विषादीयुक्त तरकारीको मूल्यमा नै अर्गानिक तरकारी बेचिरहेका छौँः पवन गोल्यान

व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । आयात व्यापारलाई भन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । विषादीयुक्त वस्तुको उपभोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकेर नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिमा लागि रहेको छ गोल्यान समूह । बैंक, धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिमा पनि लगानी सुरु गरेको छ ।  गु्रपले प्रदेश नं १ मा अर्गानिक उत्पादन र व्यवसाय विस्तारको लागि दुई लगानी लगानी गरिरहेको छ । नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर विश्वभर चिनाउने समूहको उद्देश्य रहेको छ । देशबाट निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित भएको गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानसँग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको विकास बहसः धेरै फाइदा हुने अन्य व्यवसाय नरोजेर कृषि व्यवसायलाई किन रोज्नु भयो ? मैले ६० वर्ष पुगेपछि आफ्नो सबै व्यापार व्यवसाय छोराछोरीलाई जिम्मा लगाए । तर, पनि ममा आफूले नै केही नयाँ व्यवसाय गर्ने इच्छा जागेर आयो । बजार व्याप्त विषादीयुक्त तरकारी र फलफूल देखेर वाक्क भएको थिएँ । यो देखेर ममा अर्गानिक उत्पादन गर्ने अठोट जागृत भयो । देशमा व्याप्त विषादीको प्रयोगलाई निमूल पार्ने अभियानका साथ मैले यो व्यवसाय शुरु गरेको हुँ । भारतमा अध्ययन गर्न जाँदा दुर्घटना परी छोराको निधन भएपछि मैले उसकै यो व्यवसाय शुरु गरेको हुँ । देश र जनतालाई विषादी रहित तरकारी तथा फलफूल उत्पादन गर्ने सोचका साथ म कृषिमा प्रवेश  गरेँ । म मात्रै होइन देशका कृषकलाई समेत अर्गानिक कृषिमा जोड्ने अभियान मैले लिएको छु । अर्गानिक खेतीको लागि प्राविधिक राखेर झापाबाट मैले ५ वर्षअघि माटो ब्राण्ड शुरु गरेको हुँ । माटो ब्रान्डले कसरी कृषकलाई जोड्छ त? हाम्रा अर्गानिक उत्पादन गर्ने कृषकहरूले उत्पादन गरेका वस्तुहरु बिचौलिया विना नै माटो ब्रान्ड मार्फत बजारमा ल्याएका छौं । माटो ब्रान्डमा जोडिएर कृषकले कसरी फाइदा पाउँछन् त भन्दा हामीले झापामा कृषि पेशामा रहेका कृषकहरुले १ बिघा बराबर वार्षिक कति कमाइ रहेका छन भनेर हेर्यौ । त्यहाँ कृषकहरूले प्रति बिघा २० देखि ५० हजार कमाइरहेका छन् । यद्यपि हाम्रो ब्रान्डले प्रति बिघा २ लाखको तरकारी तथा फलफुल उत्पादन हुने वा गराउने लक्ष्य लिएर अगाडि बढेको छ । कृषकलाई अर्गानिक उत्पादन गर्न प्राविधिक सहयोग, अर्गानिक बिउ र उत्पादनलाई बजारमा पुर्याउने काम गर्दछ । माटो ब्रान्डले उत्पादन गरेको अर्गानिक  तरकारी तथा फलफूल सामान्य उपभोक्ताले पनि प्रयोग गर्न सक्छन् ? सामान्यतया बजारमा उपलब्ध तरकारी तथा फलफूलको मूल्य र माटो ब्रान्डले उत्पादन गरेको तरकारी तथा फलफूलको मूल्य बराबर नै हुन्छ । विषादी प्रयोग भएको र अर्गानिक तरिकाले उत्पादन भएको तरकारी तथा फलफूलहरूको मूल्य समान भएपछि सामान्य उपभोक्ताहरुले माटो ब्रान्डका तरकारी तथा फलफूल प्रयोग गर्न सक्छन् । सुरुको चरणमा हामी घाटामा छौ । विस्तारै हाम्रो उत्पादन वृद्धि हुन्छ र हामीसँग अर्गानिक उत्पादन गर्ने कृषकहरु पनि आएर जोडिन्छन् । त्यस पछि हाम्रो घाटा घट्दै नाफा तर्फ जान्छ । कृषिजन्य वस्तुको आयात घटाउने र निकट भविष्यमा अर्गानिक कृषि वस्तुलाई अन्य देशमा निकासी गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौ । नेपाल सगरमाथा र बुद्धको देश भनेर चिनिए जस्तै अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्ने देश भनेर चिनाउने छौ । अर्गानिक खेतीको सम्भावना कसरी महसुस गर्नुभयो ? कृषि प्रधान देश भनेर चिनिएको नेपालमा किसानहरुलाई कृषिमा नै आत्मनिर्भर बनाउनुपर्छ भन्ने लागेर नै कृषि व्यवसायमा हात हालेका हौं । झापा जिल्लाका करिब ५० वटा गाउँमा हामीले काम गरेका छौँ ।नेपालमा विभिन्न किसिमका रोगबाट पीडित धेरै किसानहरु भएकाले किसानलाई विषदीमुक्त कृषिमा लाग्न प्रेरित हुने काम सुरु गर्नुपर्छ भनेर यो सुरु भएको हो । विषादीको प्रयोग भएका वस्तुहरूको आयात निकै बढेको र यसलाई नरोकी आत्मनिर्भर बन्न नसकिने अवस्था महसुस गरेर नै काम सुरु गरेका हौं । देशको व्यापार घाटा कम गर्न कृषिमा आत्मनिर्भर बनाउन सक्नुपर्छ जस्तो लाग्छ । यसका लागि त किसानहरुलाई अगाडि ल्याउनु पर्यो । उनीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सीपका साथै नयाँ प्रविधिबारे जानकारी दिनुपर्छ भन्ने लागेर नै यो क्षेत्रमा लागेको हुँ । नेपालमा कृषि क्षेत्र पछाडि पर्दै गएको अवस्थामा तपाईले थाल्नुभएको अर्गानिक खेतीको भविष्य कस्तो होला ? नेपाली जनताले विषादी मिसिएको तरकारी तथा फलफूलबाट कसरी छुटकारा पाउने भन्ने कुरा खोजिरहेका छन् । सुरुमा किसानलाई अर्गानिक खेतीमा ल्याउन कोशिस गर्दा  विश्वास गर्न गारो हुने, खेती गर्न नै नचाहने अवस्था थियो । त्यो अवस्थामा परिवर्तन गर्न हामीले माटो ब्रान्ड र फार्मबाट अर्गानिक तरकारी उत्पादन सुरु गरी बजारमा ल्यायौ र त्यसमा कृषक पनि जोडिन थालेका छन् । मुख्य कुरा किसानलाई बुझाउन जरुरी छ कि अर्गानिक खेतीले लागत घटाउँछ । तपाईसँग अर्गानिक कृषिमा जोडिएका कृषहरुको प्रतिक्रिया कस्तो छ ? हामीले सुरु गरेका धेरै गाउँहरु अहिले अर्गानिक खेतीमा सक्रिय रूपमा लागेका छन् । अहिले कृषकहरू नै अर्गानिक कृषिमा राम्रो हँुदो रहेछ भन्ने बुझेका छन् । देश भरका धेरै किसानहरु अर्गानिक खेतीमा प्रोत्साहित हुँदै गएका छन । उनीहरुलाई सहयोग गर्दै जाने हाम्रो पनि चाहना हो । गोल्यान समूहले अर्गानिक खेतीप्रति किसानलाई आकर्षण बढाउन के गर्दैछ ? हामीले प्राविधिकसहित गाउँमा गएर त्यहाँको अवस्थाका बारेमा अध्ययन तथा अवलोकन गर्यौ । कुन उत्पादन राम्रो हुन्छ भनेर यस सम्बन्धमा पनि परीक्षण गरियो । हामीले प्रत्येक गाउँ गाउँमा कृषि विज्ञ खटाएर चेतनामूलक तालिम सञ्चालन गरी ज्ञान प्रदान गरिरहेका छौँ । किसानहरूलाई बीउ, बिरुवाहरु चाहिएमा पनि हामीले ल्याइदिने गरेका छौ । जुन ज्ञान हामीले किसानलाई प्रदान गरेका छौ, त्यसबाट किसानले गाउँमा अर्गानिक उत्पादन गर्न सक्छन् । उत्पादित वस्तुको निर्यात लागत बेहोर्ने गरी किसानहरुलाई अर्गानिक खेती प्रति प्रेरित गर्ने कार्य हामीले गरिरहेका छौं । अर्गानिक उत्पादन फष्टाउन केको प्रयोग गरिन्छ ? अर्गानिक भनेकै शरीरलाई हानी नगर्ने भन्ने हो । गाउँघरमा नै उत्पादन हुने गौमूत्र, निम, धतुरोहरुको प्रयोग गरेर हामीले तरकारी तथा फलफूल उत्पादन गर्न लागेका हौं । हामीले हाम्रो गाउँमा नै पाउने वस्तुहरुको प्रयोग गरेर अर्गानिक उत्पादन फष्टाउने बनाउने उपाय तथा विकल्पहरूको खोजी गरेका छौ । यसले स्थानीय वस्तुको सदुपयोग हुनाका साथ विदेशबाट आयत हुने विषादीको खर्च पनि जोगिन्छ । गाई भैँसीको गोवर, खर गायतलाई कुहाएर मलको रुपमा प्रयोग हुन्छ, जसले रासायनिक मलको आवश्यकता नै पर्दैन । यसरी मल उत्पादन भएपछि रासायनिक मल किन्दा किसानलाई जुन लागत लाग्थ्यो, त्यो लागत पूर्ण रूपमा घट्छ । अर्गानिक बीउबिजन कसरी तयार पारिन्छ वा ल्याइन्छ ? अर्गानिक बीउबिजन हाम्रो माटो ब्रान्डले नै उत्पादन गर्छ । स्थानीय साधन स्रोतबाटै उत्पादन गरिएको अर्गानिक बीउबिजनहरू किसानलाई दिने हो । नेपालमा नपाइने अर्गानिक बिउहरु हामीले भारतबाट आयात गरेर त्यसको संरक्षण र विकास गर्छाै । अर्गानिक खेतीको लागि किसानले कतिको साथ र सहयोग दिएका छन् ? तपाईले अर्गानिक उत्पादन