विकासन्युज

शंकास्पद गतिविधिमा संलग्न नौ जना चिनियाँ नागरिक अध्यागमनको नियन्त्रणमा

काठमाडौं । ललितपुरको धोबीघाट र चोभारबाट १८ राहदानीसहित ९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ललितपुरको धोवीघाटस्थित एक घरमा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अध्यागमन विभागले अनुगमन तथा खानतलासी गरेको छ।  विभागबाट खटिएको टोलीले धोबीघाटबाट ३ जना र चोभारस्थित ट्रेजर्स प्रालिमा शंकास्पद गतिबिधिमा संलग्न अन्य ६ गरेर ९ चिनियाँलाई समेत नियन्त्रणमा लिएको अध्यागमन विभागले जनाएको छ । अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । धोबिघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएका थिए । विभागको टोली पुग्दा ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक फेला परेका थिए। तीमध्ये ४ जना व्यवसायिक भीसा  र १८ जना पर्यटक भीसा मा रहेको पाइएको छ।  सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी देखाएका थिए । बाँकी ४ जनाले राहदानी भिसा प्रयोजनका लागि कानुन व्यवसायीसँग रहेको बताएपछि अनुसन्धानका लागि १८ थान राहदानी नियन्त्रणमा लिइएको हो। घर ड्रागन ब्रिज इन्टरनेशनल प्रालिले लिजमा लिएको खुलेको ढकालले बताए । घरलाई होस्टल भनिए पनि होस्टल सञ्चालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला नपरेको उनले बताए । महिला र पुरुषलाई एउटै आवासमा राखिएको उनले बताए । आफूलाई होस्टल सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बसोबास गर्ने विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत उपलब्ध नभएको ढकालको भनाइ छ । चिनिया नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्दै चोभारस्थित ट्रेजर्स प्रालि तथा ड्रागन ब्रिज इन्टरनेशनल प्रालिसँग आबद्ध भई कार्यरत रहेको खुलेको छ।  उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको देखिएको छ,’ ढकालले भने,’ घर सुमन कार्कीको स्वामित्वमा रहेको र ड्रागन ब्रिज इन्टरनेशनल प्रा।लि।ले लिजमा सञ्चालन गरिरहेको खुलेको छ ।‘ कम्पनी नेपालीको नाममा दर्ता थियो । कम्पनीको आवरणमा उनीहरू शंकास्पद गतिविधिमा संलग्न रहेको उनको भनाइ छ । नेपाली सञ्चालकहरू मासिक पैसा दिएर चिनियाँहरूले ती कम्पनी प्रयोग गर्दै आएका थिए । कम्पनीका सञ्चालकले उनीहरूको कामबारे जानकारी नभएको बताएका छन्।

गरिमा विकास बैंकले जित्यो ‘बीपीए अवार्ड २०२५’ को सिल्भर अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले (आईक्यान) प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ । कम्पनीहरूले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डका आधारमा प्रदान गरिने उक्त अवार्ड बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आईक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरेका थिए । गरिमा विकास बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट उत्कृष्ट व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा सम्मान प्राप्त गर्दै आएको जनाएको छ । बैंकले न्यु बिजनेस एज लिमिटेडद्वारा आयोजित न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ तथा कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड पनि प्राप्त गरेको थियो । आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन तथा विशेषज्ञ स्वास्थ्य सेवामाथिको दबाब कम गर्ने उद्देश्यले देशव्यापी रूपमा घरमै गर्न सकिने परीक्षण सेवा सुरु गरेको छ । सरकारका अनुसार लक्षण देखिएका बिरामीका लागि प्रयोग गरिने ‘फेकल इम्युनोकेमिकल टेस्ट’(एफआईटी)मार्फत दिसामा लुकेको रगत पहिचान गर्न सकिन्छ, जुन आन्द्राको क्यान्सरको प्रारम्भिक सङ्केत मानिन्छ । घरमै गर्न सकिने यस परीक्षणको नतिजा केही दिनभित्र प्राप्त हुने जनाइएको छ । स्वास्थ्यमन्त्री सिमोन ब्राउनले उच्च जोखिममा रहेका बिरामी पहिचान गर्न एफआईटी परीक्षण प्रभावकारी हुने बताउँदै यसले कोलोनोस्कोपी आवश्यक पर्ने बिरामीलाई प्राथमिकताका साथ सेवा दिन र प्रतीक्षा अवधि घटाउन सहयोग पुग्ने उल्लेख गरे । सरकारका अनुसार यस प्रणालीबाट लक्षण भएका बिरामीका लागि कोलोनोस्कोपीको सिफारिस करिब ३० प्रतिशतसम्म घट्न सक्ने अपेक्षा गरिएको छ । यसबाट विशेषज्ञ सेवाको क्षमता अन्य आवश्यक बिरामीका लागि उपयोग गर्न सकिने विश्वास गरिएको छ । न्युजिल्याण्ड सरकारले राष्ट्रिय आन्द्राको क्यान्सर स्क्रिनिङ कार्यक्रमको उमेर सीमा पनि क्रमशः घटाइरहेको छ । यसअघि ६० वर्षबाट घटाएर ५८ वर्ष कायम गरिएको स्क्रिनिङ उमेर आगामी सेप्टेम्बरदेखि ५६ वर्षमा झारिनेछ । यसबाट आगामी चार वर्षमा थप दुई लाखभन्दा बढी नागरिकले निःशुल्क स्क्रिनिङ सेवा प्राप्त गर्ने सरकारको लक्ष्य छ ।  नयाँ व्यवस्थाअनुसार आन्द्राको क्यान्सरका लक्षण देखिएका र सामान्य चिकित्सकबाट सिफारिस गरिएका अधिकांश बिरामीले सुरुमा एफआईटी परीक्षण गर्नेछन् । परीक्षणको नतिजा सकारात्मक आएमा उनीहरूलाई कोलोनोस्कोपी वा अन्य आवश्यक परीक्षणका लागि प्राथमिकताका साथ पठाइनेछ ।  न्युजिल्याण्डमा आन्द्राको क्यान्सर दोस्रो सबैभन्दा बढी ज्यान लिने क्यान्सरका रूपमा रहेको छ ।  

नेपाली ब्रोको बयान : श्रीमतिको घाँटी रेटी हत्या गरें, बाहिर प्रेमिका बनाएँ

काठमाडाैं । नेपाली ब्रो भनेर चिनिने कुमार थापामगरले आफ्नो श्रीमतिको हत्या आफैले गरेको स्वीकार गरेका छन् । उनीविरुद्द दर्ता भएको अभियोगपत्रमा उनले श्रीमति ईश्वरी भुजेलको घाँटी रेटी हत्या गरेको बयान दिएका हुन् । उनले प्रतिवादी प्रतिक्षा आचार्यसँग पनि प्रेम रहेको बयान दिएका छन् ।  सरकारी वकिलको कार्यालयले उनीसहित चार जनालाई प्रतिवादी बनाएको छ । सरकारी वकिलको कार्यालयले नेपाली ब्रोको प्रेमिका प्रतीक्षा आचार्यलाई कुमारसँग मिलेर ईश्वरीको हत्या गरी विवाह गर्ने योजना बुनेको आरोपमा मुदद चलाइएको छ भने उनकै भाई विक्रम थापा मगरलाई दाजुलाई हत्याका लागि उक्साएको र आर्थिक प्रलोभन देखाएको आरोपमा मुदद चलाइएको छ ।  यस्तै, कुमारका साथी एवं धनेश्वर अटोमोबाइल्सका सञ्चालक पूजन थापामाथि पनि कुमारलाई लुक्न र बस्न सहयोग गरेको आरोपमा मुदद चलाइएको छ ।   