के बालेनले पार्टी खोल्लान् ?
नेपाली राजनीतिक परिप्रेक्ष्यमा नयाँ लहरको उदय भइरहेको छ । जसमा स्वतन्त्र उम्मेदवार र वैकल्पिक भनिएका पार्टीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । बालेन्द्र शाह, सुमना श्रेष्ठ, रवि लामिछाने र कुलमान घिसिङजस्ता नामहरूले नेपाली जनमानसमा नयाँ आशा र विचारहरूको सञ्चार गरेका छन् । यी व्यक्तिहरूले परम्परागत राजनीतिक दलहरूको कमजोरीलाई चुनौती दिँदै आफ्नो स्वतन्त्र दृष्टिकोण र नेतृत्वमा भविष्यको सम्भावना प्रस्तुत गरिरहेको मान्न सकिन्छ । तर यी नयाँ शक्तिहरूको सफलताको मूल्याङ्कन अझै पनि अनिश्चित छ । र यसले आगामी छ महिनामा जनमतलाई कसरी आकार दिनेछ भन्ने कुरामा राजनीतिक विश्लेषकहरूले चासो राखेका छन् । बालेनले पार्टी खोल्लान् ? काठमाडौंको पछिल्लो राजनीतिक सन्दर्भमा बालेन्द्र शाहको राजनीतिक यात्रा थप चर्चामा आएको छ । स्वतन्त्र उम्मेदवारको रूपमा उठेर महानगरको मेयर जितेका बालेनले हालसम्म पार्टी खोल्ने सम्भावनाबारे पक्का कुरा भने गरेका छैनन् । यसले गर्दा उनको भविष्यको योजनाबारे विभिन्न प्रयासहरू चलिरहेका छन् । बजारमा बालेनले पार्टी खोल्ने हल्ला चले पनि त्यो सम्भावना धेरै कम देखिन्छ । वर्तमान अवस्थामा उनले स्वतन्त्र उम्मेदवारको रूपमा राजनीतिक दृष्टिकोण प्रस्तुत गरिरहेका छन् । र यसबाट उनले महत्त्वपूर्ण प्रभाव पनि पारिसकेका छन् । यद्यपि राजनीतिक वातावरण परिवर्तनशील छ र कसरी परिस्थितिहरूको विकास हुन्छ भन्ने कुरा भविष्यको निर्णयमा निर्भर रहने तथ्यलाई भने हामीले बिर्सनु हुँदैन । यदि उनले पार्टी खोले भने त्यसले उनको वर्तमान स्वतन्त्र छविमा असर पुर्याउने पक्का छ । पार्टीको ढाँचामा फस्नु भनेको शक्तिको विभाजन र संस्थागत बोझको सामना गर्नु हो । यसैले बालेनको पार्टी खोल्ने सम्भावना अहिलेको अवस्थामा न्यून देखिन्छ । सुमना श्रेष्ठको पार्टी परित्याग अवसरवाद या असहमति ? सुमना श्रेष्ठको पार्टी छोड्ने निर्णयलाई पनि ध्यान दिइएको देखिन्छ । केही समय अघिमात्र उनले पार्टीसँगै अगाडि बढ्ने इच्छा व्यक्त गरेकी थिइन् । तर के कारणले अचानक उनले पार्टी छाड्ने निर्णय गरिन् भन्ने कुराले चासो उत्पन्न गरेको छ । अहिले चर्चा भइरहेको कारण भने उनको पार्टी भित्रको असहमति र राजनीतिक असहजता हो । सुमना आफ्नो विचारमा स्वतन्त्र रहन चाहने हुनाले पार्टी छाडेर नयाँ मार्ग अपनाउन खोजेकी हुन् । यसले उनलाई अवसरवादी भन्ने आरोपको सामना गराएको छ । तथापि, उनलाई स्वतन्त्र रहन चाहने र पार्टीको संरचनामा बन्धन गर्न नचाहने पक्षले उनको निर्णयलाई समर्थन पनि गर्न सक्छ । कुलमान घिसिङ र ६ महिना अग्निपरीक्षाको परिप्रेक्ष्य कुलमान घिसिङको नाम सार्वजनिक ऊर्जा सुधारको क्षेत्रका एक चर्चित