संकल्पको सूर्य र नेपाल निर्माणको महायात्रा

राष्ट्र निर्माण केवल इँटा र ढुंगाको थुप्रो होइन, यो चेतना, आस्था र साझा संकल्पको जगमा टेकेको बृहत यात्रा हो । मैले आफ्नो जीवनकालमा नेपालको अशान्ति र शान्ति दुवै अवस्थालाई नजिकबाट नियालेको छु- विद्रोह, द्वन्द्व र त्यसको व्यवस्थापनको कठिन प्रक्रिया देखेको छु, सुनेको छु र भोगेको पनि छु । यी सबै अनुभवले मलाई निराश होइन, दृढ बनाएको छ ।  ममा शतप्रतिशत आत्मविश्वास छ- नेपाल बन्छ । तर, त्यो आत्मविश्वासलाई यथार्थमा रूपान्तरण गर्न जनताको चेतना जागृत हुनु अपरिहार्य छ । चेतनाको आवश्यकता र जनताको आत्मविश्वास नेपाल अहिले एक निर्णायक मोडमा उभिएको छ । असमानता, अविश्वास, विभाजन, अन्धविश्वास र भ्रष्टाचारले देशलाई जकडेको छ । जब चेतनाको अभाव हुन्छ, तब देशमा विद्रोह, असन्तोष र निराशा फैलिन्छ । तर, चेतना त्यस्तो अमरदीप हो, जसलाई हावाले निभाउन सक्दैन-अन्यायले झनै प्रज्वलित गर्छ ।  आजको मुख्य चुनौती राजनीतिक होइन, मानसिक चेतनाको पतन हो ।  नेपाली जनताको भावनात्मक गुण-दयालुता, सहयोग, आस्था- यी नै हाम्रो शक्ति हुन्, तर यही भावनात्मकता केही स्वार्थी नेताहरू र विदेशी रणनीतिक दलालहरूले आफ्नो फाइदाको साधन बनाएका छन् ।  विदेशी शक्तिहरू नेपालका स्रोत, भू-राजनीतिक स्थिति र आस्थामाथि आफ्नो नियन्त्रण जमाउन चाहन्छन् ।  तर दोष केवल विदेशीलाई छैन; हामी स्वदेशीहरू पनि चेतनाहीन भएर उनीहरूलाई त्यो ठाउँ दिइरहेका छौं । अब विदेशीहरूभन्दा पनि खतरनाक ती नेपालीहरू हुन् जो नेपालमै बसेर नेपालको अहित चाहन्छन् । त्यस्ता तत्वहरूलाई चिन्ने, बहिष्कार गर्ने र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी अब जनतामाथि नै छ ।  विनाश होइन, पुनर्जागरण नेपालमा हिजोका आन्दोलनहरू नारा, राग, र आक्रोशमा सीमित भए । तर अबको आन्दोलन चाहिँ नवीन अवधारणामा आधारित हुनुपर्छ । यो आन्दोलन घर, सडक, सिंहदरबार जलाउने होइन, यो त नयाँ चेतना र नयाँ संकल्पले देश बनाउन गर्ने आन्दोलन हो ।  हामीले भ्रष्टाचार, विकृति र गलत आचरणबाट आर्जित सम्पत्तिहरूलाई राष्ट्रियकरण गरेर जनताको हितमा प्रयोग गर्नुपर्छ । र, विदेशीहरूले नेपालभित्र आफ्नो प्रभाव विस्तारका लागि गरेको लगानीलाई देश निर्माणकै माध्यम बनाउन सक्नुपर्छ ।  अब निषेध होइन, समाधानको खोज हाम्रो बाटो हुनुपर्छ । प्रतिशोध होइन, सुधार र सहकार्यको दर्शन अपनाउनुपर्छ । ‘मोर अनार्की, मोर पावर’ होइन, ‘मोर जिम्मेवारी, मोर देश’ भन्ने नयाँ संस्कार बसाल्न जरुरी छ ।  आन्दोलन केवल विनाश होइन । यो नयाँ समाजको निर्माण गर्ने शक्ति हो । जसले शासनलाई होइन, शिक्षालाई प्राथमिकता दिन्छ । सत्ता कब्जा होइन, सेवा र जिम्मेवारीमा विश्वास गर्छ ।  