तपाईसँग पुँजी छैन भने आयोजना ल्याउनुस्, हामी लगानी गरिदिन्छौँ- डा. विनोद आत्रेय
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका डा. विनोद आत्रेयले २ वर्षदेखि इमर्जिङ नेपाल लिमिटेड सञ्चालन गरिरहेका छन् । पुर्वाधार र उद्योगमा स्वपूँजी (इक्विटी) लगानी गर्ने उद्धेश्यका साथ स्थापना भएको इमर्जिङले होटल, बैंक र रेटिङमा लगानी गरिसकेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि तालिम केन्द्र स्थापना गर्न लागेको छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी केन्द्रीत गरेको इमर्जिङकाे भावि योजनाका विषयमा सीईओ आत्रेयसँग विकास न्युजले गरेको विकास वहसः डा. विनोद आत्रेय, सीईओ, इमर्जिङ नेपाल लिमिटेड इमर्जिङ नेपाल सञ्चालनमा आएको २ वर्ष भइसकेको छ । अहिले संस्थाले के गरिरहेको छ ? इमर्जिङ नेपाल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अन्तर्गत स्थापना भएको कम्पनी हो । यसमा सरकारको पनि सेयर लगानी छ । यसको मुख्य उद्देश्य भनेको पुर्वाधारमा स्वपुँजी (इक्विटी) लगानी गर्ने हो । तर इमर्जिङ बैंक जस्तो कर्जा लगानी गर्ने संस्था भने हैन । इक्विटीमा लगानी गर्ने भएकाले हाम्रो र बैंकको कार्यक्षेत्र फरक छ । इमर्जिङले हुम्लामा रहेको होटल एलाइस दी वण्डर इनमा सुरुवाती लगानी गरेको छ । होटलमा ८ करोड रुपैयाँ लगानी भएको छ । होटल निर्माण भई आंशिक रुपमा सञ्चालनमा आईसकेको छ । स्थानीय साझेदारीमा इक्विटी लगानी गरेको हो । दोस्रो आयोजनाअन्र्तगत भारतको केयर इण्डिया लिमिटेडसँगको साझेदारीमा सञ्चालनमा आएको केयर रेटिङ एजेन्सीमा इमर्जिङले १० प्रतिशत इक्विटी लगानी गरेको छ । इमर्जिङको तेस्रो परियोजना भनेको नेपाल पुर्वाधार बैंक हो । यसमा २५ करोड इक्विटी लगानी भइसकेको छ । चौथो परियोजना अन्र्तगत बैंक तथा वित्तीय संस्थालाई तालिम दिनका लागि ट्रेनिङ इन्टिच्युट ल्याउने तयारी गरिरहेका छौँ । इन्ष्टिच्युट दर्ताको क्रममा छौँ । दुई वर्षका बीचमा इमर्जिङले गरेका लगानी यी नै हुन् । यदि कसैसँग आर्थिक रुपमा आकर्षक आयोजना छ । तर, थप पुँजीको अभाव छ भने आउनुस् हामी लगानी गर्छौ भनेर सार्वजनिक रुपमा आब्हान गरेका छौं । पहिला हामी परियोजनाको संभाव्यता हेर्छौ, यदि राम्रो देखियो भने इक्विटीको रुपमा साझेदारी बन्ने छौँ । आयोजना तपाइले लिएर आउने हो । त्यो तपाईहरुकै आयोजना हो । त्यो आयोजना सञ्चालन गर्ने जिम्मेबारी तपाईहरुको हुने छ । इमर्जिङले पहिलो आयोजनाका रुपमा हुम्लाको होटल रोज्नुभयो, के देखेर जानुभयो त्यहाँ ? यो हाम्रो पहिलो आयोजना हो । मानसरोवरमा जाने तिर्थालुलाई लक्षित गरेर होटलमा लगानी गरिएको हो । अर्कोकुरा सुदुरपश्चिम विकासको दृष्टिकोणले पछि परेकाले त्यहाँ हामीले प्राथमिकता दिनुपर्छ भन्ने सोचअनुसार हुम्लामा होटल स्थापना गर्नका लागि ८ करोड रुपैयाँ इक्विटी लगानी गरेको हो । १/२ वर्षमा हुम्ला सडक सञ्जालमा जोडिने अवस्था छ । यदी सडक सञ्चालनमा जोडिएपछि आन्तरिक पर्यटक पनि त्यहाँ पुग्ने छन् । हामी धर्ममा विश्वास गर्ने भएकाले मानसरोबरमा जाने स्वदेशी पर्यटक धेरै हुने अनुमान गरेर त्यहाँ होटलमा लगानी गरेका हौं । योजना भएका तर पैसा नभएका उद्यमीहरुलाई ८० प्रतिशतसम्म इक्वीटीमा लगानी गरिदिने भन्ने थियो, कति लगानी गर्नुभयो ? औपचारिक रुपमा प्रस्ताव आएको छैन । फोन सम्पर्कबाट बुझ्ने काम भइरहेका छन् । हामीले परियोजना पेश गर्नुस आर्कषक देखिए लगानी गर्छौं भनेर आश्वस्त पार्ने काम गरिरहेका छौ । नयाँ संस्था स्थापना गरेर सञ्चालनमा ल्याउन समय लाग्दो रहेछ । यसको प्रक्रिया पुर्याउने, सञ्चालन पुर्वाधार तयार, लगानी र त्यसको प्रतिफल प्राप्त गर्न सहज छैन । हामीले २ वर्षमा ४ वटा परियोजनामा लगानी गरेका छौं । यसमध्ये २ वटा सञ्चालनमा ल्याइसकेका छौं । हामी तालिम केन्द्रको स्थापना गर्दैँ छौं । राम्रो आयोजना छ, लगानी गर्नु पर्यो भन्ने प्रस्ताव आएमा हामी जुनबेला पनि तयार छौं । यहाँले लगानी गर्छु भन्नु भयो, कसरी जुटाउनु हुन्छ ? इमर्जिङको आफ्नो पुँजी भनेको ५० करोड रुपैयाँ मात्र हो । हामीले होटल, पुर्वाधार बैंक, केयर रेटिङमा लगानी गरिसकेका छौँ । अब तालिम केन्द्रमा लगानी गर्दै छौं । हामीसँग इक्विटीको केही रकम पनि छ । इमर्जिङले लगानी जुटाउन ऋणपत्र र डिवेन्चर जस्ता वित्तीय औजार जारी गर्न सक्छ । यदी राम्रो आयोजना छ भने जनताबाट पैसा उठाएर लगानी गर्न सक्छौ । इमर्जिङमा ९० प्रतिशत संस्थापक र १० प्रतिशत मात्र सर्वसाधारणको लगानी छ । थप पुँजी जुटाउनका लागि सर्वसाधारणलाई १० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौँ । ठुलो परियोजनामा लगानी गर्ने अवस्था आयो भने जनताबाट पैसा उठाउने छौँ । इमर्जिङको आईपीओ कहिले आउछ ? बोर्डले स्वीकृति दिएपछि तुरुन्त आईपीओ ल्याउने काम हुनेछ । साढे ४ करोडको आईपीओ निष्कासन गर्ने छौ । यसका लागि हामी तयार छौँ । इमर्जिङले धेरै क्षेत्रमा लगानीको योजना सार्वजनिक गरेको छ । लगानीको विविधिकरण कसरी गर्दै हुनुहुन्छ ? हाम्रो लगानी विविधिकरण गर्ने सोच हो । वित्तीय र पर्यटनमा हामी गइसकेका छौ । यस्तै क्षमता अभिवृद्धिमा जाने तयारीमा छौं । अब हाम्रो प्राथमिकता भनेको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र हो । राम्रो परियोजना पाए अन्य क्षेत्रमा लगानी गर्छौ । हामीले ४ क्षेत्रमा लगानी गर्नका लागि परियोजना खोजी गरिहेका छौं । परियोजना ल्याउनेले केही रकम लगानी गरेमा हामी थप्ने काम गर्छौंै । यस्तै आयोजना सञ्चालन गर्न क्षमता पनि हुनुपर्यो । आयोजना आर्कषक पनि हुनुपर्छ । नोक्सान हुने परियोजनामा इक्विटी लगानी गर्दैनौ । व्यक्तिगत रुपमा भेटेर पनि पुँजीको अभाव छ भने हामीले लगानी गर्ने भनेका छौँ । आउँदो ५ वर्षमा इमर्जिङ कुन अवस्थामा पुग्ने छ ? हरेक वर्ष २ वटा नयाँ परियोजनामा इक्विटी लगानी गर्ने मेरो लक्ष्य छ । वर्षमा २ वटा नयाँ कम्पनी स्थापना गर्दै लैजाने लक्ष्य हो । तालिम केन्द्र स्थापना गर्दै छौँ । त्यसपछि अर्को परियोजनामा लगानी गर्नेछौँ । हामीले नयाँ अवधारणा खोजिरहेका छौं । आउँदो ५ वर्षमा १० वटा कम्पनी खडा गर्न सकियो भने ठुलो उपलब्धी हुनेछ । इमर्जिङले रेटिङ एजेन्सीमा पनि लगानी गरेको छ । नेपालमा रेटिङको अवस्था के छ ? सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयाँ पुँजी भएका कम्पनी सर्वसाधारणमा जानुपर्ने भनेको छ । लिमिटेड कम्पनी हुने बित्तिकै आईपीओ निष्कासन गर्नुपर्छ । आईपीओ निष्कासन गर्नका लागि रेटिङ गर्नुपर्ने हुन्छ । यता मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बढी कर्जा लिने ऋणीको क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै २८ वटै वाणिज्य बैंकको पनि नयाँ रेटिङ गर्नुपर्ने मौद्रिक नीतिमा भनिएको छ । नयाँ कर्जा लिँदा, कर्जा नविकरण गर्दा ऋणीको पनि रेटिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले गर्दा अब रेटिङको बजार ठुलो देखियो । यस्तै अर्को मौद्रिक नीतिमा विकास बैंक र वित्त कम्पनीको रेटिङ गर्नुपर्ने व्यवस्था आउन सक्ला । संस्थागत रेटिङको कुरा आएको छ । आज बैंकको भयो, भोली बीमा कम्पनीको होला । त्यसैले नेपालमा रेटिङ व्यवसायको सम्भावना झनै बढेको छ । सरकार र राष्ट्र बैंकलाई रेटिङ् गराउन सुझाव तपाइले दिनु भएको हो ? हामीले बेलाबेलामा भन्दै आएका थियौँ । ३ वर्षअघिको मौद्रिक नीतिमा ऋणीको रेटिङको कुरा आएको थियो । पहिला इक्रा मात्र थियो । अहिले केयरसहित दुइवटा भइसकेको छ । यस्तै अर्को आउने तयारीमा छ । सरकारले पनि रेटिङ् गर्ने भन्ने कुरा उठाएको छ । मुलकको रेटिङ नेपाली कम्पनीले गर्न नसके पनि अन्तर्राष्ट्रिय लगानी ल्याउन भुमिका निर्वाह गर्न सक्छन् । नेपालको रेटिङ भएपनि अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्न बाटो पनि खुल्ने छ ।
बदलिँदो जीवनशैली र वातारण प्रदुषण बाँझोपनको मुख्य कारण हो- डा. नुतन शर्मा
डेढ १५ दशकदेखि प्रसुती तथा स्त्रीरोग बिशेषज्ञका रुपमा काम गरेकी डा. नुतन शर्मा पछिल्लो समय काठमाडौको बयोधा अस्पताल र ललितपुरको अल्का अस्पतालमा हुनुहुन्छ । डा. शर्माले हाल अल्कामा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन गरी बाँझोपन सम्बन्धी समस्या भएकालाई सेवा दिइरहनु भएको छ । पछिल्लो समयमा बाँझोपन भएकालाई टेस्टीवेवी जन्माउने प्रविधिको विकास भएको छ । नेपालमा बाँझोपनको समस्या धेरै रहेको छ । बाँझोपनको कारण र यसबाट कसरी बच्ने विषयमा केन्द्रीत रहेर डा. शर्मासंग विकास न्यूजका लागि डोमी शेर्पाले गरेको कुराकानी: डा. नुतन शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ महिलाको बाँझोपन भनेको के हो ? एक दम्पत्तिले बिहेपछि एक बर्षसम्म कुनैपनि अस्थायी साधनको प्रयोग बिना यौन सम्बन्ध राख्दा पनि बच्चा नबस्ने वा सन्तान नहुने समस्यालाई