अन्तरिम सरकार र ओलीमाथिको नियन्त्रण
सरकारले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यकाको चार भञ्ज्याङभित्र सीमित गर्ने निर्णय गरेपछि राजनीतिक वृत्त तातिएको छ । प्रमुख विपक्षी दलका नेतामाथि यस्तो आवागमन प्रतिबन्ध लाग्नु सामान्य प्रशासनिक प्रक्रिया मात्रै होइन । यो सत्ताको डर, नियन्त्रण र असुरक्षाबीचको द्वन्द्वको स्पष्ट संकेत हो । नेपाल अहिले राजनीतिक र संस्थागत रूपमा अस्थिर मोडमा छ । सत्ता अस्थायी छ । प्रशासन कमजोर छ । सुरक्षा संयन्त्रहरू आफ्नै नियन्त्रणमा छैनन् । यस्तो अवस्थामा सुरक्षाको नाममा गरिएका राजनीतिक निर्णयहरूले शासनप्रतिको विश्वास झनै कमजोर बनाएका छन् । ओलीमाथिको नियन्त्रणको कदमले सत्ताले आफ्नो असुरक्षा विपक्षीमा देखिरहेको प्रमाणित गरेको छ । यति बेला देशका वास्तविक चुनौती अरू नै छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार हालसम्म नौ सयभन्दा बढी इन्सास र एसएलआर जस्ता घातक हतियार प्रहरीको नियन्त्रणबाट बाहिर छन् । तीमध्ये धेरै राजधानी वरपरका क्षेत्रमा रहेको अनुमान गरिएको छ । यसैबीच जेलब्रेक आन्दोलनपछि करिब पाँच हजार कैदी फरार छन् । जसमा छ सयजना विदेशी नागरिकसमेत छन् । तीमध्ये केही अन्तर्राष्ट्रिय अपराध सञ्जाल र शार्प सुटर समूहसँग आबद्ध रहेको बताइएको छ । यसरी राज्यका हतियार र अपराधी दुवै नियन्त्रणबाहिर हुँदा सरकारको ध्यान सुरक्षा सुदृढीकरणभन्दा पनि राजनीतिक व्यक्तित्व नियन्त्रणमा केन्द्रित हुनु गम्भीर विडम्बना हो । लोकतन्त्रमा विपक्षी दल र नेताहरूको स्वतन्त्रता नै सत्ताको सहनशीलताको मापक मानिन्छ । जब सत्ताले त्यो स्वतन्त्रता सीमित गर्न थाल्छ, लोकतन्त्रको मूल्य घट्न थाल्छ । ओलीजस्ता पटक पटक प्रधानमन्त्री भइसकेका व्यक्तिमाथि आवागमन हद तोकिँदा सरकारको प्राथमिकतामा सुरक्षा होइन, नियन्त्रण हो भन्ने सन्देश गएको छ । राजनीतिक रूपमा ओली अहिले पनि चर्चित नेतामध्ये एक हुन् । उनको उपस्थितिले संगठनमा ऊर्जा ल्याउँछ । सत्तालाई चुनौती दिन्छ । र जनमतमा असर पार्छ । यही कारण सायद सरकार असहज बनेको छ । उनलाई स्थान हद तोकेर राज्यसत्ताले अहिले चैनको सास फेरेको छ । लोकतान्त्रिक शासन सधैं आलोचनाबाट बलियो बन्छ भन्ने सत्य बिर्सिएर अन्तरिम सरकार नियन्त्रणमा लागेको छ । निर्वाचन गराउने एकमात्र म्याण्डेट प्राप्त सरकार निर्वाचनको तयारीमा लाग्नुभन्दा दलहरुलाई नियन्त्रणमा लिने प्रयासमा लाग्नु कुनै कोणबाट पनि राम्रो संकेत होइन । लोतन्त्रमा सत्ताले विरोध सहन सकेन भने त्यहाँ शासन होइन, केवल डरको संरचना हुन्छ । र त्यहाँ निरंकुशतातिर बाछिटाहरू देखिन थाल्छन् । अहिलेनै सुशीला कार्की नेतृत्वको सरकार निरंकुश भयो त भनी नहालौं तर संकेत त्यस्तो