यस्तो छ नेपाली ब्रो भन्ने कमार थापामगरको बयान मेरो जन्म नुवाकोटमा भई बाल्यकालको शिक्षा दिक्षा गाउघर मै भई नुवाकोट स्थित घरमा बस्दै आई रहेकोमा करिब २०६१/६२ साल तिर नेपाली सेनाको अन्य दर्जामा भर्ती भएको थिए । ६ महिनाको आधारभुत तालिम सकि सकेपछि सिंहदरबार स्थित ब्याण्ड गुल्ममा बिगुल तालिम गर्ने बेलामा निज ईश्वरी भुजेलसँग चिनजान भएको थियो । सो समयमा निज ईश्वरी भुजेल सिपाही दर्जामा कार्यरत थिइन् । बिगुल तालिम मै हुँदा निज सँग माया प्रेम बसि मैले प्रेम विवाहह गरेको थिएँ । विवाह गरेको केही महिना पछी म तालिम सकि आफ्नो छाउनी स्थित रेन्जर गणमा गई सकेपछी साथी भाईहरुले मैले निज ईश्वरी भुजेल संग विवाह गर्नु पुर्व निज कसैसंग एक बर्ष लिभिङ टुगेदरमा बसेको भनि कुरा सुनाएँ । साथी भाईहरुले श्रीमती लिभिङ टुगेदरमा बसेको कुरा सुनाए पछी म तनावमा भएपछी ६ नं वाहिनी अड्डा बैरेनी धादिङमा सरुवा मिलाई गएको थिएँ । श्रीमती ईश्वरी भुजेल पहिले लिभिङ टुगेदरमा बसेको कुरा सुनेता पनि विवाह गरि सकेकाले सुनेका कुराहरुको भरमा त्यति धेरै चाँसो दिएनँ । करिब ६÷७ बर्ष जति जागिर खाई सकेपछी नेपाली सेनाको जागिर छाडी उपदान आएको रकम र अरु आफुसँग भएको पैसाले काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं ६ पैयुटारमा हाल घर रहेको घडेरी किनि निज श्रीमती ईश्वरी भुजेलको नाममा गरेको थिए। मेरो जेठो छोरा जेनिस थापाको जन्म भई सकेपछी करिब १०÷१२ बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न देशहरुमा गई आज भन्दा करिब ५ बर्ष पहिले नेपाल आएको थिए । त्यसपछी कान्छो छोरा ईभान थापाको जन्म भएको थियो । नेपाल आई सकेपछी रेसलिङ खेल खेल्नुका साथै सामाजिक संजाल टिकटकमा सक्रिय भई नेपाली ब्रो को नामले भाईरल भएको थिए। म टिकटक तथा सामाजिक संजालमा भाईरल भएपछी मेरा थुप्रै ायिियधभचक भए। भाईरल हुनुका साथै रेस्लिङ खेल खेल्न बिदेशमा समेत गएको थिए । सामाजिक संजालमा भाईरल भएपछी बिभिन्न मानिसहरु संग चिनजान तथा भेटघाट हुन थाल्यो । जस मध्य थुप्रै केटी साथीहरुसंग पनि भेटघाट, चिनजान भएपछी मैले भ्युज बढाउनका निमित्त बिभिन्न केटीहरु संग बिभिन्न प्रकारका भिडियोहरु अपलोड गर्ने गरेको थिए । मैले केटीहरु संगका बिभिन्न किसिमका भिडियोहरु सामाजिक संजालमा अपलोड गरेपछी श्रीमती ईश्वरी भुजेललाई मन परेन र निजले अनेक शंका उपशंका गर्न थालेपछी हामीहरु विच मनमुटाव, वाद विवाद एवम् पारिवारिक कलह सुरुभएको थियो ।  पारिवारिक कलह भएता पनि पुनःमेलमिलाप गरी संगै बस्दै आई रहेका थियौ ं। श्रीमती ईश्वरी भुजेलले सेनाको नोकरी तथा शान्ति सेनामा गई केही रकम कमाउनुका साथै मैले समेत सामाजिक संजाल मार्फत एवम् बिज्ञापन गरी रुपैया पैसा कमाई पैयुटारमा घर बनाई संगै बस्दै आई रहेका थियौं। केही समय पछी मैले पनि निज श्रीमती ईश्वरी भुजेलको पनि कसै संग गलत सम्बन्ध रहेको भन्ने सुने । त्यसपछी म पनि निज श्रीमतीलाई शंका उपशंका गर्न थालेपछी हामीहरु बिच झनै मनमुटाव भई रहेको अबस्थामा करिब दुई बर्ष पहिले यसै मुद्धामा थुनामा रहेकी प्रतिवादी प्रतिक्षा आचार्यसंग सामाजिक संजाल टिकटक मार्फत चिनजान भई फोन नम्बर समेत आदान प्रदान भई कुराकानी एब भेटघाट समेत हुन थाल्यो । त्यसपछी निज प्रतिक्षा आचार्यलाई मैले मेरो रेस्लिङ खेलको लागी ईभेन्ट म्यानेजरको रुपमा नियुक्त गरि ईभेन्ट चलाउदै आई रहेकोमा निज प्रतिक्षा आचार्य संग हिमचिम बढेपछी माया प्रेम बस्यो ।  