२५२ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३६२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । लक्ष्मी सनराइजको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङ मिल्सको १७ करोड ५१ लाख, आँखु खोलाको १७ करोड २३ लाख र एनआरएन इन्फास्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभरसको १४.९९ प्रतिशत र सिवाइसी नेपाल लघुवित्तको १४.२२ प्रतिशतले बढेको छ । बुधबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत, फाइनान्सको १.४९ प्रतिशत, होटल तथा पर्यटनको १.६६ प्रतिशत र हाइड्रोपावरको २.४२ प्रतिशतले बढेको छ ।
रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् । सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र ‘घण्टी’ उपहार दिनुभएको थियो । केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई शपथ गराए । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो । महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसकेका छन् । रास्वपाको केन्द्रीय सदस्य को को ? रास्वपाको केन्द्रीय सदस्यमा खुला तथा समावेशीतर्फ ३३, खस÷आर्यतर्फ १०, आदिवासी÷जनजातितर्फ नौ, थारु दुई, मधेसीतर्फ पाँच, दलिततर्फ तीन र मुस्लिमतर्फ दुई जना निर्वाचित भएका छन् । यस्तै प्रादेशिक समूहतर्फ कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पाँच÷पाँच जना गरी ३५ जना निर्वाचित भएका छन् । खुलातर्फ रवि लामिछाने, डा स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा तोसिमा कार्की, रञ्जु न्यौपाने, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, रमेश प्रसाई, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम शाह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य निर्वाचित भएका छन् । खस/आर्यतर्फ सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लीश्वर कार्की (रोहन), प्रकृति ढकाल, टीका सङ्ग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशील कार्की पोख्रेल, आदिवासी÷जनजातितर्फ मिलन लिम्बू, शङ्कर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, ध्रुव थापा (मगर), आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुशुम महर्जन निर्वाचित भएका छन् । थारु समूहतर्फ करिष्मा कठरिया र अशोकुमार चौधरी, मधेसीतर्फ बब्लु गुप्ता, अरविन्द साह, दीपकुमार साह, जुली यादव र कामिनीकुमारी चौधरी, दलितर्फ विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक, मुस्लिमतर्फ समिना मिया र रहबर अन्सारी निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । प्रादेशिक समूहतर्फ कोशीबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ, मधेसबाट सुस्मा बस्नेत, सुनिताकुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अङ्कितकुमार यादव, बागमतीबाट प्रभा ढकाल, विदुषी राणा, आकाङ्क्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा, गण्डकीबाट पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, पूजा बास्तोला र विष्णुकुमारी गुरुङ निर्वाचित भएका छन् । लुम्बिनीबाट कल्पना पाण्डे, सङ्गीता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक र शर्मिला खनाल, कर्णालीबाट सीता बादी, विनिता कठायत, टासी ल्हाजोम, मेनुका शाही र प्रकाश न्यौपाने तथा सुदूरपश्चिमबाट हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानिका जोशी र चन्द्र ऐर चाँदनी निर्वाचित हुनुभएको आयोगले जनाएको छ । भरतपुर महाधिवेशनबाट रास्वपाको छ पदाधिकारी निर्वाचित भएका छन् । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनपछि दोस्रो चरणमा पदाधिकारीको निर्वाचन भएको थियो । महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र उपसभापति खुलातर्फ डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । यस्तै उपसभापति महिलातर्फ सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल तथा सहमहामन्त्री महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन् ।
