माटोको खत

पूरानो दिनका स्मृतिमा पारिवारिक कुराकानी चल्दै थियो । बिर्सन नसकिएका, मनमा गडेर आसन जमाएर बसेका सन्दर्भ उप्किएका थिए । मनमा बसेका खाटाको यादले उहिल्यै सामसुम भएको भल फेरि उर्लिँदो रहेछ । बग्न लागेको भल सुसाइरहन स्वयंको हिम्मत र सामुन्नेवालाको धैर्यता चाहिँदो रहेछ ।  खाना खाइवरी बेलुका अबेरसम्म विगततिर फर्किँदै गफिँदा पाकापुस्ताको भावभंगीले यसै भन्थ्यो । उनीहरू कुरा उप्काउँथे अनि बीचैमा मोडिदिन्थे । सायद त्यो आँट र धैर्यता अब बाँकी थिएन । अरूको मनभित्रका डाम देख्ने र त्यसको नापो लिने ताकत सायद भगवानले मानवचोलाका कसैलाई दिएका छैनन् । शरीरमा बसेका खाटा सबैले देख्ने रैछन् । जति पुरानो भए पनि खतको डाम उस्तै, उत्रै ।  मामाघरकी मेरी बज्यैले मेरा बारेमा भनेकी थिइन् – ‘आ...यो क्या सम्झला त, त्यति नानो माण्ठ । त्यही बेलाआ... कुडा । यैको नाडीको डामको नापो आफै बोल्लो ।’  म जन्मेको पहाडको सम्झना ४ वर्षको बालक मनले खासै राख्न सकेन । सामान्य स्मृति मात्र आउँछ । मेरो घरको चुल्हो, ओटालो, ओटालोबाट देखिने ओखरको रुख, घरछेउको नासपातीको बोट, पल्ला टोलको मामाघर जाने त्यो पहाडको डिलैडिलको बाटो, बीचमा पर्ने पानीको ढल, रुँदै पर्खेर उभिएको देखेर मलाई तारिदिने मैले बिर्सिएका ती आफन्त, हिलोमा झरेका ओखर र मामाघरमा बज्यैले ख्वाउने दूधभातका पल धमिलै सही सानै मनदेखि नबिर्सिने गरी गढेका छन् ।  मन कमलो भुवा झैं भएर बहकिएका बेला भुरुरु ती यादहरू फर्कीफर्की आइरहन्छन् । तराई झरेपछि विस्तारै मेरो उमेर अनुसारका स्मृतिका छाप मनमा प्रष्ट हुने नै भए । सानो उमेर भए पनि सायद मानिसले नदेखिने मनको चोट होस् वा देखिने जीउको चोटका सन्दर्भ चटक्क बिर्सन सक्दो रहेनछ ।  मैले मेरो हात अगाडि सार्दै भनेको थिएँ– ‘यी मेरो पुरानो सम्झना ।’ बज्यैले मेरो दाइने हातको नाडीमा रहेको खतको सन्दर्भ जोडेकी थिइन् ।  बर्दियाको राजापुर क्षेत्र । राजापुर भित्रको एक गोला । त्यही गोलाको खोनपुर । कर्णाली नदीको दुई भङ्गालोले घेरेको छ– बर्दियाको राजापुर क्षेत्रलाई । थारु समुदायबीच भौंरा टप्पुको नामले पनि चिनिन्छ । तत्कालीन एघार गाविसको राजापुर इलाकालाई श्रीलंकाको टापुका रूपमा पनि चिनाउने चलन छ । उत्तर चिसापानीमा कर्णालीको दोभान छ भने दक्षिणतर्फ भारतको जङ्गली फाँट छ । यसैभित्र उत्तरतर्फ पर्छ– गोला । त्यसको दक्षिण क्षेउमा पर्छ खोनपुर ।  यहाँ मेरो पाहुना अवधि सकिन नपाउँदै मैले ठूलै खतको चिनो पाएको थिएँ । अचेलजस्तो उपचार चेत र यातायात सुविधा भए नेपालगन्ज पुर्याएर भए पनि घाउमा टाँका लगाइदिँदा हुन्, बुवाले । मामा पनि साथैमा जाँदा हुन् । टिटानसको सुई लगाइदिँदा हुन् । तर, भर्खर औल झरेका, के खाऊँ ? के लाऊँ ? बेलाका बाआमालाई त्यस्तो चेत कसरी आउनु ? अनकन्टार जस्तो चारैतिर कर्णाली नदीले घरेको गाउँबाट नेपालगञ्ज जानु कहाँ सजिलो थियो र ? कैयौं घण्टा पैदल हिँडेर, कोठियाघाटको कर्णाली नदीमा डुङ्गा तरेर, भारतको कतर्निया हुँदै बस समातेर नेपालगन्ज पुगेर उसैगरी फर्कनु समय, पैसा सबै हिसावले त्यसबेला निकै कहालीलाग्दो यात्रा हुन्थ्यो ।  मनमा चेत आएर पनि कसरी नेपालगञ्ज लानु ? मलाई सम्झना छ, भाँगो निचोरेर बज्यैले रस चुहाइदिएको । अनि निचोरेका भाँगाकै पातको मल्हम जस्तो थुप्रो पारिदिएको ।  नाडीको घाउ त केही दिनमा बिसेक भयो तर, नमेटिने ठूलै खतको साइनबोर्ड चाँहि टाँगेर गयो । उमेरसँगै नाडीको आकार बढ्यो । अनि खतले पनि सँगै आफ्नो भागको आकार बढायो । जुन मैले साथमै बोकेको छु । जीवनपर्यन्त यो साथमै रहने छ । आसपासका खोला, नदी, घर, आफन्त, परिवार, साथीभाइ छुट्लान् तर यो खतले छोड्ने छैन । मेरो शरीरबाट उड्ने धुँवा र खरानीले मात्रै सायद मेट्न सक्नेछ यो चिनो ।  ४ वर्षको कलिलो हातको नाडीमा भरखर धार लगाएको बासोले छ्याक्क काटेको थियो । घाउ कत्रो थियो होला ? नशा काटिए होलान् कि नाइँ ? निको कसरी भयो होला ? काटिएको भए नशा कसरी आफै जोडियो होला ? कति दिनमा निको भयो होला ? अहिले यही खतको गाढा निशानी र धीमा याद मात्रै साथी छन् । ४ वर्षको चिचिलो उमेरका सबै कुरा जस्ताको तस्तै ४० कटिसक्दासम्म याद होस् पनि कसरी ? खासमा बेहोशी अघिको अवस्था जस्तो यादका झिसमिसे सम्झना मात्रै वीच वीचमा आलो फर्किरहँदा रैछन् ।  