अब छिट्टै घरमै बसेर उद्योग दर्ता र नवीकरण गर्ने दिन आउँछ : जीवनप्रकाश सिटौला

जीवन प्रकाश सिटौला उद्योग विभागका महानिर्देशक हुन् । निजामति सेवाको करियरमा यसअघि समेत उद्योग विभागमा लामो अनुभव सँगालेका सिटौला करिब २ महिना अघि विभागको महानिर्देशक भएर आएका हुन् । विभागमा आउनुअघि उनी प्रदेश नं १ को अर्थ तथा योजना मन्त्रालयको सचिव थिए भने त्यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको रुपमा थिए । देशभर खुल्ने सबै प्रकारका उद्योग तथा व्यवसायको दर्ता र अनुगमन गर्ने जिम्मेवारी रहेको विभागलाई व्यवसायिक जगतको पहिलो ढोका समेत मानिन्छ । यो विन्दुमा हुने सेवाको गुणस्तर र सहजताले उद्यमीहरुलाई राज्य प्रशासनप्रतिको पहिलो दृष्टिकोण बनाउने काम समेत गर्छ । विभिन्न कानूनी र संरचनागत सुधारसँगै पछिल्लो समय उद्योग तथा कलकारखानाहरुको विस्तार र लगानी वृद्धि बढ्दै गएको देखिएको छ । देशमा औद्योगिक वातावरणको माहोल बढ्दै जाँदा उद्योग विभागले चाहिँ सेवाग्राहीलाई कसरी भरपर्दो सेवाको प्रत्याभूति गराउँदै छ त ? प्रस्तुत छ, विकासन्यूज डटकमका लागि राजाराम न्यौपानेले यिनै सन्दर्भमा केन्द्रित रही गरिएको विकास बहसः तपाईँ उद्योग विभागको नेतृत्वमा आउनुभएको पनि २ महिना हुन लाग्यो, योबीचमा तपाइँले विभागमा गर्नुभएका मुख्य सुधार के हुन् ? म उद्योग विभागको महानिर्देशक भएर आएपछि मैले गरेको सबैभन्दा महत्वपूर्ण काम भनेको इन्भेर्टर्स फ्यासिलिटेसन सेन्टर (लगानीकर्ता सहजीकरण केन्द्र) को स्थापना हो । यो केन्द्रमार्फत् उद्योग दर्ता, कम्पनी दर्ता, दर्तापछिको प्रकृया, वैदेशिक लगानी स्वीकृति, भिसा सिफारिस जस्ता विभिन्न सुविधा तथा सहुलियतका विषयमा जानकारी लिन सकिन्छ । यो केन्द्र सञ्चालनमा आएपछि उद्योग दर्ता गर्ने, नवीकरण गर्ने, लगानी थप, भिसा स्वीकृति जस्ता विभागका सेवाहरुमा निकै सहजता आएको अनुभव हामीले गरेका छौं । यसले गर्दा विभागमा आएका सेवाग्रहीहरु सन्तुष्ट भएर सेवा लिन सकेकाे अनुभव हामीले गरेका छौं । हामीले उद्योग विभागमा दिइएको सेवा चित्तबुझ्दो भयो/भएन भनेर प्रतिक्रिया लिन र चित्तबुझ्दो नभएमा आवश्यक गुनासा र सुझाव दिने प्रणाली समेत विकास गर्दैछौं । निकट भविष्यमै एप्लिकेसन बनाएर मोबाइलबाटै उद्योग विभागसँग सम्बन्धित जानकारी दिने प्रक्रिया अघि बढाइएको छ । त्यसबाहेक विभागबाट प्रदान गरिने सबै प्रकारका सेवालाई हामीले सेवाग्राहीमैत्री र छरितो बनाउने प्रयास गरेका छौं यसका लागि कर्मचारीहरुलाई आवश्यकता अनुसार निर्देशन र परिचालन गरिरहेका छौं । यसमा उहाँहरुले पनि राम्रो साथ र सहयोग गरिरहनुभएको छ । म विभागकाे  विभागका कर्मचारीको सहकार्यमा नै विभाग चलेको छ । विभागमा सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने हो । यहाँ धेरै काम छ, त्यसमा सबै आ–आफ्नो जिम्मेवारी अनुसार मिलेर नै काम भैरहेको छ । २५ वर्ष पहिलेदेखि प्रतिक्षा गरेको एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएको छ, एकल विन्दुले के फरकपन ल्याएको छ ? नेपालमा औद्योगिक क्षेत्रलाई सुधार्नुपर्छ भनेर एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएको हो । यसले औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, औद्योगिक सम्पत्ति सम्बन्धी प्रशासनिक काम गर्ने, उद्योगहरूको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने लगायतका काम केन्द्रबाट नै भइरहेको छ । उद्योग दर्ताका सम्बन्धमा अहिले एकै ठाउँबाट उद्योगको सबै काम भइरहेको छ । सेवाको सुरुवात भएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित नै छन् । केन्द्रलाई हामीले सहज र सरल बनाउँदै जानेछौँ । सेवा केन्द्र सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी लगानी प्रतिवद्धता वृद्धि हुँदै गहिरहेको छ, सेवाग्राहीहरुले एकै ठाउँबाट सेवा पाइरहेका छन् । विदेशी लगानीको लागि स्वीकृतिपछि कम्पनी दर्ता गरी आएकाहरूको उद्योग दर्ता, विदेशी लगानीकर्तालाई व्यावसायिक भिसा सिफारिस र उद्योगमा काम गर्न आउने विदेशी नागरिकलाई गैरपर्यटकीय भिसाको सिफारिस दिने काम पनि