समय अगावै जन्मिने बच्चामा देखिने समस्या र अभिभावकले दिनुपर्ने चासो
काठमाडौं । बच्चा आमाको गर्भमा ३८ देखि ४० हप्तासम्म रहन्छ । त्यसपछि उसले जन्म लिन्छ । सुन्दर संसारमा उज्यालो भविष्यको लागि जन्मेका कतिपय बच्चाहरूले उज्यालो देख्न पाउँदैनन् । जसका कारण आमाको पेटबाट बाहिर निस्कँदै जिन्दगीभर अन्धकारमा जीवन बिताउनुपर्ने बाध्यता हुन्छ । यो समस्या विभिन्न कारणले हुन सक्छन् । तर आजभोलि समय नपुगेर जन्मेको प्रिम्याच्योर बालबालिका बढ्दै गएको छ । हामी कहाँ ४० हप्ता गर्भमा रहेका र जन्मदा बच्चाको लगभग वजन २.५ किलोग्राम भयो भने स्वस्थ मानिन्छ । कतिपय बच्चाहरूको तौल यो भन्दा बढी हुन्छ । तर, केही बच्चाहरू ३४ देखि ३५ हप्ता अगाडि जन्मने अर्थात समय अगावै जन्मने गरेका छन् । यस्ता बच्चाको तौल पनि २.५ किलोग्राम हुँदैन । यस्ता बच्चाहरू प्रायः स्वस्थ्य हुँदैनन् । उनीहरूलाई तुरुन्तै सघन कक्षमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ । कतिपय बच्चालाई भेन्टिलेटरमा हप्ता दिनभन्दा पनि बढी राख्नुपर्ने हुन्छ । यसरी जन्मने बच्चाको संख्या आजभोलि नेपालमा पनि बढ्दै गएको छ । एनआईसियूबाट डिस्चार्ज गरिसकेका बच्चाहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू भइरहेका छन् । यसमध्ये एक समस्या हो । नवजात शिशुमा हुने आँखाको पर्दा सम्बन्धी समस्या । रेटिनोप्याथी अफ प्रिम्याच्युरेटी (आरोपी) नेपालमा १० जना नर्मल बच्चा जन्मदा एक जना समय अगाबै जन्मिएको पाइन्छ । समय अगाबै जन्मेका सय जना बच्चामध्ये २० देखि ३० बच्चाहरूमा आँखामा समस्या देखिन्छ भने उपचार गरिहाल्नुपर्ने अवस्थामा ७ देखि ३० प्रतिशत बच्चाहरू हुन्छन् । जुन बच्चाको समयमै उपचार गरिएन भने उनीहरूको जीवन अन्धकार हुन्छ अर्थात् उहाँहरूको आँखाको ज्योती गुम्छ । समय अगावै जन्मिएका बच्चाहरूमा आँखाको रेटिनामा रक्तनलीमा असमान्य वृद्धि हुन्छ । यसले नवजात शिशुको दृष्टिमा गम्भीर असर पार्छ । कहिलेकाहीँ यसले अन्धोपनको समस्या निम्त्याउन सक्ने हुन्छ । स्वास्थ्यकर्मीको भूमिका बढी समय अगावै बच्चा नजन्मन रोक्न सकिँदैन । तर, जन्मिसकेका बच्चाहरूका अभिभावकलाई सम्झाउने काम भनेको स्वास्थ्यकर्मीहरूको हो । बच्चा पेटमै हुँदा गर्भवती आमाको सबैभन्दा नजिक रहेर काम गर्ने भनेको स्वास्थ्यकर्मी हो । उहाँहरूलाई स्वास्थ्यका विषयमा धेरै जानकारी हुन्छ । यदि कुनै पनि आमाले समय नपुगेर अर्थात् ४० हप्ता नपुगेर ५/६ हप्ता अगाडि नै बच्चा जन्माएको छ भने यस्ता कुराहरूमा जानकारी गराउनुपर्छ । यस्ता बच्चाहरू जन्मेको २८ दिनभित्र अनिवार्य आँखा जाँच गर्नुपर्ने हुन्छ । आजभोलि धेरै ठाउँबाट यस्ता बच्चाहरूलाई रिफर गरेर तिलगंगा अस्पताल पठाउनेक्रम बढेको छ । तर पनि हुनुपर्ने रोकथाम बच्चाहरूलाई अन्धोपनाबाट बचाउने उपाय अझै पुगेको छैन । किन समय अगावै जन्मन्छन् बच्चा ? समय अगावै अर्थात् प्रिम्याच्योर जन्म किन हुन्छ भन्नुका पछाडि विभिन्न कारणहरू छन् । आमामा कुनै स्वास्थ्य सम्बन्धी संक्रमण छ भने पनि यस्तो अवस्थामा बच्चा समय अगावै जन्मने सम्भावना हुन्छ । गर्भाशय वा गर्भमुख कमजोर हुँदा पनि बच्चा समय अगावै जन्मने सम्भावना हुन्छ । यस्तै