मुटु र दाँतको दुस्मन चिनी
चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ । करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पर्थ्यो र धनी मानिसहरूले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा–महाराजालाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर चिनीलाई उपहारस्वरुप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आम मानिसले पनि यसको प्रयोग गर्न थाले । सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामार्फत सुरु भयो । त्योबेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे । तर जिब्रोको स्वादका लागि सेवन गरेको चिनी हानिकारक छ, यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रुपमा भने मानव स्वास्थ्यमा असर पुर्याउँछ । सन् १९२८ मा ‘चिनी स्वस्थकर’ भनेर विज्ञापन नै सुरु भयो । गर्मीको समय सर्बतमा जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । विस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो । चिनी कम्पनीहरुले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २०औं शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरु आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुुरामा विश्व समुदायले विश्वास गर्न थाले । चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्गठनले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरूले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सो सङ्गठनले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्ने क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ । यो कुरा प्रकाशमा आएपछि विशेषगरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरूले ‘विश्व स्वास्थ्य सङ्गठनले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्गठनलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । साथै ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’ तर जनस्वास्थ्य विज्ञहरूले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आम जनतालाई निरन्तर जागरूक गर्न प्रयत्न गरे । चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए । साथै अपवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । तर हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारकोे मन्द विष नै हो । कतिपय मानिसहरु ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हो भन्ने ठान्दछन् । वास्तवमा यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो शोध अध्ययनअनुसार चिनी प्रयोग गरिएका मुसाहरुमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ । परम्परागत भोजनशैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणको लागि चिया, दूध, केक, कुल्फी, विस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइछ । चाडबाड र देवीदेवताका प्रसादको रुपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरुको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनु भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ । सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ । त्यस्तै गरी बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । तर प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । त्यसैगरी, हर्लिक्स, बोर्नभिटा, भिभा आदि पेयपदार्थ, लस्सी, कोक, फन्टा, पेप्सी, डिउ, मेरिन्डा, एपी, सर्बत, लस्सी आदि चिसा पेयपदार्थहरुमा अधिकमात्रामा चिनी मिश्रण हुन्छ । चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो–बोतलबन्द दूध तथा पेय पदार्थहरुमा मिसाइएको गुलियो पदार्थले उनीहरुको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । तर बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ छन् । नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरु, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले अन्धाधुन्ध रुपमा प्रयोग गरिरहेका छौँ । एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ । तर खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्यधिक चिनीले हाम्रो स्वास्थमा प्रतिकूल असर पारिरहेको हुन्छ । अङ्ग्रेजीमा सुगर भनिने चिनीका माल्टोज, फुल्टोज, ल्याक्टोज आदि अनेक रुपाकारहरु छन् । कतिपय फलफूलको बट्टामा ‘सुगर फ्रि’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फुल्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी नजानेर यसको उपभोग गरिरहेका हुन्छौँ । मकैबाट पनि चिनी बनाइन्छ । विशेषगरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टेरोल (खराब बोसो) को मात्रा बढाउँछ । खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरुमा लेउजस्तै टाँसिन पुग्दछ । यसकारण धमनीहरु साँघुुरिने वा कडा हुने जटिलता उत्पन्न हुन थाल्छ । यसो हुनेबित्तिकै मुटुका मांसपेशीहरुमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यकमात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरु मर्दछन् र हृदयाघात निम्तिन्छ । त्यसैगरी शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुग्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभुषण उपाध्यायका अनुसार गुलियो ज्यादै खाँदा डायविटिजको जोखिम बढ्छ । चिनी, सख्खर हालेका वस्तुबाहेक सुगर फ्रि कोक, जुस, मह आदि जुनसुकै रुपमा खाए पनि चिनी चिनी (सुगर वा गुलियो वस्तु) नै हो । जसरी खाँदा पनि यदि चिनीको मात्रा बढी छ भने त्यसले असर गर्छ । ‘सुगर फ्री’ भनिएको वस्तु वास्तवमा ‘सुगर फ्री’ हुँदैन । स्याक्रिन हालिएको चिया या अन्य पेयपदार्थ स्वास्थ्यका लागि झनै भयानक हुन्छन् । यसले मुटुलाई बिगार्छ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
देश रूपान्तरणका लागि सरकार र नागरिकका कर्तव्यहरू
