विकासन्युज

‘दिमाग घोच्ने मान्छे’ वृत्तचित्र अब डी गो प्लेटफर्ममा

नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' अब आधिकारिक रूपमा डी गो (DGO) OTT प्लेटफर्ममा हेर्न सकिने भएको छ । यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ । यस पहलले उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ । एक पुस्तालाई झक्झक्याउने कथा 'दिमाग घोच्ने मान्छे' ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा, र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ। दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो । प्रसारण तथा शुल्क विवरण नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गो (DG) को एप मार्फत यो वृत्तचित्र हेर्न सक्नेछन् । विभिन्न क्षेत्रका लागि शुल्क निम्नानुसार तय गरिएको छ : नेपाल : रु. १९९ अमेरिका र अष्ट्रेलिया : $४.९९ बाँकी विश्व : $२.९९ उज्वल थापा फाउन्डेसनका बारेमा यो फाउन्डेसन उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

फेवातालको २० रोपनी जग्गा विवादमा हर्क साम्पाङको आग्रह : जग्गा विवाद प्रस्टयाइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको भनिएको फेवातालको २० रोपनी जग्गा प्रकरणबारे तत्काल सार्वजनिक स्पष्टीकरण दिन आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले विवाद गम्भीर बन्दै गएको संकेत गर्दै गृहमन्त्री गुरुङलाई पत्रकार सम्मेलनमार्फत स्पष्ट धारणा सार्वजनिक गर्न सुझाएका हुन् । साम्पाङले लेखेका छन् खास कुरा के हो पत्रकार सम्मेलन गरेर प्रष्ट पार्नुस । यो अब सामान्य कुरा रहेन, नैतिकताको सवाल खडा भयो उनले लेखेका छन् । विवादको केन्द्रमा फेवाताल फेवाताल क्षेत्रसँग सम्बन्धित २० रोपनी जग्गामा गृहमन्त्री गुरुङको नाम मुछिएको चर्चा सार्वजनिक भएपछि राजनीतिक वृत्त तातेको छ । यद्यपि, उक्त जग्गाको स्वामित्व, किनबेच प्रक्रिया वा कानुनी स्थिति सम्बन्धी आधिकारिक विवरण भने अझै स्पष्ट भइसकेको छैन । साम्पाङले विगतमा पनि सार्वजनिक मुद्दाहरूमा खुला र आक्रामक धारणा राख्दै आएका छन् । यसपटक पनि उनले सोही शैलीलाई निरन्तरता दिँदै सिधै गृहमन्त्रीलाई लक्षित गरेका हुन् । विवाद चुलिँदै गए पनि गृहमन्त्री गुरुङले हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार मन्त्रालयभित्र विषयबारे आन्तरिक छलफल भइरहेको भए पनि सार्वजनिक धारणा भने अझै आउन बाँकी छ । जानकारहरुका अनुसार यो प्रकरण केवल जग्गा विवादमा सीमित नभई सरकारको पारदर्शिता र नैतिक उत्तरदायित्वसँग जोडिएको विषय बनेको छ । यदि छिट्टै स्पष्टीकरण नआएमा यसले राजनीतिक रूपमा ठूलो असर पार्न सक्ने आँकलन गरिएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोसमार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुने भएको छ । यस प्रणालीमार्फत भिसा, युनियनपे, नेपालपे लगायत विभिन्न कार्ड स्किम तथा स्मार्टक्यूआरमार्फत डाइनामिक क्यूआर भुक्तानीलाई समेत समर्थन गरिनेछ । एससीटी र सिटी टेकबीचको सहकार्यले बैंक, वित्तीय संस्था तथा व्यापारीहरूका लागि आधुनिक, सहज र विस्तारयोग्य पिओएस उपकरण उपलब्ध गराउने लक्ष्य राखिएको छ । पिओएस अधिग्रहण (एक्वायरिङ) व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरू यस सेवाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ । छुट्टाछुट्टै कार्ड स्किम सदस्यता लिनुपर्ने, प्रविधिमा ठूलो लगानी गर्नुपर्ने तथा सुरक्षा प्रमाणीकरणको आवश्यकता कम हुने भएकाले यो सेवा आर्थिक रूपमा समेत प्रभावकारी रहने बताइएको छ । एससीटीले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै फिनपोससँगको साझेदारीलाई महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । हाल एससीटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ । कम्पनीले आफ्नै कार्ड स्विचिङ संरचना ‘स्मार्ट स्विच’मार्फत एससीटी–युनियनपे तथा भिसा कार्ड जारी गर्नुका साथै भिसा, रुपे, मास्टरकार्ड र डिस्कभर कार्ड स्वीकार सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशकदेखि नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको एससीटी नेपालकै पहिलो स्वदेशी कार्ड स्किम हो । कार्ड सेवाका अतिरिक्त एससीटीले स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी अन्तरबैंक भुक्तानी सेवा तथा स्मार्ट बैंकिङ मोबाइल बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

देवचुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३०७ जनाले लिए सेवा

काठमाडौं । नवलपुरको देवचुली नगरपालिका–१५, प्रगति नगर सालघारीस्थित दुर्गा मन्दिरमा महिला तथा बालबालिकालाई लक्षित गरी स्वास्थ्य सिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट ३०७ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएको स्थानिय कृष्ण गैरेले जानकारी दिए । भरतपुरको बीपी मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक, आरोग्य मल्टी सुपरस्पेशलाइज क्लिनिक र भरतपुर रोटरीको संयुक्त आयोजनामा सम्पन्न शिविरमा महिला स्वास्थ्य, स्तन क्यान्सर, बालरोगलगायत विभिन्न रोगसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको गैरेले बताए । गैरेका अनुसार शिविरमा १०५ जनाको भिआइए विधिवाट क्यान्सर परीक्षण तथा १६० जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । अन्य सेवाग्राहीले महिला तथा बालबालिकासम्बन्धी विभिन्न स्वास्थ्य समस्यामा परामर्श तथा उपचार सेवा लिएका थिए गैरेले भने । गैरेका अनुसार शिविरमा वरिष्ठ रक्त तथा बालरोग विशेषज्ञ र बोन म्यारो ट्रान्सप्लान्टसम्बन्धी अनुभव भएका चिकित्सकहरूको टोली सहभागी भएको थियो । 

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ आफै ठगिएको दाबी, कानुनी लडाइँमा जाने घोषणा

काठमाडौं । भ्रष्टाचार, ठगी र अपराधविरुद्ध कडा अभियान चलाइरहेका गृहमन्त्री सुधन गुरुङ स्वयं नै पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा ठगीको शिकार भएको उनको सचिवालयले बताएको छ । फेवाताल अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइरहेका गृहमन्त्री गुरुङकै नाम जोडिएको जग्गा लिज प्रकरणमा स्पष्टीकरण दिदै सचिवालयले कानुनी उपचारमा जाने बताएको हो । प्रारम्भिक विवरणअनुसार उनले लिजमा लिएको जग्गा नै ६५ मिटर मापदण्डभित्र पर्ने अतिक्रमित क्षेत्र भएको पुष्टि भएपछि उनी आफै ठगिएको दाबी गर्दै कानुनी उपचारको बाटो रोज्ने भएका हुन् । गृहमन्त्री गुरुङ पछिल्लो समय पोखरा महानगरपालिका सँग सहकार्य गर्दै फेवाताल वरपर मापदण्ड मिचेर बनेका संरचना हटाउने अभियानमा छन् । त्यही अभियानकै क्रममा विगतमा आफूले लिजमा लिएको जग्गा पनि अतिक्रमणभित्रै परेको तथ्य बाहिरिएपछि प्रकरण थप पेचिलो बनेको  हो । झुक्याएर ठगियो : गृहमन्त्रीको सचिवालय गृहमन्त्री गुरुङको सचिवालयका अनुसार करिब ८ वर्षअघि साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एड्भेन्चर स्पोट्र्स नेपाल सञ्चालन गर्ने योजना अघि बढाइएको थियो । सो क्रममा जग्गा लिँदा जग्गाधनीले मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएको तर पछि वास्तविकता फरक रहेको पाइएको सचिवालयको दाबी छ । सचिवालयले भनेको छ देशमै केही गरौँ भन्ने सोचका साथ ठूलो लगानी र सपना बोकेर सुरु गरेको काममा हामीलाई गलत जानकारी दिइयो । लालपूर्जामा समेत सुरक्षित देखाइएको जग्गा पछि जाँदा ६५ मिटर मापदण्डभित्र पर्ने रहेछ भन्ने थाहा भयो । गुरुङको सचिवालयका अनुसार गुरुङले आफू ठगिएको थाहा पाउनेबित्तिकै नैतिकताका आधारमा सम्पूर्ण निर्माण र लगानी रोकिएको स्पष्ट पारेको छ । हामीलाई झुक्याइएको पुष्टि भएपछि तुरुन्तै काम रोकेको सचिवालयले जनाएको छ । एउटा युवा उद्यमीको सपना र लगानीमाथि खेलबाड भएको छ, यो स्वीकार्य छैन सचिवालयले भनेको छ । गृहमन्त्री गुरुङसहित उनका साझेदारहरू अब कानुनी प्रक्रियामा जाने तयारीमा रहेको वताइएको छ । ठगी भएको दाबी गर्दै सम्बन्धित जग्गाधनीविरुद्ध मुद्दा दायर गर्ने संकेत उनको सचिवालयले दिएको छ ।

लोकल गोलभेँडा किलोको २५ रुपैयाँ, यस्तो कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७५, काउली स्थानीय (तराई) प्रतिकिलो रु ५०,  सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।  त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ९०, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ७०, च्याउ ९कन्य० प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु १२०, खुर्सानी (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १५०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण गरिएको छ ।   

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ ।  पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन वर्षका २०२६/२७ लागि डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् । कन्भेन्सनमा उपस्थित प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर लायन पंकज मेहता र विशेष अतिथिका रुपमा उपस्थित पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै मेम्बरसिप ग्रोथमा अझ ध्यान दिन आग्रह गरे ।   लायन्स क्लब अफ पोखरा अन्नपूर्णले व्यवस्थापन गरेको उक्त कार्यक्रम ऐतिहासिक र स्मरणीय बनेको कार्यक्रमका अध्यक्ष तथा हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले जानकारी दिए ।  डिष्ट्रिक्ट गभर्नर इलेक्ट बास्तोलाले क्याबिनेट सचिवमा लायन जीवन गोर्खाली, क्याबिनेट कोषाध्यक्षमा लायन पुरुषोत्तम प्रसाद पराजुलीलाई मनोनित गरेका छन् । त्यसैगरी चिफ एडभाईजरमा लायन राजु श्रेष्ठ र चिफ गभर्नर एडमा लायन रामराजा थापालाई मनोनित गरेका छन् । साथै उनले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कार्यक्रममा मल्टिपल काउन्सिल चियरपसर्न तथा आईपिडिजी लायन मिलन थापा, मल्टिपल फस्ट पर्सन, मल्टिपल काउन्सिल मेम्बर तथा पिडिजी लायन ध्रुव बहादुर थापा, मल्टिपल कोअर्डिनेटर तथा पिडिजी लायन योगेन्द्र प्रधान, मल्टिपल डिष्ट्रिक्ट चियरपर्सन तथा पिडिजी लायन हरि प्रसाद मरहट्टा, पाष्ट मल्टिपल काउन्सिल चियरपर्सन लायन प्रेम बहादुर श्रेष्ठ, पिडिजी लायन ध्रुव श्रेष्ठ लगायत अन्य डिष्ट्रिक्टबाट उपस्थित अतिथिसहित १ हजार भन्दा बढी लायन्स र लियो सदस्यहरुको उपस्थिती थियो ।  क्याबिनेट सेक्रेटरी लायन पुरुषोत्तम बस्नेतले सञ्चालन गरेको उक्त कन्भेन्सन कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरुलाई सम्मान गरिएको थियो । कन्भेनर लायन सुर्य प्रसाद बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।  त्यसैगरी उक्त दिन सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो आशिष थापा र लियो भाईस डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो माधव तिमल्सिना निर्वाचित भएका छन् । इलेक्ट लियो प्रेसिडेन्ट थापाले लियो डिष्ट्रिक्ट सचिवमा लियो सहनसिल बराल र कोषाध्यक्षमा लियो बिनिता बोगटीलाई मनोनित गरेका छन् । 

सेयर कारोबार आइतबार बन्द, शुक्रबार खुला

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिले आइतबार बसेको बैठकमा शुक्रबार पनि बजार खुला गर्ने निर्णय गरेको हो । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार आइतबार सेयर कारोबार बन्द रहनेछ । तर, साताको पाँचै दिन सेयर कारोबार सुनिश्चित गर्न शुक्रबार पनि कारोबार खुला गर्ने निर्णय नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले बताए ।  यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार बजार खोल्ने व्यवस्था गरेको थियो। त्यस समय पनि सातामा पाँच दिन सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार भएको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुरानै कार्यतालिकामा फर्किएको थियो ।