कैलालीमा 'बालेनको प्रहरी होइनौं' भन्ने प्रहरीलाई सोधपुछ गरिने
काठमाडौं । कैलालीका डिएसपी प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । 'बालेनको पुलिस होइन, नेपाल पुलिस होइनौं' भन्ने अभिव्यक्ति दिएपछि उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो । उनले दिएको अभिव्यक्तिबारे सोधपुछ गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए । डिएसपी चौधरीलाई अर्कै सन्दर्भमा बोलाइएको भए पनि उनले बोलेका अभिव्यक्तिबारे पनि सोधपुछ गरिने एसपी चन्दले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा हिजै बोलाइएको हो । उनले बोलेको कुरा चर्चामा आएपछि सोधिनेछ,’ उनले भने,’ प्रहरीका पनि बोल्ने तरिका हुन्छ । कुन कुरा बोल्ने आ-आफ्नो कोड अफ कन्डक्ट अनुसार हुन्छ। अब त्यस विषयमा सोधपुछ गरिनेछ ।‘ हाल चौधरीले केही दिनअघि एक विद्यालयमा बोलेका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो । अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो । र केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो,’ उनले भनेका थिए। प्रहरी पोशाकमा रहेका प्रहरी अधिकृतले कसैको नाम लिएर बोल्न नहुने भनेर आलोचना पनि भएको थियो । राजनीति गर्ने व्यक्तिले जस्तो बर्दीधारी प्रहरीले त्यसरी अभिव्यक्ति दिन नमिल्ने भन्दै टिप्पणी भइरहेको छ ।
केरा दर्जनको २०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ६०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु ३००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ७०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० सय रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो ।
प्रहरीसहित ४ निकायका कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाडौं । लैनचौरस्थित राष्ट्रिय किताबखाना (प्रहरी)ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । किताबखानाका अनुसार आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन निर्देशन दिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) को उपदफा १ तथा सम्बन्धित सेवा समूह सञ्चालन गर्ने नियमावली बमोजिम सम्पत्ति विवरण फाराम भरी आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् भदौ २९ गतेभित्र, तोकिएको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (प्रहरी) मा बुझाउन निर्देशन दिएको हो । तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम १० हजार रुपैयाँ जरिवाना हुने राष्ट्रिय किताबखानाले जनाएको छ ।
३८ वटा गाडीको अनुगमन गर्दा २० वटाले गरे प्रदूषण मापदण्ड उल्लंघन
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा ३८ मध्ये २० वटा सवारीसाधनले तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको छ । मापदण्ड उल्लंघन गर्ने ती सवारीसाधनमाथि कानुनबमोजिम कारबाही गरिएको छ । मन्त्रालयका अनुसार असार २४ गते गरिएको संयुक्त अनुगमन तथा प्रदूषण परीक्षणमा ५२.६४ प्रतिशत सवारीसाधन तोकिएको मापदण्डभन्दा बढी प्रदूषण उत्सर्जन गर्ने अवस्थामा भेटिएका हुन् । स्वच्छ हावा, स्वस्थ वातावरण र जिम्मेवार सवारी सञ्चालनका लागि प्रदूषण परीक्षण अभियानलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । साथै, सबै सवारीधनीलाई नियमित मर्मत-सम्भार गर्न, प्रदूषण परीक्षण गराउन र सरकारले तोकेको मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
बाढीले पनौती जलविद्युतमा ७ करोड क्षति, सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने
काठमाडौं । बाढी पहिरोले क्षतिग्रस्त पनौती जलविद्युत केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत आयोजना वि.सं २०८१ असोजको बाढी पहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ । कुल २.४ मेगावाट क्षमताको सो आयोजनाको विद्युतगृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण उपकरण डुबानमा परेका थिए । यस्तै, रोसी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पुर्याएको छ । विपद्का कारण ७ करोड रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ । बाढीले विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्याएको केन्द्रका प्रमुख शिवराज तिमिल्सिनाले जानकारी दिए । यस्तै, बाँधबाट विद्युतगृहसम्म पानी लैजाने ‘क्यानल’ मा समेत क्षति पुगेको थियो । तिमिल्सिनाका अनुसार हालसम्म विद्युत् गृहभित्र थुप्रिएको माटो र लेदो हटाउने काम पूरा भएको छ । नयाँ उपकरण खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग बजेट माग गरिएको छ । हाल केन्द्रमा ‘सिभिल’तर्फको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ । विद्युतगृह वरपरको पहिरो नियन्त्रणका जैविक इन्जिनियरिङ लगायत काम सम्पन्न हुने चरणमा छ । निर्माण व्यवसायीले निर्धारित समयमै काम सम्पन्न गरे बढीमा एक वर्षभित्र विद्युत् उत्पादन हुने बताइएको छ । तत्कालीन सोभियत सङ्घको सहयोगमा २०१७ सालमा निर्माण सुरु भएको सो आयोजनालाई प्राधिकरणले अध्ययन केन्द्र बनाउने निर्णय गरिसकेको छ । २७ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाको उद्घाटन वि.सं २०२२ मा भएको थियो ।
१४० मेगावाटको तनहुँ जलविद्युतका सरकारले छुट्यायो ६ अर्ब बजेट
काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले ६ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका-१ झापुटारमा जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनामा हालसम्म ७५.५ प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण तथा प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण जारी छ । बाँधलगायतका संरचनाको भौतिक प्रगति ५९ प्रतिशत बराबर पुगेको छ । यस्तै, मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुइवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ । यस्तै, विद्युतगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ । त्यसको भौतिक प्रगति ७७ प्रतिशत छ । उनका अनुसार जलाशयको पानीलाई विद्युतगृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट ‘लाइनिङ’ कार्य जारी छ । प्रसारण लाइनअन्तर्गत ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ ।
भेरी-बबईको ४६.८ मेगावाट राष्ट्रिय प्रसारणमा जोड्न १३२ केभी लाइन बन्दै
काठमाडौं । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि १.७ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित प्रसारण लाइनमा ९ वटा टावर रहनेछ । त्यसमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छवटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ । प्रसारण लाइनका कारण सुर्खेतको भेरीगङ्गा नगरपालिका-५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ । भेरी-बबईको प्रगति ७० प्रतिशत भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ । बाँकी काम सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिए । अपेक्षित प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको निरीक्षण गरेर निर्माण प्रक्रियालाई तीव्र पार्न निर्देशन दिए । आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । सिभिल निर्माण कार्य, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम जारी छ । प्रसारण लाइन निर्माण कार्यको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पूर्वस्वीकृतिको प्रक्रिया सुरु भएको छ ।