इतिहासका सन्देश : राखबाट उठ्ने राष्ट्र हिरोसिमा र नागासाकीमा भएको परमाणु विस्फोटन मानव सभ्यतामाथिको सबैभन्दा ठूलो चोट थियो । तर, त्यो राख र धुलोबाट जापान फेरि उठ्यो- शिक्षा, अनुशासन र आत्मबलको शक्तिबाट । त्यो उदाहरणले संसारलाई सिकायो, ‘विनाश अन्त्य होइन, नयाँ सुरुवातको संकेत हो ।’ नेपाल पनि अहिले त्यस्तै मोडमा छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार, वैदेशिक निर्भरता र आन्तरिक विभाजनले देशलाई थकित बनाएको छ । तर, यदि हामीले चेतना, आस्था र राष्ट्रिय एकताको ज्योति निभ्न नदियौं भने नेपाल फेरि उठ्छ, अझ बलियो रूपले । राष्ट्र पुनर्जागरणको यात्रा, जनताको मनदेखि सुरु हुन्छ—सडकबाट होइन, सचेत विचार र आचरणबाट  जेन-जेड पुस्ता र नयाँ युगको आन्दोलन नेपालको पछिल्लो राजनीतिक आन्दोलनले देखायो-नयाँ पुस्ता, जेन-जेड, अब मौन बस्दैन । उनीहरू आक्रोशित छन्, प्रश्न गर्छन्, परिवर्तन चाहन्छन् । तर, यो ऊर्जा यदि चेतनामा रूपान्तरण गर्न सकियो भने यही पुस्ता राष्ट्र पुनर्जागरणको मेरुदण्ड बन्न सक्छ । सामाजिक सञ्जाल र सडकमा देखिएको असन्तोष केवल विद्रोह होइन,यो चेतनाको निनाद हो । नयाँ युग सुरु गर्ने चाहनाको आवाज हो ।  तर, आन्दोलन केवल विरोध होइन, यो पनि नेतृत्वको परीक्षा हो । त्यसैले युवा पुस्ता आन्दोलनमा मात्र होइन, विकासमा पनि सहभागी हुन तयार हुनुपर्छ । र, पुरानो पुस्ताले उनीहरूलाई निराश होइन, प्रेरणा दिनुपर्छ ।  जिम्मेवारी र नेतृत्वको संस्कार आन्दोलन र चेतनाले दिशा पाउँछन् जब नेतृत्व जिम्मेवार हुन्छ । नेता त्यो होइन जो कुर्सीमा बस्छ । नेता त्यो हो जो देशको पीडा महसुस गर्छ । जो बोल्दैन मात्र, कार्य गर्छ । नेता बन्नु मतलब– नैतिकता, पारदर्शिता र देशप्रेममा उभिनु हो । राजनीति सत्ता कब्जाको होइन, सेवाको मञ्च हो । नेतृत्वले शिक्षा, अनुशासन र निष्ठाको बलमा जनताको विश्वास जित्नुपर्छ ।  देश बन्छ जब जनता जाग्छन् । देश बन्छ जब नेतृत्व निष्ठावान् हुन्छ । र, देश बन्छ जब हामी सबैले ‘म’ होइन ‘हामी’ भन्ने संस्कार अंगाल्छौँ । आचार्य सत्यमोहन जोशीले भनेका थिए- ‘शिक्षा नै त्यो शक्ति हो जसले समाजलाई बदल्छ ।’ त्यसैले शिक्षा र चेतनाबाट जिम्मेवार नेतृत्व जन्मिन्छ, जसले आन्दोलनलाई विनाश होइन, विकासको दिशामा मोड्न सक्छ । अबको नेतृत्वको परीक्षा नारामा होइन, आचरणमा हुनेछ । भाषणले होइन, निष्ठाले जनताको विश्वास जित्न सकिनेछ ।  वर्तमान चुनौती र अवसर नेपाल अहिले भू–राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा छ । भारत, चीन र पश्चिमी देशहरूको रणनीतिक स्वार्थको केन्द्र नेपाल बन्दै गएको छ । यदि हामी चेतनशील रह्यौँ भने यो स्थिति अवसर बन्न सक्छ । तर, चेतना नजाग्दा यो हाम्रो अस्मिता खोस्ने खतरा पनि बन्न सक्छ ।  