आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन तथा विशेषज्ञ स्वास्थ्य सेवामाथिको दबाब कम गर्ने उद्देश्यले देशव्यापी रूपमा घरमै गर्न सकिने परीक्षण सेवा सुरु गरेको छ ।

सरकारका अनुसार लक्षण देखिएका बिरामीका लागि प्रयोग गरिने ‘फेकल इम्युनोकेमिकल टेस्ट’(एफआईटी)मार्फत दिसामा लुकेको रगत पहिचान गर्न सकिन्छ, जुन आन्द्राको क्यान्सरको प्रारम्भिक सङ्केत मानिन्छ । घरमै गर्न सकिने यस परीक्षणको नतिजा केही दिनभित्र प्राप्त हुने जनाइएको छ । स्वास्थ्यमन्त्री सिमोन ब्राउनले उच्च जोखिममा रहेका बिरामी पहिचान गर्न एफआईटी परीक्षण प्रभावकारी हुने बताउँदै यसले कोलोनोस्कोपी आवश्यक पर्ने बिरामीलाई प्राथमिकताका साथ सेवा दिन र प्रतीक्षा अवधि घटाउन सहयोग पुग्ने उल्लेख गरे ।

सरकारका अनुसार यस प्रणालीबाट लक्षण भएका बिरामीका लागि कोलोनोस्कोपीको सिफारिस करिब ३० प्रतिशतसम्म घट्न सक्ने अपेक्षा गरिएको छ । यसबाट विशेषज्ञ सेवाको क्षमता अन्य आवश्यक बिरामीका लागि उपयोग गर्न सकिने विश्वास गरिएको छ । न्युजिल्याण्ड सरकारले राष्ट्रिय आन्द्राको क्यान्सर स्क्रिनिङ कार्यक्रमको उमेर सीमा पनि क्रमशः घटाइरहेको छ । यसअघि ६० वर्षबाट घटाएर ५८ वर्ष कायम गरिएको स्क्रिनिङ उमेर आगामी सेप्टेम्बरदेखि ५६ वर्षमा झारिनेछ । यसबाट आगामी चार वर्षमा थप दुई लाखभन्दा बढी नागरिकले निःशुल्क स्क्रिनिङ सेवा प्राप्त गर्ने सरकारको लक्ष्य छ । 

नयाँ व्यवस्थाअनुसार आन्द्राको क्यान्सरका लक्षण देखिएका र सामान्य चिकित्सकबाट सिफारिस गरिएका अधिकांश बिरामीले सुरुमा एफआईटी परीक्षण गर्नेछन् । परीक्षणको नतिजा सकारात्मक आएमा उनीहरूलाई कोलोनोस्कोपी वा अन्य आवश्यक परीक्षणका लागि प्राथमिकताका साथ पठाइनेछ ।

 न्युजिल्याण्डमा आन्द्राको क्यान्सर दोस्रो सबैभन्दा बढी ज्यान लिने क्यान्सरका रूपमा रहेको छ ।

 

Share News