‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू

१९७८ को विश्वकपदेखि नै आशंका

सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको फाइनलपछि अर्जेन्टिनाको ड्रेसिङ रुममा लियोनल मेसीसँग फिफाका अध्यक्ष जियानी इन्फान्टिनो । तस्बिरः Harold Cunningham/Getty Images

काठमाडौं । लियोनेल मेसीको अर्जेन्टिनाले इजिप्टमाथि विवादास्पद जित निकालेपछि विश्वकप अर्जेन्टिनाको पक्षमा ‘मिलाइएको’ भन्ने दाबीले व्यापक चर्चा पाएको छ ।

मंगलबार एटलान्टामा भएको अन्तिम–१६ को खेलमा इन्जो फर्नान्डेजको निर्णायक गोललाई रद्द नगरिनु तथा त्यसअघि मोस्तफा जिकोको गोल अमान्य ठहरिनुले विवाद चर्किएको हो । त्यसपछि जिकोले नै प्रतियोगितामा सेटिङ गरिएको आरोप लगाएका थिए ।

यस्तो आरोप पुष्टि गर्ने कुनै प्रमाण छैन । तर त्यसले षड्यन्त्रका सिद्धान्त फैलाउनेहरूलाई भने रोक्न सकेन । उनीहरूले अर्जेन्टिनाले विश्वकप बचाउने अभियान फिफाको संरक्षणमा अघि बढिरहेको दाबी गर्न थाले ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन आफूले हटाइदिएको दाबी गरेपछि पनि प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो । यिनै विवादबीच
टेलिग्राफ स्पोर्टले अर्जेन्टिनाको नाम पहिले नै ट्रफीमा लेखिसकिएको भन्ने दाबीका केही आधारहरू केलाएको छ ।

मेसी रेड कार्डबाट जोगिए

अर्जेन्टिनाको पहिलो खेलमा मेसीले ह्याट्रिक गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे । तर धेरैको भनाइमा उनी त्यो ह्याट्रिक पूरा गर्न मैदानमै रहनु हुँदैनथ्यो ।

३२औं मिनेटमा उनले अल्जेरियाका आइसा माण्डीको खुट्टामाथि स्टड्सले प्रहार गरेको देखिएको थियो । पोल्यान्डका रेफ्री सिज्मोन मार्सिनियाकले फाउल दिएनन् भने भिडियो सहायक रेफ्री (भीएआर) ले पनि त्यसलाई रातो कार्ड योग्य घटना मानेन ।

तर धेरै विश्लेषक असहमत थिए । म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर नेडुम ओनुओहाले ईएसपीएनसँग भने, ‘मेरो विचारमा त्यो सीधा रेड कार्ड हुनुपथ्र्यो ।’ 

भेनेजुएलाका पूर्वफरवार्ड आलेहान्द्रो मोरेनोले पनि ‘मेस्सीका लागि त्यो शतप्रतिशत रातो कार्ड रहेको’ बताए ।
यसपछि अमेरिकाका फोलारिन बालोगुनले बोस्निया–हर्जेगोभिनाका तारिक मुहारेमोभिचमाथि गरेको चुनौतीमा सीधा रातो कार्ड पाएपछि तुलना झन् बढ्यो । 

मेसी सजायबाट जोगिए पनि बालोगुन बेल्जियमविरुद्धको अन्तिम–१६ खेल गुमाउने अवस्थामा पुगेका थिए । पछि ट्रम्पको हस्तक्षेपपछि उनको निलम्बन हटेको दाबी गरिएको थियो ।

कम कार्ड, धेरै फाउल

अल्जेरियाविरुद्ध अर्जेन्टिनाले १३ फाउल गर्दा एउटा पनि कार्ड पाएन । त्यस खेलमा अल्जेरियाले आठ फाउल गरेको थियो । जोर्डनविरुद्धको दोस्रो खेलमा पनि अर्जेन्टिनाले कुनै कार्ड पाएन, जबकि जोर्डनले लगभग आधा फाउल मात्र गरे पनि तीन पहेँलो कार्ड पायो ।

अस्ट्रिया र केप भर्डेविरुद्धका खेलमा अनुशासनको हिसाब लगभग बराबरी थियो । इजिप्टविरुद्धको अन्तिम–१६ खेलमा पनि फर्नान्डेजको इन्जुरी समयमा आएको विजयी गोलअघि कुनै टोलीले कार्ड पाएको थिएन । त्यसपछि भने इजिप्टका चार खेलाडी र प्रशिक्षक होसाम हसनलाई छोटो समयमा कार्ड देखाइयो ।

क्वार्टरफाइनल पुगेका आठ टोलीमध्ये अर्जेन्टिनाले जम्मा तीन कार्ड मात्र पाएको छ, जुन दोस्रो सबैभन्दा कम हो । तर उसले चौथो धेरै फाउल गरेको टोली हो । प्रति कार्ड १९.७ फाउल गर्ने औसत केवल नर्वे (२४) भन्दा मात्र कम छ । त्यसको विपरीत थोमस टुखेलको टोलीले आठ कार्ड पाएको छ र प्रति कार्ड ६.८ फाउलको अनुपात छ ।

इन्फान्टिनोको टिप्पणी

केप भर्डेविरुद्ध अर्जेन्टिना संघर्षपूर्ण अवस्थामा पुगेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै टोलीलाई बधाई दिए र आफू पनि खेलभर अर्जेन्टिनासँगै ‘तनावमा रहेको’ बताए ।

पछि उनले आफूले ‘दुवै टोलीलाई समर्थन गर्ने तटस्थ समर्थक’ को तर्फबाट त्यो कुरा भनेको स्पष्ट पारे । तर यसले अर्जेन्टिनाप्रति विशेष झुकाव रहेको आरोपलाई थप बल दियो ।

फ्रान्सको खेलमा सबै अफिसियल अर्जेन्टिनाकै

फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनलका लागि फिफाले मैदानका पाँचै अधिकारी अर्जेन्टिनाका हुने घोषणा गरेपछि सामाजिक सञ्जालमा नयाँ षड्यन्त्रका चर्चा सुरु भए ।

फ्रान्सलाई मेस्सीको लगातार दोस्रो विश्वकप जित्ने अभियानको सबैभन्दा ठूलो चुनौती मानिएको थियो । यस्तो अवस्थामा भएको नियुक्तिप्रति धेरैले आशंका व्यक्त गरे । एक्स (ट्विटर) मा गरिएको उक्त पोस्ट ३ करोड २० लाखभन्दा बढी पटक हेरिएको थियो ।

ड्र पनि अर्जेन्टिनाको पक्षमा ?

विश्वकप सुरु हुनुअघि नै अर्जेन्टिनालाई अनुकूल ड्र मिलाइएको आरोप लागेको थियो । फिफाले उपाधि रक्षक अर्जेन्टिना, युरो २०२४ विजेता स्पेन तथा फ्रान्स र इंग्ल्यान्डलाई सेमिफाइनलअघि एकअर्कासँग नपर्ने गरी शीर्ष वरीयतामा राखेको थियो ।

अर्जेन्टिना सजिलै जित्ने अनुमान गरिएको समूहमा परेको थियो । त्यसपछि अन्तिम–३२ मा उरुग्वे, साउदी अरेबिया वा केप भर्डेमध्ये कुनै एकसँग खेल्नुपर्ने सम्भावना थियो, जसलाई धेरैले सहज बाटो माने ।

२०२२ मै पनि उठेको थियो यस्तै आरोप

मोस्तफा जिकोको आरोप नयाँ होइन । २०२२ मा मेसीले पहिलो पटक विश्वकप जित्दा पनि यस्तै विवाद उठेको थियो ।

क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो । त्यस खेलपछि पूर्व डच प्रशिक्षक लुइस भान गालले सन् २०२३ मा एनओएससँग भनेका थिए, ‘अर्जेन्टिनाले कसरी गोल गर्यो, हामीले कसरी गर्यौं अनि उनीहरूका केही खेलाडीले सीमा नाघ्दा पनि सजाय पाएनन् । मलाई लाग्छ सबै पहिले नै तय गरिएको थियो ।’

मेस्सीलाई विश्व च्याम्पियन बनाउन खोजिएको हो भन्ने प्रश्नमा उनले, ‘मलाई त्यही लाग्छ’ भनेका थिए । तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन ।

१९७८ को विश्वकपदेखि नै आशंका

अर्जेन्टिनाले सन् १९७८ मा घरेलु मैदानमा सैन्य शासनको समयमा पहिलो विश्वकप जित्दा पनि विवाद उठेको थियो ।

फाइनल पुग्न उसलाई पेरूमाथि कम्तीमा चार गोलको अन्तरले जित्नुपर्ने थियो । अर्जेन्टिनाले ६–० को सहज जित निकाल्यो, जसपछि खेल मिलाइएको आरोप लाग्यो ।

सन् २०१२ मा पेरुका पूर्व सिनेटर जेनेरो लेदेस्माले ब्युनस आयर्सको अदालतमा तत्कालीन अर्जेन्टिनी शासक जोर्ज राफाएल भिडेला र पेरुका राष्ट्रपति फ्रान्सिस्को मोरालेस बर्मुडेजबीच गोप्य सहमति भएको दाबी गरेका थिए । 

उनका अनुसार अर्जेन्टिनाको अन्तर्राष्ट्रिय छवि सुधार्न विश्वकप जित आवश्यक भएकाले पेरुले सहयोग गरेको थियो । यद्यपि यी आरोप पनि प्रमाणित भएका छैनन् ।

१९९० मा माराडोनामाथि पनि आरोप

सन् १९९० को विश्वकपमा अर्जेन्टिना र ब्राजिलबीच अन्तिम–१६ को खेलमा ब्राजिलका खेलाडी ब्रान्कोले अर्जेन्टिनी फिजियोथेरापिस्टले दिएको पानी पिएपछि आफूलाई चक्कर लागेको दाबी गरेका थिए ।

केही समयपछि क्लाउडियो कानिजियाले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।

करिब १५ वर्षपछि अर्जेन्टिनाका तत्कालीन प्रशिक्षक कार्लोस बिलार्डोले एक अन्तर्वार्तामा उक्त घटनाबारे ‘त्यो नभएको भन्न सक्दिनँ’ भनेका थिए ।

यसपछि ब्राजिल फुटबल महासंघले फिफासँग अनुसन्धानको माग गर्ने जनाएको थियो । तर त्यस विषयमा फिफाले कुनै कारबाही गरेको अभिलेख छैन ।

अन्य सान्दर्भिक सामग्रीहरू :

विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा

विश्वकपको उपाधि होड थप रोमाञ्चक

क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन्

हालान्ड : दि नर्वेजियन हिरो

चम्किँदै भिनिसियस जुनियर

गोल्डेन बुटका दाबेदार

विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन

डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती 

यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] 

विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान 

मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

Share News