वैदेशिक रोजगारी : लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ की रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ निवासी सरिब गिरीलाई पक्राउ गरिएको हो । अभियुक्त वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै एकजनाबाट ५० हजार रुपैयाँ, ललितबहादुरले कोसोभो पठाइदिने भनेर दुई लाख ५० हजार रुपैयाँ, सन्तोषीले स्पेन पठाउने बहानामा एक जनाबाट १५ लाख रुपैयाँ, रामदासले युएईको रोजगारीको प्रलोभनमा सात जनाबाट ४५ लाख रुपैयाँ र सरिबले क्यानडाको लोभ देखाएर एक जनाबाट २० लाख रुपैयाँ ठगेका थिए । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो । कारबाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पुर्याइएको छ ।
बिरामी बढेपछि ह्याम्सको आम्दानी डेढ अर्ब, नागरिकमा ४४ प्रतिशत सेयर
काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बिरामीको संख्या बढेसँगै अस्पतालको शय्या उपयोग दर (अकुपेन्सी) पनि उल्लेखनीय रूपमा सुधारिएको ह्याम्सले जनाएको छ । अस्पताल सेवाबाट हुने आम्दानी कम्पनीको कुल आम्दानीको करिब ९२ प्रतिशत हिस्सा ओगट्छ । अघिल्लो वर्ष ५२ प्रतिशत रहेको अकुपेन्सी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर ६४ प्रतिशत पुगेको छ । साथै, अस्पतालभित्र सञ्चालनमा रहेका फार्मेसी, प्याथोलोजी, रेडियोलोजीलगायत सहायक सेवाले आम्दानीको स्रोत विविधीकरण गर्नुका साथै राजस्व वृद्धिमा सकारात्मक योगदान पुर्याएको कम्पनीले जनाएको छ । ह्याम्सले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११.५४ प्रतिशत अर्थात् १९ करोड २० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो । कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर आम्दानी वृद्धि गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ६८ करोड रुपैयाँ र आव २०७५/७६ मा ३७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् १९९८ जनवरीमा स्थापना भएको ह्याम्सले काठमाडौंको धुम्बाराहीस्थित १०० शय्याको बहुविशेषज्ञ अस्पताल सञ्चालन गर्दै आएको छ । कम्पनीका प्रमुख प्रवद्र्धक अध्यक्ष रामशरण भण्डारी तथा उनका परिवारका सदस्यहरू हुन् । गत आर्थिक वर्ष र चालु आवको पहिलो नौ महिनामा प्रवद्र्धकहरूले ९ करोड ९० लाख रुपैयाँ बराबरको नयाँ इक्विटी लगानी गरेका छन् । यससँगै २५ करोड १० लाख रुपैयाँ बराबरको सेयर प्रिमियम थपिएको छ । कम्पनीका अनुसार यसले क्षमता विस्तार तथा नयाँ लगानीका अधिकांश योजना ऋणभन्दा इक्विटीबाट वित्तीय व्यवस्थापन गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । सञ्चालन नाफा मार्जिन पछिल्ला केही वर्षदेखि २७ देखि २८ प्रतिशतको दायरामा स्थिर रहेको कम्पनीले जनाएको छ । चालु आवको चैतसम्म कम्पनीसँग करिब २० करोड ४० लाख रुपैयाँ नगद तथा तरल सम्पत्ति रहेको छ । अस्पतालले हाल क्षमता विस्तार तथा थप शय्या वृद्धि गर्ने योजना अघि बढाएको छ । स्वास्थ्य बीमाको विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको बढ्दो जनचेतना, काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व, प्रतिव्यक्ति आयमा भएको वृद्धि, प्रारम्भिक चरणमै रोग पहिचान तथा उपचारमा प्रविधिको बढ्दो प्रयोग र जीवनशैलीजन्य रोगको बढ्दो प्रकोपले स्वास्थ्य सेवा उद्योगको दीर्घकालीन सम्भावनालाई थप बल पुर्याएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाको सहज पहुँच र आधुनिक पूर्वाधारका कारण पनि आगामी दिनमा कम्पनीको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ । ह्याम्सले नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडमा आफ्नो स्वामित्व बढाएर करिब ४४ प्रतिशत पुर्याएको छ । नागरिक अस्पतालले करिब १ अर्ब ४० करोड रुपैयाँ लागतमा नयाँ भवनमार्फत सेवा विस्तार तथा स्तरोन्नति गरिरहेको छ, जसको करिब ७० प्रतिशत लागत ऋणबाट व्यवस्थापन गरिनेछ । यसले समूहस्तरमा ऋणको भार बढ्ने र निर्माण अवधिमा ह्याम्समाथि थप वित्तीय दबाब सिर्जना गर्न सक्ने कम्पनीको आकलन छ । नागरिक अस्पतालले आर्थिक वर्ष २०२७ देखि व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखेको छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६६ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ६४ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र २ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । ह्याम्सको आन्तरिक आम्दानी बलियो रहे पनि कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६९ प्रतिशत तथा गत आर्थिक वर्षको नाफाबाट ६५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । आगामी दिनमा पनि लाभांश वितरणको नीति कस्तो रहने भन्ने विषयलाई कम्पनीको वित्तीय अवस्थाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । यद्यपि कम्पनीले आफ्नै क्षमता विस्तार तथा नागरिक अस्पतालमा गरिने लगानी मुख्यतः आन्तरिक स्रोत र इक्विटीबाट व्यवस्थापन गर्ने योजना बनाएको जनाएको छ । ह्याम्सले काठमाडौं उपत्यकाका ठूला तथा स्थापित बहुविशेषज्ञ अस्पतालसँग तीव्र प्रतिस्पर्धा गरिरहेको छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रका ठूला कर्पोरेट अस्पतालको प्रवेश र स्थापित अस्पतालहरूको क्षमता विस्तारले स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धा उल्लेखनीय रूपमा बढेको छ । केही नयाँ अस्पताल परियोजना तथा स्थापित अस्पतालहरूको विस्तार कार्य अन्तिम चरणमा पुगेकाले आगामी दिनमा प्रतिस्पर्धा अझ तीव्र हुने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा अस्पतालले विस्तार गरेका नयाँ सेवा क्षेत्रमा बिरामीको संख्या बढाउन प्रतिष्ठित विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नु र उनीहरूलाई दीर्घकालसम्म आबद्ध राख्नु कम्पनीका लागि प्रमुख चुनौती रहने बताइएको छ । साथै, स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धित नियामकीय तथा प्रतिष्ठागत जोखिम पनि कम्पनीले सामना गर्नुपर्ने चुनौतीका रूपमा औंल्याइएको छ ।
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ
काठमाडौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ की रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ निवासी सरिब गिरीलाई पक्राउ गरिएको हो । अभियुक्त वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै एकजनाबाट रु ५० हजार, ललितबहादुरले कोसोभो पठाइदिने भनेर रु दुई लाख ५० हजार, सन्तोषीले स्पेन पठाउने बहानामा एक जनाबाट रु १५ लाख, रामदासले युएईको रोजगारीको प्रलोभनमा सात जनाबाट रु ४५ लाख र सरिबले क्यानडाको लोभ देखाएर एक जनाबाट रु २० लाख ठगेका थिए । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो । कारबाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पुर्याइएको छ ।
आप्रवासी नियन्त्रणमा कडा बन्दै अमेरिका
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबंधीय प्रशान्तको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाबाट शरण खोज्नेहरू र कागजात विहीन आप्रवासीहरूलाई एल साल्भाडोर र युगान्डा लगायतका स्थानहरूमा पठाउन पनि दबाब दिइरहेको उनीहरुले जनाएका छन् । सानो भुगोल भएको प्यासिफिक राष्ट्र पलाउसँग अमेरिकाले गत डिसेम्बरमा ७५ लाख अमेरिकी डलर सहयोगकोे बदलामा निर्वासितहरूलाई पुनस्र्थापित गर्न सहमत भएको थियो । पलाउका राष्ट्रपति सुरान्जेल ह्विप्सको कार्यालयले फिलिपिन्सबाट करिब ८०० किलोमिटर