नामको रूपमा आएको छ । यद्यपि उनले प्रत्यक्ष राजनीतिमा अझै प्रवेश गरेका छैनन्। तर, अन्तरिम सरकारमा उनको सहभागिताले नयाँ शक्ति र वैकल्पिक राजनीतिक धारलाई बल दिने उद्देश्य रहेको बताइएको छ । सरकारमा उनको सहभागिताले आगामी चुनावी लहर र राजनीतिक परिप्रेक्ष्यमा नयाँ दिशाको संकेत दिए गर्न सक्छ । आगामी ६ महिनामा कुलमानको वास्तविक कार्यक्षमता र नेतृत्व क्षमताले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ। रास्वपाको भविष्य र रवि लामिछानेको नेतृत्व रास्वपाको नेतृत्व गर्दै रवि लामिछानेले पार्टी गठन गरेर राजनीतिक क्षेत्रमा नयाँ लहर ल्याएका छन्। । अहिले पनि उनी सहरी क्षेत्रका युवा र महिला वर्गमा आशा र विश्वासको प्रतीक बनेका छन् । पार्टीको भविष्य अब रास्वपा र रवि लामिछानेको नेतृत्व, संगठन निर्माण र निर्णय क्षमता माथि निर्भर गर्नेछ । आगामी ६ महिनामा यो सब स्पष्ट हुनेछ । स्वतन्त्र उम्मेदवार र वैकल्पिक शक्तिहरूको प्रभाव नेपाली राजनीति अहिले एक नयाँ मोडमा प्रवेश गरिरहेको छ । परम्परागत दलहरूको सवालमा जनतामा निराशा देखिएको छ । यसैको विकल्पस्वरूप स्वतन्त्र उम्मेदवार र वैकल्पिक शक्तिहरू जस्तै बालेन, रवि, हर्क र गोपीहरूले आमजनतामा आशा जगाउँदैछन् । तथापि यस नयाँ लहरको प्रभावकारिता अझै पनि संगठन र सहकार्यको अभावमा चुनौतीपूर्ण छ । भविष्यको राजनीतिक परिप्रेक्ष्यमा यी स्वतन्त्र उम्मेदवारहरूको प्रभाव र एकता कसरी उभिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ ।
प्रताडित मिलेनियल पुस्ता, बधाई जेनजी
यो समय जेनेरेसन जेटको हो । अहिले उनीहरूकै चर्चा छ । यो हामी मिलेनियलहरूका लागि धेरै खुशी र अलिअलि चुनौती पनि हो । सर्वप्रथम हामीभन्दा पछिल्लो पुस्ताको यो साहस र सुरताका लागि बधाई भन्न चाहन्छु । पछिल्लो पुस्ताको वीरतालाई बधाई भन्दै म मेरो पुस्ताका अलिअलि दुःखका अलिअलि प्रताडना र सम्भावनाका कुरा गर्न चाहन्छु । वि.सं २०४० सालदेखि २०५२ सालसम्म जन्मिएको मेरो पुस्ता जसलाई आज जेनेरेसन वाई वा मिलेनियल भनेर चिनिन्छ । यो एउटा यस्तो पुस्ता हो– जसले निरन्तर राजनीतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक तनावको सामना गर्दै आफ्नो जीवन अगाडि बढाइरहेको छ । यो पुस्ताले भोगेको जीवन बाल्यकालदेखि युवावस्था र अबको परिपक्व अवस्थासम्मको यात्रा संघर्ष, त्याग, बलिदान र अपेक्षाको कथा हो । तर, विडम्बना यो पुस्ताले त्यागको भारी जति ठूलो बोकेको छ, प्राप्तिको सूची त्यत्तिकै न्यून छ । यो पुस्ताले जे प्राप्तिका लागि लड्यो ती आदर्शहरू अझै अधुरै छन् । यस पुस्ताका जेष्ठ सदस्यहरू पञ्चायती शासनको अन्त्यतिर जन्मिएका थिए । जुन समय अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणमा थियो । नागरिक स्वतन्त्रता दमित थियो । कान्छा सदस्यहरू भने माओवादी सशस्त्र युद्ध सुरु हुँदै गर्दा जन्मिए । जुन समय देश पूर्णतया राजनीतिक अन्यौलमा थियो । बाल्यकालमै युद्ध, हत्या, विस्थापन र त्रासदी यिनको चेतनामा गढ्यो । समाचारपत्रहरूमा रक्तपातका तस्बिर, रेडियोमा बम विस्फोटका खबर, घरका अभिभावकका चिन्तित अनुहार यी सबैले जेन वाइको बाल मनोविज्ञानमा गहिरो प्रभाव पारेको छ । २०५८ सालमा घटेको राजदरबार हत्याकाण्डले त झनै यिनको जीवनमा ठूलो घाउ थप्यो । राजारानी र राजपरिवारको सामूहिक हत्या जस्तो अकल्पनीय घटनाले समग्र राष्ट्रलाई स्तब्ध बनायो । बाल्यकालमै यस्ता राष्ट्रिय शोकको साक्षी हुनुपर्दा यो पुस्ताको मानसपटलमा गहिरो निराशा र असुरक्षा स्थापित भएको जगजाहेर छ । देश कता जाँदैछ, अब के हुन्छ भन्ने अन्योल उनीहरूको जीवनको अभिन्न हिस्सा बन्यो । त्यसपछिका दिनहरू पनि यिनको लागि सहज भएनन् । सशस्त्रयुद्ध चर्किँदै गयो । गाउँहरू रित्तिँदै गए, सहरहरू डरले सुनसान बन्दै गए । कतिपयले विद्रोही बन्ने विकल्प रोजे, कतिपयले सन्नाटा समाउँदै शान्तिको प्रतीक्षा गरे । २०६२/६३ को आन्दोलनले युद्धको अन्त्य गर्यो । गणतन्त्र आयो, संविधान जारी भयो । परिवर्तन आए, तर जीवनमा गुणात्मक परिवर्तन भने आयो भन्न सकिएन । जेनजीले अझै ठूलो पारिवारिक जिम्मेवारी बोक्न बाँकी छ । यो पुस्तामा देशप्रतिको माया प्रचुर छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता छ । विधि र प्रक्रियाप्रति आस्था छ । तर, यी मागहरू पूरा गर्न परिपक्व नेतृत्व आवश्यक छ जसका लागि मिलेनियल पुस्ताभन्दा उपयुक्त अर्को पुस्ता छैन । यो पुस्ताले आफ्नो जीवनको सबैभन्दा ऊर्जावान समय दश वर्षको संक्रमणकालमा बितायो । जुन समय यिनले समाजमा योगदान दिन सक्थे, त्यही समय राजनीतिक अन्योल र अस्थिरताले हरण गर्यो । पढेलेखेका, सक्षम, दूरदर्शी युवाहरू घामपानी, लाठी, गाली सहँदै सडकमा उत्रिए । तर, जब परिस्थिति सामान्य हुँदै गयो, राजनीति फेरि पुरानै ढर्रामा फर्कियो । यिनले शिक्षा अवश्य पाए । राम्रो अङ्क ल्याएर उत्तीर्ण भए । कतिपयले विदेशमा पढे, कतिपयले यहीँ सर्टिफिकेट बटुले । तर, त्यो शैक्षिक पूँजीको मूल्याङ्कन हुन सकेन । सार्वजनिक सेवा क्षेत्रमा निष्पक्षता हरायो । पहुँच, सिफारिस, घुसबिनाको नियुक्ति दुर्लभ बन्यो । योग्यताभन्दा बढी, चिनजान र सत्ता समीकरणले अवसर निर्धारण गर्न थाल्यो । त्यसैले हजारौं सक्षम युवाहरू विदेशिएका छन् । उनीहरू देश फर्किने सपना बोक्छन्, तर त्यो सपना पुनः दोहोरिन सक्दैन भन्ने गहिरो यथार्थसँग पनि उनीहरू अवगत छन् । यस पुस्ताको अर्को विशेषता भनेको राजनीतिक चेतनाले भरिपूर्ण हुनु हो । बाल्यकालमै आन्दोलन, नाराबाजी, ब्यानर र पोस्टर देखेका