मामा र हाम्रो परिवार सँगै पहाडबाट तराई झर्यौं । बज्यै, म, आमा र माइलो भाइ जुम्लाबाट प्लेन चढेर नेपालगञ्ज झरेका थियौं । मामालाई ४५ वर्ष अघिका तिथिमिति ठ्याक्कै याद रहेको देख्दा अचम्मै हुन्छु । तर, उनको यो सम्झने शक्ति मेरा लागि गजबको पारिवारिक दस्तावेज जस्तो भएको छ । २०४० सालको मंसिर ८ गते जीवनमा पहिलोपल्ट मैले आकाशमा उड्ने मौका पाए पनि फुच्चे उमेरको त्यो यात्राको खासै सम्झना बाँकी छैन । बरु त्यसको २ वर्ष अगाडि नै २०३८ सालमा मलाई उपचार गर्न नेपालगञ्ज लैजानका लागि बुवा र मामाले जुम्ला लगेका बेला मैले जहाजको लामो पखेटा देखेको हो कि जस्तो लाग्छ । यकिन भने छैन ।  त्यो जमानामा नाग्म गाउँमा पानीको पाइप जडान भयो । पूर्व–दक्षिण फर्केको पहाडको पाखोमा एकातिर मावली पाण्डेबाडा र अर्कापट्टी हाम्रो अधिकारीबाडा पर्छ । कम्तिमा दुई घण्टाको ठाडो उकालो चढेपछि खोचमा रहेको मूलबाट प्लाष्टिकको कालो पाइप जोडेर टोलमा पानी ल्याइएको थियो । बाटो, गाडी नपुगेको त्यो अनकन्टार कालिकोटको नाग्म गाउँमा त्यो जमानामा त्यहाँ खानेपानी योजना पुग्नु पत्याउनै नसकिने सत्य थियो । पाइप तान्ने र जोड्ने काम श्रमदानबाट भएको थियो । जडान गर्दै जाँदा बेकामे भएको सानो पाइपको टुक्रा सायद त्यो आधा इन्चको पाइप थियो होला, मामाले भाञ्जाले खेलाउनलान् भनेर ल्याएछन् । त्यो मुख भित्र हालेर हु...हु... गर्दै हिँड्ने बेला विकट र उवडखावड त्यो वस्तीमा कता ढोकातिर खुट्टा फसेर म उछिट्टिएर अगाडि हुत्तिएछु ।  पानीका मुहानहरू धेरै भए पनि नजिकसम्म ल्याउने उपक्रम नहुँदा पानीको साह्रै दुःख थियो । पानी गाउँमा आउने खुसीभन्दा पहिले हाम्रो परिवारमा विपद आइलाग्यो । पाइपले मेरो घाँटीको श्वासनली वा खाना खाने नली कुन चाँहि काटेछ । वा दुवै काटेछ । रुवाबासी सुरु भयो । साढे २ वर्ष जतिको बालकको त्यो अवस्था अनि नजिक न अस्पताल न डाक्टर पाइने त्यो युग । रातभरि जसोतसो काटेर बुवा र मामा मलाई बोकेर विहानै सरजाम बोकेर जुम्ला हानिए ।  वरपर तानतुन गरेर नगद दश हजार जति रुपियाँ बोकेर मलाई काँधमा भिरेर दुई भिनासालाले नेपालगञ्ज लाने भनेर जहाज भेट्न हतासिएका थिए । बाटोमा त्यसबेला पाइने पिपलमेट चकलेट र नदीको चिसो पानी हातमा घोल्दै मेरो मुखमा रस चुहाएको मामा अहिले पनि सम्झन्छन् । अरु केही निल्नै नसकिने, दुखेर रुने मात्रै मेरो अवस्था थियो ।  कहिलेकाहीँ संजोग पनि गजबले टुप्लुक्कै आँगनमै आइपुग्ने रहेछ । आधा दिनको पैदल यात्राबाट खलङ्गा पुगेर प्लेन टिकटको जोहो गर्न सोधखोज गर्दै गर्दा हेल्थ क्याम्प लागेको खबर कानमा परेपछि हानिँदै मलाई त्यता लगियो । अनि डाक्टरले चिम्टाले च्यापेर मेरो घाँटी भित्रको काटिएको घाउ टाँसिदिए । अनि भोलिपल्ट मामा घर फर्किए, हामी भने फलोअपमा केही दिन बसेर घर फर्कियौं । अनि नेपालगन्ज जानु पनि परेन, ढिलो नभएर होला मेरो घाउ पनि बिग्रेन र पैसा पनि जोगियो । यसै बेलाको हो जस्तो लाग्छ, जहाजको पखेटाको धिमा सम्झना । ठ्याक्कै चाँहि भन्न सकिनँ ।  सबै जना बाटोको सामल अनि आफूसँग भएका पछि काम लाग्ने सरजामसहित हिँडेर बर्दिया बसाइँ सर्ने तयारी थियो । नाग्म, कालिकोटबाट दैलेख, सुर्खेत हुँदै गोला, बर्दिया पुग्न करिब १० दिनको पैदल यात्रा गर्नु पर्दथ्यो । तरुना र तन्दुरुस्त लोग्ने मान्छेहरू ७ दिन जतिमा पुग्थे । बुढाबुढी, केटाकेटी, सुत्केरी महिला भएपछि यात्रा लामो हुने नै भयो । अनि बाटोको सामल र अत्यावश्यक सरजामको भारी आवश्यकता अनुसार बढ्यो भने यात्राका दिन पनि लम्बिन्थ्यो ।  मामाघरकी बज्यैले पूराना कुरा सम्झँदै भनिन् – ‘तेरा बोब (वुवाका वुवा)ले काँ सुत्केरी बुहारी हिँडेर जान सक्छ ? हुँदैन । प्लेनको टिकट गर भन्या छन् ।’ बुहारीलाई मान्छे नगन्ने त्यो बेलाको समाजमा हाम्रा बोबमा त्यो तहको उदार चेत रहेछ । उनी बितेको पनि २७ वर्ष भैसक्यो । बोबको निर्णयपछि बज्यै, म र आमा अनि ४ महिनाको दुधे भाइसमेत हामीले जुम्लाको खलङ्गादेखि नेपालगञ्जसम्मको जहाज चढ्ने सौभाग्य पायौं । त्यसबेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्लेनमा एकजनाको भाडा १२५ रुपियाँ थियो ।  हामी उड्नुभन्दा एक साताअघि बुवा नेपालगञ्जका लागि हिँडेका थिए हामीलाई ‘रिसिभ’ गर्न । मामाले जुम्लामा विमान चढाएर बिदाई गरे भने बुवाले नेपालगञ्जमा स्वागत । अनि भारतीय बाटो हुँदै गोला पुगियो ।  गोलाको खोनपुर गाउँमा हामी बसाइँ सरेका सुरुका दिन बाआमाका लागि घर बनाउने दार, खाबा जोड्ने, खरखडाई खोज्ने चटारो थियो । केही महिनामा माथिल्लो तलो होँचो भए पनि सुत्न मिल्नेगरी दुई तलाको फुसको घर तयार भएको थियो । बारी बनाउने, तिहुन तरकारी लाउने आदि कामको मेसो पनि मिलाइँदै थियो । बज्यैका लागि पनि घर तयार भयो ।  