काठमाडौं । लियोनेल मेसीको अर्जेन्टिनाले इजिप्टमाथि विवादास्पद जित निकालेपछि विश्वकप अर्जेन्टिनाको पक्षमा ‘मिलाइएको’ भन्ने दाबीले व्यापक चर्चा पाएको छ ।
मंगलबार एटलान्टामा भएको अन्तिम–१६ को खेलमा इन्जो फर्नान्डेजको निर्णायक गोललाई रद्द नगरिनु तथा त्यसअघि मोस्तफा जिकोको गोल अमान्य ठहरिनुले विवाद चर्किएको हो । त्यसपछि जिकोले नै प्रतियोगितामा सेटिङ गरिएको आरोप लगाएका थिए ।
यस्तो आरोप पुष्टि गर्ने कुनै प्रमाण छैन । तर त्यसले षड्यन्त्रका सिद्धान्त फैलाउनेहरूलाई भने रोक्न सकेन । उनीहरूले अर्जेन्टिनाले विश्वकप बचाउने अभियान फिफाको संरक्षणमा अघि बढिरहेको दाबी गर्न थाले ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन आफूले हटाइदिएको दाबी गरेपछि पनि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो । यिनै विवादबीच
टेलिग्राफ स्पोर्टले अर्जेन्टिनाको नाम पहिले नै ट्रफीमा लेखिसकिएको भन्ने दाबीका केही आधारहरू केलाएको छ ।
मेसी रेड कार्डबाट जोगिए
अर्जेन्टिनाको पहिलो खेलमा मेसीले ह्याट्रिक गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे । तर धेरैको भनाइमा उनी त्यो ह्याट्रिक पूरा गर्न मैदानमै रहनु हुँदैनथ्यो ।
३२औं मिनेटमा उनले अल्जेरियाका आइसा माण्डीको खुट्टामाथि स्टड्सले प्रहार गरेको देखिएको थियो । पोल्यान्डका रेफ्री सिज्मोन मार्सिनियाकले फाउल दिएनन् भने भिडियो सहायक रेफ्री (भीएआर) ले पनि त्यसलाई रातो कार्ड योग्य घटना मानेन ।
तर धेरै विश्लेषक असहमत थिए । म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर नेडुम ओनुओहाले ईएसपीएनसँग भने, ‘मेरो विचारमा त्यो सीधा रेड कार्ड हुनुपथ्र्यो ।’
भेनेजुएलाका पूर्वफरवार्ड आलेहान्द्रो मोरेनोले पनि ‘मेस्सीका लागि त्यो शतप्रतिशत रातो कार्ड रहेको’ बताए ।
यसपछि अमेरिकाका फोलारिन बालोगुनले बोस्निया–हर्जेगोभिनाका तारिक मुहारेमोभिचमाथि गरेको चुनौतीमा सीधा रातो कार्ड पाएपछि तुलना झन् बढ्यो ।
मेसी सजायबाट जोगिए पनि बालोगुन बेल्जियमविरुद्धको अन्तिम–१६ खेल गुमाउने अवस्थामा पुगेका थिए । पछि ट्रम्पको हस्तक्षेपपछि उनको निलम्बन हटेको दाबी गरिएको थियो ।
कम कार्ड, धेरै फाउल
अल्जेरियाविरुद्ध अर्जेन्टिनाले १३ फाउल गर्दा एउटा पनि कार्ड पाएन । त्यस खेलमा अल्जेरियाले आठ फाउल गरेको थियो । जोर्डनविरुद्धको दोस्रो खेलमा पनि अर्जेन्टिनाले कुनै कार्ड पाएन, जबकि जोर्डनले लगभग आधा फाउल मात्र गरे पनि तीन पहेँलो कार्ड पायो ।
अस्ट्रिया र केप भर्डेविरुद्धका खेलमा अनुशासनको हिसाब लगभग बराबरी थियो । इजिप्टविरुद्धको अन्तिम–१६ खेलमा पनि फर्नान्डेजको इन्जुरी समयमा आएको विजयी गोलअघि कुनै टोलीले कार्ड पाएको थिएन । त्यसपछि भने इजिप्टका चार खेलाडी र प्रशिक्षक होसाम हसनलाई छोटो समयमा कार्ड देखाइयो ।
क्वार्टरफाइनल पुगेका आठ टोलीमध्ये अर्जेन्टिनाले जम्मा तीन कार्ड मात्र पाएको छ, जुन दोस्रो सबैभन्दा कम हो । तर उसले चौथो धेरै फाउल गरेको टोली हो । प्रति कार्ड १९.७ फाउल गर्ने औसत केवल नर्वे (२४) भन्दा मात्र कम छ । त्यसको विपरीत थोमस टुखेलको टोलीले आठ कार्ड पाएको छ र प्रति कार्ड ६.८ फाउलको अनुपात छ ।
इन्फान्टिनोको टिप्पणी
केप भर्डेविरुद्ध अर्जेन्टिना संघर्षपूर्ण अवस्थामा पुगेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै टोलीलाई बधाई दिए र आफू पनि खेलभर अर्जेन्टिनासँगै ‘तनावमा रहेको’ बताए ।
पछि उनले आफूले ‘दुवै टोलीलाई समर्थन गर्ने तटस्थ समर्थक’ को तर्फबाट त्यो कुरा भनेको स्पष्ट पारे । तर यसले अर्जेन्टिनाप्रति विशेष झुकाव रहेको आरोपलाई थप बल दियो ।
फ्रान्सको खेलमा सबै अफिसियल अर्जेन्टिनाकै
फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनलका लागि फिफाले मैदानका पाँचै अधिकारी अर्जेन्टिनाका हुने घोषणा गरेपछि सामाजिक सञ्जालमा नयाँ षड्यन्त्रका चर्चा सुरु भए ।
फ्रान्सलाई मेस्सीको लगातार दोस्रो विश्वकप जित्ने अभियानको सबैभन्दा ठूलो चुनौती मानिएको थियो । यस्तो अवस्थामा भएको नियुक्तिप्रति धेरैले आशंका व्यक्त गरे । एक्स (ट्विटर) मा गरिएको उक्त पोस्ट ३ करोड २० लाखभन्दा बढी पटक हेरिएको थियो ।
ड्र पनि अर्जेन्टिनाको पक्षमा ?
विश्वकप सुरु हुनुअघि नै अर्जेन्टिनालाई अनुकूल ड्र मिलाइएको आरोप लागेको थियो । फिफाले उपाधि रक्षक अर्जेन्टिना, युरो २०२४ विजेता स्पेन तथा फ्रान्स र इंग्ल्यान्डलाई सेमिफाइनलअघि एकअर्कासँग नपर्ने गरी शीर्ष वरीयतामा राखेको थियो ।
अर्जेन्टिना सजिलै जित्ने अनुमान गरिएको समूहमा परेको थियो । त्यसपछि अन्तिम–३२ मा उरुग्वे, साउदी अरेबिया वा केप भर्डेमध्ये कुनै एकसँग खेल्नुपर्ने सम्भावना थियो, जसलाई धेरैले सहज बाटो माने ।
२०२२ मै पनि उठेको थियो यस्तै आरोप
मोस्तफा जिकोको आरोप नयाँ होइन । २०२२ मा मेसीले पहिलो पटक विश्वकप जित्दा पनि यस्तै विवाद उठेको थियो ।
क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो । त्यस खेलपछि पूर्व डच प्रशिक्षक लुइस भान गालले सन् २०२३ मा एनओएससँग भनेका थिए, ‘अर्जेन्टिनाले कसरी गोल गर्यो, हामीले कसरी गर्यौं अनि उनीहरूका केही खेलाडीले सीमा नाघ्दा पनि सजाय पाएनन् । मलाई लाग्छ सबै पहिले नै तय गरिएको थियो ।’
मेस्सीलाई विश्व च्याम्पियन बनाउन खोजिएको हो भन्ने प्रश्नमा उनले, ‘मलाई त्यही लाग्छ’ भनेका थिए । तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन ।
१९७८ को विश्वकपदेखि नै आशंका
अर्जेन्टिनाले सन् १९७८ मा घरेलु मैदानमा सैन्य शासनको समयमा पहिलो विश्वकप जित्दा पनि विवाद उठेको थियो ।
फाइनल पुग्न उसलाई पेरूमाथि कम्तीमा चार गोलको अन्तरले जित्नुपर्ने थियो । अर्जेन्टिनाले ६–० को सहज जित निकाल्यो, जसपछि खेल मिलाइएको आरोप लाग्यो ।
सन् २०१२ मा पेरुका पूर्व सिनेटर जेनेरो लेदेस्माले ब्युनस आयर्सको अदालतमा तत्कालीन अर्जेन्टिनी शासक जोर्ज राफाएल भिडेला र पेरुका राष्ट्रपति फ्रान्सिस्को मोरालेस बर्मुडेजबीच गोप्य सहमति भएको दाबी गरेका थिए ।
उनका अनुसार अर्जेन्टिनाको अन्तर्राष्ट्रिय छवि सुधार्न विश्वकप जित आवश्यक भएकाले पेरुले सहयोग गरेको थियो । यद्यपि यी आरोप पनि प्रमाणित भएका छैनन् ।
१९९० मा माराडोनामाथि पनि आरोप
सन् १९९० को विश्वकपमा अर्जेन्टिना र ब्राजिलबीच अन्तिम–१६ को खेलमा ब्राजिलका खेलाडी ब्रान्कोले अर्जेन्टिनी फिजियोथेरापिस्टले दिएको पानी पिएपछि आफूलाई चक्कर लागेको दाबी गरेका थिए ।
केही समयपछि क्लाउडियो कानिजियाले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।
करिब १५ वर्षपछि अर्जेन्टिनाका तत्कालीन प्रशिक्षक कार्लोस बिलार्डोले एक अन्तर्वार्तामा उक्त घटनाबारे ‘त्यो नभएको भन्न सक्दिनँ’ भनेका थिए ।
यसपछि ब्राजिल फुटबल महासंघले फिफासँग अनुसन्धानको माग गर्ने जनाएको थियो । तर त्यस विषयमा फिफाले कुनै कारबाही गरेको अभिलेख छैन ।
अन्य सान्दर्भिक सामग्रीहरू :
विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा
विश्वकपको उपाधि होड थप रोमाञ्चक
क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन्
विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन
डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती
यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]
विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान