मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट १८.२० प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहने निर्णय भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख ८८ हजार ७ सय ६७ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने र पूँजीवृद्धि पश्चात नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ। साथै, आव २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि स्वीकृत गरिएको छ । कार्यक्रमको औपचारिक उद्घाटन अध्यक्ष मल्लले गरेका थिए । स्वागत मन्तव्य सञ्चालक समिति सदस्य भरत प्रसाद लम्सालले राखे भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्था, उपलब्धि तथा भावी रणनीतिबारे जानकारी दिएका थिए । सभामा प्रस्तुत प्रतिवेदनमाथि विभिन्न सेयरधनीले सुझाव तथा जिज्ञासा राखेका थिए, जसका बारेमा अध्यक्ष मल्ल र सीईओ पोखरेलले स्पष्टीकरण प्रदान गरेका थिए ।

कामना सेवाको पहिलो त्रैमासिक नाफा १९ करोड ७६ लाख, ५३ अर्ब कर्जा प्रवाह

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड निक्षेप संकलन गरि ५३ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ ।  बैंकले प्रथम त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ । सोही अवधिसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ ।  बैंकले हालै मात्र नेपालको बैंकिङ इतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो, जसले आफ्ना ग्राहकहरूलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आ.व. ८१.८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।  यस समझदारीसँगै यस बैंकका ग्राहकले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए । यस अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, सर्जिकल ट्रिटमेन्ट्समा १५ प्रतिशत प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सर्भिसमा १५ प्रशित (सीटी र एमआरआई बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा रहेको छ ।  यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।  उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।