बाँझोपन भनिन्छ । बाँझोपनको समस्या श्रीमान वा श्रीमती दुवैमा हुन सक्छ । धेरै हदसम्म बाँझोपन पनि निराकरण गर्न सकिने स्वास्थ्य समस्या हो । सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा पनि एक बर्षदिन भित्रमा गर्भ रहेन भने उपचार थाल्नुपर्ने हुन्छ । बाँझोपन प्राथमिक र माध्यमिक गरी दुई किसिमका हुन्छन । प्राथमिक बाँझोपन भन्नाले कहिले पनि बच्चा नबसेको बाँझोपन हो । माध्यमिक भनेको एक पटक बच्चा बसेर फेरी दोस्रो पटक बच्चा नबसेको बाँझोपन हो । बाँझोपन हुनुका मुख्य कारण के हुन ? ७० देखि ८० प्रतिशत बाँझोपनका कारण संक्रमण रहेको छ । महिलामा जनचेतनाको अभाव, संक्रमण भएपछि पनि उनीहरु जँचाउन स्वास्थ्य संस्थामा नजाने यसको मुख्य कारण हो । फोहर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुखेको हुँदा पनि उनीहरू चिकित्सक कहाँ जाँदैनन् र जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछि मात्रै उनीहरू चिकित्सक कहाँ जान्छन् । यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने मात्र बाँझोपनबाट बच्न सकिन्छ । पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्यूबमा संक्रमण गराउँछ । ट्यूवमा संक्रमण भएपछि ट्यूब ब्लक हुन्छ । ट्यूब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन। बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । तलबाट पाठेघरभित्र छिरेर ट्यूबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्यूब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो । बाँझोपनको १० देखि १५ प्रतिशत कारण जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको फर्मेशन राम्रो नहुने जस्ता कारणले जन्मजात बाँझोपना हुने गर्दछ । अर्को कुरा धेरैलाई थाहा नहुन पनि सक्छ तर महिलाको उमेर पनि बाँझोपनको एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरूषको हकमा लागू हुँदैन । महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउण्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ। उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेश कुरा निकाल्छौ । जस्तै महीनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सूरू गर्छ । एउटा अण्डा बन्नलाई आठ दस वटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ। महिनावारी भएको १४ दिनसम्म एउटा अण्डा मात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डा मात्रै परिपक्व हुन्छ । त्यो अण्डा कसैको १२ कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ । मादक पदार्थ र चुरोट खैनीको अधिक सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधीको अधिक सेवन, लामो समयसम्म गर्भ निरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन वा सुगर र थाइराइडको समस्याले पनि बाँझोपन हुन्छ । आमा बन्नलाई कुन उमेर सही हुन्छ ? महिलाको