विकासन्युज

चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ मा सरकारको कुल खर्च ७८ प्रतिशत मात्र गरेको छ । बजेट खर्च गर्न पाउने अघिल्लो दिन अर्थात असार २४ गते बुधबारसम्म सरकारले बजेटको लक्षको ७८ प्रतिशत मात्र खर्च गर्न सेकेको हो ।  चालु आवका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसमा असार २४ गतेसम्म १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ मात्र बजेट खर्च भएको छ ।  चालु आवको बजेट ३ अर्थमन्त्री पौडेल, रामेश्वर खनाल र हालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यान्वयन गर्दा समेत पुँजीगत खर्च हुन सकेको छैन । चालु बजेटमा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।  विकास निर्माणको काम पुँजीगत खर्च अन्तरगत नै हुने भएकाले गर्दा यो खर्च हुन नसक्नुको अर्थ विकास कम भएको रूपमा समेत अर्थ्याउन सकिन्छ ।  महालेखा नियन्त्रकको कार्यालयकोअनुसार पुँजीगतमा ४ खर्ब ७ खर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा असार २४ गतेसम्ममा १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन खर्च विनियोजित बजेटको ४० प्रतिशत मात्र हो ।  चालु खर्चतर्फ भने खर्च बढी देखिएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । जुन खर्च ८७.२५ प्रतिशत हो ।  चालु तर्फको खर्च कर्मचारीको तलब भत्तामा सीमित हुने भएकाले गर्दा यो खर्च लगभग कार्यान्वयन हुने गर्छ ।  सरकारले वित्तीय व्यवस्थापनमा भने ९०.१७ प्रतिशत गरेको देखिएको छ । बजेट घाटा पूर्ति गर्न वा सरकारी ऋण भुक्तानी गर्नका लागि आवश्यक पर्ने रकम जुटाउने कार्यलाई वित्तीय व्यवस्थापन भन्ने गरिन्छ । जस अन्तर्गत आन्तरिक र बाह्य रिन लिने गरिन्छ ।  वित्तीय व्यवस्थापन गर्ने सकारले ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको अनुमान गरेकोमा बुधबारसम्ममा ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ व्यवस्थापन गरेको छ ।      

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ ।

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे एमाले कार्यदलको बैठक आज

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बस्ने बैठकले निर्वाचन समीक्षाका निष्कर्ष, पार्टी संगठन सुदृढीकरण तथा पुनर्गठनसम्बन्धी प्राप्त सुझावमाथि छलफल गर्नेछ । यसअघि कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गर्न केन्द्र, प्रदेश र जिल्ला तहमा पार्टी पङ्क्तिका विभिन्न भेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रमबाट प्राप्त सुझावलाई समेटेर आगामी कार्यदिशा तय गर्ने तयारीका साथ बैठक बस्न लागेको जनाइएको छ । यसअघि असार २० मा बस्ने सचिवालय बैठक मा पेश गर्ने गरी काम गरे पनि कार्यदलले काम सम्पन्न नगरेका कारण सचिवालय बैठक समेत बस्न सकेको छैन। कार्यदलले आफ्नो प्रतिवेदन पार्टी सचिवालयमा पेश गर्नेछ । सचिवालयमा गहन छलफलपछि केन्द्रीय समितिमा प्रस्तुत गरेर कार्यान्वयनमा लैजाने तयारीमा पार्टी रहेको छ ।

कैलालीमा 'बालेनको प्रहरी होइनौं' भन्ने प्रहरीलाई सोधपुछ गरिने

काठमाडौं । कैलालीका डिएसपी प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । 'बालेनको पुलिस होइन, नेपाल पुलिस होइनौं' भन्ने अभिव्यक्ति दिएपछि उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो ।   उनले दिएको अभिव्यक्तिबारे सोधपुछ गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए । डिएसपी चौधरीलाई अर्कै सन्दर्भमा बोलाइएको भए पनि उनले बोलेका अभिव्यक्तिबारे पनि सोधपुछ गरिने एसपी चन्दले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा हिजै बोलाइएको हो । उनले बोलेको कुरा चर्चामा आएपछि सोधिनेछ,’ उनले भने,’ प्रहरीका पनि बोल्ने तरिका हुन्छ । कुन कुरा बोल्ने आ-आफ्नो कोड अफ कन्डक्ट अनुसार हुन्छ। अब त्यस विषयमा सोधपुछ गरिनेछ ।‘ हाल चौधरीले केही दिनअघि एक विद्यालयमा बोलेका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  ‘हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो । अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो । र केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो,’ उनले भनेका थिए। प्रहरी पोशाकमा रहेका प्रहरी अधिकृतले कसैको नाम लिएर बोल्न नहुने भनेर आलोचना पनि भएको थियो । राजनीति गर्ने व्यक्तिले जस्तो बर्दीधारी प्रहरीले त्यसरी अभिव्यक्ति दिन नमिल्ने भन्दै टिप्पणी भइरहेको छ ।

केरा दर्जनको २०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ६०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु ३००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ७०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

काठमाडौं । बितेका २४ घण्टामा दुई  हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० सय रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो । 

प्रहरीसहित ४ निकायका कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । लैनचौरस्थित राष्ट्रिय किताबखाना (प्रहरी)ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।  किताबखानाका अनुसार आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) को उपदफा १ तथा सम्बन्धित सेवा समूह सञ्चालन गर्ने नियमावली बमोजिम सम्पत्ति विवरण फाराम भरी आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् भदौ २९ गतेभित्र, तोकिएको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (प्रहरी) मा बुझाउन निर्देशन दिएको हो । तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम १० हजार रुपैयाँ जरिवाना हुने राष्ट्रिय किताबखानाले जनाएको छ । 

३८ वटा गाडीको अनुगमन गर्दा २० वटाले गरे प्रदूषण मापदण्ड उल्लंघन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा ३८ मध्ये २० वटा सवारीसाधनले तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको छ । मापदण्ड उल्लंघन गर्ने ती सवारीसाधनमाथि कानुनबमोजिम कारबाही गरिएको छ । मन्त्रालयका अनुसार असार २४ गते गरिएको संयुक्त अनुगमन तथा प्रदूषण परीक्षणमा ५२.६४ प्रतिशत सवारीसाधन तोकिएको मापदण्डभन्दा बढी प्रदूषण उत्सर्जन गर्ने अवस्थामा भेटिएका हुन्  । स्वच्छ हावा, स्वस्थ वातावरण र जिम्मेवार सवारी सञ्चालनका लागि प्रदूषण परीक्षण अभियानलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । साथै, सबै सवारीधनीलाई नियमित मर्मत-सम्भार गर्न, प्रदूषण परीक्षण गराउन र सरकारले तोकेको मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।