पेटमा दुई वा दुईभन्दा बढी छन् भने पनि बच्चा समय अगावै जन्मनसक्ने सम्भावना बढी हुन्छ । आजभोलि नेपालमात्र होइन विश्वमा आर्टिफिसिएल फर्टिलाईजेसनको क्रम बढेको छ । नेपालमा पनि यसरी बच्चा जन्माउने आमाको संख्या धेरै छ । एउटा महिलालाई आमा बन्ने रहर हुनु स्वाभाविक हो । यसरी बच्चा जन्माउन खोज्दा एक जना मात्र होइन तीन÷चार जना बच्चा बस्ने सम्भावना बढी हुन्छ । एउटा पाठेघरमा तीन चार बच्चा हुँदा पछिटो जन्मने हुन्छ । एक भन्दा बढी बच्चा जन्मदा छिटो जन्मने र छिटो जन्मेका बच्चामा यो समस्या धेरै हुन्छ । २८ दिनभित्र जाँच गरिसक्नुपर्ने समय नपुगेर अगावै जन्मिसकेका बच्चालाई आँखामात्र होइन अन्य रोगको संक्रण हुने सम्भावना पनि निकै बढी हुन्छ । रेटिनोप्याथी अफ प्रिम्याच्युरेटी हुने सम्भावना उत्तिकै हुन्छ । यसबाट बचाउन २८ दिनभित्र अनिवार्य आँखाको पर्दा जाँच गराउनुपर्छ । तर, पछिल्लो समय १८ दिनको बच्चामा पनि यस्तो समस्या भएको भेटेका छौं । अहिले अर्को समस्या समय अगावै जन्मने बच्चामामात्र होइन, समयपछि समय पुग्दै वा एक÷दुई हप्तामात्र अगाडि जन्मेर एनआईसियूमा धेरै राखेका बालबालिकामा पनि यो समस्या भएको भेटिएको छ । एनआइसियुमा लामो समयदेखि राखेको, रगत नै चढाउन परेको र कुनै संक्रमण भएर अशक्त छ एन्टिबाइटिक दिएको छ, मुटु, छातीमा समस्या भएको छ भने त्यस्तो बच्चाहरूमा पनि यो समस्या देखिने गरेको छ । अभिभावकमा चेतनाको कमी नवजात शिशुहरूमा स्वास्थ्य समस्या देखिनेगरे पनि अभिभावक भने सचेत छैनन् । कतिपय अभिभावक बच्चा समय अगावै जन्मियो अव के गर्ने भनेर युट्यवमा गएर हेरेर बल्ल अस्पताल पुग्छन् भने कतिपयलाई स्वास्थ्यकर्मीले सल्लाह दिने गर्छन् । अस्पताल आउने धेरैजस्तो अभिभावक स्वास्थ्यकर्मीकै सल्लाहले उपचारको लागि आउने गरेको पाइन्छ । यो विषयमा अभिभावकलाई त्यति जानकारी भएको पाइँदैन । थाहा भएका कतिपय अभिभावक पनि बच्चालाई अस्पताल ल्याउन मान्दैनन् । धेरैदिनसम्म आईसीयूमा राखेको बच्चालाई आमाले आफ्नो काखमा राख्न पाएको हुँदैन, आईसीयूबाट झिकेर फेरि अस्पतालमै लिनुभन्दा आफ्नै काखमा राख्न आमाहरूलाई रहर लाग्छ । कतिपय अभिभावक यो कुरामा झन चिन्तित हुन्छन् । जाँच गर्दा मेसिन राख्दा सुई लगाउँदा झन केही असर हुन्छ कि भन्ने ठूलो पीर हुन्छ जुन स्वाभाविक पनि हो । उपचारमा सकस बालबालिकाको आँखा उपचार आफैमा जटिल हुन्छ । सानो बच्चालाई बेहोस गर्न मिल्दैन । उनीहरूलाई सुताउनुपर्यो, आँखामा ड्रप राख्नुपर्यो, आँखामा औजार राख्नुपर्यो । आँखाको परेला फटाएर उपचार गर्नुपर्ने हुन्छ । यसो गर्दा बच्चा रुन्छ । बच्चा रुँदा अभिभावकलाई पनि मन पर्दैन चिकित्सकलाई पनि अफ्ठेरो महसुस हुन्छ । यो उपचारले गर्दा कतिपय अभिभावक अस्पतालसम्मै आइपुग्दैनन् । कतिपय भने पहिलो दृश्यदेखि त्यसपछि फलोअपका लागि आउँदैनन् । बच्चाको लागि उपचार गर्ने, अभिभावक सबैको लागि तनाव हुन्छ । यस्ता बच्चाहरूको आँखाको उपचार जति छिटो भयो त्यति आँखाको ज्योती गुम्नबाट बचाउन सकिन्छ । तर, अस्पतालमा अभिभाकहरू बच्चा ढिलोगरी ल्याउने गर्छन् । अहिले पनि ५ देखि ६ प्रतिशत अभिभावकले ७÷८ महिना पुगेका बच्चाहरूलाई अस्पताल पुर्याउनुहुन्छ । तर यो