विकासन्युज

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह

दमौली । जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।          पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक, पन्छी व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविनसन अधिकारीले अनुरोध गरेका हुन् ।  अण्डा राख्ने पुराना क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका सवारीसाधनलाई निसङ्क्रमण गर्न, कागलगायत जङ्गली पन्छीसँग घरपालुवा पन्छी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न, अन्य सङ्क्रामक रोगविरुद्ध नियमित खोप लगाउन तथा सङ्क्रमण पुष्टि भएमा मरेका पन्छीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्मलाई निसङ्क्रमण गर्न र प्राविधिकको सल्लाहअनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ ।    

‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू

काठमाडौं । लियोनेल मेसीको अर्जेन्टिनाले इजिप्टमाथि विवादास्पद जित निकालेपछि विश्वकप अर्जेन्टिनाको पक्षमा ‘मिलाइएको’ भन्ने दाबीले व्यापक चर्चा पाएको छ । मंगलबार एटलान्टामा भएको अन्तिम–१६ को खेलमा इन्जो फर्नान्डेजको निर्णायक गोललाई रद्द नगरिनु तथा त्यसअघि मोस्तफा जिकोको गोल अमान्य ठहरिनुले विवाद चर्किएको हो । त्यसपछि जिकोले नै प्रतियोगितामा सेटिङ गरिएको आरोप लगाएका थिए । यस्तो आरोप पुष्टि गर्ने कुनै प्रमाण छैन । तर त्यसले षड्यन्त्रका सिद्धान्त फैलाउनेहरूलाई भने रोक्न सकेन । उनीहरूले अर्जेन्टिनाले विश्वकप बचाउने अभियान फिफाको संरक्षणमा अघि बढिरहेको दाबी गर्न थाले । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन आफूले हटाइदिएको दाबी गरेपछि पनि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो । यिनै विवादबीच टेलिग्राफ स्पोर्टले अर्जेन्टिनाको नाम पहिले नै ट्रफीमा लेखिसकिएको भन्ने दाबीका केही आधारहरू केलाएको छ । मेसी रेड कार्डबाट जोगिए अर्जेन्टिनाको पहिलो खेलमा मेसीले ह्याट्रिक गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे । तर धेरैको भनाइमा उनी त्यो ह्याट्रिक पूरा गर्न मैदानमै रहनु हुँदैनथ्यो । ३२औं मिनेटमा उनले अल्जेरियाका आइसा माण्डीको खुट्टामाथि स्टड्सले प्रहार गरेको देखिएको थियो । पोल्यान्डका रेफ्री सिज्मोन मार्सिनियाकले फाउल दिएनन् भने भिडियो सहायक रेफ्री (भीएआर) ले पनि त्यसलाई रातो कार्ड योग्य घटना मानेन । तर धेरै विश्लेषक असहमत थिए । म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर नेडुम ओनुओहाले ईएसपीएनसँग भने, ‘मेरो विचारमा त्यो सीधा रेड कार्ड हुनुपथ्र्यो ।’  भेनेजुएलाका पूर्वफरवार्ड आलेहान्द्रो मोरेनोले पनि ‘मेस्सीका लागि त्यो शतप्रतिशत रातो कार्ड रहेको’ बताए । यसपछि अमेरिकाका फोलारिन बालोगुनले बोस्निया–हर्जेगोभिनाका तारिक मुहारेमोभिचमाथि गरेको चुनौतीमा सीधा रातो कार्ड पाएपछि तुलना झन् बढ्यो ।  मेसी सजायबाट जोगिए पनि बालोगुन बेल्जियमविरुद्धको अन्तिम–१६ खेल गुमाउने अवस्थामा पुगेका थिए । पछि ट्रम्पको हस्तक्षेपपछि उनको निलम्बन हटेको दाबी गरिएको थियो । कम कार्ड, धेरै फाउल अल्जेरियाविरुद्ध अर्जेन्टिनाले १३ फाउल गर्दा एउटा पनि कार्ड पाएन । त्यस खेलमा अल्जेरियाले आठ फाउल गरेको थियो । जोर्डनविरुद्धको दोस्रो खेलमा पनि अर्जेन्टिनाले कुनै कार्ड पाएन, जबकि जोर्डनले लगभग आधा फाउल मात्र गरे पनि तीन पहेँलो कार्ड पायो । अस्ट्रिया र केप भर्डेविरुद्धका खेलमा अनुशासनको हिसाब लगभग बराबरी थियो । इजिप्टविरुद्धको अन्तिम–१६ खेलमा पनि फर्नान्डेजको इन्जुरी समयमा आएको विजयी गोलअघि कुनै टोलीले कार्ड पाएको थिएन । त्यसपछि भने इजिप्टका चार खेलाडी र प्रशिक्षक होसाम हसनलाई छोटो समयमा कार्ड देखाइयो । क्वार्टरफाइनल पुगेका आठ टोलीमध्ये अर्जेन्टिनाले जम्मा तीन कार्ड मात्र पाएको छ, जुन दोस्रो सबैभन्दा कम हो । तर उसले चौथो धेरै फाउल गरेको टोली हो । प्रति कार्ड १९.