भएको ठाउँमा नै गएर उनीहरुसँग कुरा गर्न सक्नुहुन्छ । हामीले अनुमान गरेभन्दा पनि धेरै किसानहरु उत्साहित छन् । हामीले खेती गरेको ठाउँ हेर्न आउनेहरुले खेती हेरेर फर्किए पछि माटो ब्रान्डमा आएर हामी पनि यति जमिनमा यस्तो खालको खेती गर्छौं भनेर साथ र सहयोग दिइरहेका छन । यसले हामीलाई झनै उत्साहित बनाएको छ । अहिलेसम्म ५ हजारभन्दा धेरै किसान हामीसँग जोडिन आएका छन् । यसबाट किसानको उत्साह प्रष्टै देख्न सकिन्छ । माटो ब्रान्डले कस्तो कस्तो खेतीलाई बढी प्राथमिकता दिएको छ ? हाम्रो ब्रान्डले विशेष गरेर तरकारी तथा फलफुल खेतीका साथै धान, दाल, मकैलाई प्राथमिता दिएको छ । हाम्रो समूहले झापामा २ सय बिघा जमिनमा खेती गरिरहेका छ । हामीले आँप, लिची, मेवा, ड्रागन फुड, खरबुजा, तरबुजा, कागती, स्ट्रबेरीलगायतका फलफूलमा जोड गरेका छौँ । हामी यो २ सय बिघालाई कमर्सियल फाम बनाउने प्रयासमा छौ । अहिले १ नम्बर प्रदेशमा २ अर्बको लगानी गरेर काम गरिरहेका छौँ विस्तारै अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने योजनामा गोल्यान समूह छ । तपाईहरुको अर्गानिक उत्पादन भाटभटेनी र विगमार्टमा मात्रै किन ? अहिले सुरुको चरण भएकाले पनि भाटभटेनी र विगमार्टमा मात्रै उपलब्ध गरिएको हो । यसलाई हामीले विस्तारै अन्य सामान्य बजारमा पनि ल्याउँछौ । हाम्रो अर्गानिक उत्पादन र बजारमा भएका अन्य उत्पादनको मूल्य बराबर भनेरै सबै उपभोक्ताले उपभोग गर्न सकुन् भन्ने हो । बराबरी मूल्य भएपछि सबै उपभोक्ताहरुले माटो ब्राण्डको तरकारी तथा पलफूल प्रयोग गर्ने छन् । अन्य उत्पादनमा जस्तै बराबरी मूल्यमा अर्गानिक उत्पादनलाई बजारमा ल्याउँदा चुनौती हुँदैन ? सुरुमा हामीले घाटामा नै व्यापार व्यवसाय गरेका छौँ । हामीले जनताको स्वास्थ्यका लागि घाटामा नै काम गरिरहेका छौं । विस्तारै कृषक र उपभोक्ताहरुलाई अर्गानिक उत्पादन प्रति आकर्षण बढाउँदै लैजाने हाम्रो लक्ष्य हो । हाम्रो घाटाबाट विस्तारै नाफामा जान्छ । अनि हामीलाई चुनौती हुँदैन । हाम्रो उत्पादनमा विचौलिया रहँदैन । हामीले कृषकबाट ल्याएको वस्तुमा १० प्रतिशत प्याकिङ र ढुवानीलगाएत खर्च जोडेर बजारमा ल्याएका छौ । उपभोक्ताले पनि सस्तोमा तरकारी तथा फलफुल प्रयोग गर्ने पाउने र कृषकले पनि बिचौलियको मारमा नपर्ने भएकाले पनि हामीलाई अझ सहज हुन्छ । अर्गानिक उत्पादन विदेश पनि निर्यात हुन्छ ? हामीले नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर केही वर्षमा चिनाउने छौं । अहिले पनि विदेशमा माटो ब्रान्डको अर्गानिक उत्पादन बिक्री भहिरहेको छ । हामी नेपालबाट वस्तु निर्यात गर्नेमा टप छौं । हामीले विश्व बजारमा अर्गानिक उत्पादन निर्यात गर्ने टप देशको रुपमा चिनाउने छौं ।

राष्ट्र बैंकको नयाँ नीतिले साना कर्जा लगानीलाई निरूत्साहित गरेकाे छ -प्रद्युमन पोखरेल

प्रद्युमन पोखरेल-प्रमुख कार्यकारी अधिकृत,मुक्तिनाथ विकास बैंक लिमिटेड मौद्रिक नीति र त्यसपछिका राष्ट्र बैंकका निर्देशनहरुले सबैभन्दा बढी असर गरेको छ साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएका बैंक तथा वित्तीय संस्थाहरुलाई । साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएको बैंकहरु मध्ये एक हो मुक्तिनाथ विकास बैंक । अरु विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि नयाँ नीतिले धेरै असर गर्ने बताइएको छ । राष्ट्र बैंकले लिएको नयाँ नीति र त्यसले पार्ने प्रभावका विषयमा केन्द्रीत भई विकास बैंकर्स संघका प्रथम उपाध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलसँग गरिएको विकास वहस यस पटक । राष्ट्र बैंकले १५ लाख भन्दा कम कर्जाको शुल्कमा गरेको नियन्त्रण, स्प्रेडदर गणनामा ल्याएको नयाँ विधि, पुँजी कोष सम्बन्धि नयाँ व्यवस्था लगायत नयाँ नीतिगत व्यवस्थाले मुक्तिनाथ विकास बैंकको व्यवसाय विस्तार र नाफामा कस्तो असर गर्छ ? यसमा म चारवटा कुरा गर्न चाहान्छु । पहिलो, संसारभर कुनै पनि व्यवसायमा नियमन गर्ने निकायहरु हुन्छन् । नियामकले समय र परिस्थिति अनुसार आवश्यक नीति निर्देशन जारी गर्छ । व्यवसायीहरुले नियामकको नीति निर्देशन पालना गर्दै अगाडि जानुपर्छ । दोस्रो, साना कर्जाको कुरा छ । जति सानो स्केलको विजनेश गर्यो, त्यसको लागत त्यति नै धेरै हुन्छ । यो विजनेशको स्वभाविक नियम हो । सानो, मसिनो, खुद्रा सेवाको लागत बढी हुने भएकोले यसमा नियामकले धेरै कस्दा यस प्रकारका सेवाहरु बन्द हुँदै जान्छन् । तेस्रो, १५ लाखसम्मका कर्जाको वेस रेटमा २ प्रतिशतमात्र थप व्याज लिन पाइने र सेवा शुल्कहरु लिन नपाईने व्यवस्थाले मुक्तिनाथ लगायत विकास बैंकहरुलाई यस्तो कर्जा प्रवाहमा निरुत्साहित गर्छ । हामी के चाहान्छौं भने विकास बैंकहरुलाई साना कर्जा प्रवाहमा सहयोग गर्ने गरी नीति निर्देशन बनाउन, परिमार्जन गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने विकास बैंकर्स संघले निर्णय गरिसकेको छ । चौथो, राष्ट्र बैंकको चाहाना साना ऋणिलाई राहात दिनु हो । हामी पनि साना व्यवसायीलाई सहयोग गर्न चाहान्छौं । वित्तीय समावेशिता हामी चाहान्छौं । हाम्रा उदेश्य मिलेका छन् । अब उदेश्य मिलिसकेपछि त्यसलाई प्राप्ति कसरी गर्न सकिन्छ भनेर सहज विधिहरु तय गरिनुपर्छ । विकास बैंकर्स संघको माग के के हुन् ? स्प्रेडदर ४.४ प्रतिशतमा ल्याउने राष्ट्र बैंकको नीतिमा हाम्रो समर्थन छ । तर बेसरेटमा २ प्रतिशतमात्र व्याज जोड्न पाउने, बाँकी सुविधाहरुमा सेवा शुल्क लगाउन नपाउने व्यवस्था गर्दा सबैलाई गाह्रो हुन्छ । मुक्तिनाथ विकास बैंकले लघुवित्त सेवामा धेरै राम्रो गरेको थियो । नयाँ नीतिले तपाईहरुलाई कस्तो असर गर्छ ? व्यवसाय गर्दाको विभिन्न जोखिममध्ये नियामकीय जोखिम सबैभन्दा ठूलो मानिन्छ । नियामकले नीति परिवर्तन गर्दा हुने जोखिमलाई ध्यान दिएर कम्पनीहरुले बैकल्पिक योजनाहरु बनाएका हुन्छन् । फरक रणनीति लिएर अगाडि बढ्नु पर्ने हुन्छ । हामीसँग पनि बैकल्पिक योजनाहरु छन् । बादल जति कालो भयो त्यसको घेरा त्यतिकै उज्यालो हुन्छ । जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भनेर हामीले भनिरहेका छौं । हामीले हाम्रा ग्राहकको क्षमता विकासमा काम गरिरहेका छौं । तरिका केही फरक होला, हामी फेरीपनि जनतामा जान्छौं । जनताको विश्वास जितेर नै हामीले काम गर्नुपर्छ । स्प्रेडदर गणना विधिमा भएको परिवर्तनबारे विकास बैंकर्सको धारणा के हो ? सिक्काको एउटा भाग हेर्ने अर्को नहेर्ने भन्ने हुँदैन । स्प्रेडदर निकाल्ने भनेको कुल व्याज आम्दानीमा कुल व्याज खर्च घटाउने नै हो । यसमा सरकारी लगानी झिकेर गणना गर्ने भन्ने विधि ठिक होइन । यसले विकास बैंकहरुको आम्दानीमा पनि २४/२५ प्रतिशतले नकारात्मक असर पर्छ । यसमा विकास बैंकर्स संघको धारणा र नेपाल बैंकर्स संघको धारणा समान छ । राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गरेन भने साना कर्जा प्रवाहमा बढी केन्द्रीत भएको विकास बैंक र फाइनान्स कम्पनी अगाडि बढ्न सक्छन् ? कुनै पनि व्यवसायमा प्लान ए, प्लान बी, प्लान सी हुन्छ नै । कुनै पनि संस्था एउटा मात्र रणनीति लिएका हुँदैनन् । कुनै एउटा प्लान योजना भएमा प्लान विमा जानुपर्छ । बस्तु तथा सेवाको मुल्य सकेसम्म कम गरिनुपर्छ, सकेसम्म गुणस्तरीय हुनुपर्छ, सकेसम्म धेरै जनामा बस्तु तथा सेवा दिन सक्नुपर्छ र बस्तु तथा सेवा प्रदानमा सीमित व्यक्तिको कन्ट्रोल हुनुहुन्न । यी कुरामा हामी सचेत छौं । नेपाल राष्ट्र बैंकको नीतिहरु वित्तीय क्षेत्र नियन्त्रणमुखी भएका हुन् ? वा आम