उमेर ४० वर्ष नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरुको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ । पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरु घरकै काममा केन्द्रीत रहन्थे। बिहे भयो बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आज किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरु पढाई र आफ्नो ‘करियरमा’ र व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दा भन्दै एउटा उमेर जान्छ । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनुपर्छ । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । बाँझोपनको अर्को महत्वपूर्ण कारण लामो समयको ’ग्याप’ हो । सामान्यतया विहे भएपछि महिलामा ‘इन्फेक्शनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्शनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ । हाम्रो देशमा अधिकांश दम्पत्तिलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा हुँदैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन्। गर्भपतन सधै सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा त कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो। असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्शन’ गराउँछ । कहिले कहिले नराम्रो सामाग्री प्रयोग गर्दा पाठेघर नै जानसक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो। बिहे गरेपछि कपर्टी राख्छन्, कसैले तीन महिनाको सुई लिन्छन। कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । बाँझोपनको लक्षण के हुन् ? धेरै जसोमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ । तर अनियमित महिनावारी हुनु वा दुखाई धेरै हुनु, यौन सम्पर्क गर्दा अति पीडा हुनु, यौन सम्पर्कका बेला पुरुषको यौनाङ्ग उत्तेजित नहुनु, यौन रुची घट्नु, आँखा धमिलो देखिनु वा कपाल बढी झर्नेहरुमा बाँझोपनको संभावना बढी हुने गर्दछ । बाँझोपन महिलाको कारणले मात्र हुन्छ र ? बाँझोपन महिलाको कारणले मात्र कहिले हुँदैन । यसमा पुरुषको पनि उतिकै भूमिका हुन्छ । यदी १०० जना मानिसमा बाँझोपनको ६० प्रतिशत कारण महिला हो भने ३५ प्रतिशत कारण पुरुष पनि हो । आजको समयमा तनाव, वातावरण प्रदुषण, काम गर्ने ठाउँमा भएको रासायनिक एक्सपोजरले स्पेर्म को मात्रा कम गर्दिन्छ । त्यसैले बाँझोपनको कारण पुरुष रहेको छ । बाँझोपनलाई लिएर मानिसहरुको धेरै किसिमको भ्रम रहेको छ । महिलाको कारणले मात्र बाँझोपन हुन्छ भन्ने भ्रम मानिसहरुमा रहेको सबैभन्दा दुखलाग्दो भ्रम रहेको छ । उहाँहरु पहिले आफ्नो श्रीमतीको पुरा जाँच गरेर मात्र आफ्नाे जाँच गर्नुहुन्छ । महिनावारी रोक्न खाईने पिल्सहरुले बाँझोपन निम्ताउँछ भन्ने एकदमै गलत बुझाई हो । महिनावारी रोक्ने औषधीले कहिले पनि बाँझोपन गराउँदैन । बाँझोपनको रोकथाम र ध्यान दिनुपर्ने कुरा के हुन् ? उपयुक्त समयमै बिहे गर्ने र सन्तान जन्माउने, असुरक्षित गर्भपतन नगराउने, लागू औषधको सेवन नगर्ने, नियमित महिनावारी नहुने, महिनावारी हुँदा धेरै रक्तश्राव हुने, तल्लो पेट धेरै दुख्ने, योनीबाट फोहर पानी बग्ने, योनी चिलाउने लगायतका समस्या भए तत्काल बिशेषज्ञ चिकित्सक परामर्श तथा उपचार गर्नुपर्छ । यस्तै थाइराइड र रगतको जाँचका साथै भिडियो एक्सरे गरी आफ्नो स्वास्थ्य अवस्थावारे नियमित जानकारी राख्नुपर्छ । महिनावारीको समयमा आफ्नो सरसफाईमा बिशेष ध्यान दिने र नियमित व्यामका साथै आफ्नो तौललाई नियन्त्रणमा राख्ने जस्ता कुरालार्इ ध्यान दिने हो भने बाँझोपनलाई ८० प्रतिशत कम गर्न सकिन्छ ।
७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ- राजेश अग्रवाल
राजेश अग्रवाल, अध्यक्ष, फर्निचर एसोसियसन नेपालीहरु फर्निचर व्यवसायीहरु कति छन् ? अहिले हाम्रो ३ वटा जिल्ला भईसक्यो । पहिला हाम्रो सबै जिल्लाको फर्निचर हाम्रो एउटै संगठन थियो। तर अहिले आएर भक्तपुरले आफ्नै छुट्टै दर्ता गराएको छ र ललितपुर पनि आफ्नै दर्ता गराउने प्रकृयामा छ । भक्तपुर, ललितपुर र काठमाडौं सबै गरेर दर्ता भएका फर्निचर पसलहरु कम्तीमा पनि ४००–४५० का हाराहारी छन् । तर धेरै फर्निचरहरु अझै पनि दर्ता भएका छैनन् । अझै पनि कति फर्निचर पसलहरु घरघर मै रहेका छन् । नेपाली काठको अवस्था कस्तो रहेको छ ? पाउन कतिको सजिलो हुन्छ ? सबैभन्दा समस्या नै यहाँको काठकै छ । यदि नेपाल सरकारले राम्रोसँग काठ उपलब्ध गराउने हो भने हामी ८० प्रतिशत उत्पादन नेपालमा हुने हो भने हामीले आयत दरलाई २० प्रतिशतमा झार्न सक्छौ । तर काठको यति लामो प्रक्रिया छ भने त्यसमा पनि हाम्रा फर्निचर व्यवसायीहरुले काठ सिधै वनविभागबाट पाउँदैन् । काठ नभएर बाहिरबाट आयत गर्नुपर्ने स्थिति छ । काठ कति आयत हुन्छ ? हामीसँग यकिन डाटा छैन तर बुझेसम्म ३० अर्ब जतिको आयत हुन्छ । नेपाली काठ भन्दा पनि सस्तो पर्छ हो विदेशी काठ? सस्तोभन्दा पनि बिदेश काठ हरु सजिलोसँग पाईन्छन् । नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो न सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने पहिलो मान्यता हो । हाम्रो मान्यता त बाहिरबाट काठ आयत नगरु भन्ने हो तर यस्तै छ स्थिती । मलेसियन र ईन्डियाबाट फर्निचर बन्ने काठ आउँछन् । चाईनाबाट चाँही प्लाईहरु बढी आउँछन् । नेपाली अग्राख काठ सबैभन्दा राम्रो मान्छन् ? बाहिरको काठहरु हामीहरुले बाध्यताले मात्र झिकाएको हो नत्र नेपाली काठ जस्तो तिनीहरु टिकाऊ हुँदैनन् । सामान नपाएर मात्रा यिनीहरु झिकाएको हो । यी काठहरुको आयत हुन थालेको ४–५ वर्ष मात्र हुन लागेको छ । वाणिज्य आपुर्ती मन्त्रीलाई हामीले मेलाको उद्घाटनमा बोलाँउदा उहाँले भन्नुभयो, “की यती काठ हामीहरुसँग फालाफाल छ, ३ महिला पर्खनुस् र तपाईहरुलाई हामी यही काठ उपलब्ध गराउँछौँ । तर सरकार यहाँ महिना महिनामा फेरिन्छ झन् मन्त्री त कुरै नगरौँ ।” फर्निचरको बजार कस्तो रहेको छ ? हाम्रोमा सबैभन्दा बढी चाइनिज काठ बढी आयत हुन्छ किनभने चाइनिज काठ सस्तो र हेर्दा राम्रो पनि हुन्छ । हाम्रो नेपालमा न काठ पाईन्छ न त दक्ष जनशक्ति मानिसहरु प्रशिक्षण पाउने वित्तिकै बाहिरको लागि हानिन्छन् । जसको कारणले गर्दा हामी बाहिरबाट काठ आयात गर्न वाध्य छौँ । बाँकी टर्की, मलेसिया, इन्डोनेसियाबाट आयत हुने गर्दछ । यिनीहरु अलिक महंगा काठ हुन् । यिनीहरुको आफ्नै शोरुम पनि रहेको छ । एउटा टि–टेबल २ लाखसम्मको पनि आयत हुने गर्दछ र बिक्री पनि भईरहेको छ । विदेशी काठले कति बजार खाइरहेको छ ? ७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ । अग्राख काठ र नेपाली काठमा रकम कतिको फरक छ ? मोटामोटी रुपमा २० प्रतिशतले फरक पाईन्छ । स्क्वायर फिट अनुसार दाममा फरक पर्न जान्छ । नेपाली काठमा के बढी बिक्री भएको पाईन्छ ? नेपाली काठमा बढी बिक्री भएकोमा अफिस टेबल, पलङ बिक्री भएको पाईन्छ । यिनीहरु महंगो भए पनि मानिसहरु बलियो हुन्छ भनेर यही किन्न मन पराउँछन् । पाएसम्म मानिसहरु यही किन्न रुचाउछन् तर नपाएको कारणले चाईनिज काठ किन्न वाध्य छन् । एउटा फर्निचरलाई नेपाली काठ बेच्न भन्दा विदेशी बेच्न फाईदा हुन्छ हो ? फाईदा पनि बढी र लागत पनि कम । एउटा नेपाली काठ १० हजार पर्न जान्छ भने विदेशी काठ ५–६ हजार पर्न जान्छ । त्यसैमाथि पनि विदेशी काठ सजिलोसँग पनि पाईन्छ । नेपाली कार्पेटको स्थिती के छ ? हामी आम नेपालीले प्रयोग गर्ने कार्पेट बनाउन हामी सक्षम भईसकेका छौँ । त्यसको आयत पनि बन्द भईसक्यो । ३ वटा फ्याक्ट्री नेपालमा भईसकेको छ र अझै अर्को एउटा पनि आउँदैछ । महंगो दरको अझै पनि आयत गरिरहेका छौँ । हातले बनाएको गलैचाको अवस्था कस्तो रहेको छ ? अहिले आएर हातले बनाएको गलैचाको निर्यात पहिलेको भन्दा कम भएको छ । त्यसमा पनि कामदारकै समस्या छ । निर्यात नभएको होईन तर अहिले नेपालमा गलैचा उद्योगको स्थापना भईसकेको छ जुन सामान्य दायराबाट शुरु गरेको थियो । महंगोमा चाँही अझै सक्षम भईसकेका छैनन् । नेपाल कार्पेट उत्पादनमा सक्षम भईसकेको छ, त्यही पनि बाहिरीबाट किन आयत गरिन्छ ? नेपाल कम मुल्यको कार्पेटको उत्पादनमा मात्र सक्षम भएको देखिन्छ र अझै पनि बढी मुल्य पर्ने कार्पेटको उत्पादन भएको पाइएको छैन र उक्त कार्पेट बाहिरबाटै आयत गरिन्छ । मेलाको बारेमा केही बताईदिनुस् न? हाम्रो मेलामा यसपटक अन्तर्रास्ट्रिय कम्पनीमा स्टल राख्नेमा भारत र पाकिस्तान पक्का भईसकेका छन् । अरु हुन बाँकी छ । यसपटक हामीलाई स्टलकै समस्या होला जस्तो भईरहेको छ । पोहोर २ वटा स्टल लिनेले यसपटक ४ वटा स्टल लिने भनेका छन् किनभने पछिल्लो समयको उनीहरुको प्रतिकृया राम्रो आएको छ । तर हामीहरुको मुख्य उद्देश्य भनेको धेरै प्रदर्शनकर्ता र थोरै स्टल हो । किनभने धेरै प्रदर्शनकर्ता हुँदा मेलामा आउनु हुने मानिसहरुले धेरै अवलोकन