काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध बिहीबार (आज) पनि जारी रह्यो ।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।
लगातारको अवरोधपछि सभामुख अर्यालले एउटै विषयमा लामो समयदेखि विपक्षी सांसदहरूले ध्यानाकर्षण गराइरहेको उल्लेख गर्दै सभाको मर्यादा र समयलाई ध्यानमा राख्न आग्रह गरे ।
उनले विपक्षी बेन्चबाट एक जना सांसदले धारणा राखेपछि बैठकको कार्यसूची अघि बढाउने प्रस्ताव पनि गरे ।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहले भारत–नेपाल सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर सरकारसँग जवाफ माग्दै आएका छन् ।
गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ भन्ने कुरा प्रधानमन्त्री भएपछि थाहा पाएँ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीको उक्त भनाइपछि विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।
उनीहरूले प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि हुने तथ्य र प्रमाण सदनमा प्रस्तुत गर्नुपर्ने नत्र उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै आएका छन् ।