केन्द्रले गरिरहेको छ । तर, जे भइरहेको छ, सबै पूर्ण भइरहेको छ भन्ने हैन । पहिलेको भन्दा राम्रो भएको छ । सेवाग्राहीले अझ राम्रो खोजिरहेका छन् । हामी त्यसका लागि काम गरिरहेका छौँ । नेपालमा बेला बेलामा लगानी सम्मेलन पनि भैरहेको छ, यसबाट नेपालले के फाइदा लिएको छ ? विश्वको राष्ट्रले आफ्नो देशमा लगानी भित्र्याउन बेला बेलामा लगानी सम्मेलन गरिरहेका नै हुन्छन् । नेपालले पनि देशमा लगानीका वातावरण छ है भनेर जानकारी दिन्छ । नेपालमा यो–यो ठाउँमा लगानी गर्न सकिन्छ भनेर जानकारी दिनु पनि यस्ता सम्मेलनहरुको उद्देश्य हो । यसले लगानीकर्ताहरु आकर्षत हुने वातावण निर्माण गर्दछ । लगानी सम्मेलन हुने वित्तिकै हामीले यति नै लगानी आउँछ भन्दा पनि यसले लगानीको वातावरण निर्माण गर्छ र विश्वले जानकारी दिन्छ । लगानी सम्मेलनले लगानीकर्ता र सरकारबीच सिधा सम्पर्क हुन्छ । लगानीकर्ताहरुको अगाडि सरकारले के प्रतिज्ञा गर्छ, नीति–निर्माण तथा पुनरावलोकन कसरी गर्छ र सम्मेलनपछि सरकारले के–कस्ता योजना बनाउँछ, त्यसले उद्योग दर्ता संख्यामा भर पर्छ । तर, अहिले दर्ता संख्या उत्साहजनक नभए पनि राम्रो सुरुवात भने भएको छ । फिटामा परिवर्तन गर्नु हो ? फिटालाई समयको माग अनुसार परिवर्तन गर्न सकिन्छ । त्यसै अनुरुप अहिले भइरहेको कानूनभन्दा पनि अझ विदेशी लगानी सहज र सरल बनाउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) लाई परिवार्त गर्न सकिन्छ । शान्ति, सुव्यवस्था आइसकेको छ, औद्योगिक क्रान्ति गर्न बाधा पुर्याउने ऐन कानून छन् र ? कानूनमा भएका जटिलता र बाधालाई ऐनबाट परिमार्जन गरिरहेका छौँ । विस्तारै नेपालमा उद्योगको विकास हुदै गहिरहेका छ । सेज, प्रदेशीक औद्योगिक क्षेत्रहरुको स्थापना हुने क्रममा छन् । सेजमा कति उद्योगहरु सञ्चालनमा नै आइसकेका छन् भने कति उद्योगहरु सञ्चालको तयारीमा छन् । पछिल्लो समय नेपालको उद्योग क्षेत्रमा सकारात्मकता आहिरहेको छ । उद्योगीहरुले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुन नसकेको भन्छन्, किन ? त्यस्तो हो जस्तो मलाई लाग्दैन । विस्तारै उद्योगको स्थापनामा वृद्धि हुँदै गरिरहेको छ । सुधार नै गर्नु नपर्नै भने हैन् । सुधारका सम्भावना जहाँ पनि रहन्छ । विश्वका विकसित देशहरुका उद्योगीले पनि सहज र सरल माध्यम खोजिरहेका हुन्छन् । नेपालमा पनि त्यस्तै हो । उद्योगीहरुले भनेको जस्तै औद्योगिक वातावरण नै सिर्जना हुन नसकेको हैन । तर, हामी पनि पूर्ण रुपमा औद्योगिक वातावरण सिर्जना भैसकेको छ भन्न सक्दैनौँ, विस्तारै हुने प्रक्रियामा छ । उद्योग दर्ता र अन्य काममा सेवाग्राहीलाई अनावश्यक झन्झट दिने गरेको आरोप लाग्दै आएको छ, यो के हो ? विभागले सेवाग्राहीलाई हामीले सहज र सरल तरिकाले सेवा दिहिरहेका छौँ । हामी पनि देशमा धेरै उद्योगहरुको स्थापना होस् भनेर काम गरिरहेका छौ । अरु सरकारी कार्यालयहरु अनलाइनमा गइसके, विभागले अनलाइन प्रक्रियाको सुरुवात कहिलेबाट गर्छ ? हामीले विभागलाई प्रविधिमैत्री बनाउने प्रक्रिया सुरु गर्न लागेका छौँ । अगामी वर्ष देखि उद्योग विभाग पुर्णरुपमा अनलाइन प्रणालीमा जान्छ । हामीले त्यसको लागि काम सुरु गरिसकेका छौँ । यसको लागि ८/१० प्रतिशत काम भइसकेको छ । अनलाइन प्रणाली आए पछि डिजिटल सिग्नेचर लगायत सबै काम अनलाइनबाट नै हुन्छ, त्यसपछि सेवाग्राहीहरू उद्याेग दर्ता र नवीकरण लगायत कुनै पनि काम गर्न  विभागमा धाइराख्नु पनि पर्दैन । विभागमा उद्योग दर्ता हुन्छन, तर कति सञ्चालन हुन्छन् भन्ने नियमनको पाटो भने निकै कमजोर छ किन ? उद्योग दर्ता भए पनि नियमनको पाटो भने कमजोर नै छ । हामीले उद्योगको अनुगमन सुरु गरिरहेका छौँ । हामीले दिनमा २/४ वटा उद्योग दर्ता अनुसार सञ्चालन भएको छ कि छैन भनेर अनुगमन सुरु गरेका छौँ । नेपालमा ९ हजार उद्योग दर्ता भएका छन । त्यसमा ५ हजार मात्रै सञ्चालनमा छन् । एकै पटक सबै उद्योग अनुगमन गरेर सकिदैन, विस्तरै हुदै गरिहेको छ । दर्ताको उद्देश्यभन्दा फरक तरिकाले सञ्चालमा भएको पाइएमा हामी कार्वाही गछौँ । अब सञ्चालनमा नभएका उद्योगहरुको विभागले लेखाजोखा गर्ने काम पनि सुरु गरेको छ । अब विभागले सफ्टवेयर नै विकास गरेर सबै उद्योगहरुलाई अनुगमन तथा नियमन गर्छ । उद्योग दर्ता गर्न भन्दा बन्द गर्न गाह्रो हो । यस्तो अवस्थामा नेपालमा कसरी औद्योगिकरण कसरी सम्भव होला ? नेपालमा उद्योग दर्ता गर्न र बन्द गर्न नै सहज छ, उद्योग बन्द गर्दा तिर्नु पर्ने कर लगाएतका प्रक्रिया पुरा गर्नु पर्छ । यो नियम हो, नियम सबैले मान्नु पर्छ । प्रक्रिया पुर्याएर उद्योग दर्ता पनि हुन्छ, प्रक्रिया पुगेपछि उद्योगीले उद्योग बन्द गर्न सक्ने व्यवस्था छ । विदेशी लगानीको ठूला परियोजनाहरु नेपालमा आएर स्वीकृति लिन्छन् र पछि विभिन्न कुरामा समस्या आउँछ किन ? सबै परियोजनामा विवाद आउँदैन । विदेशी ठुला परियोजनाहरु सजिलैसँग सञ्चालित छन् । केहीमा भने समस्या हुन सक्छ । विदेशी लगानीलाई केन्द्रदेखि स्थानीय तहसम्मलाई अधिकार दिएको छ । कतै नमिलेको हो कि जस्तो देखिन्छ । उद्योग विभागको हकमा भन्दा पनि स्थानीय तह, सडक विभाग लगायतकाले नै खानी र सडकको काम गर्ने हो । विदेशी लगानी भित्र्याउने पहिलो ढोका भनेकै विभाग हो, तर विभागमा म्यानपावर, सिस्टम र पूर्वाधारको पाटो कमजोर देखिन्छ ? हो, विभागमा म्यानपावर, सिस्टम र पूर्वाधारमा केही कमी छ । हामी विस्तारै विभागको म्यानपावर फुलफिल गरेर, प्रक्रिया पूरा गरेर आएका फाईलहरुको काम फटाफट नै भएको छ । पछिल्लो समय त्यसैकारणले नै विदेशी लगानी वृद्धि हुँदै गहिरहेको छ । पछिल्लो ४ महिनामा स्वदेशी उद्योगको लगानी बढ्नु पर्नेमा घटेको छ नि ? किन ? आर्थिक वर्षको पहिलो ४ महिनामा १७ अर्ब १० लाख विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आवको पहिलो ४ महिनामा ११ अर्ब ९३ करोड ३० लाख विदेशी लगानी प्रतिवद्धता आएको थियो । विदेशी लगानी प्रतिवद्धतामा भने ६ अर्बले वृद्धि भएको छ । ठुला लगानी लगानी बोर्डमा जाने भएकोले उद्योग विभागमा कम भएको जस्तो देखिएको हो । कमि भने भएको छैन् । स्वादेशी तथा विदेशी लगानी प्रतिवद्धतामा वृद्धि हुदै गहिरकेको छ । लगानी बोर्डको र प्रदेश सरकारको लगानी पनि जोडने हो भने कमी आएको देखिदैन । उत्पादनमूलक, खनिज, सेवा र पर्यटनमा नेपालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । विदेशी लगानी भित्र्याउन चुनौती के के छन् ? प्रतिवद्धता धेरै नै आउने, तर लगानीमा किन कमि ? नेपालमा मात्रै हैन विश्वमा नै प्रतिवद्धता आएका लगानी पूर्ण रुपमा आएको पाईदैन । लगानीकर्ताले धेरै देशमा लगानी प्रतिवद्धता जनाएका हुन्छन् । उनिहरुले आफ्ना लागि कुन देश उपयुक्त हुन्छ भनेर छान्ने गरेका छन् । त्यसैले पनि सतप्रतिशत हुँदैन । कुनै पनि देशका लागि वैदेशिक लगानी आर्थिक प्रगतिको आधारीत हुन्छ ।

अब अस्पतालमा घण्टाैं लाइन बस्ने दिन गए: आभुषण ज्याेती कंसकार

स्वदेशमै केही गर्ने इच्छा सबैको हुन्छ । त्यो इच्छा कसैको पुरा हुन्छ त कसैको तुहिन्छ पनि । काम गर्दै जाँदा धेरै चुनौतीहरु थपिन्छन् जसले ति चुनौतीलाई सामना गर्दै अगाडि बढ्छ उहि नै एकदिन सफल बन्छ । यस्तै एक ठूलो सपना बोकेका व्यक्ति हुनुहुन्छ आभुषण ज्योती कंसकार । भारतमा १५ वर्ष बसेर आफ्नो विद्यालय तह र इञ्जिनियरिङ पुरा गर्नुभएका कंसकार हाल जिभी हेल्थ प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी निर्देशक हुनुहुन्छ । सानैदेखि स्वदेशमै केही गरेर युवाहरुमाझ ठूलो प्रभाव देखाउन चाहने उहाँ डेढ वर्ष भारतमा काम गरेर सन् २०११ मा नेपाल फर्किनु भयो । सुरुमा आफ्नो बुबाको व्यवसायमा साथ दिनुभएको उहाँले काम गर्दै र सिक्दै जानुभयो । सन् २०१४ मा उहाँले हेभी ईक्युपमेन्ट र दुई पाङ्ग्रे प्रिमियम स्कुटर नेपाल भित्र्याउनुभयो । हाल उहाँ नै नेपालमा प्रिमियम स्कुटर भित्र्याउने पहिलो व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँ सँग कम्पनीको वर्तमान अवस्था, हालै लञ्च गरेको जिभि हेल्थ एप्स र भावी योजनाहरुको बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ विकासन्युजका लागि डोमी शेर्पाले गरेको विकास बहस ।  