पूर्वमा छरिएका कोरल एटोल लगायत स्थानमा निर्वासितहरु आइपुगेको बताएका छन् । ह्विप्सले डिसेम्बरमा हस्ताक्षर समारोहमा पुनःस्थापना सम्झौतालाई पलाउ र संयुक्त राज्य अमेरिकाका लागि सफलताको रूपमा प्रशंसा गरेका थिए । संयुक्त राज्य अमेरिकाको निर्देशन अनुसार निर्वाशित मानिसहरूलाई मद्दत गरी आवाश्यकं मार्गदर्शन गर्ने उनले जनाएका थिए । यसै गरी उनले उनीहरूले पलाउमा रोजगारी पाउने र खुसी हुने आशा व्यक्त गरेका थिए । सम्झौता अनुसार सबै निर्वासितहरूको आपराधिक रेकर्ड सहित पलाउले कसलाई स्वीकार गर्ने र कसलाई नगर्ने भन्ने विषयमा पूर्ण छनोटको अधिकार राख्ने बताइएको छ । सम्झौता अनुसार यसको सट्टामा, संयुक्त राज्य अमेरिकाले पलाउलाई सार्वजनिक सेवा सञ्चालन तथा पूर्वाधार विकास गर्न चार करोड ७५ लाख अमेरिकी डलर सहयोग गर्ने छ । यद्यपी आलोचकहरूले यस विषयमा चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले पलाउ जस्ता राष्ट्रहरूलाई अनावश्यक आप्रवासीहरूका लागि डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । अमेरिकी विदेश विभागका प्रवक्ताले ट्रम्प प्रशासन अवैध र सामूहिक आप्रवासन अन्त्य गर्ने र अमेरिकाको सीमा सुरक्षालाई सुदृढ पार्ने प्रतिबद्धतामा अडिग रहि यो प्रक्रिया गरीरहेको जनाएका छन् । सामान्य मामिलाका रूपमा, अन्य सरकारहरूसँगको निजी कूटनीतिक सञ्चारको विवरणमा टिप्पणी नगर्ने अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ । सयौँ ज्वालामुखी टापुहरू र कोरल एटोलहरूमा फैलिएको लगभग २० हजार मानिसहरूको बसोबास रहेको राष्ट्र पलाउ जनसङ्ख्याको आधारमा विश्वको सबैभन्दा सानो देश हो भने लामो समय देखि प्रशान्त क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सबैभन्दा नजिकको सहयोगी हो । पलाउले सन् १९९४ मा स्वतन्त्रता प्राप्त गरेको भएता पनि अमेरिकी सेनालाई लामो समय देखि चलिरहेको कम्प्याक्ट अफ फ्रि एसोसिएसन सम्झौता अन्तर्गत आफ्नो क्षेत्र प्रयोग गर्न अनुमति दिइरहेको छ । यसको बदलामा, संयुक्त राज्य अमेरिकाले पलाउलाई सयौँ करोड डलरको आर्थिक सहयोग दिई यसको राष्ट्रिय रक्षाको जिम्मेवारी लिने सम्झौता भएको जनाइएको छ ।
चीनमा विदेशीका लागि कडा लगानी सुरक्षा नियम लागू
काठमाडाैं । अमेरिका-चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानीसम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ । नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी, प्रविधि, सेवा तथा दक्ष जनशक्तिको सीमापार आवागमनमाथि सरकारलाई थप निगरानी र समीक्षा गर्ने अधिकार दिएको छ । जुन १ मा घोषणा गरिएको यी नियमले चीनको सीमा पार गर्ने पूँजी, कर्मचारी, प्रविधि तथा सेवासम्बन्धी गतिविधिलाई नियमन गर्न व्यापक कानूनी आधार तयार गरेको छ । चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले जारी गरेको व्यवस्थाअनुसार यसको उद्देश्य विदेशी लगानीको गुणस्तर र स्तर सुधार गर्दै राष्ट्रिय सुरक्षाको संरक्षण गर्नु हो । नियमअनुसार सबै बाह्य लगानीले ‘समग्र राष्ट्रिय सुरक्षा अवधारणा’को पालना गर्नुपर्नेछ र घरेलु तथा अन्तर्राष्ट्रिय हितबीच सन्तुलन कायम गरिने उल्लेख गरिएको छ । साथै, राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कुनै पनि लगानी वा सम्पत्ति स्थानान्तरणको समीक्षा गर्ने अधिकार पनि सरकारलाई दिइएको छ । बेइजिङले कृत्रिम बौद्धिकता, कम्प्युटर चिप र हरित प्रविधिलाई रणनीतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानेर ती उद्योगको स्वदेशी विकासलाई प्राथमिकता दिँदै आएको छ । यसै क्रममा सीमापार कारोबारमाथिको निगरानी थप कडा बनाइएको हो । नयाँ व्यवस्थाअनुसार हालसम्म वस्तु र डाटामा सीमित रहेका निर्यात नियन्त्रण अब सेवा, प्रविधि हस्तान्तरण तथा प्राविधिक विशेषज्ञलाई विदेश पठाउने वा विदेशमा तालिम दिने