दिगो लाभांश, व्यवसायिक बजार, ग्राहकको सन्तुष्टि नै हाम्रो सफलताः सीईओ उपाध्याय

३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाइ वर्ष मै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने व्यक्ति हुन अनिलकुमार उपाध्याय । २०४४ सालमा अधिकृतस्तरबाट बैकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने । बैंकमा उपमहाप्रवन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित गत २०७५ पुस १० गते सीईओ बनेका हुन् । उनले बैकिङ करियर शुरु गर्दैको अवस्थाबाट यहाँसम्म आइपुग्दा बैंक आफैमा र बाहिरी परिवेश समेतमा परिवर्तन आएको पाएका छन् । ‘ग्रामीण क्षेत्रका किसानलाई विशुद्ध कर्जा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको बैंक अहिले पूर्ण बैंक बनेकोे छ ।’ कृषि विकास बैंकले ४ वर्षको व्यवसायिक योजना बनाइसकेको छ ।अहिले अन्य बैंकमा जस्तै सबै सुविधा कृषि विकास बैंकमा पाउन सकिन्छ,’ उनी भन्छन् ‘किसानको क्षमता वृद्धि गरी प्रविधिलाई कृषिसँग जोडेर आमजनतासम्म पुर्याउने उद्देश्य सहित २०२४ सालमा कृषि विकास बैंक स्थापना होे, सरकारको वितरण प्रणालीको रुपमा ।’ त्यति बेला कृषि विकास बैंकको पहिचान ऋण दिने सरकारी संस्थाका रुपमा थियो । सरकार र दातृनिकायबाट ऋण लिएर ग्रामीण किसानलाई कर्जा उपलब्ध गराउने बैंकको काम थियो,’ उनले सरल जवाफ दिए । त्यसैले अहिले पनि कृषि विकास बैंकमा १ लाख ४५ हजार ऋणीमध्ये करोडभन्दा ठूला कर्जा २ सय वटामात्रै छन् । ५ लाखदेखि १५ लाखसम्मका ६० प्रतिशत ऋणी छन् । स्रोतको समेत सुनिश्चिता नभएकोले कर्जामात्रै दिएर पूर्ण बैंक बन्न सक्ने अवस्था थिएन । आर्थिक क्रियाकलाप एकातिर बैंक अर्कोतिर जस्तो देखियो । अवसरबाट बैंक बञ्चित हुँदै गयो ।देशको आर्थिक गतिविधिको सम्पूर्ण प्रणालीमा बैंक समावेश हुन नसकेको बैंक व्यवस्थापनले बुझ्यो । पछि विस्तारै स्थानीय स्तरमै निक्षेप संकलन गरी त्यहि नै कर्जा प्रवाह गर्न थालियो । ‘स्रोतलाई आत्मनिर्भर बनाउने अवधारणा अनुरुप हामीले निक्षेप संकलनको काम शुरु गरेका हौं,’ उपाध्यायले भने । त्यसपछि २०४१ सालमा बैकलाई परिमार्जन गरिएको हो । ग्रामीण क्षेत्रका किसानलाई सेवा दिन स्थापना भएको बैंकले पहिलो पटक रत्नपार्क शाखाबाट कम्प्युटर सिष्टमबाट सेवा शुभारम्भ गर्यो । त्यति गर्दा पनि राजनीतिक, आर्थिक र सामाजिक रुपमा बैंकको पोटफोलियो त्यति राम्रो थिएन । फेरि बैंकलाई पुनसंरचना गर्नेतर्फ लागियो, नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा । अहिले बैंक सबै नियम कानुनको परिधिभित्र रहेर साधारण शेयर समेत निष्काशन गर्न सक्ने सफल बैंक भएको हो । अनिलकुमार उपाध्याय प्रमुख कार्यकारी अधिकृत(सीईओ), कृषि विकास बैंक बैंक व्यवस्थापनको बलबुतोमा बैंकलाई स्थापित गराइयो । यो हाम्रा लागि ठूलो उपलब्धी हो । यसमा कर्मचारीको ठूलो देन छ । उहाँहरूकै मेहेनतले अहिलेको अवस्था बैंक पुगेको हो । अहिले बैंकमा ५ सय ४६ महिला सहित २ हजार एक सय ५७ कर्मचारीले सेवा गरिरहेका छन् । बैंक पनि सफलताको सिढी उक्लदै गयो । कृषि विकास बैंकमा बैंकलाई बन्द गराएर स्वार्थ लिने कर्मचारी नभएकै कारण यो सम्भव भएको हो । यसको पुरानो इतिहास हेर्ने हो भने बैंकको हरेक परिवर्तनमा कर्मचारीले साथ र सहयोग रहेको छ । यदि कर्मचारीले साथ नदिएको भए हामी यो अवस्था आउने थिएनौ । चुस्त व्यवस्थापन मेहनती कर्मचारी, नयाँ र समय सान्दर्भिक व्यवसायिक योजनाको समिश्रणबाट बैंक अहिले प्रतिस्पर्धी बैंकको रुपमा स्थापित भएको हो । शहरदेखि गाउँसम्म सबै सामु पुग्न सफल यो बैंक पेशागत कार्यमा अडिक छ । समग्र बैकिङ सुविधायुक्त सिष्टमबाट बैंकले कार्य सम्पादन गरिरहेको छ । २०६३ सालमा बैंक पुनसंरचनामा गएसँगै कृषिलाई नछाड्ने र अरु क्षेत्रका व्यवसायलाई सँगसँगै लैजाने उच्च मनोबलका साथ बैंकलाई अघि बढाइयो,’ उपाध्यायले भने । अहिले विश्व बजारमा चलेका टप सफ्टवेयर हाम्रो बैंकले प्रयोग गरिरहेको छ । फरक यति छ कि हामी शहरबाट शाखा सञ्चालन विस्तार नगरेर गाउँबाट गरिरहेका छौं । हिजो हामी गाउँमा मात्रै थियौ । करिब ५ सयको हाराहारीमा साना किसान आयोजना नै थिए । अहिले शहरमा पनि बैंकको कार्यक्षेत्र विस्तार भएको छ । अहिले हामी कुनै अवस्था पनि पछि छैनौ । पुँजी, रिटर्न अर्निङमा एक/दुई नम्बरमा हौंला । रिपेमेन्ट र कर्जामा पनि हामी अगाडि नै छौं । बैंकमा कर्मचारीको समस्या भएको भए बैंकले यो प्रगति गर्न सक्ने थिएन । समस्या आएपनि त्यसको सहजै समाधान भएको छ । यो बैंकमा ५१ प्रतिशत सरकारको शेयर छ भने ४९ प्रतिशत शेयरमा २ लाख ५७ हजार सर्वसाधारणले लगानी गरेका छन् । बैंकको शेयर पुँजी ९ अर्ब रहेको छ । सरकारी स्वामित्व बढी भएपनि बोर्डमा तीन जना सर्वसाधारणबाट सञ्चालक हुनुहुन्छ । तीन जना सञ्चालक सरकारबाट हुनुहुन्छ । एक जना स्वतन्त्र । हामी पुसभित्रै बैंक साधारणसभा गर्ने योजनामा छौं,’ उनले अगाडि भने । जोखिम वहन गर्न सक्ने अवस्थामा बैंक पुगेको छ । कतिपय बैंक सवल र कतिमा अबल । अहिले बैंकको खराव कर्जा तीन प्रतिशत छ । गाउँका मसिनो ऋण हँदा खराबकर्जा बढी देखिएको हो । तर, पनि ऋण जोखिममा छैन । हामी कहाँ हुने ऋण सिजनल हो । चाडपर्व सकिएपछि फेरि खराब कर्जाको अवस्था सुधार आउँछ । दुई/चारवटा मुद्दा परेका छन् । यसमा आत्तिनु पर्ने अवस्था छैन । कर्मचारीको कारण केही जोखिम देखिए पनि सिष्टममा कुनै खराबी नभएको उनी बताउँछन् । पहिलो र दोस्रो त्रैमासमा खराब कर्जा बढी भएपनि पछि घट्छ । गत आर्थिक अवस्थामा हामी नाफामा दोस्रो बैंक भयौ । अहिले पनि त्यहि लक्ष्यका साथ हाम्रो व्यवसाय विस्तार भएको छ । कर्जाको गुणस्तर हेर्नुपर्ने हुन्छ । सवल र व्यवस्थित कर्जा छ भने यसले राम्रो गर्छ । वित्तीय सूचंकाक राम्रो छ । बैंकसँग दुई प्रकारका शाखा छन् । नाफा गर्ने र सेवा दिने । गाउँका बैंक शाखामा सञ्चालन खर्च बढी छ । गाउँको विजनेश लशमा छ । त्यसैले गाउँमा हामीले सेवा दिइरहेका हुन्छौ भने शहरमा आयअर्जनको लागि व्यवसाय गछौं । बैंक स्थापनादेखि हामी हुम्ला, जुम्ला, जाजरकोट, मुग, कालिकोटलगायतका थियौ । अहिले पनि कालिकोटका तीन/चार वटा ब्रान्चमा हेलिकप्टरबाट सेफ पठाएर सेवा दिइरहेका छौं । त्यहाँ नाफा हुँदैन । हामी सेवा दिनको लागि स्थापना भएका हौं । कृषि क्षेत्रको विकास लागि यो बैंक स्थापना भएको हो । कृषिलाई नछाडी अन्य व्यवसायलाई सँगसँगै लैजाने हाम्रो रणनीति हो । हामी सेवा प्रदान गर्नको लागि पनि त्यतिकै लागनी गछौ । कृषक र कृषिका गतिविधि हामीबाट टाडा छैनन् । कृषिमा अहिले पनि एक तिहाइ लगानी छ । कृषिनै यो बैंकको प्राथमिकता हो । कृषि विकास बैंकका २ सय ७५ शाखामध्ये १ सय ६ शाखाले कृषिमा प्राथमिकताका साथ लगानी गरिरहेका छन् । साे शाखामा ८० प्रतिशत कृषि क्षेत्रको लगानी रहेको छ । यतिबेला उपाध्यायको काँधमा आफ्नो नेचर अनुसार ग्रामीण किसानलाई सेवा उपलब्ध गराउनुुका साथै अन्य प्रतिस्पर्धी बैंकसँगसँगै व्यवसाय गर्ने जिम्मेवारी छ । केही वर्षअघि बैंकलाई कृषि क्षेत्रलाई छाड्यो भन्ने आरोप लागेको थियो । बैंक अहिले त्यो चिर्न सफल भएका छ । कृषि क्षेत्रलाई नछुटाइ अन्य क्षेत्रमा लगानी बढाउँदै लैजादा शहरमुखी सञ्चारमाध्यमले त्यो देखेका मात्रै हुन् । हामीले कृषिलाई छाडेका होइनौं । समय सापेक्ष अन्य क्षेत्रमा पनि लगानी बढाएका हौं । अहिले हाम्रो उद्देश्य भनेको डिजिटलाइजेश हो । गाउँ गाउँमा यो सेवा पुर्याउने हाम्रो योजना छ । राष्ट्र बैंकले ल्याएको १ सय रुपैयाँमा खाता खोल्ने नीतिअनुसार ४३ हजारले शाखा खोलिसकेका छन् । त्यो खाताबाट पनि २८ करोड निक्षेप संकलन भएको छ । डिजिटलाइजेशनलाई देशभरि पुर्याउने कार्यलाई तीव्रता दिएको हो । हामीसँग बैकिङ बजारमा चलेका हरेक नयाँ प्रविधि र सुविधा छ । शेयरधनीलाई राम्रो लाभांश दिइरहेका छौं । शेयरधनीलाई अझ बढी प्रतिफल दिन बैंकले १०.३५ प्रतिशत डिबेञ्चर ल्याउनल लागेकाे छ।  हामीसँग वर्षौदेखि गाँसिएका कृषकको आशालाई अझ बलियोसँग कस्न हामीले आकर्षण डिबेञ्चरको अवसर ल्याएका हौं । नियामक निकाय राष्ट्र बैंकको निर्देशनलाई परिपालना गर्दै किसानसँग याे बैंककाे पुरानाे नातालाई अझ जीवन्त रहोस् भनेर अलि बढी ब्याज दिएर डिबेञ्चर ल्याउन लागेका हौं । स्रोत परिचालन पनि हुने किसानसँगको सम्बन्ध पनि गाँसिराख्न बैंकले यो प्रक्रिया अघि बढाएको हो । उत्पादनलाई सहयोग गर्ने अभियानमा कृषि विकास बैंक अघि बढेको छ । अहिले बैंकले नयाँ प्रडक्टको रुपमा होमस्टे (घरबास) कर्जालाई प्राथमिकतामा राखेकोे छ । यसमा २० लाखसम्म कर्जा लिन सक्ने व्यवस्था छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो प्रडक्ट ल्याएका हौं । सरल कृषि कर्जाको रुपमा यो कर्जा उपलब्ध गराउन लागिएको हो । यसले गति लिन्छ । यो आर्थिक वर्षमा यसले राम्रो रिजल्ट दिनेमा म विश्वस्त छु । सरकारी बैंकहरूको मर्जरको विषयमा उनले सहज उत्तर दिए ‘मर्जरको एउटा उद्देश्य हुन्छ, मर्जर के का लागि गर्ने । शाखा विस्तारको लागि कि, व्यवसाय विस्तारको लागि या पुँजीको लागि ? यी विषयमा बैंकले आफूलाई अब्बल राखेको छ । सुधार गर्नुपर्ने पक्षमा विस्तारै सुधार पनि बैंकले गर्ने नै छ । आफ्नो व्यवसायिक योजनालाई सफलतापूर्वक सम्पन्न गर्नु नै हाम्रो ठूलो सफलता हो । मैले मेरो रोडम्याप बनाएको छु । यहि रोडम्याप अनुसार कार्यसम्पादन भइरहेको छ । आगामी दिनमा बैंक औसतभन्दा माथि हुन्छ । त्यो भन्दा माथि पुर्याउन सके अझ राम्रो । प्रत्येक वर्ष कार्य प्रगतिको समीक्षा गर्दै बैंक अघि बढ्छ । कम कर्मचारीबाट बढी काम लिने र अन्ततः सञ्चालन खर्च घटाउने मूलभूत सिद्धान्तका साथ काम गरिरहेको छु । रोडम्याप अनुसार काम भइरहेको छ । औसत भन्दा तल आउँदैन । पेपर लेसको माध्यमबाट आमजनतालाई सेवा दिन लागेका छौं । हामीले हाम्रा शेयरधनीलाई विगतदेखि नै लाभांश दिँदै आएका छौं । गत वर्ष २१ प्रतिशत लाभांश दियौं । यो वर्ष बोर्डले पास गरेको छैन । र पनि निराशा हुने गरी आउँदैन । दुई लाख ४२ हजार शेयर होल्डर छन् । बैंकको रिजर्भ र रिटर्न अर्निङ सबै राम्रो छ । यसको अर्थ शेयर होल्डरलाई राम्रो प्रतिफल दिन सक्षम छ भन्ने हो । औसत प्रतिफलभन्दा माथि दिन्छौं । बैंकको योजना तथा कार्यशैलीले वृद्धि गरेर टिकाइ राख्न सक्ने अवस्थामा बैंक छ । ‘पेशामा चुनौती भएन भने काम गर्न मज्जै आउँदैन,’ उनले भने ‘म हरेक चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्न चाहन्छु । अहिले हाम्रो चुनौती भनेको मार्केटसँगको प्रतिस्पर्धा के हो, आन्तरिक प्रतिस्पर्धा त्यति ठूलो समस्या होइन । आत्तिनु पर्ने अवस्था छैन । व्यक्तिको कारणले लाहनको घट्ना घटेको हो । बैंकको सफ्टवेयर र सिष्टमको कारणले होइन । संस्थागत रुपमा बीमा पनि गरिएको छ । अदालतमा पनि मुद्दा दायरा भइसकेको छ । प्रहरीको सहयोगमा नियन्त्रण गर्न पनि सकियो । घट्ना आउँछन् । यस्ता घट्ना हुन नदिने हो,’ हाम्रो चाहना हो । हामी लक्ष्य अनुसार काम गरिरहेका छौं । कृषि कर्जामा अग्रणी भुमिका खेल्न सकेका छौं कि छैन भन्ने हो । सम्पूर्ण जनतालाई कृषि विकास बैंकले मात्र सेवा दिने होइन । पहिला कृषकलाई ऋण दिने एउटामात्र द्वार थियो । अहिले त्यस्तो छैन । बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी पनि छन् कर्जा दिन र निक्षेप संकलन गर्न । यति भनेर हामी पन्छिन खोजेका होइनौ, अझ धेरै गर्न वाँकी छ । सबैको घर आँगनमा पुुग्ने नारालाई सार्थक बनाउन हामीले हलोदेखि हाइड्रोसम्म नुनदेखि सुनसम्म लगानी गर्दै आएका छौं ।

म्याक्स मनिबाट ४९ करोड आउने निश्चित भयो, मेलम्चीको ६६ करोडको मुद्दा पनि जित्यौं

नेपालको सेवा क्षेत्रमा बैंकिङ क्षेत्रले धेरै राम्रो कार्यसम्पादन गर्दै आए पनि पछिल्लो समय त्यसमा केही संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा वृद्धिदर करिब ६ प्रतिशतमा सीमित भयो जबकि अघिल्ला वर्षहरुमा निरन्तर रुपमा दोहोरो अंकको वृद्धि देखिँदै आएको थियो । त्यसो किन हुँदै छ त ? नेपालको बैंकिङ क्षेत्रमा पुराना बैंकर तथा नेपाल बैंकर्स एशोसिएसनका सल्लाहकार समेत रहेका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणासँग यसै सन्दर्भमा केन्द्रित भएर कुराकानी गरेका छौं । यो वर्ष बैंकहरुको नाफा वृद्धिदर ६ प्रतिशतमा सीमित भयो, अघिल्लो वर्षहरुमा १५/२० प्रतिशतको हाराहारीमा वृद्धि हुन्थ्यो, समग्र अर्थतन्त्र सकारात्मक नै हुँदा पनि बैंकिङ क्षेत्रमा चाहि किन यस्तो भयो ? अघिल्लो वर्ष नेपालको वृद्धिदर ७.१ प्रतिशत भए पनि यो वर्षको सुरुदेखि भने आयात सँगसँगै कर्जाको माग घट्न पुग्यो । उद्योगहरुमा समेत ओभर क्यापासिटीको अवस्था देखिएकोले त्यो क्षेत्रबाट हुने कर्जाको मागमा पनि यो वर्ष केही कमी देखियो । अर्को कुरा बैंकहरुबीच निक्षेपको ब्याजदरमा भएको भद्र सहमतिका कारण डिपोजिटको अवस्था आक्रामक रुपमा बढाउन सक्ने अवस्थामा हामी छैनौं । यति भन्दै गर्दा अहिले बैंकहरुको नाफा वृद्धिदर कम हुनु नराम्रो होइन । विगतमा हामीले ४०/५० प्रतिशत नाफा बढाउँदा नेपाल राष्ट्र बैंकले किन यस्तो भयो भनेर प्रश्न सोध्थ्यो । त्यसैले एकैपटक धेरै नाफा बढ्नु पनि यो क्षेत्रको लागि जोखिमपूर्ण नै हुन्छ, त्यसैले अहिलेको वृद्धिदर स्वभाविक छ । केन्द्रीय बैंकले पनि स्प्रेडदर घटाउने योजना ल्याएकोले हामीले अहिले नाफामा ठूलो वृद्धिको संकेत देखेका छैंनौं । प्रतिस्पर्धा जति राम्रो भयो पर्फमेन्स पनि उति नै राम्रो हुन्छ भनिन्छ, भद्र सहमतिका कारण कतै बैंकहरु सुस्ताएर बसेका त होइनन् ? होइन, अहिले प्रतिस्पर्धा नभएको होइन । पहिले नाफामा हुने प्रतिस्पर्धा अहिले कम्प्लाइन्समा हुन थाल्यो । राष्ट्र बैंकको निर्देशनका कारण अहिले कर्मचारी खर्च, भाडा लगायतका लागतहरु बढेका छन् । यो किन भएको छ भने नेपाल राष्ट्र बैंकले धेरै कर्मचारीहरु आउटसोर्स गर्न नपाउने व्यवस्थामा पछिल्लो समय कडाई गर्यो । यसले गर्दा बैंकहरुमा बाहिरबाट सस्ता कर्मचारी आउन नपाउने भए, यसले बैंकहरुको खर्च बढ्यो । हाम्रो (हिमालयन बैंकको) सन्दर्भमा हेर्ने हो भने पहिले हाम्रो कर्मचारी खर्च लागत धेरै थियो तर यो वर्ष यस्तो खर्चको वृद्धिमा हामी औसतभन्दा पनि तल छौं किनकी हामीलाई स्टाफ कम्प्लाइन्समा खर्च वृद्धि गर्नु परेन । विगतका वर्षहरुमा बोर्डले हामीलाई सोध्थ्यो, अरुको भन्दा हाम्रो स्टाफ खर्च किन बढी भयो भनेर । हामीले भनेका थियौं, हामीले नियम परिपालना गरेका छौं, अरुले गरेनन् । कुनै दिन उनीहरुले पनि त्यो नियम मान्नुपर्ने अवस्था आउँछ । केही बैंकहरुको समेत शाखा विस्तार भएका कारण पनि त्यस्तो खर्च बढेको हुन सक्छ । हिमालयन बैंक डेढ वर्षअघि सबैभन्दा बढी कर्मचारी खर्च गर्ने बैंक थियो अहिले आठौं स्थानमा पुगेको छ । त्यतिमात्रै नभएर सूचना प्रविधि, साइबर सुरक्षा, सम्पत्ति शुद्धीकरण, रिपोर्टिङ जस्ता सफ्टवेयरहरु पनि अनिवार्य रुपमा राख्नुपर्ने भएकोले पनि अन्य सञ्चालन खर्चहरु पनि बढ्दै गयो । यो हिसाबले तपाइँले भनेजस्तो दोहोरो अंकको वृद्धि नभए पनि बैंकहरुको नाफा बढेकै छ जुन यो अवस्थामा स्वाभाविक अवस्थाकै वृद्धि हो । तर बैंकहरुको वित्तीय स्वास्थ्य कस्तो छ भनेर हेर्न चाहिँ अर्को त्रैमाससम्म कुर्दा राम्रो होला । अघिल्ला वर्षहरुको आर्थिक वृद्धिदर ३/४ प्रतिशत हुँदा बैंकहरुको ग्रोथ ३०/३५ प्रतिशत देख्यौं, कमजोर बैंकहरुको पनि त्यो दर १५/१८ प्रतिशतसम्म देखियो, अहिले आर्थिक वृद्धि ७ प्रतिशत माथि हुँदा बैंकिङ क्षेत्रको वृद्धि चाहि ७ प्रतिशतमा झर्नुलाई चाहि कसरी लिने ? यो ४ वर्षको नाफा तपाइँले जुन देख्नुभएको छ त्यो मर्जरहरुबाट संकलन भएको रिजर्भको कारणले देखिएको हो । एफपीओले पनि त्यसमा सहयोग गरेको छ । यसको अर्थ विगत ४ वर्षमा बैंकहरुको नाफा अस्वाभाविक थियो । यो आर्थिक वर्षपछि बैंकहरुमा मर्जरको ह्याङओभर सकिन्छ, अनि बैंकहरुको नाफा वृद्धि स्वाभाविक देखिँदै जान्छन्, तपाइँले छिट्टै त्यस्तो देख्न पाउनुहुन्छ । यहाँ हिमालयन बैंकलाई नै उदाहरण लिनुस् । हाम्रो बैंकको नाफा वृद्धिदर २० देखि २५ प्रतिशत छ । अरुको जस्तो हाम्रोमा कहिले ४० प्रतिशत, कहिले २० प्रतिशत हुनेगरी उचारचढाव भएको छैन किनकी हामी मर्जरमा गएका छैनौं । हाम्रो नाफा वृद्धिदर स्थिर रहेको छन् । बजारमा जतिपनि उतारचढाव आएका छन् पुँजी वृद्धिका क्रममा हुने उतारचढावकै कारणले आएका छन् जस्तो लाग्छ । नाफा हेर्दै गर्दा हामीले शेयर बजार र लगानीकर्तालाई पनि हेर्नुपर्छ, बैंकिङ क्षेत्रका लगानीकर्ताहरुको यो अवधिको प्रतिफल चाहि कस्तो रहला ? बैंकिङ क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले कम्तीमा पनि १२/१५ प्रतिशतको प्रतिफल पाउनुपर्छ । हामीले मुद्दती निक्षेपकर्ता वा डिबेञ्चरको ब्याजदर भन्दा केही न केही बढी त लगानीकर्तालाई दिनैपर्छ । तर पहिलेजस्तो ३०/४० प्रतिशत प्रतिफल चाहिँ नहुन सक्छ । गतवर्ष ४० प्रतिशत दिने कम्पनीले यो वर्ष १९ प्रतिशत मात्रै लाभांश दियो, यो अवस्था चिन्ताजनक होइन ? कहिलेकाहीँ कुनै ठूलो प्रोभिजनिङका कारण त्यस्तो समस्या आउँछ । हामी कहाँ पनि मेलम्ची खानेपानीको ६६ करोड ऋण प्रोभिजनिङ गर्नुपर्दा त्यस्तै समस्या आएको थियो । त्यो बेला हामीलाई राष्ट्र बैंकले ३ वर्षमा त्यसलाई समायोजन गर्ने छुट दिएको थियो । त्यही अवस्था राष्ट्र बैंकले तपाइँले भन्नुभएको बैंकको हकमा पनि हुन सक्छ । भोलि हाम्रो पैसा फिर्ता आयो भने त हामीले त्यो बेला उच्च लाभांशको अपेक्षा गर्न पनि सक्छौं नि । राष्ट्र बैंकले एकातिर लागत बढ्ने प्रावधान ल्याएको छ, अर्कोतिर स्प्रेडदर घटाएको छ, यसमा बैंकरहरुको असन्तुष्टि पनि छ, तपाईंलाई के लाग्छ, राष्ट्र बैंकले लिएको नीति पुनरावलोकन हुन सक्छ ? मलाई लाग्छ, राष्ट्र बैंकले वित्तीय संस्थाहरुको स्वास्थ्यको बारेमा विचार गर्ने हो भने त्यो पुनरावलोकन गर्नुपर्छ । अहिले स्प्रेड घटाउने लबिङ पनि बिजिनेस कम्युनिटीको लबिङबाट भएको हो, त्यसका लागि सरकारबाट पनि दबाब आयो । राष्ट्र बैंक त हाम्रो नियामक हो । बैंकहरुको वित्तीय स्वास्थ्य खराब हुँदै गयो भने नाफा घट्यो भने सरकारको कर आम्दानीमा समेत गिरावट आउँछ । हामीले भनेका छौं, यदि नयाँ स्प्रेडदर गणना विधि लागु भयो भने बैंकहरुको नाफा करिब २८ अर्बले घट्छ । त्यसबाट कर राजश्वमा पनि ८/९ अर्बको कमी आउँछ । अहिले ४.४ प्रतिशतमा झारेको स्प्रेडदर त ठीक छ तर त्यसको गणना विधि चाहिँ संशोधन गर्नुपर्छ भन्ने हाम्रो माग हो । हामीले राष्ट्र बैंकसमक्ष यो कुरा बारम्बार भनिरहेका छौं । बैंकास्योरेन्समा लगाइएको रोकले चाहिँ तपाइँहरुको व्यवसाय विस्तार र नाफामा कस्तो असर गरेको छ ? बैंकास्योरेन्सको आकार त्यति ठूलो थिएन । हिमालयन बैंकको कुरा गर्ने हो भने वर्षको २ करोड रुपैंयाको मात्रै त्यस्तो नाफा हुन्थ्यो तर यो बढ्दै गएको थियो । त्यो बढेर १०/१५ करोड पुगेको भए राम्रै हुन्थ्यो तर बैंकास्योरेसमा देखिएका केही बेथितिका कारण राष्ट्र बैंकले त्यसलाई रोकिदियो । तर फेरि पनि राष्ट्र बैंकले त्यस्तो बेथिति नदोहोरिने शर्तमा त्यसलाई खुला गर्न सक्छ राष्ट्र बैंकले अहिले चाहेको महत्वपूर्ण विषय भनेको कर्पोरेट गभर्नेन्स हो । त्यसमा सम्झौता नगर्ने गरी राष्ट्र बैंकले बैंकहरुलाई व्यवसायको दायरा विस्तार गर्न बाटो खुला नगर्ने भन्ने हुँदैन ।   मेलम्चीको ठेकेदारलाई तपाईंले ऋण दिनुभएको ६६ करोड एक दशक हुनै लाग्यो, डुबेको त्यो पैसा फिर्ता पाउने सम्भावना कति देख्नुहुन्छ ? चिनियाँ ठेकेदारसँग पैसा उठाउन हामीले मुद्दा लडिरहेका छौं । त्यहाँको तल्लो अदालतले गरेको फैसला अहिले माथिल्लो कोर्डले उल्ट्याएर हामीलाई जिताइदिएको छ । उसले ग्यारेन्टी र करारलाई छुट्टै हुनेगरी व्याख्या गरेर बैंकको रकम रोक्न पाउँदैन भन्ने फैसला गरेको छ र तल्लो कोर्टलाई पहिलेको फैसला सच्याउन भनेको छ । यसले गर्दा त्यो पैसा उठ्ने सम्भावना बढेको छ, अहिले हामीले त्यसमा काम गरिरहेका छौं । त्यसैले आउने आर्थिक वर्षभित्र त्यो पैसा आउँछ । हामीमात्रै होइन, त्यसमा कन्सोडियम गरेका सबै बैंकहरुको पैसा सँगै आउँछ । तपाईंहरुको म्याक्स मनिसँग पनि करिब ५० करोडको लेनदेन विवाद थियो, त्यो कहाँ पुग्यो ? त्यो विवाद टुङ्गिएको छ । हामी एक महिना अघि मलेसिया गएका थियौं । म्याक्स मनिले हामीलाई पैसा तिर्छु भनेर सम्झौता गर्यो । मलेसियन केन्द्रीय बैंकले म्याक्स मनिलाई कि एकमुष्ट पैसा हामीकहाँ डिपोजिट गर नत्र लाइसेन्स खारेज गर्छौ भनिदियो । म्यासले ३१ करोड रुपैंया पोजिट गरिसक्यो र अरु बाँकी पनि डिपोजिट गर्दैछ । मलाई लाग्छ यही डिसेम्बरको अन्त्यतिर पैसा आउँछ । यो पैसा हामीले प्रोभिजन गरिसकेको पैसा हो, यो आएपछि राइटब्याक हुन्छ, यसले हाम्रो नाफा बढाउन सहयोग गर्छ । तपाईंहरुको शेयर स्वामित्वमा परिवर्तन गर्ने हल्ला चलेको थियो, त्यो प्रक्रिया कहाँ पुग्यो ? यो प्रक्रिया चलिरहेको छ । बेलायतको सीडीसीले पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको शेयर किन्ने प्रतिवद्धता जनाएर गएको छ । यसको लागि ६ महिनाको समय मागेको थियो, पुस मसान्तमा त्यो समय सकिन्छ, त्यतिबेलासम्म केही नसक्छ । त्यसका लागि केही काम बाँकी छ । हामी त्यसमा लागेका छौं, राष्ट्र बैंक, अर्थ मन्त्रालयले पनि सहयोग गरिरहेका छन् । सीडीसीले २० प्रतिशत शेयरमात्रै नभएर हामीले २० मिलियन डलर ऋण पनि हामीले ल्याउने भनेका थियौं, त्योपनि सँगै आउँछ । सीडीसी आउने निश्चित नै भइसकेको हो कि त्यसमा अझ पनि केही दुविधा छ ? त्यो प्रक्रिया राष्ट्र बैंक, अर्थ  मन्त्रालय वा अरु कसबाट रोकिएको हो ? हबिबले सीडीसीलाई शेयर बेच्ने आशयपत्र दिइसकेको छ । तर अझै पनि हबिबले सीडीसीलाई शेयर बेच्न केही प्रक्रिया पूरा गर्न बाँकी छ । त्यही प्रक्रियाका कारण केही ढिलाई भएको हुन सक्छ । यहाँ राष्ट्र बैंक वा अर्थ मन्त्रालयबाट रोकिएर केही भएको होइन । सीडीसीलाई ल्याउने विषयमा हिमालयन बैंककै बोर्डमा विवाद छ भन्ने सुनिन्छ नि ?  त्यस्तो छैन, सञ्चालक समितिले सर्वसम्मतिमै निर्णय गरेर सीडीसीलाई ल्याउने भन्ने निर्णय भएर प्रक्रिया अघि बढिसकेको छ । सीडीसी आएपछि बैंकभित्र संस्थागत सुशासनमा थप सुधार ल्याउनुपर्छ, वातावरणीय र सामाजिक जोखिमका बारेमा पनि हामी तयारी गरिरहेका छौं । सीडीसी अहिले सहयोगी शेयरहोल्डरको रुपमा २० प्रतिशत शेयर लिएर आउन लागेको हो । उसले हिमालयन बैंकमा व्यवस्थापकीय सुधारमा सहयोग गर्छ । हबिबले नेपालबाट लगानी किन फिर्ता लैजान चाह्यो ? अहिलेको यो किनबेचको विषय कति पारदर्शी रुपमा अघि बढिरहेको छ ? हबिब पाकिस्तानको सबैभन्दा ठूलो र प्रभावशाली बैंक हो । पाकिस्तानमा यसमा ठूलो बिजिनेस छ साथै विदेशमा समेत यसको ठूला लगानी छ । तर नेपालमा पाकिस्तानी बिजिनेस कम्युनिटी खासै फस्टाउन नसकेका कारण उसले यहाँबाट लगानी फिर्ता लैजान चाहेको हुनसक्छ । जहाँसम्म प्रक्रियाको पारदर्शिताको कुरा छ, त्यो हाम्रो विषय होइन सीडीसी र हबिब बैंककै विषय हो । सीडीसीलाई शेयर बेच्ने आशय दिनुअघि हबिबले बोर्डमा रहेका अरु कसैलाई शेयर किन्ने इच्छा छ भनेर सोधेको थियो, बोर्डले तपाइँले चाहनुभएको पक्षलाई बेच्नुस् भनेपछि उ अघि बढेको हो । दुई विदेशी कम्पनीको शेयर किनबेचमा एनसेलको जस्तै लाभकर विवाद उठ्ने सम्भावना चाहिँ देखिन्छ कि देखिँदैन ? त्यस्तो सम्भावना छैन, किनकी पुँजीगत लाभकरको दायित्व बिक्री गर्ने कम्पनीको हो । हबिबले जति पुँजीगत लाभ गर्छ, त्यति नै पुँजीगत लाभकर तिर्छ । त्यो नतिरिकन राष्ट्र बैंकले शेयर बेच्ने स्वीकृति पनि दिँदैन । हिमालयन बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ? हाम्रो वित्तीय अवस्था राम्रो छ । हामीले वर्षैपिच्छे राम्रो ग्रोथ गर्दै आएका छौं । हामीले १० वर्षमा औसत २५ प्रतिशतले लाभांश दिएका छौं । हामीमा त्यति ठूलो उतारचढाव छैन, हामी स्थिर रुपमा प्रगति गर्ने बैंक हौं । बोर्डले पनि हामीलाई नम्बर बान नै बन्नुपर्ने दवाव दिँदैन बरु कम्प्लाइन्स, एनपीएल जस्ता सूचकहरुको लक्ष्य निर्धारण गरिदिएको हुन्छ । हाम्रो आम्दानी संरचना हेर्नुभयो भने ७० प्रतिशत मात्रै ब्याज आम्दानीबाट छ । हामी अरु बैंकहरुजस्तो ब्याज आम्दानीबाट मात्रै पनि बाँचेका छैनौं । रेमिट्यान्स, कार्ड जस्ता क्षेत्रबाट पनि हामीले प्रशस्त आम्दानी गरेका छौं । अहिले यो बैंकको रेमिट्यान्स कारोबार कस्तो छ ? अहिले अलि गाह्रो छ, प्रतिस्पर्धा बढेको छ, मार्जिन कम भएको छ । म्याक्स मनिको केसपछि राष्ट्र बैंक अलिक सचेत भएको छ, त्यसले गर्दा प्रिफण्डिङ बढाइदिएको छ । तर केहीले भने राष्ट्र बैंकको यो निर्देशन टेरेका छैनन् । जसले त्यसलाई मानेका छन् उनीहरुको रेमिट्यान्स ग्रोथ त्यति भएको छैन । राष्ट्र बैंकले अरु बैंकहरुलाई पनि यस्तो कम्प्लाइन्समा कडाइ गर्यो भने हामीलाई सजिलो हुँदै जान्छ । तपाईंहरुको आगाी योजनाहरु चाहिँ के के छन् ? हामीसँग विगतमा शाखा सञ्जालहरु एकदमै कम थिए । स्ट्यान्डर्ड चार्टर्डपछि सबैभन्दा कम शाखा सञ्जाल भएको बैंकमा हामी पथ्र्यौं । अहिले हामीले शाखा विस्तार गरेर ६७ ओटा पुर्याइसक्यौं, यो नेटवर्क अझै बढाउँदै जाने योजना छ एउटा । अर्को हाम्रो दायित्वसम्बन्धी विषयहरुलाई अलग रुपमा परिचालन गर्न छुट्टै विभाग बनाएर काम गरेका छौं । शाखा विस्तारको योजनाको कुरा गर्नुभयो, सबै बैंकले धेरै शाखा सञ्जाल खोलेरै अघि बढ्नुपर्छ भन्ने केही छ र ? त्यस्तो त छैन, तर यहाँ प्रतिस्पर्धाकै लागि शाखा खोल्नुपर्ने अवस्था आयो । अर्को हामी डिजिटल प्रविधिमा जाँदा शाखा कम भए पनि हुन्छ तर बैंकहरुको उपस्थिति भौतिक रुपमा पनि कहिँ न कहिँ हुनै पर्छ । बैंकमै गएर कारोबार गर्ने नेपालीहरुको संस्कृति पनि छ । हामीले १३ हजार रेमिट्यान्स नेटवर्कलाई प्रविधिमार्फत् कसरी बैंकसँग जोड्ने भन्ने पनि सोचिरहेका छौं । यी दुई विषयहरु मिलाएर अघि बढ्ने हाम्रो योजना छ । हिमालयन बैंकमा साधारणसभा आउँदै गर्दा बोर्डका को आउने, को नआउने भन्ने घर्षण हुने गरेको छ, यसपालि के हुँदैछ ? त्यस्तो छैन, हाम्रोमा बोर्डमा आउन कहिलै चुनाव भएन । यसपालि मात्रै हो हामी प्रबन्धपत्र, नियमावली संशोधन भएर निर्वाचनमा जान लागेको । राष्ट्र बैंकले चुनाव नै हुनुपर्छ भनेपछि हामी चुनावमा जानै पर्यो । त्यसमाथि हामीकहाँ ८ ओटा विजिनेस ग्रुप छ, ७ ओटा मात्रै सिट छ, त्यसैले पनि हामी निर्वाचनमा जान लागेका हौं । तपाईंहरुले मर्जर र एक्विजिनसमा जानै चाहनुभएन किन ? मर्जर वा एक्विजिसन गर्न हामीलाई विदेशी शेयरहोल्डरको सहमति चाहिन्छ । हामीकहाँ हबिबको लगानी छ, त्यसलाई सीडीसीले किन्न चाहिरहेको छ । यो प्रक्रिया नटुङ्गिएसम्म हामीलाई मर्जर, एक्विजिसनमा जान समस्या छ । सीडीसी पनि हिमालयन बैंकलाई हेरेर आएको हो, मर्ज हुने वा गर्ने नीति लिएर आएको होइन । मर्ज गरेर पनि पछि विभिन्न समस्या आउन सक्छन्, त्यस्तोमा हामीले कि केही अवसर देख्नुपर्यो नत्र मर्जर किन गर्ने ? मर्जरले कमजोर बनाउँछ, बिगार्छ भन्ने मात्रै छ र ? बैंकलाई सशक्त बनाउन चाहिँ सहयोग गर्दैन ? संस्थागत सुशासन राम्रो भएका, पारदर्शी र अनावश्यक राजनीतिकरण नहुने बैंकहरु लिन सक्यौं भने राम्रो हुन्छ तर सुशासनमा कमजोर र राजनीति हुने संस्थाहरु लियौं भने बिगार्छ । त्यसलाई छानेर हामी जान सक्नुपर्छ । मुख्य कुरा चाहिँ हिमालयन बैंकको जुन ब्राण्ड इमेज छ, मर्ज गरेर त्यसलाई डाइल्युट गर्न चाहिँ हामीले नचाहेको हो । अहिलेको अवस्थामा तपाईंको नजरमा सुशासन भएको पारदर्शी बैंक चाहिँ कुन हो, जोसँग तपाईं मर्जरको सम्भावना देख्नुहुन्छ ? बजारमा राम्रो सुशासन भएका बैंकहरु धेरै छन् । तपाइँले हेर्नुभयो भने नबिल बैंक, इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकहरु संस्थागत सुशासनका हिसाबले राम्रा बैंक हुन् । मलाई लाग्छ, हाम्रो नयाँ वित्तीय साझेदार भित्रिने प्रक्रिया पूरा भएपछि मात्रै मर्जर र एक्विजिसनका सम्बन्धमा कस्तो नीति लिने भन्ने निश्चित हुन्छ । अहिले नेपाल राष्ट्र बैंकले सीईओ र सञ्चालकहरुको उमेरदेखि योग्यता तोक्ने काम समेत गरेको छ, कुन क्षेत्रमा शुल्क लिन पाउने कुनमा नपाउनेदेखि कुन क्षेत्रमा कति लगानी गर्नुपर्ने भनेर समेत तोकिदिएको छ, त्यसबारे तपाईंको धारणा के हो ? सिद्धान्ततः हामी त्यसलाई मान्दैनौं । तर नेपालको सन्दर्भमा हेर्दा त्यस्तो लगानीले पनि बैंकहरुको नाफामा असर गरेको छैन, निष्क्रिय कर्जाहरु पनि कम नै भएको देखिन्छ । भनेपछि यो पनि म्यानेजेवल हुँदो रहेछ । तर जसरी अहिले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्दा जरिवाना तिर्नु परिरहेको छ, त्यसअनुसार कर्जा प्रवाह गर्दा हौसला पनि दिनुपर्छ जस्तो मलाई लाग्छ । तपाईंले नियन्त्रणमुखी व्यवस्थाहरु हामीलाई स्वीकार्य छैन भन्न खोज्नुभएको हो ? हाम्रो फिलोसोपी त्यही हो । कालान्तरमा हामीलाई त्यस्तो अनिवार्य कर्जाको व्यवस्था पनि गर्नुहुन्न । ब्याजदरमा सीमा पनि तोक्नुहुन्न । यी सबै बजारले निर्धारण गर्न पाउनुपर्छ भन्ने हो । तपाईंहरु खुला बजार प्रतिस्पर्धा भन्नुहुन्छ तर तपाईंहरु आफैं ब्याजदर तोकिरहनुभएको छ ? होइन, यो हामीले मात्रै गरेको होइन । अर्थ मन्त्रालय र राष्ट्र बैंकको पनि यसमा सहमति छ । उनीहरुको सहमति थिएन भने बैंकहरुले चाहेर मात्रै त्यस्तो सहमति कायम हुन सक्ने थिएन । जहाँसम्म खुला प्रतिस्पर्धाको कुरा छ, २००८ को विश्वव्यापी वित्तीय संकट खुला प्रतिस्पर्धा मात्रै भनेर भएको हो । हाम्रोमा पनि राष्ट्र बैंकले नियमन नगरेको भए अहिलेसम्म बैं तथा वित्तीय संस्थाहरु यसरी चल्ने अवस्था नहुन पनि सक्थ्यो । त्यसैले सबै कुरामा खुल्ला प्रतिस्पर्धा नै हुनुपर्छ भन्ने केही छैन । नेपालमा खुला प्रतिस्पर्धा गर्नको लागि कानूनी र संरचनागत आधार पनि तयार भइसकेको छैन । त्यसका लागि हाम्रो क्षमता पनि छैन । त्यसैले अहिलेको वित्तीय प्रणालीमा नियामकको आवश्यकता छ, अझ बैंकिङ क्षेत्र तपाइँले भन्नुभएको जस्तो स्वतन्त्र हुन सक्दैन । तर के सीईओ र सञ्चालकको उमेरहद तोकिदिनुपर्ने आवश्यकता परेको हो त नेपाली बैंकिङ क्षेत्रलाई ? होइन, केही बैंक तथा वित्तीय संस्थामा सीईओलाई कार्यकारी बन्न नदिएर रबरस्ट् याम्प जस्तो मात्रै गर्ने । कतै सीईओ हाबी भएर बोर्ड रवरस्ट्याम्प बन्ने जस्ता १/२ ओटा घटनाका कारण राष्ट्र बैंकले यस्तो गर्नुपरेको हो । हामी थप परिपक्क हुँदैजाँदा त्यो हट्दै जान्छ, जानुपर्छ । तपाईंले हिमालयन बैंकको नेतृत्व गर्नुभएको पनि ११ वर्ष भयो, अब कति समय रहनुहुन्छ ? मेरो यो कार्यकाल आगामी अप्रिलदेखि सकिँदैछ । सीडीसी आएपछि पनि व्यवस्थापन परिवर्तन नगर्ने बोर्ड मात्रै गर्ने भनेको छ । बाफिया लागू भएपछि २ कार्यकालसम्म काम गर्न पाउने व्यवस्था पनि ऐनले गरेको छ । यसो हुँदा अर्को एक कार्यकाल हिमालयन बैंकको यही पदमा बस्न पाउने अवस्था छ । तर यसबारे बोर्डले निर्णय गर्ने हो । हाम्रो लगानी पनि यही बैंकमा भएका कारण व्यवस्थापनबाट छाडेपछि पनि बोर्डमा बस्ने सम्भावना चाहिँ हुन्छ ।

यसअघि कसैले नगरेकाे काम हामीले गरेका छाैं, कम्तिमा ५० वटा गाेल्डमेडल जित्छाैं- रमेश सिलवाल

रमेश सिलवाल- सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् समग्रमा १३औं साग कस्तो हुदैछ ? पहिला भन्दा अहिलेको साग फरक छ र यो साग भव्य हुदैछ । १३ औं साग भनेको अहिलेसम्ममा ईतिहासकै सबैभन्दा बढि खेल भएको प्रतियोगिता हो । हामीले पहिलो पटक १९९९ मा खेल गराउँदा १२ वटा गेम मात्र थियो । यसपाली सबै गरेर २७ वटा गेम थियो । प्याराग्लाईडिङ हुने नभएर २६ वटा भएको थियो । पछि फेरी हामीले भलिबल र बास्केटबल थपेर २८ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । हामीले २८ वटा खेलमा २५ वटाको स्थान तयार गरिसकेका छौं । हाम्रो हिटिङ स्विमिङपुल, दशरथ रंगशालाको भीआइपी प्याराफिट र पोखराको रंगाशाला ३ वटा खेलको स्थान निर्माणको अन्तिम तयारीमा छौं । खेल मैदान अझै तयार भईसकेको छैन नि ? पूर्वाधार बनेन भनेर कुनै पनि खेल रोकिने अवस्था आउने छैन । ११ गते रातीसम्म सबै काम सम्पन्न गरिसक्ने छौं । १२ गते १ बजे सम्पूर्ण तयारी पूरा गरेर सबै तयारी पूरा भएको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारीमा छौं । पूर्वाधार बाहेकको तयारी कस्तो छ ? पूर्वाधार बाहेक हामीले अन्य सबै तयारी गरिसकेका छौं । जस्तै, हामीले काठमाडौंमा १२५ वटा होटल, पोखरामा ३५, जनकपुरमा १५ वटा होटल बुक गरिसकेका छौं । पत्रकारहरु बाहेक ५४०० व्यक्तिको लागि हामीले सिंगल र डबल गरेर ३२०० बेड बुक गरेका छौं । कति खेलाडी सहभागी हुँदैछन् ? खेलाडी र प्रशिक्षक र पदाधिकारीहरु गरेर ५४०० जना सहभागी हुदैछन् । नेपाली खेलाडीहरुको तर्फबाट कस्तो तयारी भइरहेको छ ? खेलाडीहरुको तर्फबाट तयारी एकदम राम्रो भईरहेको छ । मैले उनीहरुलाई नजिकबाट हेरेको छु । म आउनुभन्दा अगाडी असार मसान्तसम्म १३ वटा खेलको बन्द प्रशिक्षण रहेको थियो । म आएपछि हामीले साउनदेखि बाँकी खेलको बन्द प्रशिक्षण गरायौं । हामीले कम्तिमा पनि हरेक खेलको ४ देखि ५ महिनाको बन्द प्रशिक्षण पहिलो, दोस्रो र तेस्रो ३ चरणमा विभाजन गरि गराएका छौं । यस्तै, बाँकी खेलका खेलाडीलाई विदेशमा लगेर प्रशिक्षण गरायौं । त्यसको मुख्य उदेश्य भनेको एउटा राम्रो प्रशिक्षकबाट प्रशिक्षण गराउनको साथै, एक्सपोजर म्याच, प्रयाक्टिस म्याच तथा एक्र्टनर कम्पिटिशन गराउनु थियो । अहिले हामीले दिएको प्रशिक्षणको नतिजा पनि देखिन थालेको छ । जस्तै, हामीले भलिबल प्रतियोगितामा स्वर्ण पदक, फुटबलमा रजत पदक जितेका छौं । भुटानमा भएको गल्फमा रेकर्ड बे्रक गर्दै स्वर्ण पदक जित्यौं । अहिलेसम्म नजितेको कराँते प्रतियोगितामा चीन खेलेर १ रजत र ३ कास्य ल्याउन सफल भयौं । त्यसैगरि बाङलादेशमा भएको तेकोन्दोमा ८ स्वर्ण, ३ रजत र ३ कास्य पदक ल्याउन सफल भयौं । यी सबैले प्रशिक्षण प्रभावशाली भएको देखिन्छ । सागका नतिजामा नेपालको स्थान के होला ? सागको नतिजा राम्रो आउँछ । हामीले दोस्रो हुने तरिकाले तयारी गरेका छौं। न्युनतम ५० वटा स्वर्ण पदकको हामीले अपेक्षा गरेका छौं । तपाईको भनाईहरु जोशिलो छ र सुन्दा आनन्द पनि लाग्छ । तर नतिजा चाहि निराशाजकन आउने हो कि ? अहिले तपाईहरुलाई मैले हचुवाको भरमा र झुटो बोलेको जस्तो लाग्ला । मैले भरोसा गर्न भनेको प्रशिक्षक र खेलाडी र संघहरुसँग हो । उहाँहरुसँग लिएको रिर्पाट अनुसार हामी ५० भन्दा बढी स्वर्ण जित्छौं । अझै प्याराग्लाईडिङ खेल हुने भएमो भए ५ वटौ स्वर्ण हाम्रो हुन्थ्याे । तर त्यसमा अन्य देशले सहभागि गरेनन्। जम्मा ३४९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुन्छ । त्यसमा ५० हाम्रो पक्का हो । अफगानस्थान किन सहभागी नभएको हो ? १२ औं सागमा अफगानस्थानको सहभागी थियो तर त्यसपछि उ अर्को जोनमा गयो । हामीले यहाँ गेम गराउने कुरा थाहा पाएपछि उनीहरुले सहभागी जनाए । तर हाम्रो सेड्युल बनिसकेकोले हामीले १० खेलमा मात्र खेल्न दिन सक्ने बतायौं तर उनीहरु यसमा सहभागी हुन चाहेनन् । यो सागभित्रको अर्थतन्त्र कस्तो छ ? कति बजेटमा काम भईराखेको छ ? झट्ट हेर्दा यो खर्च जस्तो देखिन्छ किनभने हामीले पूर्वाधार बनाउन र खेल खेलाउनको निम्ति करिब ५ अर्ब बजेट विनियोजित छ । तर यो खर्चभन्दा पनि लगानी भन्ने सोच्नुपर्छ । कसरी भन्दा अहिले हामी भिजिट नेपाल २०२० को संघारमा छौं । हामीले यस पटक विदेशी च्यानलहरु ल्याएर हाम्रो खेलहरुको प्रत्यक्ष प्रसारण गर्दै छौं जुन २ अर्ब भन्दा बढि मानिसको घरघरमा पुग्छ । यसले नेपालको ब्रान्डिङमा ठूलो मद्दत पुर्याउँछ । दोस्रो यसको समचार सम्प्रेशणको लागि विदेश र स्वदेश गरेर ७ सय पत्रकार बोलाएका छौं । जसमा २ सय देखि ३ सय पत्रकार विदेशदेखि आउँछन् । यो हाम्रो निम्ति ठूलो अवसर हो । दोस्रो खेलाडी र प्रशिक्षकको परिवार र साथीभाई यहाँ खेल हेर्न आउँछन् । यस्तै खेलाडीहरु खेलमात्र खैल्न आउँदैनन् । उनीहरुले यहाँका होटल, रेष्टुरेन्ट, मलमा खर्च गर्छन् जुन सबै नेपाली अर्थतन्त्रमा जोडिन जान्छ । खेल आयोजना गर्दा कति आम्दानी हुँदैछ र आम्दानी कुन ठाउँमा खर्च हुँदैछ ? सागको ईतिहासमै पहिलोपटक हामीले यस्तो गर्न लागेका छौं कि प्रसारणको अधिकार अरुलाई दिएर हामीले ८ करोड रुपैंया आर्जन गर्दैछौं । प्रसारणको अधिकार भारतीय नक्षेत्र च्यानलले लिदैछ । त्यस्तै भैन्यु ब्रान्डिङ पनि हामी गर्दैछौं । यि दुवैबाट हामीलाई न्युनतम २५ देखि ५० करोड बराबरको आर्जन हुँदैछ । अर्को हामीले टिकटबाट पनि आर्जन गर्दैछौं । हाम्रो रंगशालाको क्षमता १७ हजार हो । नेपालको खेल भएको दिन दर्शक धेरै हुनेछन् भने अन्य दिन थोरै हुनेछन् । ९ दिन हुने खेलमा न्यूनतम १० हजार दर्शक लिए पनि ५ सयको दरले करिब ५ करोडको हाराहारीमा आम्दानी हुन्छ । यसरी विभिन्न शिर्षकमा उठेको रकमले एउटा जिम हल बनाउने छौं र खेलाडी, प्रशिक्षक सबैको निम्ति रहेका स्र्पोट हस्पिटललाई अझै ठूलो बनाउने सोचेका छौं । खेलाडीहरुले पाउने सुविधाहरु के कस्ता रहेका छ ? पहिला खेलाडीको भत्ता प्रतिदिन १४ सय हुन्थ्यो भने अहिले म आएपछि बढाएर देनिक भत्ता २ हजार, २२ सय, २५ सय र २७ सयसम्म बनाएका छौं । उनीहरुले यस्तो भत्ता खेलको लागि छनोट भएको दिनदेखि खेल सिद्धिएको अन्तिम दिन र त्यसको भोलीपल्टसम्म पाउँछन् । उनीहरुलाई राम्रो प्रशिक्षण दिनको साथै हरेक हप्ता स्वास्थ्य अवस्था जाँचमा लगिरहेका छौं । यस्तै उनीहरुलाई पहिलाका पदक विजेताहरुको तर्फबाट प्रेरणा मिल्ने कार्यक्रम संचाल्न गरेका छौं । यस्ता रिफेश्मेन्टको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका छौं । हामीलाई आशा छ यि सबै कुराहरुले खेलाडीहरुलाई राम्रै प्रभाव परेको छ । सागप्रति संचार क्षेत्रबाट केही गुनासा पनि आएका छन् । जस्तो नेपालीहरुलाई प्रशारणको अधिकार नदिएको गुनासो छ । यसमा भएको के हो ? गुनासो खेलाडी, प्रशिक्षक र संघ कतैबाट आएको छैन । आएको छ त केवल केही पत्रकारहरुबाट जो पत्रकारको दर्जाका लायक छैनन् । प्रशारणको अधिकारको कुरा गर्नुपर्दा कुन नेपाली च्यानलसँग क्षमता छ जसले यी सबै गेमको लाइभ गर्न सक्छन् ? सक्ने व्यक्ति वा संस्था मसँग कुरा गर्न आउन् । साँघुरो मानसिकता बोकेर हुँदैन । अहिले चाँही विश्वमा ओलम्पिकको, एसियन गेमको प्रशारण अधिकार बेचिएको हुन्छ । किनभने त्यो बढी भन्दा बढी मानिसहरुमा पुगोस् भनेर । खेल आयोजना गर्ने भनेको डुब्नको लागि होइन । यो भनेको राष्ट्रको आर्थिक अवस्था बढाउनको लागि गरिन्छ । यो कुराहरु सबैले बुझ्नुपर्छ । हामी नेपालको घेरा भित्र मात्र रहन सक्दैनौ । सात वटा राष्ट्रमा मात्र नभएर जापान, हङकङ, कोरिया, सिङापुर, थाईल्याण्ड जस्ता देशहरुमा पनि हामी लाईभ ब्रोडकास्ट गर्दैछौ । यति राम्रो काम गर्दा कसरी भयो कमजोरी । हामीले जे काम गरेका छौं, यसभन्दा अगाडि कसले हिम्मत गरेको थियो ? प्रशारण अधिकार लिने च्यानलले के के अधिकार लिएकाे छ ? प्रशारण अधिकार लिने च्यानलले सम्पूर्ण ठाउँमा टिभीमा प्रशारण गर्ने अधिकार लियो । उसले त्यसको विज्ञापनको अधिकार पनि लिन्छ । नेपालमा यात्रो ठूलो खेल हुँदा हामीले एउटा फुटेज पनि खिच्न नपाउने भयो भनेर फोटो पत्रकारहरु निराश भएका छन् नि  ? सबैले एउटा कुरा बुझन जरुरी छ कि कसैले प्रशारण अधिकार किन्छ भने सबै उसको हातमा जान्छ । संसारभरमा नियम यही नै हो । यदी तपाई मोबाईल फोन किन्नुहुन्छ भने के त्यसमा मेरो ह्क लाग्छ त ? त्यस्तै यसमा हामीले केही गर्न सक्दैनौं । तर पत्रकारहरुलाई समाचार संकलनमा समस्या भने आउँदैन । यस्तै फोटो पत्रकारहरुलाई पनि फोटो खिच्ने व्यवस्था हामी मिलाउँदै छौं तर हामी यसको लागि पनि केही नियम बनाउँने छौं । उनीहरुले फोटोको नाममा भिडियो खिच्न पाउँदैनन् । यदी यस्को गरेको पाईएमा उनीहरुको कार्ड रद्द गरिनेछ । हाम्रो अफिसियल क्यामराहरुले पनि खिच्नेछ तर यहाँ अन्यलाई भिडियो गर्न दिईनेछैन । नेपाली मिडियाहरुको सबैकुरा खिच्न पाउनुपर्छ भन्ने आएका छन् । के अब नेपाली मिडियाले भनेको सबै कुरामा हामी ल्याप्चे लगाउनु पर्ने ? विदेशी च्यानलले हामीलाई करोडौं दिन्छु भन्दै आएका छन् । नेपाली मिडिया उल्टै हामीले कति दिने भन्ने कुरा गर्छन् । उनीहरुलाई फोटो खिचेको, भिडियो खिचेको पैसा दिनुपर्ने रे । उहाँहरुले समाचार प्रयोजनको लागि पाउने एउटा पाटो हो तर अब भिडियो खिच्नै पाउनु पर्छ भन्नुहुन्छ भने आउनुहोस् पैसा तिरेर प्रशारणको अधिकार लैजानुहोस् । यद्यपी यहाँ विज्ञापनको सबै रकम नक्षत्र च्यानलले लैजान पाउँदैनन् । यसमा हाम्रो ५०/५० प्रतिशत रहनेछ । अनि हामीले कहाँ गल्ती गर्यौं ? प्रतियोगिताको क्रममा हुने जोखिम व्यवस्थापन गर्ने तयारी कस्तो छ ? हामीले जोखिम व्यवस्थापनको लागि दमकलको व्यवस्था गरेका छौं । हामीसँग एमबुलेन्स सेवाको व्यवस्था छ । अस्पतालहरुमा आईसियु र सिसियुमा बेडहरु छुट्टाए राखेका छौं । यस्तै ३५० डाक्टर र नर्सहरु प्रत्यक्ष रुपमा परिचालन गर्दैछौं । यस्तै नेपाली खेलाडी, प्रशिक्षक, संघका कर्माचारीको लागि असोज, कात्तिक र मंसिरको लागि स्वास्थ्य बीमा गरीसकेका छौं । विदेश खेलाडीहरुको हकमा भने हाम्रो गर्ने नियम थिएन तर पनि हामीले विदेशी खेलाडीहरुको पनि ५ लाख बराबरको बीमा गरिदिएका छौं । सागको समग्र व्यवस्थापनमा कति कर्माचारी संलग्न हुन्छन् ? हाल व्यवस्थापनाको तर्फबाट हेर्नु भयो भने काठमाडौं, पोखरा र जनकपुर गरी ३ हजार मान्छे रहेका छन् । जसमा १२ सय कर्माचारी छन् । ५ सय जति स्वयंम्सेवक हुन्छन् । विभिन्न २७ वटा संघसंस्थामा बसेर काम गरिरहेका साथीभाईहरुको क्रियाशिलता रहेको छ । यदी २७ वटै संघको साथीभाई जोड्ने हो भने ५ हजार बढी पुग्छ । २२ हजार सुरक्षाकर्मीहरु खट्दैछन् । ओपनिङ र क्लोजिङ सेरोमोनीको दिन व्यवस्थापन कार्यमा करिव १५ हजार मानिस खट्दैछन्। सार्क आँफैमा सक्रिय हुन सकेको छैन । यसबीचमा साग गेमले कस्तो सन्देश दिन खोजेको छ ? एक दमै राम्रो प्रश्न सोध्नुभयो । राजनीतिले विभाजन ल्याउँछ र खेलकुदले एकता ल्याउँछ । भारत र पाकिस्तानबीच राजनीतिक तनाव भएकोले सागमा यी देशका खेलाडीले भाग लिदैनन् भनेर पनि मिडियाले लेखे । दुबै देशले सागमा भाग लिएका छन् । यस खेलको क्रममा भारत र पाकिस्तान बीचको मिलाप हुँदैछ । दुई राष्ट्रका खेलाडीहरु हात मिलाउँछन् र कतिले खेलपछि अंगालो पनि हाल्छन् जसले अन्तरराष्ट्रिय स्तरमा निकै नै राम्रो सन्देश दिन जान्छ । नेपालले पनि यस्तो अन्तरास्ट्रिय स्तरको कार्यक्रम संचालन गर्न सक्षम छ भनेर विश्वमा चिनाउँछ ।