अर्कोतर्फ, नयाँ पुस्ता- डिजिटल युगका नागरिक अब सूचना, सीप र दृष्टिकोणमा सक्षम छन् । उनीहरूमा विचारको शक्ति छ, केवल दिशाको आवश्यकता छ । यदि यस ऊर्जालाई राष्ट्रको नीतिमा रूपान्तरण गर्न सकियो भने नेपालले नयाँ युगको सुरुवात गर्न सक्छ ।  नेपालका युवाहरू, शिक्षकहरू, बौद्धिकहरू, किसान र श्रमिक- यी नै देशका वास्तविक निर्माता हुन् । उनीहरूले आफ्नो श्रम, सीप र जिम्मेवारीलाई देशको नयाँ विकल्पमा परिणत गर्नुपर्छ । अब हामीले पसिनाको मूल्य बुझ्नुपर्छ, श्रमलाई सम्मान दिनुपर्छ । र, विकासलाई केवल सपना होइन, संकल्पको रूप दिनुपर्छ। आशा, संकल्प र चेतनाको मिलन देश निर्माणमा अब आरोप होइन, सहकार्य चाहिन्छ । पार्टी होइन, राष्ट्र केन्द्रमा हुनुपर्छ । निराशा होइन, आशा जगाउने संस्कार चाहिन्छ । ‘सपना देख्नु गलत होइन’, तर सपना साकार गर्न नचाहनु गलत हो । हामीले सपना देख्ने मात्र होइन, पूरा गर्ने पुस्ता बन्नुपर्छ । देश बनाउने जिम्मेवारी अरू कसैको होइन—हाम्रो आफ्नै काँधमा छ ।  नेपाल अहिले खरानीजस्तो देखिए पनि त्यो खरानीभित्र बलिरहेको आशाको ज्योति अझै निभेको छैन । यदि हामीले चेतनाको प्रकाश, जिम्मेवारीको बाटो र सहकार्यको संस्कार रोज्यौँ भने नेपाल फेरि उठ्नेछ, अझ बलियो, सचेत र गौरवशाली रूपमा ।  निष्कर्ष देश निर्माणको यात्रामा चेतना, आन्दोलन र जिम्मेवारी- यी तीनवटा स्तम्भ हुन् । चेतना जनताको आत्मा हो, आन्दोलन परिवर्तनको ढोका हो । र, जिम्मेवारी भविष्यको बाटो हो ।  देश बन्छ जब जनता जाग्छन् । देश बन्छ जब नेतृत्व निष्ठावान् हुन्छ । र, देश बन्छ जब हामी सबैले ‘म’ होइन ‘हामी’ भन्ने संस्कार अंगाल्छौँ । राष्ट्र प्रेम नारामा होइन, कर्तव्यमा देखिन्छ । नेपाली हुनु गर्वको कुरा हो । तर, नेपाल बनाउन जिम्मेवारी लिनु कर्तव्यको कुरा हो । नेपाल बन्नेछ, जब चेतना कर्ममा रूपान्तरण हुन्छ । संकल्प कार्यमा परिणत हुन्छ । र, आशा यथार्थमा फुल्छ ।  (लेखक शिक्षक तथा सामाजिक अभियान्ता हुन् । )

असंगठित जेनजी, शंकामा निर्वाचन

संगठन नै बल हो । सैद्धान्तिक व्याख्या मात्र होइन, व्यावहारिक अभ्यासबाट यसको पुष्टि भइसकेको छ । राजनीतिक दल एउटा संगठन हो । सेना अर्को संगठन हो । प्रशासन वा न्यायालय अर्को संगठन हो । अन्य संघ संस्था एवं ठूलो कर्पोरेट हाउस पनि संगठनकै विभिन्न रूप हुन् ।  फरक यत्ति हो कि तिनका उद्देश्य र कार्य अलग्गै हुन्छन् । सांगठनिक ढाँचा र कानुनी धरातल फरक हुन्छन् । संगठित सदस्यहरूको शिक्षा, सीप, संस्कार र नेतृत्वकला फरक हुन्छ ।  संगठनमा विचार हुन्छ, योजना हुन्छ, नेतृत्व हुन्छ । संगठन नीतिले बाँधिएको हुन्छ । सदस्यहरूबीच समन्वय र उद्देश्यअनुरूप कार्य गर्न प्रतिबद्धता हुन्छ ।  संगठनबिनाको बल पनि हुन्छ । जेनजी आन्दोलन त्यसको उदाहरण हो । जेनजीहरूको उद्देश्य राम्रो थियो, उद्देश्य प्राप्तिका लागि सामूहिक प्रयास पनि गरे तर उनीहरू संगठित थिएनन् । नेतृत्व थिएन । कार्यकलापमा एकरूपता थिएन ।  