हामीहरु एक अर्कालाई माया गर्न थाल्यौं । विभिन्न ठाउँमा घुमघामगर्नुका साथै शारिरीक सम्बन्ध समेत राख्ने गरेका थियौं। सामाजिक संजालमा भिडियोहरु पोष्ट गर्ने क्रममा निज प्रतिक्षा आचार्य र मेरो भिडियोमा मेरो डक्टर गल फ्रेण्ड भनि पोष्ट गरेपछी २०८२ सालको जेठ÷अषाढ तिर श्रीमती ईश्वरी भुजेलले थाहा पाई प्रहरी बृत्त बालाजुमा उजुरी गरी हामीहरु दुबै पक्ष बसि अब उप्रान्त यस्तो गल्ति नदोर्याउने भनि मिलापत्र गरेका थियौं ।  म र प्रतिवादी प्रतिक्षा आचार्य बिच माया प्रेम बसेकाले हामीहरु पुनभेटघाट कुराकानी गर्न थालेपछी सो कुरा श्रीमती ईश्वरी भुजेलले थाहा पाई आज भन्दा करिब दुई ढाई महिना पहिले श्रीमती, छोरा, मेरो घरमा काम गर्ने केटी र निजहरुले एक जना अर्को मानिस मिलि मलाई कोठा मै कुटपिट गरेका थिए। कुटपिट गरी सकेपछी मैले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकोमा प्रहरी परिसर काठमाडौंमा हामी दुबै पक्षलाई झिकाई छलफल गरी अब उप्रान्त मैले र प्रतिक्षा आचार्यले भेटघाट नगर्ने, कुनै सम्बन्ध नराख्ने भनि कागज गरी मिलापत्र गरेका थियौं, साथै घरको भुई तलाको फ्ल्याटमा म बस्ने र माथिल्लो फ्ल्याटमा निज श्रीमती ईश्वरी भुजेल र बच्चाहरु बस्ने सल्लाह भई सोही बमोजिम बस्दै आई रहेका थियौं तर हामीहरु बिच बोलचाल नै बन्द भएको थियो । सो समय सम्म प्रतिवादी प्रतिक्षा आचार्य र म बिच प्रेम सम्बन्ध रहेको कुरा सर्वत्र हल्ला खल्ला भई सकेपछी पनि हामीहरु पुन भेटघाट तथा कुराकानी गर्न थाल्यौं। करिब १ बर्ष पहिले होला म र प्रतिवादी प्रतिक्षा आचार्य घुमघाम तथा बस्न भनि जिल्ला नुवाकोट स्थित मेरो घरमा गएका थियौं । सो समयमा मेरी आमा बिन्दा कुमारी थापा बिरामी भई काठमाडौं स्थित बहिनी रोजिना थापाको घरमा बस्नु हुन्थ्यो ।  घरमा बुबा जित बहादुर थापा मात्रै हुनु हुन्थ्यो । दुई दिन घर नुवाकोटमा बसि सकेपछी बुबाले गाली गरेपछी हामीहरु फर्किएर पुन काठमाडौं आएका थियौं। मैले निज प्रतिवादी प्रतिक्षा आचार्यलाई नुवाकोट घरमा लिई गएको कुरा थाहा पाएको केही दिन पछी २०८२ साल साउन महिना तिर मेरी श्रीमती ईश्वरी भुजेलले प्रहरी बृत्त बालाजुमा मेरो नाममा बैवाहिक करणी सम्बन्धि कसुर मुद्धा दिई म अनुसन्धानको क्रममा पक्राउ परी प्रस्तुत जबरजस्ति करणी मुद्धामा सम्मानित जिल्ला अदालत काठमाडौंमा दायर भई रु ५० हजार धरौटीमा छुटी हाल मुद्धा विचाराधिन अबस्थामा छ । निज श्रीमती ईश्वरी भुजेलले मेरो नाममा वैवाहिक करणी मुद्धा दायर भई सकेपछी हामीहरु सम्बन्ध झनै चिसिएको थियो र मैले प्राय घरमा नै जाने छाडी दिएको थिएँ ।  यसरी मुद्धा अदालतमा बिचाराधिन अबस्थामा रहेकोमा मैले निज श्रीमती ईश्वरी भुजेललाई अदालतमा बकपत्र तथा पेशीमा जयकतष्भि भई देउ, मुद्धा मिलाउ, अब मिलौ भनि पटक पटक भन्दै आई रहेको थिएँ । निजले नमानी पुन काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्धा दायर गरिन । मैले बालबच्चाहरु भएका कारण सम्बन्ध बिच्छेद गर्न मञ्जुरी छैन भनि प्रतिउत्तर फर्काई हाल उक्त सम्बन्ध बिच्छेद मुद्धा समेत सम्मानित काठमाडौं जिल्ला अदालतमा बिचाराधिन अबस्थामा छ । यसरी श्रीमती ईश्वरी भुजेलले मुद्धा दिई बिचाराधिन भई रहेको अबस्थामा निजले मुद्धा फिर्ता लिई मिलापत्र होस भन्ने मेरो मनसाय भइ रहेकोमा करिब १ महिना देखि प्रतिवादी प्रतिक्षा आचार्यले पनि भेटघाट गरेकी थिइनन् तर हामीहरु फोनमा कुराकानी भई रहन्थ्यो ।  मैले निज प्रतिवादी प्रतिक्षा आचार्यले पनि अब सम्बन्ध नराख्ने, भेटघाट नराख्ने जस्तो आसयले टेलिफोन गर्ने गरेकी थिइन । यसै क्रममा मिति २०८३ साल जेष्ठ महिनाको २२ गतेका दिन श्रीमती ईश्वरी भुजेलले सम्मानित अदालतमा दायर गरेको वैवाहिक करणी तथा सम्बन्ध बिच्छेद लगाउ मुद्धामा पेशी तोकिएको थियो। मुद्धा मिलापत्रका लागी भेटि कुराकानी गर्न भनि सो दिन बिहान अं ९ः०० बजे तिर निज श्रीमती ईश्वरी भुजेल कार्यरत सैनिक ब्याण्ड गुल्म नारायणहिटीको गेटमा गएको थिए । गेटमा गई गेटमा रहेको डियुटी मार्फत निज श्रीमती ईश्वरी भुजेललाई बोलाउन लगाउदा गेटको डियुटीमा खटिएको सिपाहीले भित्रै जानुहोस भनि भनेकोमा मैले गाडीमा हाल बरामद हुन आएको चक्कु बोकेकाले गाडी लिई सैनिक गुल्म भित्र पसेन। टेलिफोन गरौं भने निज श्रीमतीले टेलिफोनमा कुरा गर्न छाडेकी थिइन् ।  त्यसपछि म फर्किएर बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा गएँ । म अदालतमा पुगी करिब १२ बजे सम्म कुरी बसेकोमा निज श्रीमती ईश्वरी भुजेल अदालतमा आईनन । त्यसपछी मैले जिल्ला काठमाडौं स्थित बालाजुमा धनेश्वर अटोमोबाइल्स प्रा.लि नामक रिकण्डिसन हाउस संचालन गरी बस्ने प्रतिवादी साथी पुजन थापा क्षेत्रीलाई फोन गरी निजको रिकण्डिसन हाउसमा गए। केही बेर गफगाफ गरी बस्यौं । मलाई किर्तिपुरमा खेलकुद कार्यक्रममा अतिथीको रुपमा बोलाएकाले म र प्रतिवादी साथी पुजन थापा क्षेत्री किर्तिपुर गई कार्यक्रममा सहभागी भई बेलुकी अं ४ बजे तिर पुन निजको बालाजु स्थित रिकण्डिसन हाउसमा आयौं । मेरो चिनजानको साथी सुमन थापा पनि त्याहा आएका रहेछन। निज सुमन थापाले खाजा खान जाउ भनि भनेपछी मेरो कार मैले चलाई, प्रतिवादी पुजन थापा क्षेत्री र सुमन थापा सवार भई मुड्खु तर्फ गई हाल मलाई नाम एकिन नभएको खाजा घरमा गई खाजा खाई पुन प्रतिवादी पुजन थापाको रिकण्डिसन हाउसमा आई कफि खाई म जिम जान्छु भनि बेलुकी अं ७ः३० बजे तिर निस्किएको हुँ । जिम जान्छु भनि निस्किएता पनि समय हेर्दा ढिलो भई सकेकाले जिममा के जानु भनि सिधै पैयुटार स्थित घरमा गएको थिए। केही बेर घरमा बसि काम गर्ने केटीलाई ईश्वरी मेम खै भनि सोध्दा निजले केही बोलिनन । पछी कान्छो छोरा ईभान थापालाई केही बेर खेलाउछु, डुलाउछु लिएर आउ भन्दा निजले ढोका बन्द गरि दिईन । छोरा लाई भेट्न दिईनन । निज काम गर्ने केटी संग केही बेर वाद विवाद हुँदै गर्दा निज काम गर्ने केटी सुहाना तामाङले पुन रेप केशमा पर्लास नि भनि  मलाई भनेपछी मलाई साहै रिस उठी रहेको थियो। म घरमा गएको कुरा जेठो छोरा जेनिश थापाको पाई सोही समयमा मलाई फोन गरी तँ तुरुन्त घर छाड, आमाको घर हो, त त्यो घरमा किन आएको ? भनि नराम्रो बोलेपछी मलाई झनै रिस उठिरहेको थियो। म तनाबमा आई घरबाट सिधै पार्किङ गरी राखेको ठाउबाट मेरो कार निकाली रिसको सुरमा ठमेल तर्फ आउछु भनि मेरोे किया कम्पनिको हरियो कार चलाई आउने क्रममा पैयुटार–बस्नेतटार सडक खण्ड हुँदै आउने क्रममा पैयुटारको उकालोमा पुगेको बेलामा गाडीको स्पिड कम तथा लाईट डिम भयो ।  म घरमा काम गर्ने केटि र छोराले बोलेको कुराले रिसमा हुनुका साथै अदालतमा पेशीको दिनमा श्रीमती ईश्वरी भुजेल नआएकाले तनावमा गाडी चलाई गई रहेको थिएँ । बिपरीत दिशाबाट मेरी श्रीमती ईश्वरी थापा स्कुटर चलाई आउँदै गरेकी रहिछन् । निज श्रीमती ईश्वरी भुजेल ड्युटी सकेर घर आउन लागेको कुराथाहा पाएँ । निजले मैले चलाएको कारदेखि हाल मलाई नामथर थाहा हुन आएको राजु भट्टराई भन्ने मानिसको घर तर्फ अर्थात घटनास्थल तिर जाने बाटो तर्फ स्कुटर मोडिन । मैले पनि निज श्रीमतीले चलाएको स्कुटर मार्फत निजलाई चिनी हालें । म गाडीबाट झरी गाडीमा मैले सधैं गाडीमा बोक्ने बटनवाला धारिलो चक्कु निकाली गोजीमा राखि निज श्रीमती ईश्वरी भुजेललाई पिछा गर्दै गएँ । सो बाटोको अन्तिम तिर घर भएकाले बाटोत्यहाँसम्म मात्रै रहेछ ।  निज श्रीमती ईश्वरी भुजेलले स्कुटर रोकी घरको वाल तर्फ गएकोमा मैले पछाडी गोजीबाट चक्कु निकाली हातमा चक्कु समाई समात्न खोज्दा निज श्रीमती ईश्वरी भुजेलले प्रतिकार गर्न खोजिन् । त्यसपछि मैले निजलाई पछाडीबाट समाई हातले अंगालो मारे जस्तो गरी नियन्त्रणमा लिई मैले साथमा बोकेको धारिलो चक्कुले निज श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी सोही स्थानमा मरिन भनि छाडी त्यहाबाट हिड्दै गाडी भएको ठाउ तर्फ आई वारदातमा प्रयोग गरेको चक्कु गाडी रोकेको ठाउ नजिकै बाटो छेउमा फाली, आफ्नो कार चलाई बालाजु तर्फ आएको हुँ ।  गाडीलाई बालाजु चमाती स्थित सडक छेउमा छाडी प्रहरी कार्यालय तर्फ आउने क्रममा पक्राउ परेको हुँ। अनुसन्धानको क्रममा मैले वारदातमा प्रयोग गरेको चक्कु मेरो रोहवरमा चक्कु समेत बरामद भएको हो । श्रीमती ईश्वरी भुजेलको चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानुन बमोजिम सहन भोग्न मञ्जुरी छु । प्रस्तुत वारदातमा अन्य प्रतिवादीहरु कोही कसैको संलग्नता छैन । प्रतिवादी पुजन थापा क्षेत्रीको बालाजु स्थित रिकण्डिसन हाउसमा म र प्रतिवादी प्रतिक्षा आचार्य गइ रहने र मैले निजको रिकण्डिसनमा रहेका गाडीहरुको भिडियो बनाई टिकटकमा हाल्ने गरेको थिएँ र प्रतिवादी पुजन थापा क्षेत्री, बिक्रम थापामगर मेरो र प्रतिक्षा आचार्यको सम्बन्ध बारेमा थाहा जानकारी भएका मानिस हुन् । प्रतिवादी बिक्रम थापामगर मेरो सहोदर भाई हुन । निज प्रतिवादीहरुको प्रस्तुत वारदातमा संलग्नता छैन । मिसिल संलग्न सिसि टिभी फुटेजमा देखिएको कारबाट झरी पैदल हिडि स्कुटरमा सवार महिलाको पछी पछी जाने र फर्कि आई गाडी चढी गोजीबाट केही चिज निकाली फालेको जस्तो देखिने मानिस म हुँ । स्कुटरमा सवार महिला मेरी श्रीमती ईश्वरी भुजेल हुन् । सो फुटेज वारदात समयको फुटेज हो । मैले श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गर्ने बेलाको र चक्कु प्रहार गरी सकेपछि चक्कु फाली आफ्नो कारमा चढी आउने बेलाको सिसि टिभी फुटेजहरु हुन् ।  जाहेरवालला अम्बिका भुजेलले निवेदन साथ पेश गरेका भिडियो र फोटोहरु देखाँउदा थाहा पाएँ । उल्लेखित भिडियोहरु विभिन्न सामाजिक संजालमा दिएका अन्तरवार्ताहरु हुन् । मृतक श्रीमती ईश्वरी भुजेलले सम्मानित काठमाडौं जिल्ला अदालतमा हाम्रो घरजग्गा आफुले कमाएर बनाएको भनि दावी गरी सम्बन्ध बिच्छेद मुद्दा दायर गरेकाले र निजले मेरो नाममा बैबाहिक करणी मुद्धा दायर गरेकाले अक्रोशमा आई बोलेको हुँ । मिसिल संलग्न डिस्कोमा नाचेको भिडियो करिब १ बर्ष अगाडि म प्रतिवादी प्रतिक्षा