७ फाउल गर्ने औसत केवल नर्वे (२४) भन्दा मात्र कम छ । त्यसको विपरीत थोमस टुखेलको टोलीले आठ कार्ड पाएको छ र प्रति कार्ड ६.८ फाउलको अनुपात छ । इन्फान्टिनोको टिप्पणी केप भर्डेविरुद्ध अर्जेन्टिना संघर्षपूर्ण अवस्थामा पुगेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै टोलीलाई बधाई दिए र आफू पनि खेलभर अर्जेन्टिनासँगै ‘तनावमा रहेको’ बताए । पछि उनले आफूले ‘दुवै टोलीलाई समर्थन गर्ने तटस्थ समर्थक’ को तर्फबाट त्यो कुरा भनेको स्पष्ट पारे । तर यसले अर्जेन्टिनाप्रति विशेष झुकाव रहेको आरोपलाई थप बल दियो । फ्रान्सको खेलमा सबै अफिसियल अर्जेन्टिनाकै फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनलका लागि फिफाले मैदानका पाँचै अधिकारी अर्जेन्टिनाका हुने घोषणा गरेपछि सामाजिक सञ्जालमा नयाँ षड्यन्त्रका चर्चा सुरु भए । फ्रान्सलाई मेस्सीको लगातार दोस्रो विश्वकप जित्ने अभियानको सबैभन्दा ठूलो चुनौती मानिएको थियो । यस्तो अवस्थामा भएको नियुक्तिप्रति धेरैले आशंका व्यक्त गरे । एक्स (ट्विटर) मा गरिएको उक्त पोस्ट ३ करोड २० लाखभन्दा बढी पटक हेरिएको थियो । ड्र पनि अर्जेन्टिनाको पक्षमा ? विश्वकप सुरु हुनुअघि नै अर्जेन्टिनालाई अनुकूल ड्र मिलाइएको आरोप लागेको थियो । फिफाले उपाधि रक्षक अर्जेन्टिना, युरो २०२४ विजेता स्पेन तथा फ्रान्स र इंग्ल्यान्डलाई सेमिफाइनलअघि एकअर्कासँग नपर्ने गरी शीर्ष वरीयतामा राखेको थियो । अर्जेन्टिना सजिलै जित्ने अनुमान गरिएको समूहमा परेको थियो । त्यसपछि अन्तिम–३२ मा उरुग्वे, साउदी अरेबिया वा केप भर्डेमध्ये कुनै एकसँग खेल्नुपर्ने सम्भावना थियो, जसलाई धेरैले सहज बाटो माने । २०२२ मै पनि उठेको थियो यस्तै आरोप मोस्तफा जिकोको आरोप नयाँ होइन । २०२२ मा मेसीले पहिलो पटक विश्वकप जित्दा पनि यस्तै विवाद उठेको थियो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो । त्यस खेलपछि पूर्व डच प्रशिक्षक लुइस भान गालले सन् २०२३ मा एनओएससँग भनेका थिए, ‘अर्जेन्टिनाले कसरी गोल गर्यो, हामीले कसरी गर्यौं अनि उनीहरूका केही खेलाडीले सीमा नाघ्दा पनि सजाय पाएनन् । मलाई लाग्छ सबै पहिले नै तय गरिएको थियो ।’ मेस्सीलाई विश्व च्याम्पियन बनाउन खोजिएको हो भन्ने प्रश्नमा उनले, ‘मलाई त्यही लाग्छ’ भनेका थिए । तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन । १९७८ को विश्वकपदेखि नै आशंका अर्जेन्टिनाले सन् १९७८ मा घरेलु मैदानमा सैन्य शासनको समयमा पहिलो विश्वकप जित्दा पनि विवाद उठेको थियो । फाइनल पुग्न उसलाई पेरूमाथि कम्तीमा चार गोलको अन्तरले जित्नुपर्ने थियो । अर्जेन्टिनाले ६–० को सहज जित निकाल्यो, जसपछि खेल मिलाइएको आरोप लाग्यो । सन् २०१२ मा पेरुका पूर्व सिनेटर जेनेरो लेदेस्माले ब्युनस आयर्सको अदालतमा तत्कालीन अर्जेन्टिनी शासक जोर्ज राफाएल भिडेला र पेरुका राष्ट्रपति फ्रान्सिस्को मोरालेस बर्मुडेजबीच गोप्य सहमति भएको दाबी गरेका थिए ।  उनका अनुसार अर्जेन्टिनाको अन्तर्राष्ट्रिय छवि सुधार्न विश्वकप जित आवश्यक भएकाले पेरुले सहयोग गरेको थियो । यद्यपि यी आरोप पनि प्रमाणित भएका छैनन् । १९९० मा माराडोनामाथि पनि आरोप सन् १९९० को विश्वकपमा अर्जेन्टिना र ब्राजिलबीच अन्तिम–१६ को खेलमा ब्राजिलका खेलाडी ब्रान्कोले अर्जेन्टिनी फिजियोथेरापिस्टले दिएको पानी पिएपछि आफूलाई चक्कर लागेको दाबी गरेका थिए । केही समयपछि क्लाउडियो कानिजियाले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । करिब १५ वर्षपछि अर्जेन्टिनाका तत्कालीन प्रशिक्षक कार्लोस बिलार्डोले एक अन्तर्वार्तामा उक्त घटनाबारे ‘त्यो नभएको भन्न सक्दिनँ’ भनेका थिए । यसपछि ब्राजिल फुटबल महासंघले फिफासँग अनुसन्धानको माग गर्ने जनाएको थियो । तर त्यस विषयमा फिफाले कुनै कारबाही गरेको अभिलेख छैन । अन्य सान्दर्भिक सामग्रीहरू : विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