उपभोक्ता मैत्री भएका हुँदै गएका छन् ? नेपालको सबैभन्दा राम्रो नियामक संस्था हो नेपाल राष्ट्र बैंक । र, नेपालको सबैभन्दा व्यवस्थित, पारदर्शि र सबैभन्दा बढी कर तिर्ने क्षेत्र पनि बैकिङ क्षेत्र हो । पछिल्लो दशकमा विश्वमा धेरै बैंकहरु बन्द हुँदा पनि नेपालमा वित्तीय क्षेत्रमा ठूलो संकट आएन । त्यसमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका छ । त्यसैले राष्ट्र बैंकले धेरै वायस भएर नीति लिएको छ जस्तो मलाई लाग्दैन । यसको अर्थ राष्ट्र बैंकको नीति पूर्ण सन्तुलित छ ? पूर्ण सन्तुलित नभनौ । सुधारको ठाउँ सधैं हुन्छन् । हामीले सुधारका सुझाव दिन्छौं । राष्ट्र बैंकले पनि बजारबाट आउने राम्रो सुझावहरुलाई अनुसरण गरेको हामीले देखेको छौं । बजारबाट आउने राम्रा सुझावका आधारमा राष्ट्र बैंकले आफ्ना नीतिमा आवश्यक परिमार्जजन गर्छ भन्नेमा हामी विश्वास्त छौं । राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जान दवाव सिर्जना गरिरहेको छ । मौद्रिक नीति मार्फत थप केही सुविधा पनि दिएको छ । यसबारे विकास बैंकहरुको धारणा के हो ? नेपाल सरकारको बजेट, मौद्रिक नीति र राष्ट्र बैंकका उच्च अधिकारीहरुको भनाई गहिरिएर हेर्नु भयो भने त्यसमा वाणिज्य बैंकहरुलाई लक्षित गरेर मर्जर तथा एक्विजिशनको नीति आएका छन् । दोस्रो, पछिल्लो समय विकास बैंकहरु धेरै बलिया भएका छन् । उनीहरुको सेवामा पनि गुणस्तर वृद्धि भएको छ । सम्पत्तिको गुणस्तरमा पनि सुधार भएको छ । व्यवस्थापन पनि बढी प्रोफेशनल देखिएका छन् । दोस्रो, पछिल्लो समय विकास बैंकहरु धेरै बलिया भएका छन् । उनीहरुको बजार हिस्सा बढेको छ । उनीहरुको सेवाको गुणस्तर पनि वृद्धि भएको छ । सम्पत्तिको गुणस्तरमा पनि सुधार भएको छ । व्यवस्थापन पनि बढी प्रोफेशनल देखिएका छन् । ५ वर्षअघि विकास बैंकको संख्या ८९ थियो । अहिले ३२ वटामा झरेको छ । कसरी विकास बैंक बलिया भए ? तपाईको प्रश्न सहि छ । विकास बैंकको संख्या अझै घटेर २५ वटामा जाने वाला छन् । तर विकास बैंकहरुको बजार हिस्सा बढेको छ । कुल निक्षेप र कर्जामा विकास बैंकको हिस्सा हेर्नुभयो भने त्यो देखिन्छ । गत वर्ष वाणिज्य बैंकहरुले १३/१४ प्रतिशत व्याजमा निक्षेप लिँदा पनि विकास बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप लिएर बसे । मुक्तिनाथ विकास बैंक मर्जरमा जान्छ कि जादैन ? यो त मलाई सोध्ने प्रश्न होइन । सेयरधनीले निर्णय गर्ने विषय भयो । बैंकका सञ्चालक वा प्रमोटर वा सेयरधनीले मात्र बसेर बैंकको नीति बनाउँदैनन् । त्यसमा प्रमुख कार्यकारी अधिकृतको संलग्नता हुन्छ । यहाँलाई बैंकको पोलिसबारे पक्कै पनि जानकारी होला ? साधारणसभाले मर्जर तथा एक्विजिशनमा जानेबारेमा खुला नीति लिएको छ । सञ्चालक समितिले उपयुक्त निर्णय लिन्छ । राष्ट्रको आवश्यकता, राष्ट्र बैंकको निर्देशनलाई हामीले वेवास्ता गर्न सक्दैनौ । तर मुक्तिनाथ विकास बैंक जुन नाम छ, १३ वर्षको जुन इतिहास छ, यसको कोर विजनेश भ्यालु छ, ती सबैलाई बचाउँदै हामी अगाडि बढ्छौं । पछिल्लो समय सहकारीले पनि ऋणिसँग १६ प्रतिशतभन्दा बढी लिन नपाउने नीति सरकारले लिएको छ । यो व्यवस्थाले लघुवित्त क्षेत्रमा १७/१८ प्रतिशतमा कर्जा लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंकलाई कस्तो असर पर्छ ? हामीले अहिले १६ प्रतिशतभन्दा बढीमा कर्जा लगानी गरेका छैनौं । त्यो भन्दा कममा झारिसकेका छौं । बेसरेटले भ्याएसम्म हामीले वाणिज्य बैंकको सरह व्याजदरमा कर्जा प्रवाह गरिरहेका छौं । परिवर्तन निश्चित छ । समयको माग अनुसार हामी चल्नैपर्छ । हामी अहिले ग्राहक विस्तार गर्ने र लागत कम गर्ने रणनीतिमा अगाडि बढिसकेका छौं । बैंकहरुको लागि अब सहकारी चुनौति बन्दै आएको हो ? मलाई त्यस्तो लाग्दैन । सरकारले