यिनले राजनीति केबल सत्ता लिने होइन, समाज परिवर्तन गर्ने माध्यम हो भन्ने माने । पार्टीप्रति आस्था राख्नु, विचारमा विश्वास गर्नु, सक्रिय रूपमा भाग लिनु यिनीहरूका लागि गौरवको कुरा थियो । तर आज जब यिनीहरू पार्टीमा सक्रिय हुन्छन् वा पार्टीका नीतिलाई समर्थन गर्छन्, तब उनीहरूलाई ‘झोले’, ‘मण्डले’, ‘हनुमान’ जस्ता शब्दले होच्याइन्छ । यसो भए पनि यो पुस्ता अझै पनि देश, समाज र लोकतन्त्रप्रति समर्पित छ । राजतन्त्र हटाउनु, गणतन्त्र स्थापना गर्नु, संविधान निर्माण गर्नु यी सबै आन्दोलनहरूमा यो पुस्ताको श्रम, आँसु र पसिना मिसिएको छ । परिवर्तनको बीउ रोप्ने यही पुस्ता हो । यद्यपि फल भने अरूले खाइरहेका छन् । अब यो पुस्ता जीवनको जिम्मेवारीको चरम बिन्दुमा पुगेको छ । एकातिर वृद्ध बाबुआमाको सेवा, अर्कोतिर छोराछोरीको शिक्षा–दीक्षा, स्वास्थ्य, सुरक्षा सबै बोझ यही पुस्ताकै काँधमा छ । तर, उसका पहिचान, करिअर र सपना भने अझै अधुरै छन् । यति ठूलो जिम्मेवारीका बीच पनि यो पुस्ता अझै केही गर्न सक्छु भन्ने विश्वासमा बाँचेको छ । यिनको जीवन एउटा यस्तो जहाज हो, जुन कुहिरोमा हराएको छ न स्पष्ट गन्तव्य देखिन्छ, न पछाडि फर्किन सकिन्छ, न सुरक्षित ल्यान्डिङ नै सजिलो छ । तर यिनीहरू अझै प्रयासरत छन्, लागिरहेकै छन् गन्तव्य खोजिरहेकै छन् । अब प्रश्न उठ्छ नेतृत्व कसले लिने ? पुराना पुस्ता थाकिसके, थलिइसके । नयाँ पुस्ता अझै परिपक्व छैन, व्यवहारिक ज्ञानको अभाव छ । यो पुस्ताले नै अबको सामाजिक र राजनीतिक नेतृत्व सम्हाल्नुपर्छ । किनभने यो पुस्तासँग चार प्रमुख कुरा छन् । ती हुन्– अनुभव, शिक्षा, ऊर्जा र उत्तरदायित्वको भावना । यिनले विगत देखेका छन् । भविष्य निर्माण गर्ने सामर्थ्य राख्छन् । यिनले जनता र नेताबीचको अन्तर बुझेका छन् । सत्ताको स्वाद र कर्तव्यको मूल्य बुझेका छन् । त्यसैले यिनीहरूबाट अपेक्षा गर्न सकिन्छ– इमानदार नेतृत्व, व्यवहारिक नीति र जनमुखी कार्यशैलीको । जेनजी अहिलेको पुस्ता हो, जसले अझै ठूलो पारिवारिक जिम्मेवारी बोक्न थालेको छैन । यो पुस्तामा देशप्रतिको माया प्रचुर छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता छ । विधि र प्रक्रियाप्रति आस्था छ । तर, यी मागहरू पूरा गर्न परिपक्व नेतृत्व आवश्यक छ जसका लागि मिलेनियल पुस्ताभन्दा उपयुक्त अर्को पुस्ता छैन । सारांशमा भन्नुपर्दा मिलेनियल नै नेपालको सबैभन्दा प्रताडित र खारिएको पुस्ता हो । यो पुस्ताले बाल्यकालमा शान्ति पाएन । युवावस्थामा अवसर पाएन । अहिले जिम्मेवारीको भारी त बोकेको छ नै, अपमान पनि यही पुस्ताले सहेको छ । यो पुस्ता कुनै अन्धविश्वासमा होइन, तिक्त यथार्थताको घाममा पोलिएर आफै खारिएका छ । आफ्नो सुझबुझ र आदर्शले अबको नेतृत्वका