाट प्लेट बनाउने परियोजना हाम्रै विद्यार्थीले सुरु गरेका थिए, त्यो परियोजना सफल भएको छ । एक रोड ६३ लाख प्लेट बनाईसकेका छन् । सबै बिक्री भईसकेको छ । केहि विद्यार्थीले बैंकको जागिर छाडेर होटलहरुमा तरकारी बेच्ने काम सुरु गरेका छन् । मासिक ५/७ लाख नाफा भैरहेको बताईरहेका छन् । केहि विद्यार्थीहरुले वल्र्ड कपको टि सर्ट र झण्डा बनाएर बेचिरहेका छन् । युवाहरुलाई उद्यमशिल बनाउन हामीले उनीहरुको शिप र जागरको सदुपयोग गर्ने वातावरण बनाउनुपर्छ । शिक्षा र उद्यमशिल बजारको मागका बीचमा तालमेल नमिलेको हो कि ? हाम्रो श्रम बजारमा प्रत्येक वर्ष ४ लाख ५० हजार युवा आउँछन् । तीमध्ये २ प्रतिशत सरकारी सेवामा जान्छन भने ८ प्रतिशत निजी क्षेत्रमा रोजगार हुन्छन् । ४५ हजारले जागिर पाए भने ४ लाख ५ हजारले कि उद्यमशिल बन्ने वा विदेश जाने विकल्प मात्रै हुन्छ । त्यसकारण राज्यमा उद्यमशिलता मैत्री वातावरण हुनुपर्छ । एसईई पछि अध्ययनका लागि विद्यार्थी काठमाडौं आउने क्रम कस्तो छ ? राम्रा कलेजहरु भएको पोखरा, विराटनगर, चितवन, बुटवलबाट पढ्नका लागि काठमाडौं आउनेहरुको संख्या घटेको छ । अन्य ठाउँबाट भने आईरहेकै छन् । काठमाडौं र बाहिरका कलेजहरुमा शुल्कमा खासै फरक छैन । काठमाठौं बस्दा घर भाडा, खाना खाजाको हिसाब गर्दा मात्रै यहाँ अलि महंगो जस्तो देखिने हो । उपत्यका बाहिरबाट आउने सबै विद्यार्थीहरुलाई पठाउन काठमाडौंका कलेजहरुले सक्ने अवस्था छ कि छैन् ? सबै विद्यार्थीहलाई पठाउन सक्ने अवस्थामा काठमाडौंमा कलेजहरुको संरचना तयार भएको छ । ठूला र राम्रा कलेजहरुमै पढ्ने चाहना भने पुरा नहुन सक्छ । मेरो कलेजमा ७ हजार आवेदक हुन्छन् । मैले पढाउने भनेको १६ सय विद्यार्थीलाई मात्रै हो । राम्रा कलेजहरुको क्षमता सीमित हुन्छ । मध्यम खालका कलेजहरुमा जति पनि बढ्न सक्छन् । कतिपय अवस्थामा कलेजहरु चलाउन नसकेको अवस्थामा छन् । चल्ते चलाते अवस्थमा छन् । कति जति कलेजहरु चल्ते चलातेको अवस्थामा होलान् ? २५ प्रतिशत कलेजहरु राम्रोसँग चलिरहेका छन् । कतिपय मर्ज भएका छन्, कतिपय बेचिरहेका छन् । ७५ प्रतिशत कलेजहरु चाँही चल्ते चलाते चलिरहेका छन् । त्यसरी कलेजहरु सञ्चालन गर्नुहुन्न भन्ने हाम्रो मान्यता हो । कुन बिषय पढ्न कति पैसा तिर्नुपर्छ ? विज्ञान बिषय पढ्न १ लाख ५० हजार देखि ४ लाखसम्मका पढाईने कलेज छन् । व्यवस्थापनमा १ लाख देखि ३ लाख, मानबीकीमा ८० हजार देखि २ लाखसम्म र शिक्षाशास्त्र संकायमा ६० हजार देखि १५० हजारसम्म शुल्क तिर्नुपर्ने कलेजहरु छन् । ११ मा कम शुल्क लिने तर १२ मा धेरै पैसा लिने चलन हावी भएको हो ? मेरो कलेजमा चाँही ११ मा भन्दा १२ मा कम शुल्क छ । मैले सबै साथीहरुलाई शुल्कमा पारदर्शी बन्न आग्रह गरिरहेको छु । त्यसो गर्ने संस्थाहरु विस्तारै धरासायी हुँदै जानेछन् । ग्रेडिङ सिस्टमको राम्रो र नराम्रो प्रभाव के हुन्छ ? नतिजा खस्किरहेको छ । गत वर्ष भन्दा ७ प्रतिशत नतिजा घटाएको छ । ७ वटा बिषयहरुमा विद्यालयले नै प्राक्टिकलमा २५ नम्बर दिने व्यवस्था गरेकाले ठिकै देखिएको मात्रै हो । गणित बाहेकका बिषयहरुमा गुणस्तर खस्किएको छ । अब ११ र १२ कक्षमा यसले महामारी (डिजास्टर) नै ल्याउँछ । विश्विद्यालयस्तरको गुणस्तर पनि यसले ठूलो मात्रामा घटाउँछ नै । सि, डी ग्रेड ल्याउने विद्याथीहरुको भविष्य कस्तो हुन्छ ? लोक सेवा आयोगले नै २ जीपीएस मागेको छ । मानिस पास त १.६ मै हुन्छ । पास भएकाहरु पनि बजारमा बिक्री भएनन् भने के अर्थ ? नागरिकलाई बिक्री योग्य बनाउनुपर्छ । डी र ई ल्याउनेहरु फेल नै हुन् । उनीहरुले कलेज पढ्न पाउँदैनन् । माथिल्लो तह पढ्न नपाउने भएपछि पास हुनु र फेल हुनुको के अर्थ ? ग्रेडिङ प्रणालीमा फेल हुँदैन भनेर किन हल्ला गरिएको ? पुनः परिक्षा दिनुपर्ने व्यवस्था किन गरेको डी र ई ल्याउने विद्यार्थीहरुलाई ? पुनः परीक्षा दिनुपर्नेहरु कसरी पास भए ? हिसानले ग्रेडिङ प्रणालीको बिरोध गर्दै आएको छ । यो मन्त्रालयका केही स्वः घोषित विद्धानहरुले ल्याएको व्यवस्था हो जसले समस्याहरु थपिरहेको छ ।