अति ढिला हो । यो सयमसम्म ढिला भइसकेको हुन्छ । जाँच आवश्यक प्रिमिच्योरमात्र होइन जन्मेका तर अस्वस्थ महसुस गरिएका वा भएका सबै बालबालिकाको उपचार अवश्य गर्नुपर्छ । आजभोलि विश्वका विभिन्न ठाउँमा जाँच सुरु भइसकेका छन् । मोतिबिन्दु जल बिन्दु हुन्छ यस्ता कुराहरूबारे थाहा हुन्छ । शिशु लगायत वृद्धसम्मको आँखा सम्बन्धी उपचार नेपालमै हुन्छ । दैनिक दुई÷तीन जना बालबालिकालाई हामीले हेरिरहेका हुन्छौं । कतिपय बालबालिकामा देखिएको आँखाको समस्या आफै निको हुँदै जान्छ । ७५ प्रतिशत आफै निको हुन्छ । उपचार गर्नुपर्ने छ भने उपचारमा ढिलाई हुँदैन । सुई लगाउने लेजर गर्ने काम सजिलो भने पक्कै छैन । सुई लगाउँदा एकैछिन भएपनि लेजर गर्दा एउटा आँखाको आधा घण्टा बढी लाग्छ । मेरो आग्रह जो नवजात शिशुसँग नजिक भएर काम गरिरहनुभएको तपाईंहरूले जन्मेको २८ दिनमा आँखा जाँच गर्नको लागि पठाइदिनुहोस् । बच्चा जति स्वस्थ हुनु आवश्यकता छ, त्यति दृष्टि देख्नु पनि आवश्यक छ । रेटिनापाथी अफ प्रिम्याच्योरिटी भन्ने बच्चाले बोल्न सक्दैन, आमा बुवाले पनि भन्न सक्दैनन् । त्यसै समस्या बुझन गाह्रो हुन्छ । यो जाँच गरेमात्र थाहा हुन्छ । सचेतना र स्वास्थ्यकर्मीको सल्लाहले मात्र यस्तो समस्याबाट बचाउन सकिन्छ । हामीले बिस्तारै उपचार गर्छु भनेर बस्न हुँदैन । (वरिष्ठ परामर्शदाता नेत्र रोग विशेषज्ञ डा. इली प्रधानसँग गरिएको कुराकानीमा आधारित)
‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ’
आज वैदेशिक रोजगार बोर्डको १८औं वार्षिकोत्सवको यस पावन अवसरमा म सम्पूर्ण नेपाली श्रमिक वर्ग, उनीहरूका परिवारजन तथा श्रम आप्रवासनका सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै हालसम्म वैदेशिक रोजगारको क्रममा निधन भएका श्रमिकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते श्रमिकहरूलाई समेत हार्दिक सम्झना गर्दछु । नेपालको संविधानले वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित बनाउन राज्यलाई स्पष्ट दायित्व प्रदान गरेको छ । संविधानको मर्मअनुसार राज्यले बाध्यतावश हुने वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै विदेश जानुपर्ने जनशक्तिलाई सुसूचित, सचेत र दक्ष बनाएर मात्र पठाउने तथा वैदेशिक रोजगारीबाट आर्जित पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । संवैधानिक मर्म र राष्ट्रिय आप्रवासन नीति, २०८२ लाई आत्मसात् गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन, श्रमिकका हक–अधिकारको प्रत्याभूति गर्न तथा कल्याणकारी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैदेशिक रोजगार बोर्डले विगत १८ वर्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सीपयुक्त र प्रतिस्पर्धी बनाउन बोर्डले सञ्चालन गरेका निःशुल्क सीप विकास तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू अत्यन्त प्रभावकारी बनेका छन्। रोजगारीको क्रममा देखिने कानुनी उल्झन समाधानका लागि प्रदान गरिएका कानुनी सहायता, अंगभंग, बिरामी तथा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने आर्थिक सहयोग, मृत्युपश्चात् शव ढुवानी तथा व्यवस्थापनमा राजदूतावास र