कुलापारि उत्तरपट्टि मामाघर र सडक वारि दक्षिणपट्टि हाम्रो घर ठडियो । अभिभावक यस्तैयस्तै काममा व्यस्त भए । म जस्तै टोटकी (केटाकेटी) भने आफ्ना छावँलका साथी सँग चिनजान गरिवरि साथ्या बनाई केटाकेटी खेलमा अभ्यस्त हुन थालिसकेको थिएँ । डण्डिबियो, लुकीलुकी, घुरघुरिया, वालुवामा लुकाइ, माटो खनाइ, आइसबाइस जस्ता तराईंका केटाकेटी खेल सिक्न दुई महिना पनि लागेन ।  सँगै जग्गा किने पनि आमाकी माहिली दिदीको परिवार अघिल्लो वर्षकै मंसिरमा तराई झरिसकेकाले सुरुमा उनीहरूको भर भयो । ठूलीआमाको परिवार सँगै जुम्लाबाट अर्को छिमेकी परिवार पनि बसाइँ सरी आएको थियो । ठूलीआमाको घरसँगै हाम्रो अस्थायी छाप्रो बनेको थियो । त्यसभन्दा पश्चिम केहीपर बाटोको दक्षिणपट्टि ती छिमेकीको घर थियो । त्यो घरमा मेरै उमेरकी सानी छोरी पनि थिइन् । उनी मेरो नयाँ साथीहरूमध्ये एक हुन आइन् ।  नयाँनयाँ ठाउँ । वस्ती पनि पातलो । साथीभाई थोरै थिए । हामी समय मिलेसम्म केटाकेटी खेलमा रमाउन थाल्यौं । त्यसबेला धानको कुनिउँमा लुकीलुकी खेल्न खुब मज्जा हुन्थ्यो । उनले एकदिन भनिन्, ‘माटो खन्ने खेलौं है ?’ उनी घरभित्र पसिन् र काठ ताछ्ने बासो लिएर आइन् ।  उनको घर अगाडिको आँगनको चिसो भुइँमा हामी थचक्क बस्यौं । पुषमाघको ठिहिर्याउने मौसम थियो । घाम पनि लागेको थिएन । पहाडबाटै ल्याएका कोछ्या, जाँघ्या यस्तै केही लुगा लाएको थिएँ । थचक्क भुइँमा बसेको सम्झेर झल्यास्स बीउ झैं भएँ । सोचें, टाला मैलीजान्या हुन् कि ? अनि टुक्रुक्क खुट्टाले टेकेर बसेँ ।  उनले फेरि भनिन् – ‘म खन्छु । तुमी माटो फाल है ?’  उनी बासोले माटो खन्ने अनि मैले हातले माटो तानेर खाल्डो बनाउन थालेँ । यसो गर्दा उनले खन्ने पालो र मैले फाल्ने पालो मिलाएर गरिरहेका थियौं । रमाइलै भैरहेको थियो माटोको खेल । एकछिन् पछि कसरी हो पालो विग्रिएछ । मैले माटो फाल्न हात हाल्ने र उनले खन्न बासो उज्याउने सँगै परेछ । मेरो नाडीमा घ्याच्च लागि हाल्यो । बासो पनि भरखर धार लाएको रैछ । केटाकेटी बलले पनि काटिहाल्यो । रगतको धारा छुटे । हल्लीखल्ली भयो । अनि अनुभवको डिग्री बोकेकी बज्यैले भाँगोले रगत थामिन् । भाँगोकै लेपले निको पार्ने मल्हम बनाइ दिइन् । धरधन्दाको काममा असिनपसिन आमाबुवाले थाहा पाउनेबित्तिकै चार हातखुट्टा टेकेर आए । बेस्सरी रोए । लगलग कामे । तराई झर्नेबित्तिकैको पहिलो उपहार नमीठो माने सायद ।  मैले दाहिने हातमा टलक्क टल्कने ठाउँमा टाटो साइनबोर्ड पाएँ । बर्दियाको माटोसँगको सानिध्य सुरु भयो । जसले टाटो चिनो दिएको थियो ।  २०५३ सालमा नेपालगञ्जमा आइए पढ्न बस्दा बेला रहरले मार्सल आर्ट्सको चिनियाँ खेल उसु खेल्न थालेको थिएँ । एक जना ‘सिनियर’ खेलाडी हाम्रा गुरु थिए राजु थापा । उनकी भाउजू दुई जीउकी भएका बेला शरीरमा चाहिने भन्दा आधा मात्रा रगत रहेछ । सायद १०÷१२ पिन्ट जति रगत ‘स्टाण्डवाई’ राख्न डाक्टरले भनेका थिए । उनले सबैलाई रगत दिन आग्रह गरेपछि म पनि रगत दिन तयार भएँ र भेरी अस्पतालको व्लड बैंकमा साथीहरु सँग गएर पहिलो पल्ट रक्तदान गरेको थिएँ ।  पछि गाउँ गएका बेला रगत दिएको आमालाई सुनाएँ । आमा त धरधरी रुन थालिन् । उनको दुखेसो थियो – ‘मैले आफूले खाइनखाई दशधरा दूध खुआएर अरूकन रगत देलाइ भनेर हुर्काएकी छियाँ भाउअ ?’ छोरा मान्छेलाई हाम्रो खस भाषामा स्नेहले भाउअ भन्ने चलन छ । चलन थियो भनौं । अब त्यो ठेट भाका बाँकी रहेन । पनाति पुस्तामा आउँदा मासिइसक्यो ।  खासमा आजभन्दा झण्डै ३० वर्ष अघिको कुरा त्यसमाथि गाउँमा रक्तदानबारे चेतना थिएन । आमाको चिन्ता अन्यथा थिएन । त्यसबेला शरीरबाट रगत बग्नु र खसीको मासु काट्दा बोसोको भाग नपर्नु बहुतै ज्यादा महत्त्वका विषय थिए । त्यसताका शरीरको रगत र खसीको बोसो उस्तै भाउका थिए । थारु अनि हिन्दी मिसिएको भाषामा शरीरबाट खुन बग्नु र ६ महिना लाएर भाग पुगेपछि काटिएको खसीको मासुमा बोसोको अलग भाग नमिल्नु ठूलो पीडाको कुरा हुन्थ्यो ।  खसी काटेपछि रगतसहितको भुटन पकाएर बाँडेर खाने चलन थियो भने मासु र बोसोको बराबर भाग लाग्थ्यो । अहिले सम्झन्छु– क्याम्पस पढ्न गएको हुर्केबढेको छोरोले अरूकोे ज्यान बचाउन डाक्टरले विधि पुर्याएर रगत झिक्दा त रुवाबासी गर्ने आमाले ४ वर्षको सानो बालकको हातको नाडीबाट बासोको धार लागेर उम्लिएको रगत देखेर कति रुवावासी गरिहोलिन् ?  