गत भदौ २३ र २४ को आन्दोलन ऐतिहासिक बन्यो । तर, आन्दोलनकर्ता न विगतमा संगठित थिए, न अहिले नै संगठित भएका छन् । परिणाम उनीहरूको उद्देश्य, कर्म र प्रतिफलबीच व्यापक बेमेल कायमै छ ।   जेनजीहरूको उद्देश्य सिंहदरबार, संसद, अदालत जलाउने थिएन । सरकारको विरोध गर्दा नागरिकका घरमा र व्यावसायिक प्रतिष्ठानमा तोडफोड गर्ने, चोरी गर्ने, आगो लगाउने उनीहरुको रणनीति थिएन । तर, भयो त्यही ।  वर्तमान स्वरूपमा मन्त्रिपरिषद् जेनजीहरूको माग थिएन। मध्यावधि निर्वाचन उनीहरूको माग थिएन । तर, भयो त्यही ।  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग जेनजीहरूको थियो । त्यो पूरा भएन । सुशासन उनीहरूको मुख्य माग थियो । वर्तमान मन्त्रिपरिषदबाट सुशासनको संकेत मिलेको छ ।  तर मन्त्रिपरिषद् मात्र सरकार होइन । मन्त्रिपरिषदबाहेक सरकारका सबै संरचना पुरानै छन् । पात्रहरू पुरानै छन् । कार्यशैली पुरानै छ । पुरानै पात्र र संरचनाबाट सुशासन र सेवाको स्तरवृद्धि दिगो हुने सम्भावना छैन ।  राजनीतिक नेतृत्वमा पुस्तान्तरण जेनजीहरूको माग थियो । राजनीतिक त्यसको प्रभाव अत्यधिक छ । यद्यपि नतिजा आइसकेको छैन ।  जितेको पक्ष नै कमजोर आन्दोलन शुरु भएको २४ घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । सरकार ढल्यो । आन्दोलनले सबैभन्दा छोटो समयमा सरकार ढालेको संसारमै नयाँ रेकर्ड बन्यो ।   तर सरकार ढलेपछि पराजित पक्षभन्दा विजयी पक्ष छिटो तितरवितर भएका छन् । उनीहरू कति असंगठित छन् र छरपस्ट भएका छन् भन्ने विषय सामाजिक सञ्जालमा छर्लङ्ग देखिएको छ । जीनजीहरूबीच लक्ष्य, उद्देश्य, कार्यक्रमका बारेमा जति मतभेद छन्, त्यो भन्दा बढी व्यक्ति व्यक्तिबीच छेडखानी र मुक्कामुक्कीका भिडियोहरू भाइरल बन्दै गएका छन् ।   उनीहरूको संगठन नहुनु, नेतृत्व नहुनु, साझा विचार नहुनु, विचार कार्यान्वयन गर्ने योजना र संरचना नहुनु नै मुख्य समस्या हो ।  यो समस्या उनीहरूले नबुझेका पनि छैनन् । तर फेरी पनि उनीहरू संगठित भएका छैनन् । युवाको नेतृत्व रहने र आम मानिसलाई संगठित गर्ने राजनीतिक दलको खाका दिन यतिबेलासम्म जेनजीहरू चुकेका छन् ।  आगामी निर्वाचनमा भाग लिन दल दर्ता गर्न निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको समय दिएको छ । त्यसअघि नै नयाँ दलहरू दर्ता हुने अपेक्षा गर्न सकिन्छ ।  काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सहित सामाजिक सञ्जालमा चर्चित अनुहारहरू संगठित भएर एउटा दल दर्ता भयो भने त्यसले निर्वाचनमा उल्लेख्य मत पाउन सक्छ । तर नयाँ दल धेरै आए भने तिनीहरूको प्रभाव स्वतन्त्र उम्मेदवारभन्दा बढी हुने छैन ।  