सर्वसाधारण नागरिकहरूलाई गाँस, बास र कपासको व्यवस्थापनमै धौधौ छ भने रोग लागेमा सामान्य औषधी उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ । समृद्धि त आकाशको फल भयो तर सर्वसाधारण नागरिकहरुलाई रातदिन जीउ घोटिने गरी मेहनत गर्दा पनि जीविका चलाउन गाह्रो छ । शासकहरूले भने अनावश्यक गफ छाँटेर, जनतालाई ढाँटेर, लुटेर, दुःख दिएर तथा राज्यशक्तिको दम्भ देखाएर विलासी जीवनशैली अपनाएको तीतो यथार्थ ताजै छ । हाम्रो देशमा स्वावलम्वीहरू दुब्लाउने र परजीवीहरू मोटाउने बिडम्बनाक छ । लुट, हत्या, हिंशा र जनधनको क्षतिको कारक पनि राज्य नै देखिएको छ । राज्यले आङ्खनो न्यूनतम कर्तव्य पनि पूरा नगरे पछि समाजमा विभिन्न किसिमका विकृति, विसंगति तथा अस्थिर वातावरणको सिर्जना भएको छ । देशको समुन्नति र जनताको जीवनस्तर अभिवृद्धिका निम्ति भनेर व्यवस्थाहरू बदलिए पनि शासकहरूको कार्यशैली बदलिएन । सोचमा सकारात्मक परिवर्तन भएन । शासकहरू राष्ट्र, राष्ट्रियताको खिल्ली उडाउँदै विदेशीका दलाल भई आफ्नो देश, नागरिक र अर्थतन्त्रमाथि प्रहार गर्ने दुष्कर्म गर्न थाले । तिनीहरूमा देशप्रति सामान्य कर्तव्यबोध पनि देखिदैन । जनताहरूबाट जोरजुलुम गरी कर असुलेर शासक प्रशासकहरुलाई पोस्ने, तिनका परिवार, इष्टमित्र सहितको सेवा, सुविधा र सुरक्षा गर्ने तथा सार्वजनिक सम्पत्ति हडप्ने र हिनामिना गर्ने अपराध गरिन्छ । तर कर तिर्ने नागरिकहरुलाई भने विभिन्न तरिकाले दुःख पीडा दिने नै राज्यको कर्तव्य भएको जस्तो देखिन्छ। राज्य नेतृत्व र प्रशासन संयन्त्र नै कर्तव्य त्यागेर गैरजिम्मेवार गतिविधिमा संलग्न भए पछि नागरिकको जीवनस्तरमा अभिवृद्धि र देश विकास कसरी हुन्छ ? यहाँ आफूले गर्नुपर्ने काममा राज्यले ध्यान नदिने तर नगर्नु पर्ने कामहरूमा भने पूरै राज्यशक्ति र स्रोत लगाएको पाइन्छ । अर्थात राज्यले आफूले गर्नुपर्ने बाहेकका सबै काममा ध्यान दिन थाले पछि देशको उन्नति कसरी हुन्छ ? राज्य सञ्चालन गर्नेहरूले जनताको घरघरमा गएर काम गरिदिनु पर्दैन । योग्यता, क्षमता, कार्यदक्षता, सीपका आधारमा नियमानुसार हुने नियुक्ति, सरुवा, बढुवामा राज्य नेतृत्वले हात हाल्न जरुरी छैन । नियमानुसारको योग्यता, क्षमता, मापदण्ड र कार्य सम्पादनका आधारमा दिइने ठेक्कापट्टामा राज्य नेतृत्व तथा राजनैतिक दलहरुको संलग्नता आवश्यक पर्दैन । राज्यले स्मार्ट प्रणाली अपनाएर देशका सीमारेखा सहित राष्ट्रिय श्रोत, सम्पदा र नागरिकहरूको स्पष्ट तथ्याङ्क राख्नुपर्छ । आफ्नो सीमा सुरक्षा, राष्ट्रिय स्रोत सम्पदाहरू तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, नागरिकको जीउधनको सुरक्षा, देशमा सुशासन, शान्ति सुव्यवस्था र काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । जीवनोपयोगी शिक्षा र रोजगारका स्थायी अवसरहरुको सिर्जना, नागरिकहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति, उपयुक्त नीति नियम तथा आवश्यक सुविधा र सुरक्षा मापदण्ड अनुसारको पूर्वाधार निर्माण, सुरक्षित दीगो औद्योगिक, व्यावसायिक र लगानीको वातावरण निर्माण, निष्पक्ष र छरितो स्मार्ट न्याय प्रणालीको व्यवस्था, राष्ट्रिय