गर्न पाउँछन् र एउटै प्रदर्शनकर्ताले धेरै स्टल लिँदा कम सामानको प्रदर्शन हुने र मेला पनि एकैछिनमा घुमेर भ्याईने हुन्छ । विगतको बर्षमा भन्दा अहिले केही फरकपन ल्याउनु भएको छ की नार्इ ? हामीले यो पटक केही फरकपन ल्याएका छौँ । पहिला हाम्रो हलमा मात्र प्रदर्शन हुन्थ्यो तर अहिले बाहिर पनि डुम राख्दैछौँ । हलमा ६/७ को स्टल हुन्छ । सबै डुममा ६०–६५ वटा स्टल हुन्छन् । यो प्रदर्शनकर्ताको आवश्यकता अनुसार गरिन्छ । हामीले प्रवेसिका पनि बदल्दै छौँ । र पहिला हामी सामाजिक संजालमा त्यति जान पाएका थिएनौँ त्यसैले यो पटक हामी अधिकतम सोसल मिडियामा जाँदैछौँ । फर्निचरले भोग्नु परेको समस्या र सरकारले के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ? सबैभन्दा समस्या हाम्रो कच्चा पद्दार्थको हो । जती पनि बैठक हुन्छन् त्यसमा पनि सबैको यही एउटा गुनासो रहेको छ । ३० अर्बको वस्तुको कारोबार गर्नु सानो कुरा होइन । आज तपाईंको ३० अर्बको कारोबार गर्नेले प्रत्यक्ष रोजगारीमा कम्तीमा पनि एउटा पसलमा ४ जना कामदार राख्दा पनि हाम्रो ७०० वटा रिटेल पसल गरेर ३००० कामदार हुने गर्छ । सबै मानिसको धेरै कमाउने योजना हुन्छ । सर्वप्रथम मानिसहरु सर्टिफिकेट पाउने बित्तिकै बाहिरको लागि तातिन्छन् । यहाँ ३० कमाए बाहिर ६० कमाउँछु भन्ने उसको सोच हुन्छ । सरकारले हामीले कच्चा पद्दार्थ सजिलो र सस्तो मुल्यमा प्रदान गरीदिए सहयोग हन्थ्यो । हामीले ६० प्रतिशत आयत गर्छौ भने ४० प्रतिशत उत्पादन गर्छौ । यदि सरकारले यसमा सहयोग गर्ने हो भने हामीले २ बर्षमा यसलाई ६० मा परिवर्तन गर्न सक्छौँ । त्यस्तै ट्रेनिङ प्रदान गरेर सर्टिफिकेट पाउने बित्तिकै नेपाल सरकारले बाहिर जाने प्रवृद्धीमा रोक लगाउन पर्छ । सरकारको तर केहीमा पनि राम्रो नीति नियम छैन । हरेक कुराको विकासको लागि राम्रो नीति नियम हुन निकै नै आवश्यक रहेको छ । कति सम्मको काठ बिक्री हुन्छन् ? यसको यकिन छैन किनभने हामीले २००० देखी २ लाख सम्मको काठ बिक्रीमा राखेका छौँ । अझै त्यो भन्दा महँगो पनि बजारमा रहेको छ । हाम्रो देश गरीब छ तर जनता धनी छन् । किन्नेले १० लाखको पनि किन्छन्। केही भन्न चाहनुहुने र हामीले सोध्न छुटाएको प्रश्न? आउँदो मेलामा तपाईं हामीले जतिनै सम्झाए पनि भिजिटर आएनन् भने त्यसको केही काम छैन । म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँ आएर हामीले के उत्पादन गर्दैछौ भन्ने हेरिदन आग्रह गर्दछु । तपाईंहरु किन्नुस् नकिन्नुस् केही छैन, तर हामी के कुरामा सक्षम भईसक्यौ भन्ने हेरिदिनुस् । अरु बेला एउटा फर्निचरको लागि धेरै ठाउँ दगुर्नु पर्ने हुन्छ तर यहाँ सबै कुरा एउटै छाना मुनी पाईन्छ । नेपाली जनताले हामीलाई साथ दिएर हामीहरुको सामान प्रयोग गर्दिएमा हामीहरुलाई धेरै सहयोग मिल्थ्यो र आएको १/२ वर्षमा हामी सबै बनाउन सक्षम हुनेछौँ । सबैलाई यसको सक्दो प्रचारप्रसार होस् । यही छ आग्रह ।