शंकामा निर्वाचन लामो इतिहास, श्रङ्खलाबद्ध विचार र देशभरकाे संगठन भएका नेपाली कांग्रेस र नेकपा एमालेले आगामी निर्वाचनबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । यी दलहरू आगामी चुनावमा भाग लिन्छन् कि लिँदैनन् भन्ने अझै प्रष्ट छैन ।  दुवै पार्टी जेनजी आन्दोलनबाट परास्त सत्ताका साझेदार हुन् । दुबै पार्टीको लोकप्रियता निकै खस्किएको छ । फागुन २१ को निर्वाचन परिणामबाट आफ्नै वैधानिक शक्ति निकै क्षय हुने भय दुवै पार्टीमा व्यापक छ ।   नेकपा माओवादीले निर्वाचनमा भाग लिने जनाएको छ । संविधान निर्माण हुँदादेखि आफूहरूले उठाएका मागहरु जेनजी आन्दोलनबाट मुखरित भएपछि माओवादी नेतृत्व चुनावमा जान हौसिएको छ । यद्यपि उसको लोकप्रियता पनि खस्किएकै छ ।   यी तीनवटै दलका शीर्ष नेताहरूलाई पद त्याग गर्न जेनजी आन्दोलनको दबाब परेको छ । पार्टीभित्र पनि यस्तो दबाब बढ्दैछ । तीनवटै दल गुटगत द्वन्द्वको दलदलमा फसेका छन् ।  नेतृत्व हस्तान्तरणका लागि तीन वटै दलभित्र महाधिवेशनको माग छ । चुनाव अगाडि महाधिवेशन गर्दा त्यसले धेरै समय खाने, नेतृत्वबीच प्रतिस्पर्धा हुने, पराजित पक्षले चुनावमा पार्टीलाई जिताउन मिहिनेत नगर्ने जोखिम छन् । चुनावपछि महाधिवेशन गर्दा बुढो र भ्रष्ट नेतृत्व भनेर पार्टीले हार बेहोर्ने जोखिम पनि छ । यी समस्याहरू तीनवटै दलमा उत्तिकै छन् ।  विघटित संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारी ठगी प्रकरणमा जेलमा परेका सभापति रवि लामिछानेको डुंगामा सीमित छ । चुनावअघि नै उनले अदालतबाट सफाइ पाए भने यो पार्टी पुरानो विरासत जोगाउन सक्छ । उनी जेलमा हुँदासम्म यो पार्टीले गति लिने छाँटकाँट छैन ।  जेनजी पुस्ताबाट एउटा मात्र नयाँ दलको उदय भयो भने त्यसको प्रभाव व्यापक हुनेछ । पुराना राजनीतिक दलबाट वाक्कदिक्क भएका र शासन प्रणाली नै सुधार गर्न चाहने मतदाताहरूले नयाँ पार्टीलाई भोट दिनेछन् । त्यसले रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सिध्याउने छ । कांग्रेस र एमाले २०६४ सालमा झैं निकै खुम्चनेछन् । माओवादी पनि खुम्चनेछ ।  प्रभावशाली नयाँ दलको उदय भएन भने आगामी निर्वाचनमा प्रतिशतका हिसाबले सबैभन्दा बढी रास्वपाले नतिजामा सुधार ल्याउने छ । दोस्रो सुधार माओवादीको हुनसक्छ । सबैभन्दा धेरै एमालेले गुमाउने छ । कांग्रेस र राप्रपाको साइज पनि विघटित संसदको भन्दा कमजोर हुनेछ ।  फागुन २१ मा हुने निर्वाचनमा व्यापक पराजयको जोखिम विश्लेषण गरिरहेको एमाले र कांग्रेस वर्तमान सरकार विरुद्ध अदालत जाने, निर्वाचनलाई धकेल्ने, वर्तमान सरकारलाई असफल बनाउने, जेनजीलाई गलाउने, उनीहरूप्रतिको जनविश्वास गिराउने, अन्तिममा अदालतबाट वा राष्ट्रपतिबाट संसद पुन: स्थापना गराउने र २०८४ मा मात्र निर्वाचन गराउने दिशामा लाग्ने संकेतहरू देखिन थालेका छन् ।  