लागि समेत तयार छ । अब समय आएको छ– नेतृत्व फेर्ने होइन, पुस्ता फेर्ने । यदि आज यो पुस्ता अघि सरेन भने भोलिको इतिहासले लेख्नेछ सबैभन्दा धेरै गुमाएको, तर सबैभन्दा कम लडेको पुस्ता भनेर । यदि यो पुस्ता नेतृत्वमा आयो भने इमान्दारी र दूरदर्शिताका साथ समाजको नेतृत्व गर्यो भने भोलिको इतिहासले गर्वका साथ लेख्नेछ ‘सबैभन्दा प्रताडित पुस्ता जसले देशलाई उज्यालोमा पु¥यायो ।’
समस्या भ्रष्ट मानसिकतामा
नेपालको शासनसत्तामा आरोह-अवरोह काटमार र छलकपटबाहेक केही पनि छैन । भीमसेन थापा जेलमै सड्नु पर्यो । फत्तेजंग चौतारी र माथवरसिंह थापा लगायतहरू काटिनु पर्यो । जंगबहादुरको उदय हुन कोतपूर्व घट्नु पर्यो । राणाशासनको पतन गर्न शहीदहरूले रगत बगाए । प्रजातन्त्र प्राप्त गर्न धेरै मान्छे मर्नु पर्यो । समकालीन राजनीतिक दललाई सत्तामा पुर्याउने धेरैले ज्यान बलिदान दिए । १७ हजार मानिसको बलिदानपछि माओवादी सत्तामा पुग्यो । राजालाई सत्ताच्युत गरी दलको शासन प्रारम्भ गर्न धेरै मान्छे जनआन्दोलनको क्रममा मृत्युवरण गरे । हरेक परिवर्तनको निर्णायक बिन्दुमा कुनै न कुनै रूपमा हिंसाको राजनीति निर्णायक भयो । कोतपर्वपछि राणा बलिया भए । २००७ सालपछि राजा बलिया भए । २०४६ सालको आन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्व र २०६३ सालको आन्दोलनले राजनीतिक दल बलिया भए अनि सत्ता सम्हाले । यही भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पनि हिंसात्मक र ध्वंशात्मक बन्यो । धेरै युवाले ज्यान बलिदान गरे । संसद, सिहंदरबार, अदालत, सञ्चार, औद्योगिक प्रतिष्ठान र निजी घरमा व्यापक तोडफोड, लुटपाट र आगजनी भयो। अहिले अर्को पक्ष सत्तामा आइपुगेको छ । रक्तपातपूर्ण यात्राबाट सत्तारोहण जारी छ । यद्यपि, बिचरा जनता कहिल्यै बलिया हुन पाएनन् । हामीले सधैं व्यवस्थामा समस्या देख्यौं, संविधानमा र पद्धतिमा समस्या देख्यौं । तर, हाम्रो व्यवहार, नैतिकता र जीनमा भएको समस्या बिर्सियौं । ठूलो समस्या भ्रष्ट मानसिकतामा छ भन्ने बिर्सियौं । भ्रष्ट मानसिताको सम्बन्धमा एउटा अन्तर्राष्ट्रिय प्रसंगबाट सुरु गरौं । हालै २०२५ सेप्टेम्बरमा फ्रान्समा ‘ब्लक एभ्रिथिङ’ नामक आन्दोलन चलिरहेको छ । फ्रान्सका राष्ट्रपतिले एमानुएल माक्रोनले त्यहाँ दुई वर्षमा पाँचवटा प्रधानमन्त्री फेरिसकेका छन् । यो प्रदर्शन पनि एक्स, टिकटक, टेलिग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत संगठित छ । यसमा नागरिक स्वतफूर्त सहभागी रहेका छन् । उनीहरूले कारफोर, अमेजन, ओशाँजस्ता ठूला खुद्रा पसलहरूको बहिष्कार, बैंकबाट पैसा झिक्ने अभियान, नगरपालिका भवनजस्ता प्रतीकात्मक स्थानहरूको शान्तिपूर्ण कब्जा, छिमेकी सभा र हड्ताल कोष स्थापना जस्ता कार्य गर्दै आएका छन् । उक्त प्रदर्शन हुनुको पछाडि नयाँ प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले राष्ट्रिय बजेटबाट ४३.