तीन खम्बे अर्थनीति लिएको छ । निजी, सरकारी र सहकारी । संविधानले नै सहकारीको महत्वमा विशेष जोड दिएको छ । सहकारीले मात्र ३ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यसैले सहकारीसँग हामीले सहकार्य गर्नुपर्छ । सहकारीको भूमिकालाई हामीले पनि सहयोग गर्नुपर्छ । चुनौतिको रुपमा लिनुहुन्न । अब कर्जाको व्याज घट्ने नै हो ? कुनै पनि बस्तु तथा सेवा मूल्य माग र आपूर्तिले निर्धारण गर्छ । अहिले बैंकहरुमा लगानीयोग्य पुँजी प्रशस्त छ । व्याज घट्दो छ । तर तिहारपछि तरलता सुक्दै जान सक्छ र व्याजदर वृद्धि हुन पनि सक्छ । निक्षेपको व्याजदर माथि नै रह्यो भने कर्जाको व्याजदर घट्दैन । स्वस्थ्य अर्थतन्त्र निक्षेपको व्याज मुद्रास्फितिभन्दा माथि नै हुनुपर्छ । अहिले निक्षेपको व्याजदर राम्रो छ । यसले निक्षेप वृद्धिमा सहयोग गर्छ । निक्षेप वृद्धि पनि जरुरी छ किनकी मौद्रिक नीतिले २१ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ । मुक्तिनाथ विकास बैंकको गत असार मसान्तको वित्तीय अवस्था कस्तो छ ? असार मसान्तसम्मामा ४६ अर्ब १३ करोड निक्षेप संकलन भएको छ । ३७ अर्ब ९५ करोड कर्जा लगानी भएको छ । गत वर्षको सञ्चालन नाफा १ अर्ब २२ करोड गरेको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरेको छ । सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ । चालु आर्थिक वर्षको योजनाहरु के के छन् ? हामीसँग ११९ शाखा छन् । तिनलाई बलियो बनाउनुछ । यस वर्ष केही शाखा विस्तार गर्छौ । हामी ग्राहकलाई खुशी बनाउँछौं । हामी सेयरधनीलाई राम्रो नाफा दिन्छौ । हामी नियामकले बनाएको सबै नियम पूर्ण परिपालना गछौं । हामी समूदायमा जोडिएर काम गर्न चाहान्छौं । हामी हाम्रा कर्मचारीलाई उच्च मनोबलमा राखेर काम गर्न चाहान्छौं । विगत केही वर्षयता मुक्तिनाथ विकास बैंकले शाखा विस्तारमा किन जोड दियो । यसरी शाखा विस्तार गर्दा संस्थालाई के कस्ता लाभ भए ? र, के कस्ता जोखिम पनि थपिएर आए ? शाखा विस्तार सँगै वित्तीय कारोबारमा पनि उच्च वृद्धि देखिन्छ । तीन वर्षअघि शाखा खोल्दा थोरै कारोबार हुने क्षेत्रमा पनि अहिले त्यहाँ बैकिङ कारोबार धेरै राम्रो छ । पछिल्लो समय क्यासलेस वल्ड परिकल्पना हुन थालेको छ । डिजिटल भुक्तानीमा जोड दिएका छन् । नेपाली समाज पनि त्यसमा अभ्यस्त हुँदै गएको छ । शाखा खोल्न बैंकहरुले गरेको लगानी बेकारको हुने त होइन ? बडो महत्वपूर्ण प्रश्न हो यो । तर सबैले बुझ्नुपर्ने कुरा के हो भने सम्बन्ध र कारोबार फरक हुन्छ । सेवाको साथै सम्बन्धका लागि पनि शाखा आवश्यक हुन्छ । सेवा दिन डिजिटली सकिन्छ । तर सम्बन्ध राख्न शाखा नै चाहिन्छ । म केहीअघि समय मुम्बई गएको थिए । मुम्बईमा ८४ प्रतिशत भुक्तानी डिजिटली हुने रहेछ । ५२ प्रतिशत खाता मोवाइलबाट खोलिदो रहेछ । तर पनि त्यहा बैंकहरुले शाखा विस्तार गरिरहेका छन् । किनकी त्यहाँ सम्बन्ध पनि विस्तार गर्नुछ । मुक्तिनाथ विकास बैंक सबैले राम्रो भन्छन् । तैपनि यस बैंकको सेयर विगत तीन वर्षयता निकै कम भयो । सेयर मूल्य र बैंकको कार्यप्रगतिबीचको सम्बन्ध कस्तो छ ? समग्र बजार घट्दा राम्रा कम्पनीको पनि सेयर मूल्य घट्छ । अहिले त्यहि भएको हो । यस बैंकका लगानीकर्ता राम्रो प्रतिफल पाएका छन् । कहिले कही हल्लाले पनि बजार प्रभावित गर्छ । कहिले सरकारी नीतिले पनि बजारलाई प्रभावित गर्छ । लिक्विडिटीको अवस्थाले पनि सेयर बजारमा असर पर्दोरहेछ । बैंकहरुको नाफा घट्दै छ भनिन्छ । लगानीकर्ताहरु डराएको पनि देखिन्छ । समग्रमा बैकिङ क्षेत्रका लगानीकर्ताले भविष्यमा कस्तो प्रतिफल पाउलान् ? असन्तुलित नीति आयो भने त्यसले जोखिम निम्त्याउन सक्छ । राष्ट्र बैंकको पछिल्ला नीतिले लगानीकर्तामा अलि भयको वातावरण बनाएको छ । सरकारी नीतिहरुले बैंकिङ क्षेत्रलाई सवल र सक्षम बनाउँदै छ कि कमजोर बनाउँदै छ ? बलियो बनाउँछ वा कमजोर बनाउँछ भनेर नसोचौ । राष्ट्र बैंकले बैकिङ क्षेत्र बलियो बनाउने नीति नै लिएको हुन्छ । नियामकले आफ्नो क्षेत्र कमजोर बनाउने भनेर सोच्दैन । तर नियामक पनि चलाउने मान्छेले हो । मान्छेले कहिले कहीँ गल्ती कमजोरी गर्न सक्छन् । त्यस्तो गल्ती भएको हो भने सुधार गर्नुपर्छ ।