नयाँ ठाउँ, नयाँ मान्छे, ओत लाग्ने आफ्नो घर बनिसकेको छैन । के खाने, के लाउने टुंगो नलागेको परदेशी जस्तो हाल भएका बेला छोराको नाडीबाट रगतका छिल्का आउँदा कुन् आमाबाको मन नरुँदो हो र ? पछि बाआमा बनेपछि आफ्ना सन्तानको शरीरबाट रगत बग्नु त परैको कुरा सानो कतै घोचियो भने पनि आफ्नो मुखबाट ऐआको चित्कार फुत्किँदा बाआमाको मन अनुभव हुँदो रहेछ । सबै बाआमाको मन उही त हो । चाहे अघिका हुन् वा पछिका । चाहे गाउँका हुन् या सहरका । बाआमा त बाआमा नै हुन् ।  ठूलो भएपछि कति ठाउँमा आफ्नो हुलिया लेख्ने बेला दाइने हातको नाडीमा खत भएको भनेर लेखेको छु । अनुहारको हुलियाको मात्र खास गणना हुने पछि मात्र थाहा भयो । तर, मलाई लाग्छ यो घाउ होइन, पहिचान हो । नाता हो माटोसँगको । जसरी रातो माटोलाई कर्णाली नदीले पहाडबाट बगाउँदै ल्याएर तराईमा रातोपानी बगेर एकाकार गरिदिन्थ्यो खेतमा सिञ्चिएर । मलाई पनि उसैगरी त्यसै माटोसँग नाता जोडिदिएको थियो सायद त्यो बाल दुर्घटनाले ।  किशोर उमेरका बाआमाले आफ्नो थातथलोको पवित्र रातो माटोको माया छातीभित्र गुम्साएर सायद आफ्ना लागि कम हामी सन्तानको भविष्यका लागि ज्यादा अनकन्टार गोलामा पुगेका थिए । त्यही माटोमा मेरो रक्त कण एकाकार भएको हो भन्ने ठान्छु अनि नाडीको चिमचिमे घडी सम्झँदै खत हेरेर मुस्कुराउँछु । २०४० सालको भाद्र ३ गते कर्णाली नदीमा हालसम्मकै ठूलो बाढी आएको थियो । त्यसै सालको मंसिर ८ गते ४ महिने दूधे बालक मेरो भाइलाई च्याप्तै ४ वर्षको कलिलो बालक मलाई डोर्याउँदै बसाइँ सरेको थियो हाम्रो परिवार । मामाको परिवार पनि सँगै हुँदा एकअर्कालाई भर थियो ।  कर्णाली नदीको भेलले कालिकोटबाट समेत रातो माटो बगाउँदै त्यसका राता कण भए पनि नदीसँगै जोडिएको खोनपुरको माटोमा मिलन गराउँथ्यो । हरेक वर्षामा राता कणको पुनर्मिलन गराउने जिम्मा भेलको थियो । भेल उग्र हुँदा मात्रै पीर हो, नत्र भने माटो मिलन प्रिय नै थियो हाम्रा लागि । यसरी नै हाम्रो परिवारलाई भूगोलले पनि स्वीकार्यो होला अनि आफ्नै बनायो होला सायद । त्यही मन बनाएर सायद अञ्जान, अपरिचित र बिरानो ठाउँको माटोलाई हाम्रो परिवारले आत्मसात गर्यो । अनि एउटा विशाल आत्मपरीक्षाको उकालीओराली पार गरी नयाँ परिवेश, नयाँ समाज र नयाँ भूगोलको परिचय बनेको थपिएको थियो । हामी चिचिलाको सायद त्यति विशाल मन नहुँदो हो । भए पनि व्यक्त नहुँदो हो वा भनौं पछिसम्म सम्झने शक्ति नहुँदो हो । त्यसैले भूराहरूको परीक्षा बाँकी राखिँदो हो । त्यसैले त भनिन्छ सन्तान पाउनुले होइन, बरु असल अभिभावक हुनु शास्वत बाआमा मानिन्छ । अनि जीवनभर त्यसका खातिर परीक्षा दिइरहनु पनि अभिभावक हुनुको नियमित परीक्षा हो । एउटा बालक वा बालिका अभिभावक बन्नुअघि उसको सबै जाँच सायद उसका बाआमाले नै दिइरहन्छन् । तर, कहिलेकाँही परीक्षा लिने झुक्किँदा हुन् अनि भविष्यका अभिभावकले असमयमैं पनि परीक्षा दिनुपर्दो हो ।  यो मीठो खतले बर्दियाको माटोसँग एकाकार गरी दिएकी ती बालसखालाई त्यसबेला आफूले जानेसुने जति गाली गरेर पीडा कम गरेँ हुँला रुँदैरुँदै । तर, अहिले सोच्छु, ती अबोध बालिकाको के दोष ? बालबालिका र वृद्धवृद्धा भगवानका रूप भन्ने हाम्रो लोकोक्ति नै छ ।  तर, मलाई फेरि एकपल्ट ती दिनमा जान मन छ । ‘रिवाइण्ड’ गर्न मन छ मेरो विगतलाई । खोज्न मन छ मेरो पारिवारिक विरासतलाई । बुझ्न मन छ मेरो पृष्ठभूमिलाई । म बढेको मेरो धर्तीलाई । नुनदेखि सुनको जोहो गर्न हरेक वर्ष सयौं उकाली–ओराली पार गरेर हटारुको परिचय पाएका मेरा पुर्खाको सम्झनामा मलाई हराउन मन छ । हाटबजारको खोजीमा तराई झरेका उनीहरू कसरी बसाईं सरे हुन् ? किन सरे हुन् ? जवाफ खोज्न मन छ ।  उनीहरूको जीवनको आरोह–अवरोह, भीरपहिरोको कथा सुन्न र सुनाउन पाइयोस् । आउने पुस्ताका लागि शबदमा उतार्न पाइयोस् । अनि एउटा चलचित्रको पटकथा झैं गरी वाक्यहरू जोड्न पाइयोस् र जीउ ढाक्न नाना, एक मुठी खाना र आकाश छेल्ने छानाका लागि आफ्नो वस्ती छोडेर हरेक हिउँदमा गोलभूगोल चहार्न निस्केका मेरा बोबहरू, बाबाहरू, मामाहरूसमेत सम्पूर्ण हटारु आफन्तीहरू जो हाट निस्कँदा पाइला परेका ठाउँठाउँमा बसाईं सरे, उनीहरू सबैप्रति समर्पित गर्न पाइयोस् ।

‘नीति स्थिरता र उत्पादनमूलक उद्योग बिना अर्थतन्त्र उठ्दैन’