नेपाल–भारत सीमा अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा फेरि अवरोध

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध बिहीबार (आज) पनि जारी रह्यो । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । लगातारको अवरोधपछि सभामुख अर्यालले एउटै विषयमा लामो समयदेखि विपक्षी सांसदहरूले ध्यानाकर्षण गराइरहेको उल्लेख गर्दै सभाको मर्यादा र समयलाई ध्यानमा राख्न आग्रह गरे ।  उनले विपक्षी बेन्चबाट एक जना सांसदले धारणा राखेपछि बैठकको कार्यसूची अघि बढाउने प्रस्ताव पनि गरे । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले भारत–नेपाल सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर सरकारसँग जवाफ माग्दै आएका छन् । गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त भनाइपछि विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।  उनीहरूले प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि हुने तथ्य र प्रमाण सदनमा प्रस्तुत गर्नुपर्ने नत्र उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै आएका छन् ।

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माविलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतीक्षा स्थल निर्माणका लागि सहयोग गर्नुका साथै विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालयको शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन् । बैंकले विद्यालयमा आउने अभिभावक, सेवाग्राही तथा स्थानीय समुदायका व्यक्तिका लागि व्यवस्थित, सम्मानजनक र सहज प्रतीक्षास्थल निर्माणमा समेत सहयोग गरेको जनाएको छ । शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले बैंकप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कामना सेवा विकास बैंकले आगामी दिनमा पनि स्थानीय समुदायसँग समन्वय र सहकार्य गर्दै शिक्षा, सामाजिक विकास तथा सामुदायिक हितका यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

कुमारी बैंकले बाजुराका ६ सामुदायिक विद्यालयलाई दियो स्मार्ट टेलिभिजन

काठमाडौं । कुमारी बैंक लिमिटेडले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका ६ सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । यस सहयोगबाट ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको बैंकले जनाएको छ । भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा स्मार्ट टेलिभिजन उपलब्ध भएपछि शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बन्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमअन्तर्गत श्री मानाकोट माध्यमिक विद्यालय, श्री जनज्योति माध्यमिक विद्यालय, श्री अम्लिश माध्यमिक विद्यालय, श्री फूलपाता माध्यमिक विद्यालय, श्री किर्तिचौर माध्यमिक विद्यालय र श्री बालविकास माध्यमिक विद्यालय लाभान्वित भएका छन् । कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वासका साथ ग्रामीण र शहरी क्षेत्रबीचको शैक्षिक अवसर तथा स्रोत–साधनको असमानता न्यूनीकरण गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास बैंकको छ । ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल नाराअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार शिक्षा क्षेत्रमा गरिएको यो सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीलाई डिजिटल युगअनुकूल ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुका साथै स्थानीय तहमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ । विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०४ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

बालमन्दिरको सम्पत्ति हिनामिना गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । बालमन्दिरको सम्पत्ति हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता अनुपम शमशेर जबराले तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार बालमन्दिरको जग्गा छानबिन गर्ने क्रममा बनेको उच्चस्तरीय आयोग २०७७ को प्रतिवेदन कार्यान्वयन सिलसिलामा केही व्यक्तिलाई पक्राउ गरिएको हो । प्रतिवेदनको पनि ठगी कसुरमा केही व्यक्तिलाई पक्राउ गरिएको जबराको भनाइ छ । विस्तृत विवरण केही क्षणमा सार्वजनिक गरिने उनले जानकारी दिए ।

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४०० रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

लुम्बिनी विकास बैंकको सीईओ बने सुमन आचार्य

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २४ गते बसेको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिए ।  कम्पनी सचिव सुवेदीका अनुसार नवनियुक्त सीईओ आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको हो । आचार्य हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत छन् । बैंकका सीईओ नरेशसिंह बोहराको दुई कार्यकाल साउनमा सकिन लागेको छ । उनलाई वि.सं. २०७९ असार ३० गते बसेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।