गतिविधिसम्म विस्तार गरिएको छ । यस कदमले विदेशी लगानीकर्ताको चीनको विशाल प्रविधि बजारमा पहुँच सीमित हुन सक्ने चिन्ता पनि बढाएको छ । चीनले सीमापार लगानीप्रति अपनाउँदै आएको सतर्क नीतिअन्तर्गत अप्रिलमा मेटाले चीनमा स्थापना भई हाल सिङ्गापुरमा आधारित एआई स्टार्टअप मानुसलाई अधिग्रहण गर्ने प्रयासप्रति पनि आपत्ति जनाएको थियो । अमेरिका–चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोगले यो निर्णय चीनले राष्ट्रिय सुरक्षाको नाममा विदेशी लगानीमाथि नियन्त्रण बढाउँदै आएको दीर्घकालीन प्रवृत्तिको निरन्तरता भएको जनाएको छ । आयोगले मे महिनामै चीनका राष्ट्रिय सुरक्षा कानूनको व्याख्या र कार्यान्वयनमा अधिकारीहरूलाई व्यापक अधिकार रहेकाले विदेशी कम्पनीका लागि कानूनी अनिश्चितता र व्यावसायिक जोखिम थप बढ्न सक्ने चेतावनी दिएको थियो ।
ट्रम्पको सम्पत्ति साढे ६ अर्ब डलर, क्रिप्टोबाट एक अर्ब डलर कमाइ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आय आर्जन गरेका हुन् । यही आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच उनको व्यक्तिगत सम्पत्ति दुई अर्ब ३० करोड डलरबाट बढेर ६ अर्ब ५० करोड डलर पुगेको फोब्र्सले जनाएको छ । ट्रम्पले स्टार्टअप कम्पनी वल्र्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट करिब पाँच करोड ५० लाख डलर प्राप्त गरेका थिए भने जनवरी २०२५ मा राष्ट्रपतिको शपथअघि सार्वजनिक गरिएको ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट थप ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका छन् । उक्त कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए । वल्र्ड लिबर्टी फाइनान्सियलले आफ्नै डब्लुएलएफआई टोकन बिक्रीबाट ५५ करोड डलर उठाएको थियो । सेप्टेम्बर २०२५ देखि कारोबारयोग्य बनेको यो टोकनको मूल्य ४६ सेन्टबाट घटेर हाल करिब ६ सेन्टमा झरेको छ । ट्रम्प र उहाँका तीन छोराले डीटी माक्र्स डेफीमार्फत थप २२ अर्ब ५० करोर्ड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन् । यसको हालको अनुमानित मूल्य एक अर्ब ३० करोड डलर रहेको जनाइएको छ । कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन पनि सार्वजनिक गरेको थियो । क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमनमुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्द्वको आरोप लाग्दै आएको छ । तर, ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उनको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ । ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाएको दाबी गर्दै प्रशासनका सबै निर्णय अमेरिकी जनताको हितमा केन्द्रित रहेको बताएकी छन् । सन् १९७८ को कानूनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आम्दानी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसपटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट एक करोड डलरभन्दा बढी र आफ्नो पुस्तक ‘मेलानिया’ बाट पाँच लाख डलरभन्दा बढी आम्दानी गरेको उल्लेख छ । ट्रम्पले कोइनबेसजस्ता क्रिप्टो कम्पनीका सेयर, ट्रम्प ब्रान्डका विभिन्न सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गरेको विवरणमा जनाइएको छ । ट्रम्पको सम्पत्ति हाल उनका छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमा राखिएको छ । यद्यपि ट्रस्टको व्यवस्था अनुसार कुनै पनि बेला त्यसको विघटन सम्भव भएकाले सन् २०२९ मा दोस्रो कार्यकाल समाप्त भएपछि ट्रम्पले सम्पत्तिमाथिको प्रत्यक्ष नियन्त्रण पुनः प्राप्त गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ । यस्तै, उपराष्ट्रपति जेडी भान्सले पनि सन् २०१६ मा प्रकाशित आफ्नो संस्मरण ‘हिलबिली एलेगी’ बाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त भएको विवरण सार्वजनिक गरेका छन् ।