जिभीको सुरुवात कहिले र कसरी भयो ? जिभीको सुरुवात हामीले गत अप्रिलमा गरेका हाैं । दुई वर्ष अगाडि मेसिनहरुको बारेमा अध्ययन गर्ने क्रममा हेल्थ केयरको एप बने कस्तो होला भन्ने मनमा लाग्यो । यदि एउटा मानिसलाई हिसाब सोध्यो भने उसलाई आफैले हिसाब गरेर निकाल्न १० मिनेट लाग्छ तर त्यही हिसाबलाई क्यालकुलेटरमा गर्ने हो भने केही सेकेण्डमै उत्तर आउँछ । यसमा हाम्रो १० मिनेटवाला देश हो । हाम्रो देशको स्वास्थ्य सेवा प्रणाली निकै नै कमजोर छ । यसैलाइ मध्येनजर गर्दै हामीले हेल्थ एप बनाउने सोच बनायौं । मैले सबै काम थाति राखेर यसमा नै समय दिएँ । मैले आज स्कुटर बेचिन भने अन्य कोहीले बेच्छ यसले कुनैपनी प्रकारको समस्या उब्जाउँदैन तर आज हामीले यो काम गरेनौ भने आउँदो ५ वर्षमा पनि अरु कोहीले यसलाई प्रयास गर्दैनन्। त्यसैले यही कुरालाई ध्यान दिँदै हामीले एउटा जवान टिम ल्यायौ जसले हाम्रो यस जिभी एपलाई ३ महिनामै बन्न योग्य बनायो। उनीहरुले मलाई पहिला एक वर्ष लाग्छ भनेका थिए तर पछि ३ महिनामा यस एपलाई बनाए । हामीले ३ महिनामा एप मात्र बनाएनौं त्यसलाइ एपलाई पुरा गर्न सहयोग गर्ने हरेक अन्य सहायक एपहरु पनि बनायौं। जिभी नामलाई कसरी रोज्नुभयो ? नाम हामीले किन जिभी नै राख्यौं भन्ने कुराको कथा धेरै रमाईलो र हाँस्यास्पद पनि छ । जिभी नाम राख्नुको पहिलो कारण थियो यस नाममा भएको सरलता । दुई शब्द मात्र भएको कारण यसलाई उच्चारण गर्न निकै नै सजिलो हुनाले पनि यो नामलाई रोजेका हौं । पहिलो महत्वपूर्ण कुरा भनेको धेरै जटिल नाम दिएर पनि हुँदैन। सबैले सम्झिनु सक्नुर्पयो भन्न सक्नुर्पयो। यो निकै नै सरल नाम हो । यसको नाम चिरन्जबी पनि हुन सक्थियो तर त्यस प्रकारको नाम निकै नै अफ्ठ्यारो हुन्छ र सबैलाई यस्तो नाम भन्न पनि गाह्रो हुन्छ । त्यस कारण जिभी नाम रोजेका हौं । नेपालको अहिलेको अवस्थामा स्वास्थ्य सेवाको अवस्था तपाईले बुझे अनुसार कस्तो छ ? स्वास्थ्य सेवा भन्दै गर्दा हामीसँग मेडिसिटी, नर्भिक, ग्राण्डी जस्ता अस्पताल छन् । त्यस्तै अर्को  स्वास्थ्य चौकी मात्र भएका ठाउँ पनि छन् । त्यहाँ एक्स-रे गर्ने मेसिन छ भने कर्माचारी छैनन् । तर स्वास्थ्य क्षेत्रमा भएको मुख्य समस्या एकतर्फबाट मात्र हेरेर त्यसको समाधान खोज्ने हो भने पाईदैन । सबैजनाले प्रयास गरिरहेका छन् र यसमा कुनै पनि प्रश्न गर्ने ठाउँ छैन । सरकारले पनि आफ्नो तर्फबाट मेडिकल कलेजहरु खोल्ने कुरा गरिरहेको छ। अर्को हामीले के बुझ्न जरुरी छ कि जब कसैले पनि काम सुरु गर्छ उसको आफ्नो धारणा हुन्छ । हाम्रै घरमा पनि एउटा काम गरौं भन्दा त कुरा मिल्दैन । जबकी यो देश त ३ करोड जनसंख्याको देश हो । ठूला अस्पतालहरुले आफ्नो मेडिकल रिपोर्टहरुलाई डिजिटाईज गरिसके तर साना साना अस्पतालहरु भने अझैँ पनि कागजको भरमा मेडिकल रिपोर्टहरु तयार पार्छन् । ति कतिबेला हराउँछ पत्तै पाईदैन । जतिबेला हामीलाई केही नयाँ रोगले सताउँछ हामीसँग मेडिकल रिपोर्ट हुँदैन जसको कारण डाक्टरलाई हामीलाई के भएको हो भन्ने पत्ता लगाउन केही हदसम्म गाह्रो हुन्छ । हामीलाई जसरी व्यवसाय गर्दा दुई वर्ष अगाडिको रिपोर्ट हेर्छौ र त्यस्तै डाक्टरलाई पनि बिरामीको पहिलाको अवस्थाहरु बुझ्न जरुरी छ । जसकारण के भएको हो भन्ने पत्ता सजिलै लगाउन सक्छ । यसका साथसाथै अन्य समस्याहरू पनि छन् । तिनै समस्यालाई समाधान गर्नको लागि हामीले जिभीलाई ल्याएका हौं । हामी जति सक्दो धेरै समस्या समाधान गर्ने प्रयास गर्नेछौं । डकनक जस्ता हेल्थ एप पनि नेपालमा छन् । तपाईहरु यस्तै अन्य हेल्थ एप भन्दा कसरी फरक हुनुहुन्छ ? हामीले एप बनाउनु भन्दा अगाडि डकनक एपको बारमा केही जानकारी थिएन । यद्यपी त्यो एउटा अपोइन्टमेन्ट लिने मात्र एप हो। यसले तपाईको कुनै पनि प्रकारको व्यक्तिगत स्वास्थ्य रेकर्ड राख्दैन । यसले औषधी पनि डेलिभर गर्दैन। डकनक हामीले गर्न चाहेको कामको सानो हिस्सा हो । अमेरिकामा भने यो प्रख्यात छ। स्पष्ट हुनु पर्दा नेपालमा हामीले सुरु गरेको काम कसैले पनि गरेको छैन। विश्वव्यापी रुपमा हेर्नु पर्दा हामीले गर्न खोजेको काम गर्ने केही कम्पनीहरु छन् । उनीहरुको पनि ठूलो सोच होला तर उनीहरु हामीले जस्तै सानोबाट सुरु गरेका छन्। धेरैले औषधि पुर्याउने