देशको उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर समग्र अर्थतन्त्रको विकास तथा विस्तारका लागि नीतिगत सुझाव दिँदै आएको छ । साथै परिसंघले आफ्ना गतिविधिहरू पनि सोही दिशामा केन्द्रित गर्दै आएको यहाँहरूलाई विदित नै छ ।   त्यसैको निरन्तरता स्वरुप परिसंघले बजेटको प्रभावकारी कार्यान्वयन होस् भन्ने उद्देश्यले सार्वजनिक निजी संवाद बजेट वाच पहल सञ्चालन गर्दै आइरहेको छ ।  समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्त्वपूर्ण हुन्छ । वित्त नीति अर्थात बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न अन्य नीतिहरू सहायक बन्नुपर्ने हुन्छ ।  बजेटले महत्त्वपूर्ण लक्ष्य राख्ने तर कार्यान्वयन भने कमजोर रहने गरेको अनुभव सबैले महसुस गरेको हुँदा बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हामीले बजेट वाच पहल अगाडि बढाएका हौं ।  बजेटको सफल कार्यान्वयनले नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुन्छ । त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महत्वपूर्ण छ ।  बजेटमा निजी क्षेत्रको तर्फबाट नीतिगत सुझाव दिँदै आएका हुन्छौं । हाम्रा नीतिगत सुझावहरू बजेटमा समावेश पनि हुन्छन् । त्यसले हामीलाई उत्साह प्रदान गर्दछ । तर जब कार्यान्वयनको चरण आउँछ, बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ ।  त्यसैले प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको तर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा परिसंघले विगत तीन आर्थिक वर्षदेखि बजेट वाच पहल सुरु छौं । बजेट वाच बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित विषयहरूको प्रभावकारी कार्यान्वयन रचनात्मक सहयोग गर्ने सार्वजनिक निजी संवाद हो ।  समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य छ । औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ । हामी औद्योगिक विकासमा केन्द्रित भई सो अनुरूप नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ । त्यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग गर्छ । स्वदेशी उत्पादन बढाउन सकिएन भने हामी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनौं । विश्व नै व्यापारमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हाम्रो लक्ष्य पनि स्पष्ट हुन आवश्यक छ । आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनसँगै आगामी बजेटको लक्ष्य पनि सोही दिशामा केन्द्रित हुन आवश्यक छ ।  हाम्रो जस्तै अर्थतन्त्र भएका मुलुकहरू आज हामीभन्दा धेरै अगाडि पुगिसकेको छन् । ती देशले किन र कसरी प्रगति हासिल गर्न सके भन्ने विषयलाई हाम्रा नीति निर्माता, नियामक निकायले बुझ्न जरुरी हुन्छ । नीति स्थिर हुने, उत्पादनमूलक उद्योगलाई संरक्षण गर्ने र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगीकरणका माध्यमबाट हामी पनि छोटो समयमै अगाडि बढ्न सक्छौं भन्नेमा म विश्वास राख्दछु ।  (नेपाल उद्योग परिसंघले आयोजना गरेको औद्योगिक विकास केन्द्रित बजेट वाचमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले राखेको मन्तव्य)

नेपाली अर्थतन्त्रलाई गाँजेका दुष्चक्रहरू

नेपालमा छिटोछिटो राजनीतिक आन्दोलन हुने गरेको छ । भर्खरै मात्र भएको जेनजी पुस्ताको आन्दोलनपछि राजनीति नयाँ मोडमा आइपुगेको छ । जनअपेक्षा, आकाङ्क्षा र आवश्यकता अनुरूप आर्थिक विकास र सार्वजनिक सेवा प्रवाह हुन नसक्दा जन असन्तोष बढ्ने र सरकार विरोधी गतिविधिहरू बढ्ने गरेका छन् । यसले गर्दा छिट्टो सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताले निरन्तरता पाइरहेको छ । यसै सन्दर्भमा नेपाली अर्थतन्त्रलाई गाँजेका दुष्चक्रहरूका बारे चर्चा गर्ने प्रयास यहाँ गरिएको छ । यी दुष्चक्रहरू नतोडिएसम्म नेपाली अर्थतन्त्रमा अपेक्षित र आवश्यक सकारात्मक परिवर्तन हुन कठिन देखिन्छ । राजनीतिक परिवर्तनले मात्र आर्थिक समृद्धि हासिल हुन नसक्ने देखिन्छ । गरिबीको दुष्चक्र विकास अर्थशास्त्रमा गरिबीको दुष्चक्रका बारेमा धेरै चर्चा हुने गर्दछ । गरिब र विकासशील देशहरूमा यो चक्र चलिरहने हुँदा विकासको गति बढ्न सक्दैन भन्ने बुझाइ रहेको छ । अल्पविकसित देशहरूका बासिन्दाहरूको आय न्यून हुन्छ, यसले गर्दा बचत कम हुन्छ । बचत कम भएपछि लगानी कम हुन्छ जसले गर्दा पुँजी निर्माण हुन सक्दैन । फलस्वरूप रोजगारी सिर्जना र उत्पादकत्व कम हुन्छ जसले गर्दा आम्दानी पनि कम हुन्छ । यसरी न्यून आम्दानीको स्थितिमा सुधार हुन सक्दैन र सधैँ गरिबीकै अवस्थामा रुमल्लिरहनुपर्ने हुन्छ । यस अवस्थालाई गरिबीको दुष्चक्रका रूपमा बुझ्न सकिन्छ । यस्तो दुष्चक्र तोड्न नै वैदेशिक सहयोगको अवधारणा सुरु भएको हो । न्यून आयका कारण कम बचत भई लगानी कम रहेका अवस्थामा वैदेशिक सहयोगले लगानी बढाउन सहयोग पुर्‍याउने र लगानी बढ्दा रोजगारी र उत्पादकत्व बढ्न गई गरिबीको दुष्चक्र तोड्न सकिने अवस्था आउन सक्छ । यसै आधारमा विकसित राष्ट्रहरूले गरिब र कम विकसित देशहरूमा वैदेशिक सहयोग दिन थालेका हुन् । खासगरी द्वितीय विश्वयुद्धपछि वैदेशिक सहयोगको अवधारणा बढेको पाइन्छ ।  