८ मिलियन फ्रांक कटौती, घाटा घटाउने योजना, दुईवटा राष्ट्रिय बिदा हटाउने प्रस्ताव, पेन्सन फ्रिज गर्ने निर्णय र स्वास्थ्य क्षेत्रमा ५ अर्ब फ्रांकको कटौती गर्ने जस्ता कार्यक्रमका विरुद्ध छन् । नेपालमा पनि भर्खरैमात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चितताको माग गर्दै युवापुस्ता जेनजीले गरेको आन्दोलनको कारण सरकार विघटन भई नयाँ सरकार निर्माण भएको छ । युवाले राजनीतिक र प्रशासनमा हस्तक्षेप बढाई भ्रष्टाचार निर्मूल पार्न अठोट गरेका छन् । फ्रान्स र नेपालमा सँगसँगै आन्दोलन भएपनि मागहरूमा व्यापक फरक छ । फ्रान्सको आन्दोलन नागरिकले प्राप्त गर्ने शासकीय सेवासुविधा कटौतीको विषयमा छन् भने नेपालमा जेनजीका माग शासकीय सुधार र सुशासनमा केन्द्रित छन् । सरकार विरुद्धको आन्दोलन धनी र गरिबी दुवै देशका नागरिकले गर्दछन् । फ्रान्स हाम्रोभन्दा विकसित र कम भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दछ । फ्रान्स भ्रष्टाचार सूचकांक, २०२५ मा १०० मा ६७ अंक प्राप्त गरी अंकतालिकाको २५औं स्थानमा रहेको छ । जबकि नेपाल ३४ अंक प्राप्त गरी १०७ औं स्थानमा रहेको छ । यसको अर्थ हो- नेपाल अत्यधिक भ्रष्ट मुलुकमा पर्दछ भने फ्रान्स भ्रष्टाचार निकै कम हुने मुलुकको सूचीमा पर्दछ । नेपालका भ्रष्टाचार बढ्दै जानुका पछाडि विविध कारण भएता पनि जवाफ दिनु नपर्ने डिप स्टेट प्रणालीको विकास हुनु नै हो । नेपालमा भ्रष्टाचार निवारणका विधिगत प्रयास आजभन्दा ३५ वर्ष अगाडिबाट नै भएको हो । यद्यपि अपेक्षाकृत रूपमा भ्रष्टाचार न्यूनीकरण हुन सकेन । यसका पछाडि धेरै कारण होलान् । त्यसमध्येको एउटा कारण हो– भ्रष्ट मानसिकता । अझ तिखो रूपमा भन्दा लुटेरा मानसिकता हो । भ्रष्ट मानसिकता के हो र कोसँग छ भन्ने केही तथ्य उजार गरौं । २०८१ साल चैत्रमा दुर्गा प्रसाईंहरूले राजा फर्काउन गरेको आन्दोलनमा लुटपाट मच्चियो । खासगरी नेपाली व्यापारी मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी लुटियो । दिनदहाडै लुटपाट भयो । राज्य निरीह सावित भयो । त्यही समयमा यातायात बन्द भयो, कर्फ्यु लाग्यो, सवारीसाधन चल्न पाएनन् । त्यही मौकामा पठाओ, राइडरहरूले अफलाइन सेवा दिए । सय रुपैयाँमा यात्रा गर्न सकिनेमा दुई/तीन समय समेत लिन भ्याए । अप्ठ्यारोको बेला मानवीयता देखाउनु पर्नेमा झन् लुटियो । यिनै राइडरहरूले पंक्तिकारसँग कयौं पटक नेता, कर्मचारी र व्यापारी सबै भ्रष्ट भएको सुनाउँदै गाली व्यक्त गरे । आफूले नपाउँसम्म अरूलाई भ्रष्ट भन्ने, मौका पाए आफू त्योभन्दा दोब्बर लुट्ने संस्कार र अभ्यास नै भ्रष्टाचारको जडो हो । भदौ २३ गते युवाहरूले गरेको आन्दोलको क्रममा कलिला विद्यार्थीको मृत्युपछि उत्पन्न परिस्थितिले भदौ २४ गते आगजानी र लुटपाट मच्चियो । यस पटकको निशानामा व्यापारिक भवन, प्रशासनिक भवन, भौतिक संरचना, निजी सम्पत्ति र होटलसमेत परे । यसले अर्बौंको क्षति गरेको छ । यसको वास्तविक क्षति अध्ययनले देखाउला तर यसमा देखिएका दृष्य निकै दर्दनाक छन् । जित्न कसले जित्यो थाहा छैन तर, राज्यले अर्बौं क्षति भोग्न पर्यो । यस पटक पनि फेरि निशानामा परेको भाटभटेनीमा आगजानी र लुटापाट भयो । यसको प्रतिफलमा हजारौं मान्छेको रोजीरोटी गुमेको छ । लगानी गर्नेको मनोबल कमजोर भएको छ, व्यवसायी हतोत्साहित भएका छन् । होटलहरू जले, हजारौं काम गरी खानेहरू बेरोजगार हुनुपर्यो । व्यवसायीलाई क्षति पुग्यो । राज्यलाई कर घाटा निश्चित छ । लगानी सुरक्षा नहुँदा लगानी वातावरण धराशायी भयो । सरकारी भवन जलेर नष्ट भए । सहज रूपमा सेवा दिनसक्ने अवस्था छैन । हामी राज्यप्रति कति गैरजिम्मेवार छौं ? हामी हाम्रो दायित्व निर्वाह गर्न किन सक्दैनौं ? हाम्रो रगतमा अपराध मात्रै छ ? परोपकार किन छैन ? गम्भीर प्रश्न हामीमाथि नै छ । यसले बढ्दै गएको साक्षरता अर्थहिन देखाउँछ । चेतनाको स्तर कमजोर देखाउँछ । यस्तो चेतनाले लोकतन्त्र धान्न सक्दैन । उद्यमशीलता प्रवद्र्धन गर्दैन । यसलाई फ्रान्सँग जोडेर हेरौं । फ्रान्समा भएको आन्दोलनमा असन्तुष्ट प्रर्दशनकारीले ठूला महल र व्यापारिक सामान नकिन्ने अभियान चलाएका छन्, अवज्ञा गरेका छन्, बहिष्कार गरेका छन् । हामीलाई मन पर्दैन भने बहिष्कार गर्ने अधिकार छ । त्यहाँ गएर खरिद नगर्ने अधिकार छ । राजस्व चुहावट गरेको मुद्दा गर्ने अधिकार छ । तर तोडफोड गर्ने, लुटपाट गर्ने, जलाउने अधिकार छैन । लोकतन्त्रमा समस्याका निकास बलबाट होइन, विवेक र कानुनबाट खोज्नुपर्छ । कसै उपर चित्त बुझ्दैन भने अदालत छ । अनुसन्धान गर्ने निकाय छन् । पात्र हटाउने हो । प्रवृत्ति हटाउने हो । संस्था ध्वस्त गर्ने होइन । साक्षरता बोकेका तर सचेतना शून्य भएका रोगीप्राणीले सभ्यता प्रदर्शन गर्न नसक्ने रहेछन् । सभ्यता र सम्पदाको जर्गना गर्न नसक्ने रहेछन् । फेरि फ्रान्सँग जोडर हेरौं– त्यहाँ प्रदर्शनकारीले नगरपालिका भवन शान्तिपूर्ण कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर हाम्रोमा भने ठ्याक्कै उल्टो भयो । सबैथोक खरानी बनाइदिए । नागरिकलाई बर्दी बिनाका प्रहरी भनिन्छ । सरकार जवाफदेही भएन भन्दैमा हामीलाई पनि जवाफदेही नहुने छुट छैन । भ्रष्ट पद्धतिको विकास भयो भन्दैमा आफू पनि भ्रष्ट बन्नु हुन्न । यस आन्दोलनमा लुटेरा मानसिकता जबरजस्त देखियो । नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । प्रदर्शनका क्रममा भएका घटनाका फुटेज बाहिरिएका छन् । लुट्नेहरूको ताँती देखिन्छ । यस्ता भ्रष्ट मानसिकता र निर्लज्ज मानसिकताले समृद्ध नेपाल बन्दैन । विकसित देशमा आन्दोलन पनि रचनात्मक हुन्छ, सिर्जनशील हुन्छ । तर, नेपालमा जस्तो सरकार, त्यस्तै नागरिक । सरकार र नागरिकको मिल्दो कम्बिनेशन छ । भ्रष्टाचार भ्रष्ट मानसिकताको उपज हो । भ्रष्ट मानसिकता हुनेहरू अवसर नपाउँदा भ्रष्टाचारको विरोध गर्छन् । नेता, राजनीतिज्ञ, कर्मचारी, पत्रकार र व्यापारी सबैलाई गाली गर्छन् । पायो भने लुट्छन् भन्ने तथ्य फेरि उजागर भएको छ । हामी सबै अटाउने र सबै रमाउने समाज खोज्छौं । तर, यस्तो दरिद्र मानिसकताले त्यो सम्भव छैन । राज्यका हरेक क्षेत्रमा काम गर्ने कर्ताहरूको जन्म समाजको कोखबाट भएको हुन्छ । फेरि समाज व्यक्तिहरूबाटै निर्माण हुन्छ । पाइला–पाइला ठग्ने मात्र हो भने यो देश कहिल्यै बन्दैन । जुन देशका नागरिक बलिया छन्, त्यो देश बलियो हुन्छ, लोकतन्त्र जीवन्त हुन्छ । जब नागरिक नै भ्रष्ट भए तिनले जन्माउने नेतृत्व पनि भ्रष्ट नै सावित हुन्छ । भनिन्छ- हरेक समाजले आफ्नो गक्ष अनुसारको नेता जन्माउँछ । समाजबाट कर्मचारी, व्यापारी, पत्रकार वा अन्य पेशाकर्मी बन्दछन् । म कस्तो छु ? मैले के गरेको छु ? स्वमूल्यांङकन नै जरुरी छ । सुधार आफैंबाट, आफ्नै परिवारबाट जरुरी छ । सूचना, प्रविधि र सञ्जाल तथा रोबोटिक युगको मानिसले व्यवहार उही दास र ढुङ्गेयुग अनुसारको गरेर विकास कहिल्यै हुँदैन । विकासको साझेदार नागरिक पनि हुन् । सचेत र विवेकशील नागरिकले मात्र मुलुक र संविधानको रक्षा गर्न सक्छ । भ्रष्टाचारविरुद्ध खबरदारी गर्नसक्ने हिम्मत गर्न सक्छ । आफै भ्रष्ट समाजको अनुहारमा कुरूप देखिन्छ । यसपटकको प्रदर्शनले जनताप्रति सिधा रूपमा उत्तरदायी नहुने र जनसराेकारका विषयलाई नजरअन्दाज गर्ने सरकारको बहिर्गमन संविधानको धाराबाट मात्र होइन, सडकको राप र चापले पनि बहिर्गमन हुन्छ भन्ने सन्देश छोडेको छ । जनभावनाको अवमूल्यन गर्ने, क्षमतावान व्यक्तिलाई पन्छाउने, आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक दल, तिनका कार्यकर्ता र जनमतको दुरुपयोग गर्ने दललाई नागरिकप्रति सचेत र संवेदनशील हुन थप्पड हानिदिएको छ । नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । अबको पुस्ता सेवा खोज्छ, आसन र भाषण होइन, सुनिश्चितता खोज्छ, शासन होइन भन्ने आदेश राज्य संयन्त्रलाई दिएको छ । अतः युवाले कसैलाई सत्ताको घोडाबाट भुइँमा पछार्न र कसैलाई सत्ताको सिंहासनमा चढाउने रगत चढाएका छैनन् । भ्रष्टाचार नियन्त्रण गरी जनआक्रोश र जनअसन्तुष्टिलाई सम्बोधन गर्न पठाएका छन् । सुशासनको माग गरेर मृत्युवरण गर्ने युवाको रगतलाई न्याय गर्नु अन्तरिम सरकारको मुख्य अभिभारा हो ।