विकासन्युज

अश्लिल क्रियाकलाप गर्ने ५ विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाईबुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका  उनीहरुमाथि  थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 

डीआर कङ्गोलाई हराउँदै इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौं । इंग्ल्यान्डले डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।  एटलान्टा स्टेडियममा बुधबार सम्पन्न अन्तिम ३२ को प्रतिस्पर्धामा एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो । खेलको सातौं मिनेटमै ब्रायन सिपेङ्गाले गोल गर्दै डीआर कङ्गोलाई अग्रता दिलाएका थिए । पहिलो हाफभर इंग्ल्यान्डले गोल फर्काउन नसक्दा डीआर कङ्गो १–० को अग्रतासहित ब्रेकमा गएको थियो । दोस्रो हाफमा खेलमा फर्किएको इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन नायक बने । उनले ७५औं मिनेटमा बराबरी गोल गरे भने ८६औं मिनेटमा उत्कृष्ट प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । डीआर कङ्गोले उत्कृष्ट प्रतिरोध गरे पनि अग्रता जोगाउन सकेन । पराजयसँगै पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको डीआर कङ्गोको ऐतिहासिक यात्रा अन्त्य भएको छ । इंग्ल्यान्डले अब अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटेर ‘र्‍याडम स्यापिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमूना सङ्कलन गर्ने बताइएको छ । राष्ट्र बैंकले सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गर्ने बताइएको छ ।   सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास रहेको छ ।  राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलनको कार्यमा सहयोग गर्न सरोकारवाला निकायलाई आह्वान गरेको छ ।  

अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

काठमाडौं । बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् ।  दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो ।  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मतसंहार गरी थप अर्को मेसिन जडान गरेर आजदेखि परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागिएको हो ।  मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा आएर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो ।  प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिने उनले बताए । हाल अस्पतालमा १० वटा काउन्टरबाट टिकट काट्ने गरिएको छ । क्रमशः नसक्नेका लागि एक/दुई वटा मात्रै काउन्टर राख्ने योजना रहेको उनले बताए ।  उनले भने, ‘म अस्पताललाई काउन्टरलेस बनाउने योजनामा छु, नसक्नेहरूका लागि एकदुई वटा काउन्टरमा झार्नुपर्छ ।’  मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डा. बगालेले बताए । स्वास्थ्य बिमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधिसमेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ । आजदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै कामसँगै हुनेछ । क्रमशः काउन्टर घटाउँदै लैजाने उनले बताए ।   रगत परीक्षणलगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ । परीक्षण गर्दा दिईएको रसिदमा रहेको बार कोर्ड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ ।  यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् । निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि यहाँ बिरामीको चाप बढ्दै गएको छ । अस्पताल आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गर्दछन् ।  सबै सुविधा अस्पतालमा हुने भएपछि टाढाटाढाबाट पनि बिरामी आउने गरेका छन् ।  

विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित

काठमाडौं । गर्मीसँगै विद्युतीय उपकरणको अत्याधिक प्रयोगलाई धान्न नसक्दा विद्युत् आपूर्ति अनियन्त्रित हुनाका साथै सेवा प्रभावित भएको छ । कतिपय ठाउँमा ट्रान्सफर्मरहरूमा समस्या आउने गरेको छ भने कतिपय ठाउँमा तार जलेर चुडिने समस्या आउने गरेको हो ।   प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीका अनुसार गर्मी बढेसँगै अस्वभाविक माग हुँदा पुराना तारमा भार बढेर जल्ने गर्दछ । एकै पटक धेरै ठाउँमा यस्ता समस्या आउँदा प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने र समय लाग्ने गरेको उनले बताए ।   उनले भने, ‘मेसिन तार भएको ठाउँमा पग्लिने, तार जोडेको ठाउँमा चुडिने, ट्रान्सफर्मरमा रहेको फ्युज जल्ने, ट्रान्सफर्मर नै जल्ने समस्या हुने गरेको छ । हामी सीमित स्रोत साधनमा काम गर्नुपर्दा, समयमा काम भ्याइएको छैन ।’  गर्मीले घर, कार्यालयमा एसी, पङ्खालगायत उपकरण चल्ने, किसानले मोटर चलाएर खेत रोपाई गर्नेजस्ता काम गर्दा विद्युत्को खपत बढेको छ ।   हरेक वर्ष १० प्रतिशत विद्युत्को माग बढ्ने उनी बताउँछन् । भरतपुर महानगरको अधिकांश भाग र इच्छाकामना गाउँपालिका क्षेत्र हेर्दै आएको यस कार्यालयमा ७५ हजार ५०० ग्राहक छन् ।  हरेक वर्ष तीन हजार हाराहारी ग्राहक थपिने गरेको उनले बताए । दिगो समाधानका लागि ट्रान्सफर्मर थप गरी कमजोर तार परिवर्तन गरी स्तरोन्नति आवश्यक रहेको छ ।   चौधरीले पावर ट्रान्सफर्मरको अवस्था भने २० वर्ष धान्ने गरी व्यवस्था भएको बताए । आँपटारीमा रहेको नयाँ सवस्टेशनमा ९० मेघावाटको पावर ट्रान्सफर्मर जडान गरी जगेडा क्षमता बनाइएको छ ।  बसेनीमा रहेको स्टेशनमा ११२.५ मेघावाट पावर ट्रान्सफर्मर रहेको छ । उनले भने, ‘हामीसँग विद्युत्को अभाव छैन, तार र ट्रान्सफर्मर समस्या हो ।’ ट्रान्सफर्मर जडान गर्नुपर्ने ठाउँहरूमा स्थानीयको अवरोधका कारण कतिपय ठाउँमा जडान गर्न नसकिएको उनले बताए ।  १४ ठाउँमा पोष्ट तयार गरिएको छ । छिट्टै ती ठाउँमा ट्रान्सफर्मर आउने पनि उनले बताए ।

कमीकमजोरी हटाएर पार्टीलाई नयाँ उँचाइमा लैजान्छौं: संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।  पोखरामा आज (बुधबार) आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म सङ्गठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पु¥याउने अठोट व्यक्त गरे । ‘हामीले यो पटक असाधारण परिघटनाको सामना गर्नुपरेको छ तर हामी ध्वस्त भइसकेका छैनौं । सबैभन्दा पहिला आफ्नो कमजोरी सुधार्ने विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्छ,’ संयोजक दाहालले भने, ‘विगतमा जस्तै राष्ट्रिय स्वाधिनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने सङ्कल्प गरेमा हामी यहीबाट सुधारिनेछौं र पार्टीलाई नयाँ उचाइमा लैजान सम्भव हुनेछ ।’ आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभइ वैचारिक र सङ्गठनको हिसाबले क्रमभङ्ग गर्नेगरी अघि बढ्ने उनले बताए । ‘पार्टीको नेतृत्व र विचार निर्माण गर्दा पनि नयाँ रणनीति र कार्यनीति सहित विचारको विकास गर्नेछौं । हामी अब अर्को क्रान्तिको सुरुआत गरेर मात्र विश्राम लिने छौं,’ संयोजक दाहालले भने । पार्टीका सहसंयोजक माधवकुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताए । राष्ट्रियतामाथि सङ्कट आउने अवस्था देखिएकाले बामपन्थी दलहरूकाबीचमा सहकार्य हुने उनले उल्लेख गरे ।   ‘पहिला आफ्नो पार्टी बलियो बनाउन लाग्नुहोस्, पार्टी ठूलो र बलियो भयो भने मात्र एकताको आशा जाग्छ । तत्कालै कम्युनिष्ट पार्टीबीच एकता हुँदैन’, सहसंयोजक नेपालले भने ।  उनले ठूलो पार्टी कमिटी नबनाउन आग्रह गर्दै उनले गाउँगाउँका जनताको बीचमा पार्टीलाई स्थापित बनाउने गरी खटिन निर्देशन दिए ।  कार्यक्रममा पार्टीका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, सहइञ्चार्ज श्रीनाथ बराल, केन्द्रीय सदस्य ज्ञानु आचार्य, शिव बास्तोला, पार्टी प्रदेश संयोजक कृष्ण नेपाली, सहसंयोेजक गायत्री गुरुङलगायतले तल्लो तहसम्मको पार्टी एकतालाई छिटो पूर्णता दिएर जनताको बीचमा जाँदा पार्टीप्रतिको जनआकर्षण वृद्धि गर्न सकिने बताएका थिए । कार्यक्रममा गण्डकीका ११ वटै जिल्लाका संयोजकहरूले चुनावी समीक्षा तथा एकता प्रक्रियाका बारेमा रिर्पोटिङ गरेका थिए ।   

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

काठमाडौं ।  बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको हो ।  प्रहरीले ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोत्तान र ४२ वर्षीया निर्मला वाइवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं  प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।  महिलाहरुले मङ्गलबार बालबालिकामाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारै जनालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।   

पोखराको पर्यटनमा नयाँ आकर्षण, वातावरणमैत्री ‘बगैंचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा

काठमाडौं । पोखराको बगैंचा रिसोर्ट तथा स्पा आजदेखि पुनः सञ्चालनमा आएको छ । बुधबारदेखि वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको हो । बगैंचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने गरेर सञ्चालनमा आएको निर्देशक सौगात थापाले बताए ।  मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले बताए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए ।  ‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्त्व हो भनेर सन्देश दिएका छौ,’ उनी भन्छन्,’ यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पु¥याउँनेछौ ।‘  थापाले रिसोर्टकै नाम अनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले अगाडि थपे,’ नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार (साउन्ड हेलिङ् र सिङ्गिङ बाउल थेरापी) बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाईन बगैंचाका विशेषता रहेका छन् ।‘ बगैंचामा दुई रेष्टुरेण्ट रहेको छ । मरिच इन्डो-चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उमामी रेष्टुरेण्ट जसले परिष्कृत प्यान-एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए ।  बगैंचामा “टारो” पूलसाइड बार रहेकाले बगैंचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे ।मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे । ‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरि अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने,’ ३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।‘   रिसोर्टमा नयाँ जिम सेट पनि थपिएको छ । रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा रहेको छ ।