राजनीतिक अस्थिरताको दुष्चक्र  यस लेखले नेपाली अर्थतन्त्रमा रहेका अन्य केही दुष्चक्रहरूलाई उजागर गर्न खोजेको छ । पहिलो हो राजनीतिक अस्थिरताको दुष्चक्र । नेपाल जस्ता गरिब देशहरू राजनीतिक अस्थिरताको दुष्चक्रमा पनि परिरहेका हुन्छन् । गरिबीको दुष्चक्र जस्तो वैदेशिक सहयोगले यस्तो दुष्चक्रलाई तोड्न सक्दैन । राजनीतिक अस्थिरताले गर्दा सरकारले सुशासन कायम गर्न र संस्थागत क्षमता विकास गर्न सक्दैन । यसले गर्दा भ्रष्टाचार बढ्ने र सरकारको कार्य सम्पादन कमजोर रहने हुन्छ । फलस्वरूप पुँजीगत खर्च कमजोर रहने, लगानी नबढ्ने र रोजगारी सिर्जना नहुने हुन्छ । सार्वजनिक सेवा प्रवाह कमजोर हुने र बेरोजगारीको अवस्थाले समाजमा असन्तोष सिर्जना गर्छ र सरकार विरोधी गतिविधि सुरु हुन्छ । सरकार परिवर्तन गरिएमा समस्या समाधान भइहाल्छ कि भन्ने मान्यतामा सरकार लगायत शासकीय व्यवस्था परिवर्तन गरिन्छ जसले थप राजनीतिक अस्थिरता सिर्जना गर्दछ । राजनीतिक अस्थिरतासँगै प्रशासनिक अस्थिरता पनि हुन्छ । नेपालमा २००७ सालदेखि सरकार र शासन व्यवस्थामा निरन्तर परिवर्तन हुँदै आएको छ । २००७ सालदेखि जनताले चुनेको संविधान सभाले संविधान बनाए मात्र जनपक्षीय हुने र राजनीतिक स्थिरता आउने भन्दै आइएको थियो । २०५२ सालमा सुरु भएको माओवादी सशस्त्र युद्धको मुख्य माग नै त्यही थियो । दुई पटकको संविधान सभाको निर्वाचनपश्चात २०७२ सालमा नयाँ संविधान जारी गरियो । यसले नेपाललाई संघीय गणतान्त्रिक मुलुक बनाएको छ । संविधान कार्यान्वयनमा आएपछि दुई पटक मात्र निर्वाचन भएको छ । दोस्रो कार्यकाल नसकिँदै जन असन्तोष चुलिएर जेनजी पुस्ताले आन्दोलन गरेको छ जसका कारण ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्मको आन्दोलन भन्दा धेरै सरकारी र निजी भौतिक संरचनाहरू ध्वस्त भएको अवस्था छ । यसले गर्दा नेपाली अर्थतन्त्रमा पुनः ठूलो धक्का लागेको छ ।  वैदेशिक रोजगारको दुष्चक्र  नेपाली अर्थतन्त्रमा रहेको अर्को दुष्चक्र हो वैदेशिक रोजगार । आन्तरिक रोजगारीको अभावले धेरै नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन् । २०५२ सालदेखि २०६२ सालसम्म माओवादीले सञ्चालन गरेको आन्तरिक सशस्त्र द्वन्द्वका समयमा गाउँबाट विस्थापित भई सहर र त्यसपछि वैदेशिक रोजगारीमा बाध्यात्मक रूपमा जाने प्रक्रिया सुरु भएको पाइन्छ । तर अहिले कतिपय रहरले नै वैदेशिक रोजगार जाने गरेको पाइन्छ । यसले थप वैदेशिक रोजगारीमा नै जानुपर्ने चक्र सिर्जना गरेको छ । स्वदेशमा रोजगारी नपाएर वा भने जस्तो काम नपाएर ठूलो सङ्ख्यामा युवाहरू रोजगारी र अध्ययनका सिलसिलामा बाहिर गइरहँदा आन्तरिक अर्थतन्त्रमा मागमा कमी भएको छ । मागमा कमी आएपछि उत्पादनको बिक्री कम भई अर्थतन्त्रमा लगानी कम भएको छ । लगानी कम हुँदा रोजगारी सिर्जना झनै कम भएको छ । रोजगारी सिर्जना कम भएपछि बचेखुचेका युवाहरू पनि वैदेशिक रोजगारीमा जान बाध्य भएको अवस्था छ । कतिपय अवस्थामा आवश्यक श्रमशक्ति कम भएर पनि लगानी र उत्पादन भएको छैन । खासगरी कृषि र निर्माणमा यस्तो अवस्था देखिएको छ । अर्कातर्फ वैदेशिक रोजगारमा गएकाले पठाएको विप्रेषणले विदेशी मुद्रा उपलब्ध गराएकाले सजिलै विश्वको कुनै पनि कुनाबाट आयात गर्न सकिने भएको छ । जति बढी आयात गर्‍यो त्यति बढी आन्तरिक उत्पादनलाई प्रतिस्थापन गरेको छ । आन्तरिक उत्पादन कमजोर हुँदा रोजगारी सिर्जना झन् कमजोर भएको छ र थप वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएको छ । यसरी वैदेशिक रोजगारीको दुष्चक्र नेपालमा प्रबल बन्दै गइरहेको छ ।  प्राकृतिक विपद्को दुष्चक्र  नेपाली अर्थतन्त्रको तेस्रो दुष्चक्र हो प्राकृतिक विपद् । नेपालमा पहाडी भूभाग र नदीनालाहरू रहेका छन् जसले गर्दा बाढी र पहिरोको जोखिम उच्च छ । हिउँदभरि बनाइएका सडक, जलविद्युतलगायतका भौतिक निर्माणहरू वर्षाको समयमा आउने बाढी-पहिरोले ध्वस्त पार्ने गरेको छ । प्राकृतिक विपद्का कारण वर्षेनी ठूलो जनधनको क्षति पुग्ने गरेको छ । यसले गर्दा अर्थतन्त्रलाई निकै ठूलो धक्का लाग्ने गरेको छ । प्राकृतिक विपद्ले सबैभन्दा बढी गरिब घरपरिवारलाई प्रभाव पार्ने गरेको छ । अझ पछिल्लो समय सडक निर्माणले बढी नै प्राथमिकता पाउने गरेको छ । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको प्राथमिकतामा पनि सडक निर्माण हुने गरेको छ । त्यस्तै, मतदाताहरूको माग पनि सडक निर्माण हुने गरेको छ । मतदातालाई पनि केही गरे भनेर देखाउन पनि सडक निर्माणले प्राथमिकता पाउने गरेको छ । सडक निर्माण वैज्ञानिक ढङ्गबाट नहुँदा बढी भू-क्षय जाने भई बढी प्राकृतिक विपद् सिर्जना भएको छ । ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । भूपरिवेष्ठिताले सिर्जित परनिर्भरताको दुष्चक्र  नेपालको चौथो महत्त्वपूर्ण दुष्चक्र हो भूपरिवेष्ठिता । नेपाल भूपरिवेष्ठित देश भएकाले नेपालले सहजै निर्यात गर्न सक्दैन । साथै, यसका कारण आन्तरिक उत्पादनको लागत बढी छ । यसले गर्दा नेपाली उत्पादनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैन । फलस्वरूप आन्तरिक उत्पादन बढ्न सक्दैन । आन्तरिक उत्पादन बढ्न नसक्दा रोजगारी सिर्जना कम हुन्छ । रोजगारी उपलब्ध नभएपछि युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने हुन्छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले अझ बढी आयात बढाउँछ । यसले गर्दा वैदेशिक रोजगारको दुष्चक्रलाई पनि सहयोग पुग्न गएको छ ।  दुष्चक्र तोड्ने उपाय  गरिबीको दुष्चक्र तोड्नका लागि नेपालले सन् १९५१ देखि वैदेशिक सहयोग लिन थालेको हो । यससँगै योजनाबद्ध विकासको प्रयास पनि गरिरहेको छ । नेपालले द्विपक्षीय र बहुपक्षीय रूपमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण लिँदै आएको छ । सन् १९५१ का तुलनामा नेपालमा थुप्रै आर्थिक सामाजिक विकास भएको छ । गरिबी घटेको छ । शिक्षा र स्वास्थ्यमा पहुँच पुगेको छ । साक्षरता दर र औसत आयु बढेको छ । साथै प्रति व्यक्ति आम्दानी पनि बढेको छ । तर, सोही समयमा विकास सुरु गरेका कतिपय दक्षिण पूर्वी एसियाली देशहरूभन्दा नेपाल धेरै पछाडि छ । विकसित देशहरूसँगको नेपालको विकासको अन्तराल अझ धेरै बढेको छ । यसले पनि युवाहरूलाई निराश पारेको छ । प्राप्त वैदेशिक सहयोग सही ढङ्गले सदुपयोग नभएको, यसमा पनि विभिन्न चरणहरूमा भ्रष्टाचार भएका थुप्रै अध्ययनहरूले देखाएका छन् । वैदेशिक सहयोगको ठूलो हिस्सा कुनै न कुनै रूपमा दाताहरूकहाँ नै फिर्ता भएको स्थिति छ तापनि गरिबीको दुष्चक्र एकहदसम्म तोडिएको र तोडिने क्रममा रहेको छ । पछिल्लो समय वैदेशिक रोजगारीबाट प्राप्त आयले पनि राष्ट्रिय बचत बढाइरहेको र गरिबी घटाई रहेको स्थिति छ । लगानीका लागि वित्तीय साधन उपलब्ध भइरहेको छ । तर, उपलब्ध वित्तीय साधनको उत्पादनमुखी उपभोग र लगानीमा सदुपयोग हुन नसकेको पाइएको छ । यसले गर्दा वित्तीय साधन उपलब्ध हुँदा पनि आन्तरिक रोजगारी र आय बढाउँदै तीव्र दरमा गरिबी घटाउन नसकिरहेको स्थिति छ । यसो हुनुमा माथि उल्लेख गरिएका अन्य दुष्चक्रहरूको भूमिका पनि रहेको छ । वास्तवमा गरिबीको बाँकी दुष्चक्र तोड्न माथिका अन्य दुष्चक्रहरूलाई तोड्नु जरुरी छ ।  सबैभन्दा गाह्रो राजनीतिक अस्थिरताको दुष्चक्र तोड्नु रहेको छ । वित्तीय साधन र प्रविधि बाहिरबाट पनि आयात गर्न सकिन्छ । तर, राजनीतिक संस्कार र संस्कृति आयात गर्न सकिँदैन । नेपालमा अहिलेसम्म विश्वमा भएका विभिन्न प्रणालीको प्रयोग गरिसकेको अवस्था छ । जहानियाँ शासन, दलविहीन राजतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र र संसदीय संघीयता । अब प्रयोग गर्न बाँकी सीधा निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति मात्र बाँकी रहेको छ । करिब १० देखि १५ वर्षको अवधिमा राजनीतिक र शासकीय प्रणाली परिवर्तन हुने गरेको छ । तर, सबैका अपेक्षाहरू पूरा हुन नसक्दा पटक पटक विद्रोह र आन्दोलन हुने गरेको छ । राजनीतिक अस्थिरताको दुष्चक्र कहिले र कसरी तोड्न सकिन्छ भन्ने सन्दर्भमा सीधा उत्तर पाइँदैन । जबसम्म जनता र सरोकारवालाहरूले शासकीय व्यवस्था साध्य नभई साधनमात्र हो भन्ने कुरा बुझ्दैन तबसम्म राजनीतिक परिवर्तनबाट मात्र समाधान खोज्ने प्रवृत्तिले निरन्तरता पाउने देखिन्छ । सुशासन, संस्थागत र व्यक्तिगत क्षमताको विकास, पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता बढाउन सकेमा मात्र सायद राजनीतिक अस्थिरताको दुष्चक्र तोडन सकिएला । देश विकासको साझा अवधारणा र दायित्व, विविधतायुक्त समाज र विचारमा न्यूनतम समझदारी, सहअस्तित्व र सहकार्य गर्ने प्रवृत्तिबाट मात्र यस दुष्चक्रलाई तोड्न सकिन्छ ।  वैदेशिक रोजगारको दुष्चक्र तोड्न आन्तरिक अर्थतन्त्रमा लगानी र उत्पादन गरिनुपर्दछ । आन्तरिक उत्पादनको उपभोग गरिनुपर्दछ । हामीकहाँ आयातित वस्तुहरू उपभोग गर्ने बानी छ । आयातित वस्तुहरू उपभोग गर्दा सामाजिक मर्यादा बढ्ने सोच र प्रवृत्ति छ । यसमा परिवर्तन ल्याउनुपर्दछ । अर्कातर्फ श्रमलाई अवहेलना गर्ने संस्कृति रहेको छ तसर्थ स्वदेशभित्र उपलब्ध कतिपय कामहरू नगर्ने बरु त्यस्तै काम विदेशमा गएर सहर्ष गर्ने तयार हुने प्रवृत्ति छ । कृषि र निर्माण क्षेत्रमा वास्तवमा श्रमिकको अभावले छिमेकी देशहरूबाट काम गर्न आउने गरेका छन् । सानोतिनो भए पनि उपलब्ध कामहरू गर्ने र क्षमता बढाउने प्रवृत्ति सिर्जना गर्नुपर्ने देखिन्छ । तुलनात्मक रूपमा कम तलब भए पनि परिवार र समाजमा सँगै बस्न पाइने हुँदा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्नु उपयुक्त हुन्छ । यही रोजगारी गर्दै गएमा नेपालमा नै योगदान हुन गई भविष्यमा वैदेशिक रोजगारीको दुष्चक्र तोड्न सम्भव हुने थियो । अहिले पनि वैदेशिक रोजगारमा सिकेको ज्ञान र कमाएको पैसा लगानी गरेर उद्यमशीलतातर्फ अग्रसर हुन सकेमा पनि यस प्रकारको दुष्चक्र विस्तारै तोड्न सकिन्छ । जलवायु परिवर्तन र हाम्रो अवैज्ञानिक सडक निर्माणले निम्त्याएको प्राकृतिक विपद्को दुष्चक्र रोक्न वातावरणमैत्री ढङ्गले विकासका काम गर्नुपर्ने आवश्यकता छ । पहाडी भेकमा अनावश्यक रूपमा डोजर लगाएर सडक खन्ने काम बन्द गर्नुपर्दछ । खनिएका सडकहरूमा पहिरो रोक्ने उपायहरू गरिनुपर्दछ । जलवायु परिवर्तनले ल्याउन सक्ने प्रभावको अध्ययन विश्लेषण गरेर मानवीय र भौतिक क्षति कम गर्ने उपायहरू अवलम्बन गरिनुपर्दछ । बाढी-पहिरोको जोखिम रहेका बस्तीहरू समयमा नै स्थानान्तरण गरिनुपर्दछ । नेपाल अझ भूकम्पीय क्षेत्रमा पर्दछ । समयसमयमा भूकम्प आएर ठूलो स्तरको जनधनको क्षति गरेको अनुभव छ । भूकम्पले कच्ची घरहरू भत्काएर जनधनको क्षति गर्ने गर्दछ । तसर्थ, भूकम्पले नभत्काउँदै कमजोर घरका संरचनाहरू भत्काएर बलियो बनाउन सकिन्छ र बनाउनुपर्ने देखिन्छ । यसले अर्थतन्त्रमा निर्माण सामग्रीको माग बढाउने हुन्छ र अर्थतन्त्रले गति लिने हुन्छ । विपद् उन्मुख सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने भइसकेको छ ।  प्रकृतिले दिएको भूपरिवेष्ठितालाई बदल्न सकिँदैन । यसले गर्दा बाह्य व्यापार महँगो भएको छ र हाम्रो परनिर्भरता बढेको छ । यसै कारण नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता कमजोर रहेको छ । भूपरिवेष्ठिताले सिर्जित परनिर्भरताको दुष्चक्र तोड्न सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने खाँचो छ । सूचना प्रविधि सेवा निर्यात गर्न भूपरिवेष्ठिताले रोक्न सक्दैन । त्यस्तै, नेपालको प्राकृतिक सुन्दरताका आधारमा बढीभन्दा बढी पर्यटक ल्याउन सकिएमा आन्तरिक अर्थतन्त्रमा माग सिर्जना गर्न सकिन्छ । पर्यटनमा आधारित भएर कृषि र उद्योग प्रवर्द्धन गर्न सकिन्छ । वास्तवमा भूपरिवेष्ठिताले सिर्जित परनिर्भरता र वैदेशिक रोजगारको कुचक्र तोड्न आन्तरिक रूपमा आर्थिक राष्ट्रवादलाई प्रश्रय दिनुपर्दछ । पर्यटक आकर्षण गर्न देशभित्र शान्तिसुरक्षा कायम हुनुपर्दछ । सँगै पर्यटकीय पूर्वाधार र सूचना प्रवाहमा कुशलतापूर्वक हुनुपर्ने हुन्छ ।  नेपालमा छिटो छिटो राजनीति र सरकार परिवर्तन भए पनि आर्थिक विकास चाहिँ जनअपेक्षा र आवश्यकता बमोजिम भएको छैन । नेपालमा विगतभन्दा आर्थिक विकास भए पनि यसको गति तुलनात्मक रूपमा कमजोर छ । यसो हुनुमा नेपाली अर्थतन्त्रमा रहेका केही दुष्चक्रहरू जिम्मेवार छन् जसले गर्दा नेपालको विकासको गति बढ्न सकेको छैन । नेपालमा विकास अर्थशास्त्रमा भन्ने गरिएको गरिबीको दुष्चक्र मात्र होइन राजनीतिक अस्थिरताको दुष्चक्र, वैदेशिक रोजगारीको दुष्चक्र, प्राकृतिक विपद्को दुष्चक्र र भूपरिवेष्ठिताले सिर्जित परनिर्भरताको दुष्चक्र चलिरहेको छ । यी दुष्चक्रहरू सम्बोधन नगरून्जेलसम्म विकासको गति नबढ्ने तर जनअसन्तोष बढ्ने देखिन्छ । यस्ता दुष्चक्र तोड्न साझा अवधारणा, व्यक्तिगत र संस्थागत क्षमताको विकास, सहकार्य, सुशासनसहित प्रभावकारी राज्य व्यवस्था हुनुपर्ने देखिन्छ । यी दुष्चक्र तोडिन सकेमा राजनीतिक स्थायित्व पनि हासिल हुन सक्छ ।  (डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । नेपाल बैंकको वार्षिकोत्सव विशेषाङ्कबाट)