नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बुधबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलमा उपचार सेवा लिँदा अस्पतालले तोकेको विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । उक्त छुट नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा लागू हुने जनाइएको छ ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा बि एण्ड बि हस्पिटलका तर्फबाट प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिमार्फत छिटो, छरितो तथा गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको पनि जनाएको छ ।    

Share News