जेनजीको प्रतिनिधिका रूपमा सुदन गुरुङका गतिविधिहरूले पनि निर्वाचन भाँड्न नै मद्दत गर्दैछ । तत्काल शीर्ष नेताहरूको गिरफ्तारीको माग, संवैधानिक अंगका पदाधिकारीहरूको राजीनामा, न्यायाधीशहरूको राजीनामाका लागि सडकबाट दिने दवावहरूले निर्वाचन भाँड्न र वर्तमान सरकारको आयु लम्ब्याउन मद्दत गर्छ । यस्तो अवस्थाले देशलाई अनिश्चियतिर धकेल्नेछ । वर्तमान संविधानले पनि काम गर्दैन । जेनजी आन्दोलन पनि विध्वंशात्मक घटनामा रूपान्तरित हुन्छ । देशलाई नयाँ दिशामा लैजानेतर्फ तयार भएका आधारहरू मासिनेछन्।

दसैँमा यसरी गरौं खानपान व्यवस्थापन

दैनिक जीवनमा स्वस्थकर खानेकुराको निकै महत्त्व छ । अन्न भनेको जीवन हो । जसरी श्वास फेर्न वायु चाहिन्छ, त्यसैगरी शरीर धान्न, शारीरिक र मानसिक रूपमा स्वस्थ रहन स्वस्थ खानेकुराको जरुरत पर्छ । जस्तो किसिमको अन्न खाइन्छ हाम्रो मन पनि त्यस्तै हुन्छ । मानसिक रूपमा स्वस्थ, अस्वस्थ रहने कुरा पनि हाम्रो खानेकुराले निर्धारण गर्छ । बच्चा आमाको पेटमा हुँदादेखि नै खानाको महत्त्व छ । आमाले जे खान्छिन्, बच्चाले त्यही खान्छ । उनले स्वस्थकर खाइन् भने भ्रुणले पनि त्यही पाउँछ र पछि स्वस्थ बच्चा जन्मिन्छ । मान्छेलाई मात्र होइन, जीवजन्तु तथा बिरुवालाई समेत खाना चाहिन्छ । खानाबिना हामी बाँच्न सक्दैनौँ । केही योगीहरू हुन्छन् जो केही वर्षसम्म नखाएर बसेका हुन्छन्, यो अपवाद हो ।  स्वस्थकर खानेकुरा  हामीले दैनिक जीवनमा खाँदै आएको दालभात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी स्वस्थकर खानेकुरा हो । आफूले घरमा पकाएर खाइने खानेकुराहरू प्रायजसो सबै स्वस्थ नै हुन्छ । विभिन्न किसिमका सलाद, फलफूल पनि स्वस्थकर नै हुन्छन्  । आलुको तरकारी हामी सबै जनाले खान्छौं । तर त्यही आलु जब फ्रेन्च फ्राइको रूपमा खाइन्छ, बारम्बार एउटै तेलमा पकाइन्छ भने त्यो  अस्वस्थकर हुन्छ । यस्तै रोटी, दाल, चामल अथवा सेल तथा पुरी स्वस्थकर खाने कुरा हो । तर, त्यही सेल तथा पुरीलाई एउटै तेलमा बारम्बार पकाएर खायो भने त्यो पनि अस्वस्थकर हुन्छ । स्वस्थकर आटाबाट रोटी बन्छ । त्यही आटालाई फेरि मैदा बनाएर अन्य किसिमको पत्रु खाना बनायो भने त्यो अस्वस्थकर हुन जान्छ । स्वस्थकर खाने कुरालाई पनि कस्तो प्रकारले बनाइन्छ र त्यो कसरी अस्वस्थकर हुन जान्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।  दसैँको बेला मासु कम खाने  पहिले मासु खानलाई दसैँ नै पर्खिनु पर्थ्यो । हामी सानो हुँदा आज भन्दा ५०/५५ वर्ष अगाडि दसैँ आएपछि मासु खान पाइन्छ भनेर हामी निकै खुसी हुन्थ्यौँ । अरूको घरमा गएपछि मासु खान दिन्छन्, मासुभात, मासु चिउरा दिन्छन् भनेर खुसी भइन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन, हुनेहरू दिनहुँ मासु खान्छन् । तैपनि दसैँ भनेपछि फेरि यस्तो संस्कृतिसँग जोडिएको छ कि दसैँ र मासु भने त्यसलाई छुट्याउनै सकिँदैन । कसैले घरमा खसी काट्छन्, कति जनाले बाहिरबाट किनेर ल्याउँछन् अघिपछिको समयभन्दा दसैँमा अझ बढी मासु खाने चलन छ । दसैँको बेलामा मासुका विभिन्न परिकारहरू बनाइन्छन् । यस्तो बेला मेरो पेटलाई कति चाहिन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ । आफ्नो पेटले जति सक्ने हो त्योभन्दा बढी मासु खाने अथवा बिहानदेखि बेलुकासम्म अथवा विभिन्न ठाउँहरूमा जाँदा सबैको घर-घरमा मासु-भात, मासु-चिउरा, विभिन्न किसिमका मासुका परिकारहरु खाने गर्दा समस्या पर्न सक्ने हुनाले जिब्रोलाई अलिकति लगाम दिनुपर्छ ।  मासुमा रेसादार तत्व नभएको हुनाले मासु धेरै खाँदा कब्जियत हुनसक्ने सम्भावना हुन्छ । दुई/तीन टुक्रा मासु खाँदा हरियो तरकारी, काँक्रो, विभिन्न किसिमका सलादहरू पनि प्रयोग गर्नै पर्छ । अहिले विभिन्न किसिमका स्वास्थ्य समस्या भएका व्यक्तिहरू धेरै छन् । उनीहरूले खानेकुरा खाँदा ख्याल गर्नुपर्छ । कस्तो किसिमको खाने कुरा कति खाने भन्ने कुरा आफ्ना चिकित्सक सल्लाह अनिवार्य लिनुपर्छ । कसले कति खाने ? खानेकुरा कुन व्यक्तिले कति खाने भन्ने कुरा त्यत्तिकै भन्न सकिँदैन । कसको शरीरले कति खानेकुरा पचाउँछ भन्ने कुरा मान्छेको शरीर अनुसार फरक पर्छ । दिनभर काम गरेर खाने, बसेर खाने वा शारीरिक काम गर्नुपर्ने वा मानसिक काम गर्नुपर्ने व्यक्तिमा पनि फरक पर्छ । आयुर्वेद विज्ञान र अहिलेको आधुनिक विज्ञानले के स्पष्ट रूपमा सिद्ध गरेका छन् भने हामीलाई जति भोक लाग्छ, त्यसको ८० प्रतिशत मात्रै खानुपर्छ । आयुर्वेदले हजारौं वर्ष पहिले नै भनेको कुरा जसलाई अहिले आधुनिक विज्ञानले प्रमाणित गरेको छ । अहिले नेपालमा नसर्ने रोगहरू जसरी बढिरहेको छ, त्यसको प्रमुख कारण अस्वस्थ जीवनशैली र अस्वस्थकर खानेकुरा हो । म जहिले पनि जहाँ पनि भन्ने गर्छु हाम्रो पाँच, साढे पाँचदेखि छ फिटको शरीरलाई सानो दुई/तीन इन्चको जिब्रोले धोका दिइरहेको छ ।  आफ्नो शरीरलाई स्वस्थ बनाउन चाहने हो भने जिब्रोलाई नाइँ भन्न सक्नुपर्छ । त्यसको अर्थ फेरि मीठोमसिनो नखाने भनेको होइन, तर आफूलाई अलिकति संयम गर्न सिकियो भने दसैँतिहार मनाएपछि काममा जाँदा पनि एकदम आनन्दको अनुभूति हुन्छ । दसैँतिहारमा मज्जासँग खाँदा पेट गडबड हुँदा विभिन्न किसिमका समस्या देखा पर्यो भने काममा जान पनि सकिँदैन । त्यसैले भविष्यको विचार खानेकुरा खानुपर्छ ।  कवाडी खाना  अहिले बजारमा आएका जंकफुडहरूलाई म पत्रु खानेकुरा भन्छु । जसमा नुन, चिनी बढी हुन्छ,  त्यसले हाम्रो शरीरलाई बेफाइदा गर्छ । पत्रु भनेको कवाडी खाना हो । जसले शरीरमा कुनै पनि पौष्टिक तत्वहरू दिँदैन । विभिन्न किसिमका सूक्ष्म पोषक तत्वहरू दिँदैन । त्यसलाई म पत्रु खानेकुरा अथवा कवाडी खानेकुरा भन्छु । जिब्रोले चाहिँ मीठोमीठो मान्ने तर शरीरलाई एकदमै बेफाइदा गर्छ । बालबालिकाहरूलाई पनि आमाबुबाहरूले ‘ल खाऊ’ भनेर दिइरहेका हुन्छन् ।  तर, आमाबुबाहरूले के विचार गर्दैनन् भने एकछिनको जिब्रोको स्वादले पछि कति असर पार्छ भनेर । त्यसमा कसरी नकारात्मक असर पार्न सक्छ । यो विषयमा थुप्रै अध्ययनहरु पनि भएका छन् । शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यमा पनि समस्या पर्छ ।  मैले ३/४ वर्ष अगाडि एउटा तालिम लिएको थिएँ । तालिममा जाँदा मानसिक रोग विज्ञहरूले अस्वस्थकर खानेकुराहरूले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ भनेर भन्नु भएको थियो ।  ‘न्युट्रिसन एण्ड साइक्याट्रिक डिसअर्डर’ अथवा मानसिक स्वास्थ्य समस्याहरू पर्दा खेरि कसरी भोजनले यसमा प्रभाव पर्न सक्छ भन्ने बारेमा लेखेको एउटा किताब छ । त्यसले पनि हामीले खाने खानेकुराले शरीरलाई मात्र नभइ मानसिक रूपमा पनि असर पर्छ भनेको छ ।  पेट सफा भए सबै रोग टाढा ‘पेट सफा तोे हर रोग दफा’ पहिलेका बुढा पाखाले भनेको सुनिन्थ्यो । अहिलेको विज्ञानले यो सिद्ध पारेको छ । पेटको स्वास्थ्य स्वस्थ राख्नु भनेको हामीले स्वस्थ्यकर खानेकुराहरू खानु हो । रेसादार तत्व भएका खानेकुरा सूक्ष्म पोषक तत्व भएका खानेकुरा खानु हो । रेसाधार खानेकुराले जुन अघि मैले भने नि किटाणुहरू, मासु खाँदा रेसादार तत्व भएन भने पेटमा समस्या पर्छ । त्यसकारण दसैँतिहारमा माछा मासु खाँदा रेसादार तत्व भएका खानेकुराहरू जस्तै-सब्जी, तरकारी, टुसा उमारेका खानेकुराहरू प्रयोग गर्नुपर्छ ।  पहिले र अहिलेको खानपानमा आकाश जमिनको फरक छ । हामी सानो हुँदा अहिलेको जस्तो बिस्कुट, चाउचाउ लगायतको जंकफुड थिएन । खानेकुरा दाल, भात, तरकारी थियो । दिउँसोको खाजामा पनि भुटेको भात, चना, आलु, रोटी, दही चिउरा खाइन्थ्यो । दसैँमा पनि अम्बा र नास्पाती फल्ने समय भएकाले धेरै फलफुलहरू ल्याइन्थ्यो । घरमै बनाएको स्वस्थकर खानेकुरा खान्थ्यौँ । त्यही बेलाको खानेकुरा खाएको हुनाले होला म ६८ वर्षको उमेरसम्म पुग्दा अहिलेसम्म नसर्ने रोग लाग्न पाएको छैन । अब भोलि के हुन्छ थाहा छैन तर अहिलेसम्म मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, घुँडा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, यस्तो किसिमको समस्या भएको छैन । अहिले फलफूल सलादभन्दा बढी मदिरा र मासु हुन्छ । मदिरा नखानेहरू कोकाकोलाजस्ता पेयपदार्थहरू लिएर मासु खाने चलन बढी छ । घरभित्र भान्छामा पकाएको  खानेकुरा भन्दा आजभोलि बजारको खानेकुरा दसैँमा बढी हुन्छ  । यस्ता खानेकुराले भोलिको दिनमा ठूलो समस्या निम्त्याउन सक्छ । सबै जनाले एकदम रमाइलोसँग दसैँ मनाउनुहोस् । दसैँ तिहार मनाएपछि पछि पनि आफ्नो स्वास्थ्य राम्रो रहोस् भनेर खानपिन गर्नुहोस् ।  स्वास्थ्य जीवनशैलीमा, योगासन, व्यायाममा चाहिँ ध्यान दिनुहोस् ।  (पोषणविद डा. अरुणा उप्रेतीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)