स्रोत सम्पदाको समूचित उपयोग र विकास निर्माणको खाका कोर्ने काम राज्यले गर्नैपर्ने कर्तव्यहरू हुन् । राज्यले जिम्मेवारपूर्वक आफ्ना कर्तव्यहरू निभाएको भए सायद हाम्रो देशको विकासले समृद्धिको शिखर छोएको हुन्थ्यो र विश्व परिदृश्यमा यसको हैसियत निकै माथि हुन सक्थ्यो । देशको रूपान्तरणका लागि राज्यले आफ्ना कर्तत्वहरूको बोध गर्दै ती कर्तव्यहरू प्रभावकारी रूपले पूरा गर्न राज्यशक्ति र स्रोतको पूर्ण सदुपयोग हुने व्यवस्था गर्नैपर्छ । नागरिक कर्तव्य शान्तिपूर्ण मानवीय जीवनशैली अपनाउनु, सिर्जनात्मक तथा स्वावलम्वी भई विकास निर्माणका काममा लाग्नु, बाँचौ र बचाऔंको सिद्धान्त बमोजिम काम गर्नु, कुनै पनि कारणले हिंसात्मक तथा ध्वंसात्मक गतिविधिमा संलग्न नहुनु, राष्ट्र र राष्ट्रियताको रक्षा गर्नु, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको सुरक्षा र सामाजिक शान्तिका लागि राज्यलाई सहयोग गर्नु, देश विकासका काममा राज्यलाई साथ सहयोग दिनु र राज्यका नीति नियमहरूको पालना गर्नु आदि प्रत्येक नागरिकका कर्तव्यहरू हुन् । विश्वका अधिकांश विकसित मुलुकका संविधानमा नागरिकका कर्तव्य र सीमाहरू उल्लेख गरिएको पाइन्छ । तर हाम्रो देशको विद्यमान संविधानमा त्यस सम्बन्धी व्यवस्था भएको देखिएन । कर तिर्नु र नियम कानुन पालन गर्नु मात्रै नागरिकको कर्तव्य देखिन्छ । यहाँ कसैले पनि सुरक्षामा ध्यान दिइएको पाइँदैन । दिनहुँ पासो थापे जसरी दुर्घटनाहरू हुन्छन्, गाडीहरू तोडफोड हुन्छन्, सार्वजनिक यातायात अवरुद्ध हुन्छ र सबैलाई समस्या पर्छ । लापरवाहीले पशुपंक्षीदेखि मानिससम्म सडक दुर्घटनामा मर्छन् । त्यसको बदलामा गाडी तोडफोडका साथै यातायात अवरुद्ध गरिन्छ । दुर्घटनामा घाइते वा जनधन क्षतिको विषय आफैमा दुःखलाग्दो भए पनि यातायातका साधन तोेडफोड वा सार्वजनिक यातायात अवरुद्ध गरिनु त्यसको समाधान होइन । मानवीय क्षतिपूर्ति असम्भव भए पनि परिवारको पीडामा मलम लगाउने कार्य बीमा कम्पनीबाट शीघ्र र सहज रूपमा हुने व्यवस्था गरिनुपर्छ । सुरक्षित सडक पूर्वाधार निर्माणका साथै सडक सुरक्षा, दुर्घटना, तोडफोड, क्षतिपूर्ति तथा यातायात संचालन सम्बन्धी स्पष्ट कानुन बनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । यहाँ विभिन्न बहानामा कहिले कुनै समूह वा दलले, कहिले कुनै दलका भातृ संगठनले त कहिले धार्मिक तथा साम्प्रदायिक भीडले हत्या, हिंसा गर्नुका साथै व्यक्तिगत÷सार्वजनिक सम्पत्तिको क्षति गर्छन् । तिनीहरूको विध्वंशक गतिविधिबाट धेरै ठूलो जनधनको क्षति भई राष्ट्रलाई निकै ठूलो घाटा भइरहेको छ । सिर्जना र निर्माणका नाममा सियो बनाउन नसक्नेहरूबाट नोक्सान भने सारा सम्पत्ति बिक्री गरे पनि पूर्ति हुन नसक्ने खालको हुन्छ । कसैको उक्साहटमा विभिन्न अराजक समूह तथा राजनैतिक दलका अराजनैतिक गतिविधिले देशको अवस्था दिन प्रतिदिन नाजुक हुँदै गइरहेको छ । तिनीहरूकै देखासिकी गर्दै समाजमा अरूले पनि त्यस्तै विध्वंसक गतिविधिहरू मच्चाइरहेको दर्दनाक अवस्था छ । जुनसुकै कारणले भए पनि हडताल, विध्वंसक गतिविधि, हत्या, हिंसा, तोडफोड, व्यक्तिगत वा राष्ट्रिय सम्पत्तिकोे क्षति जघन्य अपराध हो । कुनै पनि बहानामा गरिने क्षतिलाई क्षमादान गर्न हुँदैन र सकिँदैन पनि । विभिन्न कारणले विभिन्न पक्षबाट हुने गरेको क्षतिलाई नजर अन्दाज गर्दा एकातिर त्यसले नागरिक र राज्यलाई सिधै क्षति पु¥याएर देशलाई निकै पछाडि धकेलेको छ । अर्कोतर्फ प्रायशः हुने गरेका विध्वंसक गतिविधिले यस्ता अपराधिक कुकर्म गर्न हौस्याएको छ जसको डरले गर्दा यहॉ जो कोही विकासप्रेमी, स्वावलम्वी, कर्मठ, उद्यमी, व्यवसायी, साधारण नागरिक, लगानीकर्ता यहॉ जाखिम लिएर लगानीको साहस गर्न सक्दैन । फलस्वरूप देशको विद्यमान पू‘जी पलायन भई देशको अवस्था झनझन नाजुक हुने खतरा बढ्न सक्छ । त्यसैले आङ्खनो इज्जत, जीउ, धन वा व्यक्तिगत÷सार्वजनिक सम्पत्ति सुरक्षार्थ आकस्मिक परिस्थितिजन्य क्षति बाहेक अन्य जुनसुकै बहानामा हुने हत्या, हिंसा वा क्षतिको उचित आर्थिक क्षतिपूर्ति अनिवार्य रुपमा सम्बन्धित पक्षबाटै गर्ने व्यवस्था गरिनुपर्छ । लाखौं करोडौंको क्षतिपूर्ति गर्नुपर्ने भए पछि जनधनको क्षति हुने गरी कोही पनि ध्वंसात्मक गतिविधिमा संलग्न हुने साहस गर्दैन । तसर्थ राज्यको शान्ति अमनचयन, विकास र समृद्धिका लागि राज्य तथा नागरिकले गर्नैपर्ने कर्तव्यहरु र अपराधलाई प्रश्रय हुने गरी गर्न नहुने कामका सीमाहरु पनि निर्धारण गरी राज्य र नागरिकद्वारा कडाइका साथ परिपालन गर्नु/गराउनु अपरिहार्य हुन्छ ।
संकल्पको सूर्य र नेपाल निर्माणको महायात्रा
राष्ट्र निर्माण केवल इँटा र ढुंगाको थुप्रो होइन, यो चेतना, आस्था र साझा संकल्पको जगमा टेकेको बृहत यात्रा हो । मैले आफ्नो जीवनकालमा नेपालको अशान्ति र शान्ति दुवै अवस्थालाई नजिकबाट नियालेको छु- विद्रोह, द्वन्द्व र त्यसको व्यवस्थापनको कठिन प्रक्रिया देखेको छु, सुनेको छु र भोगेको पनि छु । यी सबै अनुभवले मलाई निराश होइन, दृढ बनाएको छ । ममा शतप्रतिशत आत्मविश्वास छ- नेपाल बन्छ । तर, त्यो आत्मविश्वासलाई यथार्थमा रूपान्तरण गर्न जनताको चेतना जागृत हुनु अपरिहार्य छ । चेतनाको आवश्यकता र जनताको आत्मविश्वास नेपाल अहिले एक निर्णायक मोडमा उभिएको छ । असमानता, अविश्वास, विभाजन, अन्धविश्वास र भ्रष्टाचारले देशलाई जकडेको छ । जब चेतनाको अभाव हुन्छ, तब देशमा विद्रोह, असन्तोष र निराशा फैलिन्छ । तर, चेतना त्यस्तो अमरदीप हो, जसलाई हावाले निभाउन सक्दैन-अन्यायले झनै प्रज्वलित गर्छ । आजको मुख्य चुनौती राजनीतिक होइन, मानसिक चेतनाको पतन हो । नेपाली जनताको भावनात्मक गुण-दयालुता, सहयोग, आस्था- यी नै हाम्रो शक्ति हुन्, तर यही भावनात्मकता केही स्वार्थी नेताहरू र विदेशी रणनीतिक दलालहरूले आफ्नो फाइदाको साधन बनाएका छन् । विदेशी शक्तिहरू नेपालका स्रोत, भू-राजनीतिक स्थिति र आस्थामाथि आफ्नो नियन्त्रण जमाउन चाहन्छन् । तर दोष केवल विदेशीलाई छैन; हामी स्वदेशीहरू पनि चेतनाहीन भएर उनीहरूलाई त्यो ठाउँ दिइरहेका छौं । अब विदेशीहरूभन्दा पनि खतरनाक ती नेपालीहरू हुन् जो नेपालमै बसेर नेपालको अहित चाहन्छन् । त्यस्ता तत्वहरूलाई चिन्ने, बहिष्कार गर्ने र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी अब जनतामाथि नै छ । विनाश होइन, पुनर्जागरण नेपालमा हिजोका आन्दोलनहरू नारा, राग, र आक्रोशमा सीमित भए । तर अबको आन्दोलन चाहिँ नवीन अवधारणामा आधारित हुनुपर्छ । यो आन्दोलन घर, सडक, सिंहदरबार जलाउने होइन, यो त नयाँ चेतना र नयाँ संकल्पले देश बनाउन गर्ने आन्दोलन हो । हामीले भ्रष्टाचार, विकृति र गलत आचरणबाट आर्जित सम्पत्तिहरूलाई राष्ट्रियकरण गरेर जनताको हितमा प्रयोग गर्नुपर्छ । र, विदेशीहरूले नेपालभित्र आफ्नो प्रभाव विस्तारका लागि गरेको लगानीलाई देश निर्माणकै माध्यम बनाउन सक्नुपर्छ । अब निषेध होइन, समाधानको खोज हाम्रो बाटो हुनुपर्छ । प्रतिशोध होइन, सुधार र सहकार्यको दर्शन अपनाउनुपर्छ । ‘मोर अनार्की, मोर पावर’ होइन, ‘मोर जिम्मेवारी, मोर देश’ भन्ने नयाँ संस्कार बसाल्न जरुरी छ । आन्दोलन केवल विनाश होइन । यो नयाँ समाजको निर्माण गर्ने शक्ति हो । जसले शासनलाई होइन, शिक्षालाई प्राथमिकता दिन्छ । सत्ता कब्जा होइन, सेवा र जिम्मेवारीमा विश्वास गर्छ । इतिहासका सन्देश : राखबाट उठ्ने राष्ट्र हिरोसिमा र नागासाकीमा भएको परमाणु विस्फोटन मानव सभ्यतामाथिको सबैभन्दा ठूलो चोट थियो । तर, त्यो राख र धुलोबाट जापान फेरि उठ्यो- शिक्षा, अनुशासन र आत्मबलको शक्तिबाट । त्यो उदाहरणले संसारलाई सिकायो, ‘विनाश अन्त्य होइन, नयाँ सुरुवातको संकेत हो ।’ नेपाल पनि अहिले त्यस्तै मोडमा छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार, वैदेशिक निर्भरता र आन्तरिक विभाजनले देशलाई थकित बनाएको छ । तर, यदि हामीले चेतना, आस्था र राष्ट्रिय एकताको ज्योति निभ्न नदियौं भने नेपाल फेरि उठ्छ, अझ बलियो रूपले । राष्ट्र पुनर्जागरणको यात्रा, जनताको मनदेखि सुरु हुन्छ—सडकबाट होइन, सचेत विचार र आचरणबाट जेन-जेड पुस्ता र नयाँ युगको आन्दोलन नेपालको पछिल्लो राजनीतिक आन्दोलनले देखायो-नयाँ पुस्ता, जेन-जेड, अब मौन बस्दैन । उनीहरू आक्रोशित छन्, प्रश्न गर्छन्, परिवर्तन चाहन्छन् । तर, यो ऊर्जा यदि चेतनामा रूपान्तरण गर्न सकियो भने यही पुस्ता राष्ट्र पुनर्जागरणको मेरुदण्ड बन्न सक्छ । सामाजिक सञ्जाल र सडकमा देखिएको असन्तोष केवल विद्रोह होइन,यो चेतनाको निनाद हो । नयाँ युग सुरु गर्ने चाहनाको आवाज हो । तर, आन्दोलन केवल विरोध होइन, यो पनि नेतृत्वको परीक्षा हो । त्यसैले युवा पुस्ता आन्दोलनमा मात्र होइन, विकासमा पनि सहभागी हुन तयार हुनुपर्छ । र, पुरानो पुस्ताले उनीहरूलाई निराश होइन, प्रेरणा दिनुपर्छ । जिम्मेवारी र नेतृत्वको संस्कार आन्दोलन र चेतनाले दिशा पाउँछन् जब नेतृत्व जिम्मेवार हुन्छ । नेता त्यो होइन जो कुर्सीमा बस्छ । नेता त्यो हो जो देशको पीडा महसुस गर्छ । जो बोल्दैन मात्र, कार्य गर्छ । नेता बन्नु मतलब– नैतिकता, पारदर्शिता र देशप्रेममा उभिनु हो । राजनीति सत्ता कब्जाको होइन, सेवाको मञ्च हो । नेतृत्वले शिक्षा, अनुशासन र निष्ठाको बलमा जनताको विश्वास जित्नुपर्छ । देश बन्छ जब जनता जाग्छन् । देश बन्छ जब नेतृत्व निष्ठावान् हुन्छ । र, देश बन्छ जब हामी सबैले ‘म’ होइन ‘हामी’ भन्ने संस्कार अंगाल्छौँ । आचार्य सत्यमोहन जोशीले भनेका थिए- ‘शिक्षा नै त्यो शक्ति हो जसले समाजलाई बदल्छ ।’ त्यसैले शिक्षा र चेतनाबाट जिम्मेवार नेतृत्व जन्मिन्छ, जसले आन्दोलनलाई विनाश होइन, विकासको दिशामा मोड्न सक्छ । अबको नेतृत्वको परीक्षा नारामा होइन, आचरणमा हुनेछ । भाषणले होइन, निष्ठाले जनताको विश्वास जित्न सकिनेछ । वर्तमान चुनौती र अवसर नेपाल अहिले भू–राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा छ । भारत, चीन र पश्चिमी देशहरूको रणनीतिक स्वार्थको केन्द्र नेपाल बन्दै गएको छ । यदि हामी चेतनशील रह्यौँ भने यो स्थिति अवसर बन्न सक्छ । तर, चेतना नजाग्दा यो हाम्रो अस्मिता खोस्ने खतरा पनि बन्न सक्छ । अर्कोतर्फ, नयाँ पुस्ता- डिजिटल युगका नागरिक अब सूचना, सीप र दृष्टिकोणमा सक्षम छन् । उनीहरूमा विचारको शक्ति छ, केवल दिशाको आवश्यकता छ । यदि यस ऊर्जालाई राष्ट्रको नीतिमा रूपान्तरण गर्न सकियो भने नेपालले नयाँ युगको सुरुवात गर्न सक्छ । नेपालका युवाहरू, शिक्षकहरू, बौद्धिकहरू, किसान र श्रमिक- यी नै देशका वास्तविक निर्माता हुन् । उनीहरूले आफ्नो श्रम, सीप र जिम्मेवारीलाई देशको नयाँ विकल्पमा परिणत गर्नुपर्छ । अब हामीले पसिनाको मूल्य बुझ्नुपर्छ, श्रमलाई सम्मान दिनुपर्छ । र, विकासलाई केवल सपना होइन, संकल्पको रूप दिनुपर्छ। आशा, संकल्प र चेतनाको मिलन देश निर्माणमा अब आरोप होइन, सहकार्य चाहिन्छ । पार्टी होइन, राष्ट्र केन्द्रमा हुनुपर्छ । निराशा होइन, आशा जगाउने संस्कार चाहिन्छ । ‘सपना देख्नु गलत होइन’, तर सपना साकार गर्न नचाहनु गलत हो । हामीले सपना देख्ने मात्र होइन, पूरा गर्ने पुस्ता बन्नुपर्छ । देश बनाउने जिम्मेवारी अरू कसैको होइन—हाम्रो आफ्नै काँधमा छ । नेपाल अहिले खरानीजस्तो देखिए पनि त्यो खरानीभित्र बलिरहेको आशाको ज्योति अझै निभेको छैन । यदि हामीले चेतनाको प्रकाश, जिम्मेवारीको बाटो र सहकार्यको संस्कार रोज्यौँ भने नेपाल फेरि उठ्नेछ, अझ बलियो, सचेत र गौरवशाली रूपमा । निष्कर्ष देश निर्माणको यात्रामा चेतना, आन्दोलन र जिम्मेवारी- यी तीनवटा स्तम्भ हुन् । चेतना जनताको आत्मा हो, आन्दोलन परिवर्तनको ढोका हो । र, जिम्मेवारी भविष्यको बाटो हो । देश बन्छ जब जनता जाग्छन् । देश बन्छ जब नेतृत्व निष्ठावान् हुन्छ । र, देश बन्छ जब हामी सबैले ‘म’ होइन ‘हामी’ भन्ने संस्कार अंगाल्छौँ । राष्ट्र प्रेम नारामा होइन, कर्तव्यमा देखिन्छ । नेपाली हुनु गर्वको कुरा हो । तर, नेपाल बनाउन जिम्मेवारी लिनु कर्तव्यको कुरा हो । नेपाल बन्नेछ, जब चेतना कर्ममा रूपान्तरण हुन्छ । संकल्प कार्यमा परिणत हुन्छ । र, आशा यथार्थमा फुल्छ । (लेखक शिक्षक तथा सामाजिक अभियान्ता हुन् । )