आचार्य, बिक्रम थापामगर र एक जना विदेशी केटी डिस्कोमा गई नाचेको भिडियो । डिस्कोको नाम हाल एकिन भएन । अर्को नेपाली ब्रोको गलफ्रेण्ड भनि पोष्ट गरेको भिडियोमा भएकी महिला प्रतिक्षा आचार्य हुन् । सो भिडियो प्रतिवादी पुजन थापाक्षेत्रीको धनेश्वर अटो मोबाइल्समा बनाएको भिडियो हो । गाडी कुनै ग्राहकको हुनुपर्छ । अर्को भिडियो पोखरामा रेसलिङ खेल्न जाँदा बसेको होटलको भिडियो हो । सो समयमा प्रतिवादी प्रतिक्षा आचार्य पनि पोखरा सँगै गएकी थिइन् । मिसिल संलग्न सुट भनेको मैले मेरो सम्पत्ति खान खोज्ने जो कोहीलाई पनी सुट गरी दिन्छु भनि भनेको हुँ । फोटोहरु श्रीमती ईश्वरी भुजेलका फोटोहरु हुन् । झै–झगडा हुदाँ चोट पटक लागेको हुन सक्छ ।   

बालबालिकालाई सदस्यता दिएको प्रकरणमा रास्वपासँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा स्पष्टीकरण माग गरेको छ । रास्वपाको हालै चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा १८ वर्षमुनिका व्यक्तिलाई समेत पार्टी सदस्यता दिइएको उल्लेख भएपछि आयोगले यसप्रति गम्भीर चासो व्यक्त गरेको हो । आयोगले सोमबार रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराइएको हो वा होइन भन्ने विषयमा यथाशीघ्र विस्तृत जवाफ उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको पुष्टि भए त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी प्रतिबद्धताविपरीत हुने उल्लेख गरिएको छ । 'पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाली कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुनेछ', विज्ञप्तिमा भनिएको छ । बालबालिकालाई पार्टी सदस्यता वितरण भए–नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ बमोजिम अनुरोध गरिएको छ । आयोगले रास्वपासँग उक्त विषयको तथ्यगत विवरण प्राप्त भएपछि आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाउने संकेत गरेको छ ।

सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट

काठमाडौँ । किस्ट शिक्षण अस्पताल काठमाडौँले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष (पिएफ) मा आबद्ध सेवाग्राहीलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।   सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा तथा भर्ना भएका बिरामी (ओइपिडी) लाई उपचार गराउँदा लागेको खर्चको ८० प्रतिशत कोषले व्यहोर्ने र सेवाग्राहीले २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अस्पतालले स्पष्ट गरेको छ । त्यसैगरी, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रमअन्तर्गत सो अस्पतालमा भर्ना भई उपचार गराउँदा सामान्य रोगका लागि वार्षिक रु एक लाख र घातक रोगका हकमा सेवा अवधिभर रु १० लाखसम्म उपचार खर्च परिपूर्ति हुने व्यवस्था गरेको पनि अस्पताल  जनाएको छ । सो अस्पतालका अध्यक्ष अभिषेक थापाका अनुसार आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, मिर्गौला रोग, आँखा रोगलगायत विभिन्न विशेषज्ञ सेवाको उपचारमा सो छुट पाइने छ । कोषले उपलब्ध गराएको परिचयपत्रसहित अस्पतालमा रहेको सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी सेवाग्राहीले सहज रुपमा विशेष छुट लिनसक्ने सो अस्पतालले जनाएको छ ।     