नियोगहरूसँग गरिएको समन्वय संवेदनशील र प्रशंसनीय छन् । यद्यपि वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूको दायरा अझ विस्तार गर्न आवश्यक देखिन्छ । वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्या समाधानका लागि बोर्डले सुरु गरेको ‘श्रमाधान कल सेन्टर’ र ‘टेलिमेडिसिन सेवा’ श्रमिक हितका दृष्टिले अत्यन्त उपयोगी र जीवनपरक पहलका रूपमा देखा परेका छन् । साथै, सचेतनामूलक रेडियो तथा टेलिभिजन कार्यक्रमहरूको निरन्तरताले सुरक्षित आप्रवासन संस्कृतिको निर्माणमा ठोस योगदान पुर्याएको छ । यसैगरी, सबै कल्याणकारी सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराई सेवाग्राहीको पहुँचलाई सहज, सरल, पारदर्शी र छरितो बनाउँदै डिजिटल सुशासन प्रवद्र्धनतर्फ बोर्डले चालेका कदमहरू प्रशंसनीय छन् । बोर्डको वार्षिक प्रगति सन्तोषजनक देखिएको छ । यद्यपि बेरुजु व्यवस्थापनतर्फ ध्यान दिई आर्थिक कार्यप्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन गर्दछु । साथै यस आर्थिक वर्षका लागि तर्जुमा गरिएका कार्यक्रमहरूको प्रभावकारी र पारदर्शी कार्यान्वयनका लागि शुभेच्छा प्रकट गर्दछु । यस अवसरमा म वैदेशिक रोजगार बोर्डका सदस्यहरू, कार्यकारी निर्देशक, सचिवालयमा कार्यरत कर्मचारीहरू, मन्त्रालयका पदाधिकारीहरू, विकास साझेदार संस्था तथा कार्यक्रमसँग सम्बन्धित सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । तपाईंहरूको समर्पण, मेहनत र उत्तरदायित्वकै कारण आज बोर्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय संस्था बन्न सफल भएको छ । चेतनाको स्तर वृद्धि हुँदै जाँदा नेपालको बदलिँदो राजनीतिक परिदृश्य र जनअपेक्षालाई आत्मसात् गर्दै अबको चरणमा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न सीपमा आधारित उद्यम तथा पुनःएकीकरण कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्छ । विदेशबाट फर्किएका नागरिकहरूको अनुभव र पूँजीलाई उत्पादन, पर्यटन, कृषि तथा प्रविधि क्षेत्रमा उपयोग गर्न नीतिगत र संरचनागत सुधारका कार्यहरू अघि बढाउनुपर्दछ । यसतर्फ मन्त्रालयलाई ठोस कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन गर्दछु । साथै श्रम आप्रवासनका विभिन्न चरणमा हुने शोषण र ठगीको नियन्त्रण तथा नियमन गर्दै आकर्षक रोजगार गन्तव्यको खोजी गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र क्रमशः निःशुल्क बनाउन नीतिगत पहल आवश्यक छ । वैदेशिक रोजगार प्रणालीलाई पारदर्शी, सरल, सहज, शर्तरहित, प्रविधिमैत्री र छरितो बनाई आप्रवासनबाट फर्किएका श्रमिकहरूको दिगो र सम्मानजनक पुनःएकीकरण गर्दै सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन निर्देशन गर्दछु । अन्त्यमा, देशका लागि पसिना बगाइरहनु भएका श्रमिक परिवार र मातृभूमिप्रति समर्पित सबै नेपाली श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई म गहिरो सम्मानका साथ नमन गर्दछु । तपाईंहरूको योगदानले हाम्रो अर्थतन्त्रलाई सशक्त बनाएको छ र विश्वमा नेपालको प्रतिष्ठा उचो पारेको छ । वैदेशिक रोजगार बोर्डको १८औं वार्षिकोत्सवले श्रमिक कल्याण, सुरक्षित आप्रवासन र दिगो रोजगारीका अभियानमा नयाँ उत्साह, प्रेरणा र जिम्मेवारी थपोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ! – वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको मन्तव्य
महिनावारीसँग जोडिएको स्वास्थ्य
किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ । महिनावारी सुक्नु रोग होइन तर जसरी महिनावारी हुुँदा कसैकसैलाई साधारण समस्या हुुन सक्छ, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्नसके महिलालाई सजिलो हुुने थियो । 'मेरो महिनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली पसिना पनि आउँथ्यो । मलाई मेरो साथीले हर्मोन औषधि दिइन् तर त्यसले मलाई झन् समस्या गरायो । मैले औषधि पनि छोडेँ र मैले त यस अवस्थालाई सामान्य रुपमा लिएको छु । अहिलेसम्म रजोनिवृत्तिका समस्या भएको छैन,' ७५ वर्षीया एक जनस्वास्थ्य विज्ञले केही दिनअघि मलाई इमेलमा लेखेकी थिइन् । 'मेरो महिनावारी सुकेको चार वर्ष भयो । पहिलेपहिले त कहिले दुई/तीन महिनामा हुन्थ्यो । त्यतिबेला केही बढी रगत जान्थ्यो । फापर, ढिँडो, सिस्नो खाएँ । मलाई ढुक्क पो भएको थियो । मलाई कुनै समस्या नै भएन,' गाउँकी एक महिलासँगको भेटमा भनेकी थिइन् । नेपाली महिलाको महिनावारी सामान्यतया ४५–५२ वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ ।अन्तरराष्ट्रियस्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । नेपालमा भने ‘मेनोपोज सिमटम इन नेपाल’की डा कान्ति गिरीले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एउटा अध्ययन पाइन्छ । रजोनिवृत्ति वा महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्याहरू पर्न सक्छन् । यद्यपि, धेरै महिलालाई केही समस्या पर्दैन । यो कुनै रोग होइन भनेर मानिसहरूले बुझ्न गाह्रो भएकाले र महिनावारी सुकेपछि के औषधि गर्ने भन्ने प्रश्न पनि नेपाली महिलाहरूले गर्छन् । परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन् । गाउँघरमा त ५० वर्षसम्म पनि यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । अनि महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन नै गाह्रो पर्छ । लगातार यस्तो साधन प्रयोग गर्दा हड्डी ‘फुसफुसे’ भएर भाँचिने समस्या हुन्छ । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । तर यो विषयमा कतै छलफल नै हुँदैन । रजोनिवृत्तिको बेला कसैलाई समस्या हुन्छ, कसैलाई हुन्न भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि स्वास्थ राम्रो हुन्छ । तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृतिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पुर्याए राम्रो हुन्छ । मेरी आमाको ४५ वर्षमा नै रजोनिवृत्ति भयो मेरो १० वर्षअघि ५० वर्षमा नै भयो, केही समस्या नै भएन । तर कसै कसैलाई राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हुँदै जान सक्छ । यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो । चुरोट र सूर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलालाई चुरोट र तमाखु छोड भन्नै पर्छ । तर नेपालको गाउँघरमा महिलाहरुलाई धु्रमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्राय थाहा हुँदैन । प्रायः कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । अनि लौ पाठेघरको क्यान्सर भयो भनेर तर्सिन्छन् । रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने यस्ता समस्याहरुलाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवन प्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ । जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा पैसा राख्ने महिलाहरूले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ । अर्थात स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कतिपय महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्दछन् भने कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयको रुपमा पनि लिएको पाइन्छ । अहिले त रजोनिवृत्ति भइसकेका महिलाहरू अफिसमा काम पनि गरिरहेका हुन्छन् । रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नु पर्ने चाहीँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृति भएपछि या झन बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । विभिन्न अध्ययनले देखाएका छन् तातो हुने धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ । प्रोटिन र लौहतत्व पाइने र भटमासको विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जानसक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्मा चिलाउने समस्या हुनसक्छ । यस्तो बेलामा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ । केही महिलाहरूलाई रजोनिवृत्ति अवस्थामा मन दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसाथ गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारिरीक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ । यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ । व्यायाम गर्ने महिलाहरुलाई रजोनिवृत्ति भएपछि शरिर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ । '५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महिनावारी पनि सुक्यो । तर विस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रुपमा योग गर्न थालेको छु । मलाई रमाइलो लाग्छ', ६० वर्षीय निलिमाले भनेको कुरा मलाई साह्रै घत लागेको थियो । व्यायामलाई बोझको रुपमा नलिएर आफूलाई फाइदा पुर्याउँछ भन्ने विश्वास गरेपछि अलिअलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ, स्वस्थ भइन्छ । रजोनिवृत्ति समस्या बन्दैन । रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ । जस्तो कामको धेरै बोझ भए, धेरै थकाई, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ । यसरी महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ । तनाव कम गर्ने धेरै उपायहरु छन् । कतिपय उपायहरु हामी हाम्रो जीवनमा उपयोग गर्छौ । कतिपय महिलाहरुले तनाव परेका बेला प्राथना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् । महिनावारी सुक्ने बेलामा समस्याहरु कम होस् र शरिर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाइबाट मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास पनि बढाउँछ । रासस