काम सुरु गरेका छन् जुन खासै ठूलो टेक्नोलोजी पनि होइन। तर व्यक्तिगत स्वास्थ्य रेकर्ड बाहिरको कुरा गर्नुपर्दा त्यहाँको एपमा भएको डाटाहरु छरिएको अवस्थामा छ। त्यहाँ इलेक्ट्रोनिक मेडिकल रेकर्ड एकजनाले सम्हालेको हुन्छ । तपाई एउटा अस्पतालमा जानुहुन्छ उनको आफ्नै मेडिकल रिपोर्ट हुन्छ । अर्कोमा जानुहुन्छ उसको पनि आफ्नै मेडिकल रिपोर्ट हुन्छ जुन अर्को कुनै पनि अस्पतालसँग जोडीएको हुँदैन। जसकारण केही नयाँ रोग लागेको कारण दोस्रो अस्पताल जाँदा डाक्टर र बिरामी दुबैलाई समस्या पर्न जान्छ । हुनसक्छ उनीहरुको पनि भविष्यमा गएर सबैकुराको व्यवस्थापन गर्ने योजना होला तर हालको लागि हामी जस्तो फिचर भएको एप कम्पनी एकदमै कम छन्। हामी फरक छौं त भन्दिन तर एकीकृत रुपमा हेर्नुपर्दा हामीसँग उनीहरुको दाँजोमा दिनको लागि धेरै छ र हाम्रो डाटा टुक्रिएको अवस्थामा हुँदैन र डाक्टर, बिरामी, अस्पताल र देश सबैलाई धेरै भन्दा धेरै नै सहयोगी बन्नेछ । हाम्रो अहिलेको अवस्थामा कुन ठाउँमा कुन रोगको अवस्था के छ भन्ने बुझ्नलाई लाखौं पैसा खर्च गर्नुपर्ने अवस्था छ तर भविस्यमा हामीसँग भएको डाटाको माध्यमबाट देशमा के भइरहेको छ भन्ने सजिलै पत्ता लगाउन सक्छौं। यसको सहयोगबाट हामी देशमा हाल कुन रोगको अवस्था के छ भन्ने जानकारी दिन सक्छौं। अस्पताल र डाक्टरहरुसँग जोडिनको लागि हाल के गरिरहनुभएको छ ? हालको अवस्थामा हामीसँग १०० भन्दा बढी डाक्टरहरु जोडी सक्नु भएको छ । हामी अहिले अस्पतालहरुसँग गइसकेको अवस्था छैन।  अहिले क्लिनिकमा गईरहेका छौं किनभने हाम्रो पहिलो निस्किएको फिचर एप भनेको क्लिनिकल एप हो। हामीले हाल ओपीडी अर्थात बाहिर बिरामीको क्लिनिकल र ईएमआर ( ईलेक्ट्रोनिक मेडिकल रिपोर्ट ) गरिरहेका छौं। त्यसपछी हामीले ल्याब रिपोर्टलाई एकीकृत गर्नुपर्ने हुन्छ। त्यसपछी रेडियोलोजी र अपरेसन थिएटर बन्नेछ। यी सबै फिचरहरु तयार भईसकेपछि हामी अस्पतालहरूमा जानेछौं। तर, त्यसको लागि हामीलाई करिब ६ महिनाको समय लाग्छ । हामीले उनीहरुलाई के फाइदा दिइरहेका छौं भने हामीसँग भएको १ हजार बढी प्रयोगकर्ताहरुले अब उनीहरुसँग सिधै सम्पर्क राख्नेछन्। यसले उहाँहरु र बिरामीको दुखाइ कम हुन्छ । उहाँहरुले आफ्नो क्लिनिकमा २० वटा बिरामी कुर्ने सिट राख्नुपर्ने छैन त्यसको साटो उहाँहरुले बरु एउटा बढी ओपीडी बनाउन सक्छन्। बिरामी आएर सिट नभएको अवस्थामा उभिएर बस्नु पर्दैन। डाक्टरलाई दुई/तीन घण्टा कुर्नु पर्दैन । कुनै कारण डाक्टरलाई काम परेर ढिलो भएको अवस्थामा त्यो चिसो सिटमा कुरेर आफ्नो र कुरुवा दुवैको समयको बर्बाद गरेर बस्नु पर्दैन। यसले समय सदुपयाेग गराउँछ । । हामीले समयको कुरा गर्दा बिरामीको समयको कुरा मात्र गर्छौ । सोच्नुस नेपालमा दिनको २ हजार बिरामी मेडिसिटीले हेर्छ भने आज यो देशको २ हजार उत्पादनशीलता भएका मानिसहरु अस्पतालमा कुरेर बसेको अवस्था छ। सुन्दा मुर्खता लाग्छ तर सत्य यही हो। जिभी एपमा के कस्ता विशेषताहरू छन् ? सर्वप्रथम हाम्रो एप डाउनलोड गरिसकेपछि तपाई हामी सँग जोडिएका डाक्टरहरू सँग जोडिन सक्नुहुन्छ । आफुलाई सजिलो हुने समय हेरेर हामीसँग जोडीएका क्लिनिकका डाक्टरहरुसँग समय लिन पनि सक्नु हुन्छ तपाईले डाक्टरको नामबाट, अथवा रोगको नामबाट वा अस्पतालको नामबाट खोज्नसक्नु हुनेछ। तपाईले आफ्नो अपोईन्टमेन्ट लिईसकेपछी तपाईलाई नोटिफिकेसन मार्फत जानकारी गराईनेछ। जब तपाई डाक्टरकोमा जानुहुन्छ उहाँले तपाईको औषधिको प्रेस्क्रिप्सन, तपाईको रिपोर्टहरु सबै एपमै हाल्दिनु हुनेछ। उहाँले लेख्न साथ तपाईको फोनमा सबै रिपोर्टहरु आउनेछन्। तपाईले प्रेस्क्रिप्सनमै क्लिक गरेर औषधि मगाउन पनि सक्नुहुनेछ। त्यो हाम्रो एउटा पाटो हो। भोली गएर तपाईले हाम्रोबाट ल्याब रिपोर्ट पनि मगाउन सक्नुहुनेछ। आज तपाईलाई ल्याब रिपोर्ट देखाउनको लागि डाक्टरलाई रिपोर्ट लिएर फेरी देखाउन पर्नेहुन्छ । तर, यदि जिभी एप प्रयोग गर्नुहुन्छ भने तपाईको एप डाक्टरकोमा पनि देखाउँछ जसले डाक्टरलाई उनको फुर्सदको समयमा तपाईको ल्याब रिपोर्ट हेरेर जे जे तपाईलाई भएको हो त्यो एपको मार्फतबाट तपाईलाई खबर आउँछ । तपाईको समयको पनि बचत हुन्छ। जानु आउनुको पैसाको बचत, बिरामीसँग जाने मान्छेको समय बचतले जीवनलाई धेरै नै सजिलो बनाइ दिन्छ। यस्तै औषधि तथा अन्य सामग्रीमा २५ प्रतिशत सम्मको छुटको हामीले व्यवस्था गरेका छौं। त्यसबाहेक हामीसँग अन्य केही यस्ता स्पेसल फिचरहरु छन् जुन हामीलाई एप बनाउँदै जाँदा महशुस भयो जस्तै रक्तदान। हामीले के महशुस गर्यौं कि जब हाम्रो प्रयोगकर्ता १ लाख देखि १ करोड पुग्छन् त्यहाँ एकदमै रेयर ब्लड ग्रुप भएका मानिसहरु पनि समावेश हुन्छन् जसको माध्यमबाट मानिस हामीले नजिकै भएको मिल्दो ब्लड ग्रुप भएको व्यक्तिलाई पत्ता लगाउन सक्छौं। हाम्रो एप लगईन गर्दा प्रयोगकर्ताले आफ्नो ब्लड ग्रुप राख्नुपर्ने हुन्छ। त्यस्तै हामीले फ्यामिली फिचर पनि ल्याएका छौं’ । यसमा धेरै विशेषताहरू छन् । आगामी योजनाहरु के कस्ता छन् ? अबको पाँच वर्षमा हाम्रो लक्ष्य भनेको देशको २५ प्रतिशत जनसंख्यामा पुग्नु हो । जुन ८० लाख देखी १ करोड मानिसमा पुग्नु हो। हामी पाँच वर्षके अवधिमा काठमाडौं बाहेकका अन्य धेरै भु(भागमा पुग्न चाहन्छौं । कम्तिमा पनि विकट साना गाउँहरुमा सेवा दिन सक्ने बन्ने योजना छ। यदि सबै तर्फबाट हामीलाई सपोर्ट आयो भने हामीले धेरै नै गर्न सक्छौं । अबको पाँच बर्षमा हामी धेरै ग्रामीण क्षेत्रमा टेलिमेडिसिन सेवा पुर्याउन सक्छौं। तपाई जस्तो युवा जो देश मै केही गर्न चाहनुहुन्छ, उहाँहरूलाई तपाईको के सुझाव छ ? सर्वप्रथम त तपाई सकरात्मक हुन जरुरी छ। साना/साना कुराले तपाईलाई असर गर्न नदिनुहोस्। नेपालमा हामी साना/साना कुराले हामीलाई असर गर्न दिन्छौं। हामी छिट्टै नै नकरात्मक हुन्छौं र हाम्रो सोच बदलिहाल्छौं। सबैभन्दा पहिला त मलाई लाग्छ हामीले त्यस बानीलाई बदल्नु जरुरी छ । मलाई लाग्छ कि हामी सबै महत्वाकांक्षी छौं र हामी सबैसँग योजना छ। तर समस्या के छ भन्दा हामीसँग त्यो शिक्षा छैन जसले हाम्रो योजनालाई सहयोग पुर्याउँछ। शिक्षा भन्नाले युनिभर्सिटीमा लिएको डिग्री होईन। कलेज बाहिर पनि दुनियाँ छ भन्ने हामी बुझ्दैनौं। पर्याप्त अध्ययन गर्दैनौं, आफुलाई पर्याप्त शिक्षित गर्दैनौं। हामीलै युनिभर्सिर्टीले वर्षमा ८ देखि १० वटा किताब पढ्न दिन्छ तर संसारमा २० बिलियन भन्दा बढी किताबहरु छन् जसको सहयोगले हामी धेरै कुरा सम्बन्धि ज्ञान हाँसिल गर्न सक्छौं तर हामी यसको लागि समय नै निकाल्दैनौं। अनि हामी हाम्रो शिक्षा प्रणाली राम्रो छैन भनेर गुनासो गर्छौं। मैले बिजनेस गर्नको लागि कतैबाट पनि डिग्री लिएको होइन र मैले केही ट्रेनिङ पनि लिएको छैन । तर, मैले आफुले आफुलाई धेरै किताबहरु पढेर र यही क्षेत्रमा लागेका व्यक्तिहरुसँग भेटघाट, कुराकानी गरेर आफुलाई प्रशिक्षित गराएको छु । मलाई लाग्छ हामी सकरात्मक हुन जरुरी छ।  मैले २०१५ मा आफ्नो दुईवटा बिजनेस सुरु गर्दा भूकम्प गयो र नेपालमा नाकाबन्दी भएको थियो। तर, त्यसले मलाई कहिल्यै पनि असर गरेन। म र मेरो टिम सकरात्मक भएर अगाडि बढ्यौं र आज हामी दुवै क्षेत्रमा देशको दोस्रो राम्रो कम्पनीमा पर्छौं।

पिक आवरमा हाइड्रो र दिउँसोको समयमा सोलार प्रयोग गरेर ऊर्जा सन्तुलन गर्न सकिन्छ : पूजा दाहाल

सन् २००५ मा इञ्जिनियरिङ पढ्दै हाइड्रो क्षेत्रमा प्रवेश गर्नुभएकी पूजा दाहाल हाल चौधरी ग्रुपद्वारा सञ्चालित सीजी इनर्जीको विजनेश यूनिट हेडको जिम्मेवारीमा हुनुहुन्छ । विभिन्न हाइड्रो कम्पनीहरुमा सफल नेतृत्व गर्नु भएकी दाहाललाई कुसल व्यवस्थापकको रुपमा लिइन्छ । दाहालसँग जलविद्युत र सौर्य ऊर्जा क्षेत्रमा सीजीले बनाउँदै गरेका परियोजना, यस क्षेत्रको चुनौति र अवसरबारे कुराकानी गरेका छौं । प्रस्तुत छ विकासन्युजका लागि सन्तोष रोकायाले गरेका विकास बहस । सिजी इनर्जीले कुन कुन आयोजनाहरु निर्माण गरिरहेको छ ? अहिले सिजी इनर्जीले हाइड्रोमा १५ मेगावाटको मिडिल मोदी हाइड्रो परियोजना निर्माण गरिरहेको छ । मिडिल मोदी निर्माणको अन्तिम चरणमा छ । सबै संरचनाहरु निर्माण तयार भइसकेका छन् । सिभिलतर्फ ८० प्रतिशत जति काम सम्पन्न भइसकेको छ । त्यससँगै ट्रान्समिसन लाईनको काम चलिरहेको छ । त्यस बाहेको आयोजनाहरुमा हामीले ६ सय मेगावाट