देखिएको छ । यो खतराको घण्टीको पूर्वाभास भने पक्कै हो । यतिखेर सुरक्षाको अवस्था भयावह छ । राज्यका हतियार हराइरहेका छन् । जेलहरू असुरक्षित छन् । अपराधको सञ्जाल फैलिँदो छ । यस्तो परिस्थितिमा सरकारको पहिलो दायित्व जनताको सुरक्षा सुनिश्चित गर्नु हो । तर सत्ताले त्यसको साटो प्रमुख विपक्षी नेता नियन्त्रणमा राख्ने अभ्यास देखाएको छ । यसले लोकतान्त्रिक नैतिकता मात्र होइन, राज्यको प्राथमिकता पनि प्रश्नमा पारिदिएको छ । अबको अर्को प्रश्न यस्तो असुरक्षा र अविश्वासबीच निर्वाचन सम्भव छ ? सरकार निर्वाचनका मुख्य स्टेक होल्डर राजनीतिक दलहरूसँग संवादको साटो दूरी कायम गर्नमै उद्धत देखिन्छ । सरकारले मिति घोषणा गरे पनि निर्वाचन केवल मितिले सम्भव हुँदैन । त्यसका लागि शान्त वातावरण, निष्पक्ष प्रशासन र नागरिकको विश्वास चाहिन्छ । तर, अहिले ती तिनै पक्ष संकटमा छन् । एमालेले हाल व्यक्त गरेको संशय यही पृष्ठभूमिमा व्याख्या गर्न सकिन्छ । जब सुरक्षाकर्मीका हतियार हराइरहेका छन् । हजारौं कैदी फरार छन् । प्रमुख नेता निगरानीमा छन् । त्यस्तो अवस्थामा स्वतन्त्र र निष्पक्ष मतदान कसरी सम्भव हुन्छ ? यो स्थिति केवल एमाले वा ओलीको समस्या होइन । यो सम्पूर्ण प्रणालीको संकट हो । राज्यले शान्ति सुरक्षा कायम गर्नुभन्दा उल्टो विपक्षीमाथि दोषारोपण गरेर ध्यान मोड्ने प्रवृत्ति देखाएको छ । सरकारलाई यति जानकारी होला असुरक्षा ढाकछोप गरेर शासन बलियो हुँदैन । यसकारण सरकार आरोप या प्रत्यारोपमा लाग्नुभन्दा सुरक्षाको प्रत्याभूति दिलाउन सचेत हुनु राम्रो हुन्छ । शान्ति र स्वतन्त्रता एकैसाथ चल्ने दुई पाङ्ग्रा हुन् । एक टुक्रियो भने अर्कोले देश अगाडि बढाउन सक्दैन । नेपाल अहिले डरको राजनीतिको फन्दामा परेको छ । शक्ति प्रयोग गरेर आलोचना थाम्ने, विरोध दबाउने र असहमति नियन्त्रण गर्ने प्रवृत्ति बढ्दै गएको छ । यो अभ्यास लोकतान्त्रिक संस्कृतिको जरोमाथिको चोट हो । जसले लोकतान्त्रिक रुखको हरियाली मेटाउँछ । राज्यले आफ्नो डर विपक्षी नेतामा होइन, अपराध र असक्षम प्रणालीमा देख्नुपर्ने हो । तर अहिलेको अभ्यास ठीक उल्टो छ । सत्ताले विपक्षीलाई नियन्त्रण गरेर सुरक्षाको भ्रम सिर्जना गर्दैछ । यो भ्रम लामो समय टिक्दैन । किनभने राज्यको शक्ति डरले होइन, वैधानिकता र न्यायले टिक्छ । नेपाल फेरि एउटा संक्रमणको दोबाटोमा उभिएको छ । एकातिर नियन्त्रण र असुरक्षा, अर्कोतिर स्वतन्त्रता र जिम्मेवारी देखिन्छ । सरकारले जिम्मेवारी लिनुको साटो नियन्त्रणको प्रयास गरिरहेको छ । यदि सरकारले आफ्नो प्राथमिकता पुनः परिभाषित गर्न सकेन भने यसले श्रृजना गर्ने राज्यविहीनताको अवस्था भयावह हुनसक्छ । सुरक्षा सुदृढीकरण, फरार कैदी नियन्त्रण, नागरिक विश्वास पुनःस्थापना र राजनीतिक सहमति सरकारका प्राथमिकता हुनुपर्ने हो । तर, सरकारले ओलीलाई नियन्त्रण गरेर उल्टो डुंगा बगाउने दुष्प्रयास गरेको छ । यो अवस्थामा न निर्वाचन विश्वासिलो हुनेछ न लोकतन्त्र स्थिर । यसैले सरकारले समय छदै सोच्नु उपयुक्त हुनेछ । किनभने वर्तमान सरकार र राजनीतिक दलहरू एउटै डुंगाका यात्री हुन् । एक डुब्दा अर्को नडुब्ने भन्ने हुँदैन । अध्यक्ष ओलीमाथिको आवागमन नियन्त्रण कुनै सामान्य घटना होइन । अहिले देख्दा ओलीको नियन्त्रण गरिएजस्तो देखिए पनि यो समग्र लोकतन्त्र माथिको नियन्त्रण हो । अहिले सरकार सुरक्षाको नाममा नियन्त्रण गर्दैछ । जसलाई लोकतन्त्रको असुरक्षाको डरमा सीमित पारिँदैछ । यो कुनै कोणबाट पनि उपयुक्त हुँदैन । लोकतन्त्र डरले होइन, स्वतन्त्रताले बाँच्दछ । राज्यले यदि साँचो अर्थमा जनताको विश्वास जित्न चाहन्छ भने उसले आफ्ना प्रतिद्वन्द्वी होइन, आफ्ना कमजोरी नियन्त्रण गर्नुपर्छ । अहिलेको चिन्ता हतियार हराउने मात्रै होइन, नीति हराउने डरको पनि रहेको छ । जेलबाट कैदी भाग्नेसँग मात्रै होइन, संविधानको मर्म भाग्ने भय रहेको छ । अहिले सत्ता नियन्त्रणमा रमाएको छ । विपक्षीले असुरक्षा महसुस गरिरहेका छन् । अनि जनता फेरी निराश हुँदैछन् । यो निराशा लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो । निराशा बोकेको र अविश्वासले दमित जनताले कुनै पनि प्रणालीमा आस्था राख्दैनन् । त्यसैले ओलीमाथिको नियन्त्रणको निर्णय कुनै एक व्यक्तिको प्रसंग होइन, यो राज्यको सोच र लोकतान्त्रिक संस्कृतिको परीक्षा हो ।
देशको रूपान्तरणका लागि सम्पत्ति सुरक्षासहित लगानी उत्प्रेरक वातावरण र ऐन नियम आवश्यक
विकासका लागि आवश्यक पूर्वाधारसहित लगानीयोग्य सुरक्षित वातावरणको प्रत्याभूति हुनुपर्छ । देशको रुपान्तरणमा नेतृत्वको दृढ संकल्प, पूर्वाधारको विकास तथा लगानी सुरक्षाको प्रत्याभूति र प्रकृयागत सहजतासहित लगानी प्रोत्साहित दीर्घकालीन नीति नियमहरूको व्यवस्था निकै महत्त्वपूर्ण हुन्छ । कम्तीमा एक दशकसम्म करका दरहरू स्थिर रहने गरी लगानी उत्प्रेरक कर प्रणाली र हडतालरहित उपयुक्त श्रम नीति नियमहरूको व्यवस्थाका साथै अग्रगामी कार्यप्रणाली सहितको जिम्मेवार राज्य संयन्त्र हुनुपर्छ । चन्दा, हडताल, तोडफोड तथा हिंसारहित स्थिर राजनैतिक प्रणाली भएमा देशमा लगानीको सुरक्षित वातावरण बन्छ । यसका साथै राज्यद्वारा उद्योगस्थलमा आवश्यक पूर्वाधारको व्यवस्था गरेर औद्योगिक वातावरणको सिर्जना गर्ने हो भने विदेश पलायन भइरहेको पुँजी राष्ट्रको समृद्धिमा उपयोग हुनेछ। औद्योगिक वातावरणको सिर्जना हुने हो भने अमेरिका, बेलायत, चीन, सिंगापुर, इन्डिया आदि देशहरू झैं नेपालमा पनि सयौं अर्ब डलरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सक्छ । तुलनात्मक रूपमा प्रकृयागत सहजता, लगानीयोग्य सरल र पारदर्शी नीति नियमहरू, लगानीको स्वागत र सम्मान हुने वातावरण, बन्द हडतालरहित श्रम नीति भएका तथा शान्ति सुरक्षा र प्रतिफल बढी हुने देशमै वैदेशिक लगानी आकर्षित हुने गरेको पाइन्छ । त्यसैले यी विषयहरूमा ध्यान दिई नीतिगत र प्रकृयागत सुधारका साथै व्यावहारिक संयन्त्रको विकास गरेर हामीले वैदेशिक लगानीको आकर्षक गन्तव्य देशको सूचीमा आफूलाई पार्न सक्छौं । विदेशी लगानी भित्र्याउने भन्दैमा नेपाली ग्राहकहरूलाई मात्र आधार बनाएर नेपालीहरूबाट फाइदा कमाएर लाभांशको रूपमा देशको ठूलो रकम विदेश लैजाने र देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरी हुने लगानीलाई स्वीकार्न सकिँदैन । नेपालीहरूको जीवनस्तर उकास्नुका साथै देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने खालका वैदेशिक लगानीलाई प्रोत्साहित गर्नुपर्छ । विदेशी मुद्रा आर्जन हुने नेपाली सीप, कला, संस्कृति र विशेष दक्षता भएका क्षेत्रहरू जस्तै नेपाली हस्तकलाका सामग्रीहरू तथा त्यसका जैविक कच्चा पदार्थहरुको उत्पादन, ट्रेकिङ, ट्राभल, पर्वतारोहण आदि उद्योग व्यवसायहरुमा विदेशी लगानी आवश्यक छैन । देशको चमत्कारिक विकासका लागि आयातलाई निर्यातमा बदल्ने गरी निर्यातजन्य वस्तुहरूको उत्पादन गर्ने उद्योगहरूमा विदेशी लगानीलाई प्रोत्साहित गरिनुपर्छ । देशको समग्र कृषि क्षेत्रको चमत्कारिक विकासमा उत्पे्ररणा हुने, अत्याधुनिक प्रविधि, औजार तथा स्थानीय स्रोत–साधनको उपयोगद्वारा कृषि उत्पादनमा क्रान्ति ल्याउने र नेपाली कृषकहरूको उत्पादन खरीद गर्ने वा सीधै अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्ने गरी नेपाली कृषकको रणनीतिक साझेदारको रूपमा कृषि क्षेत्रका ख्याति प्राप्त विज्ञ विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गरिनुपर्छ । बजारको प्रत्याभूतिसहित वैज्ञानिक कृषि प्रणालीमा स्वदेशी विदेशी संयुक्त लगानीलाई प्राथमिकता दिई कृषि क्रान्तिमा यथाशीघ्र होमिनु पर्छ । नेपाली औषधी उत्पादकसँगको सहकार्यमा वनस्पतिहरूमा निहित औषधीय गुणहरू पत्ता लगाई विभिन्न किसिमका औषधीहरूको व्यावसायिक उत्पादनमा क्रान्ति ल्याउने गरी हुने वैदेशिक लगानीलाई स्वागत गरिनुपर्छ। स्वदेशी लगानीकर्तालाई कार्यक्षमता र कार्यसम्पादन पृष्टभूमिको आधारमा समय सीमा तोकेर आह्वान गर्न सकिन्छ । स्वदेशी लगानीलाई विशेष सहुलियतका साथ प्रोत्साहन गरिनुपर्छ । जलविद्युतको बृहत उत्पादन आन्तरिक खपतका साथै विदेश निर्यातका निम्ति पनि हुनुपर्छ । नेपालमा उत्पादित विद्युत औद्योगीकरण, विकास निर्माण, यातायात तथा मानव जीवनका हरेक पक्षहरुमा आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिइनुपर्छ । लगानीयोग्य सहज वातावरण र आकर्षक सेवा सुविधाहरूको व्यवस्था गरी विदेशी लगानीकर्ताहरुलाई लगानीका क्षेत्रहरु तोकेर आह्वान तथा स्वागत गरिनुपर्छ । घरायसी, कार्यालय तथा औद्योगिक प्रयोजनका यन्त्र उपकरण, निर्माणजन्य यन्त्र उपकरण र सामग्रीहरूको वृहत उत्पादनमा वैदेशिक लगानी आह्वान गर्न सकिन्छ । खानी विभागसंगको सहकार्य वा समन्वयमा तामा, फलाम, सुनचाँदी, आल्मुनियम, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, युरेनियम, रत्नपत्थर आदि खानीको उत्खननमा स्वदेशी तथा विदेशी लगानीलाई स्वागत गरिनुपर्छ । खानीजन्य तयारी वस्तु, अत्याधुनिक कृषि औजार, यातायातका साधन आदिको बृहत उत्पादनद्वारा स्थानीय आवश्यकता परिपूर्ति गर्नुका साथै उत्पादित वस्तुहरू विश्व बजारमा निर्यात गरेर खर्बौं आर्जन गर्न सकिने भएकाले यी वस्तुहरूको उत्पादनमा वैदेशिक लगानी विशेष महत्वका साथ आह्वान गरिनुपर्छ । कृषि र औद्योगिक क्रान्तिबाट छोटो अवधिमा देशको रूपान्तरण गरी विश्व समुदायमा आफ्नो हैसियत सगरमाथा झैं उँचो राख्ने पुण्य काममा यथाशीघ्र जुट्नुपर्छ । सिंगापुर, चीन, मलेशिया, दुबई आदि देशहरूको रूपान्तरणमा विदेशी लगानीको निकै ठूलो हात छ । लगानी प्रोत्साहित नीति नियमको व्यवस्था र शान्तिपूर्ण वातावरण भए पनि सडक, विद्युत, सञ्चारजस्ता पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्न कोही पनि इच्छुक हुँदैनन् । त्यसैले सिंगापुर, चीन, मलेशिया, दुबई आदि देशहरूले वैदेशिक ऋण लिएर आवश्यक भरपर्दा पूर्वाधारहरू खडा गरी लगानी आह्वान गरेका थिए । त्यसपछि मात्र ती देशहरूमा अत्यधिक वैदेशिक लगानी भित्रिएको थियो । सयकडौं बहुराष्ट्रिय कम्पनीहरू खुले र लाखौंले रोजगारी पाए । राज्यकोष सयौं गुणा वृद्धि हुँदै गयो, देशको सर्वाङ्गीण क्षेत्रको विकास हुँदै गयो र छोटो अवधिमा ती देशहरूको कायापलट भयो । कृषि तथा प्राकृतिक स्रोत सम्पदामा आधारित औद्योगीक क्षेत्रको क्रान्तिबाट देशको कायापलट गर्नको लागि हामीले पनि सोही बमोजिमको लगानीमैत्री नीति अवलम्बन गर्नुपर्छ । देशमा विद्यमान खानीहरूको आवश्यक अध्ययन अनुसन्धान गरी आर्थिक रूपले उपयुक्त खानीहरू भएका स्थानहरूमा राज्यले जतिसक्दो चाँडो सुरक्षित र टिकाउ सडकहरू तथा पर्याप्त विद्युत आपूर्तिको व्यवस्था गर्नुपर्छ । लगानीमैत्री नीति नियम र कर प्रणाली, सुरक्षित वातावरण र आवश्यक पूर्वाधारको व्यवस्था गरी लगानी आह्वान गरिएमा हाम्रो देशमा पनि विश्वभरको लगानी भित्रिन सक्छ । पूर्वाधारको विकास तथा कृषि, खानी र औद्योगिक क्षेत्रको क्रान्तिले एक दशकभित्रै हाम्रो देशको कायापलट हुन सक्छ ।
‘संस्कार र अनुशासनले बनाउँछ स्थिर पुँजी बजार’
हाम्रो जीवन बहुआयामिक छ । हामीले सन्तुलनसहित पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक जीवनलाई समय दिनुपर्छ । पेशागत जीवनमा जिम्मेवारी पुरा गर्नुपर्छ भने पारिवारिक जीवनमा परिवारसँग समय बिताउनुपर्छ । सामाजिक जीवनमा समुदाय र सम्बन्ध सुदृढ गर्नुपर्छ भने सांस्कृतिक जीवनमा पर्व र परम्परालाई सम्मान गर्नुपर्छ । नेपाल संवत् हाम्रो गौरवशाली इतिहासको प्रतीक हो । म्ह:पूजा, तिहार र छठले हामीलाई उज्यालो, आशा, संस्कार र कृतज्ञता सिकाउँछन् । यी पर्वहरूले हामीलाई धेरै ठुलो महत्व र अवसर प्रदान गरिरहेका हुन्छन् । ठीक यही मूल्य र मान्यता हामी पूँजी बजारमा पनि अपनाउन सक्छौं । विश्वास, पारदर्शिता, अनुशासन र दीर्घकालीन सोच नै स्थिर र दिगो बजारको आधार हो । यी संस्कारहरू र पर्वहरूको सामीप्यताले गर्दा सम्पूर्ण पूँजी बजारमा आबद्ध रहनु हुने लगानीकर्ताहरू, सदस्यहरू, नियामक निकाय, पूँजी बजारमा सक्रिय व्यक्तित्वहरू र सम्पूर्ण नेपालीहरूको मुहारमा खुसी ल्याओस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बजारको स्थिरता सम्पूर्ण पूँजी बजारमा आबद्ध रहनुहुने लगानीकर्ताहरू, सदस्यहरू, नियामक निकाय, पूँजी बजारमा सक्रिय व्यक्तित्वहरूको सहकार्यमा निर्भर गर्दछ । ब्रोकर एसोसिएसन पनि हाम्रो बजारको मेरुदण्ड हो । तपाईंहरूको निष्ठा, ज्ञान र सेवा बिना बजार दिगो रहन सक्दैन । सकारात्मक लगानी, संस्कृतिको विकास केवल नियम र प्रणालीबाट होइन, हाम्रो व्यवहार, सोच र समर्पणबाट पनि निर्भर गर्छ । पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक जीवनमा सन्तुलन आवश्यक छ । पेशागत जिम्मेवारीले अनुशासित बनाउँछ । पारिवारिक जीवनले संवेदनशील र सहयोगी बनाउँछ । सामाजिक जीवनले जिम्मेवार र समर्पित बनाउँछ । सांस्कृतिक जीवनले उत्साह, आशा र उज्यालो दिन्छ । यी चारै आयाम सन्तुलनमा हुँदा जीवन मात्र सफल हुँदैन, हाम्रो पेशागत क्षेत्र र पूँजी बजार पनि बलियो र पारदर्शी हुन्छ । महस्पूजा, तिहार, छठको उज्यालो, आशा र कृतज्ञता बजारका लागि प्रेरणा हो । अन्धकारभन्दा उज्यालो रोजौं, नकारात्मकता होइन, विश्वास र पारदर्शिता कायम राखौं । व्यक्तिगत र सामाजिक जिम्मेवारी बुझौं, हरेक कारोबारमा अनुशासन र इमानदारी कायम राखौं । संस्कृति, अनुशासन, इमानदारी, पारदर्शिता र दीर्घकालीन सोचसँगै अघि बढ्दा मात्र बजार स्थिर, दिगो र सशक्त बन्न सक्छ । नेपाल ब्रोकर्स एसोसिएसनलाई यस कार्यक्रम आयोजना र बजार विकासमा देखाएको निरन्तर सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । (स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) ले आयोजना गरेको दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको मन्तव्य)