सिर्जना फाइनान्स राष्ट्रिय स्तरको बनाउँछौं र सबै सूचकाङ्कमा वाणिज्य बैंक भन्दा राम्रो बनाउँछौं-चापागाञी

कृषि विकास बैंकमा २७ वर्ष काम गरेपछि स्वेच्छिक अवकाश लिनु भएको भवानीशंकर चापागाञी २०६९ सालमा सिर्जना फाइनान्समा महाप्रबन्धकको रुपमा छिर्नुभयो । २०७३ साल बैशाखदेखि उहाँ सिर्जना फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । सिर्जना फाइनान्समा भवानीशंकरको प्रवेश भगवानको जस्तै भएको छ । त्यसपछि फाइनान्सका सेयरधनीले हरेक वर्ष २५ देखि ६० प्रतिशत लाभांश पाइरहेका छन् । ७/८ वर्षअघि अस्तित्व जोगाउन संघर्ष गरिरहेको सिर्जना फाइनान्स अहिले उत्कृष्ट बन्ने लक्ष्य बोकेर हिँडिरहेको छ । प्रस्तुत छ प्रमुख कार्यकारी अधिकृत चापागाञीसँगको कुराकानी । सिर्जना फाइनान्सको वित्तीय अवस्था कस्तो छ ? असार मसान्तको वित्तीय अवस्था राम्रो छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा हरेक सूचकाङ्कमा उल्लेख्य सुधार आएको छ । गत वर्षमा विजनेश ग्रोथ ३० प्रतिशत छ । निक्षेप १ अर्ब ७५ करोडले वृद्धि भई ७ अर्ब १५ करोड रुपैयाँ भएको छ । एक वर्षमा कर्जा सापटी २ अर्ब २ करोडले वृद्धि गरी ४ अर्ब ८२ करोड पुर्याएका छौं । लगानी १ अर्ब २४ करोड रुपैयाँ छ । सीसीडी रेसियो ६१ प्रतिशत छ । पूँजी कोष अनुपात साढे १४ प्रतिशत छ । कर्जाको गुणस्तरमा सुधार आएको छ । खराव कर्जा शुन्य दशलमव ३४ प्रतिशतमा झरेको छ । गत वर्षको खुद नाफा १५ करोड ७३ लाख रुपैयाँ छ । एनएफआरएस अनुसार नाफा १५ करोड ७६ लाख रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा हामीले २६ प्रतिशतले नाफा बढाएका छौं । हाम्रो रिर्जव पनि करिव २६ करोड रुपैयाँ छ । यस वर्ष सेयरधनीले कति लाभांश पाउने छन् ? सेयर पूँजी ४६ करोड रुपैयाँ छ । हामी सेयरधनीलाई २६/२७ प्रतिशत लाभांश दिन सक्छौं । म यो संस्थामा आएको पहिलो २ वर्षमा ६० प्रतिशतका दरले लाभांश दिएका थियौं । दोस्रो दुई वर्षमा ५० प्रतिशतका दरले रिर्टन दियौँ । अघिल्लो वर्ष ३५ प्रतिशत रिर्टन दियौं । गत वर्ष २४.५ प्रतिशत रिर्टन दियौं । यो वर्ष २६/२७ प्रतिशत दिन सक्छौं । हामीले असार मसान्तको रिपोर्ट प्रकाशित गरेपछि सेयर मूल्य २१० बाट २८५ पुगिसक्यो । वित्तीय क्षेत्रमा प्रतिस्पर्धा निकै छ । राष्ट्रिय स्तरको बैंकहरुले गाउँगाउँमा शाखा विस्तार गरेका छन् । यस्तो अवस्थामा तपाईहरुले कसरी अरुको भन्दा राम्रो गरिरहनु भएको छ ? हामी व्यवसाय विस्तारलाई भन्दा सेवाको गुणस्तरमा जोड दिन्छौं । बाणिज्य बैंक नगएको ठाउँमा शाखा खोलेका छौं र सेवा दिएका छौं । हामीले सेवा दिएको मोरङ, सुनसरी र सप्तरीमा २२ वटा शाखा खोलेका छौं । तीन जिल्लामा व्यवसायको हिसावले हाम्रो हिस्सा ९ प्रतिशत छ तर ग्राहक संख्याको हिसाबले करिव २० प्रतिशत छ । १ लाख ३१ हजार निक्षेपकर्ता छन् । १२ हजार ऋणी छन् । हाम्रा ग्राहक ठूला ठूला उद्योग वा गोदाम भएका व्यवसायी छैनन् । वाणिज्य बैंकमा छिर्न पनि डराउने, सानो सानो व्यवसाय गर्न चाहाने व्यक्तिहरु हुन्छन् । विराटनगरमा पनि बैंकहरुको उपस्थिति धेरै देखिन्छ । प्रतिस्पर्धाको वातावरण कस्तो छ ? प्रतिस्पर्धा मात्र होइन, अस्वस्थ्य प्रतिस्पर्धा पनि छ । तर, सेवाको गुणस्तरमा प्रतिस्पर्धा छैन । जनताको मन जित्ने गरी योजना लिएर गयो भने प्रतिस्पर्धा खासै छैन जस्तो लाग्छ मलाई । जतिबेला म यो फाइनान्समा छिरेको थिएँ, त्यतिबेला एकातिर सम्झना फाइनान्स डुबेको थियो । अर्कोतिर सिर्जना फाइनान्सलाई पनि राष्ट्र बैंकले क्याप लगाएर फुकुवा गरेको थियो । सम्झना र सिर्जनामा मानिसहरु झुक्किन्थे । बीचमा यस क्षेत्रको अरुण फाइनान्स पनि डुब्यो । बजारमा फाइनान्स कम्पनीबारेमा उत्पन्न आशंका मेटाउन नै आधा-एक घण्टा समय बिताउनु पर्ने अवस्था थियो । त्यतिबेला हामीले सिर्जनामा घरदैलो सेवा कार्यक्रम गर्यौं । अन्तरक्रिया कार्यक्रमहरु गर्यौ । सबै फाइनान्स खराव हुँदैनन् भनेर बुझायौं । सिर्जना फाइनान्सले अरुको भन्दा राम्रो सेवा दिन्छ भनेर विश्वास दिलायौं । आजको दिनमा हाम्रो बेसरेट १२.१२ हुँदा पनि हामीले १३ प्रतिशतदेखि नै कर्जा लगानी गरेका छौं । वाणिज्य बैंकले पनि १३ देखि १५ प्रतिशतमा कर्जा लगानी गरेका छन् । भविष्यको योजना के छ ? यस फाइनान्सका प्रवद्र्धकहरु यस्ता हुनुहुन्छ जो उठ्नुभयो भने पूर्वी नेपाल नै माथि उठ्छ र उहाँहरु बस्नुभयो भने पूर्व बस्छ । गोल्छा अर्गनाईजेशन, वाग्मती ग्रुप, मेघाटेक ग्रुप, राठी ग्रुप, एमएम प्लाष्टिक ग्रुप, सञ्जय अग्रवाल लगायतका व्यक्तिहरु यहाँ हुनुहुन्छ । हामी राष्ट्रिय स्तरको फाइनान्स बन्छौं । हामी अरुसँग मर्ज हुँदैनौ । पूँजी वृद्धिको लागि ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्दैछौं । यो वर्ष बोनस सेयर दिन्छौं । यसै वर्ष चुक्ता पूँजी ८० करोड पुर्याउँछौ । यस बीचमा राष्ट्र बैंकले पूँजी संरचना परिवर्तन गरेन भने हामी राष्ट्रिय स्तरको फाइनान्स बन्नको लागि आवेदन दिन्छौं । यस फाइनान्सका प्रवद्र्धकहरु यस्ता हुनुहुन्छ जो उठ्नुभयो भने पूर्वी नेपाल नै माथि उठ्छ र उहाँहरु बस्नुभयो भने पूर्व बस्छ । गोल्छा अर्गनाईजेशन, वाग्मती ग्रुप, मेघाटेक ग्रुप, राठी ग्रुप, एमएम प्लाष्टिक ग्रुप, सञ्जय अग्रवाल लगायतका व्यक्तिहरु यहाँ हुनुहुन्छ । यो संस्थाको संस्थागत सुशासन राम्रो छ । हाम्रो भिजन चाही महत्वकांक्षी छ । हामी नेपालको नम्बर वान कम्पनी बन्न चाहान्छौं । यसको अर्थ हामी सबैभन्दा धेरै नाफा गर्ने, सबैभन्दा धेरै विजनेशन गर्ने, सबैभन्दा धेरै कर्मचारी भएको, सबैभन्दा धेरै शाखा भएको कम्पनी बन्ने होइन । बैंक तथा वित्तीय संस्थालाई मापन गर्ने सूचकहरुमा सबै सूचकमा हामी नम्बर वान हुन्छौं । अहिले पनि लगानीकर्तालाई दिने रिर्टनको हिसावले, क्वालिटी एसेटका हिसावले वा अन्य इन्डिकेटरमा हामी धेरै राम्रो अवस्थामा छौं । हामीले वित्त कम्पनीहरुबीच मात्र नम्बर वान बन्ने लक्ष्य लिएका होइनौं, वाणिज्य बैंकहरु भन्दा पनि राम्रो बन्ने सोच हो । आखिर उनीहरुको लागि पनि मापदण्ड त एउटै हो । सिर्जना फाइनान्सलाई मर्जको प्रस्ताव आएका छैनन् ? आईरहेका छन् । एउटा बैंकसँग धेरै कुरा मिलेको थियो । तर, उहाँहरुले कर्मचारी समायोजनको मामिलामा सिर्जना फाइनान्सका कर्मचारीलाई उचित स्थान दिन नसक्ने कुरा गर्नुभयो । त्यसपछि त्यो प्रक्रिया तोडियो । हामीले अहिले ‘मिसन डबल अभियान’ शुरु गरेको छौं । यसमा हामीले हाम्रो बिजनेशलाई पनि डबल गर्ने, नाफालाई पनि डबल गर्ने र कर्मचारीहरुलाई पनि त्यहि अनुसार सुविधा बढाउने निर्णय गरेका छौं । यसरी गरिने ग्रोथले बढी जोखिम ल्याउने हो कि भनेर हामीले क्वालिटी कन्ट्रोल गर्न नयाँ संयन्त्र खडा गरेका छौं । राष्ट्र बैंकले लिएको नयाँ नीतिले बैंक फाइनान्सको नाफा घटाउने सम्भावना देखिन्छ । यो अवस्थामा मिसन डबल अभियान सफल हुन्छ ? स्प्रेडदर गणनामा अपनाईएको नयाँ विधि, १५ लाखसम्मका कृषि उद्यम कर्जामा सेवा शुल्क लिन नपाउने नीति लगायतले हाम्रो आम्दानी घट्छ । त्यसैले नै हामीले मिसन डबल कार्यक्रम ल्याएका हौँ । विजनेश डबल बनाएपछि नाफा पनि डबल बनाउन सकिन्छ ।