सोलार उत्पादन गर्ने भनेर गत वर्ष लगानी सम्मेलनमा नेपाल सरकारसँग सम्झौता गरिसकेका छौं । त्यसमध्ये पहिलो चरणको हाम्रो परियोजना भनेको २ सय मेगावाटको सोलार उत्पादन लाइसेन्स हो । त्यो २ सय मध्ये ढल्केबारमा १ सय २० मेगावाट, पर्वानिपुरमा ३० मेगावाट र दुहबीमा ५० मेगावाट गरेर २ सय मेगावाटको लाइसेन्स हामीसँग छ । पर्वानिपुर र ढल्केबारमा जग्गाको फाइनल गरेर स्थानीय सरकारसँग आवेदन गरिसक्यौं । दुहबीका लागि जग्गा फाइनलाइजको काम प्रक्रियामा छ । निर्माणाधीन मिडिल मोदी जलविद्युत आयोजनाको अवस्था कस्तो छ ? हामी मिडिल मोदीको निर्माणको करिब अन्तिममा छौं । सिभिल स्ट्रक्चरमा ८० प्रतिशत काम सकि सक्यौं । जसमध्ये हाम्रो २.७ किलोमिटर टनेलको ब्रेकथ्रु भइसक्यो । लाइनिङको काम सुरु भइराखेको छ । इन्टेकमा सबैको काम सकिसकेको छ । हाम्रो समस्या भनेको पावर हाउसमा हो । पावर हाउस सेमिअण्डरग्राउण्ड र नदीको लेभल हाई भएको कारणले समस्या भइरहेको छ । सबै काम रफ्तारमा चलिरहेको छ । जलविद्युत क्षेत्रका धेरै आयोजनाहरु रुग्ण अवस्थामा छन् । सौर्य विद्युत आयोजनाहरुतर्फ यस्तो समस्या छन् कि छैनन् ? हामीले जुन तरिकाले हाइड्रो पावर निर्माण गरेर सम्पन्न गर्यौ त्यहि अनुसार व्यापारिक रुपमा सोलार परियोजनाहरु सम्पन्न गरेका छैनौं । ठूला प्रोजेक्ट निर्माण पनि थालेका छैनौं । नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटमा लाइसेन्स अनिवार्य गर्यो । हामीले व्यवसायिक उत्पादन गर्न लागेका परियोजना तिनै हुन् । ति परियोजनाहरु निर्माण सम्पन्न भएका पनि छैनन् । आजको दिनसम्म गोल्छा इन्टरप्राइजेजले २ मेगावाटको सौर्य विद्युत उत्पादन गरेको छ । त्यो पनि उसले आफ्नो आन्तरिक उपभोगका लागि उत्पादन गरेको हो । यसले गर्दा अहिले नै यो रुग्ण हुन्छ भन्न चाहिँ सकिँदैन । यसको अवस्था हेर्दाखेरि हाइड्रोलाई स्टोरेज गरेर दिनभरीको उपभोगका लागि सोलार प्रयोग गर्यो भने दुबै प्रोजेक्टहरु समान रुपले अगाडि बढ्न सक्छन् । देशमा निर्माण सम्पन्न भएका धेरै आयोजनाहरुमा हाइड्रोलोजीको समस्या छ । त्यो समस्या मिडिल मोदीमा दोहोरिने अवस्था कतिको छ ? सुरुसुरुमा नीजि क्षेत्रले हाइड्रोमा लगानी गर्दा कुनै पनि आयोजनाहरु यस्तो कतिपय आयोजनाहरुमा अनफिजिवल थिएन । त्यतिखेर डेभ्लपरले पनि आयोजनालाई कसरी राम्रो बनाउने भन्ने हुन्थ्यो । जब दुई चार वटा आयोजनाहरु बन्दै आए त्यसपछि मान्छेलाई यो व्यापार हो भन्ने लाग्यो । यसबाट परियोजनाले त कमाउनु एउटा छ, परियोजना निर्माणकै चरणमा पनि कमाउने भन्ने मानसिकता तिनीहरुमा भयो । त्यसले गर्दा बैंकबाट बढी ऋण लिनका लागि यथार्थ भन्दा पनि बढी क्षमताको परियोजना देखाउने खालका नचाहिने कामहरु पनि भए । त्यसले गर्दा पनि परियोजनाहरु रुग्ण हुन थालेका हुन् । हाइड्रो पावरको क्षेत्रमा तपाईले देखेको समस्या के के हुन् ? हुन त समस्या सबै क्षेत्रमा हुन्छन् । तर पनि यस क्षेत्रमा अलि फरक खालका समस्याहरु छन् । हामीले प्रोजेक्ट निर्माणका लागि धेरै टाढा पुग्नुपर्छ । प्रोजेक्ट निमार्ण गर्न लागेको ठाउँको समुदाय कस्तो छ त्यसले पनि निर्धारण गर्छ । सहयोगी समुदाय छ भने काम गर्न समस्या हुँदैन । नबुझ्ने खालको समुदाय छ भने उनीहरुलाई बुझाउन पनि समस्या पर्छ । दोस्रो, समुदाय बुझ्ने भएपनि कतिपय व्यक्तिगत नाफाका लागि पनि हुन्छन् । यसले गर्दा पनि समस्या हुन्छ । यो सँसगै अहिलेको समस्या भनेको बैंकको ब्याजदर छ । त्यो हामीहरुका लागि ठूलो समस्या हो । अहिले हाइड्रोलाई अर्को समस्या भनेको अहिले जुन भूमिसुधार ऐन आयो त्यसले कृषियोग्य जग्गा कृषि प्रयोजन बाहेक अरु चिजमा चलाउन नपाइने भन्ने आयो । हाइड्रोमा अलिकति भएपनि कृषियोग्य जमिन त पर्छ । त्यसले पनि समस्या गरेको छ । आयोजना निर्माणमा स्थानीय सरकार र समूदायको भूमिका कस्तो छ ? हामीले गएर त्यहाँको स्थानीयहरुको स्रोत साधनहरु प्रयोग गर्ने हो । त्यो प्रयोग गरेवाफत त्यहाँको स्थानीय क्षेत्रमा केही विकास गर्नु हाम्रो पनि दायित्व हुन्छ । परियोजना निर्माणमा त्यहाँको स्थानीयहरुसँग सहकार्य गरेर अगाडि बढ्यो भने कुनै पनि समस्या हुँदैन । प्रोजेक्ट सँगसगै त्यहाँ विकास हुन्छ । केही नभएको ठाउँमा बाटोघाटो जान्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यहाँ विकास हुन्छ । व्यापार व्यवसाय बढ्छ । मानिसहरुको जीवनस्तरमा परिवर्तन आउँछ । तर त्यहाँ गएर कसरी प्रस्तुत हुने भन्ने कुरामा भर पर्छ । अहिलेसम्म हामीले स्थानीयहरुबाट त्यस्तो कुनै समस्या भोगेका छैनौं । अहिले धेरै हाइड्रो कम्पनीहरुको सेयर अंकित मूल्यभन्दा कम छ । बजारमा साधारण सेयरको प्राथमिक निष्काशनमा समेत माग कम छ । हाइड्रो पावरले निश्कासन गरे जति सेयर बिक्री नहुने अवस्था किन आयो ? अहिले हाइड्रो मात्र होइन, सबै क्षेत्रको डाउनफ्लो छ । त्यसमा पनि हाइड्रोको सेयर काम किन भयो भने सुरुसुरुकम कम्पनीहरुले राम्रो नाफा दिन्थे । आम सर्बसाधरणमा हाइड्रोको सेयर हाल्नुपर्छ भन्ने धारणा थियो । अहिले धेरैले यसलाई व्यापार बनाउन थाले । अब सर्वसाधरणबाटले पनि यसबाट फाइदा छैन भन्ने बुझे । डिभ्लोपरहरुले अगाडि नै राम्रो कमाइ गरिसकेका छन् भन्ने यिनीहरुले लामो समयसम्म केही दिने वाला छैन भनेर बुझिसकेका छन् । अहिलेको अवस्थामा सत प्रतिशत सेयर माग हुनै छोडेको छ । बजारमा सौर्य विद्युतको माग, आपूर्ति र मूल्य कस्तो छ ? अहिलेसम्म हामीले ग्रिडमा कुनै पनि सोलार उर्जा जोडेका छैनौं । नजोडेको अवस्थामा त्यसको माग कस्तो छ भन्न सकिने अवस्था छैन । हामी त खाली उर्जा उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणको ग्रिडमा दिने हो । त्यो सबै उसको जिम्मा हो । त्यसको मूल्यको हकमा नेपाल विद्युत प्राधिकरणले पीपीए रेट भनेको ७ रुपैयाँ ३० पैसा हो । अब अहिले व्यापारिक उत्पादन पनि आइसकेको छैन । दिउँसोको समयमा इण्डष्ट्रिज बाहेका खासै त्यस्तो डिमाण्ड हुँदैन । अहिलेको अवस्थामा सोलारको डिमाण्ड कस्तो छ भन्नै त गाह्रो छ । नेपालमा जलबिद्युत आयोजनाहरुको सम्भावना प्रशस्त छ र उतिकै सम्भावना सौर्य उर्जाको पनि भनिन्छ । उत्पादन, वितरण, गुणस्तर र मूल्यका हिसावले कुन उर्जा राम्रो हुन्छ ? अब हामीले इनर्जी सेक्टरका मान्छे भएको हिसावले यहि राम्रो त भन्न सक्दैनौं । आफ्नो छोराछोरी सबैलाई राम्रो नै लाग्छ । तर अब पिक आवरमा हाइड्रो लगेर दिउँसोको समयमा सोलार प्रयोग गर्ने हो भने दुवैको सम्भावना उतिकै राम्रो छ । खोलानाला नभएका देशमा पनि उनीहरुले सोलारबाट नै इनर्जी डेभ्लप गरेका छन् । सरकारले पनि त्यसको ब्याकअप सिस्टम मूल्य सहुलियत गरिदियो भने दुबैको राम्रो भविश्य छ। सौर्य उर्जा उत्पादनमा के के समस्या तथा चुनौतीहरु छन् ? हामी पनि भर्खरै सोलारमा प्रवेश गरेका छौं । सबैभन्दा पहिलो सोलारलाई चुनौती भनेको ट्रान्समिसन लाइन रहेको छ । सरकारले जम्मा ग्रिडको १० प्रतिशत सोलारको लागि हो भन्छ । अहिले हाम्रो सिस्टममा ११ सय मेगावाट जति छ । यसको हिसाव गर्ने हो भने ११० मेगावाट मात्र पाउने भयो । जबकी २ सय मेगावाटको लाइसेन्स लिएर हामी नै बसेका छौं । त्यसले गर्दा सोलारको लागि पहिलो समस्या ग्रिड हो । दोस्रो भनेको नियमन निकाय हो । उहाँहरु आफै पनि स्पष्ट हुनुहुन्न कि । योसमस्यालाई कसरी समाधान गर्ने भनेर । अब हामीले पीपीए मागेको चार महिना हुन लागि सक्योे । अहिले विद्युत नियमन आयोगको गाइडलाइन आएपछि एकखालको खाका उसले दिएको छ तर पनि यसमा उहाँहरु आफै पनि केहि कन्फ्युज हुनुहुन्छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले उर्जा सम्मेलन गर्दैछ । यसले निजी क्षेत्रका हाइड्रो उद्यमीहरुलाई के फाइदा हुन सक्छ ? यसलाई हामीले कसरी लिन्छौं भन्ने कुरामा भर पर्छ । किनभने हामीले मार्चमा लगानी सम्मेलन पनि गर्यौं तर त्यसबाट पनि त्यस्तो कुनै उल्लेखनीय आउटपुट कुनै पनि आएन । त्यसैले यो पावर समिटलाई पनि हामीले कसरी लिन्छौं भन्ने कुरामा भर पर्छ । हामीले अरुलाई मात्र यो गरिदिनोस् उ गरिदिनोस् भनेर जाने होइन । हामीसँग यो चीज छ भनेर आफैले पनि मार्केटिङ गर्न सक्नुपर्छ । यस्तो खालको प्लेटफर्ममा रियल केसहरु प्रस्तुत गरेर, डेप्लोेपरहरुलाई मोटिभेट गरेर अगाडि बढ्ने हो भने त्यो सफल पनि हुन्छ । यो गर्नको लागि मात्र हो भने त केही पनि हुँदैन ।