डेटएक्सपायर वस्तु भेटिएपछि अदोरा होल्डिङ्सलाई साढे २ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका-३, झम्सीखेलस्थित अदोरा होल्डिङ्सलाई म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले बुधबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा व्यवसायिक फर्महरूको बजार अनुगमन गर्ने क्रममा अदोरा होल्डिङ्सले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(ठ) विपरीत म्याद गुज्रेका वस्तु प्रयोग गरेको पुष्टि भएको जनाएको छ। उक्त कसुर ऐनको दफा ३८(ङ) अन्तर्गत प्रमाणित भएपछि दफा ३९(१)(ख) बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। अनुगमनका क्रममा विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अन्य केही व्यवसायलाई भने आवश्यक निर्देशन दिएको छ। विभागका अनुसार काठमाडौं महानगरपालिका-२८, बागबजारस्थित बागबजार स्टोर, ललितपुर महानगरपालिका-४, भनिमण्डलस्थित सोल स्क्वायर प्रालि, गोकर्णेश्वर नगरपालिका-५, नयाँवस्तीस्थित एभरेष्ट फ्युल डिष्ट्रीब्यूटर्स, काठमाडौं महानगरपालिका-२९, पुतलीसडकस्थित टेक्नो ट्रेड प्रालि, काठमाडौं महानगरपालिका-३१, देवकोटा मार्गस्थित रुद्र किचेन मार्ट स्टोर तथा मध्य बानेश्वरस्थित प्रिन्स मार्ट प्रालिलाई सामान्य निर्देशन दिइएको छ। विभागले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

ग्लोबल आइएमई बैंकको स्मार्ट प्लस एपबाटै अब बैंक खाता ब्लक गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको निक्षेपलाई डिजिटल ठगीबाट सुरक्षित राख्ने उद्देश्यले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत लगइन नगरी नै सेकेन्डभरमै बैंक खाता ब्लक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार पछिल्लो समय फिसिङ, स्क्याम तथा अन्य अनलाइन ठगीका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षित राख्न यस्तो अत्याधुनिक सुरक्षा प्रणाली लागू गरिएको हो । अब ग्राहकले खाता ह्याक भएको वा अनधिकृत पहुँच भएको आशंका लागेमा तुरुन्तै आफ्नो बैंक खाता रोक्का गर्न सक्नेछन् । यसका लागि ग्राहकले ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (विदेशबाट +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधका आधारमा पनि खाता ब्लक गराउन सक्ने बैंकले जनाएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि भने यो प्रक्रिया अझ सहज बनाइएको छ । ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप खोलेपछि लगइन नगरी नै माथिल्लो दायाँ कुनामा रहेको ‘कल’ आइकनमा क्लिक गरी ‘मिसकल बैंकिङ’भित्रको ‘अकाउन्ट ब्लक बाइ मिसकल’ विकल्प रोज्नासाथ खाता तत्काल ब्लक हुनेछ । बैंकका अनुसार यो सुविधाले फिसिङ, स्क्याम तथा अन्य अनलाइन बैंकिङ अपराधबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्नेछ । बैंकिङ क्षेत्रका विज्ञहरूले समेत यस्ता सुरक्षा प्रणालीले ग्राहकको निक्षेप सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बैंकका अनुसार उक्त व्यवस्थासँगै आफ्नो नयाँ सुरक्षा प्रणालीले ग्राहकको डिजिटल बैंकिङलाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ । ग्लोबल आइएमई बैंक उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ ।